१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

के प्रोटागोनिस्ट बन्लान् मेसी ?

यो विश्वकपमा मेसी नायक बनिसके । तर, प्रोटागोनिस्ट बन्न बाँकी छ । अर्जेन्टिनाले विश्वकप जिते मेसी बन्नेछन् एक प्रोटागोनिस्ट, नत्र नायकमै सीमित हुनेछन् ।
हिमेश

एक युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन पनि भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्, ‘फाइनल खेलेर विश्वकपबाट बिदा लिँदै छु । मेरो अन्तिम विश्वकप नै अबको फाइनल खेल हुनेछ । त्यसैले म खुसी छु ।’ लाख रुपैयाँको प्रश्न भने कायमै छ– के अर्जेन्टिनाले विश्वकप जित्ला ? कि फ्रान्सले जित्ला ?

के प्रोटागोनिस्ट बन्लान् मेसी ?

अब धेरै कुर्नुपर्ने छैन । आइतबार फाइनल हुनेछ । खेल सकिनेबित्तिकै हामीले नयाँ विश्वकप विजेता पाउनेछौं । साँच्चै फ्रान्सले दोहोर्‍याएर विश्वकप जित्न पनि सक्छ । होइन भने अर्जेन्टिनाको पालो । भन्नेहरूले भनिसके– यसपल्टको कतार विश्वकप, मेसीको विश्वकप । अहिलेसम्म कतारमा कोही एक खेलाडी साँच्चै छाएका छन् भने ती मेसी नै हुन्, अरू होइनन् ।

यसपल्टको विश्वकपको कथा भन्नु नै मेसी हो । मेसी, मेसी र फेरि पनि मेसी । अहिलेको पुस्ताले देखेका विश्व फुटबलका सबैभन्दा ठूला स्टार दुई छन्– मेसी र क्रिस्टियानो रोनाल्डो । यी दुईमा को चाहिँ साँच्चै उत्कृष्ट खेलाडी हो ? एक दशकभन्दा बढी समय भइसकेको छ, यो प्रश्न विश्व फुटबल बजारमा उठेकै । अहिलेसम्म यसको यही उत्तर भन्ने पनि छैन । यसबारे जति मुख उति फरक तर्क हुन सक्छ ।

यो विश्वकपले यसको पनि ठ्याक्कै उत्तर दिन सक्नेछ । रोनाल्डो र पोर्चुगल दुवै प्रतियोगिताबाट बाहिरिइसके । रोनाल्डोको त अहिले कुनै क्लब पनि छैन । हल्ला छ, उनी रियल म्याड्रिड पुगिसके, त्यहीं अभ्यास गरिरहेका छन्, के–के न हतारो भएजस्तो ! मेसी भने दोहामै छन् । त्यहाँ मस्त छन् । फाइनलको तयारी गरिरहेका छन् । रोनाल्डोको मनको कुनै कुनामा यो विचार त पक्कै होला– मेसीको टिम हारेकै राम्रो ।

रोनाल्डोसँग यही विचार मिल्ने पनि होलान्, तर अधिकको चाहना मेसीले यसपल्ट विश्वकप जितेर बिदा लिए राम्रो भन्ने नै हो । मेसीका पनि विरोधी छन् । सबैले मेसीलाई नै मन पराउनुपर्छ भन्ने पनि छैन । तिनकै मुखबाट पनि निस्किरहेको छ, अर्जेन्टिना टिमका लागि त होइन, तर मेसीले विश्वकप जितेको हेर्ने इच्छा छ । जस्तो स्पेनका प्रशिक्षक लुइस एनरिके । त्यसो त उनी मेसीसँग नजिककै सम्बन्ध भएकोमा पर्छन् ।

मेसीले बार्सिलोनाका लागि खेलिरहँदा एनरिके प्रशिक्षक पनि भए । उनी कतार आउनुअघि भन्थे, ‘म चाहन्छु, स्पेनले नै विश्वकप जितोस् । यदि स्पेनले जित्न सकेन भने अर्जेन्टिनाले जितोस् । मेसी जत्तिको खेलाडीले एकपल्ट त विश्वकप जित्नैपर्छ ।’ ब्राजिली रोनाल्डोले पनि भनिसकेका छन्– कम्तीमा मेसीले एकपल्ट विश्वकप जितेकै राम्रो । फेरि दोहोर्‍याएर भनौं, कतार विश्वकपको कथा भनेकै यही हो । तर, यो कथाले अझै अन्त्य भने कुरिरहेको छ ।

कथा मात्र होइन, यसको बाक्लो रूप उपन्यास, अझ नाटक, अनि सिनेमामा एक यस्तो पात्र हुने गर्छ, जसको वरिपरि अन्य सबै पात्र घुम्ने गर्छन् । यसैलाई भनिन्छ– ‘प्रोटागोनिस्ट’ । कथा, उपन्यास, नाटक र सिनेकामा मुख्य पात्र नायक पनि हुन सक्छन् । प्रोटागोनिस्ट त नायकभन्दा पनि ठूलो । फेरि प्रोटागोनिस्ट प्रायः सकारात्मक पात्रै हुने गर्छ । यही पात्रले पूरै घटनाक्रमलाई दोहोर्‍याउने गर्छ । उनकै अघि–पछि जोडिन्छन् घटना ।

प्रोटागोनिस्ट प्रायः भावनात्मक पनि हुने गर्छ । पूरै कथा, उपन्यास, नाटक र सिनेमा हेरेपछि प्रोटागोनिस्ट को हो, छुट्याउन गाह्रो हुन्न । मूल कुरो त्यसका लागि अन्त्य भने कुर्नुपर्छ । हामीले जुन विश्वकपको कुरा अहिले गरिरहेका छौं, त्यसमा मेसी त नायक भइसके । तर, प्रोटागोनिस्ट हुन भने बाँकी छ । अर्जेन्टिनाले विश्वकप जितेमा मेसी हुने त्यही हो, नत्र उनी वास्तवमै नायकमै सीमित हुनेछन् । अनि सबैले भन्ने यही हो, मेसीले आफ्नो खेल जीवनमा कहिल्यै विश्वकप जितेनन् ।

प्रोटागोनिस्टको उल्टो भने एन्टागोनिस्ट हुन्छ । कतार विश्वकपको एन्टागोनिस्ट को ? सायद यसको उत्तर आइसकेको छ र ती हुन्– रोनाल्डो । एन्टागोनिस्ट प्रायः नकारात्मक पात्र हुने गर्छ । अचेल रोनाल्डोको राम्रो दिन चलिरहेको छैन । विश्वकप सुरु हुनुअघि मात्रै म्यानचेस्टर युनाइटेडले उनीसँगको सम्बन्ध तोड्यो । उनी म्यानचेस्टरमा के आए, पूरा टिम नै बिग्रियो भन्ने धेरै छन् । अनि उनकै कारण पोर्चुगलले राम्रो गर्न सकेन भन्ने पनि त छन् ।

यसको अर्थ यो भने होइन, रोनाल्डो नराम्रो खेल्छन् । उनी पनि महान् खेलाडी हुन् । रोनाल्डो जोडेर जति पनि तथ्यांक बाहिर आउने गर्छ, त्यसले छर्लङ्ग भन्छ– यी रोनाल्डो वास्तवमै कति उम्दा खेलाडी हुन भनेर । अन्तर्राष्ट्रिय फुटबलमा कोही कसैले सबैभन्दा बढी गोल गरेको छ भने ती रोनाल्डो हुन् । तर, एउटा तथ्य के निश्चित भइसकेको छ भने यी रोनाल्डोले पनि कहिल्यै विश्वकप जित्न सकेनन् । जित्न मात्र कहाँ हो र, त्यसको छेउछाउ पनि पुग्न सकेनन् ।

पेले र म्याराडोना पछ्याउँदै

विश्व फुटबलले अहिलेसम्म जति महान् खेलाडी पायो, त्यसमा पनि अब्बल भनेर दुई जनाको नाम आउँछ । एक त ब्राजिली पेले भए । अर्को अर्जेन्टिनी डिएगो म्याराडोना । प्रश्न के पनि छ भने पेले राम्रो कि म्याराडोना ? म्याराडोना त्यस्ता खेलाडी हुन्, जसले ‘मै सर्वश्रेष्ठ हुँ’ भन्न पछि परेनन् । जे होस्, विश्वकप भनेपछि साँच्चै अगाडि आउने दुई ठूला नाम पेले र म्याराडोना नै हुन् । मेसीसामु मौका छ, यी दुई नामसँगै आफू पनि जोडिने ।

अर्जेन्टिनाले पूर्णतः मेसीमा निर्भर भएर उनैलाई केन्द्रमा राखेर खेल्न थालेको अहिले होइन, धेरै भयो । बार्सिलोनाले त एक दशकभन्दा बढी समय यसरी नै खेलेको थियो । बार्सिलोना स्पेनी ला लिगामा मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमा पनि चम्कँदा त्यसका प्रमुख खेलाडी तिनै मेसी त थिए । उनको उपचार खर्च पनि अर्जेन्टिनामै रहँदा नपुग्ने भएपछि पूरै परिवार धेरै अघि बार्सिलोना आएको थियो । त्यसपछि के भयो, त्यो सबैलाई थाहा भएको इतिहासै हो ।

पछिल्लो एक दशकभन्दा बढी समय बार्सिलोनाले स्पेन र युरोपमा जुन दबदबा कायम राखेको थियो, त्यसमा प्रोटागोनिस्ट मेसी नै थिए । मेसीले बार्सिलोनाका लागि के मात्रै जितेनन् ? ला लिगा, किंग्सकपदेखि च्याम्पियन्स लिग सबै । सातपल्ट बेलन डे’अर पनि जिते । तर, उनले यस्तै काम अर्जेन्टिनाका लागि गर्न सकेका छैनन् । गत वर्षको कोपा अमेरिका नै मेसीले अर्जेन्टिनाका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो । त्यसअघि मेसीमाथि आरोप थियो, यिनले आफ्नो टिमका लागि केही जित्न सक्ने छैनन् ।

धन्न, कोपा अमेरिका जिते । अब पालो यही विश्वकपको । प्रतियोगितामा अर्जेन्टिनाको सुरुआत पनि राम्रो रहेन । साउदी अरेबियासँगको पहिलो खेलमै अर्जेन्टिना पराजित रह्यो । त्यसमा मेसीले पहिलो गोल त गरे, तर साउदी पनि के कम ! जितका लागि दुई गोल फर्काइदियो । फेरि भन्न सुरु भएको थियो, यी मेसीले केही गर्ने छैनन् । तर होइन, यसपल्ट मेसीले धेरै गरेका छन् । सम्भवतः उनी आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट विश्वकप खेलिरहेका छन्, त्यो पनि ३५ वर्षको उमेरमा ।

क्रोएसियाविरुद्धको सेमिफाइनलमा त मेसी खुबै छाए । अर्जेन्टिनाले हात पारेको तीन गोलको जितमा पहिलो गोल उनकै नाममा रह्यो । खेलको तेस्रो गोल त उनको नाममा थिएन, तर यो गोलको सबै श्रेय उनैले खाए । जुलियन एल्भारोको त्यस गोलमा मेसीले एकाएक जसरी जादुयी तरिकाले अवसर सिर्जना गरे, त्यो अद्वितीय थियो । उनले निकालेको पासमा एल्भारोको काम त खालि छुनु मात्रै थियो, उनले गरेको काम पनि यत्ति मात्रै थियो ।

यसपल्टको विश्वकपमा अर्जेन्टिनाले कुल १२ गोल गरिसकेको छ । त्यसमा पाँच गोल त मेसीकै नाममा छ । त्यति मात्रै होइन्, थप तीन गोलमा अवसर बनाउने पनि उनै थिए । मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सविरुद्ध पनि मेसीले कमाल खेले । उनले विश्वकप इतिहासमै ११ गोल गरिसके, जुन अर्जेन्टिनाका लागि कीर्तिमान पनि हो । तर, यसबीच सन् २०१४ को विश्वकप फाइनल पनि पर्छ, जसमा मेसीको अर्जेन्टिना जर्मनीको हातबाट पराजित भएको थियो ।

ब्राजिलमा भएको त्यस विश्वकप अर्जेन्टिनाले जितेको भए मेसीबारे अहिले चलिरहेका बहस त्यहीबेलै सकिइसकेको हुन्थ्यो । त्यस फाइनलपछि खिचिएको एक तस्बिर खुबै चर्चित बनेको थियो, जसमा मेसीले खुबै विस्मात् ढंगले विश्वकपको ट्रफी हेरिरहेका थिए । त्यो एक तस्बिरले पूरा विश्वकपको एउटा मूल कथा भनिरहेको थियो । मेसीलाई फेरि एकपल्ट मौका आएको छ, विश्वकप जित्ने । जिते पेले र म्याराडोनापछि आउने नाम मेसी हुनेछ ।

फ्रान्स अनि एम्बापे

कतार विश्वकपको कथा यत्तिकैमा टुंगिन्न । यसले अर्को मोड पनि लिन सक्छ । मेसीलाई सबैखाले जस पाउने कामबाट कसैले रोक्न सक्छ भने त्यो फ्रान्स नै हो । अनि फ्रान्सेली टिमका प्रमुख खेलाडी हुन्– केयलिन एम्बापे । मेसीजस्तै उनी पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी हुन् । पीएसजीमा ब्राजिलका नेयमार पनि छन् । ब्राजिल त क्वाटरफाइनलमै रोकियो, त्यसैले नेयमारको कुरा त्यहीं सकियो । फाइनलमा भने मेसी पनि पुगे, एम्बापे पनि ।

मेसी भर्सेस एम्बापे, अबको फाइनललाई यही रूप दिने प्रयास पनि भइरहेको छ । यी एम्बापेको ज्यान खुबै खाइलाग्दो छ । उनको पनि खेल कौशलता कम्तीको छैन्, तीव्र गतिमा खेल्छन्, बलमाथि उत्तिकै नियन्त्रण पनि राख्छन् । उस्तै परे उनी एकैपल्ट चार/पाँच प्रतिद्वन्द्वी डिफेन्डरलाई मज्जाले काट्न सक्छन् । अनि उत्तिकै महत्त्वपूर्ण कुरा, पीएसजीमा नेयमारको तबल मेसीको भन्दा बढी हो । फेरि यी युवा पनि छन्, भर्खर २३ वर्ष लागे ।

भने पनि हुन्छ, उनले अझै थप तीन विश्वकप खेल्न सक्नेछन् । अहिले दुईपल्ट खेल्दा नै एकपल्ट च्याम्पियन भइसके । चार वर्षअघि रुसमा भएको विश्वकप जित्ने फ्रान्स नै थियो र त्यही बेला १९ वर्षीय ठिटो खेलाडीका रूपमा उनको जबरजस्त उदय भएको थियो । कतारमा उनले पनि पाँच गोल गरिसके । मेसीजस्तै उनी पनि सर्वाधिक गोल गर्ने खेलाडी बन्ने होडमै कायम छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न पनि उनको प्रदर्शन लायकै छ ।

फ्रान्सले विश्वकप जित्नेछ भन्ने दृष्टिकोणले सोच्दा नायक हुने एम्बापे नै हो । जम्माजम्मी २३ वर्षका खेलाडी, तर विश्वकप दुईपल्ट जितिसकेको प्रदर्शन हुन सक्नेछ । त्यस्तो भयो भने एम्बापेलाई छुने कसले ? फ्रान्सले साँच्चै विश्वकप जित्यो भने विश्व फुटबलको एउटा युग मात्रै सकिने छैन, अर्को नयाँ युगको पनि सुरुवात हुनेछ र यसका नायक हुने छन्, एम्बापे । त्यसपछि विश्व फुटबलको इतिहास लेख्न सुरु हुनेछ, एम्बापेलाई केन्द्रमा राखेर ।

यो स्थितिमा मेसी र रोनाल्डोभन्दा बारम्बार दोहोरिएर आउने नाम एम्बापे हुनेछ । विश्वकप सुरु हुनुअघिसम्म डिफेन्डिङ च्याम्पियन भए पनि फ्रान्सलाई धेरैले भाउ दिइरहेका थिएनन् । तर, फ्रान्सले आफ्ना अधिकांश आलोचकको मुख बन्द गरेको छ । फ्रान्सले अस्ट्रेलिया, ट्युनेसिया र डेनमार्क भएको समूह जितेको हो । अनि फाइनल पुग्ने क्रममा पोल्यान्ड, इंग्ल्यान्ड र मोरक्कोको चुनौती काटेको हो । भनेपछि फ्रान्सको प्रदर्शन पनि दमदार छ ।

फेरि मेसीकै भनाइमा फर्कने हो भने उनी भन्थे, ‘पछिल्ला केही वर्ष म फुटबलबाट खुबै रोमाञ्चित छु । अर्जेन्टिनाका लागि जे जस्तो भइरहेको छ, त्यो खुबै खुसी दिने खालको छ । विश्वकपको फाइनल पुग्नु पनि आफैंमा ठूलो छ । हामीले जे जस्तो खेलिरहेका छौं, विश्वास छ, त्यसमा अर्जेन्टिनी समर्थक पनि खुसी छन् । तिनले हाम्रो खेलमा शंका गर्नु पर्दैन ।’ मेसीमाथि शंका कसैको पनि छैन । कसले शंका गर्न सक्छ उनी जत्तिका खेलाडीलाई ?

निचोड त्यही हो, मेसीसामु ठूलै अवसर छ । नायकभन्दा पनि ठूलो नायक हुने । त्यसो भनेको त्यही प्रोटागोनिस्ट । र, उनले अर्जेन्टिनाका लागि विश्वकप जित्न सक्नुपर्छ । यस्तो भए, यो बेजोड अवसर हुनेछ, निकै भावनात्मक पनि । पराजित रहे सबैले मेसीलाई सम्झने भनेको दुईपल्ट फाइनल खेलेर पनि जित्न नसक्ने खेलाडी भनेरै हो । यस्तो स्थितिमा विश्व फुटबलमा एम्बापेसहितको नयाँ युग सुरु हुनेछ । मेसी र रोनाल्डोजस्ता बूढा खेलाडी बिस्तारै ढिलो–चाँडो कम्तीमा मैदानबाट हराएर जानेछन् ।

प्रकाशित : पुस २, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?