२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४
फुटबल विमर्श

फुटबल अर्थात् भगवान् अर्थात् अफिम

फुटबल भएको छ, रमिता । यस्तो रमिता, जसमा छन् केही नायक अर्थात् खेलाडी । अनि छन्, असङ्ख्य रमिते । र, त्यो रमिता भएको छ, संसारको सबैभन्दा मुनाफादायी व्यापार ।
एदुआर्दो गालेआनो

‘ओपन भेन्स अफ ल्याटिन अमेरिका’ जस्तो प्रसिद्ध किताबका लेखक एदुआर्दो गालेआनो फुटबलप्रेमी थिए । उरुग्वेमा जन्मिएका उनी अरू ल्याटिन अमेरिकीजस्तै भन्ने गर्थे, ‘मेरो रगतमै फुटबल छ ।’ रगतमै फुटबल भएको लेखकभन्दा अरू को योग्य हुन्थ्यो, ‘सकर इन सन एन्ड स्याडो’ लेख्न ? हरेक विश्वकपमा फुटबलको जस्तै उनको यस कृतिको पनि उत्सव मनाइने गरिन्छ ।

फुटबल अर्थात् भगवान् अर्थात् अफिम

‘फुटबलको आत्मामा पसेर लेखिएको’ भनी प्रशंसित यो किताब प्रथमपटक स्पेनिस भाषामा सन् १९९७ मा प्रकाशित भएको थियो । सन् २०१३ मा मार्क फ्राइडले यसलाई अंग्रेजीमा अनुवाद गरेका थिए । गालेआनो फुटबललाई जति प्रेम गर्थे, खेलाडीका दुःख र कष्ट, असफलता र हतासाप्रति पनि उत्तिकै संवेदनशील थिए । उनको ननिको निष्कर्ष थियो : व्यावसायिक फुटबलका नाममा यस खेलको आत्मा मारिएको छ । गालेआनोको फुटबल–वाङ्मयको यस अंशलाई विनोदविक्रम केसीले अनुवाद गरेका हुन् ।

फुटबल

फुटबलको इतिहास खासमा सुन्दरतादेखि बाध्यतासम्मको दुःखद यात्रा हो । फुटबल जब उद्योग बन्यो, यस खेलको आनन्दबाट फक्रिने सौन्दर्य जरैदेखि मासियो । आजको मूल्यपतनको युगमा व्यावसायिक फुटबलले हरेक निरर्थक चीजलाई तिरस्कार गर्छ । निरर्थक अर्थात् जसले नाफा दिलाउँदैन । व्यावसायिक फुटबलमा भावना वा अनुभूतिले कुनै अर्थ राख्दैन । दर्शकले महसुस गर्न सक्छ— कुनै खेलाडी एक पलमै बेलुनसँग खेलिरहेको बच्चामा परिणत भएको छ, धागोको डल्लोसँग खेलिरहेको बिरालोमा बदलिएको छ, अथवा बेलुनका साथमा हावामा तैरिरहेकी नर्तकी बनेको छ... । कुनै खेलाडी यसरी खेलिरहेको छ कि उसलाई दुनियाँको पर्वाह छैन । ऊ बस् खेलिरहेको छ । उसलाई न समयको हेक्का छ, न रेफ्रीको भय । खेल्नुबाहेक उसको जीवनको अर्को उद्देश्य छैन । हो, दर्शकलाई यस्तो खालको उडन्ते अनुभूति हुन सक्छ । तर, व्यावसायिक फुटबलमा यसको के अर्थ ? यस्तो अनुभूतिबाट कसैले सुको आर्जन गर्न सक्दैन !

फुटबल भएको छ, रमिता । यस्तो रमिता, जसमा छन् केही नायक अर्थात् खेलाडी । अनि छन्, असङ्ख्य रमिते । र, त्यो रमिता भएको छ, संसारको सबैभन्दा मुनाफादायी व्यापार । यस्तो व्यापार, जो खेलको उन्नयनका लागि होइन, यसको बाटामा तगारो हाल्न, यसलाई अवरुद्ध पार्न चलाइन्छ । व्यावसायिक खेलको प्रविधितन्त्रले फुटबललाई बिजुली गति र नृशंस शक्तिको पर्याय बनाइदिएको छ । फुटबललाई यस्तो खेल बनाइएको छ, जसले आनन्द र खुसीलाई इन्कार गर्छ, कल्पनाको हत्या गर्छ र साहसिकतालाई अपराध करार गर्छ ।

संयोगवश, फुटबल मैदानमा तपाईं अझै पनि यदाकदा केही धृष्ट बदमासहरूलाई देख्न पाउनुहुन्छ । ती बदमासहरू— जो निर्धारित कथानक र तय गरिएका तजबिजभन्दा बाहिर गएर खेल्छन् । जो एक्लै बल लिएर अगाडि बढ्छन्, सिङ्गो विपक्षी खेमालाई छलाउँछन् । रेफ्री र दर्शकलाई हेरेको हेर्‍यै पारिदिन्छन् । ती बदमासहरू यी सारा महाभूल गर्छन् । केका लागि ? स्वतन्त्रताको वर्जित साहसलाई आत्मसात् गर्नुको सांसारिक सुखका लागि । केवल त्यस सुखका लागि ।

खेलाडी

ऊ मैदानमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेको हुन्छ । एकातर्फ दिव्य गौरव उसको प्रतीक्षामा हुन्छ भने अर्कातर्फ हुन्छ, बर्बादीको रसातल । छिमेकमा ऊ ईर्ष्याको पात्र हुन्छ । किनभने, उसले कुनै कारखाना वा कार्यालयमा उच्चाटलाग्दो काम गर्नु पर्दैन । ऊ त व्यावसायिक खेलाडी हो, जसलाई रमाइलो र मज्जा गर्नका लागि तलब दिइन्छ । छिमेकीलाई लाग्छ, उसलाई त चिट्ठै पर्‍यो नि ! ऊ बेहिसाब पसिना चुहाउँछ । उसलाई हार्ने या थाक्ने अधिकार हुँदैन । ऊ अखबार र टीभीमा छाउँछ । रेडियोले उसैको नाम फुक्छ । महिलाहरू ऊ भनेपछि भुतुक्कै हुन्छन् । बच्चाहरू भविष्यमा ऊजस्तै बन्न लालायित हुन्छन् । उहिले ऊ मस्तीका लागि धूलो उड्ने सडकमा खेल्थ्यो । अहिले ऊ कर्तव्यवश र बाध्यताले रंगशालामा खेल्छ । त्यहाँ उसलाई जित्नु र जित्नुबाहेक अर्को छनोट हुँदैन ।

व्यापारीहरू उसलाई किन्छन्, बेच्छन्, अनि अरू कसैलाई सापटी पनि दिन्छन् । ऊ यी यावत् कुरा घटित हुन दिन्छ । किनभने, उसलाई अधिकभन्दा अधिक प्रसिद्धि र पैसाको वाचा गरिएको हुन्छ । ऊ जति धेरै सफल हुन्छ, जति धेरै पैसा कमाउँछ, उति नै कैदी बन्दै जान्छ । उसलाई सैन्य अनुशासनमा बाँच्न बाध्य पारिन्छ । उसको जीवन सजायजस्तो बन्छ । हरेक दिन उसले कडा प्रशिक्षण गर्नुपर्छ । ऊमाथि पीडानाशक औषधि र कोर्टिजनका इन्जेक्सनहरूको बमवर्षा हुन्छ । यस्ता औषधि र सुईले उसका दुखाइ लुकाइदिन्छन् र उसको शरीरलाई छक्याइदिन्छन्, मूर्ख बनाइदिन्छन् । ठूलो प्रतियोगिता हुनुअघि उसलाई बन्दी शिविरमा थुनिन्छ, जहाँ ऊ बाध्यकारी श्रम गर्छ, स्वाद न ब्यादको खाना खान्छ, पानी खाएर मदिराको तृष्णा मेट्छ र एक्लै रात काट्छ ।

अरू पेसा–व्यवसायमा उमेर पुगेपछि मात्रै बूढो भइन्छ, अनि बुढेसकाल लागेपछि मात्रै क्षय र कमजोरीले सताउँछन् । तर, फुटबल खेलाडी भने तीस वर्षमै बूढो हुन सक्छ । उसका मांसपेसीहरू असमयमै थाक्छन् । अनि, उसमाथि टिप्पणी र गालीको वर्षा हुन थाल्छ :

‘फलानो खेलाडीमा दम छैन । भिरालो मैदानमा पनि त्यसले गोल हान्न सक्दैन ।’

‘त्यसको के कुरा गर्नु, यार ! विपक्षी गोलकिपरको हात बाँधिदिए पनि त्यसले गोल गर्न सक्दैन ।’

उसो त तीस वर्ष पनि नपुग्दै ऊ बर्बाद हुन सक्छ । बलले लागेर ऊ नराम्ररी ढल्यो भने, दुर्भाग्यले उसको मांसपेसी च्यातियो भने, खुट्टाको हड्डी भाँच्चियो भने उसको खेल जीवन सकियो । र, अचानक एक दिन, कुनै भयानक दिन उसको चेत खुल्छ— उसले त यत्तिकै आफ्नो सारा जिन्दगीको बाजी थापेको रहेछ । त्यस दिन ऊसँग पैसा हुने छैन । प्रसिद्धि पनि हुनेछैन । प्रसिद्धि अर्थात् छोडिजाने प्रेमिका । प्रेमीका नाममा एउटा बिदाइ–पत्रसम्म नछोडी टाप कस्ने प्रेमिका !

गोलरक्षक

मानिसहरू उसलाई ढोके, पहरेदार, गोल्की, रक्षक र जाली–कुरुवा पनि भन्छन् । भन्न त उसलाई सहिद पनि भन्न सकिन्छ । हारको मूल्य चुकाउने चुक्तानकर्ता भन्न सकिन्छ, प्रायश्चित्तकर्ता भन्न सकिन्छ वा रिस पोख्ने भाँडो पनि भन्न सकिन्छ । भन्छन्, उसले जहाँ टेक्छ, त्यहाँ घाँस पलाउँदैन ।

ऊ एक्लो हुन्छ, टाढैबाट खेल हेर्न अभिशप्त ! कुनै पनि हालतमा उसले गोलपोस्ट छोड्न पाउँदैन । दुइटा ठाडा र एउटा तेर्सो लट्ठा— बस् यति नै हुन्छन्, उसका साथमा । र, ऊ गोली दाग्ने दस्ताद्वारा आफ्नै मृत्युको प्रतीक्षारत हुन्छ । उहिले रेफ्रीझैं ऊ पनि कालो पहिरनमा हुन्थ्यो । अहिले रेफ्रीले कालो लुगा लगाएर कौवा हुनुपर्दैन । अनि, गोलरक्षक पनि रंगीन कपडामा ठाँटिएर आफ्नो एकाकीपनलाई धेरथोर सान्त्वना दिन सक्छ ।

उसले गोल गर्दैन । ऊ त गोल छेक्नका लागि मैदानमा उपस्थित हुन्छ । गोल भनेको फुटबलको उत्सव हो । गोलकर्ता अर्थात् स्ट्राइकरले खुसी र आनन्दको ज्योति छर्छ । गोलरक्षकको काम भने त्यस खुसीलाई बिथोलिदिनु हो । त्यस आनन्दको ज्योतिलाई निभाइदिनु हो ।

ऊ एक नम्बरको जर्सी लगाउँछ । एक अर्थात् पहिलो नम्बर । सफलताको पहिलो श्रेय पाउनलाई उसले एक नम्बरको जर्सी लगाएको हो त ? होइन । बरु, असफलताको मूल्य चुकाउनमा पहिलो हुने भएकाले एक नम्बर उसको भागमा परेको हो । गोलरक्षक सधैं दोषी हुन्छ । उसको कुनै दोष नहुँदा पनि हारको जिम्मेदार उही हुन्छ । जब कुनै खेलाडीले गल्ती गर्छ, नियम मिच्छ, सजायचाहिँ गोलरक्षकले पाउँछ । पेनाल्टीमा हेर्नुस् त उसको हालत ! सबैले उसलाई छाडिदिन्छन् । खाली जालीको विस्तारबीच जल्लादजस्तो विपक्षी खेलाडीको उसले एक्लै सामना गर्नुपर्छ । र, जब टोली पराजित हुन्छ, त्यसको मूल्य उसले चुकाउनुपर्छ । ऊमाथि गाली र अपमानको वर्षा हुन्छ । अपराध अरूले गर्छन्, क्षतिपूर्ति भने उसले भर्नुपर्छ ।

बाँकी खेलाडीलाई भने हाइसन्चो हुन्छ । उनीहरूको गल्ती कसले सम्झेर बस्छ र ? शानदार तरिकाले एक खेप बल छलाएपछि, एउटा कुशल पास निकालेपछि र हावामा उडिरहेको बललाई सुन्दर ढङ्गले खुट्टाले हानेर दिशा दिएपछि उनीहरू मुक्त भइहाल्छन् । उनीहरूको पाप पखालिइहाल्छ । तर, गोलरक्षकलाई भने भीडले कदापि, कदापि क्षमा गर्दैन । कुनै जालसाजले पो उसको ध्यान भङ्ग गरिदियो कि ? कसले उसलाई उपहासको पात्र बनाइदियो ? बल चिप्लियो कि ? उसका इस्पातका औंलाहरू लल्याकलुलुक भए कि क्या हो ? गोलरक्षकको एक गल्ती, केवल एक गल्तीले खेल बर्बाद हुन सक्छ, प्रतियोगितामा पराजय हुन सक्छ । र, समर्थकहरू अचानक उसका सारा उपलब्धि बिर्सिदिन्छन् र अनन्तकालका लागि ऊ कलङ्कित हुन्छ । जीवनका आखिरी दिनहरूमा समेत निन्दाले उसलाई पछ्याइरहेको हुनेछ ।

समर्थक

हप्तामा एकचोटि समर्थक रंगशाला पुग्छ ।

झन्डा र तुलहरू फर्फराउँछन् । सिटी, बिगुल, पटाका र नगराका ध्वनिले हावा झङ्कृत हुन्छ । ध्वजा–पताकाहरूको वर्षा हुन्छ । सहर गायब हुन्छ, यसले आफ्नो दिनचर्या भुल्छ । केवल एउटा मन्दिरको अस्तित्व हुन्छ । यस पवित्र स्थलमा, नास्तिकहरूले विहीन एक मात्र धर्म (अर्थात् फुटबल) ले आफ्ना दिव्यताहरू प्रदर्शन गर्छ । त्यसो त समर्थक घरमै आरामले बसेर टीभीमा चमत्कारको प्रतीक्षा गर्न सक्छ । तर, ऊ यस तीर्थस्थलमा पुग्न चाहन्छ र आफ्नै आँखाअगाडि आफ्ना देवदूतहरू त्यस दिनका दैत्यहरूसँग भिडेको हेर्न चाहन्छ ।

समर्थक रुमाल हल्लाउँछ । चिच्याउँछ, कराउँछ । घाँटी सुकाउँछ । थुक निल्छ । दाह्रा किट्छ । लगाइरहेको टोपी फुकालेर टोक्छ । प्रार्थना गर्छ । सराप्छ । र, अकस्मात् न्वारानदेखिको बल निकालेर चिच्याउँछ— ‘गोल !’ गोलको आनन्द लिइरहेको, आफ्नो पक्षको अपरिचित व्यक्तिलाई ऊ उफ्रेर अँगालो हाल्न पुग्छ । यो उन्मादी अनुष्ठान चलुन्जेल समर्थक एक होइन, अनेक बन्छ । हजारौं भक्तझैं ऊ पनि एउटै ‘सत्य’ मा विश्वास गर्छ— ‘हामी उत्कृष्ट हौं’, ‘दुनियाँका सबै रेफ्री बेइमान हुन्’, ‘हाम्रा विपक्षीहरू धोकेबाज हुन् ।’

समर्थक बिरलै भन्छ, ‘आज मेरो क्लब खेल्छ ।’ ऊ त भन्छ, ‘आज हामी खेल्छौं ।’ ऊ जान्दछ— बल जब निदाउँछ, उत्साहको हावा चलाएर त्यसलाई जगाउने र चलायमान बनाउने नै ‘बाह्रौं खेलाडी’ हो । अन्य एघार जना खेलाडी पनि भलिभाँती जान्दछन्— समर्थकबिना खेल्नु भनेको संगीतबिनै नाच्नु हो ।

खेल सकिएपछि समर्थक विजयोत्सव मनाउँछ : ‘क्या सानदार गोल हानियो !’ ‘तिनलाई बाउको बिहे र आमाको न्वारान देखाइदियौं ।’ अथवा, ऊ पराजयको तिक्तता पोखिरहेको हुन्छ : ‘उनीहरूले झेली गरेर जिते’, ‘त्यो रेफ्री त चोरै रहेछ ।’ त्यसपछि घाम अस्ताउँछ र समर्थक घरतिर लाग्छ । रित्तो रंगशालामा साँझको छाया खस्छ । सिमेन्टीका सिँढीहरूमा दर्शकले छोडेका चीजबीज यत्रतत्र छरिएका हुन्छन् । प्रकाश र आवाजहरू क्षीण हुँदै जान्छन् । रंगशाला एक्लो हुन्छ र समर्थक पनि आफ्नै एक्लोपनमा फर्किन्छ । ऊ ‘हामी’ बाट फेरि ‘म’ मा पुग्छ । समर्थक रंगशालाबाट हिँड्छ, भीड यताउता छरिन्छ । मेला सकिन्छ र साँझ उदास बन्छ ।

गोल

गोल फुटबलको चरमोत्कर्ष हो । र, चरमोत्कर्षझैं, आधुनिक जीवनमा गोलहरू पनि झन् झन् कम घटित हुँदै गएका छन् ।

आधा शताब्दीअघिसम्म खेल शून्य–शून्यको बराबरीमा टुङ्गिनु दुर्लभ घटना थियो । शून्य–शून्य, अर्थात् आँ गरिरहेका दुई मुख, हाई गरिरहेका दुई मुख ! अहिले त एघारै जना खेलाडी खेलअवधिभर आफ्नै गोलपोस्टवरिपरि झुम्मिरहेका हुन्छन् । उनीहरूको एउटै ध्येय हुन्छ, जसरी हुन्छ विपक्षीलाई गोल गर्न नदिने । उनीहरूलाई गोल गर्ने फुर्सदै कहाँ हुन्छ र ?

जब ‘सेतो गोली’ ले गोलपोस्टको जालीमा लहर उत्पन्न गराउँछ, दर्शकको उत्तेजना उन्मुक्त हुन्छ । त्यो उत्तेजना रहस्यमय र उन्मत्त प्रतीत हुन सक्छ । तर, हेक्का गर्नुहोला, चमत्कार सधैं हुँदैन । गोल जति साधारण भए पनि टीभी र रेडियोका खेल–समीक्षकका लागि यो लामो न लामो ‘गो.......ओ........ल’ हुन्छ । तिनको आलापले मै हुँ भन्ने गायकलाई पनि चुप लगाइदिन सक्छ । गोल भएपछि भीड पागल बन्छ । रंगशाला आफू सिमेन्टीले बनेको छु भन्ने बिर्सन्छ र जमिनको बन्धनबाट मुक्त हुन्छ । र, हावामा उड्न थाल्छ ।

रंगशाला

तपाईं रित्तो रंगशालाभित्र छिर्नुभएको छ ? मौका मिल्यो भने छिर्नुहोस् । मैदानको बीचमा उभिनुहोस् र सुन्नुहोस् । रित्तो रंगशालाभन्दा रित्तो अरू केही हुँदैन । दर्शक नभएको दर्शकदीर्घाजस्तो मौन अरू केही हुँदैन ।

सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जितेको थियो । वेम्ब्ली रंगशालामा आज पनि त्यस जितको कोलाहल सुनिन्छ । अझ कान थापेर सुन्नुभयो भने सन् १९५३ को हारका तडप र चीत्कारहरू पनि सुनिन्छन् । त्यतिबेला इङ्ग्ल्यान्ड हंगेरीसँग नमीठोसँग हारेको थियो । मोन्तेभिदेओको सेन्तेनारिओ रंगशाला उरुग्वेली फुटबलका गौरवशाली दिनहरू सम्झेर उच्छवास छोड्छ । सन् १९५० को विश्वकपमा ब्राजिलको पराजयमाथि आज पनि माराकाना रोइरहेको छ । बुएनोस आइरेसस्थित बोम्बोनेरामा आधा शताब्दीअघिदेखि नगरा बजिरहेको छ । एज्टेका रंगशालाको गर्भबाट अझै पनि प्राचीन मेक्सिकन भकुन्डो खेल्दाताका गाइने आनुष्ठानिक गीतहरू गुन्जिरहन्छन् । बार्सिलोनाको क्याम्प नोउ रंगशालाका कंक्रिटका सिँढीहरू कातालान भाषा बोल्छन् भने बिल्बाओस्थित सान मामेसका दर्शकदीर्घाहरू बास्क भाषामा बात मार्छन् । मिलानमा जुसेप्पे मिएज्जाको भूतले गोल गर्दा उनकै नाममा रहेको रंगशाला हल्लिन्छ । साउदी अरेबियाको राजा फाहद रंगशाला भव्य छ । सिंगमर्मर र सुनले बनेका अतिथि कक्षहरू छन्, दशर्कदीर्घामा कार्पेट बिछ्याइएको छ । तर, फाहद रंगशालासँग न कुनै स्मृति छ, न भन्नका लागि केही कुरै छ ।

दुर्भाग्यका स्रोत

शकुन–अपशकुनबारे सबै जान्दछन् । भ्यागुतो कुल्चिनु, रूखको छायामा टेक्नु, भर्‍याङमुनि हिँड्नु, घोप्टो परेर सुत्नु, घरभित्र छाता खोल्नु, आफ्ना दाँत गन्नु, ऐना फुटाउनु आदिलाई अपशकुन मानिन्छ । तर, फुटबलमा भने अपशकुनको सूची असाध्यै लामो हुन्छ ।

कार्लोस बिलार्दो थिए, सन् १९८६ र १९९० को विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षक । उनी आफ्ना खेलाडीलाई कुखुराको मासु खान दिँदैनथे । किनभने, उनी कुखुराको मासुले तिनका निम्ति दुर्भाग्य निम्त्याउँछ भन्ने ठान्थे । बिलार्दो खेलाडीलाई गाईको मासु खुवाउँथे । गाईको मासुले अरू त त्यस्तै हो, युरिक एसिडचाहिँ निम्त्याएको थियो । मिलान क्लबका मालिक सिल्भिओ बर्लुस्कोनीले समर्थकहरूलाई ‘मिलान, मिलान’ बोलको पुरानो गीत गाउन निषेध गरे । किन ? किनभने, यस गानका हानिकारक कम्पन र तरङ्गले उनका खेलाडीका खुट्टालाई शिथिल बनाउँथे । सन् १९८७ मा उनले क्लबका लागि नयाँ गीत तोकिदिए, ‘मिलान, हाम्रो मुटुमा छौ तिमी ।’

कोलम्बियाका असाधारण खेलाडी फ्रेडी रिन्कोनले सन् १९९४ को विश्वकपमा आफ्ना असंख्य प्रशंसकलाई निराश बनाए । उनले एक चिम्टी पनि उत्साह नदेखाई खेले । पछि पो हामीले थाहा पायौं, इच्छाको कमीले होइन, एउटा भयका कारण उनको प्रदर्शन फितलो र ज्यानहीन भएको थियो । रिन्कोनको गृहनगर बुएनाभेन्तुराका एक जना ज्योतिषीले विश्वकपका खेलहरूको नतिजाको भविष्यवाणी गरेका रहेछन् । संयोगले तिनको भविष्यकथन ठ्याक्कै मिल्न गएछ । ती ज्योतिषीले रिन्कोनलाई ‘होस नपुर्‍याए तिम्रो खुट्टा भाँचिन्छ’ भनेर चेतावनी दिएका रहेछन् । ‘टाटेपाटे केटीसँग जोगिनू !’ उनले फुटबलतर्फ इंगित गर्दै भनेका रहेछन् । विचरा रिन्कोनलाई थप आतङ्कित पारेछन्, ‘जन्डिस भएकी केटीसँग पनि सावधान हुनू, अनि रगताम्य युवतीको छेउमै नपर्नू ।’ जन्डिस भएकी केटी अर्थात् पहेंलो कार्ड, रगताम्य युवती अर्थात् रातो कार्ड ।

त्यही विश्वकपको अन्तिम खेलको पूर्वसन्ध्यामा इटालीका घागडान तान्त्रिकहरूले आफ्नो देशले जित्ने घोषणा गरे । ‘काला जादुका असंख्य दुष्टात्माहरूले ब्राजिललाई हराउनेछन्,’ इटालीको जादुगर संघले प्रेसलाई आश्वस्त तुल्याएको थियो । तर, नतिजा आइदियो उल्टो । ब्राजिल विजयी भयो । तन्त्रमन्त्रको प्रतिष्ठा धूलो भयो ।

जनताको अफिम

फुटबल कुन मानेमा भगवान्जस्तै हो ? यस मानेमा कि यी दुवैले आस्थावान्हरूमा भक्तिभाव जगाउँछन् भने बौद्धिकहरूमा अविश्वास । सन् १९०२ मा लन्डनमा कवि रुडयार्ड किप्लिङले फुटबलको मजाक उडाए । फुटबलको मात्रै होइन, फुटबलप्रेमीहरूको पनि धज्जी उडाए । ‘धूलोमा लडीबुडी गर्ने मूर्खहरू’ को कलाले आफ्ना आत्मा तृप्त पार्ने स्वाँठहरूका नाममा कवि किप्लिङले भयानक कटाक्ष गरे । त्यसको करिब ७५ वर्षपछि फुटबलविरोधी अर्जेन्टिनी लेखक होर्खे लुइस बोर्खेसले बुएनोस आइरेसमा अमरत्वमाथि सुन्दर प्रवचन दिएका थिए । संयोग कस्तो थियो भने त्यही दिन र त्यही घडी अर्जेन्टिना सन् १९७८ को विश्वकपमा आफ्नो पहिलो खेल खेलिरहेको थियो ।

परम्परावादी बौद्धिकहरूको फुटबलप्रतिको द्वेष र उपहास उनीहरूको कुन मान्यतामा आधारित छन् भने फुटबल–पूजा एउटा अन्धविश्वास हो । र, सामान्यजन बिलकुल त्यस अन्धविश्वासको लायक छन् । बलद्वारा वशीभूत साधारण मजदुरहरू खुट्टाले सोच्छन्, जो पूर्णतया यथोचित छ । ती आदिम हर्षोन्मादमा आफ्ना सपना पूरा गर्छन् । फुटबलमा पशु वृत्तिले मानवीय विवेकलाई उछिन्छ, अज्ञानले संस्कृतिलाई कुल्चिन्छ र निम्न वर्गले आफ्नो चाहना पूरा गर्छ ।

थुप्रै वामपन्थी बौद्धिकहरू फुटबलको आलोचना गर्छन् । किनभने, यसले जनसमुदायलाई निकम्मा बनाउँछ र उनीहरूको क्रान्तिकारी जोस र उत्साहलाई अवरुद्ध पार्छ । ती विद्वान् फुटबललाई रोटी र सर्कससँग जोड्छन् । र, यसलाई रोटीबिनाको सर्कस भन्छन् । भकुन्डोमा सम्मोहित, भ्रष्ट आसक्तिमा लीन मजदुरहरू आफू को हौं भन्ने बिर्सन्छन् र वर्गशत्रुद्वारा भेडाझैं नियन्त्रित बन्छन् । रिभर प्लेट क्लबमा अंग्रेज र धनाढ्यहरूले खेलको स्वामित्व गुमाएपछि रेल र पानीजहाजका कारखानामा सुरुवाती लोकप्रिय क्लबहरूको स्थापना भएको थियो । केही अराजकतावादी र सामाजिक नेताले यी क्लबको भर्त्सना गरेका थिए । उनीहरूका निम्ति यस्ता क्लब वर्ग विभाजनलाई ढाकछोप गर्ने र हडताल रोक्ने बुर्जुवा तिकडम थिए । संसारभरि फुटबलको विस्तार उत्पीडित जनतालाई अनन्त बाल्यकाल (अर्थात् अज्ञान) मा कैद गर्ने साम्राज्यवादी चाल थियो ।

तर, अर्जेन्टिनोस जुनियर्स क्लब आफूलाई ‘सिकागोका सहिदहरू’ नाम दिंदै जन्मेको थियो । सिकागोका अराजकतावादी कामदारहरूको सम्मानमा क्लबले आफूलाई यसरी नामकरण गरेको थियो । अनि, मे १ कै दिन रोजेर बुएनोस आइरेसको एउटा अराजकतावादी पुस्तकालयमा चाकारिता क्लब स्थापना भएको थियो । बीसौं शताब्दीका सुरुवाती वर्षहरूतिर थुप्रै वामपन्थी बौद्धिकले फुटबलको सराहना गर्न र यस खेलको आनन्द लिन थाले । जनताको चेतनालाई लठ्याइरहने खेलका रूपमा यसको निन्दा गर्न छाडियो । ती फुटबलप्रेमीमध्ये एक थिए, इटालीका मार्क्सवादी बौद्धिक एन्तोनियो ग्राम्सी । उनले फुटबलको तारिफमा भने, ‘मानवीय निष्ठाको यो खुला अधिराज्य !’

प्रकाशित : मंसिर १७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?