‘जादु हाम्रो दर्शनको जरो’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जादु हाम्रो दर्शनको जरो’

दीपक सापकोटा

नेपाली कम्युनिस्ट आन्दोलनका अभियन्ता मोहन वैद्य ‘किरण’ दर्शनशास्त्रीसमेत हुन् । उनका ‘संघर्षको दर्शन’, ‘क्रान्ति र सौन्दर्य’, ‘मार्क्सवाद र संस्कृति’ लगायत किताब प्रकाशित छन् ।

पछिल्लो किताब ‘हिमाली दर्शन’ गम्भीर पाठक, समीक्षकबीच प्रशंसित छ । भन्छन्, ‘हिमाली दर्शनलाई सिंगो पूर्वीय दर्शन भन्नु बेठिक हो ।’ वैद्यसँग दीपक सापकोटाको संवाद :

मान्छेहरू भन्छन्– दर्शनसम्बन्धी किताब छिचोल्न असाध्यै गाह्रो छ । यो साँच्चै गाह्रो विषय हो कि दार्शनिकहरूले गाह्रो बनाइदिएको ?

साँचो अर्थमा भन्नुपर्दा दर्शनबिना कोही पनि चल्न सक्दैन । दर्शनसम्बन्धी काम गरिरहेका मान्छेलाई पनि आफूले दर्शनसम्बन्धी काम गरेको थाहा हुँदैन । कुनै पनि विषयमा जाँदाखेरि त्यसको मूल विषयवस्तुबारे थाहा हुनैपर्‍यो । जुनसुकै शास्त्र पढ्दा पनि त्यसका पारिभाषिक पदावली हुन्छन् र निश्चित विषयवस्तु पनि हुन्छ । त्यसैले दर्शनको अध्ययन जटिलजस्तो बन्न जान्छ । सारमा भन्नुपर्दा दर्शनले ‘म यो हुँ र यसो गर्दै छु’ भन्ने बोध गराउँछ । यो धेरै जटिल र गाह्रो विषय भने होइन ।

दर्शनशास्त्र आमव्यक्तिले समेत बुझ्ने गरी लेख्न सकिँदैन र ?

सकिन्छ, तर भाषा–शैली सरल हुनुपर्छ । यो शास्त्रीय खालको विषय पनि हो । यो पढ्ने मान्छे जनता होइनन् भन्न भएन । संस्कृत भाषामा पढ्नुपर्दा यो केही जटिल बन्न जान्छ, तर नेपाली भाषामै कुरा गर्दा पनि दार्शनिक पदावलीहरूको सन्दर्भ त आउँछ । त्यो पदावली नबुझेका कारण गाह्रो भएको हो । पारिभाषिक शब्द बुझ्नु जरुरी छ दर्शन बुझ्नलाई । पहिले त जनताले पनि बुझ्नुपर्‍यो– कुनै पनि शास्त्र सरल हुँदैन । तपाईं–हामी सबै जनता त हौं, मजाले अध्ययन गरेर सिक्नुपर्‍यो । हामीमा एउटा निश्चित वर्गले मात्रै बढी अध्ययन गर्ने, अरू धेरैले नपढ्ने अवस्था छ । राज्यसत्ताले सबैलाई पढ्ने बनाउनुपर्छ । त्यो काम लेखकको त होइन नि । लेखकले त सरलसँग बुझाउन सक्ने कुरालाई सरल ढंगले नै बुझाउला । मैले ‘हिमाली दर्शन’ मा नौवटा दर्शनबारे लेख्दा त्यो प्रयास गरेको छु । हरेक दर्शनमा छुट्टाछुट्टै आचार्य हुन्छन् । अब एउटै किताबमा नौवटा दर्शन बुझाउन त गाह्रो छ । यो पुस्तक बढी प्राज्ञिक क्षेत्रसित सम्बन्धित छ । एक त संस्कृत भन्नेबित्तिकै यसमा धर्मकर्म–पुरेत्याइँ मात्रै छ भनेर यसलाई हेलाँको दृष्टिले हेर्ने गरिन्छ । म संस्कृतको विद्यार्थी पनि भएकाले भन्न सक्छु, गजबको भौतिकवाद संस्कृतमा छ । गजबको द्वन्द्ववाद संस्कृतमा छ । आदर्शवाद पनि छ । सबै छ यसमा । भाषाको दृष्टिकोणले पुरानो भाषा हो संस्कृत । हो त्यही पुरानो संस्कृत भाषामा लेखिएका कुरालाई मैले सकेसम्म सजिलो बनाएको छु । त्योभन्दा पनि सजिलो बनाउन त अप्ठ्यारै पर्छ । यस किताबमा मैले नौवटा दर्शनलाई छुट्याएर लेखेको पनि सबैले बुझून् भनेरै हो ।

दर्शनशास्त्रको उद्भव कसरी भयो ?

दर्शनको इतिहास हेर्न दर्शन नै चाहिन्छ । जीवन, जगत् जान्ने–बुझ्ने प्रक्रियामा दर्शनको उद्भव भएको हो । दर्शनमाथि पहिले धर्मले अधिकार जमाएको थियो । तर्कलाई पनि त्यहाँ हेरिन्नथ्यो । कतिपय प्रश्नको उत्तर धर्मले दिन सकेन । त्यस्ता विषय तर्कका आधारमा पर्गेल्न सुरु भयो र दर्शनको विकास भयो । धर्म, दर्शन अनि विज्ञान आफ्नो विकास प्रक्रियामा जोडिएका छन् ।

धर्म पहिलो होइन । पहिलो त गणचिह्नवाद (टोटमवाद) हो । संसार बुझ्दा आधा तार्किक हिसाबले, आधा धार्मिक हिसाबले बुझ्न थालियो । सुरु त्यहाँबाट भयो । एस. राधाकृष्णनले पनि भनेका छन्– ‘आदर्शवाद जति पुरानो छ भौतिकवाद त्यति नै पुरानो छ ।’ त्यसकारण आदर्शवाद र भौतिकवाद दुवै पुराना हुन् । गणचिह्नवादसित जन्तरमन्तर, झारफुक, धामीझाँक्री, तन्त्र जोडियो । त्यसमा धर्म पनि जोडिन पुगेको हो ।

धर्म र दर्शनबीच के फरक छ ?

धर्म आस्था र दर्शन तर्कसित सम्बन्धित विषय हुन् । विशेषतः सामन्तवादी युगमा आइसकेपछि दर्शन मात्रै होइन, ज्ञानविज्ञानका सम्पूर्ण शाखाहरू धर्मकेन्द्रित बने । छुट्टै धर्म–दर्शन पनि जन्मियो । तर, दर्शन र धर्म बिलकुल अलगअलग विषय हुन् । दर्शनको विषयवस्तु सत्ता र चिन्तनबीचको सम्बन्धमा आधारित छ । दर्शन यसै प्रश्नको वरिपरि घुमेको छ । अर्को शब्दमा भन्नुपर्दा दर्शनमा वस्तुगत र आत्मगत पक्षबीचको सम्बन्धबारे अध्ययन गरिन्छ । धर्म अलौकिक शक्तिसँग जोडिएको छ भने दर्शन वस्तुगत, विषयगत र आत्मगत चिन्तनमा । धर्म र दर्शनको फरक यही हो ।

विज्ञानको युगमा दर्शनको उपादेयता के छ ?

विज्ञान र दर्शन एकअर्कामा अन्तरसम्बन्धित छन् । विज्ञानले सत्यसँग सम्बन्धित एउटा पाटोको अध्ययन गर्छ । तर, दर्शन त सत्यको समग्र अध्ययनमा आधारित छ । विज्ञान कुनै विशेष ज्ञानसँग सम्बन्धित हुन्छ । तर, दर्शन समग्र विषयको सामान्य ज्ञान हो । सामाजिक चेतनाका राजनीतिक, धार्मिक, नैतिक, सौन्दर्यपरक चेतनाजस्ता विभिन्न चेतनालाई दर्शनले एकीकृत तुल्याउँछ । दर्शन यी सबै चेतनाको संश्लेषणात्मक ज्ञान हो । कुनै पनि शास्त्र कुन वर्गको सेवामा छ ? किन छ ? आदि प्रश्नको जवाफ दर्शनले नै दिन्छ । आदर्शवादी तथा अधिभूतवादी दर्शनले विज्ञानको प्रगतिमा अवरोध खडा गरेको र भौतिकवाद तथा द्वन्द्ववादले विज्ञानको विकासमा मार्ग प्रशस्त गरेको इतिहास त हामीले पढेकै छौं । मार्क्सवादी दर्शनले विज्ञान र दर्शनबीचको आपसी सम्बन्धबारे राम्रो विवेचना गरेको छ । यो विश्व, ब्रह्माण्ड एकरूप छ कि बहुरूप ? यो ईश्वरीय रचना हो कि आफैं बनेको हो ? यस्ता प्रश्नमा विभिन्न दार्शनिक तथा वैज्ञानिकहरूबीच निकै लामा बहस र विवाद चल्दै आएका छन् । यी प्रश्नमा द्वन्द्वात्मक भौतिकवादीहरू नै सत्यको सन्निकट रहिआएका देखिन्छन् । सफल वैज्ञानिक अनुसन्धानका लागि सच्चा दर्शनले सही मार्गदर्शन गर्छ । तसर्थ, वैज्ञानिक युगमा पनि दर्शनको उपादेयता रहन्छ ।

बालकृष्ण समले त ‘ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ’ भन्नुभएको छ नि ?

त्यो त ईश्वरभक्त प्रह्लादको सन्दर्भमा समले भनेका हुन्– विज्ञानले गर्दा भौतिक जगत्मा दुःख पाउनुपर्छ, त्यसकारण त्यो रुन्छ र ईश्वरसम्बन्धी ज्ञान ईश्वरमा तल्लीन भएपछि केही दुःख नगरी स्वतः आउँछ । आदर्शवादी दृष्टिकोणमा आधारित यो भनाइ गलत छ । ज्ञान र विज्ञान दुवै वस्तुगत तथ्यका उपज हुन् ।

भारतीय भनिँदै आएका दर्शनशास्त्रहरूलाई तपाईंले ‘हिमाली’ नाम दिनुभयो । ‘भारतीय दर्शन’ पदावलीप्रति नै विमति जनाउँदै चार्वाक, जैन, बौद्ध र षड्दर्शन सबैलाई हिमाली दर्शनअन्तर्गत राख्नुभयो । यो राष्ट्रवाद प्रेरित दृष्टिकोण मात्र हो कि अरू केही ?

विभिन्न देशका आ–आफ्ना दर्शन हुन सक्छन् । नेपालको पनि आफ्नो दर्शन छ । तर, सबै नेपाली दार्शनिकका नाम भारतीयले लगिदिए । नेपाली दर्शन पनि भारतमा विकसित दर्शन भनेर पढ्नुपर्ने अवस्था छ । सर्वपल्ली राधाकृष्णन्का अनुसार त बुद्ध, गार्गी, कपिल सबै भारतकै भन्ने भ्रम पर्न जान्छ । भारतीय दार्शनिकलाई भारतीय भन्नुपर्‍यो, नेपाली दार्शनिकलाई नेपाली भन्नुपर्‍यो । अन्तर्राष्ट्रवादी बन्न राष्ट्रवादी पनि बन्नुपर्छ । ‘हिमाली दर्शन’ ले यी सबै क्षेत्रमा भएका दार्शनिकहरूलाई साझा नाम पनि दिन खोजेको हो ।

हिमाली भनेपछि मैदान कहाँ आयो त ?

हिमाल र मैदानको कुरा होइन । मैले त दक्षिण एसियाली क्षेत्रमा विकसित दर्शनलाई हिमाली दर्शन भन्न खोजेको हुँ ।

भारतीय दर्शनभन्दा अहिलेको भारतलाई इंगित गरेको ठहर्छ र ?

हो, सुरुमा यस भेगलाई समग्रमा भारतवर्ष पनि भनिन्थ्यो । तर, त्यो भनेको भारत नै हो भनेर नेपालको सन्दर्भमा त्यस्तै धारणा बन्यो । नेपालले पनि दर्शनको विकास गरेको छ भन्ने चिन्तनका हिसाबले हिमाली दर्शन ल्याउनुपरेको हो । बुद्धबारे कतिपय भारतीयले विवाद खडा गरेका छन्, उनीहरूले आफ्नै बनाउन खोजिराखेका छन् । हामीले यसमा बोल्नु तथा प्रतिवाद गर्नुपर्छ भन्ने लाग्छ ।

हिमाली दर्शनमा किरातजस्ता यहाँका रैथाने संस्कृति, उनीहरूका दर्शनको स्थान कहाँ छ ?

किरातीहरूले पनि दर्शनको क्षेत्रमा अवश्यै विकास गरेका छन्, तर तार्किक हिसाबले उनीहरूको संस्कृतिमा दर्शनले त्यति धेरै विकास गर्न सकेको छैन । रीतिरिवाज, संस्कृति आ–आफ्नो छ र आफ्नो सापेक्षतामा दर्शनको पनि केही विकास त भएको छ ।

भारतीय वा हिमाली दर्शनलाई पूर्वीय दर्शन भन्नु हुँदैन भन्नुभएको छ । किन ?

हिमाली दर्शनलाई सिंगो पूर्वीय दर्शन भन्नु बेठिक छ । नेपाल र भारतको दर्शनलाई मिसाउने हो भने हिमाली दर्शन भन्दा हुन्छ भनेको हुँ । मेरो कुरा भारतीय दर्शनभित्र गौतम बुद्ध लगायतका नेपाली दार्शनिक पर्नु हुँदैन भन्ने हो । हिमवत्खण्ड भन्छ नि, त्यसमा भारतलाई पनि समेट्न सकिन्छ भनेको हुँ । यसलाई पूर्वीय दर्शन भन्न मिलेन, पूर्वीयमा त चीन पनि आउँछ । भारतीय दर्शन भन्ने हो भने नेपाल छुट्यो । दुइटाको साझा नाम तुलनात्मक रूपमा राम्रो हिमाली दर्शन भनेको हुँ । भारतीय दर्शन पनि ठीकै छ, त्यसलाई निषेध गर्न खोजेको होइन । भारतमा विकास भएको भारतीय दर्शन, नेपालमा विकास भएको नेपाली दर्शन हुन्छ ।

तपाईंले धर्मभन्दा पहिले जादु विकास भएको बताउँदै आउनुभएको छ । त्यसको आधार को हो ?

जादु भनेको मान्छेलाई सम्मोहित गर्नु हो । धर्म भन्दाखेरि ईश्वरको प्रार्थनाजस्तो बुझिन्छ, जादुमा त्यस्तो गरिँदैन । त्यसमा आफूले चाहेको कुरा गर्न लगाइन्छ, आदेश दिइन्छ । जस्तो तन्त्र, झारफुक । झारफुक एक प्रकारको जादु हो । हाम्रोमा बोक्सी भनेर हेप्छन् नि, तर सुरुमा ती बोक्सीहरू पण्डितिनी थिए, त्यही तन्त्रमन्त्र जान्नाले । मानिसका जिज्ञासा हुन्छन् हरेक कुरामा । जस्तो पानी आउँछ, के कारणले आयो ? सामान्यजनलाई थाहा हुने कुरा भएन । कसैले खोज गर्‍यो र थाहा पायो । यसरी जिज्ञासा राख्नेहरूले भौतिक चिजहरू पत्ता लगाउँदै गए । अनि विज्ञानको विकास भयो । पहिले सबै कुरा जादु थिए, ती पछि गएर साहित्य कला, विज्ञान, धर्म, दर्शन आदिमा रूपान्तरित भए ।

हिमाली दर्शन र पाश्चात्य दर्शनबीच मूल भिन्नता के छ ?

दर्शनशास्त्रको विषयवस्तुको दृष्टिकोणले भन्नुहुन्छ भने सबै ठाउँको विषयवस्तु एउटै हो । दुनियाँ केले बनायो ? कसरी बन्यो ? आफैं बन्यो कि अरू कसैले बनायो ? यी र यस्ता प्रश्न नै सबै दर्शनको चिन्तनका विषय हुन् । दुनियाँ आफैं अर्थात् गतिशील पदार्थबाट बन्यो भन्ने दर्शन भौतिकवादी भयो, भगवान् वा कुनै चेतन शक्तिले बनायो भन्यो भने त्यो आदर्शवादी भयो । यो यहाँ पनि छ, त्यहाँ पनि छ । यहाँ चार्वाकले अग्नि, जल, तेज, वायुले संसार बन्यो भनेजस्तै त्यहाँ पनि विभिन्न भौतिकवादीहरूले त्यही कुरा भनेका छन् । ईश्वर छ भन्नेवालाहरूले पनि त्यही तरिकाले भनेका छन् । यो विषय आदर्शवादी र भौतिकवादी जहाँसुकैका लागि सत्य हो । दर्शनको अर्को विषय चिन्तन पद्धतिसित सम्बन्धित छ । संसार गतिशील छ कि स्थिर ? दुनियाँभरका द्वन्द्ववादीहरूले संसार गतिशील छ, परिवर्तनशील छ भनेका छन् । दुनियाँभरका अधिभूतवादीले संसार स्थिर छ भनेका छन् । आदर्शवादी र भौतिकवादी दुईथरी दर्शनलाई मिलाउने समन्वयवादी पनि हुन्छन् । जीवन र जगत्सित जोडिएर आउने प्रक्रियामा दर्शनको विकास जुन रूपमा हुनुपर्ने हो, यहाँभन्दा पश्चिममा भौतिकवाद पनि, आदर्शवाद पनि राम्रै तरिकाले विकसित भएका छन् । यहाँ आदर्शवादको कुरा गर्ने हो भने वेदान्त दर्शनमा जानुपर्छ । यता बुद्ध, दिङ्नाग, धर्मकीर्तिजस्ता दार्शनिकहरूले द्वन्द्ववादी तथा तार्किक किसिमले विषयवस्तुलाई प्रस्तुत गरे । त्यही उता हेरेक्लाइटस, हेगेल र कान्टहरूले गरे । मार्क्स तिनैबाट प्रभावित भएका हुन् । तर, यहाँको समाज अलि बढी स्थिर भयो ।

यताको समाजमा दर्शनभन्दा धर्म बढी गाँजिएको हो ?

त्यो यहाँ पनि त्यहाँ पनि उस्तै हो । त्यहाँ विज्ञानको बढी विकास भयो, भौतिकवादले धर्मविरुद्ध प्रहार गर्‍यो । जस्तो यहाँ पनि चरकहरूले विकास गर्न खोजेका हुन् । चरकहरूले शल्यक्रिया गर्नका लागि लास चिरफार गर्नुपर्‍यो, तर मरेको लास चिरफार गर्न यहाँका धार्मिकहरूले दिएनन् । त्यसका विरुद्ध उनीहरू यहाँ लड्न सकेनन् । त्यहाँ पनि पृथ्वी स्थिर छ भन्नेहरूले भौतिकवादीहरूलाई जिउँदै जलाइदिए । तर, त्यहाँ त्यसविरुद्ध उनीहरू लडे, यहाँ लडेनन् । कैयौं भौतिकवादी धर्मविरुद्ध लडे, कैयौं आदर्शवादी पनि धर्मविरुद्ध लडे । सबै आदर्शवादी धार्मिक हुन्छन् भन्ने छैन । यहाँको ब्राह्मणवाद, सामन्तवाद धेरै जटिल भयो । त्यसकारण पनि विकास हुन सकेन ।

सामन्तवाद त्यहाँभन्दा यहाँ जब्बर किन भयो ?

उताजस्तो यहाँ क्रान्ति र परिवर्तन भएनन् । यहाँ भारतवर्षमा पनि आत्मनिर्भर खालको समाज थियो । जस्तो हली, पण्डित, भाँडा बनाउने, कामी, लुगा सिउने दमाई इत्यादि । वर्ण व्यवस्थाले समाज चलायमान हुन दिएन । मुद्रा थिएन, सट्टापट्टा प्रणाली थियो । सट्टापट्टा गरेर चलाउनुपर्थ्यो । भारतमा पछि रेल, बिजुली आएपछि अलि प्रगति भयो । त्यसको प्रभाव यहाँ पनि पर्‍यो । पुँजीवादले विकास नगरेको त होइन नि ।

औपनिवेशिक युगभन्दा पहिले भारत, चीनको अर्थतन्त्र एकदमै बलियो थियो होइन र ?

बलियो त थियो, तर किसानहरूका लागि थिएन, केही सामन्तका लागि थियो । खास विकास भनेको पुँजीवाद, भौतिकवाद र विज्ञान यी तीनटा कुरा हुन् । उतातिर पुँजीवाद छिटो विकास भयो, यता भएन ।

यस भेगमा बौद्ध धर्म एक समय उत्कर्षमा थियो । पछि निकै कमजोर भयो । यसबारे केही बताइदिनुस् न !

बुद्धको जमाना त धेरै पुरानो हो । बुद्ध निश्चित रूपमा पुरानो धर्म, संस्कार मान्नेवाला थिए । उनी पूर्ण भौतिकवादी थिएनन् । पूर्ण आदर्शवादी पनि थिएनन् । समन्वयवादी हुन् । निश्चित रूपमा आस्तिक बनेर ईश्वरवादले डन्डा फिँजाएका बेलामा तुलनात्मक रूपमा त बुद्ध ठीक थिए । प्रगतिशील थिए । गतिलो द्वन्द्ववादी थिए । उनी सब क्षणिक हो, परिवर्तनशील छ भन्थे । एकातिर तान्त्रिक विकृतिले बौद्ध धर्मलाई कमजोर बनायो भने अर्कातिर शंकराचार्यहरूले बौद्धहरूलाई भौतिक रूपमा र दार्शनिक रूपमा पनि लखेटे । आठौं शताब्दीमा शंकराचार्यका समयमा ठाउँठाउँमा बौद्ध धर्मका कैयौं बिहार भत्काइए । त्यसपछि बुद्ध धर्मको अलिकति संरक्षण नेपालमा भयो, अनि तिब्बततिर पनि गयो । उनीहरूले त चार्वाक दर्शनलाई पनि त्यस्तै गरे । वेदान्त दर्शनले राज्यसत्ताको संरक्षणमा यस्तो गर्‍यो । अशोक, हर्षवर्द्धनको पालासम्म शासकहरूले बुद्ध धर्मको संरक्षण गरेका थिए, तर त्यसपछि भएन । नेपालमा पनि पछिल्लो लिच्छविकालदेखि नै बुद्ध धर्म राज्यको धर्म भएन । पछि तन्त्रले सबै समाजलाई नै विकृत पार्‍यो । चीन, तिब्बत, नेपाल त्यही तन्त्रले विकृत पार्‍यो । मैले यहाँ पञ्चमकार भनेर व्याख्या गरेको छु । मांस, मद्य, मत्स्य, मुद्रा र मैथुन । यी पूरै यतैतिर गए । सबै धर्म मान्नेवाला विलासितातिर गए । यहाँ तन्त्रको कुरा गर्दा शैव धर्म, शाक्त धर्म, वैष्णव धर्मको कुरा आइहाल्छ । देवीहरूको पूजा, पूजा गर्ने वैदिक विधि एउटा छ, तान्त्रिक विधि अर्कै छ । तान्त्रिक विधिले वैदिक विधिलाई मान्दैन । पुराणले वैदिक विधि र तान्त्रिक विधिलाई जोड्ने काम गर्‍यो । अन्ततः यहाँ ब्राह्मणवाद बलियो भयो ।

पातञ्जल दर्शन र बौद्ध दर्शनमा कति कुरा मिल्छन् । यी दुइटै स्वतन्त्र रूपले उद्भव भएका हुन् कि एउटामा अर्के दर्शनको प्रभाव छ ?

यस हिमाली भूभागमा जैन साधुहरू र गौतम बुद्धले योगाभ्यास गरेका हुन् । पतञ्जली बुद्धभन्दा धेरै पछिका हुन् । योगदर्शनलाई सूत्रबद्ध गर्ने काममा पतञ्जलीको ठूलो भूमिका रह्यो । योग दर्शनसित कपिलको सांख्यदर्शन जोडिएको छ । कपिलकै नामबाट कपिलवस्तुको नामकरण भएको हो । बुद्ध त्यहीँ जन्मिएका हुन् । बुद्धको समयमा कपिलवस्तुमा सांख्य दर्शनको चर्चा हुन्थ्यो । त्यही भएर बुद्ध दर्शनमा सांख्य र योग दर्शनको प्रभाव देखिएको हो । बुद्धको अष्टाङ्ग मार्गभित्र सम्यक् दृष्टिदेखि समाधिसम्म पर्छन् । र, पतञ्जलीको अष्टाङ्ग योगअन्तर्गत यम, नियमदेखि समाधिसम्म आउँछन् । पातञ्जल र बौद्ध दर्शन त धेरै पछिका दर्शन हुन् । यिनमा कति कुरा मिल्छन्, कति मिल्दैनन् ।

दर्शनशास्त्रमा तपाईंको रुचि कसरी जाग्यो ? यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?

म त संस्कृतको विद्यार्थी हुँ । संस्कृत पढ्दा गुरुहरूले दर्शन पढ्नुपर्छ भन्नुभएकाले यतातिर लागेको हुँ । विशेषगरी जनता महाविद्यालय, दाङका प्रधानाध्यापक रामेश्वर पोखरेल गुरुले मलाई दर्शनमा प्रवृत्त गराएका हुन् । पढ्दापढ्दै ज्ञान सिद्धान्त, तर्कशास्त्र राम्रो लाग्यो । म दर्शनको स्नातक पढ्ने बेला कम्युनिस्ट भएँ । त्यसपछि पाश्चात्य दर्शन र मार्क्सवादी दर्शन पढ्न थालेपछि तिनलाई मैले यहाँको दर्शनसित तुलना गर्न थालेँ । अनि ममा दर्शनप्रति रुचि बढ्दै गयो ।

भारतीय दर्शन, पाश्चात्य दर्शन, भारतीय चिन्तन परम्परा बुझ्न मैले डा. राधाकृष्णन्, चन्द्रधर, देवीप्रसाद चट्टोपाध्याय, के. दामोदरनका दर्शनका ठेलीहरूको लामो समय अध्ययन गरेँ । दर्शनशास्त्रलाई विद्याको अनुराग भनेर परिभाषित गरिएको छ । विश्वका समस्या बुझ्ने मानवीय प्रयास हो भनेर राधाकृष्णन्ले भनेका छन् । यो संश्लेषणात्मक अध्ययन हो । यसले समग्र पक्षको अध्ययन गर्छ । म त मार्क्सवादी हुँ, त्यसअनुसार दुनियाँलाई बुझ्नु र बदल्नु दर्शनको मूल कार्यभार हो । दर्शन बुझ्ने प्रक्रियामा समाज बुझ्नुपर्‍यो । समाजमा विद्यमान अन्तरविरोधहरूको राम्रोसित अध्ययन गर्नुपर्‍यो । त्यसपछि ती अन्तरविरोधको हल कसरी गर्ने भन्ने दर्शनले देखाउँछ । अनि बल्ल राजनीति आउँछ ।

राजनीतिले दर्शनलाई पछ्याउँछ ?

हो । समाजमा कति किसिमका अन्तरविरोधहरू छन्, तिनलाई दर्शनको पथप्रदर्शनमा पहिल्याएर तिनको समाधान गर्ने कोसिस गर्ने हो राजनीतिले । सरल भाषामा भन्ने हो भने शोषक र शोषितबीचको अन्तरविरोधलाई बुझ्न सक्नुपर्‍यो । अहिलेको विश्वलाई हेर्ने हो भने पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तरविरोधलाई ठीक ढंगले बुझ्नुपर्‍यो । र, त्यो अन्तरविरोधको समाधान गर्नुपर्‍यो । मार्क्सवादीहरूको काम हो यो । पुँजीवादी दर्शनको काम सर्वहारालाई दबाएर पुँजीपतिको पक्षपोषण गर्नेु हो । द्वन्द्ववादी त सबै हुन्छन् । आफूलाई पनि बुझ, दुश्मनलाई पनि बुझ, विपरीतहरूको अध्ययन गर, त्यही त हो द्वन्द्ववाद । दर्शनको मूल कार्यभार दुनियाँ बुझ्ने, दुनियाँ बदल्ने नै हो । दर्शनले राजनीतिको सेवा गर्छ ।

हिमाली दर्शनमध्ये कुनचाहिँमा तपाईंको रुचि बढी छ ?

हिमाली दर्शनमा पनि म न्याय दर्शनमा बढी केन्द्रित छु । न्याय दर्शनमा परमाणुवाद छ । खासगरी ज्ञानमीमांसाको क्षेत्रमा न्याय दर्शनको विशेष महत्त्व छ । कैयौं विषय मार्क्सवादी दर्शनसँग मिल्छन् । जस्तो मान्छेको मनभन्दा बाहिर वस्तुको स्वतन्त्र अस्तित्व छ । यो त गजबको भौतिकवादी दर्शन भयो । वस्तुबारे ज्ञान भनेको त्यो जस्तो छ त्यस्तै अनुभव हुनु हो । जुन वस्तुबारे हामी जान्दछौं त्यो त्यस्तै हुनु ज्ञान हो । जुन वस्तु बाहिर जस्तो छ चेतनामा पनि त्यही प्रतिबिम्बित हुनु ज्ञान हो । त्यो ठीक हो कि गलत हो ? कसरी प्रामाणिक मान्ने ? त्यसका लागि व्यवहारमा जानु आवश्यक हुन्छ । व्यवहारमा जुन लागू भयो त्यो सत्य भयो । जुन लागू भएन त्यो सत्य भएन । मार्क्सको धारणा पनि त्यही हो, लेनिनको पनि त्यही हो, माओको पनि त्यही हो । न्याय दर्शनको यही कुराबाट म प्रभावित भएको हुँ । पश्चिमाहरूले प्रायशः न्याय दर्शन पढेनन्, सबै देशका भौतिकवादीहरूले यो दर्शन पढ्नुपर्छ ।

मान्छेहरूलाई दर्शनशास्त्रमा रुचि कसरी जगाउने ?

सरकारी स्तरबाटै दर्शनमा रुचि जगाउने काम हुनुपर्छ । विश्वविद्यालयहरूमा दर्शनशास्त्रका विभाग स्थापना गर्नुपर्छ ।

हाम्रोमा दर्शनशास्त्रको समानान्तरमा पढाइने समाजशास्त्रले अत्यन्तै बिगारेको छ । किनभने मार्क्सवादी दर्शनविरुद्ध समाजशास्त्र ल्याइएको छ । समाजशास्त्रमा जातपात, संस्कृति, धर्म आदिबारे अध्ययन गरिन्छ, परन्तु समग्र विश्वदृष्टिकोणबारे होइन । वस्तुको विकासको प्रक्रिया र त्यसलाई समग्रमा बुझ्न दर्शनशास्त्रै पढ्नुपर्छ । अन्य देशमा थुप्रै ठाउँमा दर्शनशास्त्र पढाइन्छ, तर यहाँ विशेष महत्त्व दिएर पढाइन्न । नेपालमा अन्य शास्त्रहरूसँगै दर्शनशास्त्रको पनि अध्ययन–अध्यापनमा विश्वविद्यालयहरूले विशेष जोड दिनुपर्छ, सरकारले निर्देशित गर्नुपर्छ । त्यसबाट नयाँ नेपाल निर्माणमा मद्दत पुग्छ ।

प्रकाशित : पुस ९, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

दरबारको पत्र : निजलाई कवि बनाइदिनू ! [अन्तर्वार्ता]

'पुरानो साहित्यिक पत्रकारिताको युगको अवसान हुँदै गरेको यथार्थ युगदृश्य यही हो तापनि हाम्रो साहित्य–लेखनको जुन विराट स्वप्न छ, त्यसको अन्त्य भने यो हुँदै होइन-यसमा म विश्वस्त छु ।'
दीपक सापकोटा

कवि, नाटककार तथा आख्यान लेखक अविनाश श्रेष्ठको अर्को एउटा सिर्जनशील पाटो पनि छ । उनी अब्बल साहित्यिक सम्पादकका रूपमा परिचित छन् । युवा पुस्ताका आजका थुप्रै कवि–लेखकलाई साहित्यिक पत्रिकामा मञ्च उपलब्ध गराउने श्रेय उनलाई जान्छ । ‘समकालीन साहित्य’, ‘कविता’, ‘प्रज्ञा’ र ‘गरिमा’ जस्ता साहित्यिक पत्रिकाको सफलतापूर्वक सम्पादन गरेका उनलाई यी पत्रिका लोकप्रिय बनाएको जस दिइने गरिन्छ ।

नेपाली साहित्यिक पत्रकारिताको इतिहास र त्यसका आयाममाथि अविनाश श्रेष्ठसँग दीपक सापकोटाको संवाद :

सुरुवात उमेरबाटै गरौं, नेपालमा समाचार पत्रकारिता जेठो कि साहित्यिक पत्रकारिता ?

लेख्य नेपाली साहित्य/वाङ्मयको इतिहास साढे पाँच सयदेखि ६ सय वर्ष पुरानो मानिन्छ । तर, छापाखानाबाट मुद्रित नेपाली साहित्यको जम्माजम्मी आयु १३८ वर्ष (भानुभक्त आचार्यको ‘रामायण–बालकाण्ड’ विसं १९४१ मा प्रकाशित भएको थियो) पुग्दै छ । मोतीराम भट्टको सम्पादनमा विसं १९४३ मा बनारसबाट प्रकाशित भएको भनिएको ‘गोर्खा–भारत जीवन’ लाई पहिलो मुद्रित नेपाली पत्रिका मान्दा १३६ वर्ष र विसं १९५५ मा काठमाडौंबाट प्रकाशित ‘सुधासागर’ लाई पहिलो मान्दा जम्माजम्मी १२४ वर्ष मात्र पुगेको देखिन्छ नेपाली साहित्यिक पत्रकारिताको उमेर । विसं १९५८ देखि ‘गोरखापत्र’ प्रकाशित हुन थालेकाले नेपाली साहित्यिक पत्रकारिता समाचारप्रधान पत्रकारिताको दाँजोमा कोही जेठो रहेको पुष्टि हुन्छ— तथ्यहरूले यस्तै देखाउँछन् ।

जेठो पत्रकारितामा अनेक प्रयोग पनि भए होलान्, होइन ?

नेपाली भाषाको एउटा मानक व्याकरण नभएको समयमा नेपाली साहित्यिक पत्रकारिता थालिइसकेको यथार्थलाई हामीले बिर्सन मिल्दैन । मानक व्याकरण नहुँदाको समयमा नेपाली भाषालाई बिस्तारै नियमका साँचाहरूमा ढाल्दै जाने प्रयोग पत्रिकाहरूले नै गरेका हुन् । नेपाली भाषाको दोस्रो साहित्यिक पत्रिका ‘सुधासागर’, अनि त्यसपछिका ‘गोरखापत्र,’ उपन्यास ‘तरङ्गिणी’ (१९५९), ‘सुन्दरी’ (१९६३), ‘माधवी’ (१९६५) आदि हेमराज पाण्डेयको ‘चन्द्रिका व्याकरण’ (१९६९) मा मुद्रित हुनुअघि नै प्रकाशित भएका हुन् । उपन्यास ‘तरङ्गिणी’ उपन्यासप्रधान पत्रिका थियो र यसभित्र धारावाहिक रूपमा उपन्यासहरू छाप्ने प्रयोग त्यतिबेलै थालिनु चानचुने साहित्यिक घटना थिएन । रसिक समाजले प्रकाशित गरेको ‘सुन्दरी’ अल्पायुमै अल्पिए पनि यसले त्यतिबेलाका युवाहरूमा भाषिक चेतना जगाएर साहित्य लेख्न ऊर्जा सञ्चार गरेको बिर्सन मिल्दैन । त्यसैगरी ‘माधवी’ पत्रिका हलन्त बहिष्कार आन्दोलनको थालनीकर्ता हो र यो पनि नेपाली साहित्यिक पत्रकारिताले नेपाली भाषा र व्याकरणलाई संक्रमणकालीन धरमरबाट बाहिर ल्याउन गरेको युगान्तकारी प्रयोग नै थियो ।

हेमराजको ‘चन्द्रिका व्याकरण’ आइसकेपछि नेपाली पत्रपत्रिकाहरू सोही व्याकरणले प्रस्ताव गरेका नियमानुसार प्रकाशित हुन थाले । १९९१ देखि प्रकाशन थालिएको ‘शारदा’ ले नेपाली साहित्यका कथा, कविता, निबन्ध, एकांकी आदि विधालाई स्वच्छन्दतावादी धरमरबाट यथार्थवादतिर डोर्‍याउन सबल भूमिका निर्वाह गरी नेपाली साहित्यमा आधुनिक मूल्य र मान्यता भित्र्याउन युगसापेक्ष प्रयोगलाई अगाडि बढाएको थियो । यसैगरी दार्जिलिङबाट इ.१९३२ मा प्रकाशन थालिएको ‘नेपाली साहित्य सम्मेलन पत्रिका’ बाट नेपालीमा शोध–अनुसन्धानमूलक ढाँचाको पहिलो प्रयोगात्मक यात्राको थालनी भएको मान्न सकिन्छ भने ‘साहित्य–स्रोत’ (२००२), ‘खोजी’ (इ. १९४०), ‘हाम्रो कथा’ (इ. १९४९), ‘प्रगति’ (२०१०), ‘दियालो’ (इ. १९५९), ‘रूप–रेखा’ (२०१७) आदि प्रतिनिधिमूलक पत्रिकाहरूले नेपाली साहित्यका अनेक आधुनिक फड्को माराइमा सहयोग पुग्ने उल्लेख्य प्रयोग भित्र्याएको पाइन्छ । ‘हाम्रो कथा’ नेपाली साहित्यको पहिलो कथाप्रधान पत्रिका थियो र आफैंमा यो आश्चर्यचकित पार्ने प्रयोग थियो— कालको सापेक्षतामा हेर्दा ।

अनि ‘रूप–रेखा’ पत्रिकाले नेपाली साहित्यको एउटा गौरवपूर्ण कालखण्डका अनेकथरी सिर्जनाहरूलाई आफूभित्र समेटेको छ । अमूर्त कविता, अकविता, अकथा, प्रायोगिक गद्य कविता, निस्सारतावादी–अस्तित्ववादी कथा–अकथा, उपन्यास, निबन्ध–प्रबन्ध, नवचेतनावादी, आयामेलीदेखि लीलालेखनसम्मका विचार, दर्शन–चिन्तन र सिर्जना आदिलाई स्थान दिनमा ‘रूप–रेखा’ अग्रणी रह्यो । यसरी ‘रूप–रेखा’ संक्रमणकालीन नेपाली समाजको युगचेतनालाई सचेत रूपमा वरण गर्ने नेपाली साहित्यिक पत्रकारिताको सबैभन्दा बलियो उदाहरण बन्न सक्यो ।

तपाईंको समयमा कस्तो थियो ? त्यसअघि कस्तो थियो ? अनि अहिले कस्तो छ– हाम्रो साहित्यिक पत्रकारिता ?

बढो अफसोसका साथ मलाई भन्न कर लाग्दैछ– केही वर्षयता नेपाली साहित्यिक पत्रकारिताको ओरालो–यात्रा जारी छ । र, यो तीव्र गतिको ओरालो–लगाइ झस्काउने खालको दु:स्वप्नजस्तो छ ।

नेपाली साहित्यिक पत्रकारिताको स्वर्णिम युगको अन्तिम भिरालोमा उभिएर बित्दै गरेका, अस्ताउँदै गरेका महान् दृश्यहरू हेर्न पाइरहेको सौभाग्यशाली सचेत दर्शक वा भनौं सजग भोक्ता ठान्ने गर्छु, मैले आफूलाई । मेले भर्खरैभर्खरै लेख्न सुरु गर्दाको समयमा प्रखर प्रत्याशा जगाउने गरी ‘रूप–रेखा’, ‘दियालो’, ‘दियो’, ‘मालिङ्गो’, ‘मधुपर्क’, ‘भानु’, ‘रचना’, ‘अभिव्यक्ति ि’, ‘सुमन’, ‘मादल’, ‘साहित्य–संकेत’ र नयाँनयाँ भरभराउँदो ‘गरिमा’ आदि नेपाली साहित्यिक पत्रिकाहरूको उन्मुक्त उडान खुला आकाशमा जारी थियो । त्यसबाहेक स्थानीय स्तरमा निस्किरहेका सपनाका विरुवाजस्ता असंख्य पत्रिकाहरू थिए मेरावरिपरि ।

म साहित्य लेखनमा आउनुअगाडिको युग त एक से एक युगपुरुषहरूले नेपाली समाजको आत्मालाई जगाउन सुरु गरेको नवजागरणको युग थियो । ‘गोर्खा–संसार’, ‘तरुण–गोर्खा’, ‘शारदा’, ‘गोर्खा–सेवक’, ‘उदय’, ‘खोजी’, ‘गोर्खा’, ‘साहित्य–स्रोत’, ‘भारती’, ‘प्रगति’, ‘हिमाद्री’, ‘प्रभात’, ‘युगवाणी’, ‘हाम्रो कथा’, ‘हिमालय’, ‘ब्रह्मपुत्र’, ‘बाडुली’, ‘मुक्ति’, ‘कोपिला’, ‘विन्दु’, ‘स्मृति’, ‘युगरेखा’ आदि कतिकति नेपाली भाषा–साहित्यको उन्नयन अनि विकासमा समर्पित साहित्यिक पत्रिकाहरूको स्वर्णिम समय थियो त्यो ।

र अहिले, नेपाली साहित्यिक पत्रकारिताको पुछारतिरको पन्नामा उभिएर एउटा खडेरीले खाएको भूखण्डतिर स्वप्नविहीन उदास आँखाले हेरिरहेछु भन्ने बोध भइरहन्छ आफैंलाई । तर, सँगसँगै लाग्ने गर्छ— पुरानो साहित्यिक पत्रकारिताको युगको अवसान हुँदै गरेको यथार्थ युगदृश्य यही हो तापनि हाम्रो साहित्य–लेखनको जुन विराट स्वप्न छ, त्यसको अन्त्य भने यो हुँदै होइन— यसमा म विश्वस्त छु ।

भाषा र साहित्यको उन्नयनमा पत्रकारिताको ठूलो योगदान छ त भन्नु भयो, यसमा महिलाको भूमिका कस्तो रह्यो ?

‘पत्रकारिताको ठीक अर्थमा पत्रकार भएका नेपाली आइमाईहरूमा सबैभन्दा जेठो नाम श्रीमती मोतीदेवीको छ’— कमल दीक्षितले ‘कालो अक्षर’ मा दिनुभएको जानकारी हो यो । १९९७ सालमा मोतीदेवीले काशीबाट ‘सर्वहितैषी पत्रिका’ प्रकाशित गरेकी थिइन् । त्यसपछिका कालखण्डहरूमा इ. १९५८ मा दार्जिलिङबाट नरा गुरुङले ‘पूर्णिमा’, इ. १९५९ मा असमबाट सुश्री गौरीदेवी सुवेदीले ‘कोपिला’, सोही वर्ष काशीबाट अम्बिका ढकालले ‘कोपिला’, इ. १९६१ मा दार्जिलिङबाट सुश्री अम्बिका सिजापतिले ‘आमा’, अनि दार्जिलिङबाट प्रकाशित ‘दियालो’ का सम्पादकका रूपमा देवकुमारी सिंह, अमृता छेत्री, लक्खीदेवी सुन्दास र सूर्यकला थापाले पालैपालो योगदान दिनुभएको छ । २०१५ सालमा काठमाडौंबाट प्रकाशित ‘स्वास्नीमान्छे’ को सम्पादन शशिकला शर्माले गर्नुभएको जान्न पाइन्छ । २०२० सालपछि नेपाली साहित्यिक पत्रकारितामा धेरै नारी स्रष्टा संलग्न हुँदै जान थालेको बुझ्न सकिन्छ ।

तपाईंले जीवनमा भेटेका/नभेटेका, तर उल्लेखयोग्य लागेका केही साहित्यिक पत्रकार र तिनले सम्पादन गरेका पत्रिकाको नाम लिनुपर्‍यो भने ?

यो साह्रै कठिन काम हो तापनि योगदानका हिसाबले आफूलाई विशिष्ट लागेका केही आदरणीय अग्रज समकालिक साहित्यिक पत्रकारहरूको नाम यहाँ लिने छु : १. ऋद्धिबहादुर मल्ल– शारदा, २. पारसमणि प्रधान– चन्द्रिका/भारती, ३. रूपनारायण सिंह– खोजी/भारती, ४. काशीबहादुर श्रेष्ठ– उदय, ५. हृदयचन्द्रसिंह प्रधान– साहित्य–स्रोत, ६. नारायणप्रसाद बाँसकोटा– प्रगति, ७. कमलमणि दीक्षित– नेपाली, ८. बालमुकुन्ददेव पाण्डे– रूप–रेखा, ९. उत्तम कुँवर– रूप–रेखा, १०. कुमार प्रधान– मालिङ्गो, ११. नारायणबहादुर सिंह– मधुपर्क, १२. कृष्णभक्त श्रेष्ठ– मधुपर्क, १३. केबी नेपाली– बिन्दु, १४. कृष्णप्रसाद ज्ञवाली– सुमन, १५. भवानी घिमिरे– भानु, १६. रोचक घिमिरे– रचना, १७. नगेन्द्रराज शर्मा– अभिव्यक्ति, १८. विष्णुविभु घिमिरे– गरिमा, १९. अच्युतरमण अधिकारी– उन्नयन, २०. मोहन ठकुरी– आरोहण आदि ।

एकै अंक मात्र प्रकाशित भएर अत्यधिक चर्चा कमाएको कुनै उत्कृष्ट साहित्यिक पत्रिका छ ?

छ नि त्यस्तो एउटा पत्रिका । आदित्यविक्रम गुमानसिंह चाम्लिङले सम्पादन गरेको ‘मनन’ (इ. १९८२) । धेरै नाम चलेका स्रष्टाहरूका खँदिला लेखरचनाले ‘मनन’ लाई उत्कृष्ट साहित्यिक पत्रिकामा दरिन सघाएका छन् । ‘मनन’ प्रकाशनको सम्पूर्ण व्ययभार भने सिक्किमका तत्कालीन नेपाली भाषा–साहित्यप्रेमी मुख्यमन्त्री नरबहादुर भण्डारीले बेहोरिदिएका थिए ।

शक्ति, सत्ता र साहित्य सधैँ जोडिन पुगेका इतिहास छन्, यसमा साहित्यिक पत्रकारिता पनि अवश्य गाँसिन आइपुग्दो हो नि !

साधारण ढंगबाट बुझिने–बुझाइने कुरा के हो भने— साहित्यिक पत्रिकाहरूले नवोदित साहित्य–सर्जकलाई स्थापित हुन भरमग्दुर सघाउ पुर्‍याउँछन्, अनि स्थापित भइसकेका चर्चित सर्जकलाई अझ माझिएर, झनै प्रखरतासाथ चिनिननिम्ति मञ्च प्रदान गर्छन् । तर, गहिरिएर भित्री तहबाट हेर्दा भिन्नभिन्न भूगोल र भिन्नभिन्न जीवन–पृष्ठभूमिबाट आएका रचनाकारका विविधतापूर्ण सिर्जनालाई एउटै धागोमा उनेर त्यस भाषाको साहित्यलाई कलात्मक एकसूत्रता प्रदान गर्न सक्नु साहित्यिक पत्रकारिताको शक्ति र सौन्दर्य दुवै हो भन्ने मलाई लाग्छ । नेपाली साहित्यिक पत्रकारिताका हिसी र सामथ्र्य नै हो भन्छु म— एकताक नेपालको राजदरबार शक्तिशाली रहेको बखत त्यहाँबाट ‘रमझम’ नामको साहित्यिक पत्रिका प्रकाशित हुने गर्थ्यो ।

यसैगरी सिक्किमका दुई भूतपूर्व मुख्यमन्त्रीहरू नरबहादुर भण्डारी र पवन चाम्लिङ आफू मुख्यमन्त्रीको शक्तिशाली पदमा आसीन रहेकै बेला क्रमश: ‘अर्चना’ र ‘निर्माण’ नामक साहित्यिक पत्रिकाको सम्पादन/प्रकाशन गरेको इतिहास छ । यी ऐतिहासिक तथ्य र उदाहरणले साहित्यिक पत्रकारिताको शक्तिको बखान नै गरिरहेका छैनन् र ! एकताक नेपाल राष्ट्र बैंकबाट ‘मिर्मिरे’, कृषि विकास बैंकबाट ‘समष्टि’, राष्ट्रिय वाणिज्य बैंकबाट ‘उपहार’, जनकपुर चुरोट कारखानाका कर्मचारीबाट ‘देउराली’ आदि प्रकाशन हुने गरेकोबाट पनि साहित्यिक पत्रकारिताको संस्कार र संस्कृति कति बलियो गरी स्थापित थियो हामीकहाँ भन्ने बुझ्न सघाउ मिल्छ ।

समीक्षक भन्छन्– ‘अहिले उबेलाझैं न लेखक छन्, न साहित्यिक सम्पादक, न साहित्यिक पत्रिका ।’ तपाईंचाहिँ के भन्नुहुन्छ ?

जुन आशय र अर्थमा अथवा जुन परिप्रेक्ष्यमा माथिका कुरा भनिएको हो— त्यो आफ्नो ठाउँमा एकदम सही छ । तर, म के थप्न चाहन्छु भने उसबेलाका झैं लेखक, साहित्यिक सम्पादक र पत्रिका आज नभएकै राम्रो । आजका लेखक सम्पूर्णतामा आजकै लेखकजस्तो हुनुपर्छ । आजको साहित्यिक पत्रिका र सम्पादक पनि उबेलाको जस्तो कदापि हुनु हुँदैन । आजकै युगबोध र समयचेतनासहितका साहित्यिक पत्रिका र सम्पादकको खाँचो छ नेपाली साहित्यलाई आज ।

तपाईंहरूको जमानामा साहित्यिक पत्रिका प्रकाशित गर्ने र सम्पादक बन्ने ठूलै लहर चलेको थाहा लाग्छ । कारण के थिए होलान् ?

साहित्यिक पत्रिकाको सम्पादक बन्नु भनेको साहित्यमा लागेका विशेषगरी नवागन्तुकहरूको नेता बन्नुजस्तो पनि थियो ४०–४५ वर्षअघिको त्यस जमानामा । र, साहित्यकारमाझ चिनिन सबैभन्दा सजिलो उपाय पनि थियो– सम्पादक बन्नु । सायद त्यसैले मौका हात लाग्नासाथ टाठाबाठाहरू साहित्यिक पत्रिका प्रकाशित गरेर सम्पादक बनिहाल्थे ।

४०–५० वर्षअघिको त्यो अद्भुत समयमा चेतनशील युवाहरू साहित्यिक पत्रिकाको सम्पादक बन्न लालायित हुने अर्को कारण के थियो भने— साहित्यिक कार्यक्रमहरू, भेला र सम्मेलनामा निम्तो गर्नेहरूले साहित्यिक पत्रिकाका सम्पादकलाई सामान्य कवि–लेखकलाई भन्दा अलि बढ्ता भाउ दिनेगर्थे । आफ्नो भाउ बढाउनकै निम्ति भए पनि एउटा पत्रिका छापिछाड्ने र सम्पादक बनेर आफूलाई चिनाउनेको लर्को ठूलै हुन्थ्यो ।

सबैभन्दा रमाइलो कुरा त के छ भने फेसबुक, टिकटक आदि सामाजिक सञ्जाल आउनुअघिको जमानामा ठूला र नाम चलेका पत्रिकाले आफ्नो रचना प्रकाशित नगरिदिएको झ्वाँक झार्न र अन्तत: आफ्नो रचना छापेरै छाडेको तुष्टि लिन पनि साना सहर अनि गाउँ–कमान–बस्ती–बस्तीबाट साहित्यिक पत्रिका धेरै ठूलो संख्यामा प्रकाशित भएका छन् ।

अब तपाईंसित केही निजी सवाल गरौं ! तपाईंको साहित्यिक पत्रकारिताको यात्रा–थालनी कसरी भएको थियो ?

सन् १९७४ को ४ जनवरीका दिन म र मेरा केही साहित्यकार साथी मिलेर गुवाहाटीमा ‘नेपाली साहित्य परिषद्, असम’ को स्थापना गरेका थियौं । केही समयपछि परिषद्बाट साहित्यिक पत्रिका ‘सलेदो’ प्रकाशित गर्ने निर्णय भयो र साथीहरूले सम्पादक बसिदिन मलाई विशेष आग्रह गरे । यसरी मेरो सम्पादन यात्रा थालनी भयो । यसको नौ वर्षपछि ‘नेपाली साहित्य परिषद्, असम’ को अध्यक्ष बन्ने मेरो पालो आयो । आफ्नो चारवर्षे कार्यकालमा मैले वार्षिक पत्रिका ‘परिषद्–पत्र’ का दुई विशेष अंकहरूको प्रकाशन— प्रधान सम्पादक बनेर गर्ने अवसर पाएँ । यीबाहेक राजधानी सहर गुवाहाटीमा ल्याएर छपाउने जिम्मा दिइएका कतिपय निकटतम मित्रका केही साहित्यिक पत्रिकाको ‘घोस्ट एडिटर’

(छाया सम्पादक) बन्ने अवसर बेलाबेला जुरिरहँदा साहित्यिक पत्रिकाका प्रस्तुति पक्षका अनेक सूक्ष्म कुराहरू सिक्न–बुझ्न मलाई सजिलो भयो ।

तपाईं नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा लामो समय कार्यकारी सम्पादक र वरिष्ठ सम्पादक बन्नुभयो, संयोग थियो कि योजना ?

भर्खरै चर्चा गरिएका ‘परिषद्–पत्र’ अंक १ र २ मैले प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति लैनसिंह बाङ्देल, उपकुलपति माधव घिमिरे र सदस्यसचिव विजय मल्ललाई पनि उपहार दिएको थिएँ । पछि २०४६ साल वैशाखमा माधव घिमिरे कुलपति, विजय मल्ल उपकुलपति अनि तीर्थबहादुर श्रेष्ठ सदस्यसचिव बनेर प्रज्ञा–प्रतिष्ठानमा आउनु भएपछि उहाँहरूले नयाँ पत्रिका प्रकाशित गर्ने निधो गरेर सम्पादनको जिम्मेवारी दिने गरी (तिनताक प्रज्ञा–प्रतिष्ठानमै काम गर्नुहुने रामशरण दर्नालमार्फत) मलाई डाकी पठाउनुभयो । यसरी ममाथि विश्वास राखेर सम्पादकको जिम्मा मलाई दिन खोजिनुको पृष्ठभूमिमा ‘परिषद्–पत्र’ अंक १ र २ मा मेरो सम्पादन–कौशल कारण रहेको पछि मैले जान्न पाएँ ।

उपकुलपति विजय मल्लको भित्री चाहना कथाप्रधान पत्रिका प्रकाशित गर्ने थियो । तर, बैठकमा ‘सबै गद्यविधाहरू समेटिने गरी गद्यप्रधान पत्रिका प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित गरिनु श्रेयस्कर हुने धारणा आएपछि’ त्यसैअनुसार गर्ने निर्णय भई मलाई कार्यकारी सम्पादकको पदमा सुरु नियुक्ति दिइएको थियो ।

सम्पादन–क्रममा प्रज्ञा–प्रतिष्ठानका केही चाखलाग्दा घटना सम्झनुहुन्छ ?

सम्पादकको रूपमा प्रज्ञा–प्रतिष्ठानमा मैले काम गर्न थालेपछि घटेका धेरै नै तीतामीठा घटनाहरू छन् । तीमध्ये अहिले तत्काल सम्झेका दुई घटना सुनाउँछु ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ मा उपकुलपति ईश्वर बरालको नेतृत्वमा प्रज्ञा–प्रतिष्ठानमा नयाँ प्राज्ञ–परिषद्ले काम थाल्यो । मलाई सम्पादकमा नियुक्त गरिएको पत्रिकाको प्रस्तावित नाम ‘समकालीन नेपाली साहित्य’ उपकुलपति बरालको विमतिका कारण बीचको ‘नेपाली’ पद झिकेर ‘समकालीन साहित्य’ मात्र रहन गयो । यसका प्रधान सम्पादकमा मैले अत्यन्त आदर गरेका वरिष्ठ साहित्यकार कृष्णचन्द्रसिंह प्रधान सर रहनुभएको थियो ।

कुरो २०४७ सालको हो । ‘समकालीन साहित्य’ पहिलो अंक प्रकाशनको तरखर चलिरहेको थियो । एक दिन बिहान कृष्णचन्द्रसिंह प्रधान सरले मलाई डाकी पठाउनुभयो । म पुगेपछि उहाँले भन्नुभयो, ‘अविनाशजी, ‘समकालीन साहित्य’ का निम्ति लेख लिन तपाईं जगदीशशमशेरजीकहाँ गइदिनुपर्‍यो । मेरो गाडी लिएर जानुहोला ।’

तिनताक वरिष्ठ साहित्यकार जगदीशशमशेर राणा बत्तीसपुतली बस्नुहुन्थ्यो । म पुगेपछि मलाई बैठकमा बसालेर उहाँ भित्रतिर लाग्नुभयो । केही बेरपछि फर्कंदा उहाँको हातमा सादा फुलस्केप कागजको बिटो र कलम थियो । मेरो छेउमा कागजका पाना र कलम राखेर अगाडिपट्टि बस्दै उहाँले भन्नुभयो, ‘म बिस्तारै बोल्दै जान्छु, तपाईं टिप्दै जानुहोस् ।’

कुरो नबुझेर छक्क पर्दै मैले उहाँलाई हेरेँ । मनमनै सोचिरहेको थिएँ— सायद लेख बुझाउन उहाँ औपचारिक पत्र लेखाउन खोज्दै हुनुहुन्छ । मैले भनेँ, ‘औपचारिक पत्र पर्दैन । लेख मात्र दिनुभए भइहाल्छ ।’

त्यसपछि बल्ल उहाँले रहस्य खोल्नुभयो, ‘त्यही लेख लेखाउन त तपाईंलाई डाकी पठाएको । म बोल्दै जान्छु, तपार्इं लेख्दै जानुस् ।’

उहाँका कुरा सुनेर म छक्क परेँ । लेख लिन भनेर डाक्ने, अनि घर पुगेपछि नलेखिएको लेख आफूले बोलेर लेखाउन खोज्ने ! यो मैले त्यसअघि नबेहोरेको स्थिति थियो ।

सक्दो विनम्रतासाथ मैले आदरणीय अग्रज लेखकलाई भनेँ, ‘म त लेख तयार पारेर यहाँले लिन डाक्नुभएको होला भन्ठानेर आएको थिएँ । यहाँले बोल्दै टिपाएको लेखेर बस्ने फुर्सद मसित छैन र फुर्सद भएको भए पनि यस्तो काम मैले गर्ने होइन ।’

मेरो कुरा सुनेर उहाँको रातोपिरो धपक्क बलिरहेको अनुहारको कान्ति झ्याप्प निभेजस्तो भयो । फेरि पनि कुरो सपार्न खोजेजसरी उहाँले भन्नुभयो, ‘मैले त्यसै त कहाँ गराउन खोज्या हुँ र ! उचित पारिश्रमिक टक्य्राइहाल्छु नि ।’ उहाँका कुरा सकिँदा नसकिँदै ससम्मान हात जोड्दै म बाहिरतिर लागेँ ।

दोस्रो घटना २०५६ साल वैशाख–जेठतिरको हो ।

एक दिन बिहानपख प्रज्ञा–प्रतिष्ठानको आफ्नो कार्यकक्षमा बसेर काम गरिरहेको थिएँ— फोनको घण्टी बज्न थाल्यो । फोन उठाएँ । अर्कोतर्फ प्रज्ञा–प्रतिष्ठानका तत्कालीन प्रशासन प्रमुख मेरा मित्र, कवि हेमन्त श्रेष्ठ हुनुहुन्थ्यो— ‘अविनाशजी, राजदरबार संवाद सचिवालयको पत्र र पाण्डुलिपिसहित एक जना व्यक्ति मकहाँ आउनुभएको छ । पत्र र पाण्डुलिपि अध्ययन गरी के गर्न सकिन्छ गर्नुहोला । म उहाँलाई तपाईंकहाँ पठाउँदै छु ।’

राजदरबारको पत्र र पाण्डुलिपि !

त्यो फेरि मकहाँ किन पठाउँदै हुनुहुन्छ हेमन्तजी ?

प्रज्ञा–प्रतिष्ठानमा मैले बिताएका दसौं वर्षमा यो पहिलो घटना थियो— राजदरबारबाट आएको पत्र र पाण्डुलिपि मकहाँ पठाउन लागिएको । कौतूहलभन्दा बढी एउटा अज्ञात भयले मलाई ठुङिरहेको थियो भित्रभित्रै ।

त्यत्तिकैमा हेमन्तजीले पठाउनुभएको मान्छे कोठाभित्र छिरेर मेरो अगाडि उभिन आइपुगेका थिए । मान्छे सिकुटे, सेतो लामो लेबदा–सुरुवाल लगाएको, रौनकविहीन अनुहार र धेरै दिनदेखि नछप्ट्याइएकाले बढेका जिङ्रिङ्ङ कपाल ।

पाण्डुलिपिसँगै नत्थी गरिएको राजदरबार संवाद सचिवालयको प्याडमा टाइप गरिएको पत्र । पत्रको शिर व्यहोरापछि लेखिएको थियो— विषय : निजलाई कवि बनाइदिनू !

अनि तल पत्रमा लेखिएको आशय थियो— पत्रवाहक निज फलानोको कविताको पाण्डुलिपि राजदरबारको सचिवालयमा दर्ता हुन आएकाले निज फलानोलाई उनको पाण्डुलिपिसहित नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान पठाउने निर्णय भइआएकाले सोहीबमोजिम पठाइएको छ । निज फलानोको कविता प्रकाशित गरी निजलाई कवि बन्न सहयोग गरिदिनुहुन आदेशअनुसार अनुरोध छ । आदि ।

पत्र पढिसकेर अनौठो मान्दै मैले उनको पाण्डुलिपिका केही कविता पढेँ । ती नितान्त सुरुवाती अवस्थाका काँचा–कटमेरा खालका रचना थिए ।

मैले ती मान्छेलाई सातादिनपछि तल सचिवालयमा गएर बुझ्नुहोला भनी पठाएँ र हेमन्तजीलाई फोन लगाएँ— ‘हेमन्तजी, अति नै सिकारु अवस्थाका कविता छन् पाण्डुलिपिमा । के गर्ने भन्नुहोस् त ?’ हेमन्तजीले भन्नुभयो, ‘मैले पनि कविताहरू हेरेको थिएँ सरसर्ती । कविता कुनैको पनि स्तर पुगेको लागेन । तर, राजदरबारबाट पठाइएको हुँदा यिनैमध्ये पनि छाप्न उपयुक्त रोजेर ‘कविता’ पत्रिकामा २–४ वटा प्रकाशित गरिदिनुहोला !’

तर, मैले ‘एउटै कविता पनि प्रज्ञा–प्रतिष्ठानको पत्रिकामा प्रकाशित गर्न सकिने स्तरका नभएकाले पाण्डुलिपि फिर्ता पठाएको छु’ भन्ने व्यहोराको टिप्पणी लेखेर पाण्डुलिपि तल सचिवालयमै फिर्ता पठाइदिएको थिएँ ।

नेपाली आधुनिक साहित्यमा ‘रूप–रेखा’लाई ‘मास्टरपिस’ पत्रिका भन्छन् जान्नेहरू । तपाईं पनि भन्नुहुन्छ ?

‘रूप–रेखा’ ले एउटा कालखण्ड विशेषका प्रतिभासम्पन्न सर्जकहरूको रचनात्मक विकासमा साथै उनीहरूभित्रको सम्भावनालाई बाहिर ल्याउनमा युगसापेक्ष भूमिका निर्वाह गरेको छ । जस्तो भनौं २०१७ सालदेखि २०३६–३७ सम्म आफ्नो उच्चतामा पुगेको ‘रूप–रेखा’ ले विजय मल्ल, भूपी शेरचन, इन्द्रबहादुर राई, शंकर लामिछाने, पारिजात, ईश्वरवल्लभ, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मोहन कोइराला, ध्रुवचन्द्र गौतम आदि सर्जकहरूको सिर्जनात्मक विकासमा ठूलो योगदान पुर्‍याएको छ भने अन्य धेरै लेखकको रचनात्मक विकासको साक्षी बनेको छ ‘रूप–रेखा’ । यस पत्रिकाको ‘शंकर लामिछाने विशेषांक’ र पूर्णांक २०० ‘वाङ्मय विशेषांक’ मात्रै हेर्दा पनि ‘रूप–रेखा’ ले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे छर्लंङ्गै भइन्छ ।

अनि ‘रूप–रेखा’ का सम्पादक उत्तम कुँवरलाई कसरी सम्झनुहुन्छ ?

उत्तम कुँवरलाई मैले उहाँ जीवित छँदै भेट्न पाइनँ । तर, उहाँसित दुई–चारपटक पत्राचार भने भएको थियो । उहाँले मेरा कवितालाई ‘रूप–रेखा’ मा स्थान दिनुभएको सम्झँदा आज गर्वबोध हुन्छ ।

उत्तम कुँवर अत्यन्तै युगसचेत, साहित्यिक पत्रकारिताको शक्ति र सीमा बुझेका, साहित्य–सिर्जनाको कालचेतनाबारे सजग आफ्नो समयका सर्वाधिक सफल साहित्यिक सम्पादक हुनुहुन्थ्यो । ‘रूप–रेखा’ ले आफ्नो समयमा समयभन्दा अघिको चेतनालाई वहन गर्ने वैचारिक लेख, समीक्षा, अन्तर्वार्ता, चिन्तन–मनन, गवेषणप्रधान, शोधमूलक सामग्रीलाई एकपछि अर्को स्थान दिएको थियो । यसबाट उत्तम कुँवरमा आधुनिकतम साहित्यिक मूल्य–मान्यताहरूलाई बुझ्नसक्ने, आत्मसात् गर्नसक्ने र प्रायोगिक रूपमा पत्रिकामा तिनलाई लागू गर्नसक्ने प्रखर युगसचेत व्यक्तित्व कारक रहेको थियो । यीबाहेक पनि उत्तमको आफ्ना समकालीन र उत्तवर्ती पुस्ताका कवि–लेखकसँगको पारस्परिक सम्बन्ध साथै व्यावसायिक व्यवहार–कुशलताले पनि उहाँ साहित्यिक पत्रकारका रूपमा अग्लो व्यक्तित्व बनाउन सफल हुनुभएको थियो ।

उत्तम कुँवरको व्यक्तित्व बुझाउने कुनै घटना याद छ ?

छ एउटा त्यस्तो घटना— जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । उत्तम कुँवर ‘रूप–रेखा’ का पाठकप्रति पनि उत्तिकै संवेदनशील सम्पादक/प्रकाशक रहेको कुरा यस घटनाबाट पुष्टि हुन्छ ।

कुरो सन् १९७३ मार्च–अप्रिलको हो । कवि हरिभक्त कटुवाल ‘रूप–रेखा’ को वार्षिक ग्राहक बनाउने अभियान लिएर गुवाहाटी आएका थिए । तिनताक म ‘बृहत्तर गुवाहाटी नेपाली विद्यार्थी संघ’ को महासचिव भएकाले ‘रूप–रेखा’ को वार्षिक ग्राहक बनाउन उनले मसित मद्दत मागे । कवि कटुवालसित पहिलो भेट भए पनि चर्चा धेरै सुनिरहेकाले मार्च २६ देखि अप्रिल २ तारिख (१९७३) सम्म हरेक दिन गुवाहाटीका मुख्यमुख्य घरहरूमा पुगेर १५२ जनालाई ‘रूप–रेखा’ को ग्राहक बनाउन मैले उनलाई सहयोग गरेको थिएँ ।

तर, कवि कटुवाल फर्केको वर्षदिनभन्दा बढी समय घर्किसक्दा पनि ‘रूप–रेखा’ नआएपछि वार्षिक ग्राहक बनेकाहरूले मलाई सोध्न थाल्नु स्वाभाविकै थियो । त्यसपछि मैले ‘रूप–रेखा’ का सम्पादकद्वयका नाममा काठमाडौंमा पत्र पठाएँ । पत्रको जवाफ भने उत्तम कुँवरले लेखी पठाउनुभयो । पत्रको आशय थियो, ‘कवि हरिभक्त कटुवालले आफू असम जाँदा ‘रूप–रेखा’ को वार्षिक ग्राहक बनाउँछु, भनेकाले उनलाई हामीले नै रसिद बुकहरू दिएर पठाएका थियौं । तर, उनले त्यता कति जनालाई वार्षिक ग्राहक बनाए, त्यसको कुनै पनि जानकारी हालसम्म हामीलाई नगराएकाले असममा बन्नुभएका ग्राहकहरूलाई पर्न गएको अप्ठ्यारोप्रति हामी क्षमाप्रार्थी छौं । कृपया तपाईंले नै गुवाहाटीमा वार्षिक ग्राहक बन्नुभएका सबैको नाम–ठेगाना पठाएर सहयोग गरिदिनुभएमा सबैलाई ‘रूप–रेखा’ नियमित पठाउने वचनबद्धता जाहेर गर्दछु ।’

मैले नोटबुकमा टिपिराखेका नाम, ठेगाना पठाइदिएँ । उत्तम कुँवरले साँच्चीकै आफ्नो वचनबद्धताअनुसार ग्राहकहरूलाई ‘रूप–रेखा’ नियमित पठाइरहनुभयो ।

उत्तम कुँवरको पाठकहरूप्रतिको जवाफदेहिता र इमानदारीको योभन्दा ठूलो उदाहरण अरू के हुन सक्छ !

नेपाली साहित्यका अरू पनि विशिष्ट सम्पादक सम्झनुहुन्छ कि ?

सम्मानसहित मैले सम्झने नाम त धेरै छन् । तर, सम्पादक र प्रकाशक दुवै आफैं भएर ‘भारती’ साहित्यिक पत्रिकालाई इ. १९४९ देखि १९५६ सम्म अंक १०८ (पूर्णांक १००) सम्म प्रकाशित गर्ने स्वर्गीय पारसमणि प्रधानको नाम मेरो हृदयमा अत्यन्त सम्मानपूर्वक कुँदिएको छ । उनीप्रति मैले अत्यन्त सम्मानभाव राख्नुको अर्को कारण पनि छ । पारसमणि प्रधानले इ. १९१८ मै ‘चन्द्रिका’ को सम्पादन गरिसकेका थिए । भाषा–व्याकरण र पाठ्यपुस्तकको क्षेत्रमा धेरै काम गरिसकेका ठूलो नाम बनाइसकेका बहुचर्चित व्यक्तित्व थिए उनी । तर, ‘भारती’ पत्रिका प्रकाशित गर्दा— आफूभन्दा उमेर र अनुभवमा निकै कान्छा तर शिक्षा, सिर्जनात्मक लेखनक्षमता, सामाजिक हैसियत र चर्चा अनि प्राविधिक जानकारी साथै आधुनिकताबोधमा आफूभन्दा अगाडि रहेको स्विकारेर रूपनारायण सिंहलाई प्रधान सम्पादक राखी पारसमणि प्रधानले आफू उनीभन्दा मुनि सम्पादकको हैसियतमा बस्न तयार हुनुलाई मैले नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा घटित— एउटा उदाहरणीय घटनाका रूपमा सम्झने गर्छु ।

सरकारी पत्रिकामा सम्पादक हुनु निजी पत्रिकाको सम्पादक हुनुजस्तै हो कि फरक ?

प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनका पत्रिकाहरूका म सम्पादक रहेँ, तर यी दुवै विशुद्ध सरकारी भन्न सकिने संस्था होइनन् कि ? नलुकाई भन्दा साझा प्रकाशनमा भन्दा प्रज्ञा–प्रतिष्ठानमा बिताएका वर्षहरू तुलनात्मक रूपमा बढ्ता बिझाउने खालका रहे । म त्यहाँको कर्मचारी नभई एउटा सम्झौताअन्तर्गत कार्यकारीदेखि वरिष्ठ सम्पादक बनेर काम गरेँ । तर, पत्याउनोस्/नपत्याउनोस्— पैसाका लागि म सम्पादक बन्न गएको कदापि होइन । प्रज्ञा–प्रतिष्ठानमा मलाई त्यस्तो विशेष तलब–भत्ताको सुविधा थिएन पनि । उही राजपत्रांकित तेस्रो र २०५० सालपछि दोस्रो श्रेणीको सरकारी जागिरेले पाउने पारिश्रमिक । त्योभन्दा कैयौं गुणा बढी— म बाहिरै बसेर कमाउन सक्ने सामर्थ्य राख्थेँ ती दिनहरूमा । मेरोबारेमा जान्ने सबैलाई थाहा छ यो कुरा ।

प्रज्ञा–प्रतिष्ठानमा सम्पादकका रूपमा काम गर्दा धेरैथरी भुक्तमान बेहोरियो । धेरै थोक भोगियो । ती सबैलाई यहाँ बखान गरेर सकिँदैन । जबसम्म त्यहाँ आफूभन्दा माथि ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, रमेश विकल, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतमजस्ता साहित्यिक पत्रकारिताको मर्म बुझेका वरिष्ठ व्यक्तिहरू हुनुहुन्थ्यो— प्रज्ञा–प्रतिष्ठानमा काम गर्न सकिने वातावरण थियो ।

अनेकौं प्रतिकूलताका बावजुद आफ्नो समयका प्रतिनिधि सर्जक र राम्रा रचनाप्रति न्याय गर्ने प्रयास गरेको हुँ । तर, त्यसमा आफू शतप्रतिशत सफल रहेँ भन्ने मेरो दाबी छैन ।

एउटा साहित्यिक पत्रिकालाई कुन–कुन विषयले हृष्टपुष्ट, विश्वसनीय, भरपर्दो र सुन्दर बनाउने रै’छ ?

पक्कै पनि प्रतिभावान्, सशक्त सर्जकहरूका रचनाले नै साहित्यिक पत्रिका हृष्टपुष्ट बन्ने हो । तर, त्यसबाहेक पनि नियमित स्तम्भ लेख्ने स्तम्भकारको योगदानले साहित्यिक पत्रिकाको स्तर र विश्वसनीयता बढाउँछ भन्ने मलाई लाग्छ । उदाहरणका लागि म ‘गरिमा’ मा छँदा– राजकुमार बानियाँ, गीता त्रिपाठी, घिमिरे युवराज, ईश्वर बुढाथोकी, रजनी ढकाल, सञ्जीव राई र गुरुङ सुशान्तजस्ता सशक्त स्तम्भ लेखकको निरन्तरको योगदानका बलमा त्यतिबेला ‘गरिमा’ भरपर्दो अनि विश्वसनीय बन्न सकेको थियो ।

यसबाहेक पनि एउटा साहित्यिक पत्रिकालाई पठनीय, कलात्मक, स्तरीय र संग्रहणीय बनाउन दक्ष सम्पादकको रणनीति, दृष्टिभंगी, समयचेतना र प्रस्तुतिकौशलको नियोजित ठूलो भूमिका त रहन्छ नै ।

-शनिबार प्रकाशित हुने ‘कोसेली’बाट

प्रकाशित : श्रावण २७, २०७९ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×