एयरपोर्ट–डायरी- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
संवाद कथा

एयरपोर्ट–डायरी

ऊ अन्डर एसएलसी हो सर ! तर, त्योसँग जेट प्लेनको लाइसेन्स पनि छ !
राजकुमार पोखरेल

पात्र एक
अन्तर्राष्ट्रिय उडान विमानस्थलमा विमान ल्यान्ड गरेसँगै यात्रुहरूलाई चेकिङस्थल पुग्न हतारो भइसकेको थियो । केही गन्तव्यतिर लागे, केही जमिन चुम्न । सायद देश छाडेपछि मात्रृभूमिको मायाले भावुक भए । आफ्नो देशमा पहिलो पाइला टेक्न पाएको खुसी पनि होला ।

खाली जहाजभित्र सफाइ कर्मचारी पसिसकेका थिए । आयल निगमका कर्मचारी जहाजमा तेल भर्न थाले, कोही चक्का चेक गर्दै हावा हाल्न थाले । एक कर्मचारी जहाजको इन्जिन र पंखा चेक गर्न थाले । सबै चेक गर्दा जहाजको इन्जिनभित्र सुन लुकाएर ल्याइएको तथ्य पत्ता लाग्यो । कर्मचारीहले वरिष्ठसामु यो खबर पुर्‍याए । उताबाट जवाफ आयो, ‘ठीकै छ, यसलाई मुद्दा नबनाउनुस् । जे भो भो, नदेखेजस्तो गर्नुस् ।’

कर्मचारीले अनुनय गरे, ‘होइन सर, त्यस्तो कसरी हुन्छ ? यो ठीक भएन ।’

फेरि उताबाट जवाफ आयो, ‘ल ठीक छ, तपाईं अहिले जानुस्, मलाई सोच्न दिनुस् ।’ कर्मचारीले आदेशको पालना गरे, ‘हस् सर ।’

कर्मचारी हिँड्नासाथै हाकिमले कतै फोन गरे, ‘सर बित्याँस पर्‍यो ।’

‘के भयो ? किन आत्तिएर फोन गरेको ?’

‘सबै ठीकै चल्दै थियो । एउटा पिउसोले थाहा पायो, मानिरहेको छैन । पोल्यो भने त हामी सबै पर्छौं ।’

‘हँ ! कति माग्छ ?’

‘यही त समस्या छ ! इमानदार छ सर ।’

‘कुन पार्टीको हो ? त्यसलाई ठीक पारेन भने त बित्याँसै पार्छ । त्यसको कमजोरी के–के हो ? केटी ? रक्सी ?’

‘कमजोरी केही छैन सर ।’

‘त्यस्तो पनि कहीँ हुन्छ ? उसको विगत कस्तो छ ?’

‘शुद्ध आचरणको छ । रक्सीचाहिँ पिउँछ भन्ने सुनेको छु ।’

‘त्यसो भए समस्या के त ?’

‘भट्टी जाँदैन सर ।’

‘अनि कहाँ जान्छ ?’

‘सूत्रअनुसार राति टुच्च लाउँछ अनि सुत्छ । जापानीको स्वभावजस्तै वर्कहलिक छ ।’

‘कति पढेको छ ?’

‘अन्डर एसएलसी हो सर ।’

‘अनि त्यसले यस्तो महत्त्वपूर्ण जिम्मेवारी कसरी पायो ? यो जिम्मेवारी पाउन त एरोनटिकल इन्जिनियरिङ गरेको हुनुपर्छ होइन ?’

‘हो सर ! तर, त्योसँग त जेट प्लेनको लाइसेन्स पनि छ ।’

‘कसरी ?’

‘अनुभव सर । सायद युनिर्भसिटी अफ लाइफ भनेको यही होला । यसलाई के गर्ने सर ?’

‘नेपालमा यस्ता पनि कर्मचारी छन् ?’

‘हजुर छन् सर !’

पात्र दुई

राजधानीकै जोरपाटीभन्दा माथिको विकट गाउँमा एक झारफुक गर्ने र चिना हेर्ने मान्छे पहाडबाट

झरेको थियो । सानो बाटो भएको एक टुक्रा जग्गामा टिनले बारेको र टिनैले छाएको एक कटेरो थियो उसको । एक दिन एकजना मान्छे एक वयस्क छोरासँग त्यहाँ पुग्यो । ती मानिसबिच भएको संवाद रोचक छ । पढ्नुस् है त ः

‘गुरु नमस्कार !’

‘हजुर । के कामले पाल्नुभयो कुन्नि ?’

‘छोराको चिना हेर्न । अनि गुरु, बेलैमा घरबार जोरजाम गर्नुभएछ नि ।’

‘हजुर अँ ! यो कुटीको एउटा छुट्टै कथा छ ।’

‘म सानोतिनो काम पनि गर्छु ।’

‘कहाँ गुरु ?’

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक शाखामा पालेको काम गर्छु हजुर ।’

‘तर, जागिर अस्थायी हो ।’

गुरु भन्न थाले–

‘एक दिन राति डिउटीमा बसेको बेला एउटा गाडी सर्र आयो, मैले गेट खोलिदिएँ । भित्रबाट आवाज आयो– ए फलानो ?’

‘आदेश भयो– एक छिनपछि केही गाडीहरू आउँछन् । आँखा चिम्लिने र बाटो खोलिदिने ।’

‘मैले पनि गेट खोलिदिएँ । गाडी सर्र बाहिर निस्किए ।’

गुरु बोलिरहे–

म गेट बन्द गरेर भित्रपट्टिको कुर्सीमा बसेँ ।

केही छिनमै ठुलो जेट प्लेन विमानस्थलमा अवतरण गर्‍यो । केही बेरमै झ्याप्प बत्ती निभ्यो । सारा विमानस्थल अन्धकार भयो । त्यत्ति नै बेला ५–६ वटा गाडी लहरै ताँती लागेर गेट नजिक आए । मैले अरू बेलाजस्तै गेट खोलिदिएँ ।

एक एक गर्दै सबै गाडीहरू बाहिर निस्किए । केही बेरपछि बत्ती आयो ! कुरो सामान्य लाग्यो । मैले पनि यो घटना बिर्सिएँ । आवतजावत सुचारु भइरह्यो । त्यसको केही दिनपछि एकाबिहानै म बसेको डेरामा ढकढक आवाज आयो– फलाना ए फलाना !

मैले ढोका खोलेँ ।

अगाडि एक अपरिचित व्यक्ति ठिंग उभिएको देखेँ ।

‘हजुर, कसलाई खोज्नुभएको ?’

ऊ सुरुमा केही बोलेन । हातमा भएको कालो ब्याग बडो शानले थमाउँदै भन्यो, ‘ल गरी खानू ।’

म अक्क न बक्क हुँदै डेराभित्र पसेँ । हातमा ब्याग छ । मैले ब्याग खोलेर हेरेँ । आश्चर्यचकित भएँ ! ब्यागभित्र हजारहजारको गड्डी पो छ !

अनि गन्न थालेँ । जम्मा साढे तीन लाख रहेछ ।

त्यसपछि फेरि मेरो आँखा अगाडि सारा घटनाक्रम दोहोरिएर आयो ।

मेरोबारे सबै थाहा छ यी मोराहरूलाई । यहाँ अनकन्टार ठाउँमा समेत यिनको पहुँच छ । बाफ रे बाफ ! यिनीहरूसँग जोरी खोज्न

सकिँदैन भन्ने लाग्यो ।

हो, त्यही पैसामा यसो सरसापट थपेर यो सानो जमिन लिएर कटेरो बनाएको हुँ हजुर ।

‘ए !’

‘नत्र त्यो पहाडको केही नफल्ने पाखोभित्तोको मान्छे म । कसरी काठमाडौंमा मेरो डेराडन्डा हुन्थ्यो र हजुर !’

‘ए !’

प्रकाशित : मंसिर १७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

फुटबल अर्थात् भगवान् अर्थात् अफिम

फुटबल भएको छ, रमिता । यस्तो रमिता, जसमा छन् केही नायक अर्थात् खेलाडी । अनि छन्, असङ्ख्य रमिते । र, त्यो रमिता भएको छ, संसारको सबैभन्दा मुनाफादायी व्यापार ।
एदुआर्दो गालेआनो

‘ओपन भेन्स अफ ल्याटिन अमेरिका’ जस्तो प्रसिद्ध किताबका लेखक एदुआर्दो गालेआनो फुटबलप्रेमी थिए । उरुग्वेमा जन्मिएका उनी अरू ल्याटिन अमेरिकीजस्तै भन्ने गर्थे, ‘मेरो रगतमै फुटबल छ ।’ रगतमै फुटबल भएको लेखकभन्दा अरू को योग्य हुन्थ्यो, ‘सकर इन सन एन्ड स्याडो’ लेख्न ? हरेक विश्वकपमा फुटबलको जस्तै उनको यस कृतिको पनि उत्सव मनाइने गरिन्छ ।

‘फुटबलको आत्मामा पसेर लेखिएको’ भनी प्रशंसित यो किताब प्रथमपटक स्पेनिस भाषामा सन् १९९७ मा प्रकाशित भएको थियो । सन् २०१३ मा मार्क फ्राइडले यसलाई अंग्रेजीमा अनुवाद गरेका थिए । गालेआनो फुटबललाई जति प्रेम गर्थे, खेलाडीका दुःख र कष्ट, असफलता र हतासाप्रति पनि उत्तिकै संवेदनशील थिए । उनको ननिको निष्कर्ष थियो : व्यावसायिक फुटबलका नाममा यस खेलको आत्मा मारिएको छ । गालेआनोको फुटबल–वाङ्मयको यस अंशलाई विनोदविक्रम केसीले अनुवाद गरेका हुन् ।

फुटबल

फुटबलको इतिहास खासमा सुन्दरतादेखि बाध्यतासम्मको दुःखद यात्रा हो । फुटबल जब उद्योग बन्यो, यस खेलको आनन्दबाट फक्रिने सौन्दर्य जरैदेखि मासियो । आजको मूल्यपतनको युगमा व्यावसायिक फुटबलले हरेक निरर्थक चीजलाई तिरस्कार गर्छ । निरर्थक अर्थात् जसले नाफा दिलाउँदैन । व्यावसायिक फुटबलमा भावना वा अनुभूतिले कुनै अर्थ राख्दैन । दर्शकले महसुस गर्न सक्छ— कुनै खेलाडी एक पलमै बेलुनसँग खेलिरहेको बच्चामा परिणत भएको छ, धागोको डल्लोसँग खेलिरहेको बिरालोमा बदलिएको छ, अथवा बेलुनका साथमा हावामा तैरिरहेकी नर्तकी बनेको छ... । कुनै खेलाडी यसरी खेलिरहेको छ कि उसलाई दुनियाँको पर्वाह छैन । ऊ बस् खेलिरहेको छ । उसलाई न समयको हेक्का छ, न रेफ्रीको भय । खेल्नुबाहेक उसको जीवनको अर्को उद्देश्य छैन । हो, दर्शकलाई यस्तो खालको उडन्ते अनुभूति हुन सक्छ । तर, व्यावसायिक फुटबलमा यसको के अर्थ ? यस्तो अनुभूतिबाट कसैले सुको आर्जन गर्न सक्दैन !

फुटबल भएको छ, रमिता । यस्तो रमिता, जसमा छन् केही नायक अर्थात् खेलाडी । अनि छन्, असङ्ख्य रमिते । र, त्यो रमिता भएको छ, संसारको सबैभन्दा मुनाफादायी व्यापार । यस्तो व्यापार, जो खेलको उन्नयनका लागि होइन, यसको बाटामा तगारो हाल्न, यसलाई अवरुद्ध पार्न चलाइन्छ । व्यावसायिक खेलको प्रविधितन्त्रले फुटबललाई बिजुली गति र नृशंस शक्तिको पर्याय बनाइदिएको छ । फुटबललाई यस्तो खेल बनाइएको छ, जसले आनन्द र खुसीलाई इन्कार गर्छ, कल्पनाको हत्या गर्छ र साहसिकतालाई अपराध करार गर्छ ।

संयोगवश, फुटबल मैदानमा तपाईं अझै पनि यदाकदा केही धृष्ट बदमासहरूलाई देख्न पाउनुहुन्छ । ती बदमासहरू— जो निर्धारित कथानक र तय गरिएका तजबिजभन्दा बाहिर गएर खेल्छन् । जो एक्लै बल लिएर अगाडि बढ्छन्, सिङ्गो विपक्षी खेमालाई छलाउँछन् । रेफ्री र दर्शकलाई हेरेको हेर्‍यै पारिदिन्छन् । ती बदमासहरू यी सारा महाभूल गर्छन् । केका लागि ? स्वतन्त्रताको वर्जित साहसलाई आत्मसात् गर्नुको सांसारिक सुखका लागि । केवल त्यस सुखका लागि ।

खेलाडी

ऊ मैदानमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेको हुन्छ । एकातर्फ दिव्य गौरव उसको प्रतीक्षामा हुन्छ भने अर्कातर्फ हुन्छ, बर्बादीको रसातल । छिमेकमा ऊ ईर्ष्याको पात्र हुन्छ । किनभने, उसले कुनै कारखाना वा कार्यालयमा उच्चाटलाग्दो काम गर्नु पर्दैन । ऊ त व्यावसायिक खेलाडी हो, जसलाई रमाइलो र मज्जा गर्नका लागि तलब दिइन्छ । छिमेकीलाई लाग्छ, उसलाई त चिट्ठै पर्‍यो नि ! ऊ बेहिसाब पसिना चुहाउँछ । उसलाई हार्ने या थाक्ने अधिकार हुँदैन । ऊ अखबार र टीभीमा छाउँछ । रेडियोले उसैको नाम फुक्छ । महिलाहरू ऊ भनेपछि भुतुक्कै हुन्छन् । बच्चाहरू भविष्यमा ऊजस्तै बन्न लालायित हुन्छन् । उहिले ऊ मस्तीका लागि धूलो उड्ने सडकमा खेल्थ्यो । अहिले ऊ कर्तव्यवश र बाध्यताले रंगशालामा खेल्छ । त्यहाँ उसलाई जित्नु र जित्नुबाहेक अर्को छनोट हुँदैन ।

व्यापारीहरू उसलाई किन्छन्, बेच्छन्, अनि अरू कसैलाई सापटी पनि दिन्छन् । ऊ यी यावत् कुरा घटित हुन दिन्छ । किनभने, उसलाई अधिकभन्दा अधिक प्रसिद्धि र पैसाको वाचा गरिएको हुन्छ । ऊ जति धेरै सफल हुन्छ, जति धेरै पैसा कमाउँछ, उति नै कैदी बन्दै जान्छ । उसलाई सैन्य अनुशासनमा बाँच्न बाध्य पारिन्छ । उसको जीवन सजायजस्तो बन्छ । हरेक दिन उसले कडा प्रशिक्षण गर्नुपर्छ । ऊमाथि पीडानाशक औषधि र कोर्टिजनका इन्जेक्सनहरूको बमवर्षा हुन्छ । यस्ता औषधि र सुईले उसका दुखाइ लुकाइदिन्छन् र उसको शरीरलाई छक्याइदिन्छन्, मूर्ख बनाइदिन्छन् । ठूलो प्रतियोगिता हुनुअघि उसलाई बन्दी शिविरमा थुनिन्छ, जहाँ ऊ बाध्यकारी श्रम गर्छ, स्वाद न ब्यादको खाना खान्छ, पानी खाएर मदिराको तृष्णा मेट्छ र एक्लै रात काट्छ ।

अरू पेसा–व्यवसायमा उमेर पुगेपछि मात्रै बूढो भइन्छ, अनि बुढेसकाल लागेपछि मात्रै क्षय र कमजोरीले सताउँछन् । तर, फुटबल खेलाडी भने तीस वर्षमै बूढो हुन सक्छ । उसका मांसपेसीहरू असमयमै थाक्छन् । अनि, उसमाथि टिप्पणी र गालीको वर्षा हुन थाल्छ :

‘फलानो खेलाडीमा दम छैन । भिरालो मैदानमा पनि त्यसले गोल हान्न सक्दैन ।’

‘त्यसको के कुरा गर्नु, यार ! विपक्षी गोलकिपरको हात बाँधिदिए पनि त्यसले गोल गर्न सक्दैन ।’

उसो त तीस वर्ष पनि नपुग्दै ऊ बर्बाद हुन सक्छ । बलले लागेर ऊ नराम्ररी ढल्यो भने, दुर्भाग्यले उसको मांसपेसी च्यातियो भने, खुट्टाको हड्डी भाँच्चियो भने उसको खेल जीवन सकियो । र, अचानक एक दिन, कुनै भयानक दिन उसको चेत खुल्छ— उसले त यत्तिकै आफ्नो सारा जिन्दगीको बाजी थापेको रहेछ । त्यस दिन ऊसँग पैसा हुने छैन । प्रसिद्धि पनि हुनेछैन । प्रसिद्धि अर्थात् छोडिजाने प्रेमिका । प्रेमीका नाममा एउटा बिदाइ–पत्रसम्म नछोडी टाप कस्ने प्रेमिका !

गोलरक्षक

मानिसहरू उसलाई ढोके, पहरेदार, गोल्की, रक्षक र जाली–कुरुवा पनि भन्छन् । भन्न त उसलाई सहिद पनि भन्न सकिन्छ । हारको मूल्य चुकाउने चुक्तानकर्ता भन्न सकिन्छ, प्रायश्चित्तकर्ता भन्न सकिन्छ वा रिस पोख्ने भाँडो पनि भन्न सकिन्छ । भन्छन्, उसले जहाँ टेक्छ, त्यहाँ घाँस पलाउँदैन ।

ऊ एक्लो हुन्छ, टाढैबाट खेल हेर्न अभिशप्त ! कुनै पनि हालतमा उसले गोलपोस्ट छोड्न पाउँदैन । दुइटा ठाडा र एउटा तेर्सो लट्ठा— बस् यति नै हुन्छन्, उसका साथमा । र, ऊ गोली दाग्ने दस्ताद्वारा आफ्नै मृत्युको प्रतीक्षारत हुन्छ । उहिले रेफ्रीझैं ऊ पनि कालो पहिरनमा हुन्थ्यो । अहिले रेफ्रीले कालो लुगा लगाएर कौवा हुनुपर्दैन । अनि, गोलरक्षक पनि रंगीन कपडामा ठाँटिएर आफ्नो एकाकीपनलाई धेरथोर सान्त्वना दिन सक्छ ।

उसले गोल गर्दैन । ऊ त गोल छेक्नका लागि मैदानमा उपस्थित हुन्छ । गोल भनेको फुटबलको उत्सव हो । गोलकर्ता अर्थात् स्ट्राइकरले खुसी र आनन्दको ज्योति छर्छ । गोलरक्षकको काम भने त्यस खुसीलाई बिथोलिदिनु हो । त्यस आनन्दको ज्योतिलाई निभाइदिनु हो ।

ऊ एक नम्बरको जर्सी लगाउँछ । एक अर्थात् पहिलो नम्बर । सफलताको पहिलो श्रेय पाउनलाई उसले एक नम्बरको जर्सी लगाएको हो त ? होइन । बरु, असफलताको मूल्य चुकाउनमा पहिलो हुने भएकाले एक नम्बर उसको भागमा परेको हो । गोलरक्षक सधैं दोषी हुन्छ । उसको कुनै दोष नहुँदा पनि हारको जिम्मेदार उही हुन्छ । जब कुनै खेलाडीले गल्ती गर्छ, नियम मिच्छ, सजायचाहिँ गोलरक्षकले पाउँछ । पेनाल्टीमा हेर्नुस् त उसको हालत ! सबैले उसलाई छाडिदिन्छन् । खाली जालीको विस्तारबीच जल्लादजस्तो विपक्षी खेलाडीको उसले एक्लै सामना गर्नुपर्छ । र, जब टोली पराजित हुन्छ, त्यसको मूल्य उसले चुकाउनुपर्छ । ऊमाथि गाली र अपमानको वर्षा हुन्छ । अपराध अरूले गर्छन्, क्षतिपूर्ति भने उसले भर्नुपर्छ ।

बाँकी खेलाडीलाई भने हाइसन्चो हुन्छ । उनीहरूको गल्ती कसले सम्झेर बस्छ र ? शानदार तरिकाले एक खेप बल छलाएपछि, एउटा कुशल पास निकालेपछि र हावामा उडिरहेको बललाई सुन्दर ढङ्गले खुट्टाले हानेर दिशा दिएपछि उनीहरू मुक्त भइहाल्छन् । उनीहरूको पाप पखालिइहाल्छ । तर, गोलरक्षकलाई भने भीडले कदापि, कदापि क्षमा गर्दैन । कुनै जालसाजले पो उसको ध्यान भङ्ग गरिदियो कि ? कसले उसलाई उपहासको पात्र बनाइदियो ? बल चिप्लियो कि ? उसका इस्पातका औंलाहरू लल्याकलुलुक भए कि क्या हो ? गोलरक्षकको एक गल्ती, केवल एक गल्तीले खेल बर्बाद हुन सक्छ, प्रतियोगितामा पराजय हुन सक्छ । र, समर्थकहरू अचानक उसका सारा उपलब्धि बिर्सिदिन्छन् र अनन्तकालका लागि ऊ कलङ्कित हुन्छ । जीवनका आखिरी दिनहरूमा समेत निन्दाले उसलाई पछ्याइरहेको हुनेछ ।

समर्थक

हप्तामा एकचोटि समर्थक रंगशाला पुग्छ ।

झन्डा र तुलहरू फर्फराउँछन् । सिटी, बिगुल, पटाका र नगराका ध्वनिले हावा झङ्कृत हुन्छ । ध्वजा–पताकाहरूको वर्षा हुन्छ । सहर गायब हुन्छ, यसले आफ्नो दिनचर्या भुल्छ । केवल एउटा मन्दिरको अस्तित्व हुन्छ । यस पवित्र स्थलमा, नास्तिकहरूले विहीन एक मात्र धर्म (अर्थात् फुटबल) ले आफ्ना दिव्यताहरू प्रदर्शन गर्छ । त्यसो त समर्थक घरमै आरामले बसेर टीभीमा चमत्कारको प्रतीक्षा गर्न सक्छ । तर, ऊ यस तीर्थस्थलमा पुग्न चाहन्छ र आफ्नै आँखाअगाडि आफ्ना देवदूतहरू त्यस दिनका दैत्यहरूसँग भिडेको हेर्न चाहन्छ ।

समर्थक रुमाल हल्लाउँछ । चिच्याउँछ, कराउँछ । घाँटी सुकाउँछ । थुक निल्छ । दाह्रा किट्छ । लगाइरहेको टोपी फुकालेर टोक्छ । प्रार्थना गर्छ । सराप्छ । र, अकस्मात् न्वारानदेखिको बल निकालेर चिच्याउँछ— ‘गोल !’ गोलको आनन्द लिइरहेको, आफ्नो पक्षको अपरिचित व्यक्तिलाई ऊ उफ्रेर अँगालो हाल्न पुग्छ । यो उन्मादी अनुष्ठान चलुन्जेल समर्थक एक होइन, अनेक बन्छ । हजारौं भक्तझैं ऊ पनि एउटै ‘सत्य’ मा विश्वास गर्छ— ‘हामी उत्कृष्ट हौं’, ‘दुनियाँका सबै रेफ्री बेइमान हुन्’, ‘हाम्रा विपक्षीहरू धोकेबाज हुन् ।’

समर्थक बिरलै भन्छ, ‘आज मेरो क्लब खेल्छ ।’ ऊ त भन्छ, ‘आज हामी खेल्छौं ।’ ऊ जान्दछ— बल जब निदाउँछ, उत्साहको हावा चलाएर त्यसलाई जगाउने र चलायमान बनाउने नै ‘बाह्रौं खेलाडी’ हो । अन्य एघार जना खेलाडी पनि भलिभाँती जान्दछन्— समर्थकबिना खेल्नु भनेको संगीतबिनै नाच्नु हो ।

खेल सकिएपछि समर्थक विजयोत्सव मनाउँछ : ‘क्या सानदार गोल हानियो !’ ‘तिनलाई बाउको बिहे र आमाको न्वारान देखाइदियौं ।’ अथवा, ऊ पराजयको तिक्तता पोखिरहेको हुन्छ : ‘उनीहरूले झेली गरेर जिते’, ‘त्यो रेफ्री त चोरै रहेछ ।’ त्यसपछि घाम अस्ताउँछ र समर्थक घरतिर लाग्छ । रित्तो रंगशालामा साँझको छाया खस्छ । सिमेन्टीका सिँढीहरूमा दर्शकले छोडेका चीजबीज यत्रतत्र छरिएका हुन्छन् । प्रकाश र आवाजहरू क्षीण हुँदै जान्छन् । रंगशाला एक्लो हुन्छ र समर्थक पनि आफ्नै एक्लोपनमा फर्किन्छ । ऊ ‘हामी’ बाट फेरि ‘म’ मा पुग्छ । समर्थक रंगशालाबाट हिँड्छ, भीड यताउता छरिन्छ । मेला सकिन्छ र साँझ उदास बन्छ ।

गोल

गोल फुटबलको चरमोत्कर्ष हो । र, चरमोत्कर्षझैं, आधुनिक जीवनमा गोलहरू पनि झन् झन् कम घटित हुँदै गएका छन् ।

आधा शताब्दीअघिसम्म खेल शून्य–शून्यको बराबरीमा टुङ्गिनु दुर्लभ घटना थियो । शून्य–शून्य, अर्थात् आँ गरिरहेका दुई मुख, हाई गरिरहेका दुई मुख ! अहिले त एघारै जना खेलाडी खेलअवधिभर आफ्नै गोलपोस्टवरिपरि झुम्मिरहेका हुन्छन् । उनीहरूको एउटै ध्येय हुन्छ, जसरी हुन्छ विपक्षीलाई गोल गर्न नदिने । उनीहरूलाई गोल गर्ने फुर्सदै कहाँ हुन्छ र ?

जब ‘सेतो गोली’ ले गोलपोस्टको जालीमा लहर उत्पन्न गराउँछ, दर्शकको उत्तेजना उन्मुक्त हुन्छ । त्यो उत्तेजना रहस्यमय र उन्मत्त प्रतीत हुन सक्छ । तर, हेक्का गर्नुहोला, चमत्कार सधैं हुँदैन । गोल जति साधारण भए पनि टीभी र रेडियोका खेल–समीक्षकका लागि यो लामो न लामो ‘गो.......ओ........ल’ हुन्छ । तिनको आलापले मै हुँ भन्ने गायकलाई पनि चुप लगाइदिन सक्छ । गोल भएपछि भीड पागल बन्छ । रंगशाला आफू सिमेन्टीले बनेको छु भन्ने बिर्सन्छ र जमिनको बन्धनबाट मुक्त हुन्छ । र, हावामा उड्न थाल्छ ।

रंगशाला

तपाईं रित्तो रंगशालाभित्र छिर्नुभएको छ ? मौका मिल्यो भने छिर्नुहोस् । मैदानको बीचमा उभिनुहोस् र सुन्नुहोस् । रित्तो रंगशालाभन्दा रित्तो अरू केही हुँदैन । दर्शक नभएको दर्शकदीर्घाजस्तो मौन अरू केही हुँदैन ।

सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जितेको थियो । वेम्ब्ली रंगशालामा आज पनि त्यस जितको कोलाहल सुनिन्छ । अझ कान थापेर सुन्नुभयो भने सन् १९५३ को हारका तडप र चीत्कारहरू पनि सुनिन्छन् । त्यतिबेला इङ्ग्ल्यान्ड हंगेरीसँग नमीठोसँग हारेको थियो । मोन्तेभिदेओको सेन्तेनारिओ रंगशाला उरुग्वेली फुटबलका गौरवशाली दिनहरू सम्झेर उच्छवास छोड्छ । सन् १९५० को विश्वकपमा ब्राजिलको पराजयमाथि आज पनि माराकाना रोइरहेको छ । बुएनोस आइरेसस्थित बोम्बोनेरामा आधा शताब्दीअघिदेखि नगरा बजिरहेको छ । एज्टेका रंगशालाको गर्भबाट अझै पनि प्राचीन मेक्सिकन भकुन्डो खेल्दाताका गाइने आनुष्ठानिक गीतहरू गुन्जिरहन्छन् । बार्सिलोनाको क्याम्प नोउ रंगशालाका कंक्रिटका सिँढीहरू कातालान भाषा बोल्छन् भने बिल्बाओस्थित सान मामेसका दर्शकदीर्घाहरू बास्क भाषामा बात मार्छन् । मिलानमा जुसेप्पे मिएज्जाको भूतले गोल गर्दा उनकै नाममा रहेको रंगशाला हल्लिन्छ । साउदी अरेबियाको राजा फाहद रंगशाला भव्य छ । सिंगमर्मर र सुनले बनेका अतिथि कक्षहरू छन्, दशर्कदीर्घामा कार्पेट बिछ्याइएको छ । तर, फाहद रंगशालासँग न कुनै स्मृति छ, न भन्नका लागि केही कुरै छ ।

दुर्भाग्यका स्रोत

शकुन–अपशकुनबारे सबै जान्दछन् । भ्यागुतो कुल्चिनु, रूखको छायामा टेक्नु, भर्‍याङमुनि हिँड्नु, घोप्टो परेर सुत्नु, घरभित्र छाता खोल्नु, आफ्ना दाँत गन्नु, ऐना फुटाउनु आदिलाई अपशकुन मानिन्छ । तर, फुटबलमा भने अपशकुनको सूची असाध्यै लामो हुन्छ ।

कार्लोस बिलार्दो थिए, सन् १९८६ र १९९० को विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षक । उनी आफ्ना खेलाडीलाई कुखुराको मासु खान दिँदैनथे । किनभने, उनी कुखुराको मासुले तिनका निम्ति दुर्भाग्य निम्त्याउँछ भन्ने ठान्थे । बिलार्दो खेलाडीलाई गाईको मासु खुवाउँथे । गाईको मासुले अरू त त्यस्तै हो, युरिक एसिडचाहिँ निम्त्याएको थियो । मिलान क्लबका मालिक सिल्भिओ बर्लुस्कोनीले समर्थकहरूलाई ‘मिलान, मिलान’ बोलको पुरानो गीत गाउन निषेध गरे । किन ? किनभने, यस गानका हानिकारक कम्पन र तरङ्गले उनका खेलाडीका खुट्टालाई शिथिल बनाउँथे । सन् १९८७ मा उनले क्लबका लागि नयाँ गीत तोकिदिए, ‘मिलान, हाम्रो मुटुमा छौ तिमी ।’

कोलम्बियाका असाधारण खेलाडी फ्रेडी रिन्कोनले सन् १९९४ को विश्वकपमा आफ्ना असंख्य प्रशंसकलाई निराश बनाए । उनले एक चिम्टी पनि उत्साह नदेखाई खेले । पछि पो हामीले थाहा पायौं, इच्छाको कमीले होइन, एउटा भयका कारण उनको प्रदर्शन फितलो र ज्यानहीन भएको थियो । रिन्कोनको गृहनगर बुएनाभेन्तुराका एक जना ज्योतिषीले विश्वकपका खेलहरूको नतिजाको भविष्यवाणी गरेका रहेछन् । संयोगले तिनको भविष्यकथन ठ्याक्कै मिल्न गएछ । ती ज्योतिषीले रिन्कोनलाई ‘होस नपुर्‍याए तिम्रो खुट्टा भाँचिन्छ’ भनेर चेतावनी दिएका रहेछन् । ‘टाटेपाटे केटीसँग जोगिनू !’ उनले फुटबलतर्फ इंगित गर्दै भनेका रहेछन् । विचरा रिन्कोनलाई थप आतङ्कित पारेछन्, ‘जन्डिस भएकी केटीसँग पनि सावधान हुनू, अनि रगताम्य युवतीको छेउमै नपर्नू ।’ जन्डिस भएकी केटी अर्थात् पहेंलो कार्ड, रगताम्य युवती अर्थात् रातो कार्ड ।

त्यही विश्वकपको अन्तिम खेलको पूर्वसन्ध्यामा इटालीका घागडान तान्त्रिकहरूले आफ्नो देशले जित्ने घोषणा गरे । ‘काला जादुका असंख्य दुष्टात्माहरूले ब्राजिललाई हराउनेछन्,’ इटालीको जादुगर संघले प्रेसलाई आश्वस्त तुल्याएको थियो । तर, नतिजा आइदियो उल्टो । ब्राजिल विजयी भयो । तन्त्रमन्त्रको प्रतिष्ठा धूलो भयो ।

जनताको अफिम

फुटबल कुन मानेमा भगवान्जस्तै हो ? यस मानेमा कि यी दुवैले आस्थावान्हरूमा भक्तिभाव जगाउँछन् भने बौद्धिकहरूमा अविश्वास । सन् १९०२ मा लन्डनमा कवि रुडयार्ड किप्लिङले फुटबलको मजाक उडाए । फुटबलको मात्रै होइन, फुटबलप्रेमीहरूको पनि धज्जी उडाए । ‘धूलोमा लडीबुडी गर्ने मूर्खहरू’ को कलाले आफ्ना आत्मा तृप्त पार्ने स्वाँठहरूका नाममा कवि किप्लिङले भयानक कटाक्ष गरे । त्यसको करिब ७५ वर्षपछि फुटबलविरोधी अर्जेन्टिनी लेखक होर्खे लुइस बोर्खेसले बुएनोस आइरेसमा अमरत्वमाथि सुन्दर प्रवचन दिएका थिए । संयोग कस्तो थियो भने त्यही दिन र त्यही घडी अर्जेन्टिना सन् १९७८ को विश्वकपमा आफ्नो पहिलो खेल खेलिरहेको थियो ।

परम्परावादी बौद्धिकहरूको फुटबलप्रतिको द्वेष र उपहास उनीहरूको कुन मान्यतामा आधारित छन् भने फुटबल–पूजा एउटा अन्धविश्वास हो । र, सामान्यजन बिलकुल त्यस अन्धविश्वासको लायक छन् । बलद्वारा वशीभूत साधारण मजदुरहरू खुट्टाले सोच्छन्, जो पूर्णतया यथोचित छ । ती आदिम हर्षोन्मादमा आफ्ना सपना पूरा गर्छन् । फुटबलमा पशु वृत्तिले मानवीय विवेकलाई उछिन्छ, अज्ञानले संस्कृतिलाई कुल्चिन्छ र निम्न वर्गले आफ्नो चाहना पूरा गर्छ ।

थुप्रै वामपन्थी बौद्धिकहरू फुटबलको आलोचना गर्छन् । किनभने, यसले जनसमुदायलाई निकम्मा बनाउँछ र उनीहरूको क्रान्तिकारी जोस र उत्साहलाई अवरुद्ध पार्छ । ती विद्वान् फुटबललाई रोटी र सर्कससँग जोड्छन् । र, यसलाई रोटीबिनाको सर्कस भन्छन् । भकुन्डोमा सम्मोहित, भ्रष्ट आसक्तिमा लीन मजदुरहरू आफू को हौं भन्ने बिर्सन्छन् र वर्गशत्रुद्वारा भेडाझैं नियन्त्रित बन्छन् । रिभर प्लेट क्लबमा अंग्रेज र धनाढ्यहरूले खेलको स्वामित्व गुमाएपछि रेल र पानीजहाजका कारखानामा सुरुवाती लोकप्रिय क्लबहरूको स्थापना भएको थियो । केही अराजकतावादी र सामाजिक नेताले यी क्लबको भर्त्सना गरेका थिए । उनीहरूका निम्ति यस्ता क्लब वर्ग विभाजनलाई ढाकछोप गर्ने र हडताल रोक्ने बुर्जुवा तिकडम थिए । संसारभरि फुटबलको विस्तार उत्पीडित जनतालाई अनन्त बाल्यकाल (अर्थात् अज्ञान) मा कैद गर्ने साम्राज्यवादी चाल थियो ।

तर, अर्जेन्टिनोस जुनियर्स क्लब आफूलाई ‘सिकागोका सहिदहरू’ नाम दिंदै जन्मेको थियो । सिकागोका अराजकतावादी कामदारहरूको सम्मानमा क्लबले आफूलाई यसरी नामकरण गरेको थियो । अनि, मे १ कै दिन रोजेर बुएनोस आइरेसको एउटा अराजकतावादी पुस्तकालयमा चाकारिता क्लब स्थापना भएको थियो । बीसौं शताब्दीका सुरुवाती वर्षहरूतिर थुप्रै वामपन्थी बौद्धिकले फुटबलको सराहना गर्न र यस खेलको आनन्द लिन थाले । जनताको चेतनालाई लठ्याइरहने खेलका रूपमा यसको निन्दा गर्न छाडियो । ती फुटबलप्रेमीमध्ये एक थिए, इटालीका मार्क्सवादी बौद्धिक एन्तोनियो ग्राम्सी । उनले फुटबलको तारिफमा भने, ‘मानवीय निष्ठाको यो खुला अधिराज्य !’

प्रकाशित : मंसिर १७, २०७९ ११:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×