हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य
त्यो भर्खर त उक्लँदै थियो आकाशमा
पाइला चाल्न सिकेर नानीले
आमाको सहाराबिना चल्न आरम्भ गरेजस्तै
त्यो भर्खर त यात्रा भर्दै थियो
बोल्न सिकेर नानीले
आफ्नै लयमा गीतको धुन निकाल्न प्रारम्भ गरेजस्तै
त्यो भर्खर त गीत गुनगुनाउँदै थियो
आमाको काखमा विश्राम पुगेर अब जुरूक्क उठ्दै
मुस्कुराउँदै बाहिर निस्केको बालकजस्तै
त्यो भर्खर त दुनियाँ हेर्न सुरू गर्दै थियो
तर ग्रहणले छोपिएसरि
सारा दुनियाँभरि अन्धकारले छोप्ने गरी
बिलायो त्यो सूर्य
फेरि कहिले नउदाउने गरी खस्यो त्यो सूर्य ।
मैले खस्न नदिएर त्यो सूर्यलाई आकाशमै उक्लन दिनुपर्थ्यो
भर्खरै आरम्भ भएका उसका पाइलाहरूमा अरु गति थप्नुपर्थ्यो
उसले गाउन सुरू गरेको गीतमा अरु शक्ति थप्नुपर्थ्यो
मुस्कुराइरहेको अनुहारमा अलि उज्यालो थप्नुपर्थ्यो
तर केही गर्न नसकी मैले आकाशमा उक्लँदै गरेको सूर्यलाई
चकनाचुर भएको हेरिरहें
आज मैले भर्खर उदाउन थालेको सूर्य छटपटिँदै छटपटिँदै
खसिरहेको देखिरहें ।
त्यो भर्खरै खसेको सूर्य त मेरो आश्रय थियो
नजिकिँदै गरेका मेरा कठिन चिसा दिनहरूको न्यानो भरोसा थियो
झिना बन्दै गरेका मेरा जीवनका आशाहरूको बृहद् आशा थियो
त्यो त मेरो आफ्नै जीवनबाट निर्मित जीवन थियो
उसले त अझ उचाइ चढ्नु नै थियो
दरिलो बन्दै ऊ त अझ लामो यात्रामा जानु नै थियो
मुस्कुराउँदै मुस्कुराउँदै संसारभरि मुस्कान छर्नु नै थियो
तर आहत बनाउँदै मलाई भर्खरै
खसेको छ उदाउादै गरेको सूर्य
फेरि कहिले नउदाउने गरी ।
जो हुनु नहुनु भएको छ
अब संसारको कुनै सुन्दरतामा सुन्दरता रहनेछैन
अब संसारको कुनै खुसीमा खुसी रहनेछैन
जब बिस्तारै उक्लँदै गरेको सूर्य हेर्दाहेर्दै जलेर भस्म भएको छ
फैलिँदै गरेको धूवाँमा म निस्सासिएको छु
हेर्दाहेर्दै सारा संसार खरानीको मरूभूमि बनेको छ
र त्यो मरूभूमिमा म हराएको छु
अब दिनको सुरूवातको अन्त्य भएको छ
र दिनको अन्त्यको सुरूवात भएको छ ।
तर किन विश्वास हुन्न मलाई भर्खरै उदाउँदै गरेको सूर्य
खसेको छ
फेरि नउदाउने गरी ।
(छोरी शिल्पा विष्टको सम्झनामा)
प्रकाशित : पुस ९, २०७९ १०:०१