म एक ‘लथालिङ्गी’

एउटा बालक पढाइमा भुसकोल थियो । सिनेमा र सुसेलामा भने मरिहत्ते गर्थ्यो । गोजीमा आना दाम नभए पनि ऊ आफूलाई ‘निम्नोन्मुख मध्यम वर्ग’ भन्न रूचाउँथ्यो । ऊ नजन्मँदै ज्योतिषीले भनेका थिए– ‘यो बालकलाई जमिनमा नजन्माउनू, खाटमा जन्माउनू । त्यसो भो भने यसले दुनियाँ हल्लाउनेछ ।’ आज ८० वर्ष लागेका उनको आफ्नै कथा :
ध्रुवचन्द्र गौतम

प्रिय पाठक,
म आज तपाईंहरूलाई एक शिशुको कथा सुनाउन चाहन्छु, जो अहिले जन्मेको छैन ।

एउटा परिवार थियो । राणाहरूको वक्रता र अन्य कतिपय परिस्थितिका कारण त्यो विस्थापित हुन पुग्यो । निर्वासनकालमा पनि त्यसले केही उद्यमहरू गर्न त खोज्यो, तर पूर्णरूपेण विफल भयो । अन्त्यमा परिवारको मुलीले घर साटफेर गर्दै काठमाडौं (बाँसबारी) बाट वीरगन्ज (कुम्हाल टोल) मा आफ्नो थातथलो बसायो ।

यो शिशु आमाको गर्भमा छँदा परिवारमा पहिले नै धेरै सदस्य थिए । ‘न्युक्लियस’ को चलन त्यस बखतसम्म थिएन । परिवारको मुख्य सदस्य एउटा व्यक्ति, त्यो शिशु गर्भित नहुँदै पितृविहीन भइसकेको थियो । ‘न्युक्लियस’ को खास जमाना नआए पनि राणाकालमै त्यो भयावह आकारको परिवार भइसकेको थियो ।

अब त्यो परिवारमा एक मियो किसिमको पूर्णचन्द्र (गोविन्दचन्द्र), उनका भाइ तीर्थराज, आमा तेजकुमारी, श्रीमती दीपवती देवी, भाइबुहारी वैदेही र लगभग हुर्किसकेका तीन छोराहरू थिए । तीन पुत्र पहिल्यै जन्मिसकेकाले सुनिन्छ, त्यो परिवार अब एक पुत्रीको कामना गरिरहेको थियो । गर्भ–परीक्षण अहिले गैरकानुनी मानिन्छ, तर सम्भव त छ । त्यसबखत त असम्भव नै थियो । ईश्वरको लीला मानिन्थ्यो, तर पनि छोरीको चाहना थियो भन्छन्, त्यसकारण एक दिन एउटा सेते भन्ने कुनै जान्नेलाई बोलाइयो र ज्योतिष–विद्याद्वारा जान्ने कोसिस गरियो— छोरा जन्मिन्छ कि छोरी ?

सेते आयो । त्यसले पाटीमा केके कोरकार गर्‍यो । अछेतापाटी, सिन्दूर सब छरछार गरेर ध्यान लगायो । परिवारका उपस्थित सब सदस्य उत्सुक भएर प्रतीक्षा गरिरहेका थिए, सेतेले कहिले आँखा उघार्छ भनेर । १५–२० मिनेट ध्यानावस्थ भएपछि त्यसले आँखा उघार्‍यो र पूरा भविष्यत्काल देखेर आएको मुद्रामा भन्यो, ‘हेर्नुस् बाजे, छोरा त यो छोरै जन्मिन्छ, तर यसलाई पृथ्वीमा होइन खाटमा जन्माउनुहोला, निकै राम्रो हुनेछ ।’

सेते त त्यति भनेर गइहाल्यो । लुगा सिउँथ्यो सेते, तर यस्तो ‘आखत’–ज्योतिष–झारफुक जान्दथ्यो । वरपर नाम चलेकै थियो त्यसको ।

छोरा जन्मिने समाचारले परिवार खिन्न भयो कि भएन, त्यो अज्ञात छ । जन्म दिने दीपवतीको कुनै भाव थियो कि, त्यो झन् अज्ञात छ । तैपनि यो अनुमान गर्न सकिन्छ, ‘ईश्वरेच्छा’ भनेर परिवार निराशैचाहिँ भएन । किनभने परिवार बरु खाट जुटाउनतिर लाग्यो । के ठेगान ? यो खाटमा जन्म्यो भने विपन्नताबाट फेरि सम्पन्नतामा प्रवेश गरिन्छ कि ?

सारांश के भने जेजति गर्दा पनि त्यो टाट परिवारले खाट जुटाउन सकेन । सेते ज्योतिषीले मनाही गरेको पृथ्वीमै त्यो शिशु पूर्णचन्द्रको चौथो पुत्र थियो । छोरीको चाहना त अझ प्रबल भयो होला, तर त्यसपछि उनको पाँचौं सन्तान पनि छोरा नै भयो । राहत तब भयो, जब छैटौं र सातौं सन्तानचाहिँ छोरी भए ।

तस्बिर : देवेन्द्र भट्टराई/कान्तिपुर

यी सब त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने बेलाका कुरा हुन् । अहिले त हर घरमा ‘जनसंख्या–विस्फोट’ को भय बढ्दो छ । त्यो शिशु वास्तवमा परिवारको अति विपन्नावस्थामा जन्मेको थियो । अलिक ठूलो भएपछि लिटो–दूध कम र परिवारको पूर्व–सम्पन्नताको किस्सा चुस्दै हुर्किन थाल्यो । पछि ऊ ‘महाभारत’ मा द्रोणको छोराले माडलाई दूध भनेर खाने कथाका साथ क्रमशः अन्य कथाहरू पनि सुन्न र पढ्न थाल्यो । पढ्न थाल्यो भन्दा भ्रम नहोस् । त्यो शिशु हुर्केर अब स्कुल जाने भइसकेको थियो । तर, पढ्दा भने प्रायः

‘स्ट्यान्ड अप अन दे बेन्च’ क्याटोगोरीमा पर्दथ्यो । आफ्नो विद्यालयकालभर ऊ कति घण्टा खडा भएको छ, त्यसको हिसाब घण्टाले गर्न भ्याउँदैन, महिनामा गर्नुपर्छ, त्यो पनि एक महिनाले त छोपै लाग्दैन । एक वर्ष भनेर भ्याउला कि ? भन्न सक्दिनँ । उभिएर बेत खाने हिसाब यसमा राखिएको छैन । उभिएर खाए पनि त्यहाँ बेतको मात्र हिसाब हुन्छ । त्यसै पनि त्यो गणितहरूमा एक कमजोर विद्यार्थी, सधैंभरि अंग्रेजी ग्रामरको किताब ‘नेस्फिल्ड’ पढ्नुपर्दथ्यो । त्यो भन्थ्यो, ‘नेस्फिल्ड बुझ्नेजति अंग्रेजी आउने भए ग्रामर नै किन रट्नुपर्‍यो ?’ यो तर्क आफूमा कमजोर लाग्दैन थियो त्यसलाई । विपन्नताको समयमा यस्तै तर्कहरूले आफ्नो ‘भुसकोल’ लाई साम्य पार्‍यो, बस्यो ।

यसैगरी त्यो हुर्कंदै गयो । त्यसको विपन्नता अनौठो पनि थियो, एक प्रकारले । त्यसबखतसम्म त्यसका पिताले जिम्दारी किनेका थिए । त त्यो छनलाई ‘जिम्दारको छोरो’ थियो, त्यसकारण आफूलाई गरिब भन्न सक्दैन थियो । तर, घरभरि अभावैअभाव थियो, सम्पन्न त कहाँबाट हुन्थ्यो ? मध्यम वर्ग भनिन्छ चलनचल्तीमा । अहिले तिनीहरू मध्यम वर्ग नै हुन् । तर, त्यसबखत ? जिम्दारको छोरोलाई गरिबको छोरो भन्न आफ्नै मनले पनि मनाही गर्दथ्यो । पछि आफ्नो त्यस स्थितिलाई बुझाउन उसले एक ‘वातानुकूलित’ शब्द निर्माण गरेको थियो– ‘निम्नोन्मुख मध्यम वर्ग’ । अब यसलाई यति नै रहन दिऊँ, धेरै ‘आँसुमय’ बनाउनु उचित नहोला ।

...

कालो बादलमा चाँदीको घेरा । जुन भनेका छन्— हुन सक्छ, त्यो घेराबाट उछिट्टिएर आएर चाँदीको केही टुक्राले त्योभित्र पनि आकार पाउन थालेको छ । त्यो शिशु अब एक ‘खिलन्दडा’(खेलप्रेमी) बालक बनिसकेको थियो ।

ऊ यता वीरगन्जका स्टेजहरूमा गीत गाउन थालेको थियो । कविता कोर्न थालेको थियो । कविता त लेख्दथ्यो, तर रुचि त्यसको गायनमै थियो । वीरगन्जका स्टेजमा गाउनुअघि नै ऊ वरपर गाउँथ्यो । स्टेजमा गाउन थालेपछि वीरगन्ज नगरवासीले त्यसलाई चिन्न थाले । त्यसका कति जना प्रशंसक पनि बनेका थिए, जो झुमीझुमी गाउने त्यसको गीत सुन्न भनेरै पनि जान्थे रे, यस्तो सुनिएको थियो । तैपनि कविता लेख्थ्यो, नेपाली र हिन्दीमा पनि । एक जमाना त यस्तो आयो, त्यो बालक ‘धूवाँधार’ कविता लेख्न थाल्यो । तर, लक्ष्य भने उसको गायक बन्ने नै थियो ।

वीरगन्जका स्टेजमा त्यस बखत हिन्दी नाटक र फिल्मी गीत नै चल्दथ्यो । त त्यो नि हिन्दी गीत नै गाउँदथ्यो । कहिले एक्लै, कहिले डुएट । डुएटमा त्यसको साथी हुन्थ्यो— सुपेन्द्रबहादुर श्रेष्ठ ।

त्यसबखत रफीको ‘बोलवाला’ थियो । सुपेन्द्रका दाइ थिए, झुलेन्द्रबहादुर श्रेष्ठ । उनी रफीका भक्त र रफीका गीत राम्रो गाउँथे । त त्यो पनि झुल्दाइ अर्थात् झुलेन्द्रबहादुरलाई आफ्नो आदर्श मान्न थाल्यो । त्यो पनि रफीकै फ्यान बन्यो । एकजना विश्वनाथ दाइले त आफ्नो नाउँ नै राखेका थिए— विश्वनाथ ‘रफी’ ।

तर, यी सब गरिबी छेक्ने वा भुल्ने मनोवैज्ञानिक क्रियाकलाप पनि होलान् ।

‘रहने को घर नहीँ है, सारा जहाँ हमारा...’, साहिरको यो लाइन उसलाई खुबै मन पर्थ्यो । अर्को इन्दीवरको :

जिस देश का बचपन भूखा हो,

फिर उसकी जवानी क्या होगी ।

यी पंक्तिहरू त्यसलाई आफूमाथि पनि ‘फिट एन्ड फाइन’ बसेजस्तो लाग्दथ्यो ।

त्यो बालक बनिसकेको शिशु, आफ्नो एक काँधमा अभाव छ, अर्को काँधमा तिनै चाँदीका कण बोकेर जन्मेको हुँदो हो— दन्त्यकथाको एक काँधमा सूर्य र अर्को काँधमा चन्द्र बोकेर जन्मिने बालकजस्तो । त्यसको हकमा चाँदीको कण चन्द्र थिए, अभाव सूर्य । यसकारण भन्छ कि त्यो ताप दिने ‘मार्तण्ड’ थियो ।

यसैगरी लड्दैपड्दै, पछारिँदै, उभिँदै अनेक यत्नले त्यसले एसएलसी पास गर्‍यो ।

त्यो फेल भयो एक पटक, तर त्यसको वर्ष खेर गएन । ‘सप्लिमेन्टी’ हुन्थ्यो । त्यसबाट छिर्‍यो । तबसम्म त्यसको परिचय टाल्सटायको ‘द थ्री क्वेस्चन्स’ सँग भइसकेको थियो । त्यस्तै केही विदेशी साहित्यिक रचनाहरू ‘लभिङ ब्याले अफ लर्ड ब्याटम्यान’, ‘कासा बियाङ्का’ आदिसँग ।

आईएमा आएपछि त्यसले विश्व–साहित्य अझ बढी पढ्न पायो, हिन्दी अनुवादसहित— अस्कर वाइल्ड, मार्क ट्वेन, सेर्वान्टे आदि । केही व्यंग्यात्मक कवितासँग परिचय भयो, मौलिक रूपमा अंग्रेजीमा जस्तो ‘क्रसिङ द रोड विदाउट ड्यु केयर, अ फक्स एट द प्वाइन्ट अफ डेथ’ आदि । केही मार्मिक कविता पनि थिए । सात क्लासमै ‘ब्लाइन्ड ब्वाय’ भन्ने एक कविता थियो, जुन पढेर भाव बुझेपछि त्यो रोएको थियो । कविताको त्यो अन्धो केटो पनि लगभग त्यसकै उमेरको थियो ।

नौ कक्षामा ‘थ्री क्वेस्चन्स’ टल्सटोयको सम्भवतः त्यसले पढेको पहिलो अंग्रेजी कथा थियो । आफ्नो सम्पूर्ण स्कुले जीवनमा त्यसले घोकेर कण्ठ गरेको त्यही एउटा कथाको समरी थियो :

‘इन अर्डर टु गेट द करेक्ट आन्सर, द किङ वेन्ट बट द हर्मिट ।’

यो पनि अरू कुनै साथी सम्भवतः उत्तम सागरले तयार गरेको नोटबाट सारेको थियो ।

यसैगरी लस्टम–पस्टम, अष्टम, नवम्–दशम् अति कष्टम गर्दै त्यो एसएलसी पास गर्न सफल भएको थियो ।

यसबीचमा त्यसभित्र केही अरू कुराले जन्म लिएका थिए । त्यो गीत गाउन थाल्यो, त्रिजुद्ध स्कुलका स्टेजमा र अन्त पनि । त्यो कविता लेख्न थाल्यो, लगातार । तर, स्कुल अवधिभरि उसको प्रथम रुचि भने गायन नै थियो । त्यसको जीवनको उद्देश्य नै गायक बन्नु थियो, कवि होइन । कथा–लेखन त अहिले कहाँ थियो कहाँ ?

...

सिलेबसका पुस्तक त्यसलाई हेर्न मन लाग्दैन थियो भने, ‘आउट बुक’ का कथा, उपन्यास त्यो आधा–आधा रातसम्म पढेर पनि भ्याउँथ्यो । फुटपाथमा बेच्न राखेका कति किताब त त्यसले फुटपाथमै उभिएर सिध्याएको पनि छ । कहिलेकाहीँ बुक सेलरको गाली पनि खाएको छ । ‘भगवे कि ना’, ‘हेतिभर के लइका’, ‘खडेखडी सब किताब पढलोइन’...। तर, भोलिपल्ट त्यो ‘लइका’ फेरि बिहानैदेखि त्यो एक मात्र फुटपाथ बुक सेलरको ‘बेसब्रीेसे इन्तजार’ गरिरहेको हुन्थ्यो ।

उसकहाँ किताब हुन्थे, किस्सा तोता–मैना, गुलेवकावली आदि । भोलिपल्ट त्यसले बिर्सन्थ्यो कि अति दयालु हुन्थ्यो, त्यो पनि झपार्दैन थियो । अझ पछि त्यो ‘चन्द्रकान्ता सन्तति’ मा यस्तो लठ्ठिन्थ्यो कि एउटा पातलो पुस्तक सक्नासाथ अर्को पढ्ने छटपटी हुन्थ्यो । त्यसपछि जासुसी दुनियाँ, बहराम डाकु, नकबपोश भेदिया आदिको दौड आयो । ओहो यी किताबहरू पढ्दा संसार बिर्सिन्थ्यो, साथीभाइ बिर्सिन्थ्यो, जाँच बिर्सिन्थ्यो । जाँचको समयमा कोर्सबुक मुन्तिर ‘साढे तीन यार’ राखेर पढेको, समातिँदा कहिलेकाहीँ अभिभावकबाट गाली खाएको सब अहिले त्यसलाई स्वप्नवत् प्रतीत हुन्छ । त्यो आफ्नो रोग–भोक–शोक सब बिर्सिन्थ्यो । त्यसपछि उसले रवीन्द्रनाथ, शरत्चन्द्र, वंकिमचन्द्र र प्रेमचन्द— यी ठूला साहित्यकार पढ्यो । बडो रुचिले । ‘अपनी छाया’ जुन अस्करवाइल्डको ‘पिक्चर अफ डोरियन ग्रे’ को अनुवाद थियो, ‘यौवन की अन्धी’ अन्य लेखकको अनुवाद । यशपाल, किसन चन्दर, जैनेन्द्रकुमार यी सब स्कुल जीवनका पुस्तक हुन् । त्यो त ऊ मान्छ पनि, यी उपलब्धि नै हुन् ।

त्यसको अर्को प्रेम सिनेमा थियो । छ आनाको क्लासमा हेर्न पैसा जुटाउन अनेक गर्थ्यो । तर हो, सिनेमा हेर्दा त्यो हलमा मुग्ध भावले बसिरहन्थ्यो ।

बालपत्रिका ‘चन्दा मामा’ त्यसको सबभन्दा प्रिय पत्रिका थियो । पछि ‘पाटल’, ‘माया’, ‘मनोहर कहानियाँ’, ‘धर्मयुग’, ‘कल्पना’ अनि ‘फिल्म फेयर’ र अन्य फिल्मी पत्रिका, हिन्दी–अंग्रेजी उसको पठनमा सामेल भए ।

अहिले हेर्दा भन्न सकिन्छ— सम्भवतः त्यो आफ्नो परिचयबाट पौडी खेलेर अर्को तटमा पुग्थ्यो, ती पत्रिका पढ्दा ।

भूतप्रेत सब त्यसलाई डराउँथे । त्यसका लागि ‘हनुमानचालीसा’ कण्ठ पारेको थियो । भूत–आशंकित गल्लीहरूमा कराईकराई हनुमानचालीसा पाठ गर्दै हिँड्थ्यो । त्यही डरले हो वा एउटा विद्या नै हो भनेर त्यो तन्त्र–मन्त्र जादुगरीमा विश्वस्त थियो । तासको जादुदेखि इन्द्रजालसम्म त्यो सिक्न चाहन्थ्यो । त्यसले अनेक प्रयास त्यता पनि नगरेको होइन । तर, त्यसले जादु, इन्द्रजाल त सिकेन, पढाइमा भने त्यो भयानक किसिमले पछि पर्दै गयो ।

त्यसलाई उद्धार गर्‍यो— त्यसको कल्पनाशीलताले, जुन फेरि तिनै डुबाउने भनिएका ‘आउट बुक’ हरूले नै तिखारेका थिए ।

भोक–रोग–शोकको कुरा अब छाडिदिऊँ । यति भनूँ, ती आउनसम्म आएका छन् । तिनैबीच हुर्केको थियो त्यो शिशु । एकपटक त्यसले आफ्नो एक पुस्तकमा आफ्नो गरिबीको बयान गरेको थियो । एक लेखकको प्रतिक्रिया थियो— ‘आत्म–करुणाको प्रदर्शन’ । तर, अन्त्यमा फुर्को लगायो, अरूले भनेको कुरा दाइ ।

त्यसबेलादेखि त्यो आफ्नो कुनै पुस्तक कसैलाई दिन हच्किन्छ । राम्रा केही लेखक यति कल्पनाशील छन् कि कसैको गरिबीलाई विज्ञापन ठानिदिन सक्छन्, के लाग्छ ? यस जगत्का खुबीहरू अनन्त छन् । अहिलेलाई यति नै ।

‘जुनेली पुस्तकालय’ तिनीहरूले नै कुम्हालटोलमा खोलेको पुस्तकालय थियो । पछि अन्य समर्थकहरू पनि आए त्यसमा । त्यो पुस्तकालय निकै समयसम्म एक जगमगाउँदो पुस्तकालय थियो । त्यहाँबाट पनि त्यसले धेरै लाभ लिएको छ ।

वीरगन्जमा आधा दर्जन यताउता पुस्तकालय थिए । माध्यमिक कक्षाहरूमा पढ्दा, त्यसले एउटा विषय लिएको थियो— सिभिक्स, नागरिकशास्त्र । त्यो जिज्ञासु निकै थियो । त्यसकारण उदाहरणका लागि त्यही ‘सिभिक्स’ पनि कुन लेखकले कसरी लेख्यो भनेर जान्न पुस्तकालयहरू चहारिरहन्थ्यो । त्यसले सिक्न अर्थात् एक विषयलाई अन्य प्रकारले पनि लेख्न सकिन्छ भन्ने ज्ञान त दियो नै ।

आफ्नो स्कुल–जीवनसम्ममा त्रिजुद्धका स्टेज शोमा गाएका कारण ऊ वीरगन्जमा लोकप्रिय पनि भएको थियो । विज्ञ सर्कलमा त्यसका कविताका प्रोत्साहक पनि बढ्दै गए । मथुरामान सिं, भोला पराजुली, पशुपतिनाथ घोष, भीम विराग आदि त्यसका प्रेरक थिए । शैलेन्द्रकुमार दाइका साथी हुनाले त्यसका गीत र कविताका श्रोता–अनुरागी थिए । उनी विशेष रूपमा प्रशंसक थिए त्यसका ।

धनुष, गोपाल, ईश्वर त्यसका दाइहरू थिए, जसको अभिभावकत्वमा खासगरी प्राज्ञिक र आर्थिक पनि, त्यो हुर्केको थियो । त्यसका पितामा पनि लेख्ने हृदय थियो, तर लेखेको भने एउटै कविता त्यसले देखेको थिएन ।

२०१९ को अन्त्यतिर एकपटक भूपि आएर एक होटल ‘हिमालय’ मा बसे । भूपि कविका रूपमा चर्चित भइसकेका थिए । त्यसले पनि आफ्ना कविताहरू सुनायो । भूपि प्रभावितजस्ता देखिए । उनले त्यसले लेखेको एक कविता छाप्न ‘रूप–रेखा’ पत्रिकाका एक सम्पादक उत्तम कुँवरका नाउँमा चिठी लेखिदिए, सिफारिसकै भनूँ— ‘वीरगन्जको एक युवा तर प्रतिभाशाली कवि...’ थालनी यस्तै थियो ।

तस्बिर : देवेन्द्र भट्टराई/कान्तिपुर

२०२० वैशाख १ गते ‘रूप–रेखा’ को कविता विशेषांकमा नेपालीमा उसको त्यो कविता प्रथम प्रकाशित रचना थियो । त्यसको शीर्षक थियो, ‘तटस्थता : असफलता ।’ कविता कति मन पराए पारखीहरूले, ज्ञान भएन तर जगदीशशमशेर राणाले अर्को अंकमा समीक्षा गर्दा, त्यस कविताको पनि उल्लेख गरेका थिए । त्यो कविलाई त्यति नै काफी थियो ।

त्यसैको केही महिनापछि ‘रूप–रेखा’ मा केही अन्य कविता पनि छापिएपछि, एउटा कथा ‘रूप–रेखा’ मै प्रकाशित भयो— ‘एक यात्रानुभूति’ ।

ऊ वीरगन्जमा गायकका रूपमा चिनिएको थियो । काठमाडौंमा कविका रूपमा अलिअलि चिनिन थाल्दै थियो । अब कथाकारको रूप पनि थपियो । परिणाम के भयो ? क्रमशः सार्वजनिक रूपमा गायन छुट्दै गयो । अब कवि थियो त्यो । कथा लेख्न थालेपछि कथाकारले कविलाई छेक्न थाल्यो होइन, छेक्दै गयो । र, अहिले कथाभन्दा पनि त्यसलाई उपन्यासले अन्त नजा भनेर समाइरहेको छ । गीत ऊ गाउँथ्यो मात्र होइन, लेख्थ्यो पनि । त्यसबाट पुरस्कृत पनि भएको छ । एक पटक त एक खास पुरस्कारबाट पुरस्कृत भएपछि वीरगन्जभरि त्यसको नाउँ त भाइरल भएको थियो, रातारात ।

अरू सारा नातेदार खुसी त भए । त्यसका पितालाई यो खबर सुनाइयो, सुनेर भावुक भए र भावुक बोलीमै भने— ‘त्यो अझ खाटमा जन्मेको भए...।’

पिताको भावुकता सुनेर फेरि त्यो पुत्र धेरैबेर भावुक भएको थियो । खैर ! खाट र जमिनको अन्तर त त्यो मान्दैन, तर पिता मात्रले त्यो घटना (खाटको) सम्झेको भने, त्यसलाई सधैं याद रहनेछ, पिताको स्नेहका रूपमा ।

स्कुलमा युनिफर्म लगाउने चलन थिएन । त्यो एउटा खाकीको कट्टु र एउटै कमिजले महिना–दुई महिना काटिदिन्थ्यो । त्यही लुगा लगाएर खेल्थ्यो, सुत्थ्यो, भोलिपल्ट नांगै खुट्टा स्कुल जान्थ्यो । धेरैजसो यस्तै हुन्थ्यो । कहिलेकाहीँ दसैंको आसपास नयाँ लुगा र बीएससी वा सीएसएका कपडाका जुत्ता र नयाँ लुगा लगाएर कपाल सोरेर ठाँटिएर पनि जान्थ्यो । तर, धेरैजसो खाली खुट्टा, हवादार नै हिँड्न मन पराउँथ्यो ।

धेरै पछि, त्रिविमा पढाउँदा एक पटक त्यसको खुट्टाको एक औंला जखमी भयो । जुत्ता लगाउन नमिल्ने भयो । त्यो बूढी औंलामा पट्टी बाँधेर एमएका क्लासहरूमा पढाउन जान्थ्यो । त्यसलाई पनि खुट्टा जुत्तामा कोचेर जानुभन्दा हवाइचप्पलमा खुट्टा हुलेर हिँड्न सजिलो लाग्थ्यो । पछि घाउ त निको भयो, तर धेरै दिनसम्म त्यो आफ्नो औंलामा पट्टी बाँधेर चप्पल लगाएरै क्लास लिइरह्यो । रमाइलो लाग्थ्यो । हवाइचप्पल लगाएर एमएका कक्षाहरूमा गएर, ‘देवकोटाको शाकुन्तलमा दार्शनिक पक्ष’ बारे लेक्चर दिन र आफ्ना खुट्टाहरूलाई ‘शु–फ्री डाइट’ दिन । यो ट्रिक कसैलाई थाहा भएन, जबसम्म त्यसैले पछि कुनै लेखमा लेखेन । कति थाहा नभएकाहरूले अब यसबाट थाहा पाउनेछन् ।

...

यस्तोयस्तो ‘लथालिङ्गी’ व्यक्तित्व भए पनि त्यो आफ्नो पेसा र लेखनप्रति इमानदार थियो । विद्यार्थीहरू त्यसलाई मन पराउँथे । पुनामा भाषा–विज्ञानमा डक्टरेट गर्दा, त्यसका धेरै साथीहरू बने ।

आज ऊ आफ्ना बाल्यकाल र प्रौढकालका ती साथीहरूलाई सम्झिरहेको छ । सम्बन्धहरूलाई सम्झिरहेको छ । धेरै सम्बन्ध र साथीहरू कोही टुटे, कोही छुटे, कोही ‘एकोडहम् द्वितियो नास्ति’ भनिरहेका छन् । यिनमा स्कुल–कलेज र साहित्यका साथी पनि छन् । भएका र गएका मित्र पनि छन् । आज सबलाई सम्झिरहेको छ ।

प्रिय पाठक,

जुन शिशुको कथा मैले थालनीमा सुनाएको थिएँ, तपाईंको हातमा यो ‘कान्तिपुर’ को ‘कोसेली’ पुग्दा त्यो ७९ वर्ष काटेर असियौं वर्षमा प्रवेश गरिसकेको हुनेछ । त्यो शिशु, हुन त अनुमान गरिसक्नुभएको होला, मै हुँ, जसको न्वारनको नाउँ जेसुकै भए पनि ध्रुवचन्द्र गौतमका रूपमा चिनिन्छ, त्यो शिशु मै हुँ ।

प्रिय पाठक,

त्यो शिशुको जीवन भनेको मेरै जीवन हो । जीवनमा संघर्षको अन्त्य हुँदैन । तर, पनि केहीले स्नेह गर्दछन्, केही पाठक मेरा छन्, धेरै नभए पनि ।

गोविन्दचन्द्र र दीपवतीका सन्तान हौं हामी । गोविन्दचन्द्रका धेरै सन्तान विभिन्न पेसामा लागे । म शिक्षणतिर लागेँ । मूल रूपमा आफूलाई लेखनमै ढालेँ, उकाली–ओराली गर्दै यहाँसम्म आइपुगेको छु । जीवन–मरणका कुरा त प्रकृति हुन्, त्यसलाई सोचिन्न कसरी भनूँ ? तर, सय–दुई सय मेरो संकलनमा होलान्, ती पढ्न कतिको भ्याइन्छ ? मनमा केही थिमहरू बाँकी छन्, ती लेख्न भ्याइन्छ कि भ्याइन्न ? यी प्रश्न पनि कमजोर रूपमा उठ्दैनन् ।

पुरस्कार–सम्मान पनि पाएकै छु, जीवनमा । मबारे पुस्तक लेखिएका–लेखिँदै छन्, विद्यावारिधि गरिँदै छन् । कति सहृदयी संस्थाहरू छन्, जसले वीरगन्ज, अन्त र यहाँ पनि अभिनन्दन गरेकै छन् । केही समयपछि मजस्तै मेरो लेखन–यात्रा पनि सात दशक पुगेर आठौंमा प्रवेश गर्नेछ । मसी सुकेको छैन, म थाके पनि कलम थाक्न मानेको छैन । मेरो ८० वर्षे प्रवेशमा ‘आविष्कारी आख्यानका दशकहरू’ कृति आउने भएको छ, यसमा सम्पादक छन्– खुमनारायण पौडेल र इशान गौतम ।

यसरी एक लेखक जन्मँदा जसले एउटा ‘खाट’ पाएको थिएन, तैपनि यति सम्मान पाइरहेको छ भने अरू के चाहियो ? तर, मान्छे आफू जत्रो भए पनि उसका चाहनाहरू अनन्त हुन्छन् । झन् लेखकका चाहनाका त के कुरा गर्नु ?

जति लेखे पनि लेख्न बाँकी रहन्छ । अहिल्यै भनिहालौं— मान्छे जान्छ, तर लेखक बाँकी रहन्छ । म जानेछु तर, मेरा लिखित–अलिखित कुराहरू रहिरहनेछन् ।

प्रकाशित : पुस २, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

मखमली प्रेमको हर्मोन

प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि पहिलेझैं सल्काउन गाह्रो पर्छ । प्रेम एक ऊर्जा हो, जो न आफैं सिर्जना हुन्छ न त्यसलाई नष्टै गर्न सकिन्छ । तर, त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ ।
शैलीका छेत्री

प्रेम दर्शनविज्ञान भन्छ– मानव सम्बन्धहरूमाझ हामीलाई नियन्त्रणमा राखिरहने एक अद्भुत शक्ति हो वा हर्मोनहरूको त्यो खतरनाक ककटेल हो प्रेम, जसले मानव विकासवादी चाल रचिरहेको हुन्छ । र, प्रेमलाई प्रकृतिले चलाएको त्यो रासायनिक घूसखोरी मानिन्छ, जसबाट प्रजातिको ‘इभोलुसन’ हुन्छ । तर, स्टर्नबर्गको प्रेम–प्रसिद्ध त्रिकोणीय सिद्धान्तबाट हेर्दा रोमान्टिक प्रेम जुनुन, आत्मीयता अनि प्रतिबद्धतामा आधारित हुन्छ ।

वास्तवमा प्रेम के हो ? सदिऔंदेखिको यो प्रश्न सदिऔंदेखि नै अनुत्तरित छ । विमर्श भइरहेकै छ, तर सही तौरमा कसैले पनि नबुझेको विषय हो– प्रेम । जसरी अमूर्त चित्रकला हेरेपछि प्रत्येकले आ–आफ्नै व्याख्यान दिन्छन्, त्यस्तै अपरिभाषित अमूर्त व्याख्यान हो प्रेम ।

प्रेम मलाई वास्तवमा त्यो ऊर्जाजस्तो लाग्छ, जो न आफैं सिर्जना गर्न सकिन्छ, न नष्टै गर्न तर त्यो ऊर्जा एक मुटुदेखि अर्को मुटुसम्म प्रसारचाहिँ गर्न सकिन्छ । हो, प्रेम ऊर्जाको त्यो आगो हो, जो एकपटक निभेपछि त्यसलाई पहिलेझैं सल्काउन गाह्रो पर्छ । त्यसैले प्रेम अनि ऊर्जाको कुरा गर्दा कुन्नि किन मलाई भौतिक विज्ञानका महान् अन्वेषक तथा प्रेमी अल्बर्ट आइन्स्टाइनका दुईवटा प्रेमविवाह अनि दसवटा रोचक प्रेम सम्बन्धको प्रेमिल कथाले काउकुती लगाउँछ । आइन्स्टाइनले प्रेममा एक हजार चार सय प्रेमपत्र लेखे । एउटा प्रेमपत्रमा आइन्स्टाइन लेख्छन्, ‘यही, ई एक्वल्स् टु एमसी स्क्वायरको सट्टा संसार चलाउने ऊर्जा, प्रकाशवर्गको गतिसित प्रेममार्फत जीवन चलाउने शक्तिलाई हामी स्वीकार गर्छौं भने त्यतिबेला हामी प्रेमलाई प्राप्त गरिरहेका हुन्छौं र त्यस क्षण त्यो विश्वव्यापी शक्ति नै प्रेम हुन्छ ।’

स्टर्नबर्गअनुसार जुनुन यौन हो, जसले सुरुमा पार्टनरहरूलाई एकअर्काप्रति आकर्षित गर्छ । र, आत्मीयता दुई प्रेमीबीचको भावनात्मक अनि व्यावहारिक बन्धनमा आधारित हुन्छ । अनि प्रतिबद्धतालाई चाहिँ दुई प्रेमीबीच जीवन बाँच्ने इच्छा (जसलाई यौन इच्छा वा विश्वास पनि भनिन्छ) भनेर बुझ्न सकिन्छ । त्यसैले मानव–प्रेम बडो जटिल अनि रहस्यमय अनुभूतिको विषय हो, जसले आफ्नै वास्तविकताको सिर्जना गर्छ । विज्ञानका अनुसार, मानव मस्तिष्कको भावात्मक कोर अर्थात् सेरेब्रल कोर्टेक्समा विकसित हुन्छ प्रेम । त्यसैले प्रेममा मानव स्नायु प्रणाली र ‘भ्यागस’ नर्भको चाखलाग्दो भूमिका हुन्छ । भ्यागस नर्भ त्यो हो, जसले मानव मस्तिष्कमा प्रेमका अस्पष्ट संवेदनाहरू भर्ने गर्छ ।

विज्ञान भन्छ, ‘आँखाबाट सुरु भएर सेरेब्रल कोर्टेक्समा प्रथमचोटि प्राथमिक सन्देशलाई अनुभव गरेपछि भ्यागस वा भिसेरल नर्भहरूको चलखेलमा प्रेम अनुभूत हुन्छ । र, त्यो अनुभूतिले नै व्यक्तिमा अनौठो परिवर्तन विस्तार गर्छ ।’ त्यसैले प्रेममा रिस वा उदासीजस्ता तीव्र भावना विकसित हुन्छन् र शरीरको रक्तचाप अनि मांसपेशीमा ऐठनजस्तो तनाव बढ्छ । मुटुको धड्कनले रफ्तार पक्रिएपछि नै त हो हत्केला अनि निधारभरि शीतका थोपाहरूझैं पसिनाका लहरहरू अकारण थुप्रिँदै जानु, प्रेमिल अनुहार पनि प्रेमका अघि रातो बनेर बेअर्थको लज्जा भावमा प्रस्तुत हुनु, खुलस्त बोल्ने स्वतन्त्रता गुमेजस्तो हुनु र हामीलाई असहज अनुभव हुनु ! यिनै होइनन् त प्रेमका चिह्नहरू ?

बडो जादुई हुँदो हो ‘प्रेम’, जसको जादुई सौन्दर्यमाथि गालिबले ‘आतिस’, तोल्सतोयले ‘अन्ना कारेनिना’, विलियम गोल्डम्यानले ‘द प्रिन्सेस ब्राइड’ अनि शेक्सपियरले ‘रोमियो–जुलियट’ लेखे । मेरा लागि प्रेम बडो मादक विषय हो, जसको प्रभाव मस्तिष्कको मार्ग हुँदै नाभितिर पुगेर अन्त्य हुन्छ । ‘भ्यागस’ नामक स्नायुको कार्यप्रणालीमा अनौठो गडबडी आएपछि पेटभरि हजारौं पुतलीले एकसाथ क्रीडा गरेको त्यो मीठो अनुभूतिले भोक अनि तिर्खाका भावहरूलाई कतै गायब पारिदिन्छ, यस्तो मादकता हुन्छ प्रेममा । त्यतिबेला नै त हो, मुटुले बारबार भनिरहेको हुन्छ, ‘प्रेमलाई आँखाले होइन मस्तिष्कले देख्छ ।’ त्यसैले पखेटा भएको कामदेव दृष्टिहीन छ र नै त साँचो प्रेमको मार्ग कहिल्यै सहज बन्न सकेको छैन । जतिबेला व्यक्ति तीव्र प्रेममा हुन्छ, त्यतिबेला खतराहरू अनुभव गर्ने प्रमस्तिष्क–खण्ड अर्थात बौद्धिक मस्तिष्क र उत्तर मस्तिष्क अर्थात भावनात्मक मस्तिष्कका केही खण्ड एकैछिन हाइबरनेसनमा जान्छन् । याद गरौं न, पहिलो डेटमा प्रेमीहरूले–प्रेमिकाहरूले एकार्कासँग प्रेमले बोल्ने सीप हराएको अनुभव गरिरहेका हुन्छन्, होइन त ?

साँच्चै, बडो अद्भुत हुन्छ प्रेम–अनुभूतिका ती प्रेमिल प्रभाव । प्रेम–अनुभूतिका प्रेमिल प्रभावलाई विज्ञानले प्रामाणिकता दिएको त्यो समय (सन् २०१९) मा फर्कौं । लस एन्जलस क्यालिफोर्निया विश्वविद्यालयका अन्वेषकहरूले प्रेम सम्बन्धमा बाँचिरहेका ४७ जना युवतीको रगत जाँच गर्दा पत्तो पाए, ‘प्रेममा पर्नु मानव जीवनको सबैभन्दा शक्तिशाली मनोवैज्ञानिक अनुभवहरूमध्ये एक रहेछ ।’ वास्तवमा प्रेम त्यो मनोवैज्ञानिक मास्टर चाबी हो, जसले व्यक्तिमा घृणा, ईर्ष्या अनि डरजस्ता नकारात्मक भावको ढोकालाई बन्द गर्छ र जीवनमा खुसीको सकारात्मक ढोका खोल्छ ।

शेक्सपियरको समयमा प्रेमलाई रोग मानिन्थ्यो । व्यक्ति प्रेममा पर्नु स्वाभाविक विषय हो भन्ने विमर्श नै नभएको समय थियो त्यो । प्रेम रोग हो भने त्यसलाई कुनै प्राकृतिक वा मानवनिर्मित नियम थाहा हुँदैन । परतन्त्रको पिँजडामा थुनिएपछि नै हो प्रेमले स्वतन्त्र पखेटा गुमाएको र प्रेम रोग बनेर चाहनाको नदीमा निरन्तर रमाइलोपनको खोजीमा हिंस्रक बन्दै गएको । तर, आधुनिकतम् विज्ञानले यही प्रेमलाई औषधिको प्रामाणिकता दिँदै भन्छ, ‘कसैसँग प्रेममा हुँदा मानव जीनले शरीरमा ‘इन्टरफेरोन’ नामक प्रोटिनहरू उत्पादन गर्छ, जसले मानव शरीरलाई भाइरल संक्रमणहरूबाट प्रतिरक्षा गर्दै आएको हुन्छ ।’ अझ प्रेमले व्यक्तिलाई हृदय रोगबाट सुरक्षित पनि राख्छ अनि शरीरमा बढेको रक्तचापलाई नियन्त्रण पनि गर्छ ।

प्रेम हर्मोनको विज्ञान

विज्ञानअनुसार, जतिखेर हामी आत्मीय व्यक्ति वरिपरि हुन्छौं, हाम्रो मस्तिष्क स्नायुबाट ‘डोपामिन’ र ‘नोरइपिनेफ्रिन’ नामक हर्मोनहरू उत्पादन भइरहेको हुन्छ र ती हर्मोनहरूले व्यक्तिमा आनन्द, स्नायु उत्तेजना अनि उत्साहको भावना निम्त्याउँछ । त्यही क्षण त्यहाँ ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन) प्रवाह हुन्छ र त्यसले मोह भावनालाई उत्तेजित पार्छ । त्यसपछि हो यौन हर्मोनहरू (टेस्टोस्टेरोन र इस्ट्रोजेन) ले व्यक्तिमा कामवासनालाई नेतृत्व गर्दै आएको, अक्सिटोसिन (प्रेम हर्मोन) ले समानुभूति भाव मस्तिष्कमा कुँदिएको । विज्ञानअनुसार, प्रेममा ओएक्सटी नामक जिनको पनि विशेष भूमिका हुन्छ । त्यो ओएक्सटी जिन नै हो, जसले मानव मस्तिष्कका स्नायुहरूमा अक्सिटोसिन हर्मोन उत्पादन गर्छ । र, त्यो अक्सिटोसिन हर्मोनले चाहिँ मान्छेको सामाजिक व्यवहार निर्धारित गर्दै आएको हुन्छ । जर्जिया विश्वविद्यालयलले मानव मस्तिष्कमा ओएक्सटी जिनको संरचना अनि प्रेममा त्यसको प्रभाव खोज्न एक सय बीसभन्दा बढी व्यक्तिहरूमा गरेको एउटा अन्वेषणले पत्ता लगाएको थियो, ‘ओएक्सटी जिन कम भएका व्यक्तिहरू आफ्ना प्रियजनसित पनि भावनात्मक रूपमा कम जोडिएका थिए ।’ अन्वेषकहरूले जटिल जिनहरूका सेट र जिनहरूबीचको मिल्दो अन्तरक्रियामा सामाजिकता निर्माण भएको वैज्ञानिक तथ्य पत्ता लगाए । र, सन् २०११ मा अन्वेषक वुडले ओएक्सटी जिनलाई ‘विकासको द्रुत रूप’ भनी प्रमाणित गरे ।

अक्सिटोसिन हर्मोन : एक विमर्श

अक्सिटोसिन हर्मोन प्रेम आलिंगन तथा चुम्बनको समयमा मानव मस्तिष्कमा बढी मात्रामा निसृत हुन्छ । यसलाई ‘कडल’ (आलिंगन) हर्मोन वा ‘बन्डिङ’ (स्नेह) हर्मोन पनि भनिन्छ । विशेषगरी, अक्सिटोसिन यौनको चरम सन्तुष्टितिर शरीरभरि प्रवाहित हुन्छ । तर, यो हर्मोन सन्तान जन्माएपछि स्तनपानमा रहँदा पनि स्त्रीमा बढी मात्रामा देखापर्छ । त्यसैले प्रेमको बायोकेमिस्ट्रीमा बारम्बार महत्त्वपूर्ण भूमिका न्युरोपेप्टाइड अक्सिटोसिनले खेलिरहेको हुन्छ । अक्सिटोसिनले आमा र शिशुबीचको सम्बन्धलाई बलियो बन्धनमा बाँधेको हुन्छ ।

सन् २०१२ मा रोबर्ट फेल्डम्यानले बच्चाको उपस्थितिले पनि घरका वयस्क सदस्यहरू (बुबा, हजुरबुबा, हजुरआमा) मा अक्सिटोसिन हर्मोनको प्रवाह स्वतः बढेको पत्ता लगाएका थिए । सारासोटा डल्फिन रिसर्च प्रोग्राम फ्लोरिडाले डल्फिनहरूमा हर्मोनको मात्रा नापेको थियो । र, बच्चा डल्फिनमा त्यो मात्रा उच्चस्तरको भएको पत्ता लगाएको थियो । त्यो प्रोग्रामले भनेको थियो, ‘त्यो अक्सिटोसिन हर्मोन नै रहेछ, जसले डल्फिन बच्चालाई डल्फिन आमाको प्रत्येक निर्देशनसित समुद्रको गहिराइमा पनि प्रेम अनि स्नेहको भाव राख्न सिकाइरहेको हुन्छ । त्यसैले अक्सिटोसिन हर्मोन प्रेमिल सम्बन्धका निमित्त एकदमै महत्त्वपूर्ण छ ।’

विज्ञान र प्रेम

पुरुषको तुलनामा स्त्रीमा अक्सिटोसिनको मात्रा बढी हुन्छ । यौनसम्बन्धपछि पुरुषमा यसको मात्रा कम हुन पुग्छ, तर स्त्रीमा चाहिँ रोमान्टिक प्रेमको रुचि कायमै रहन्छ । खासमा त्यो प्राकृतिक कारण नै हो, जसले पुरुषलाई लामो अवधिसम्म प्रेम सम्बन्धमा रोमान्टिक बन्न दिँदैन ।

विज्ञानका निम्ति प्रेम ‘सेरोटोनिन’ (खुसीको अनुभूति दिलाउने हर्मोन), ‘टेस्टोस्टेरोन’, ‘डोपामिन’ (आनन्द अनुभूति दिलाउने हर्मोन), नोरइपिनेफ्रिन हर्मोनको चलखेल हो । अक्सिटोसिन (प्रेम हर्मोन) अनौठो प्रभावमा प्रजातिको जनसंख्या जोगाइराख्न प्रकृतिले रचेको यौनिक यात्रा हो, जहाँ भावनाको कुरा न्यूनतर हुन्छ र केवल प्रजननको कुरा बाँकी रहन्छ । र, प्रजननपछि जन्मिएको सन्तानलाई संरक्षण दिँदै सामाजिक संस्कारसित अवगत गराउन अनि प्रकृतिमा प्रजाति बचाइरहन नै यौनले प्राथमिकता पाएको हो । डाक्टर आना मासिनले भनेका छन्, ‘प्रेम पर्नु भनेको व्यक्तिका निम्ति प्रकृतिमा जीवित रहने प्रमुख बाटोलाई पछ्याउनु हो ।’ मलाई लाग्छ, संसारमा प्रजाति संख्या कायम राख्ने प्रकृतिको एक परियोजना मात्रै हो प्रेम ।

प्रेम–यौन

हुन त विज्ञानले प्रेम भावलाई केवल प्रजननका निम्ति चलाइएको यौनिक प्रक्रिया मान्छ । तर, भावनात्मक आधारमा ‘प्रेम’ र ‘यौन’ समानार्थी शब्द होइनन् । शारीरिक रूपमा कहिल्यै नभेटिएको मान्छेसँग पनि अर्को मान्छे बलियो प्रेम सम्बन्धमा बाँधिइरहन सक्छ । त्यसैले प्रेम अर्को व्यक्तिप्रतिको तीव्र गहिरो भाव हो अनि यौनचाहिँ केवल शारीरिक आकर्षण । कतिपयले यौनलाई प्रेमको अन्तिम विन्दु माने पनि यो आफैंमा प्रेमचाहिँ होइन । हुन त प्रेममा अक्सर यौन जोडिन आइपुगिहाल्छ । त्यसैले प्रेमले ज्यादातर यौनलाई नै संकेत गरेजस्तो भान हुन्छ । तर, केवल इच्छा र आनन्दको अभिप्रायमा हुने यौन, प्रेम होइन । यौन प्रकृतिले प्रजाति जोगाउन रचेको प्रेमपूर्ण षड्यन्त्र हो । प्रेमचाहिँ भावनात्मक, बौद्धिक र आध्यात्मिक तौरमा हुने एक अलग्गै प्रक्रिया हो ।

प्रेमको वैज्ञानिक चरण

विज्ञानले प्रेमलाई ‘वासना’, ‘आकर्षण’ र ‘सम्मिलन’ (प्रणय–बन्धन) गरी तीन चरणमा विभाजन गर्छ । त्यसैले प्रेमको पहिलो चरणमा वासनाको मुख्य कारक ‘टेस्टोस्टेरोन’ हर्मोन हुन्छ, जसले पुरुष–स्त्री दुवैमा किशोरावस्थातिर भयंकर चामत्कारिक प्रभाव जमाउँछ । त्यसैले हो हर्मोनको यस्तो मादकतामा व्यक्तिलाई मोहको अनुभूति पनि प्रेमजस्तै लाग्छ । तर, एकपटक यो अभिलाषाको चरण पार गरेपछि प्रेम दोस्रो चरणमा हुन्छ, जसलाई ‘आकर्षण’ भनिन्छ । व्यक्ति धेरै तरिकामा अर्को व्यक्तिसित आकर्षित हुन्छ । त्यो मन परेको प्रिय व्यक्तिप्रतिको चारित्रिक समानता, मायालुपन वा मिल्दो परिपक्वताको स्तर वा शारीरिक सौन्दर्य पनि हुन सक्छ, जसले ‘आकर्षण’ लाई जन्म दिन्छ । तर, विज्ञानअनुसार मानवमस्तिष्कमा ‘आकर्षण’ को मूल कारक ‘डोपामिन’ को मायावी जाल मात्रै हो । त्यसैले अधिकांश व्यक्ति ‘वासना’ र ‘आकर्षण’ को चरणलाई महत्त्व नदिँदै प्रेमको सबैभन्दा सुन्दर चरण ‘सम्मिलन’ मा प्रवेश गर्छन् । यो चरणमा ‘अक्सिटोसिन’ अर्थात् ‘प्रेमरस’ को यस्तो मायाजाल हुन्छ, जहाँ यौनले बढी मान्यता पाउँछ । यो चरण–प्रवेशपछि नै दुई प्रेमी बलियो बन्धनमा बाँधिन्छन् ।

प्रेमको संकेत ‘हृदय’

विज्ञानअनुसार, प्रेमको भावना हाम्रो हृदयमा उत्पन्न हुँदैन । बरु प्रेम हाम्रो मस्तिष्कमा अक्सिटोसिन, डोपामिन, एड्रिनालिन टेस्टोस्टेरोन, इस्ट्रोजेन र भासोप्रेसिनको प्रवाहमा उत्साह, आनन्द अनि बन्धनको मिश्रित भावनासित सिर्जना हुने गर्छ । र, यी भावले हाम्रो मस्तिष्कका निर्णय अनुभूति गर्ने प्रणालीभित्रको प्रमस्तिष्क नामक केन्द्रलाई असर गर्छ । त्यसैले हो मान्छेलाई प्रेम हेरोइन र कोकिनको लतजस्तो मादक अनुभव भएको । र, एकपटक प्रेमको स्वाद लिएको मान्छे थप प्रेम अनुभूतिमा रम्न लालायित बनिरहेको हुन्छ । प्रेम लतको एक कारण हो, हामी अर्को मान्छेसँग बारबार प्रेममा जोडिइरहेका हुन्छौं । कारण के भने हामी ती रसायनहरूको लतमा हुन्छौं । त्यसैले महत्त्वपूर्ण व्यक्तिसँगको अन्तरक्रियामा हामी आनन्द, उत्साहको तीव्र, तर मधुर उष्णता अनुभव गर्छौं । त्यो वास्तवमा प्रकृतिले नै चलाएको एक जैविक घूसखोरी हो ।

सन् १९५५ मा भिन्सेन्ट डु भिग्नेउडले अक्सिटोसिन र भासोप्रेसिन हर्मोनलाई कर्नेल मेडिकल कलेजमा पृथक् ढंगले संश्लेषण गरे । ‘प्रेम हर्मोन’ को रोचक कार्यप्रणालीका निम्ति उनलाई रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो । त्यसपछि मात्रै बुझिएको थियो, ‘प्रेम मुटुको भावनामा नभएर मस्तिष्कको रासायनिक प्रतिक्रियामा आधारित हुन्छ ।’ त्यसैले होला, अचेल ‘प्रेम’ बुझाउन संकेतका रूपमा चलाइने ‘हृदय’ आकारको प्रतीक मुटुसित सम्बन्धित नभई चौधौं शताब्दीमा कामोत्तेजक अनि प्रभावकारी गर्भनिरोधकका रूपमा प्रयोग गरिने सिल्फियम बिरुवाको प्रतीकमा आधारित भएको मानिन्छ ।

प्रेमको रातो रङ

प्रेमको रङ खासमा कस्तो हुन्छ ? रोमान्टिक प्रेमलाई रातो रङले बुझाउँछ । पश्चिमी समाजमा रातोलाई भ्यालेन्टाइन डेसँग जोडेर हेरिन्छ । यसको प्रतीकात्मक र सांस्कृतिक अर्थ छ । फेरि विज्ञानले पनि रातो रङको प्रभावले शरीरमा प्रेमले झैं ढुकढुकी बढाउने, उत्साह र ऊर्जा उत्पन्न गर्दै व्यक्तिमा जोस, वासना अनि इच्छाको भाव जगाउने गर्छ भन्ने प्रमाणित गरेको छ ।

बडो गजबको छ, ‘प्रेम हर्मोन’ । सन् १९६० को दशकमा नासाद्वारा अनुदान प्राप्त परियोजनाअन्तर्गत डाक्टर जोन लिलीले ‘प्रेम हर्मोन’ को प्रभावबारे अनुसन्धान गरिरहेकी थिइन्, डल्फिन अनि मानव सम्बन्धमा रहेर । सन् १९६१ मा प्रकाशित आफ्नो किताब ‘म्यान एन्ड डल्फिन’ मा यस विषयलाई लेखेकी छन् डाक्टर लिलीले । त्यो डाक्टर लिलीको अनुसन्धान नै थियो, जसको आधारमा चलचित्र ‘अल्टर्ड स्टेट्स’ बन्यो । उनको त्यस अनुसन्धानमा तीनवटा डल्फिन प्रयोगमा थिए, ‘पिटर’ (भाले), ‘पामेला’ र ‘सिसी’ । ‘पामेला’ र ‘सिसी’ पोथी डल्फिन भएकाले लिलीले एलएसडी (एक खालको लट्ठ्याउने औषधि) प्रयोग गर्दा डल्फिनले अंग्रेजी भाषाका आवाज नक्कल गरेका थिए । तर, अनुसन्धानमा डल्फिन पिटरलाई प्रशिक्षण दिन लिलीलाई हम्मे पर्‍यो । कारण पिटर यौन परिपक्वताको चरममा अर्थात् ‘अक्सिटोसिन’, ‘डोपामिन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको प्रभावमा थियो र बच्चाजस्तै खुब चञ्चल थियो । त्यसैले डाक्टर लिलीले मार्गरेट लोभेटलाई पिटरको प्रशिक्षणका निम्ति नियुक्त गरिन् । तर, त्यस अनुसन्धानमा पिटर अनि मार्गरेट लोभेटबीच अचम्मको सम्बन्ध विकसित भयो, जसबारे मार्गरेटले ‘हसलर’ पत्रिकामा लेख लेखेकी छन्, ‘पिटर मसँग बस्न मन पराउँथ्यो । उसले आफैंलाई मेरो घुँडा, खुट्टा वा हातमा रगड्दा अतीव आनन्द पाउँथ्यो । त्यो पिटरका निम्ति यौन थियो र विज्ञानका निम्ति प्रेम हर्मोन अक्सिटोसिनले निम्त्याएको ‘इन्टरस्पेसिफिक सेक्स (अन्तर प्रजातीय यौन) ।’ तर, पछि अनुसन्धानअन्तर्गत पिटरलाई मार्गरेटसित छुट्याएर राखियो । त्यस निर्णयले एक दुःखद मोड लियो । भयो के भने, डल्फिन पिटरले मार्गरेटसित त्यसरी जबरन छुट्टिनु परेको अतिशय पीडामा गहिरो पानीमा डुबेर आत्महत्या गर्ने स्वतन्त्र पीडालाई नै अन्त्यमा रोजिदियो ।

त्यसैले मलाई लाग्छ, बडो रहस्यमय छ, हर्मोन अक्सिटोसिन अनि प्रेम आलापका कुराहरू । प्रख्यात प्राइमेटोलोजिस्ट जेन गुडमलले चिम्पान्जीहरूको रहस्यमय प्रेमको अध्ययनपछि पत्ता लगाए– चिम्पान्जीको पिसाबमा अक्सिटोसिन हर्मोन बढी मात्रामा पाइन्छ । त्यसैले तिनीहरूको भावनात्मक स्वभाव हुन्छ– झुन्डमा सबैसित मिलेर खाना बाँड्ने ।

सन् २००९ मा रागोना र वाङले गरेको प्रेयरी भोलहरू (नर्थ अमेरिकाको ढुंगे चट्टानमा पाइने मुसाको एक प्रजाति) माथिको एउटा अनुसन्धानबाट अक्सिटोसिनले सामाजिक अन्तरक्रिया र व्यवहारमा प्रमुख भूमिका खेल्दै आएको पाए । त्यस अन्वेषणमा थाहा लाग्यो, प्रेमका निम्ति अक्सिटोसिनसित डोपामिन अनि भासोप्रेसिनको अन्तरक्रिया पनि प्रमुख हुन्छ । जब प्रेयरी भोलहरूका जोडी यौनसम्पर्क गर्छन्, त्यहाँ अक्सिटोसिन र भासोप्रेसिन हर्मोनको प्रवाह हुन्छ । सन् १९९८ को कार्टरको एउटा प्रयोगमा बफादार भोलको जोडीलाई अक्सिटोसिन हर्मोनको इन्जेक्सन दिएपछि छनोट गरिएका अरू प्रेयरी भोलसित यौनसम्पर्कका लागि उक्साउँदा पनि ती प्रेयरी भोलहरू आफूले पहिले नै रोजेको पार्टनरका निम्ति छटपटाइरहेका थिए । प्रेम हर्मोनको यो कस्तो गजबको शक्ति !

युनिभर्सिटी अफ मिनेसोटाका वैज्ञानिकहरूले बीसवटा हिंस्रक सिंहहरूमा अक्सिटोसिन हर्मोन स्प्रे गर्दा तिनीहरू शान्त, सहनशील र नरम आचरण प्रदर्शन गरिरहेका थिए । घरको पाल्तु कुकुरलाई मायालु नजरले हेर्दा पनि कुकुर र मान्छे दुवैको शरीरमा अक्सिटोसिन हर्मोनको प्रवाह हुँदो हो । बन्डिङ हर्मोनको यस्तो प्रभावमा कुकुरले हाम्रो सुरक्षा खातिर खतराहरूलाई पनि बेवास्ता गरिरहेको हुँदो हो ।

...

सायद प्रेम त्यो भाव हो, जब आत्माले प्रेम गीत गाउन थाल्छ तब हाम्रो जीवनमा सुखका फूलहरू आफैं फुल्छन्, अनि त्यतिबेला प्रेमले अधिकार दाबी गर्दैन, तर स्वतन्त्रता दिन्छ । प्रेम तथ्यलाई हामी कविगुरु रवीन्द्रनाथ टैगोरका रचनाहरू ‘रवीन्द्र संगीत’, उपन्यास ‘शेषेर कविता’, ‘चोखेर बाली’, ‘नौका डुबी’ अनि कादम्बरी देवीसितको कविगुरुकै त्यो प्रथम स्वतन्त्र प्रेम सम्बन्धभित्र पनि खोज्न सक्छौं । अरुणा चक्रवर्तीको पुस्तक ‘जोरसाँको’ पढेपछि रवीन्द्रनाथ अनि कादम्बरीको सम्बन्धबारे गहिरो रूपमा बुझ्न सकिन्छ । कादम्बरीदेवी रवीन्द्रनाथका दाजु ज्योतिन्द्रनाथका विवाहिता स्त्री थिइन् । कादम्बरीदेवीले युवा रवीन्द्रनाथको जीवनमा असाधारण भूमिका निर्वाह गरेकी थिइन्, जसले कविगुरुलाई कविता लेख्न प्रेरित गर्थ्यो । तर, समाजमा तिनीहरूको प्रेमसम्बन्ध गोप्य राखियो । मृणालिनीसँग रवीन्द्रनाथको विवाह भएको चार महिनापछि कादम्बरीले अफिमको ओभरडोजमा आत्महत्या रोजिन् । कादम्बरीको त्यस्तो मृत्युमा रवीन्द्रनाथ बडो विचलित बनेका थिए । र, एउटा पत्रमा लेखेका थिए, ‘मेरी रानी मरिसकेकी छन्, त्यसैले मेरो संसारको सुन्दर अपार्टमेन्टको भित्री ढोका बन्द भएको छ, जसले मलाई स्वतन्त्रताको वास्तविक स्वाद दिने गर्थ्यो ।’ रवीन्द्रनाथ सत्तरी वर्षका हुँदा नन्दलाल बोससमक्ष आफ्नो चित्रकारितामा देखिने स्त्री छविमा कादम्बरीदेवीको अनुहार भएको स्विकारेपछि नै हो मलाई पनि प्रेम बडो रहस्यमय लागेको ।

प्रेम मलाई निकोलस र्स्पाक्सले, ‘अ वाक टु रिमेम्बर’ मा लेखेझैं धैर्यवान् अनि दयालु लाग्छ । प्रेमले कहिल्यै ईर्ष्या गर्दैन वा प्रेम कहिल्यै घमन्डी वा अभिमानी बन्न सक्दैन । त्यसैले प्रेमको कुनै अन्त्य छैन र नै प्रेम शक्तिपुञ्ज हो । त्यसैले एक क्षण तपाईं पनि विचार गर्नुहोस्, प्रेमका यति विविध पक्ष पढेपछि तपाईंलाई प्रेमले कस्तो अनुपात देखायो– भावपरक, वासनायुक्त कि रासायनिक ? वा प्रेमको अरू पक्षसित पनि तपाईं अवगत हुनुहुन्छ ? तर, जे भन्नुस्, मलाई त प्रेम कबिरको दोहा (एक किसिमको कविता, जसलाई सन्त कबिरले उपदेश दिँदा प्रयोग गर्थे) जस्तो लाग्छ :

प्रेम ना बारी उपजै प्रेम ना हाट विकाय

राजा प्रजा जेहि रूचै, शीश देयी ले जाय

अर्थात्

प्रेम न उम्रन्छ बारीमा न बिक्छ यो हाटमा

प्रेम चाहने राजा होस् कि प्रजा, शिर (बुद्धि) राख्नुपर्छ हातमा

प्रकाशित : मंसिर २४, २०७९ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×