दुःखका अलग रङ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुःखका अलग रङ

इमानको बदलामा यो व्यवस्थाले जेठी दिदी र कालुमान दाइलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना उपहार दिएको छ 
अनिता पण्डित

तादी गाउँपालिकाअन्तर्गत पर्ने गैरी टोलनजिकै तादी खोला र घट्टे खोलाको दोभान छ । दोभान खोलावारिका गाउँहरूको मसानघाट हो । नदी किनारमाथि मूल बाटो नजिकै ढुङ्गाले छाएको एक मरणपाटी थियो । मरणपाटीबाट दस मिटरजति पूर्व बायाँपट्टि एउटा झ्याम्म परेको बयरको घारीसँग टाँस्सिएर झुप्रो बनेको थियो । आफ्ना तीन लालाबालासहित लगभग बगरलाई घर बनाएकी थिइन् जेठी दिदीले । 

जेठी दिदीबारे पहिलो स्मृति त्यही बगरको निवास हो । त्यो पनि उनका पतिले लेकमा कुनै तामाङ पछार्न अर्को तामाङलाई लगाएको गुण तिरेकाले बन्दोबस्त भएको थियो । उनी, उनको कम उमेरकै जेठो छोराको मिहिनेतले र कहिलेकाहीँ गाउँलेको दयाले छाक टार्ने मेसो हुँदै थियो, लेकबाट बेंसी झरेको त्यो दलित परिवारको । उनका पति आवारागिरीमा परिचित थिए । धेरै समय सहर अनि बम्बईतिर जान्छन् भन्ने हल्ला हुन्थ्यो गाउँमा । त्यो हालतमा परिवार छोडेर वर्षौं हराउँथे ।

गरिब तामाङ परिवारमा जन्मिएका कालुमान दाइ सानैमा बेंसी झरेका थिए । ती बालक हली बसे, खेतको काम गरे, भारी बोके, घाँस काटे । उमेर बढ्दै गयो, पिरती पनि गाँसे । विद्रोही पिरती ! गाउँकै तीन बच्चाकी आमा विधवा तामाङ्नीलाई मृङ (पत्नी) बनाए । मृङसँगै काखकी नानी र आफूलाई बासको व्यवस्था गर्नुपर्ने भयो । हाम्रो खेत नबनिसकेको झाडी फाँडेर सुरक्षित बास बनाए । मूल बाटामै थियो उनको बास । त्यही बाटो त्यस समय नुन, तेल, रासायनिक मल ल्याइन्थ्यो । सरकारी कामका लागि बजार र सदरमुकाम जान खच्चड हिँड्ने बाटो पनि त्यही थियो । सानो परिवार धान्न उनले तामाङहरू लक्षित खाजा घर पनि राखे । त्यहाँ मुख्यतः गज्जबको सिलावरको डबकामा जाँड, तमाखु र बिरुवाको ठूलो पातमा थोरै साँधेको भटमास पाइन्थ्यो । मजदुरी गरेर, ढुंगा फोरेर, ढुंगा बोकेर गुजारा चलाउँथे मान्छेहरू ।

जीवनमा मैले सबैभन्दा पहिले चिनेको र लामो संगत गरेको गाउँले सर्वहारा हुन् कालुमान दाइ र जेठी दिदी । हाम्रो बसाइ नजिक–नजिकै थियो । तर, म सानै छँदा जेठी दिदीको त्यो बगरको टहरो र कालुमान दाइको बासबाट उठीबास लगाइयो । कालुमान दाइको घट्ट जेठी दिदीको टहरा नजिकै थियो । एक साँझ घर फर्कंदै गर्दा पानी परेकाले कालुमान दाइ केहीबेर जेठी दिदीको टहरामा ओत लाग्न गएका रहेछन् । श्रीमती गर्भवती बनाएर गायब भएको जेठी दिदीको श्रीमान् रूपलाल दुई वर्षपछि घर फर्कंदा कसैले उनलाई कालुमान ओत लागेको त्यो घटना सुनाइदिएछ । उनको पुरुषत्व जागेर आयो, जुर्मुरिँदै सानी छोरी र श्रीमती घिसार्दै कालुमान दाइको घरमा भित्र्याउने कुरा गर्न थाले । ठूलै खैलाबैला भयो । गाउँका सबै भेला भए । अरू त के हुनु थियो, गरिबीको बोझमा दलिएकी दलित महिला र गरिब तामाङ लहसिएको हल्ला मात्रैले पनि टहरो बनाउन जग्गा दिनेहरूलाई मौका बन्यो । तुरुन्तै जसोतसो मिलेको छतबाट दुवै परिवारलाई छुटाइयो ।

भागेर कुन ठाउँ जानु ? हाम्रो गाउँको पूर्वपट्टिको भिरालो जमिनमा जेठी दिदीलाई गाउँकै एक जनाले टहरो बनाउन जग्गा दिए, पाखो खेती हेर्ने सर्तमा । कालुमान दाइले एउटा प्रयत्न गरे, सार्वजनिक जग्गामा बास बनाउने । उनको कोसिस बेकार बनाइयो । नजिकै सार्वजनिक जग्गामा बास जमाएको बाहुनको टहरोलाई सरकार र समाजले अतिक्रमण ठानेन, तर कालुमानले बनाएको टहरो टिक्न दिइएन । पछि उनी बाध्य भएर मृङको छोराको गोठमा बस्न गए । त्रासदीबीच मृङ बिमारी परिन्, बितिन् । कालुमानले घेवा गरेर उनलाई बिदा गरे ।

त्यसबीच धेरै परिवर्तन भइसकेको थियो । गाउँमा सडक बनिसकेको थियो । धूलाम्मे सडकमा हिउँदमा गाडी आउन थालेको थियो । बिजुली आइसकेको थियो । कालुमानले गर्ने काम पनि थोरै बदलियो । कहिले पानीघट्ट चलाए, कहिले त्यसै छाडिदिए । गाडीमा सामान लोड–अनलोड गर्न थाले । मेलापात गरिरहे । फेरि एक पटक प्रेममा परे । यस पटक पनि विधवालाई नै मृङ बनाए ।

सामान्य खेतालाको लगभग दोब्बर काम गरिभ्याउँथे कालुमान दाइ र जेठी दिदी । उनीहरूको श्रमसँग परिचित स्थानीयले कुनै बेला दुवैलाई बासबाट बन्चित मात्रै होइन बदनामी र अपमानको भारी बोकाए पनि बहिष्कार भने गर्न सकेनन् । कालुमानले हालेको आली सधैं सबैभन्दा अग्लो, खँदिलो हुन्थ्यो । कसैले फोर्न नसकेका ढुङ्गा सहजै फोरिदिन्थे, पिठो पिन्दा ढंग पुर्‍याउनेमा गनिन्थे, इमानदार र लगनशील थिए । जेठी दिदी बल, इमानदारीमा सधैं अघि रहिन् । बस्तीबाट टाढा बसोबास भए पनि बेलैमा मेला पुगिसक्थिन् । कथित भद्रभलाद्मीको समाज, जसले पहिले उठीबास लगाएको थियो, कालान्तरमा जेठी दिदी र कालुमान दाइलाई आरोपमुक्त गर्‍यो ।

श्रीमतीको बदनामी गरेपछि र कान्छी छोरी गर्भमा आएपछि घर छोडेर हिँडेका रूपलाल लखतरान हालतमा घर फर्किए धेरै वर्षमा । केही महिना सामान्य उपचार चल्यो, तर डाक्टरले उनलाई निको नहुने रोग लागेको बताए । घरमै जेठी दिदीले स्याहारसुसार गरिन्, करिब पाँच महिनापछि उनको मृत्यु भयो । जेठी दिदीले किरिया गरेर सालभर जुठो बारिन् । सानै उमेरमा जेठी दिदीका सन्तान काममा जोतिन बाध्य भए, स्कुल जाने उमेरको जेठो छोराले फलाम हुँदै सुन चाँदीको काम सिकिरहेका थिए । सीप हासिल गरेर केही कमाउने भए, बिहेबारी गरे र अन्तै बसाइँ सरे । कान्छो छोराले पनि तामाको काम सिके, गाउँमै काम गर्न थाले, बिहे गरे र पसल गरे । दुवै छोरीको किशोरी अवस्थामै बिहे भयो र आमा बने ।

गाउँमा धर्म परिवर्तनको लहरले जेठी दिदीको परिवारलाई पनि प्रभाव पार्‍यो । सपरिवार धर्म परिवर्तन गरी क्रिस्चियन बने । धर्म परिवर्तन त भयो, तर छुवाछुत र जातीय विभेदको पर्खाल भत्किने सम्भावना थिएन र भत्किएन पनि । छोराहरूले थोरै पैसा जम्मा गरी त्यही पाखामा घडेरी किने, घर बनाए । जेठी दिदीले सधैं खेती मजदुरी गरिरहिन्, भारी बोकिरहिन्, बालुवा चालिरहिन् । अचानक बिरामी पर्न थालिन् । जब डाक्टरी चेकजाँच भयो, तब जेठी दिदीको जीवनले अर्को दुखदः मोड लियो । श्रीमान्ले उनलाई निको नहुने एचआईभी संक्रमण दिएर गएका रहेछन् । उनीमाथि थप बज्रपात भयो । आफ्नै छोरा–बुहारीको घृणाको पात्र बन्नुपर्‍यो । गाउँमा कान्छा छोरा–बुहारीसँगै बसेकी जेठी दिदी जेठो छोरो भएतिर गइन् र केही वर्ष त्यतै रहिन् । उपचारसँगै परिवारमा परामर्श पनि भइरहेकाले बिस्तारै माहोल सहज बन्दै गयो । उनी फेरि गाउँ फर्किइन् र पहिलेजस्तै मजदुरी जारी राखिन् । आज पनि सर्वहारा मजदुरझैं खटिएर काम गरिरहेकी छिन् जेठी दिदी । एड्स पत्ता लागेको आठ–नौ वर्षपछि पनि सक्रिय श्रमिकको दैनिकी उनको बाध्यता बनेको छ ।

जमाना बदलिएको छ । सरकार त दर्जनौं बदलिए । फेरि पनि श्रमिकमारा व्यवस्थामा जेठी दिदी र कालुमान दाइको जिन्दगी भने साँझ–बिहानको जोहो गर्नमै बितिरहेको छ । पहिले जब हाम्रो खेतको गहुँ भित्र्याउन हप्तौं लाग्थ्यो, त्यतिबेला पनि जेठी दिदी मजदुरीका लागि बोलाइने पहिलो छनोटमा थिइन् । अहिले चिसै गहुँ थ्रेसरले भटाभट दुई घण्टामा पेलिदिन्छ, तर खानयोग्य हुने गरी केलाउन जेठी दिदीलाई नै बोलाइन्छ । यद्यपि, जेठी दिदी र हाम्रो परिवारको सम्बन्ध पनि विविधतापूर्ण रह्यो । मेरी आमाले जेठी दिदीको बच्चा पढाउने वातावरण निर्माण लागि केही प्रयत्न पनि गर्नुभयो, तर सम्भव भएन । गाउँमा सँगसँगै काम गर्दा सरसफाइ, स्वास्थ्य र खानपानबारे सजग बनाउन केही भूमिका खेल्नुभयो । श्रीमान्को नागरिकता नबनेकाले उनलाई नागरिकता दिलाउने मेसो मिलाउनुभयो, तर पनि उनीहरूबीचको विभेदको पर्खाल भने सजिलै भत्किन सकेन । ‘जनयुद्ध’ को प्रभाव बढेसँगै र शान्तिसम्झौतापछिका केही वर्षपछिसम्म हाम्रो घरभित्र छुवाछुत भएन बरु समान व्यवहारमा वृद्धि भयो । अफसोस ! प्रतिक्रान्तिको लहरले बिस्तारै–बिस्तारै फेरि सबै कुरा बदलिएको मैले भने पछि मात्र चाल पाएँ ।

भूकम्पपछि कालुमान दाइले थोरै राहत पाए । जग्गा नहुनेहरूका लागि घर बनाउन जमिनसहित बास हाल्न पैसा पाउने नीति थियो । तर, प्रशासनको सर्त र झन्झटकै कारण नीतिभित्र परेका कालुमान दाइले घडेरी पनि पाएनन् । उनीसँग अहिले पनि आम्दानीको स्रोत केही छैन । कमजोर भइसकेका छन्, निःसन्तान छन् । वर्षको केही महिना घट्ट चलाउँछन्, केही महिना सानोतिनो मजदुरी गर्छन् । यसरी कालुमान आज पनि साँझ–बिहान आफ्नै पाखुरीको बलमा बाँचिरहेका छन् ।

हड्डी गलाउने मिहिनेत र इमानको बदलामा यो व्यवस्थाले उनलाई जिन्दगीभर असुरक्षा, अभाव र अपहेलना दिएको छ उपहार । नेपालका सबै निर्वाचन भोगेका उनीहरूलाई पञ्चदेखि कांग्रेस र माओवादीसम्मका अनगिन्ती प्रतिनिधिले हिजो पनि आश्वासनबाहेक केही दिएनन् र आज पनि आश्वासनबाहेक अर्थोक केही दिएका छैनन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

गल्लीको ल्याम्पपोस्ट फुटाउने त्यो केटो

भनिन्छ, ब्राजिलियनका नसामा रगत होइन फुटबल बग्छ । सायद ह्याट्रिक शब्द फुटबलकै लागि बनेको हो । तीन पटक विश्वकप फुटबल जितेर ह्याट्रिक गर्ने एक मात्रै खेलाडी हुन्– पेले । कतारमा जारी विश्वकप फुटबलको सन्दर्भमा पेलेको अटोबायोग्राफी ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’ को एक अंश:
पेले

मैले व्यावसायिक फुटबल करिअर ब्राजिलकै सान्तोस क्लबबाट थालेको थिएँ । भिला बेल्मिरो घुम्न आएको स्विडेनको एआईके क्लबविरुद्ध खेल्न मेरा प्रशिक्षक लुलाले मलाई पहिलोपटक सान्तोसको प्रथम टोलीमा संलग्न गराएका थिए । जिटो, पेपे र अन्यसँग खेल मैदानमा दगुरिरहँदा मैले अनौठो महसुस गरें । खासमा यो अन्य अभ्यास खेलजस्तै लाग्यो ।


१५ जुन १९५८ गोटेवर्ग, स्विडेनको न्या उल्लेभी रंगशाला चिच्याइरहेका रसियाली दर्शकले भरिपूर्ण थियो । उनीहरू सोभियत संघले भिडन्तको तेस्रो खेलमा ब्राजिललाई ध्वस्त पारी जुल्स रिमेट ट्रफी (विश्वकप) जितेको हेर्न आएका थिए । रसियनहरूको खेल हेर्न विश्वभरिका पत्रकार पनि उत्सुक थिए । रसियनले पहिलो पटक विश्वकपमा प्रवेश पाए पनि सबै उनीहरू जितेको हेर्न चाहन्थे ।

ब्राजिलले पनि जित्न सक्छ भन्ने कसैले सोचेकै थिएनन् । पहिलो खेलमा हामीले अस्ट्रियालाई एकविरुद्ध तीन गोलले पराजित गरेको सत्य हो । त्यति सजिलै जित्न पाएकोमा हामी भाग्यमानी थियौं, तर कमजोर इङ्लिस टोलीसँग गोलरहित बराबरीमा खेल टुंग्याउन सक्यौं । रुसी टोलीमा लेभ यासिन, नेट्टो र सिमोनियन खेलाडी भएकाले हाम्रा लागि त्यो फलामको च्युरा साबित हुने विश्वास गरिएको थियो । दुवै टोलीका खेलाडी दौडेर खेल मैदानमा आउँदा विशाल भीडले ब्राजिली खेलाडीबीच कालो वर्णको दुब्लो सानो केटालाई हेरिरह्यो । उसले ठूलो दस नम्बर लेखिएको पहेँलो टिसर्ट लगाइरहेको थियो । त्यो सानो केटो म थिएँ– पेले ।

त्यो सानो केटोलाई विश्वकपमा खेल्न अनुमति दिइएकामा केही दर्शक निकै रिसाइरहेका थिए । अन्यलाई चाहिँ मज्जा लागिरहेको थियो किनकि पूरै ब्राजिली टोली कलिलै थियो भन्ने सबैलाई थाहा थियो । जब मैले खेल मैदानमा आफ्नो स्थान लिएँ, यी सबै सत्य हुन् भन्ने पत्याउन गाह्रो परिरहेको थियो । म स्विडेनमा ब्राजिलको टोलीमा, रुसविरुद्ध विश्वकपको महत्त्वपूर्ण खेल खेल्दै छु भन्ने कुरा सपना मात्रै हुन सक्थ्यो । विश्वास गर्न सकिरहेको थिइनँ ।

सम्झना छ, विश्वकप खेल्न ब्राजिली टोलीमा मलाई छनोट गरिएको त्यो शनिबारको दिन थियो । म करिब एक वर्षदेखि सान्तोसका लागि खेलिरहेको थिएँ । र, राम्रो खेलिरहेको थिएँ । वास्तवमा साओ पाउलो राज्यभरिमा बत्तीस गोल गरी उच्च गोलकर्ता भएको थिएँ, तर स्विडेन जाने टोलीमा छनोट हुन्छु भन्ने मैले वास्तवमै सोचेको थिइनँ । त्यसबेला म सोह्र वर्षको मात्रै थिएँ । त्यतिबेला ब्राजिलमा धेरै अनुभवी र खतरनाक खेलाडीको कमी थिएन ।

त्यो दिन रेडियोमार्फत विश्वकपमा सामेल हुने खेलाडीको नामावली प्रसारण हुने दिन थियो । म बाउरुमा परिवारकहाँ घुम्न गइरहेको थिएँ । सबै घरमै हुनुहुन्थ्यो, म निहुरिएर रेडियो सुनिरहेको थिएँ । मेरो नाम प्रसारण हुनेछैन भन्ने मलाई थाहा थियो । तर, रेडियोको एउटा शब्द पनि छुटाउन चाहन्नथें । यदि नामावलीमा मेरो नाम नभए म रुनेछैन र भित्तामा टाउको ठोकाउने छैन भन्नेमा दृढ निश्चिन्त थिएँ । मेरो नाम पनि हुन सक्छ भन्ने निश्चय नभए पनि विश्वकप टोलीमा पर्छु कि भन्ने झिनो आशा त गर्न सक्थें, सक्दिनँ त ? नाम पढ्न सुरु भयो । मुटुको धड्कन बेतोडले बढ्न थाल्यो, सोच्नुस् त त्योबेला मेरो हाल कस्तो भयो होला ?

कास्टिल्हो... गिल्मर... दिजाल्मा सान्तोस... निल्टन सान्तोस... माज्जोला...पेले... उक्त सूची पुनः नदोहोर्‍याएसम्म यो सत्य थियो भन्ने मैले विश्वासै गर्न सकिनँ ।

आमा दौडेर मेरो कोठामा आउनुभयो र मलाई हेर्नुभयो– ‘तिमीलाई के भयो दिको ? सन्चो छैन कि क्या हो ?’ ‘आमा, म ब्राजिलको टोलीमा तालिमका लागि छनोट भएँ ।’ ‘खै तिम्रो निधार छाम्न देऊ,’ दोना सेलेस्टेले भन्नुभयो, ‘तिमी सन्चो देखिएका छैनौ ।’

सूचीमा परेका अरू खेलाडीसँग महिनौंसम्म तालिम लिइसकेपछि पनि म स्विडेन जान पाउनेमा निश्चिन्त थिइनँ । हामी सबैलाई सैतानलाई जस्तै तालिम दिइएको थियो र घोडाले जत्तिकै कडा परिश्रम गर्नुपर्थ्यो । टोलीको जीवनका लागि हामीले व्यक्तिगत जीवनको पर्वाह गरेका थिएनौं र हामी परिवारजस्तै बसेका थियौं । उक्त परिवारमा केही आघात पर्न गइरहेको थियो किनकि केवल बाइस जना खेलाडी स्विडेन जान पाउने थिए र हाम्रा प्रशिक्षक भिसेन्टे फिओलाले कुन–कुन खेलाडीको टोलीले सबभन्दा राम्रो तरिकाले खेल्न सक्छ भन्ने निर्णय गर्नुपर्थ्यो ।

डाक्टर पाउलो मचाडो दी कार्वाल्हो (ब्राजिली टोलीका व्यवस्थापक) ले हामी सबैलाई बोलाउनुभयो र टोलीमा छनोट नभएका खेलाडीको सूची पढ्न थाल्नुभयो । मेरो नाम लिइएन । एकै छिनका लागि मलाई आश्चर्य लाग्यो र टोलीमा बाँकी रहेका खेलाडीको नाम एकपल्ट पढिदिए हुन्थ्योजस्तो लाग्यो । त्यसपछि म साँच्चिकै टोलीमा छनोट भएको महसुस गरेँ । कति खुसी भएँ भन्ने व्याख्या गर्न सक्दिनँ, तर जब मैले ती हटाएका नाम हेरें मेरो सोचाइमा परिवर्तन आयो । तिनीहरूमध्ये धेरैजसो रुन थालेपछि, तिनीहरू घर फर्किन बस चढ्दा हामीमध्ये कसैलाई पनि कसरी बिदाइ गर्ने भन्ने साहस आएन, मुटु ढक्क फुलेर आयो ।

तर, मेरो आफ्नो समस्या सुरु भयो । स्विडेनका लागि उड्नु केही दिनअघि साओ पाउलोको कोरिन्थियान्सविरुद्धको अभ्यास खेलमा मलाई छिर्की हानियो र घुँडामा चोट लागेको थियो । अनि खेल मैदान छाड्नुपरेको थियो । केही दिनपछि टोलीको डाक्टर, डा. गोस्लिङ र मारियो अमेरिकोले मेरो घुँडाका लागि बलबुताले भ्याएसम्म सक्दो प्रयास गर्नुभयो । युरोपका लागि उडेको हवाइजहाजमा म पनि थिएँ । इटालीको इन्टरनेजिओनेल र फिओरेन्टिनाविरुद्धको दुइटा मैत्रीपूर्ण खेलमा हामीले जित्यौं । पूरै टोली एउटा ठूलो सुखी परिवारजस्तै थियो । घुँडाको चोट निको नभएकाले मचाहिँ निराश हुँदै गएको थिएँ ।

स्विडेनका लागि इटालीबाट उड्नुअघि मैले डा. गोस्लिङकहाँ गएर सोधें– ‘मलाई किन ब्राजिलमा फिर्ता पठाउँदैनौ ? जसले गर्दा मेरो ठाउँमा अर्को खेलाडी ल्याउन सकियोस् ।’ म खेल्न सक्षम हुन्छु भन्ने उहाँलाई अझै विश्वास थियो । इटालियालीहरूसँगको खेलमा पेपे र डीडीहरूको घुँडामा पनि चोट पुग्यो । प्रत्येक दिन मारियो अमेरिको हाम्रा आँखाबाट धरधरी आँसु बग्नेगरी घुँडावरिपरि तातो पानीमा डुबाइएको रुमाल कसिलो तरिकाले बेर्थे । प्रत्येक दिन डाक्टर मेरो घुँडा जाँच्थे र राम्रो हुँदै आएको जनाउ दिन्थे ।

तर, जब अस्ट्रियाविरुद्धको पहिलो विश्वकप खेल आयो, म अझै खेल्न असमर्थ थिएँ । इङ्ल्यान्डविरुद्धको खेलमा खेल्न अनुमति पाइनँ र त्यसपछि मैले पूरै आस मारिसकेको थिएँ । तर, एक दिन डा. गोस्लिङले मलाई जाँचिसकेपछि भन्नुभयो, ‘तिमी खेल्न सक्छौ ।’ त्यो मेरो लागि शुभ दिन साबित भयो ।

रुसमाथिको विजय

म अहिले खेल मैदानमा छु । रुसी खेलाडी त्यही मैदानमा हाम्रो विपक्षमा उभिइरहेका थिए । निश्चय पनि यो सपना थिएन । तिनीहरूका प्रत्येक खेलाडी हामीभन्दा अग्ला देखिन्थे । गोलरक्षक यासिन त पूरै गोलपोस्ट ढाकिरहेका देखिन्थे । म सोच्थेँ उसलाई छक्याई गोलपोस्टभित्र बल छिराउनु असम्भवै छ । अग्रपंक्तिमा मलगायत जगालो, भाभा, डीडी र गरिन्चा थियौं । मध्यपंक्तिमा निल्टन सान्तोस र जिटो । पछाडि रक्षापंक्तिमा हाम्रो क्याप्टेन बेलिनी, ओर्ल्यान्डो, दी सौर्दी र गोलरक्षकमा गिल्मर ।

‘ठीक छ,’ जिटो सकेसम्म चर्को स्वरले कराए, ‘तिनीहरूलाई छक्क पारौं है ।’ उसको पछाडि बसेका भाभाले केही नबुझेझैं ओठ लेप्राए, ‘तिमीले के भन्न खोजेको ?’ उनले भने, ‘तिनीहरू हामीलाई हराउन गइरहेछन् ।’

तर जब सिठ्ठी बज्यो, मैले यी सबै ठट्टा बिर्सें, सबै चेतना गुमाएँ, सबथोक । थाहा भएअनुसार, म राम्रो खेल खेलिरहेको थिएँ, जुन मैले अपेक्षा गरेको थिएँ र जित्नु नै सबै कुरा थियो । केही मिनेटपछि गरिन्चाले रुसी रक्षापंक्तिको कमजोरी भेट्टाए । उनले तीन जना रक्षापंक्तिका खेलाडीलाई तिनीहरू त्यहाँ नभएझैं गरी छलेर लगे र यासिनलाई नाघ्ने गरी कराएर प्रहार गरे । जसै म गोल ऽऽऽ... भनेर ठूलो स्वरले कराएँ, बल बारमा ठोक्किएर खेल मैदानमै फर्कियो ।

रुसीहरूका लागि यो खेल त्यति सजिलो छैन भन्ने दर्शकले तुरुन्तै महसुस गरे । तिनीहरूमध्ये केही अब हाम्रो पक्षमा कराइरहेका थिए । त्यो दिन गरिन्चाले तिनीहरूलाई धेरै पटक चिच्याउने अवसर प्रदान गरे । यही खेलकै लागि जिन्दगीभर पर्खिरहेजस्तो गरी उनी खेलिरहेका थिए । उसका अगाडि रुसी रक्षापंक्ति लाचार भइरहेको थियो ।

त्यसपछि डीडीले एउटा सुन्दर पास मतिर दियो । मैले दुई रक्षकबीच बल दौडाएर लगें । मैले तेज गतिमा दौडिँदादौडिँदै प्रहार गरें र यासिन छक्क पर्‍यो । फेरि एक पटक बल बारमा ठोक्कियो । मेरो घुँडा दुख्न सुरु भए पनि यसबारे चिन्ता लिने फुर्सद थिएन । डीडीको खुट्टामा फेरि बल आयो । म खाली ठाउँमा गई उसको पास पर्खिरहें, तर डीडीले मेरो नजिक पछाडिपट्टि रुसी रक्षक देखे । अतः बललाई भाभा दौडिरहेको अर्को साइडतिर पास दिने प्रयास गरेँ, जहाँ कोही रुसी खेलाडी थिएनन् । र, भाभाले बललाई जालीभित्र छिरायो । यसरी मध्यान्तरसम्म ब्राजिलले एक गोलले अग्रता लियो । मध्यान्तरपछि त्यस्तै किसिमले खेल चलिरह्यो, तर खेल सकिनु केहीक्षण अगाडिसम्म यासिनले हाम्रा अधिकांश प्रहार रोके । यसै क्रममा डीडीले बल पाएपछि मतिरै सीधै पास दियो । मैले गोलपोस्टतिर लगिरहेका बेला रुसी रक्षकहरू चारैतिरबाट मतिर आए । तर, फेरि मैले भाभा एक्लै देखें, त्यसैले उसलाई पास दिएँ । त्यसपछि जे गर्नु थियो उसैले गर्‍यो । यसरी ब्राजिल दुई – रुस शून्य भयो ।

उक्त भव्य विजयपछिको रात म खाटमा पल्टिएँ र पूरै खेल सम्झें, प्रहारमाथि प्रहार, छिर्कीमाथि छिर्की, मैले गोल गर्ने धेरै अवसर गुमाएँ, तर नराम्रोचाहिँ खेलिनँ । बाउरुमा छाएको उत्साहको लहर सम्झिन खोजें । सबै सडकमा निस्के होलान् । पेलेबारे कुरा गरिरहेका होलान् । त्यही केटोबारे, जसलाई हाम्रो गल्लीको सडकबत्ती (ल्याम्पपोस्ट) को सिसा फुटाउनाले हालसालै सजाय दिइएको थियो । तर, मलाई थाहा छ, आज बाउरुका साथै अन्य धेरै ठाउँमा मानिसहरू मेरैबारे कुरा गरिरहेका होलान् । वेल्सविरुद्धको क्वार्टरफाइनलअघि मलाई पत्रकारहरूले एक क्षण पनि एक्लो छाडेनन् । रुसमाथिको विजयपछि हामीलाई विश्व खेलजगत्मा गम्भीरतापूर्वक लिन थालियो र पत्रकारहरूले प्रतियोगिताको सबभन्दा कान्छो खेलाडीप्रति विशेष अभिरुचि देखाए । तर, मेरो विचारमा पत्रकारहरूले हाम्रो निकै प्रशंसा गर्न थाले र हामी बढी मात्तियौं ।

वेल्ससँगको खेल केही पनि होइन, खाली सेमिफाइनलका लागि साधारण तयारी हो भन्ने सोचर हामी फेरि न्या उल्लेभी रंगशालामा फर्कियौं । मध्यान्तरका बेला ड्रेसिङ रुममा हामीले धेरै गल्ती गरेको निर्क्योल गर्‍यौं । हाम्रा प्रशिक्षकले हामीलाई भन्नुभयो– ‘हामीसँग पूर्ण आत्मविश्वास भएकाले हामी मध्यान्तरपछिको खेलमा जित्नेछौं ।’ तर, उहाँहरूमध्ये कसैले पनि हामीलाई वेल्सको फलामजस्तो रक्षापंक्ति कसरी तोड्ने बताउन सक्नुभएन ।

खेल मैदानमा फर्किंदा हाम्रो आत्मविश्वास हराउन थाल्यो । जति खरो रूपमा उत्रन्थ्यौं, त्यति नै धेरै गोलका अवसरह गुमाइरहेका थियौं । हाम्रो प्रहार रोक्न, समाउन, बारमाथि धकेलेर पठाउन केल्से (वेल्स गोलरक्षक) जहाँतहीँ छाउँथ्यो । समय

सकिनै लागेको थियो । खेलको ६६ औं मिनेटमा डीडीले वेल्सको पेनाल्टी क्षेत्रभित्र बल पुर्‍यायो । म अगाडि दौडिँदा उसले मलाई पास दियो । मैले प्रहार गर्न खोजें, तर कसैले छेक्न आयो । मैले बललाई हल्का छोई रक्षकलाई छलाई मेरो बलबुताले भ्याएसम्म प्रहार गरें । मैले प्रहार गरेको बल केल्सेले लडेर रोक्न खोजेको देख्दा मलाई दुःख लाग्यो, तर बल रक्षकको खुट्टामा ठोक्किएर गोलरक्षकलाई नाघेर बिस्तारै जालीभित्र गुल्टिएर पस्यो ।

त्यसपछि गो....ल ऽऽ भनेर बहुलाजस्तै म कति पटक उफ्रिएँ, कराएँ मलाई थाहै भएन । म बच्चाजस्तै रोइरहेको थिएँ । जे भए पनि मैले गरेको उक्त गोल एकदमै भाग्यमानी साबित भयो, जुन म कहिल्यै बिर्सनेछैन । हाम्रो टोलीका लागि त्यो गोल साह्रै महत्त्वपूर्ण थियो । यसरी हामी विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयौं । फ्रान्सविरुद्धको सेमिफाइनलमा मैले ह्याट्रिक गर्न सफल भएँ । र, फाइनलमा आयोजक स्विडेनलाई दुईविरुद्ध पाँच गोलले पाखा लगाई १९५८ मा पहिलोचोटि विश्व च्याम्पियन बन्यौं ।

अनुवाद : सुमनराज ताम्राकार

प्रकाशित : मंसिर १०, २०७९ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×