१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कारकाँदो तल्तिरकी धम्बोझी

बालकृष्ण कट्टेल

काठमाडौँ — सम्झूँसम्झूँ लागेको बेला
कसरी सम्झन्छ होला
कारकाँदोले धम्बोझीलाई ?
भेटूँभेटूँ लागेको बेला
कुन बाटो हिँडेर जान्छ होला 
धम्बोझी कारकाँदो भेट्नलाई ?
कारकाँदो–धम्बोझीलाई नै लाग्न थालेछ –
आएका सबै सम्झनाले 
लागेका सबै रहरहरु मेटाउँदैनन्
हिँडेका सबै बाटोले
चाहेका सबैलाई भेट्टाउँदैनन् !

कारकाँदो तल्तिरकी धम्बोझी

सहर उनीहरुको गाउँ नपस्दासम्म
कारकाँदो सुसेल्दै धम्बोझी पुग्थ्यो
धम्बोझी लजाउँदै बाहिर आउँथी
र, दुवै जना टाँगा चढेर एक्लेनी बजार जान्थे
उखुको रस खाँदै गफिएको बेला
उनीहरुलाई आफ्नो भेट
त्यो रसजस्तै गुलियो लाग्थ्यो
पानीपुरी र चनाचटपटे खाएपछि
छुट्ने बेलाको पीडा
पानीपुरीको पानीजस्तै अमिलो लाग्थ्यो !

नजिकै भएर पनि
भीडले टाढा बनाइदिएको यो बेला
भेटघाट गर्ने बजार पनि हराएका छन्
सवारी र यात्रुको हल्लामा हराएको सहरमा
कुरा गर्ने भाषा र भाका दुवै फेरिएका छन्
कस्तो मान्दो हो कारकाँदो
साइरन र सिठ्ठीको कोलाहलमा
धम्बोझी बोलेको नसुन्दा ?
कस्तो ठान्दी हो धम्बोझी
धूवाँ र धूलोको घारीमा
कारकाँदो हिँडेको नदेख्दा ?

मैले त यी प्रश्न सोध्नै पाइनँ
भेट्नेबित्तिकै कारकाँदो नै भन्न थाल्यो–
‘अस्ति साह्रै याद आयो धम्बोझीको
र, मध्यरातमै भए पनि
निस्किएँ भेट्नलाई
सराब त खाएको थिइनँ
तर, चेकजाँच गर्नेले सोधिल्यायो
मैले बोल्नै लाग्दा आफ्नै जिब्रो लरबरायो
र त्यसैको शंकामा
जाँचकीले सराबी भनिदियो
‘मिसिन’ त लाएन
तर, घर फर्काइदियो

मायाको कुरा लुकाउनुपर्दा
मान्छे पनि मजस्तै हडबडिन्छ हो ?
आफ्नै कुरा भन्नुपर्दा
जिब्रो पनि मेरोजस्तै लरबरिन्छ हो ?
साहेब, मायाको मात नाप्ने
कुनै ‘मिसिन’ बनेको छैन ?
प्रेमको पनि नशा त हुन्छ
तर, त्यसलाई नजाँच्नु भनेर
जाँच गर्नेलाई कसैले भनेको छैन ?’

आफ्नै प्रश्नमा
हराउन थालेपछि कारकाँदो
धम्बोझी पनि बोल्न थाली–
‘हाम्रो गाउँ सहर बनेपछि त
हामीलाई पनि टाढा बनाइदियो
हामी हिँडेरै पुग्ने बाटो
सडकले परै छुटाइदियो
अस्ति त कारकाँदो जान हिँड्या
मैले पनि भन्न बिर्सेंछु
टुकटुकले राँझा झारिदियो
फर्कनलाई रिक्सा लिएँ
पुग्ने बेलासम्म साँझ नै पारिदियो

मायाको भारीले थिचेको बेला
मान्छेले पनि जाने ठाउँ बिर्सन्छ हो ?
माया मात्रै सम्झिन थालेपछि
मान्छेले पनि अरु सबथोक बिर्सन्छ हो ?’
साह्रै पीडा हुन्छ
कोही आउँछ भनेर पर्खेर बसेकालाई कुराउन
साह्रै गाह्रो हुन्छ
कुरेर बसेकाको मन भाँचिएपछि
उनीहरुको मन पहिलेकै जस्तो बनाउन
कारकाँदोलाई पर्खाउनुपर्दा
धम्बोझीको नौनाडी गल्दोर’छ
धम्बोझीको दिल दुख्दा
कारकाँदोको मन पनि हुरहुरी बल्दोर’छ !
भन्दैथे दुवै जना –
हामीले यो विषयमा
बसेर कुरा नै गरेका छौं
दुवैले आफ्नो मन
राम्रै गरी माझामाझ गरेका छौं
आजकल त हामी
सहर सुनसान हुन थालेपछि मात्रै
एकअर्कासँग कुरा गर्छौं
म म्यासेज लेख्छु
उनी भाइबर गर्छन्
म मन पराएर थम्स् अप गर्छु
उनी इमोजी पठाएर उत्तर दिन्छन्
हल्ला नहुने ठाउँमा मात्रै
मायाको कुरा सुनिँदोरहेछ
कोही नबोलेको बेला मात्र
मायाको कुरा बुझिँदोरहेछ !!

प्रकाशित : मंसिर १०, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?