कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
किताब–अंश

‘डाक्साप आफैं हँसियाले नाइटो काटेकी हुँ’

यो गोठाँ आफैं जन्मियो, कोही मान्छे नाइँ वरपर, आफैं हँसियाले नाइटो काटेकी हुँ । दुई दिनपछि दूध चुस्यो । ठीकै थियो, गाह्रो त केही भएन भन्नुपर्‍यो ।
नवराज केसी

‘के भएर आउनु भो अस्पताल ?’ डाक्टरले एउटा सुरुवाती सहज प्रश्न गर्‍यो ।
अडिएर अनि अड्किएर थोरै बल लगाएर गाँठो फुकाएझैं बिस्तारै उनले पनि सुरुवाती जबाफ दिइन्, ‘बोल्दैन यो ! बोली फुटेन एस्को, चार वर्षको भैगो, कत्ति बोल्दैन, थोरै थोरै मात्र हिँड्छ । तर कत्ति बोल्दैन !’

‘डाक्साप आफैं हँसियाले नाइटो काटेकी हुँ’

‘कहाँ जन्मेको हो ?’ डाक्टरले प्रश्नहरूले जालो बुन्न थाल्यो ।

‘घरमा !’

‘मैना पुगेर जन्मेको थियो ?’

‘थाहा नाइँ मलाई ।’

‘जन्मँदा केही गाह्रो भएको थियो ?’

‘खोइ के भन्ने आफैं जन्मियो गोठाँ, कोही मान्छे नाइँ वरपर, आफैं हँसियाले नाइटो काटेकी हुँ । दुई दिनपछि दूध चुस्यो । ठीकै थियो, गाह्रो त केही भएन भन्नुपर्‍यो,’ बडो हलुङ्गो हाउभाउले पृथ्वीभन्दा पनि गह्रौं कुरा उनले सजिलै भुइँमा झारिदिइन् ।

हामी सबैका आआफ्नै परिस्थितिका आआफ्नै परिभाषा हुन्छन् । जुन अवस्थामा धेरै मानिस ठूल्ठूला अस्पतालका आईसीयू खोज्दै हिँड्छन्, त्यो अवस्थामा गोठमा बच्चा पाउनु पनि उनका लागि ठीकैठीकै थियो ।

‘केही रोग थियो वा छ ?’ अर्को प्रश्न थपियो ।

‘कहिलेकाहीँ बिरामी हुन्थ्यो । खोकी र जोरो, त्योचाहिँ हरेक हप्ता हुन्छ एस्लाई ।’

‘अनि के उपचार गर्नुहुन्छ त ?’ डाक्टरलाई लाग्यो केही औषधि वा जडीबुटी लिएको हुनुपर्छ । यो प्रश्न त्यस्तै त्यस्तै उत्तर आउने आशामा सोधिएको थियो ।

‘खोकीको के ओखती हुन्छ र ? भए बेसारपानी, नत्र तातोपानी तर खोकी निकाल्ने र खोकी फाल्ने त खोकेरै हो । जोडले खोक्ने, धेरै जोडले खोक्ने अनि आफैं कम हुन्छ । जोरो आउँदाचाहिँ कुर्ने हो । आउँछ अनि केही समयपछि आफैं जान्छ । दैव, अहिलेसम्म ज्यान लिने जोरोचाहिँ आएको छैन हामी आमाछोरालाई !’

कर्णालीका कुनाकुनामा सिटामोल पनि छैन भन्दा धेरैले विश्वास गर्दैनन् । तर, डाक्टरले उनीजस्ता धेरै भेटेको छ, जो जीवनमा एक वा दुई पटक मात्र बहुत तयारी गरेर अस्पताल पुग्छन् । उनीहरूका लागि ज्वरोको उपचार समय हो । जबसम्म ज्वरो आफैं हराउँदैन, त्यतिन्जेल कुरेर बस्ने ! खोकीको चाहिँ जोडले खोक्ने हो रे ! जोडले खोक्दा केही समयसम्म खोकी आउँदैन रे !

डाक्टर वाल्ल पर्‍यो । उनलाई हेर्‍यो, फेरि हेर्‍यो, फेरि फेरि हेर्‍यो । भर्खरै उसले बिलकुल बयान गर्न नसकिने एउटा फरक अनुभव गरेको थियो । यस्तो अनुभव, यस्तो तरङ्ग, जो जीवनमा हरेक जीवितहरूले अनुभूति गर्न मुस्किल पर्ला । नजिक अस्पताल नभएपछि, औषधि नभएपछि, डाक्टरसँग भेट्न सहज नभएपछि सायद दूरदराजका गाउँमा यस्ता उपाय चल्तीमा होलान् । आफ्नै मनलाई बुझाउन मनैदेखि यस्ता उपाय चलनमा आए होलान् । यस्तो चलन कहिलेसम्म चल्ला, कुनै यकिन छैन । डाक्टर, अस्पताल, औषधि भएका ठाउँमा कसले ज्वरो जाने दिन कुरेर बस्ला र ! खोकीलाई खोकेरै फाल्न कसले बल लगाउला र ! सुविधा हुँदो हो त मान्छेको ज्यान किन पीडा सहेर बस्दो हो !

०००

बुधेलाई छातीमा टाँसेर फुपूआमा मन्दिर पुगिन् । मन्दिर सिमेन्टको पर्खालले घेरिएको थियो । पर्खालभित्र मन्दिरका आफ्नै भित्ताहरू पनि थिए । उनी दलितकी पनि दलित वादी समुदायकी परिन् । मन्दिरको भवनका भित्ताहरू त परै जाओस्, उनलाई मन्दिरको बाहिरी पर्खालभित्र छिर्नेसम्म पनि सामाजिक अनुमति थिएन । आजसम्म उनले हरेकपल्ट भगवान्सँग पर्खालबाहिरैबाट भलाकुसारी गरेकी थिइन् । त्यसैले पनि हो कि, उनको प्रार्थना भगवान्ले नसुनेको ! उनलाई शङ्का थियो । जीवनभर उनलाई भगवान्को पहुँचबाट रोक्ने यी पर्खाल बहुत ठूला र अग्ला मात्र होइनन्, भेउ नै नपाइने खालका थिए । न उकालो चढेर कहीँ पुगिने, न ओरालो नै झर्न मिल्ने । सगरमाथाको देशमा सगरमाथाभन्दा अग्ला धेरै कुरा छन् । तीमध्ये जातीय विभेद पनि एउटा हो । जातीय विभेदको हिमाल सगरमाथाभन्दा कहाँ हो कहाँ अग्लो छ । त्यसैले त हाम्रो समाज, यो हिमाल चढ्ने साहसै गर्दैन । बडो अग्लो छ, हामी चढ्नै सक्दैनौं भन्छ र पन्छिन मात्र खोज्छ । ग्लोबल वार्मिङले सगरमाथाको हिउँ पग्लने भनेर खबर आइरहँदा पगाल्नुपर्ने जातीय विभेदको सगरमाथाचाहिँ हामीले खै कहिले पगालौंला । सगरमाथाकै हिउँ पग्लिएर हामीलाई बगाउनुअघि जातीय विभेदको हिमाल पगाल्न सकौंला त ? हामी दुनियाँलाई हिउँको सगरमाथाको उचाइको धाक लागाउँछौं, विभेदको सगरमाथा भने लुकाउन खोज्छौं ।

०००

‘डाक्साप बच्चाकी आमाले जिद गरिरहेकी छ ।’

‘के जिद ?’

‘मान्दै मान्दिन !’

‘के मान्दिन ?’

‘ऊ बच्चालाई दूध चुसाउन चाहन्छे ।’

‘हँ, बच्चा त मरेको जन्मेको छ त, दूध चुसाउन कसरी सम्भव होला ?’

‘मैले सम्झाएको हुँ, डाक्साप ! बारबार सम्झाएको हुँ ! खै जति गरे नि मान्दिन । त्यो लास भए नि दिनू न, दिनू न । अर्को विकल्प जानिन हजुर, ऊ तेसैलाई दूध चुसाउन चाहन्छे । ऊ प्रयास गर्न चाहन्छे ।’

यो वार्तालाप केवल शब्दार्थमा मात्र चलेको थिएन । सँगसँगै बहुतकुछ चल्दै थियो । बच्चाको बुबाका आँखामा आँसुको पिरो भल बगिरहेको थियो । अनि डाक्टरको छातीभित्र आँधीबेहरी र भावभूकम्प चलिरहेको थियो ।

आमा संसारको सबैभन्दा ठूलो शक्ति हो । यसमा अरूको प्राण लिन सक्ने र आफ्नो दिन नि सक्ने शक्ति हुन्छ । प्रकृतिमा यस्ता धेरै नियम छन्, धेरै सत्य छन् । बिरालो र धेरै प्रजातिका यस्तै प्राणीका भाले अर्थात् बाबुहरूले जन्मनेबित्तिकै बच्चाहरूलाई मारिदिन्छन् । घरेलु हिंसा धेरै हुने ठाउँमा यो सत्य मानिसहरूमा नि लागू हुन्छ । आमाहरूले गर्भमा रहेको आफ्नो प्राण बचाउन लडेको महाभारत मैले सयौं पटक देखेको छु । अनि यी महभारतमा चाहिँ पाण्डव, पाण्डव सेना अनि भगवान् कृष्ण सबै— एउटी आमा हुन्छे ।

०००

नेपालको वार्षिक बजेटको २० बोरा धनमध्ये एक बोरा धन ओखती मुलोलाई छुट्याएको हुँदो रहेछ । त्यो एउटा थैली पनि सुरुमै ठूल्ठूला सहरका अग्लाअग्ला अस्पतालभरि चुहिने रहेछ । यो एउटा चुहिँदै अगाडि बढ्ने थैलो सुर्खेत, हुम्ला, कालीकोट, जुम्ला र डोल्पा पुग्दा सकिनसकिन लाग्दो रहेछ । यो दृश्यको बयान विश्व स्वास्थ सङ्गठन आफ्नो रिपोर्टमा यसरी लेख्छ, ‘नेपालको स्वास्थ्य नीतिनियम ‘रिभर्सल अफ हेल्थ केयर’ छ है । अर्थात् रोगीहरू एकातिर छन्, ओखती खर्च अर्कोतिर छ ।

यसै विषयमा डाक्टरको एउटा भीषण अनुभव छ । विश्व स्वास्थ्य सङ्गठनको यो दृश्य वर्णनबारे मुख खोलेको थियो उसले, कर्णालीकै महत्त्वपूर्ण ठाउँमा एक पटक । उसलाई मन्त्रालयका ठूला सचिवले खाँदै गरेको ठूलो समोसाको नमीठो बास्ना मुखैमा पुर्‍याएर भनेका थिए, ‘सहरमा ठूला अस्पताल छन् । सहर ठूलो छ । अनि गाउँगाउँ हराउँदै, मेटिँदै गर्ने ससाना हेल्थपोस्टमा कसरी पैसा खन्याउने ? ठाउँ हुन पर्‍यो नि ठाउँ ।’

कतिपय ठूला हाकिमहरूलाई के लाग्दो रहेछ भने गाउँका मान्छेहरूले हेल्थपोस्टबाट सेवा लिने हो । अनि सहरकाले ठूला अस्पतालबाट । डाक्टरलाई अहिले लाग्छ, हाम्रो ठूलो समस्या नजान्नु होइन, जान्नु हो । तर, त्यसरी जान्नु हो ।

डाक्टरले पनि जवाफ दिने जमर्को गर्‍यो ।

‘सर हेल्थपोस्ट त सहरमा नि हुन्छन् नि । काठमाडौंमा पनि छन् । कुरो हेल्थपोस्टलाई धेरै बजेट दिने भनेको हैन, हेल्थपोस्टले धेरै जनतालाई धेरै सुविधा दिने बनाउने हो के ।’

डाक्टरले यति मात्र के भनेको थियो, उहाँले समोसासँगै पानी पनि निल्नुभो । पानी एकै पटक घाँटीमै खन्याएर गिलास टेबलमा झर्‍यो । बेजोड अवाज थियो । अनि यो भीषण इसाराको असरचाहिँ कुरा गरिरहेको विषयको अन्त्य हुनु थियो । त्यसपछि अरू कुरो भएन ।

०००

डाक्टरले कर्णाली प्रवेश गरेकै दिन बुझेको थियो, पढाइ युनिभर्सिटीमा सकिएको रहेनछ । बाँकी पढाइ कर्णालीको समाजले पढाउनेछ । यो पढाइ अक्षर र अङ्कमा हुनेछैनन् । बरु कहिल्यै नभेटिएका कोही पहलमान पनि हिँड्न नसक्ने यात्रामा हिँडिरहेका बलिया पाइलाहरूका कथामा हुनेछन् । स्वर्गको गन्तव्य पुग्न नर्कको कठिनाइ भोग्न तयार आत्माहरूका कथामा हुनेछन् । भेडिनी कान्छीले आमाको आध्यात्मिक स्वास्थ्यको गतिशीलता पढाएकी थिइन् डाक्टरलाई । यो आध्यामिकता ढुङ्गाको मूर्तिपूजा होइन नि फेरि । जस्तोसुकै परिस्थितिमा पनि अगाडि बढ्ने, सत्मार्गमा हिँड्ने सहनशीलताको आध्यामिकताको कथाको ।

०००

जब ऊ कक्षा एकमा पढ्थ्यो, उसको कक्षामा ४० जना साथीहरू थिए । केटाहरू १८ जना अनि केटीहरू २२ जना । ठीकै हो, त्यसताका पूरा देशको जनसङ्ख्यामा पनि ५१ प्रतिशत केटी नै थिए । हिसाब मिलेकै हो ।

डाक्टर कक्षा उक्लिँदै गयो । हरेक कक्षामा पटकपटक शिक्षक अचम्मअचम्मका कुरा पढाउँथे । २+२=४ रे । रूखले हामीले सास फेर्ने अक्सिजन दिन्छ रे !

फेरि शिक्षकले बुझ्यौ भन्दा कक्षाका सबै जना साथी एकै पटकमा ‘बुझिम् सर’ पनि भन्थे । तर, डाक्टर अचम्ममा पथ्र्यो । उसको मनमा खोइ के नबुझे, नबुझे झैं लाग्थ्यो । अब नबुझेको हो कि बुझेको हो, ऊ प्रश्नमाथि प्रश्न गथ्र्यो । अनि त्यसबाट आएको उत्तरमाथि नि प्रश्न गथ्र्यो । हरेक पल, हरेक विषयमा ऊसँग प्रश्नका पहाड थिए । बहुत अग्लाअग्ला पहाड ।

डाक्टर धेरैजसो कक्षामा प्रथम पनि हुन्थ्यो । उसका प्रश्नहरूको भुमरीले उसलाई अरूभन्दा धेरै गुदी दिन्थ्यो सायद । अनि उसको ज्ञानको पोको अरूहरूको भन्दा अलि ठूलो थियो । उसले जीवनभर धेरै प्रश्न गर्‍यो । उत्तर खोज्यो । ऊ लगभग हरेक विषयमा सन्तुष्ट जस्तैजस्तै थियो ।

तर, जे गरे पनि डाक्टरले एउटा कुराचाहिँ कहिल्यै बुझेन । ऊ कक्षा एकमा पढ्दा ४० मध्ये २२ जना केटी थिए । आठ कक्षा पुग्दा २२ बाट १२ भए । डाक्टरीमा पुग्दा ४० मा छ जना केटी थिए । अनि डाक्टरी भ्याएर कर्मथलोमा, अस्पतालका ठूल्ठूला कुर्सीहरूमा, मन्त्रालयका ठूल्ठूला कुर्सीहरूमा अनि अझ माथिमाथिका माथिल्ला हिस्सामा ४० मा चार जना पनि महिला थिएनन् । उसको यो यात्रामा ती एक कक्षामा केटाको दाँजोमा धेरै भएका केटी कहाँ गए होलान् ? उसले यो कुरो कहिल्यै बुझेन । डाक्टरी भ्याउने बेलासम्म । संसारका कुनै पनि किताब वा रिसर्चमा यो प्रश्नको उचित उत्तर थिएन । कुनै प्रोफेसर वा संसारका कुनै विद्वान्सँग पनि यसको अर्थपूर्ण व्याख्या थिएन ।

डाक्टरलाई पहिला त समाज, देश सबै केटाहरूले चलाउने रहेछन् भन्ने लाग्थ्यो । केटाहरू नै ठूला मान्छे रहेछन् । बैङ्कमा । विद्यालयमा । अस्पतालमा । फ्याक्ट्रीमा । केटाहरू लिङ्गले नै ठूला हुने रहेछन् । केटाहरूले नै देश, विदेश, संसार चलाउँदा रहेछन् । तर हराएका ती केटी कहाँ गए होलान् ? उसका लागि जानी नसक्नुभएको रहस्यको खोक्रो उत्तर यत्ति नै भयो ।

जब ऊ काम गर्न कर्णालीको आफ्नो गाउँ नजिकैको अस्पतालमा फर्कियो, त्यहाँ उसले बिरामीहरूको सुसारेलाई देख्यो । बिरामीलाई हेर्न आउनेलाई देख्यो । खाना पकाएर खुवाउनेहरूलाई देख्यो । फेरि अस्पतालबाट गाउँमा, घरमा लगेर त्यो बिरामीलाई बचाउनेहरूलाई पनि देख्यो । बिरामीहरूका लागि पैसा जोहो गर्नेलाई पनि देख्यो ।

अस्पतालमा बिरामी मात्र होइन, घरमा भोक लागेकाको पेट भर्ने । विद्यालय जाने ससाना फुच्चाफुच्चीहरूलाई पुर्‍याउने, ल्याउने । उनीहरूलाई घरमा पढाउने । गाउँघरका खेत भिजाउने, हरियो बनाएर फलाउनेहरू । यी सबै ती केटी थिए, जो कोही एक, कोही दुई, कोही बल्लबल्ल आठसम्म विद्यालय पुगेका थिए । अनि उसले आफ्नो जिन्दगीभरको जवाफ बल्ल पो पायो ।

तर यो जवाफसँगै उसले थाहा पाएको गुदीचाहिँ बडो रसिलो थियो । देशका माथिल्ला ओहदामा सधैं भेटिने केटाहरूले चलाएका देखिने भए पनि भित्री इन्जिन त ती हराएका केटीहरूले पो चलाएका रहेछन् त ।

०००

डाक्टरलाई लाग्यो, कर्णाली र समग्र देशकै आर्थिक र मानव विकास पनि पोषणकै तौल मसिनमा मापन हुँदो हो त त्यो पनि ४९ प्रतिशतकै हाराहारीमा कुपोषित देखिँदो हो । तर त्यो डरलाग्दो आँकडा हेर्ने साहस कसको ? हिँड्दै गर्दा डाक्टरका आँखा आफू हिँडेको बाटाको माटामा पर्‍यो । आँखाअगाडि धरतीको माटो थियो । आँखापछाडि मानव विकासको माटो । मानव माटो आमाहरूको शारीरिक मापनको कथामा भनिएको रहेछ । कर्णालीमा ५१ प्रतिशत महिला कुपोषित भनेर । यही ५१ प्रतिशतलाई मात्र घटाउँदै जाँदा अन्य कथाका अङ्क पनि ससाना हुँदै जाने थिए । कथा सामान्य थियो, सजिलो थियो । अनि शून्यको मूल्यको थियो ।

यस पुस्तकमा अटाएका पात्र र तिनका कथा शून्यको मूल्य भन्ने कथा हुन् । यी कथा नामबिना बाँचेका आमाहरूले सन्तानको नाम सारा संसारले थाहा पाओस् भनेर गरेको सङ्घर्ष र समर्पणका कथा हुन् । कर्णालीमा डाक्टरले भेटाएका ती आमाहरूको कथा हो, जसले ठूल्ठूला कलेजमा नसकिएको डाक्टरको पढाइलाई पूर्णता दिएका थिए । अनि ती आमाहरूको हो, जो संयुक्त राष्ट्रसङ्घले बनाएका दिगो विकासका १७ लक्ष्यमा एकभन्दा अगाडिको शून्य थप्न वर्षौंदेखि कुरिरहेका छन् । ‘आमार्थतन्त्र’ का कथा । सराहना, प्रशंसा तथा उत्प्रेरणाबिनै खुरुखुरु हरेक घरमा आमाहरूले धानेका अर्थ संरचनाका कथा । बिनाकुनै पहिचान आफूलाई कहिल्यै प्राथमिकतामा नराखीकन परिवारका लागि जीवन नै समर्पण गरेका आमाहरूको कथा ।

यी कथामा अभाव छ । कष्ट छ । पीर छ । चिन्ता छ । तन र मन दुवैमा लागेका घाउ छन् । अनि उस्तै गरेर निश्चलता छ । सङ्घर्ष छ । लडिरहने अदम्य साहस छ । सपना छ । यी सबै कथामा भएको समानता भने सबैको मुख उज्यालोतिर फर्केको छ । भयङ्कर अँध्यारो सुरुङबाट पनि डाक्टरले भेटेका यी पात्रले आफूलाई उज्यालोतिर निकालेरै छाडेका छन् । उज्यालोको खोजी गरेकै छन् । उज्यालोको आशा राख्न छाडेका छैनन् । जीवनमा दु:खको यामानको भारी बोकेर पनि सुखको आशामा मुस्कुराइरहेका आमाहरूका कथाले अरू थुप्रै आमालाई प्रेरित गर्ला । सरकार र समाजलाई भने नराम्रो गरी चिमोट्नेछ । जसरी डाक्टरलाई चिमोट्यो र उसले यी कथाहरूलाई एउटा मालामा उन्ने जमर्को गर्‍यो ।

(केसीको प्रकाशोन्मुख किताब ‘शून्यको मूल्य : सास, साहस र स्नेहको कथा’ बाट)

प्रकाशित : मंसिर १७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?