१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मैदान नजिकैबाट

संसारकै लोकप्रिय खेलको मुख्य प्रतियोगिता विश्वकप सुरू भएदेखि कतारको मेट्रो पूरापूर भरिभराउ छ
राजु घिसिङ

कतारले अर्बौं डलर लगानी गरेर बनाएको मेट्रो गत सातासम्म खालीखाली नै थियो । चर्को घाम छलेर शीतलमै यात्रा गर्न सकिने भए पनि मेट्रोमा यात्रु नगन्य देखिन्थे । ठूला सहरमा ट्राफिक जाम छल्न र यात्रा सहज बनाउन बढाईएको मेट्रोको गतिलाई कतारमा बसोबास गरिरहेका २७ लाख बढी मानिसले पछ्याउन नसकेको हो कि ?

मैदान नजिकैबाट

जम्मा ११ हजार ५ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल भएको खाडीको सानो देश हो कतार । क्षेत्रफलको हिसाबले विश्वकप आयोजना गर्ने सबभन्दा सानो आयोजक नै कतार बन्यो । चार वर्षअघि रुसमा जस्तो २२ घण्टासम्म रेलको यात्रा गर्नुपर्ने अवस्था नभएकाले कतारमा दैनिक दुई खेलसम्म हेर्न सकिन्छ । १२ वर्षअघि विश्वकप आयोजना गर्ने अधिकार पाएपछि उसको निरन्तर आलोचना भइरहेको थियो । त्यसैले आइतबार सुरु भएको विश्व फुटबलको सबभन्दा प्रतिष्ठित र महत्त्वपूर्ण प्रतियोगिता विश्वकपको २२ औं संस्करणमा कतारको मेट्रो भरिभराउ हुनेमा शंका गरिएको थियो । जब विश्वकप नजिकिँदै गयो तब दोहाले बिस्तारै गति लिन थाल्यो । संसारकै सबभन्दा लोकप्रिय खेलको मुख्य प्रतियोगिता सुरु भएदेखि त मेट्रो पूरापूर भरिभराउ छ ।

पहिलोपल्ट खाडी क्षेत्रमा भइरहेको विश्वकपका खेलहरू दिउसो १ देखि सुरु हुन्छ । खेल सुरु हुनुभन्दा चार–पाँच घण्टाअघिदेखि नै मेट्रोमा यात्रा गर्न र सिट पाउन मुस्किल भइरहेको छ । दिनको अन्तिम खेलपछिको अवस्था पनि त्यस्तै छ । सार्वजनिक बस वा कर चढ्नु दिवास्वप्नजस्तै हुन्छ । रंगशाला वरिपरिको भीडमभीड माहोल र व्यस्त सडकका कारण उबर, करिम (ट्याक्सी) पाउन पनि घण्टौं कुर्नुपर्छ वा ट्याक्सी पाउने ठाउँसम्म पुग्न कम्तीमा एक घण्टा जुत्ता खियाउनुपर्छ ।

त्यसैले चढ्न र सिट पाउनै मुस्किल भए पनि सबभन्दा राम्रो विकल्प मेट्रो नै हो । मेट्रोभित्रको माहोल नै फरक छ । अखबार पढेजस्तो, समाचार सुनेजस्तोभन्दा बिलकुल फरक छ मेट्रोको यात्रा । महिलाले शरीर ढाक्ने कपडा लगाउनैपर्ने, महिलालाई सीधा आँखाले हेर्नै नहुने कतै सुने–पढेको कुरा गफै त हो भनेजस्तो लाग्छ । विश्वकपमा सहभागी देशबाट आएका र अरू समर्थक झन्डा बोक्छन्, ओढ्छन् । आफ्नो टिमको जर्सी लगाउँछन् । मैदानभित्र खेलाडीहरू र रंगशालाभित्र दर्शक आफ्नो टिमको समर्थनमा कुनै कसर बाँकी राख्दैनन् । तर, बाहिरको व्यवहार बिलकुलै फरक देखिन्छ । अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाको खेलअघि दुवै टिमका समर्थक मेट्रो, सार्वजनिक स्थल र रंगशालाबाहिर सँगसँगै गीत गाउँदै नाचिरहेका थिए । अविश्वसनीय रूपमा साउदीले लियोनल मेसीको टिमलाई २–१ ले पराजित गरेपछि पनि दुवै टिमका समर्थक सडकमै नाचगान गर्दै फर्किरहेका थिए ।

९२ वर्षको इतिहास बोकेको विश्वकपको सबभन्दा बढी लगानी भएको यसैपालि हो । २ खर्ब २० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको यो विश्वकपका आठमध्ये सात रंगशाला नयाँ बनाइएका हुन् । खलिफा अन्तर्राष्ट्रिय रंगशाला मात्रै पुरानो हो, जसलाई केही संरचना थपघट गरेर प्रयोग गरिएको छ । एसियाली खेलकुद (एसियाड, सन् २००६), एसियन कप २०११, विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ को मुख्य आयोजनास्थल पनि हो खलिफा रंगशाला । यही मैदानमा जापानले चारपल्टको विश्वकप विजेता जर्मनीमाथि २–१ को ऐतिहासिक जित रच्यो । जापानले अतिरिक्त समयमा गोल गर्दै अस्ट्रेलियालाई १–० ले पन्छाएर एसियन कपको उपाधि कब्जा गरेको रंगशाला पनि यही हो । फरक यत्ति हो कि ११ वर्षअघि एसिया कपमा आउँदा रंगशाला प्रवेश गर्नेबित्तिकै गर्मीले खलखली पसिना बगेको थियो । यसपालि जर्मनी र जापानको चर्को प्रतिस्पर्धा, प्यारापिट भरिएका दर्शकको बाजागाजा, हुटिङ, जोसिलो उपस्थितिबीच पनि ज्याकेट खोल्न सक्ने अवस्था भएन । किनभने पूरा रंगशालामै एयर कन्डिसनर जडान गरिएको छ ।

खलिफामा मात्रै होइन, विश्वकपका आठवटै रंगशालामा एसीको व्यवस्था गरिएको छ । हुन त अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले गृष्म याममा सञ्चालन हुँदै आएको विश्वकपलाई त्यो बेला ५० डिग्री सेल्सियस नाघ्ने कतारमा चर्को गर्मीलाई ध्यान दिएरै पहिलोपल्ट हिउँदमा आयोजना गर्ने निर्णय गरेको थियो । अहिले पनि कतारमा गर्मी चर्कै छ, खुला स्थलमा हिँड्डुल गर्न पनि गाह्रो छ । तेल र प्राकृतिक ग्यासको उत्पादनबाट प्रतिव्यक्ति आय १ लाख १३ हजारभन्दा डलर बढी बनाएको कतारले यो विश्वकपका बेला यसरी आतिथ्य गरेको छ कि शीतल नहुने कुनै भौतिक संरचना, बस, ट्याक्सी नै छैन । रंगशालाबाहिर सुरक्षा जाँच गर्ने स्थल, मिडिया सेन्टर, क्याफेटेरिया लगायत सबैतिर गर्मी होइन, ठण्डा लाग्छ ।

रंगीचंगी जर्सी, समर्थन गरिएका टिमसँग मिल्दो रङले कोरिएका गाला, कलात्मक र रंगीन टोपीले रंगशालाभित्र दर्शकलाई आकर्षक बनाएको छ । खेल सुरु हुनुभन्दा घण्टौं अघि विश्वका चर्चित डिजेले रंगशालालाई संगीतमय बनाइरहेका छन् । फ्रेन्च डिजे डेबिड गुएटालगायतको मिक्सिङ र म्युजिकले रंगशालाभित्रको माहोल नै म्युजिक कन्सर्टजस्तै बनाइरहेको छ । दर्शकहरू पनि आ–आफ्नै सिट भएको क्षेत्रमा झुम्मिँदै नाचिरहेका देखिन्छन् । यहाँ नाचगानमा कुनै रोकतोक छैन । खेलअघि र खेलपछि रंगशालाबाहिर, सहरका मुख्य स्थलमा बनाइएका फ्यान जोनमा मनोरञ्जनको कुनै कमी छजस्तो लाग्दैन । हाफ पाइन्ट र स्कर्ट लगाएका महिलाहरू प्रशस्तै हुन्छन् । स्थानीय महिला भने बुर्कामै पनि रंगशालामा देखिन्छन् ।

चार वर्षअघिको विश्वकपमा दर्शकहरू ठूल्ठूला गिलासमा बियर पिउँदै खेल हेरिरहेका हुन्थे । युरोपेली क्लब फुटबलमा पनि यस्तै संस्कार छ । संसारमा लोकप्रिय लिग र प्रतियोगितामा पनि अल्कोहल (विशेषगरी बियर) रंगशालामा बिक्री गरिन्छ । कतारमा भने सार्वजनिक स्थलमा अल्कोहल पिउन पाइँदैन । आफ्नै घरमा पिउनका लागि अल्कोहल खरिद गर्न पनि उच्च आयको प्रमाण देखाएर लाइसेन्स नै लिनुपर्छ । फ्यान फेस्ट (९० स्थानमा बनाइएका फ्यान जोनमा मनोरन्जनका लागि सञ्चालन गरिएको उत्सव) मा भने बियर बिक्री गरिएको छ, खुला रूपमै पिउन पाइन्छ । चर्चित डीजे र गायकहरूले फ्यान फेस्टमा बिहान ३ बजेसम्मै प्रस्तुति दिइरहेका छन् । चर्को स्वरमा बजिरहेको म्युजिकमा बियर पिउँदै नाच्न र ठूल्ठूला स्क्रिनमा खेल हेर्न कुनै रोकतोक छैन ।

विश्वकप खेल प्रत्यक्ष हेर्न करिब १२ लाख मानिस कतार आउने अनुमान गरिएको छ । खेलको टिकट खरिद गरेपछि हाय–कार्ड बनाउन पाइन्छ । हाय–कार्ड नै कतार प्रवेशका लागि विशेष भिसा हो । हाय–कार्ड भएका व्यक्तिलाई सुरक्षाको कारणबाहेक कतार प्रवेशमा रोक्न पाइँदैन । विश्वकपको बहानामा कतारमा परिवार भेट्न आउने, घुम्न आउने नेपाली पनि धेरै छन् । दोहामा महँगी यसरी बढेको छ कि होटलमा एउटा कोठा एक रातका लागि बुक गर्न पनि कम्तीमा दैनिक २ सय डलर चाहिन्छ । दुईवटा क्रुजमा ६ हजार डलर पर्ने कोठा पनि छ । होटल, अपार्टमेन्ट, फ्यान बस्न बनाइएका कन्टेनर गरी कतारमा जम्मा १ लाख ३० हजार कोठा उपलब्ध छन् । यसमा १२ लाख दर्शक अटाउँदैनन् । त्यसैले दर्शकलाई दुबई, यूएई, साउदी अरेबिया, इजिप्ट र ओमानमा पनि बस्न र आउजाउ गर्न भिसा चाहिँदैन, हाय–कार्ड भए पुग्छ ।

नेपालीका लागि सबभन्दा नजिक र सबभन्दा सस्तो विश्वकप पनि यही हो । कन्जुस्याइँ गरेर १ लाख रुपैयाँ खर्च गरे कतारमा एउटा खेल हेरेर स्वदेश फर्किन सकिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) बाट टिकट लिएरै झन्डै ३ सय नेपाली विश्वकपका खेल हेर्न कतार आएका छन् । अनलाइन र एजेन्टमार्फत टिकट किनेर अमेरिका, हङकङ, बेलायत, दुबई, युरोपबाट पनि नेपाली फुटबल क्रेजीहरू कतार आइरहेका छन् । रोजगारीका लागि कतार आएका ३ लाख ५० हजारभन्दा बढी नेपाली यहाँ बस्छन् । रंगशालाभित्र अलि कम र बाहिर अलि बढी । जता गए पनि नेपाली भेटिन्छन् । महँगो टिकट थोरैले लिएका छन् भने धेरैले फ्यान जोनमै विश्वकपको मज्जा लिइरहेका छन् । विश्वकपको रंगशाला–प्रोजेक्टमा काम गरेका र ठेक्का पारेका नेपाली थुप्रै भेटिए ।

सिनालोआ (मेक्सिको) बाट आएका ओस्कर अरियताले राष्ट्रिय टिमको जोस बढाउन क्यानडा, अमेरिका र मेक्सिकोबाट २० हजार प्रशंसक कतार आएको बताए । उनका अनुसार, करिब ८० हजार मेक्सिकन रोजगारीका लागि कतारमै छन् । त्यसैले अर्जेन्टिना र ब्राजिलपछि धेरै चलहपहल मेक्सिको समर्थकको देखिएको छ ।

करिब ३ लाख मात्रै स्थानीय रहेको कतारमा २३ लाख काम गर्न आएका आप्रवासी बस्छन् । बढीजसो नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया र अफ्रिकी देशका छन् । सेक्युरिटीको काममा नेपालीलाई ठूला ज्यानका अफ्रिकीले विस्थापित गरिरहेका छन् । यी आप्रवासीमाझ ब्राजिल र अर्जेन्टिनी टिम नै लोकिप्रय रहेछ ।

विश्वकपलाई लिएर कतारमाथि गरिएको आलोचनाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले युरोप आफैंले गर्दा ३ हजार वर्षसम्म मानव अधिकारको पाठ अरूलाई नसिकाउन भनिदिए । यो भनाइले युरोपमा उनको चर्को विरोध भइरहेको छ । फिफाले यो विश्वकपका खेलाडीलाई कुनै किसिमको पनि विरोध गर्न प्रतिबन्ध लगायो । त्यसैले जर्मन खेलाडीहरूले खेलअघि मुख थुनेर विरोध जनाए । समलैंगिकतामा गरिएको प्रतिबन्धको विरोधमा कप्तान म्यानुएल नोयले इन्द्रेणी रङको फुटबल सुज लगाए । समलैंगिकताको संकेत दिने ‘वान लभ’ लेखिएको ब्यान्ड लगाउन नदिएपछि इंग्ल्यान्डका खेलाडीहरूले खेल सुरु हुनुअघि मैदानमा घुँडा टेकेर विरोध जनाए । खलिफा रंगशालामा फिफा अध्यक्षसँगसँगै रहेका जर्मन मन्त्रीले आफ्नो पाखुरामा ‘वान लभ’ को ब्यान्ड लगाएरै खेल हेरे । इरानी टिमले महिला अधिकारलाई लिएर गरिएको दमनको विरोधमा राष्ट्रिय गान नै गाएनन् । विरोध मात्रै होइन, राम्रो कुरा पनि कायम छ । खेलपछि रंगशालाको फोहोर टिप्ने कामलाई जापानी दर्शकले कतारमा पनि निरन्तरता दिएका छन् ।

खासमा २०११ फ्रान्सेली क्लब पीएसजी (पेरिस सेन्ट जर्मेन) किनेपछि कतारले विश्व फुटबलमा चर्चा पाएको थियो । त्यसको एक वर्षअघि विश्वकप आयोजनाको अधिकार पाउनुमा पनि तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरविरुद्ध विश्व फुटबलको नेतृत्वका लागि कतारी नागरिक मोहमद बिन हमामको उम्मेदवारीले काम गरेको बताइन्छ । त्यसबेला एएफसी अध्यक्ष रहेका हमामलाई चुप लगाउन विश्वकप कतारलाई दिइएको हल्ला छ । विश्वकप पाएपछि पनि पछि हटेनन् हमाम । त्यसपछि भ्रष्टाचार अभियोगमा फुटबल गतिविधिमा प्रतिबन्ध लगाइएका हमाम अहिले कतारमै विश्वकप भइरहँदा कहीँकतै देखिएका छैनन् । तर, उनको चर्चा भने भइरहेकै छ ।

विश्वकपमा क्यानडा ३६ वर्षपछि फर्कियो । वेल्सले ६४ वर्षपछि पुनरागमन गर्‍यो । त्योभन्दा अगाडि १९५८ देखि पेले विश्वकपका हरेक संस्करणमा उपस्थित हुँदै आएका थिए । विश्व फुटबलका हस्ती पेले र डिएगो म्याराडोना चार दशकयता हरेक विश्वकपमा भीआईपी कक्षमा बसेर खेल हेर्थे । उनीहरू रंगशालामा मुख्य आकर्षण हुने गर्थे । यसपालि रंगशालामा दुवै छैनन् । पेले बिरामी छन् भने म्याराडोना बितिसके । जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर, ब्राजिली रोनाल्डो, फ्रान्सका मासेल डेसाइली, आइभरी कोस्टका डिडियर ड्रोग्बाले दर्शकलाई पेले र म्याराडोनाले जस्तै आकर्षित गर्न सकेका छैनन् ।

विश्वकपकै मौका पारेर कतारले नयाँ सहरसहित लुसेल रंगशाला निर्माण गर्‍यो । विश्वकपपछि पूरै विस्थापित गर्नेगरी कन्टेनर प्रयोग गरेर ‘रंगशाला–९७४’ बनायो । टेक्नोलोजीको उच्चतम उपयोग गरेर ३० मिनेटको उद्घाटन समारोहलाई भव्य देखायो ।

रंगशालाभित्र एकै एपमा खेलको चार भिडिओ एउटै स्क्रिनमा हेर्न सक्ने सुविधा छ । त्यसैले रंगशालामा जहाँको टिकट लिए पनि खेलको मज्जा भरपूर लिन सकिन्छ । माथिकै सिटमा परे पनि गेम प्लान मज्जैले देख्न सकिन्छ । प्लेयर बक्सनजिक भए खेलाडीलाई नजिकबाटै नियाल्न सकिन्छ । रंगशालाभित्रका ठूला स्क्रिनले माहोल अझै तताउने गरेको छ । खेलको कमाइले भर्खरै जीवन धान्न थालेका खेलाडीखि एक सातामै ५–७ लाख डलर तलब बुझ्ने क्रिस्टियानो रोनाल्डो, मेसी, नेयमर, किलियन एम्बाप्पेको खेललाई एउटै मैदानमा हेर्न पाइने प्रतियोगिता विश्वकप नै हो ।

कोरियन ब्यान्ड बीटीएसका जुङ कुकले आफ्नो नयाँ गीत यहीँ रिलिज गरे । बसोबासका लागि बनाइएका अरू स्थलमा पनि अधिकतम सुविधाको व्यवस्था छ । मेसीको टिम अर्जेन्टिना र युवा स्टारले भरिएको स्पेन होटलमा नभई कतार विश्वविद्यालयको होस्टेलमा बसेका छन् । इन्डोर हल–आवासमै छ सेनेगल ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?