
पात्र एक
अन्तर्राष्ट्रिय उडान विमानस्थलमा विमान ल्यान्ड गरेसँगै यात्रुहरूलाई चेकिङस्थल पुग्न हतारो भइसकेको थियो । केही गन्तव्यतिर लागे, केही जमिन चुम्न । सायद देश छाडेपछि मात्रृभूमिको मायाले भावुक भए । आफ्नो देशमा पहिलो पाइला टेक्न पाएको खुसी पनि होला ।

खाली जहाजभित्र सफाइ कर्मचारी पसिसकेका थिए । आयल निगमका कर्मचारी जहाजमा तेल भर्न थाले, कोही चक्का चेक गर्दै हावा हाल्न थाले । एक कर्मचारी जहाजको इन्जिन र पंखा चेक गर्न थाले । सबै चेक गर्दा जहाजको इन्जिनभित्र सुन लुकाएर ल्याइएको तथ्य पत्ता लाग्यो । कर्मचारीहले वरिष्ठसामु यो खबर पुर्याए । उताबाट जवाफ आयो, ‘ठीकै छ, यसलाई मुद्दा नबनाउनुस् । जे भो भो, नदेखेजस्तो गर्नुस् ।’
कर्मचारीले अनुनय गरे, ‘होइन सर, त्यस्तो कसरी हुन्छ ? यो ठीक भएन ।’
फेरि उताबाट जवाफ आयो, ‘ल ठीक छ, तपाईं अहिले जानुस्, मलाई सोच्न दिनुस् ।’ कर्मचारीले आदेशको पालना गरे, ‘हस् सर ।’
कर्मचारी हिँड्नासाथै हाकिमले कतै फोन गरे, ‘सर बित्याँस पर्यो ।’
‘के भयो ? किन आत्तिएर फोन गरेको ?’
‘सबै ठीकै चल्दै थियो । एउटा पिउसोले थाहा पायो, मानिरहेको छैन । पोल्यो भने त हामी सबै पर्छौं ।’
‘हँ ! कति माग्छ ?’
‘यही त समस्या छ ! इमानदार छ सर ।’
‘कुन पार्टीको हो ? त्यसलाई ठीक पारेन भने त बित्याँसै पार्छ । त्यसको कमजोरी के–के हो ? केटी ? रक्सी ?’
‘कमजोरी केही छैन सर ।’
‘त्यस्तो पनि कहीँ हुन्छ ? उसको विगत कस्तो छ ?’
‘शुद्ध आचरणको छ । रक्सीचाहिँ पिउँछ भन्ने सुनेको छु ।’
‘त्यसो भए समस्या के त ?’
‘भट्टी जाँदैन सर ।’
‘अनि कहाँ जान्छ ?’
‘सूत्रअनुसार राति टुच्च लाउँछ अनि सुत्छ । जापानीको स्वभावजस्तै वर्कहलिक छ ।’
‘कति पढेको छ ?’
‘अन्डर एसएलसी हो सर ।’
‘अनि त्यसले यस्तो महत्त्वपूर्ण जिम्मेवारी कसरी पायो ? यो जिम्मेवारी पाउन त एरोनटिकल इन्जिनियरिङ गरेको हुनुपर्छ होइन ?’
‘हो सर ! तर, त्योसँग त जेट प्लेनको लाइसेन्स पनि छ ।’
‘कसरी ?’
‘अनुभव सर । सायद युनिर्भसिटी अफ लाइफ भनेको यही होला । यसलाई के गर्ने सर ?’
‘नेपालमा यस्ता पनि कर्मचारी छन् ?’
‘हजुर छन् सर !’
पात्र दुई
राजधानीकै जोरपाटीभन्दा माथिको विकट गाउँमा एक झारफुक गर्ने र चिना हेर्ने मान्छे पहाडबाट
झरेको थियो । सानो बाटो भएको एक टुक्रा जग्गामा टिनले बारेको र टिनैले छाएको एक कटेरो थियो उसको । एक दिन एकजना मान्छे एक वयस्क छोरासँग त्यहाँ पुग्यो । ती मानिसबिच भएको संवाद रोचक छ । पढ्नुस् है त ः
‘गुरु नमस्कार !’
‘हजुर । के कामले पाल्नुभयो कुन्नि ?’
‘छोराको चिना हेर्न । अनि गुरु, बेलैमा घरबार जोरजाम गर्नुभएछ नि ।’
‘हजुर अँ ! यो कुटीको एउटा छुट्टै कथा छ ।’
‘म सानोतिनो काम पनि गर्छु ।’
‘कहाँ गुरु ?’
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक शाखामा पालेको काम गर्छु हजुर ।’
‘तर, जागिर अस्थायी हो ।’
गुरु भन्न थाले–
‘एक दिन राति डिउटीमा बसेको बेला एउटा गाडी सर्र आयो, मैले गेट खोलिदिएँ । भित्रबाट आवाज आयो– ए फलानो ?’
‘आदेश भयो– एक छिनपछि केही गाडीहरू आउँछन् । आँखा चिम्लिने र बाटो खोलिदिने ।’
‘मैले पनि गेट खोलिदिएँ । गाडी सर्र बाहिर निस्किए ।’
गुरु बोलिरहे–
म गेट बन्द गरेर भित्रपट्टिको कुर्सीमा बसेँ ।
केही छिनमै ठुलो जेट प्लेन विमानस्थलमा अवतरण गर्यो । केही बेरमै झ्याप्प बत्ती निभ्यो । सारा विमानस्थल अन्धकार भयो । त्यत्ति नै बेला ५–६ वटा गाडी लहरै ताँती लागेर गेट नजिक आए । मैले अरू बेलाजस्तै गेट खोलिदिएँ ।
एक एक गर्दै सबै गाडीहरू बाहिर निस्किए । केही बेरपछि बत्ती आयो ! कुरो सामान्य लाग्यो । मैले पनि यो घटना बिर्सिएँ । आवतजावत सुचारु भइरह्यो । त्यसको केही दिनपछि एकाबिहानै म बसेको डेरामा ढकढक आवाज आयो– फलाना ए फलाना !
मैले ढोका खोलेँ ।
अगाडि एक अपरिचित व्यक्ति ठिंग उभिएको देखेँ ।
‘हजुर, कसलाई खोज्नुभएको ?’
ऊ सुरुमा केही बोलेन । हातमा भएको कालो ब्याग बडो शानले थमाउँदै भन्यो, ‘ल गरी खानू ।’
म अक्क न बक्क हुँदै डेराभित्र पसेँ । हातमा ब्याग छ । मैले ब्याग खोलेर हेरेँ । आश्चर्यचकित भएँ ! ब्यागभित्र हजारहजारको गड्डी पो छ !
अनि गन्न थालेँ । जम्मा साढे तीन लाख रहेछ ।
त्यसपछि फेरि मेरो आँखा अगाडि सारा घटनाक्रम दोहोरिएर आयो ।
मेरोबारे सबै थाहा छ यी मोराहरूलाई । यहाँ अनकन्टार ठाउँमा समेत यिनको पहुँच छ । बाफ रे बाफ ! यिनीहरूसँग जोरी खोज्न
सकिँदैन भन्ने लाग्यो ।
हो, त्यही पैसामा यसो सरसापट थपेर यो सानो जमिन लिएर कटेरो बनाएको हुँ हजुर ।
‘ए !’
‘नत्र त्यो पहाडको केही नफल्ने पाखोभित्तोको मान्छे म । कसरी काठमाडौंमा मेरो डेराडन्डा हुन्थ्यो र हजुर !’
‘ए !’
प्रकाशित : मंसिर १७, २०७९ ११:२०