माधवी : अस्तित्वको चक्रव्यूह- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधवी : अस्तित्वको चक्रव्यूह

महाभारत कथामा माधवीको शौभाग्य उनको रुप र मातृत्वको तागतमा खोजिएको छ । परम्परागत संरचनाको खोलमा उकुसमुकुस माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा छिन् । खोज्दा–खोज्दै स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।
सरला गौतम

दिल्लीको चाँदनी चोक गुन्जायमान छ । यो बोलिरहन्छ, कसैले नबोलाए पनि । साँझको मधुर तापमान, न हप्प छ न सितल । दिल्लीकै नामी करिम्स रेस्टुरेन्टमा मानिसहरू परिकारको स्वादमा मग्न छन् । थरीथरीका मानिस, थरीथरीका खानेकुरा । एउटा टेबलमा मेरा आँखा ठोकिन्छ । आँखा मात्रै देखाएर बुर्कामा पूरै छोपिएकी एक महिला आफ्ना दुई सुन्दर सन्तानलाई स्नेहले स्याहार्दै छिन् । साथमा उनको पति हुनुपर्छ । 


आफ्ना मानिस फुक्काफाल भएर संसारमा घुमिरहँदा उनी कपडाको खोलमा बन्द छिन् । कस्तो लाग्दो हो ? उनले बाँच्न चाहेको संसार कस्तो होला ? आफ्नो अस्तित्वको परिभाषा कसरी खोजिरहेकी होलिन् ? बुर्काले छोपिएको शरीर, शरीरभित्र लुकेको उनको मन ! उनको मनको संसार ! केवल अनुमान गरेर फर्किएं । बोलिरहेको चाँदनी चोकबाट मेरा आँखा परपर हुँदै गए । हरियाणा पुगें । दिनले चोला फेर्‍यो । मनको दृश्य फेरिएन । मनको चोकमा ती महिला बसिरहिन् ।

यतिबेला हप्प छ । मध्याह्नको घाम छ । हरियाणाको तातो बाफले हपक्क पारेको छ । ममता मेहरोत्राको ‘महाभारतकी माधवी’ नामक पुस्तकका पाना पल्टाउन थाल्छु । माधवी महाभारतकी एक युगान्तकारी पात्र हुन् । उनको प्रसंग महाभारतको उद्योग पर्वमा छ । माधवीको चर्चाबिना महाभारत–कथा अपुरो हुन्छ ।

राजा यायातीकी परमसुन्दरी छोरी हुन्– माधवी । उनलाई दुई वरदान प्राप्त छन् । पहिलो उनी चार यजस्वी चक्रवर्ती पुत्रहरूका आमा बन्नेछिन् । दोस्रो प्रत्येक पुत्र प्राप्तिपछि उनको चिर यौवन फर्किनेछ । उनी पुनः कुमारी युवती बन्नेछिन् । महाभारतको यस कथामा माधवीको शौभाग्य उनको रूप र मातृत्वको तागतमा खोजिएको छ । माधवीको अस्तित्व यही वरदानमा विलीन छ । स्वअस्तित्वको खोजमै माधवीको सम्पूर्ण जीवन समर्पित छ ।

परम्परागत संरचनाको खोलमा उकुसमुकुस भएकी माधवी जीवनभर स्वतन्त्र अस्तित्वको खोजमा रहन्छिन् । खोज्दा–खोज्दै उनी स्वयं स्वतन्त्रताको परिभाषा बनेर उभिन्छिन् ।

चाँदनी चोकमा देखिएकी महिलाको मनको बात मैले जान्न सकिनँ । उनले बोलेको सुनिनँ । पानाहरूमा माधवी बोलिरहेकी छिन् । बोलेरै बोलिरहेकी छिन् । नबोलेर झन् बोलिरहेकी छिन् । पुस्तकका हरेक पाना मभित्र स–साना परकम्प छोड्दै बिदा हुन्छन् । माधवीले उठाएको अस्तित्वको प्रश्न खिलझैँ मनमा रोपिन्छ ।

अन्त्यहीन भुमरी

माधवीको सौन्दर्य–तेजमा चन्द्रमा हार खान्छ । सौन्दर्यको यस्तो शक्ति छ, तीन लोकमा कम्पन ल्याइदिन्छ । उनलाई प्राप्त भएको बरदान छ उस्तै शक्तिशाली । ऋषिहरूले भनेका छन्– उनी चार चक्रवर्ती राजाकी आमा बन्नेछन् । तेजस्वी पराक्रमी हुनेछन् उनका सन्तान । एक स्त्रीको ललाटमा लेखिने योभन्दा शक्तिशाली भाग्य के हुन्छ ? के हुन्छ लोकमा योभन्दा उज्यालो विषय ? माधवी र उनका पिता दुवैलाई लाग्छ– माधवीको अस्तित्व भन्नु मात्र यत्ति हो ।

पर कतै जंगलमा एक ब्राह्मण गालब गुरु विश्वामित्रबाट ज्ञान लिइरहेका छन् । विश्वामित्रजस्ता तेजस्वी गुरुबाट पाएको ज्ञानले चेला गालब कृतज्ञ हुन्छन् । यो महाज्ञानको मूल्य के गरी तिर्ने होला ? सोचमा पर्छन् गालब । गुरुसँग बिन्ती गर्छन् । गुरुदक्षिणा माग गरिदिन अनुनयविनय गर्छन् ।

विश्वामित्र ज्ञानको मूल्य लिन इन्कार गर्छन् । गालबको हठसामु विश्वामित्रको केही लाग्दैन । उनी गालबलाई भनिदिन्छन्, ‘आठ सय सेता घोडाहरू, चन्द्रजस्ता उज्याला, हरेकको एक कान कालो होस् । यस्ता घोडाहरू मलाई दिनु ।’ गुरुको माग सुनेर गालबको होस उठ्छ । आफ्ना माग राखेपछि विश्वामित्र आँसु झार्दै बाटो लाग्छन् । उनलाई पनि थाहा छ, लोकमै एक दुर्लभ माग हो यो । गालबको समस्याका दिन सुरु हुन्छन् । गालब आफ्ना मित्र गरुडको सहायतामा राजा यायातीको दरबार पुग्छन् ।

दरबारमा एक ब्राह्मण आयो । अनि असम्भव माग राखिदियो । यायातीको ओठतालु सुक्छ । ब्राह्मणलाई खालि हात कसरी फर्काउनु ? दिनु त कसरी दिनु उच्च प्रजातिका आठ सय घोडा ?

ठीक यही बेला दरबारको बैठकमा माधवीको प्रवेश हुन्छ । माधवीलार्ई देख्नेबित्तिकै यायातीको दिमागमा बिजुली चम्किन्छ । माधवीले पाएको वरदानको तागत स्मरण गर्छन् यायाती । माधवीको सौन्दर्यमा उनी समाधानको उज्यालो देख्छन् । गालब र यायातीबीच माधवी उभिएकी छिन् । यायातीले प्रस्ताव पेस गर्छन् । गालबले माधवीलाई यस्तो राजाकहाँ लिएर जानेछन्, जो शक्ति र ऐश्वर्यको मालिक हुनेछन् । माधवी उनलाई पुत्रहरू दिनेछिन् । बदलामा गालबले आठ सय घोडा पाउनेछन् । पिताको प्रस्ताव सुनेपछि माधवीलाई उनी उभिएको जमिन भासिएझैं लाग्छ । एक पलमा उनको वरदान उनकै स्वअस्तित्वको प्रश्न बनिदिन्छ ।

लिने र दिने आमनेसामने भए । सौदाबाजीका साझेदार । प्रतिष्ठाको खालमा माधवीको सौन्दर्य जुवामा लगाइयो । चुपचाप निरीह उभिइरहिन् माधवी । ‘के म भन्नु मेरो रूप मात्रै हो ? जसलाई कसैले एकै पलमा जुवामा लगाउन सक्छ ?’ माधवीको मनमा गइरहेको प्रश्नको भूकम्पसँग पूरै बेखबर छन् यायाती । स्त्री भन्नु केवल एक शरीर हो । योभन्दा पर सोच्न सक्ने उनको ज्ञानको नक्षत्र छैन । उनी त ढुक्कै भनिदिन्छन्, ‘जाऊ माधवी आफ्नो भाग्यको सामाना गर । भगवान्हरू हार खाने तिम्रो सौन्दर्य छ । राजाहरूको के कुरा भयो ? प्रतापी सन्तानलाई जन्म दिन तिमी सक्षम छौ ।’ स्त्रीको शरीरभित्र उसको हृदय हुन्छ । हृदयको आफ्नै निर्णय हुन्छ । यति सोच्न सक्ने ज्ञान न यायातीमा हुन्छ न गालबमा ।

माधवी आफ्नी दासीको शरणमा परिन् । असंख्य अश्रुधारा बगाइरहिन् । माधवीसँग प्रश्नको पहाड थियो । सहेलीजस्ती दासीसँग त्यसको उत्तर थिएन । माधवीले आफ्नो प्रारब्ध स्वीकार गरिन् । एक अपरिचित ब्राह्मण पुरुषको पछिपछि लाग्छिन् माधवी । कहाँ, कुन लोकमा उनको सौन्दर्यको हिसाबकिताब हुनेछ ? उनी बेखबर छिन् । भयभीत छिन् । दुई पुरुष उभिएर उनको सौन्दर्यको हिसाबकिताब गरे । उनीहरूको प्रतिष्ठाको मोलतोल गरे । माधवीको उज्यालो कायामा लुकेको हृदयमा ग्रहण लाग्यो । शरीरको सौदा गर्नेहरूलाई हृदयको के चासो ?

सौन्दर्यको तेजलाई शक्ति मानिरहेकी माधवी पहिलो पटक काँपिन् । स्त्रीलाई कायाभन्दा पर नदेख्ने जगत्को नियमसँग उनी छक्क परिन् । पहिलो पटक उनको सौन्दर्यको शक्ति पराजित हुँदै थियो । ब्राह्मणको ऋण चुकाउन यायातीले माधवीको सौन्दर्यको प्रयोग गरे । यो न्यायपूर्ण थिएन । पूरै लोकमा यो अन्यायको खिलाफ बोलिदिने पनि कोही थिएन ।

माधवी चुपचाप–चुपचाप गालबको पछि लागिरहिन् । पुष्पजस्ती कोमल माधवी एक कठोर यात्रामा हिँडिरहिन् । सोचहरूको तुफानमा उनको मन हराउँछ । उनको पाइताला चट्टानमा ठोकिन्छ । मौन यात्राको सन्नाटा भंग गर्दै उनी चट्टानसँग बोल्छिन् । ‘तिमीले मेरो दुर्दशा देखेनौ ? दुःखले म कति काँपिरहेकी छु, तिमीलाई आहट महसुस भएन ? किन थप्यौ अझै मलाई चोट ?’

वेदनाले आत्तिएकी माधवी गालबतिर हेर्छिन् । सहानुभूति खोज्छिन् । गालब फर्केर हेर्दैनन् । उनलाई हतार मात्रै छ । माधवीलाई लाग्छ– ‘यो मान्छेभन्दा त यही पत्थर ठीक । कम–से–कम चोट दियो । म रोएँ ।’ गालबको निष्ठुरता र बेवास्तासँग माधवी रुन पनि सक्दिनन् ।

गालब निष्ठुरताको हद पार गर्छन् । उनी भन्छन्, ‘समय बर्बाद नगर । यात्रा कठिन छ । रात नजिक छ । हामीलाई लक्ष्यमा पुग्नु छ ।’ गालबका लागि माधवी केवल एक शरीर हुन् । यस्तो सुन्दर र शक्तिशाली अस्त्र हो माधवीको शरीर, जसले गालबको सबै समस्या फुमन्तर गरिदिनेछ । उनी कहलिनेछन् अब्बल गुरुका महान् चेला । कसैको अति प्रिय पात्र हुने लालचमा अति निष्ठुर भएको गालबलाई होससम्म छैन । भयभीत मन लिएर हिँडिरहेकी माधवी ! कथित महानताको महत्त्वाकांक्षाले दृष्टिविहीन बनेका गालब ! यो कस्तो सहयात्रा ? ज्ञान हराएरै खोजिने ज्ञानको यो कस्तो कमजोर परिभाषा ?

गालब माधवीलाई अयोध्याका राजा हर्यस्वकहाँ पुर्‍याउँछन् । काँपिरहेकी माधवीलाई मूल्यका लागि खडा गराउँछन् । चन्द्रमाको तेज हार खाने सुन्दरता आफ्नै सामुन्ने उभिएको छ । हर्यस्व वाण लागेजस्ता हुन्छन् । भावशून्य उभिएकी माधवीलाई सर्वांग नियाल्दै हर्यस्व सुन्दरताको महिमा गाउँछन् ।

‘भूमिकी यस्ती अप्सरा, जसका सात अंग जुन उँचो हुनुपर्ने उँचो छन् । सात अंग जुन पातलो हुनुपर्छ पातला छन् । तीन अंग जुन गहिरो हुनुपर्छ गहिरा छन् । पाँच अंग जुन लाल हुनुपर्छ लाल छन् ।’ यस्ती अनुपम सौन्दर्यकी खानीबाट सन्तान प्राप्त गर्ने प्रस्ताव ! हर्यस्व खुसीले पागलसमान हुन्छन् । हर्यस्वको पागलपन गालबका लागि बन्छ सुवर्ण अवसर । उनलाई अरू के चाहियो ?

गालब माधवीको महासौन्दर्यको मूल्य लगाउँछन् । हर्यस्वको सातो जान्छ । आठ सय उच्च जातका सेता घोडा, हरेकको एक कान कालो होस् । यो असम्भव मूल्य कसरी चुकाउने ? दुई सय घोडा मात्रै आफूसँग भएको हर्यस्व बताउँछन् । हर्यस्वले दुई सय घोडा दिने, माधवीले एक मात्रै पुत्रको जन्म दिने सम्झौता हुन्छ । सम्झौता पुरा भएपछि आउने वाचासहित गालब बाटो लाग्छन् । माधवीको सुन्दरताले कामातुर राजा सिधै उनलाई शयनकक्षमा लैजाने आदेश दिन्छन् ।

राजाका दासीहरू माधवीको सौन्दर्यको महिमा गाउन थाल्छन् । माधवी विरक्त हुन्छिन् । अजनवी राज्यमा एक अपरिचित पुरुष आफूसँग समागमका लागि आतुर छ । माधवीको मनले यो सहन गाह्रो मान्छ । तर, उपाय पनि त केही थिएन । कामातुर राजा माधवीसामुन्ने उभिन्छन् । माधवी हर्यस्वलाई प्रश्न गर्छिन्, ‘तिमी मेरो सामुन्ने किन छौ ? एक पति, प्रेमी या विजेताका रूपमा ?’ माधवीको प्रश्नले नाजावाफ बन्छन् राजा । र, आँखा झुकाउँछन् । आफ्नो भाग्यमा शासन गर्न उभिएको सम्राट्लाई कम–से–कम प्रश्न गर्छिन् । देहभन्दा पर अरू कुनै अस्तित्व छ भन्ने बोध गराउँछिन् ।

पत्नी वा प्रेमीका दुवै नमाने पनि माधवीको स्थान उँचो रहने हर्यस्व भन्छन् । उनी सान्त्वना दिँदै भन्छन्, ‘तिमीबाट प्राप्त गरेको सन्तान तिम्रै नामले चिनिनेछन् ।’ माधवीलाई जवाफ चित्त बुझ्दैन । ‘मेरा सन्तान मेरै नामले चिनिएलान् । तर, मेरो अर्थ र अस्तित्व के त ?’

कहीँ कतै कसैसँग नजोडिएरै आफू स्व हुनुको अर्थ माधवीको मनमा जागृत हुन्छ । माधवी आफैं हुनुमा अस्तित्वको सम्पूर्ण अर्थ छ कि छैन ? अस्तित्वको यो चक्रव्यूहमा माधवी परिरहन्छिन् । अयोध्याका राजासँगको सम्झौता पूरा भएपछि गालब अयोध्या आउँछन् । माधवीले राजालाई पुत्र दिइन् । राजाले गालबलाई दुई सय घोडा दिए । सौदाबाजीको मौन साक्षी छिन् माधवी । भन्छिन्, ‘जाँदाजाँदै मेरो सन्तानलाई एक पटक छुन दिनुस् । मेरो शरीरको सबैभन्दा सुन्दर हिस्सा छाडेर जाँदै छु । एक पटक दूध पिलाउन दिनुस् ।’ उनको विलाप कोही सुन्दैन । दूध भरिएको छाती, प्रेमले भरिएको हृदय ! सन्तानलाई अन्तिम पटक हेर्नसम्म नपाएको अपार दुःख ! माधवीको हृदय दुःखको सागर बन्छ ।

भारी हृदयमा गरिरहेको कठिन यात्रा । दिन ढल्छ । रात आउँछ । गालब मस्त निद्रामा छन् । माधवीको मनोदशासँग उनलाई मतलबसम्म छैन । आफूमाथि भइरहेको यो अन्यायको चोट कहने साथी पनि छैन । माधवी आकाशतिर हेर्छिन्, पीडाको जवाफ माग्छिन् । आकाश मौन छ । उनी धर्तीतिर फर्किन्छिन् । धर्तीमा सन्नाटा छ । तीनै लोकसँग माधवीले सहेको अपमान र अन्यायको जवाफ छैन ।

मस्त निद्रामा भएका गालब उठ्छन् र माधवीलाई सान्त्वना दिन्छन्, ‘पीर नगर । काशीका राजा भद्र छन् । अब तिमी उनै राजाको सन्तानको आमा बन्नेछौ ।’ गालबलाई आफ्नो लक्ष्यमा पुग्नु छ । माधवीको सुन्दर देह उनका लागि माध्यम मात्रै हो । माधवीको कुमारी सौन्दर्यको व्यापार गर्न हिँडेको देहव्यापारी गालबलाई लाग्छ– उनी पुण्यको काम गर्दर् ैछन् । महागुरुका महान् चेला बन्नेछन् । अहो ! यो कस्तो मक्किएको महानता ।

सन्तान–प्रेमले आल्हादित बनेकी माधवीको दुःखले गालबलाई छुँदैन । उनको यो बेपरवाह स्वभाव देखेर माधवी झनै गहिरो दुःखमा पर्छिन् । गालबलाई सोध्छिन्, ‘तिम्रा गुरुले इन्कार गर्दागर्दै पनि तिमीले गुरुदक्षिणाको लागि हठ गर्‍यौ । तिम्रै जिद्दी पूरा गर्न उनले यो दुर्लभ माग गरे । तिमी यो सबै पूरा गर्न मेरो शरीरको प्रयोग गर्दै हिँड्दै छौ । हे ब्राह्मण, आफूलाई पाप र धर्मको ज्ञाता मान्छौ । यो तिमी जे गरिरहेछौ पाप हो या हो पुण्य ?’ नसोचेको प्रश्नको उत्तर गालबसँग हुँदैन । उत्तर नहुनुमा उनलाई फिक्री पनि छैन ।

एक स्त्री के चाहन्छे ? कोही यस्तो पुरुष होस, जो उसलाई उसकै स्वभाव र स्वरूपमा अपनाओस् । दैहिक वासनाभन्दा माथि उठेर उसको व्यक्तित्वसँग सम्पूर्ण प्रेममा परोस् । माधवीको भाग्यमा यो सबै कहाँ ? उनका कठिन बाटाहरूको अन्त्य कहाँ ? माधवीको परीक्षा सकिएको छैन । कठिन यात्रा अझै बाँकी छ ।

गालबले माधवीलाई अरू दुई राजाकहाँ पुर्‍याउँछन् र ६०० घोडा जम्मा पार्छन् । उनको लक्ष्य अझै प्राप्त भएको छैन । लोकमा अब को राजा खोज्ने, जसबाट बाँकी एक सन्तान प्राप्त होस् र अरू दुई सय घोडा जम्मा होऊन् ?

गालबको भेट हुन्छ मित्र गरुडसँग । गरुडले माधवीलाई गुरु विश्वामित्रकहाँ पुर्‍याउने सल्लाह दिन्छन् । गालब आश्चर्यमा पर्छन् । त्यस्ता महान् गुरुले सुन्दरी भोग गरेर सन्तान जन्माउलान् ! संकोच मान्दै गालब विश्वामित्रकहाँ पुग्छन् ।

माधवीको तेजले विश्वामित्रको आँखा तिलमिलाउँछ । उनको तपस्याको सिंहासनमा पहिरो जान्छ । विश्वामित्रको तपस्या माधवीको सौन्दर्यमा पराजित हुन्छ । गुरुभेटका रूपमा परमसुन्दरी पाएका विश्वामित्रको लोभ जागेर आउँछ । चारवटै पुत्रको पिता आफू बन्न नपाएकामा पछुतो व्यक्त गर्छन् । गुरुको यो चाला गालबका लागि मुक्तिको मार्ग बन्यो । गुरु–ऋणबाट हल्का भएका गालब माधवीलाई गुरु चरणमा अर्पेर आफ्नो बाटो लाग्छन् । मौन छिन् माधवी । आतुर छ– विश्वामित्रको कामवासना । ढोंगी तपस्याको कर्कस छ ध्वनि ।

पितालाई ब्राह्मण–ऋण चुकाउनु थियो, माधवीलाई प्रतिष्ठाको जुवामा लगाए । गालबलाई गुरु–ऋण चुक्ता गर्नु थियो, सौन्दर्यको बजार खोजी डुले । सौन्दर्यको बजारमा माधवीलाई बेचिनु मञ्जुर थियो/थिएन, यो जान्नु कसलाई के खाँचो ?

राजाहरूलाई तेजस्वी सन्तानको पिता हुनु थियो । पुत्र प्राप्तिका लागि माधवीको कोख प्रयोग गरे । ऋषिसमेत दैहिक सौन्दर्यको मोहबाट मुक्त हुन सकेनन् । माधवीको भागमा न प्रेमीको चोखो प्रेम पर्‍यो, न सन्तानको बात्सल्य । जहाँजहाँ सन्तान जन्माइन् त्यहीँ छोड्दै हिँडिन्् । माधवीबाट जसले जे चाहन्छन् त्यही लिए । माधवी के चाहन्छिन् आफ्ना लागि ? यो कसैले सोधेन । लोकमै भाग्यमानी मानिएकी तेजस्विनीको भाग्यमा यो कस्तो ग्रहण ? यो कस्तो रुग्ण परिभाषा स्त्री शौभाग्यको ? स्त्री हुनु के हो ? सम्पूर्ण व्यक्तित्वको अर्थ के हो ? माधवीको यात्रा कठिन छ । खोजी निरन्तर छ ।

अन्तहीन परीक्षा

विश्वामित्रसँग पनि माधवीको सम्झौता पूरा हुन्छ । गालब सर्तबमोजिम माधवी फिर्ता लिन आउँछन् । यायातीलाई माधवी जिम्मा लाएर उनी पूर्ण मुक्त हुन चाहन्छन् । माधवीको सौन्दर्य फिका हुँदै थियो । गालामा चाउरी पर्दै थियो । प्रत्येक पटक पुत्र प्राप्त गरेपछि पुनः जीवित हुने उनको रूप र कौमार्यप्रति माधवीको मोह बाँकी छैन । उनी चाहन्थिन्– जस्तो अवस्था छ त्यस्तै रहोस् । झोलिएको आफ्नो शरीरमै अस्तित्वको खोजी गर्न थाल्छिन् माधवी । कम–से–कम सुन्दरताको तेज हराएको शरीरमा अब कुनै कामातुर पुरुषले नजर गाड्ने छैन । कामवासनाको कमसल धागोले बाँधिएको स्त्री–पुरुष सम्बन्ध अब उनलाई मन्जुर छैन ।

माधवीलाई लिन आएका गालब भन्छन्, ‘माधवी तिमीले आफ्नो कर्तव्य राम्रो निर्वाह गर्‍यौ । अब तिमीलाई म स्वतन्त्रता दिन चाहन्छु ।’ माधवीलाई गालबको यो मनोमानी सह्य हुँदैन । गालबले आफ्नै मर्जीले दिएको बन्धन र स्वतन्त्रताको अर्थ माधवीलाई चित्त बुझ्दैन । उनी स्वतन्त्रताको परिभाषा खोज्छिन् । गालबसँग आँखा जुधाएर भन्छिन्, ‘यो कस्तो स्वतन्त्रता ? आफ्ना सन्तानहरूको प्रेमबाट स्वतन्त्रता ? तिम्रो निष्ठुरताको बावजुद तिमीलाई मैले जुन प्रेम गरें, त्यसबाट स्वतन्त्रता ? मलाई यो मन्जुर छैन । गालब तिमी मलाई आफ्नो प्रेममा बाँधेर राख ।’ माधवीको यो अनुग्रहलाई गालब एक झट्कामै इन्कार गर्छन् ।

गुरुसमक्ष भेटीका रूपमा चढाएकी माधवीलाई गुरुआमाको संज्ञा दिन्छन् । माधवीलाई प्रेमिका होइन, अभियानको एक साझेदार मात्रै भएको बताउँछन् । माधवीको संसारमा अर्को भूकम्प जान्छ । भूकम्पको भुमरीबीच माधवी टक्क उभिन्छिन् । उनी सोध्छिन्, ‘के हाम्रो जीवन तिमीहरूको अभियानमा साथ दिनका लागि मात्र हो ? कथित लक्ष्य र कृत्रिम महानताको मात्रै मूल्य छ ? हाम्रो भावना र प्रेमको कुनै अर्थ छैन ?’

झूटो महानतामा रमाइरहेको गालबसँग माधवीका प्रश्नको उत्तर छैन । उनी माधवीलाई कर्तव्यपालन गरेकी एक त्यागी महिलाका रूपमा बखान गर्छन् । बखान गर्छन् माधवीको भाग्य र सौन्दर्यको । माधवी चार चक्रवर्ती राजाहरूकी आमा हुनुको गर्वबोध गराउन खोज्छन् ।

माधवीलाई यी सबै कुरासँग अब कुनै मतलब छैन । चासो छैन उनलाई आफूमाथि थोपरिएको कर्तव्यको बोझसँग पनि । कहीँकतै कसैसँग नजोडिएर आफैंमा आफ्नो अस्तित्वको ब्रह्माण्ड खोज्छिन् माधवी । पुत्री, पत्नी र आमाको खोल नओढीकनै स्वयम् आफूमा सृष्टिको सम्पूर्ण रूप भेट्टाउन चाहन्छिन् उनी ।

माधवीले अनेकौं पुरुषका लागि गरेको त्यागको बहीखाता राख्नेछ इतिहास । गर्नेछ हिसाबकिताब । भन्नेछ उनलाई महान् । उनका चार प्रतापी सन्तानको महिमा गाउनेछ । एक युवतीले के चाहेकी थिइन् यो कसले लेख्नेछ ? उनको छातीमा पलाएको कुमारी प्रेमको लेखिनेछैन कथा । सन्तानको मायाले छाती पोल्दै हिँडेको तडपमा इतिहास मौन बस्नेछ ।

के इतिहासले माधवीले बगाएका आँसुका थोपाहरूको हिसाब राख्नेछ ? राख्दैन । यो कपटी छ । ऊ महिलालाई महान् र त्यागीको बिल्ला भिराएर गुफाभित्र कैद गर्न चाहन्छ । उसका सारा भावनालाई अँध्यारोमा विलीन गराउन चाहन्छ । माधवीलाई यो मान्य छैन । हुनु छैन उनलाई महान् आमा र त्यागी प्रेमीका । लेख्नु छ उनलाई आफ्नै इतिहास ।

स्वतन्त्र राज्यको निर्भय साम्राज्ञी

माधवीको स्वअस्तित्वको खोज सकिएको छैन । उनको यात्राको अर्थ फेरिएको छ ।पितालाई ऋणमुक्त गराएर कर्तव्यको यात्रा पूरा गरिन् । आफूलाई ब्राह्मण–ऋणबाट मुक्त गरेकी छोरीलाई कुनै शक्तिशाली राजासँग बिहे गरिदिने राजा यायातीको चाहना हुन्छ । उनी पुत्री बोझबाट मुक्त हुन चाहन्छन् ।

यायातीको दरबारमा विशाल स्वयंवरको आयोजना हुन्छ । लोकका शक्तिशाली राजाहरू दरबारमा हाजिर छन् । भव्य शृंगारमा छिन् माधवी । उनी झुकेका नजरले राजाहरूको आँखा नियाल्छिन् । वासनाले टम्म छन् राजाहरूका नयन । स्वयंवरका एक–एक प्रस्तावकलाई उनी उभिएर प्रश्न गर्न थाल्छिन्, ‘तपाईं मेरो प्रेमीको रूपमा हात माग्न आउनुभयो या मेरो रूपको वासनाले घायल भएर ?’ चारै दिशाबाट आएर उभिएका राजालाई माधवी यही प्रश्न गर्छिन् । राजाहरूको नजर झुक्छ । माधवीका पिताको छट्पटी चुलिन्छ ।

माधवीको संकल्प दृढ छ । प्रस्ट छन् उनका प्रश्न । आफ्ना पिता लगायत सबै राजालाई उनी फेरि प्रश्न गर्छिन्, ‘के स्त्री उपभोग गरेपछि मिल्काइने वस्तु हो ? उसको स्वअस्तित्व हुँदैन ? महिला र पुरुषबीचको सम्बन्धको प्रतिबद्धता हुँदैन ?’ निरुत्तर पिता र राजाहरू । चकमन्न हुन्छ दरबार ।

माधवी पितासँग आँखा जुधाउँछिन् र भन्छिन्, ‘तपाईंहरू सबै मिलेर मेरो प्रारब्धमा शासन गर्नुभयो । अब म कुनै पुरुषलाई आफ्नो रक्षकका रूपमा स्वीकार गर्न सक्दिनँ । मेरो जीवनको निर्णय गर्ने अधिकार म कसैलाई दिन्नँ ।’ माधवी आफ्नो स्वतन्त्रताको रथको लगाम आफ्नै हातले समाउँछिन् । मालिक बन्छिन् उनी आफ्नो स्वतन्त्र साम्राज्यको । दरबारमा उभिएका एक–से–एक वैभवशाली, शक्तिशाली राजाहरू माधवीको तेजका सामुन्ने निरीह बन्छन् ।

आफ्नो जीवनमाथि शासन गर्ने शक्तिशालीहरूको तागत खोसेर एकपलमा माधवी बनिन् शक्तिको स्वसाम्राज्य । दरबारले कृपा गरिदिएको सारा वैभव र सुरक्षा माधवीका लागि अब ढुंगा–माटोसरि भयो । निर्भयताको उज्यालोले धपक्क बलेकी माधवी दरबार होइन जंगल रोज्छिन् । देखावटी वैभव होइन, हृदयको सुख रोज्छिन् । छोडेर राज्य मोह एकै झट्कामा माधवी जंगल प्रस्थान गर्छिन् ।

शक्ति, प्रेम र सुरक्षाको खोजीमा छैनन् अब उनी । स्वतन्त्रता र निर्भयताको उनको आफ्नै साम्राज्य छ । शक्ति उनको पाउमा हाजिर छ । अस्तित्वको खोजीमा रुमल्लिएकी माधवी अब केवल पात्र होइनन् । उनी हुन् अस्तित्वको स्वब्रह्माण्ड । आफैं परिभाषा हुन् युगको । एक अद्भुत र अपूर्व परिभाषा । युगले हार खानैपर्छ उनको विजयमा ।

प्रकाशित : मंसिर १०, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

५० वर्षअघि, ५० वर्षपछि

कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । मोती खोज्न समुद्रमुनि पस्नुपर्ने त्यो व्यवसाय बिस्तारै समाप्त भयो । र, कतारको जीवनमा भयानक संकट थपियो ।
होम कार्की

काठमाडौँ — २५ जुन २०१३ को बिहान ९ बजे कतारको भिलाजिओ मलतिर घुम्दै थिएँ । त्यस मलभित्र कतारी नागरकिको भीड थियो । त्यति ठूलो भीड मैले कहिल्यै देखेको थिइनँ । स्थानीय टेलिभिजनहरू कतारी नागरिकसँग एकपछि अर्को प्रतिक्रिया लिइरहेका थिए । कोही खुसी देखिन्थे, कोही निराश ।

उनीहरूले बोलेको अरबी भाषामा मैले दुई शब्द मात्रै बुझेँ– शेख हमाद र शेख तमिम । भीड नियालिरहेका एक नेपालीलाई सोधेँ– ‘कतारीहरूको यस्तो भीड किन हो ? यस्तो त कहिले थिएनँ !’

‘यहाँको अमीर (राजा) ले छोरो तमिमलाई राजा घोषणा गरिदिएछ’, अरबी भाषाका पोख्त ती नेपालीले भने, ‘युवालाई राजा बनाइदिएकोमा एकथरी खुसी छन्, अर्काथरी निराश ।’

खाडीमा राजाको मृत्यु नभएसम्म उत्तराधिकारीले शासन समाल्ने चलन थिएन । त्यस परम्परा तोड्दै ६१ वर्षीय अमीर शेख हमादले ३३ वर्षीय शेख तमिमलाई अमीरको जिम्मेवारी दिए । ‘परम्परागत कतार’ लाई ‘आधुनिक कतार’ बनाउने मुख्य श्रेय हमादलाई जान्छ, जसले आफ्ना पिता खलिफाबाट सन् १९९५ मा रक्तविहीन ढंगबाटै राज्यसत्ता खोसेका थिए । तमिम कतारका आठौं राजा हुन् । कतारमा अलथानी परिवारले १ सय ७२ वर्षदेखि शासनसत्ता सम्हाल्दै आएका छन् ।

कतार राज्यका संस्थापक शेख मोहम्मद विन अलथानी (१८५०–१८७८) हुन् । संविधानले नै अमीरलाई कार्यकारी र कानुन बनाउन पाउने अधिकार दिएको छ । सन् १९१३ मा बहराइनको नियन्त्रणबाट मुक्त भएपछि बेलायतले कतारलाई सार्वभौमसत्ता सम्पन्न देशको पहिचान दिएको थियो । कतारको आन्तरिक सुरक्षा र विदेश नीति बेलायतको नियन्त्रणमा थियो । कतारलाई पश्चिम राष्ट्रसँग नजिक भएर काम गर्ने मौका मिल्नुको साथै राजसंस्थाले निरन्तरता हुन पायो । कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । समुद्रबाटै धानिएको थियो जीवन । मोती खोज्न उनीहरू समुद्रमुनि पस्थे । १९२० को दशकमा आइपुग्दा मोती व्यवसाय लगभग समाप्तै भयो । कतार र कतारी नागरिकको जीविकोपार्जनमै संकट थपियो ।

बेलायतको संरक्षित राज्य भएकै बेला कतारमा सन् १९३० को दशकमा तेलको भण्डार पत्ता लाग्यो । तेल उत्खनन गरी बाहिर पठाउने सामर्थ्य कतारसँग थिएन । ऊ पूर्ण रूपमा बेलायती कम्पनीमाथि भर पर्नुपर्थ्यो । बेलायतको ५१ प्रतिशत हिस्सामा एङ्लो पर्सियन ओइल कम्पनी खुल्यो । यसले सन् १९३८ मा कतारको पश्चिम भागमा पर्ने दुखानमा पहिलो पटक तेल निकाल्न खन्ने काम थाल्यो । त्यसको एक दशकपछि मात्रै सन् १९४९ बाट तेलको प्रशोधन हुन थाल्यो । त्यतिखेर कतारसँग आफ्नै शैक्षिक र दक्ष औद्योगिक श्रमशक्ति थिएन । पूर्ण रूपमा विदेशी श्रमिकमाथि भर पर्नुपर्थ्यो । भारतीय उपमहाद्वीप र अरबी देशबाट कामदार लैजान थालिएको थियो ।

५० को दशकमा मात्रै सहरी विकासको सुरुवात भयो । गाडी गुड्ने सडकहरू बन्न थाले । परम्परागत र पर्खाल लगाइएका घरको निर्माण भने ६० को दशकमा मात्रै सुरु भयो । सन् १९७१ मा बेलायत नियन्त्रणबाट स्वतन्त्र भयो– कतार । त्यो बेला कतारको जनसङ्ख्या १ लाख ११ हजार १ सय १३ थियो, जसमा कतारी नागरिक ४५ हजार ३९ र विदेशी कामदार ६६ हजार ९४ थिए । सुरुदेखि नै इरानी र भारतीयको दबदबा थियो ।

आधुनिक सहर, कामदारका लागि दोकनसहितको आवासीय घर, व्यापारिक प्रयोजनका भवनहरू बनाउने बृहत् विकास आयोजना ७० को दशकबाट सुरु भयो । त्यतिखेरसम्म कतारमा ठूला सडक थिएनन् । मुख्य राजधानी दोहामा गन्न सकिने अग्ला भवन भेटिन्थे । सरकारी कार्यालय पनि सानो भवनबाटै चलेका थिए । तेल र ग्यास उत्पादनमा बेलायतबाहेक जापानी कम्पनी आउन थाले । जब तेल र ग्यासबाट कतारको अर्थतन्त्र बलियो बन्दै गयो, तब कतारले ७० को दशकमा पहिलो पटक कतार बनाउने बृहत् गुरुयोजना ल्यायो ।

गुरुयोजना आएपछि निर्माणको कामले गति समात्यो । त्यो गुरुयोजनाअनुसारको दोहा देख्ने र वैदेशिक रोजगारीका लागि कतार पुग्ने पहिलो पुस्ताका नेपाली अझै कतारको सार्वजनिक सेवामा भेटिन्छन् । ८० को दशकबाट शिक्षित कतारी नागरिक र आप्रवासीले सार्वजनिक सेवामा रोजगारी पाउन थाले । सन् १९८६ मा कतार पुगेका तनहुँका करिमबक्स मिया भन्छन्, ‘हामी पुग्दा कतार पूरै मरुभूमि थियो । त्यो उजाड मरुभूमिमा दिउँसै स्यालहरू कराउँथे । सहरमा स–साना झुपडी थिए । नेपालीहरू गनेरै भेट्न पाइन्थ्यो । काठमाडौंको भन्दा सानो विमानस्थल थियो । नेपालबाट सिधै जहाज आएको थिएन । मलाई त कुनै अविकसित गाउँ आएजस्तो अनुभव भएको थियो । विदेश आएजस्तो लागेकै थिएन ।’

कतारसँग १५ बिलियन ब्यारल तेलको भण्डार र विश्वभरको प्राकृतिक ग्यासको १३ प्रतिशत छ । ९० को दशकमा १.५ बिलियन डलरको लगानीमा ग्यास उत्पादनको फेज–वान सम्पन्न भएपछि अर्थतन्त्र कायापलट हुन सुरु भयो । १९९६ मा कतारले जापानमा एलएनजी ग्यास पठाउन थालेपछि थप आर्थिक वृद्धिदर भयो । ९० को दशकबाट निजी र सरकारी कम्पनीले आफ्नो प्रोजेक्ट गर्न पाउने नीति सुरु भएपछि कतारको भौतिक विकासले गति लिन थालेको हो, जसकारण विदेशी कामदार आउने अवस्था डबलै हुन थाल्यो । जब कतारले नयाँ कतार बनाउन ठूला आयोजना योजना ल्याउन थाल्यो, तब अन्तर्राष्ट्रिय निर्माण कम्पनी कतार पस्न थाले । जुन तहको कम्पनी आए पनि ५१ प्रतिशत सेयरहोल्डर कतारी नागरिक नै हुनुपर्ने नियम थियो । यसले कतारी नागरिकलाई लगानीबिनाको मालिक बनाइदियो ।

सन् २००० मा मात्रै ‘लुसेल सिटी र पर्ल कतार’ भन्ने नयाँ सहरमा विदेशीले ९९ वर्षका लागि आफ्नै घर वा अपान्टमेन्ट लिन पाउने गरी ‘फरेन वनरसिप ल’ जारी भयो । लुसेल सिटीको निर्माणकार्य भर्खरै सम्पन्न भएको छ । समुद्र पुरेर बनाइएको पल कतार चरण चरणमा विस्तार भइरहेको छ । कतारले देशभित्र मात्रै लगानी गरेको छैन, उसले कतार इन्भेस्मेन्ट अथोरिटीमार्फत विश्वभरका ठूला कम्पनीमा झन्डै चार सय ५० विलियन डलर लगानी गरिसकेको छ ।

२००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएपछि त्यहाँ नेपालीको संख्या बढ्दै गएको हो । ९० को दशकदेखि विश्वकप आयोजना गर्ने समयसम्म आइपुग्दा झन्डै १९ लाख नेपालीले कतारमा काम गरिसकेका छन् । २००८ मा ल्याएको कतारको ३० वर्षे योजना अनुसार नै अहिले उसले विश्वकप गर्दै छ । २०१० मा विश्वकप पाएपछि भने कतार विश्व समुदायले खोज्न थालेको देश बन्यो । कतारसँग फुटबलको इतिहास धेरै पुरानो छैन । ७० को दशकमा मात्रै कतारले फिफासँग आफूलाई जोडेको थियो । विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएपछि बल्ल त्यहाँ रेल बन्यो । सुविधासम्पन्न हमाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । अहिले यो विमानस्थलबाट विश्वको एक सय ६० देशमा कतार एयरवेज उड्छ । वार्षिक ७.८ मिलियन टन सामान भण्डारण गर्न सक्ने हमाद बन्दरगाह २०२० बाट सुरु भयो ।

समृद्ध अर्थतन्त्रले कतार अरब क्षेत्रको शक्तिशाली देशको रूपमा उदाएको छ । कतारी नागरिकको जीवनयापन उच्चस्तरको छ । तर, कतार बनाउने आप्रवासी कामदारलाई आधारभूत मानवअधिकार नदिइएको भन्दै पछिल्लो एक दशक कतारमाथि अन्तर्राष्ट्रिय मानवअधिकार र पश्चिमा मिडियाबाट आलोचना भइरहेको छ । विश्वकै धनी देशमा न्यूनतम तलबदर निकै कम हुँदा आप्रवासी कामदार खुसी छैनन् । ‘कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरेदेखि नै हामीमाथि अभूतपूर्व प्रहार हुने गरी अभियानको सामना गर्नुपर्‍यो । जुन कुनै पनि आयोजक देशले सामना गरेको छैन । हामीले सुरुमा यस विषयलाई असल नियतले छलफल गर्‍यौं र केही आलोचनालाई सकारात्मक र उपयोगी पनि ठानेका थियौं’, अमीर तमिमले हालै सुरा काउन्सिलसमक्ष भनेका थिए ।

प्रकाशित : मंसिर ३, २०७९ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×