ड्यानका नेपाल यादहरू

नेपाल केन्द्रित ५ अनुसन्धानमूलक पुस्तकका अमेरिकी लेखक ड्यान इडवार्डस पछिल्ला ५६ वर्षयता सालिन्दा नेपाल आइरहेका छन् । नेपालको इतिहास र बदलिँदो समाजको चरित्रबारे उनको बुझाइ विशद छ ।
जनकराज सापकोटा

अमेरिकाको कोलोराडोमा हुर्केर स्ट्यान्डफोर्ड युनिभर्सिर्टीबाट ग्र्याजुयट गरेपछि ड्यान इडवार्डस २०२३ सालमा नेपाल उत्रेका थिए । पिसकोर भोलेन्टियर रूपमा पहिलो पटक काठमाडौं आइपुग्दा उनका निम्ति यो पूरै सहर अनौठो थियो ।

ड्यानका नेपाल यादहरू

उपत्यकाबाहिरको नेपाल त उनको कल्पनामा पनि थिएन । तर, त्यसयताको ५६ वर्षमा उनले काठमाडौं र बाँकी नेपालको बदलिँदो अनुहार मात्रै देखेका छैनन्, सिंगो नेपाली समाजको परिवर्तन र यसका आन्तरिक समस्याका पहलुहरूलाई पनि नजिकबाट बुझेका छन् । कोभिड महामारीको वर्षबाहेक विसं २०२३ पछि सालिन्दा नेपाल आएका र नेपालका ७३ जिल्ला घुमिसकेका ड्यानले पुराना दिन सम्झिँदै सुनाए, ‘यो अवधिमा काठमाडौं पूरै बदलिएको छ । हेर्नुस् त काठमाडौंको आकाश, अलिक परको दृश्य पनि देखिन्न । जबकि एक समय काठमाडौंको जुन कुनाबाट हेरे पनि छर्लङ्ङ हिमाल देखिन्थ्यो ।’

ड्यान नेपाली समाजलाई नजिकबाट चिन्ने अनुसन्धानकर्मी मात्रै होइनन्, उनी नेपालको इतिहासलाई अन्तरकुन्तरबाट छाम्ने निकै थोरै विदेशीमध्येका एक हुन् । राणाकालीन प्रशासनिक संयन्त्रको विषयमा विशद अनुसन्धान गरेर युनिभर्सिटी अफ सिकागोबाट पीएचडी शोध गरेका ड्यानिलले नेपाल केन्द्रित विषयमा ५ फरकफरक पुस्तक प्रकाशन गरेका छन् । उनका प्रत्येक पुस्तक नेपाली समाजको इतिहास बुझाउन, विकासक्रम बुझाउन र नेपाली समाजको शक्ति, सामर्थ्य र कमजोरी बुझाउन पर्याप्त छन् ।

पहिलो पटक नेपाल आउँदा ड्यानलाई हर कुरा नौलो लाग्थ्यो । उनले सुनाए, ‘उतिबेला काठमाडौंमा एउटा मात्रै ट्राफिक बत्ती थियो । म जता पनि म साइकलमै जान्थेँ ।’ त्यतिबेला उनी रानीपौवाबाट बस चढेर त्रिशूली पुगे । त्यहाँबाट ८ घण्टा हिँडेर उतिबेलाको सदरमुकाम सुनौलाबजार पुगे । पिसकोर भोलेन्टियरका रूपमा उनको जिम्मेवारी थियो सरकारी विद्यालयमा अंग्रेजी पढाउने । न सडक, न विद्युत् न हाइस्कुल, न कुनै उद्योग । उनले सुनाए, ‘गाउँलेहरू जटिल अवस्थामा बाँचिरहेका थिए । तर सामाजिक जीवन एकदमै सक्रिय थियो । तर म गाउँका यस्ता कुरा गरेर नेपाललाई रोमान्टिसाइज्ड गर्न चाहन्नँ । नेपालमा अत्यन्तै गरिबी थियो, धेरै समस्याहरू थिए ।’

राजधानीबाट नजिक भए पनि विकासबाट सुनौलाबजार धेरै दूर थियो । इन्टरनेटको त कल्पनापरको कुरा स्थानीयसँग टेलिभिजन पनि थिएन । ड्यानले सुनाए, ‘उनीहरूको जीवन बाहिरी संसारभन्दा कति फरक छ भनेर गाउँका मान्छेलाई थाहै थिएन ।’ उनले पढाउने स्कुल समग्र गाउँको चित्र बुझाउन काफी थियो । जस्तो कि, स्कुलमा अधिकांश छात्रहरू थिए र निकै थोरै छात्रा । धेरै विद्यार्थी नियमित स्कुलै आउँदैनथे । तर, उनीहरू परीक्षामा भने आउँथे । उनले सुनाए, ‘अवस्था कस्तोसम्म थियो भने ८ र ९ कक्षाका विद्यार्थीलाई पनि सामान्य अंग्रेजी आउँदैनथ्यो । उनीहरू न अंग्रेजी बुझ्थे न बोल्थे ।’

सुनौलाबजारमा डेढ वर्ष बिताएर ड्यान काभ्रेको बनेपास्थित आजाद हाइस्कुलमा पढाउन पुगे । उनले सुनाए, ‘त्यहाँ विद्युत् थियो । काठमाडौंबाट नजिक भएकाले होला केही कपडापसलहरू र केही रेस्टुरेन्टहरू पनि थिए । नेवारहरूको सघन बस्ती भएकाले बजारका मान्छेहरू धेरै नेवारी नै बोल्थे, जुन म बुझ्दिनथेँ । सहरका घरमा पनि प्लम्बिङ सिस्टम र पानीको सुविधा थिएन । शौचालय पनि थिएन ।’ बनेपामा एक वर्ष बिताएपछि उनले सेन्ट जेभियर्स स्कुल जावलाखेलमा प्राइभेट टिचरको रूपमा १ वर्ष काम गरे ।

सुनौलाबजार, बनेपा र ललितपुरमा साढे तीन वर्ष बिताएर अमेरिका फर्केपछि पनि उनको नेपाल साइनो सकिएन । पीएचडी रिसर्चका लागि उनी २०३० सालमा फेरि नेपाल आइपुगे । उनको पीएचडी शोधको विषय थियो, राणाकालको प्रशासनिक संयन्त्र । त्यतिबेला राजा वीरेन्द्र शासनमा थिए । पञ्चायती शासन उकुसमुकुसमा थियो । अनुसन्धानका लागि उनलाई राणाकालीन दस्तावेजहरूको अध्ययन गर्न जरुरी थियो । तर, उनले सोचिसकेका थिए, राजदरबारबाट भनेजस्तो सूचनाहरू पाउन सकिँदैन । नभन्दै भयो पनि त्यस्तै, गोस्वारा तहबिलदारको कार्यालयसँग रहेका पुराना दस्तावेजहरू अध्ययन गर्ने अनुमतिकै लागि उनले ६ महिना पर्खिनुपर्‍यो ।

अनुमति पाएपछि पनि पोकापोकामा राखिएका दस्तावेज पढ्नु र त्यसको सार खिच्नु सजिलो काम थिएन । उनले सुनाए, ‘मैले एक जना सहयोगी हायर गरेँ, जसले रेकर्डहरू उतार्थ्यो । सुरुमा त मैले केही बुझिनँ । इतिहासकार भुवनलाल प्रधानले अनुवाद गर्न सहयोग गरे ।’ राणाकालीन प्रशासनिक संरचना बुझ्न उनी पाल्पा पनि पुगे । पाल्पा दरबारमा सरकारी कार्यालयहरू थिए । त्यहाँ उनले काठमाडौंका मुख्तियार र कमान्डर इनचिफले पठाएको पत्रहरूको अध्ययन गरे । साढे दुई महिना पाल्पामा बिताएका उनले भने, ‘ती पत्रहरूको अध्ययनले त्यतिबेलाको प्रशासन कसरी चलेको थियो, बडाहाकिमको भूमिका के थियो ? दौडाहा टोलीले केके गर्थ्यो भन्ने प्रश्नको उत्तर थियो ।’

राणाकालीन प्रशासनिक संरचनामाथि गहिरो अध्ययन गरेका ड्यानले त्यसपछिका वर्षहरूमा नेपाली समाजमा आएका सबै परिवर्तन देखेका छन् । उनले राणाकाल र त्यसपछिका वर्षहरूको प्रशासनिक संरचनाको फरक बुझाउँदै भने, ‘राणा समयमा सरकारको उद्देश्य निकै संकुचित थियो । सरकारको काम भनेको कर संकलन गर्ने मात्रैजस्तो देखिन्थ्यो । त्यो समयमा आर्थिक विकासको कुरा संसारभर थिएन । अफ्रिका, दक्षिण एसिया वा दक्षिण अमेरिका कसैले पनि आर्थिक विकासको कुरा गरिरहेका थिएनन् ।’ पछिल्ला वर्षहरूमा सरकारको उद्देश्य निकै विस्तारित भएकाले अहिलेको प्रशासनिक संरचनालाई पहिलेसँग तुलना गर्नु निकै गाह्रो काम हुने उनले बताए ।

पीएचडी शोधको काम सकिएपछि ड्यान एउटा सर्भेको काममा जोडिए । स्वास्थ्य मन्त्रालयल र सेन्टर फर डिजिज कन्ट्रोल अमेरिकाले गरेको पोषण सम्बन्धी सर्भेमा उनी जोडिए । सर्भेमा ८ टोली थिए । प्रत्येकमा एक नेपाली र एक विदेशी ।

ड्यानलाई यकिन सम्झना त छैन, तर उनको टिमले त्यतिबेला हेलिकप्टरबाट २५/३० जिल्ला पुगेको थियो । र्‍यान्डम स्याम्पलिङ गरेर उनीहरूले सर्भे गर्ने स्थान र व्यक्ति छनोट गर्थे । उनीहरूको काम थियो, १ वर्षदेखि ६ वर्ष उमेर समूहका बच्चाको पोषणको अवस्था बुझ्ने ! जसअन्तर्गत उनीहरू बच्चाको उचाइ नाप्थे, तौल लिन्थे र रगतको स्याम्पल जम्मा पार्थे । उनले सुनाए, ‘अचम्म त के भने, अभिभावकहरूलाई उनीहरूका बालबच्चाको उमेर पनि थाहा थिएन ।’

ड्यानका अधिकांश अध्ययन र अनुसन्धान नेपालकेन्द्रित छन् । २५ वर्षअघि उनले नेसनल अर्काइभ अफ अमेरिकामा संकलित नेपाल सम्बन्धी डकुमेन्टहरूको अध्ययन थालेका थिए । उनको उद्देश्य थियो, राणाकालमा भारतस्थित अमेरिकी दूतावासले नेपालबाट केके विषय समेटेर अमेरिकी सरकारलाई केवल पठाउँथ्यो, नेपाली सरकारी अधिकारी र अमेरिकी सरकारी अधिकारीहरूबीच के कस्ता विषयमा पत्राचार हुन्थे ? सरकारी स्तरमा आदानप्रदान गरिएको ऐतिहासिक केवलहरूको अध्ययनपछि उनले हालै मात्र ‘अमेरिका मिट्स नेपाल’ शीर्षकको किताब प्रकाशन गरेका छन् । सन् १९४४ देखि १९५२ को अवधिमा गरिएका पत्राचारहरूको संकलन रहेको यो पुस्तकमा अमेरिका र नेपालको सम्बन्धको सुरुवात कसरी भयो ? राणा प्रशासनले अमेरिकाबाट के कस्ता अपेक्षा राखेका थिए ? नेपाली समाजलाई अमेरिकी प्रशासनले कसरी नियालेको थियो ? नेपालबाट अमेरिकी सरकारसँग के कस्ता सूचनाहरू थिए ? भन्ने विवरण समेटिएको छ । अमेरिकी अधिकारीहरूको औपचारिक–अनौपचारिक भ्रमणका क्रममा उनीहरूले नेपाली समाज, अर्थव्यवस्था र राणा शासकहरूबारे लेखेका रोचक टिप्पणी पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा बाँकी विश्वसँग जोडिन नखोज्ने परम्परावादी राणा शासकहरूको चरित्रसम्बन्धी अनेकन रोचक जानकारी मात्रै छैन, सिंगो संसार औद्योगिकीकरणको युगतिर गइसक्दा पनि नेपाली शासक किन र कसरी अभिजात्य शासन शैलीमा रमाइरहेका थिए भन्ने पनि बुझाउँछ ।

नेपालको सीमा र सामर्थ्यलाई ऐतिहासिक दस्तावेजको आँखाबाट हेर्न सघाउने यो पुस्तक अघि पनि ड्यानले नेपालबारे थुप्रै विषयमा अध्ययन गरेका थिए । उनले ८ वर्ष लगाएर नेपालमा रेलको विकासक्रमबारे अध्ययन गरेर ‘रेल्वेज इन नेपाल’ शीर्षकमा सन् २०२१ म पुस्तक प्रकाशन गरेका छन् । किताबमा सन् १९२० मा कैलाली र बर्दियामा सालका रूख लैजान बनाइएको पहिलो रेलदेखि भीमशमशेरको शासनकालमा १९३२ ताका मातातीर्थदेखि टेकुसम्म गुडेको रेलदेखि अमलेखगन्ज–रक्सौल रेल हुँदै सन् १९६० को धरान–कोसी रेल र जनकपुर–जयनगर रेलको सुरुवात र अन्त्यको कथा र तस्बिर छ । जयनगर–जनकपुर रेलमार्ग बनाउन खटेका नेपाली इन्जिनियर तिलकबहादुर रायमाझीको योगदान सुनाउँदै उनले यतिका वर्षपछि पनि नेपालले रेल सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्न नसकेको चिन्ता गरे । उनले बर्सेनि हजारौं नेपाली कामको खोजीमा विदेश गइरहेको दृष्टान्त सुनाउँदै प्रश्न गरे, ‘नेपाली डाक्टर छन्, नेपाली पाइलट छन् तर नेपाली रेल्वे अपरेटर किन छैनन् ?’

सन् २०२० मा ड्यानले ट्रलीबसबारे ‘ग्रिन इनर्जी ट्रान्सपोर्टेसन इन नेपाल ः द काठमाडौं भक्तपुर ट्रलीबस’ पुस्तक प्रकाशन गरेका छन् । यसले ट्रलीबसको सुरुवात र अन्त्यको कथा मात्रै भन्दैन, पुराना तस्बिरमार्फत त्यतिबेलाकै समयमा पुर्‍याउन सघाउँछ । सन् २०१७ मा उनले ‘नेपाल इन कलर’ फोटो पुस्तक प्रकाशन गरेका थिए, जसमा सन् १९६६ देखि १९७५ को अवधिमा उनले नेपाल घुम्दा खिचेका २०० भन्दा धेरै तस्बिर छन् । उनको अर्को पुस्तक ‘नेपाल इन ब्ल्याक एन्ड ह्वाइट’ सन् २०२२ मा प्रकाशित भएको छ, जसमा उनले अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत खिचिएका ५० र अरू आफैंले खिचेका नेपाली समाज बुझाउने तस्बिर र विवरण छन् । पिसकोर भोलेन्टियरका रूपमा पहिलोचोटि नेपाल आएपछिका प्रत्येक नेपाल बसाइमा उनी बदलिँदो नेपाली समाजको साक्षी बनेका छन् । पहिलोचोटि नेपाल आउँदा ड्यानले अमेरिकामा रहेका बाबुआमासँग तीन मिनेट फोनमा कुरा गर्न १५ डलर तिर्नुपर्थ्यो । उनका अनुसार, त्यति बेला चिठी नै पठाए पनि अमेरिका पुग्न दुई साता लाग्थ्यो । उनले सुनाए, ‘सन् १९६६–१९७० को चार वर्ष त फोन सुविधाकै अभावमा मैले बाबुआमासँग कुराकानी गर्न पाइनँ ।’

सञ्चारको त्यो चरम दुःखबाट नेपाली समाज धेरै पर पुगिसकेको छ । तर, पनि यसका आफ्नै सीमा छन् । उनले आफूलाई केही साथीहरूले नेपालबारे सुनाएको कुरा सुनाए, ‘नेपाल गरिब देश हो । तर केही नेपालीहरू धेरै धनी छ । यो सत्य पनि हो ।’ ड्यानले नेपाली समाजमा देखिएको परिवर्तनको कुरा कोट्याउँदै कुनै समय भारतमा चामल पठाउने नेपालले अहिले भारतबाटै चामल किनेर खाने गरेको तथ्य उठाए । उनले नेपालको सबैभन्दा ठूलो समस्या पढालिखा तन्नेरीहरू कामको खोजीमा देश छोडेर युरोप, अमेरिका र अस्ट्रेलिया जानुलाई औंल्याए । प्रश्न गरे, ‘त्यस्तो देशको भविष्य के हुन्छ, जहाँका पढालिखा युवाहरू देश छोड्छन् ?’

प्रकाशित : मंसिर १७, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?