कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कविताको सग्लो अनुहार

कविता कवि–मनको ऐना हो । र, तारिकिणीका कविता आजको समाज देखाउने सफेद ऐना ।
निर्भीकजंग रायमाझी

कविताका मर्मज्ञ, आलोचकबाट समकालीन कवितामाथि अनेकौं प्रश्न उठिरहेको समय हो यो । आलोचकहरू कविहरूले आफ्नो ‘सग्लो अनुहार’ बनाउन नसकेकोदेखि शैली, शिल्पका विषयमा पनि बारम्बार प्रश्न उठाउँछन् । एकै खाले विषयमा एकै खालका कविता लेखिइरहनु यसको मूल कारण मान्न सकिएला ।

कविताको सग्लो अनुहार

आउनुस् एकै छिन कवि राजेन्द्र तारकिणीको कविता–किताब ‘बिगन रामको मादल’ माथि विमर्श गरौं । किताबमा ५५ थान कवितालाई ६ भागमा विभाजन गरिएको छ । अधिकांश कविता राजनीतिक छन् । विकृत राजनीतिमाथि शालीन ढंगको विद्रोह तारकिणीको कविताको विशेषता हो । यससँगै विश्व घटनाहरूले उद्वेलित बनाएपछि लेखेका कविता पनि संग्रहमा छन् । संविधान घोषणा भएको दिन, कलाकार अर्जुन खालिङले आत्महत्या गरेको दिन तथा आतंककारी आक्रमणमा निहत्था मानिस मारिएको बखत लेखिएका कविताले कवि विश्वघटनाप्रति सचेत रहेको देखिन्छ । कुनै अन्धवेग वा भावनाको पुञ्जमा मात्रै रमाउन तारकिणी तयार देखिँदैनन् ।

‘पीडाको साँध–सिमाना र घरबार हुँदन,’ धेरैअघि कवि दिनेश अधिकारीले आफ्नो कवितामा भनेको यो वाक्य तारकिणीको कविताले पुष्टि गर्छ । उनले आफूजस्तै दोस्रो मानिसको पीडालाई आत्मबोध गरेका छन् । अरूको पीडालाई आत्मसात् गर्न नसक्नेहरूले तारकिणीका जस्ता कविता लेख्न सक्दैनन् । ‘मङ्गली बज्यैको बिहे’, ‘कृपया निर्मलीलाई ब्युँझाइदेऊ’, ‘बिगन रामको मादल’, ‘वृद्धाश्रममा एउटा अनुहार’ अरू मानिसका पीडालाई अनुभूत गरेर लेखिएका कविता हुन् ।

अचेल सत्ता र शक्तिलाई सत्तोसराप नगरी कवि नहुने प्रवृत्ति छ । कुनै न कुनै कोणबाट प्रचलित सत्तामाथि धावा बोलेका कविता बढी पाइन्छन् । तर, तारकिणी भने सबैकुरामा सत्ताको दोष देख्दैनन् । मानवीय त्रुटि, अहम्, तृष्णा र सामाजिक विकृतिका कारण सृजना भएका समस्याले नै मान्छेलाई बढी सताइरहेको उनको ठम्याइ छ । त्यस्ता समस्यालाई राज्यले समाधान गर्न सक्ने हुँदाहुँदै पनि राज्य निकम्मा बनेकोप्रति भने उनको तीव्र आक्रोश छ । अन्तर्राष्ट्रिय शक्तिले सिरिया, अफगानिस्तान वा तेस्रो विश्वका राष्ट्रमाथि बलात् आक्रमण गरेको विषयको निन्दा उनको ‘टेरोरिज्म’ कवितामा अभिव्यक्त भएको छ । यस्तै ‘तानाशाको दरबार’, ‘भोकको पोस्टमार्टम’, ‘ब्बाँसो’ सत्ता र शक्तिमाथि धावा बोलेका प्रतिनिधि कविता हुन् ।

कविता लेख्ने शैली र शब्द संयोजनमा भने तारकिणीमा पुनरावृत्ति देखिन्छ । सुरुमै कविताले भन्न खाजेको विषयलाई मुखर रूपले उठाएर अन्त्यमा त्यसलाई पुष्टि गर्ने प्रचलित शैलीलाई नै उनले समातेका छन् । दुःखलाई अदुःख भन्नु, कारणलाई अकारण तथा नेपाल देशलाई नागरिक निर्यात केन्द्र भन्नु आजको लेखनमा सबैले प्रयोग गरिरहेकै शब्दावली हुन् । यद्यपि कविको व्यङ्ग्यचेतमा प्रबल रहेको ‘नेतारोग लागेको मान्छे’ कविताले पुष्टि गर्छ । शीर्षकले नै यो कविताले पाठकलाई तानिहाल्छ ।

कवितालाई भूमिकाको टेको अहिले कतिपय कवि कविता कम भूमिका ज्यादा लेख्न तम्सेका भेटिन्छन् । आफ्नै होस् या कुनै सिकारु कविको पुस्तक, तीन हजार शब्द लेखिदिनु सामान्य भइसकेको छ । भूमिकालाई यति सस्तो,

हलुङ्गो ढङ्गले लिइएको र कवितालाई भूमिकाको टेको चाहिएका बेला राजेन्द्र तारकिणीले भने कविताको सुरुवातमा ‘इतिहासको अभिलेखन’ नामक निबन्ध लेखेका छन्, जहाँ कवितामाथि विश्वप्रसिद्ध मान्यतालाई आधार बनाएर कविताको शक्तिमाथि पुनर्विचार गरिएको छ । ‘कविता लेख्नु अप्ठेरो लाग्दैन मलाई । तर, कविता लेख्नु उति सजिलो पनि त छैन । सक्दै नसकिने अप्ठेरो र सहजै गर्न सकिने सजिलो दुवै जिन्दगीलाई दास बनाउने साधन हुन्’, उनले लेखेका छन् ।

दर्शनको एक तहमा नपुगी मानिसले यस्तो कुरा भन्न सक्दैन । आफ्नै जीवनले दिएको असीम पीडा र स्वनिर्भर बन्न गरेको कठीन संघर्षले तारकिणीलाई खारेको छ । स्वाभिमानी बनाएको छ । उनको दैनिक जीवनको संघर्षले समेत उनको विश्वदृष्टिलाई बलियो बनाएको छ । ‘बिगन राम र उसको देश’ उपशीर्षकमा उनी लेख्छन्, ‘यदि तपाईं चिन्तनशील हुनुहुन्छ भने जरुर सोच्नुहुनेछ– के तपाईंको देश तपाईंका लागि गर्व गर्नलायक छ ? सुरक्षित छ ?’

तारकिणीको यस भूमिकालाई निबन्ध, आत्मस्वीकृति या कविता–विमर्श जे भने पनि त्यसले समकालीन कवितामाथि उनको विचार स्पष्ट देखाउँछ । समग्रमा उनका कविताहरू मनलाई नढाँटीकन लेखिएका सृजना हुन् । मन जाँच्ने कसी त हुँदैन, तर कविताको भाषा, विचार र लयले कवितालाई कवि–मनको ऐना मान्न सकिन्छ । तारिकिणीको कविता आजको समाज देखाउने सफेद ऐना हो ।

प्रकाशित : मंसिर १७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?