५० वर्षअघि, ५० वर्षपछि- कोसेली - कान्तिपुर समाचार

५० वर्षअघि, ५० वर्षपछि

कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । मोती खोज्न समुद्रमुनि पस्नुपर्ने त्यो व्यवसाय बिस्तारै समाप्त भयो । र, कतारको जीवनमा भयानक संकट थपियो ।
होम कार्की

काठमाडौँ — २५ जुन २०१३ को बिहान ९ बजे कतारको भिलाजिओ मलतिर घुम्दै थिएँ । त्यस मलभित्र कतारी नागरकिको भीड थियो । त्यति ठूलो भीड मैले कहिल्यै देखेको थिइनँ । स्थानीय टेलिभिजनहरू कतारी नागरिकसँग एकपछि अर्को प्रतिक्रिया लिइरहेका थिए । कोही खुसी देखिन्थे, कोही निराश ।

उनीहरूले बोलेको अरबी भाषामा मैले दुई शब्द मात्रै बुझेँ– शेख हमाद र शेख तमिम । भीड नियालिरहेका एक नेपालीलाई सोधेँ– ‘कतारीहरूको यस्तो भीड किन हो ? यस्तो त कहिले थिएनँ !’

‘यहाँको अमीर (राजा) ले छोरो तमिमलाई राजा घोषणा गरिदिएछ’, अरबी भाषाका पोख्त ती नेपालीले भने, ‘युवालाई राजा बनाइदिएकोमा एकथरी खुसी छन्, अर्काथरी निराश ।’

खाडीमा राजाको मृत्यु नभएसम्म उत्तराधिकारीले शासन समाल्ने चलन थिएन । त्यस परम्परा तोड्दै ६१ वर्षीय अमीर शेख हमादले ३३ वर्षीय शेख तमिमलाई अमीरको जिम्मेवारी दिए । ‘परम्परागत कतार’ लाई ‘आधुनिक कतार’ बनाउने मुख्य श्रेय हमादलाई जान्छ, जसले आफ्ना पिता खलिफाबाट सन् १९९५ मा रक्तविहीन ढंगबाटै राज्यसत्ता खोसेका थिए । तमिम कतारका आठौं राजा हुन् । कतारमा अलथानी परिवारले १ सय ७२ वर्षदेखि शासनसत्ता सम्हाल्दै आएका छन् ।

कतार राज्यका संस्थापक शेख मोहम्मद विन अलथानी (१८५०–१८७८) हुन् । संविधानले नै अमीरलाई कार्यकारी र कानुन बनाउन पाउने अधिकार दिएको छ । सन् १९१३ मा बहराइनको नियन्त्रणबाट मुक्त भएपछि बेलायतले कतारलाई सार्वभौमसत्ता सम्पन्न देशको पहिचान दिएको थियो । कतारको आन्तरिक सुरक्षा र विदेश नीति बेलायतको नियन्त्रणमा थियो । कतारलाई पश्चिम राष्ट्रसँग नजिक भएर काम गर्ने मौका मिल्नुको साथै राजसंस्थाले निरन्तरता हुन पायो । कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । समुद्रबाटै धानिएको थियो जीवन । मोती खोज्न उनीहरू समुद्रमुनि पस्थे । १९२० को दशकमा आइपुग्दा मोती व्यवसाय लगभग समाप्तै भयो । कतार र कतारी नागरिकको जीविकोपार्जनमै संकट थपियो ।

बेलायतको संरक्षित राज्य भएकै बेला कतारमा सन् १९३० को दशकमा तेलको भण्डार पत्ता लाग्यो । तेल उत्खनन गरी बाहिर पठाउने सामर्थ्य कतारसँग थिएन । ऊ पूर्ण रूपमा बेलायती कम्पनीमाथि भर पर्नुपर्थ्यो । बेलायतको ५१ प्रतिशत हिस्सामा एङ्लो पर्सियन ओइल कम्पनी खुल्यो । यसले सन् १९३८ मा कतारको पश्चिम भागमा पर्ने दुखानमा पहिलो पटक तेल निकाल्न खन्ने काम थाल्यो । त्यसको एक दशकपछि मात्रै सन् १९४९ बाट तेलको प्रशोधन हुन थाल्यो । त्यतिखेर कतारसँग आफ्नै शैक्षिक र दक्ष औद्योगिक श्रमशक्ति थिएन । पूर्ण रूपमा विदेशी श्रमिकमाथि भर पर्नुपर्थ्यो । भारतीय उपमहाद्वीप र अरबी देशबाट कामदार लैजान थालिएको थियो ।

५० को दशकमा मात्रै सहरी विकासको सुरुवात भयो । गाडी गुड्ने सडकहरू बन्न थाले । परम्परागत र पर्खाल लगाइएका घरको निर्माण भने ६० को दशकमा मात्रै सुरु भयो । सन् १९७१ मा बेलायत नियन्त्रणबाट स्वतन्त्र भयो– कतार । त्यो बेला कतारको जनसङ्ख्या १ लाख ११ हजार १ सय १३ थियो, जसमा कतारी नागरिक ४५ हजार ३९ र विदेशी कामदार ६६ हजार ९४ थिए । सुरुदेखि नै इरानी र भारतीयको दबदबा थियो ।

आधुनिक सहर, कामदारका लागि दोकनसहितको आवासीय घर, व्यापारिक प्रयोजनका भवनहरू बनाउने बृहत् विकास आयोजना ७० को दशकबाट सुरु भयो । त्यतिखेरसम्म कतारमा ठूला सडक थिएनन् । मुख्य राजधानी दोहामा गन्न सकिने अग्ला भवन भेटिन्थे । सरकारी कार्यालय पनि सानो भवनबाटै चलेका थिए । तेल र ग्यास उत्पादनमा बेलायतबाहेक जापानी कम्पनी आउन थाले । जब तेल र ग्यासबाट कतारको अर्थतन्त्र बलियो बन्दै गयो, तब कतारले ७० को दशकमा पहिलो पटक कतार बनाउने बृहत् गुरुयोजना ल्यायो ।

गुरुयोजना आएपछि निर्माणको कामले गति समात्यो । त्यो गुरुयोजनाअनुसारको दोहा देख्ने र वैदेशिक रोजगारीका लागि कतार पुग्ने पहिलो पुस्ताका नेपाली अझै कतारको सार्वजनिक सेवामा भेटिन्छन् । ८० को दशकबाट शिक्षित कतारी नागरिक र आप्रवासीले सार्वजनिक सेवामा रोजगारी पाउन थाले । सन् १९८६ मा कतार पुगेका तनहुँका करिमबक्स मिया भन्छन्, ‘हामी पुग्दा कतार पूरै मरुभूमि थियो । त्यो उजाड मरुभूमिमा दिउँसै स्यालहरू कराउँथे । सहरमा स–साना झुपडी थिए । नेपालीहरू गनेरै भेट्न पाइन्थ्यो । काठमाडौंको भन्दा सानो विमानस्थल थियो । नेपालबाट सिधै जहाज आएको थिएन । मलाई त कुनै अविकसित गाउँ आएजस्तो अनुभव भएको थियो । विदेश आएजस्तो लागेकै थिएन ।’

कतारसँग १५ बिलियन ब्यारल तेलको भण्डार र विश्वभरको प्राकृतिक ग्यासको १३ प्रतिशत छ । ९० को दशकमा १.५ बिलियन डलरको लगानीमा ग्यास उत्पादनको फेज–वान सम्पन्न भएपछि अर्थतन्त्र कायापलट हुन सुरु भयो । १९९६ मा कतारले जापानमा एलएनजी ग्यास पठाउन थालेपछि थप आर्थिक वृद्धिदर भयो । ९० को दशकबाट निजी र सरकारी कम्पनीले आफ्नो प्रोजेक्ट गर्न पाउने नीति सुरु भएपछि कतारको भौतिक विकासले गति लिन थालेको हो, जसकारण विदेशी कामदार आउने अवस्था डबलै हुन थाल्यो । जब कतारले नयाँ कतार बनाउन ठूला आयोजना योजना ल्याउन थाल्यो, तब अन्तर्राष्ट्रिय निर्माण कम्पनी कतार पस्न थाले । जुन तहको कम्पनी आए पनि ५१ प्रतिशत सेयरहोल्डर कतारी नागरिक नै हुनुपर्ने नियम थियो । यसले कतारी नागरिकलाई लगानीबिनाको मालिक बनाइदियो ।

सन् २००० मा मात्रै ‘लुसेल सिटी र पर्ल कतार’ भन्ने नयाँ सहरमा विदेशीले ९९ वर्षका लागि आफ्नै घर वा अपान्टमेन्ट लिन पाउने गरी ‘फरेन वनरसिप ल’ जारी भयो । लुसेल सिटीको निर्माणकार्य भर्खरै सम्पन्न भएको छ । समुद्र पुरेर बनाइएको पल कतार चरण चरणमा विस्तार भइरहेको छ । कतारले देशभित्र मात्रै लगानी गरेको छैन, उसले कतार इन्भेस्मेन्ट अथोरिटीमार्फत विश्वभरका ठूला कम्पनीमा झन्डै चार सय ५० विलियन डलर लगानी गरिसकेको छ ।

२००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएपछि त्यहाँ नेपालीको संख्या बढ्दै गएको हो । ९० को दशकदेखि विश्वकप आयोजना गर्ने समयसम्म आइपुग्दा झन्डै १९ लाख नेपालीले कतारमा काम गरिसकेका छन् । २००८ मा ल्याएको कतारको ३० वर्षे योजना अनुसार नै अहिले उसले विश्वकप गर्दै छ । २०१० मा विश्वकप पाएपछि भने कतार विश्व समुदायले खोज्न थालेको देश बन्यो । कतारसँग फुटबलको इतिहास धेरै पुरानो छैन । ७० को दशकमा मात्रै कतारले फिफासँग आफूलाई जोडेको थियो । विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएपछि बल्ल त्यहाँ रेल बन्यो । सुविधासम्पन्न हमाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । अहिले यो विमानस्थलबाट विश्वको एक सय ६० देशमा कतार एयरवेज उड्छ । वार्षिक ७.८ मिलियन टन सामान भण्डारण गर्न सक्ने हमाद बन्दरगाह २०२० बाट सुरु भयो ।

समृद्ध अर्थतन्त्रले कतार अरब क्षेत्रको शक्तिशाली देशको रूपमा उदाएको छ । कतारी नागरिकको जीवनयापन उच्चस्तरको छ । तर, कतार बनाउने आप्रवासी कामदारलाई आधारभूत मानवअधिकार नदिइएको भन्दै पछिल्लो एक दशक कतारमाथि अन्तर्राष्ट्रिय मानवअधिकार र पश्चिमा मिडियाबाट आलोचना भइरहेको छ । विश्वकै धनी देशमा न्यूनतम तलबदर निकै कम हुँदा आप्रवासी कामदार खुसी छैनन् । ‘कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरेदेखि नै हामीमाथि अभूतपूर्व प्रहार हुने गरी अभियानको सामना गर्नुपर्‍यो । जुन कुनै पनि आयोजक देशले सामना गरेको छैन । हामीले सुरुमा यस विषयलाई असल नियतले छलफल गर्‍यौं र केही आलोचनालाई सकारात्मक र उपयोगी पनि ठानेका थियौं’, अमीर तमिमले हालै सुरा काउन्सिलसमक्ष भनेका थिए ।

प्रकाशित : मंसिर ३, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

सत्ताइतरका बागी जीवनीलायक हुन्छन्

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक उज्ज्वल प्रसाईको किताब ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ प्रकाशित छ । प्रसाईलाई दीपक सापकोटाका प्रश्न :

तपाईंले भन्नुभएको थियो, ‘कसको जीवनी लेखिनुपर्ने हो, त्यो कसले तय गर्छ ? त्यो निकाय कुन हो ?’ यसको जवाफ सरल छैन र ? शक्तिशाली मान्छेको जीवनी लेखिन्छ । होइन र ?

जवाफ सरल थियो, अब रहेन । शक्ति संरचनामा उँचो स्थानमा बसेकाले आफू वा आफ्ना वरपरका कथा प्रसार गर्थे । बादशाह र उसका सेना, राजा र उसका विद्वान्, बौद्धिक ‘क्यानन’ निर्माण गर्ने दार्शनिक र संग्रामहरूको नेतृत्व गर्ने नेता, कथा यिनैका लेखिन्थे । समय बदलिएको छ, सत्ता चुनौतीविहीन छैन । आम मान्छेले आफ्ना कथा आफैं भन्ने, आफूजस्तै अन्यका कथा लेख्ने सामर्थ्य बनाएका छन् । महाश्वेतादेवीले रिक्साचालकलाई आफ्ना सुख–दुःख आफैं लेख्न हौस्याइन्, रिक्साचालक मजदुरी गर्दागर्दै लेखक बने । जात र भाषा, लिङ्ग र क्षेत्र, वर्ग र समुदायका आधारमा वञ्चितिमा परेकाको कथा लेखिन र छापिन थालेका छन् । त्यसैले हिजोको सरल जवाफ आज जटिल बनेको छ ।

भनिन्छ, विश्वको इतिहास केही पनि होइन, केवल महान् मान्छेहरूको जीवनी हो । यस भनाइमा व्यङ्ग्य निहित छ कि यसले जीवनीको महत्ता स्थापित गर्छ ?

महानता स्वयं बौद्धिक परीक्षणमा छ । हिजो महामानव बनाइएकालाई साधारण मान्छेका रूपमा तिनका व्यक्तित्वमाथि छ्यानविचार गरिएका छन्, पहिले जन्तु भनेर कज्याइएका प्राणीको यस धर्तीमा अधिकार छ भन्ने सोच अघि सारिएको छ । विश्वको इतिहासमा हिजो आम मान्छे बोल्दैनथे । आन्दोलन र क्रान्तिका आँधीबेहरी सृजना भएका बखत ती हजारौं मान्छे जनता र सेना, क्रान्तिकारी र उन्मादी भीडका रूपमा चित्रित हुन्थे । ई.पी. थम्पसनजस्ता विद्वान्ले गरिखाने वर्गका मान्छेका सोच र चिन्तन, तिनका कविता र गीत, तिनका वाणी र तिनैका आस्था, यी सबैलाई आफ्ना किताबमा मुखर तुल्याए ।

आम श्रमिकलाई केवल तथ्याङ्क होइन, ती सबैका आआफ्ना व्यक्तित्व र तिनका कथा छन् भनेर ‘द मेकिङ अफ द इंग्लिस वर्किङ क्लास’ जस्तो किताब लेखे । त्यस किताबमा थम्पसनले भने, ‘श्रमिक वर्ग जति अरूद्वारा निर्मित हो, श्रमिक स्वयं सोही वर्गको निर्माता पनि हो ।’ त्यसपछि इतिहास पहिलेजस्तो नेपोलियन र निकोलस दोस्रो, पृथ्वीनारायण र चंगेज खाँको मात्रै रहेन । बुझ्दै जान थालियो, सत्ताभन्दा पर बसेका सिर्जनात्मक मान्छे जीवनी लेखिनलायक हुन्छन् ।

आत्मकथा प्रशस्त छापिए । नेपाली बजारमा भएका केही जीवनी पनि अरूलाई लेख्न लगाइएका आत्मकथा नै हुन् । जीवनी र आत्मकथाबीचको भेद नै मेटिएजस्तो लाग्छ । यी विधाबीच फरक हुँदैनन् ?

आफैंले आफ्नो जीवनबारे बोल्ने र त्यसरी भनिएको कथा अरू कसैले टंकण र सम्पादन गरेर छाप्दा, त्यो किताब कथा भन्ने व्यक्तिको आत्मकथा हुन्छ । अर्थात, किताबको लेखक सोही कथावाचक हो । टंकण गर्ने र सम्पादन गर्ने महत्त्वपूर्ण सहयोगी हुन् । मैले अहिले लेखेको किताब ‘एक बागी’ यसरी तयार गरिएको आत्मकथाको किताब होइन । विषयबारे अध्ययन र लेखन नै मेरो हो । यो किताबमा वर्णित खगेन्द्र संग्रौला मुख्य विषय र पात्र हुन्, लेखक म हुँ ।

त्यसैले यस किताबलाई जीवनी भनियो, आत्मकथा भनिएन । एक जिउँदा पात्रको जीवनका भोगाइ, उनले गरेका केही निजी र धेरैजसो सार्वजनिक गतिविधि, सर्जकका रूपमा उनले सिर्जेका साहित्य र बौद्धिकका रूपमा उनका लेखनलाई मुख्य मौलो बनाएर नेपाली इतिहासको सानो अंश लेख्ने सामान्य कोसिस गर्दा यो जीवनी बन्यो । यही किताब हेर्दा पनि आत्मकथा र जीवनी भनिने दुई विधाबीचको भेद स्पष्ट छ भन्ने बुझिन्न र ?

श्री फलानो यति सालमा जन्मिए, यति पढे, यति देश घुमे, यति उमेरमा बिहे गरे, देशका नाममा यति योगदान गरे, यति पुरस्कार पाए र यति सालमा मरे’— नेपाली भाषामा लेखिएका अधिकांश जीवनीको जम्माजम्मी जमिन यत्ति हो । जीवनी भन्नु जम्माजम्मी यत्ति होइन र ? एक बागी’ यसभन्दा बेग्लै के हो ? आफ्नै निर्मम समीक्षा गर्नुस् त ।

समीक्षा गर्ने पाठकहरू छँदै छन् । मुख्य उद्यम नै समीक्षा र समालोचना बनाएका प्रबुद्ध पाठकहरूले निर्ममतापूर्वक समीक्षा लेख्दै होलान् । अहिलेलाई यति भनौं– खगेन्द्र संग्रौलाजस्ता लेखक भए, ती त्यस्ता किन र कसरी भए भनेर खोज्ने प्रयत्न हो यो । नेपाली समाजमा भएका कस्ता परिवर्तन र त्यसबीच आम मान्छेमा परेका कस्ता प्रभावका कारण उनका विभिन्न लेखन सम्भव भए भनेर थाहा पाउने कोसिस हो ‘एक बागी’ ।

उदाहरणका लागि, ‘आमा र यमदूतहरू’ किताब लेख्ने लेखक किन र कसरी बने संग्रौला ? त्यो किताब लेखिएपछि नेपाली आमवृत्तमा कस्ता तरंग उत्पन्न भए ? ‘एक बागी’ मा वर्णित यो कथाले पाठकलाई व्यक्तिको सेखपछि गरिने काजक्रिया कति निजी र कति सार्वजनिक विषय हो भन्नेबारे सोच्न सघाउला । त्यसैगरी ‘नालापानीदेखि समरबहादुरसम्म’ र ‘नकटो दोर्जेको शालिक’ जस्ता चर्का राष्ट्रवादी कथा लेखेर ख्याति कमाएको एउटा लेखक ‘म राष्ट्रवादी रहिनँ’ भन्ने उद्घोष गर्ने ठाउँसम्म कसरी आइपुग्छ भनेर बुझ्न खोज्दा यो किताब बनेको हो । प्राज्ञिक अन्वेषण गर्ने कसैले किताबको यस्ता प्रसंगका आधारमा नयाँ खोजी गरेर अन्वेषणात्मक आलेख नै तयार गर्न सक्लान् ।

त्यसैले ‘एक बागी’ खगेन्द्र संग्रौलाले पाएका पुरस्कार वा देखाएका कथित महानताको प्रशस्ति होइन, बरु उनले गरेका सिर्जनात्मक एवं बौद्धिक प्रयत्न र त्यस क्रममा देखिएका अन्तरविरोधको खोजी हो । केन्द्रमा एक जना पात्र भए पनि जीवनीमा उसको समय, समाज, देश र दुनियाँ बोल्छन् । मेरो प्रयास समयको चित्र खिच्नमा केन्द्रित थियो । कति सफल भयो, पाठकले भन्नेछन् ।

एक बागी’ ले राम्रै प्रारम्भिक समीक्षा पाइरहेको छ । मेहनत गरेर लेख्नुभएको छ भन्ने टिप्पणीहरू सुनिन्छन् । समय पनि मनग्गे लिनुभयो, पाँच–छ वर्ष । यत्रो लामो समय किन लाग्यो ?

म साह्रै व्यवस्थित र भयंकर जाँगरिलो लेखक नभएकाले समय धेरै लागेको होला । खगेन्द्र संग्रौलाका किताब र समग्र लिखत भेला पार्न नै मलाई हम्मे भयो । यस्ता खोजबिन गर्नमा बानी परेका अन्वेषकलाई सहज हुँदो हो, मलाई भएन । उनका लेखनबाहेक अन्य कस्ता र कति सामग्री जुटाउने, अन्तर्वार्ताहरू कति र कसरी गर्ने, सुनेका र पढेका विषय कति र कसरी समेट्ने, फेला परेका ससाना विन्दुलाई उनेर सग्लो कथा कसरी भन्ने, यी सबै तय गर्न मेरा लागि सहज थिएन । २००३ सालदेखि २०७६ सम्मको समय खिच्न पनि कठिन भयो । अनि, यही किताबकै मात्र काम गरेर बसेको भए, ३/४ वर्षमै प्रकाशित भइसक्थ्यो होला । जिन्दगीका उल्झन, क्षमताको अल्पता र समयको व्यवस्थापन गर्ने सीपको न्यूनताका कारण आवश्यकभन्दा धेरै समय लागेको होला ।

जीवनीको नायकसँग जीवनीकारको निकटताले कस्तो अर्थ राख्दो रहेछ ? पात्रलाई ॅऊ जस्तो छ, उस्तै रूपमा’ प्रस्तुत गर्न गाह्रो नहोला ? सत्यका सवालमा सम्झौता नगरिएला र ? लेखक संग्रौलासँगको आफ्नो निकटतालाई सन्दर्भित गर्दै जवाफ दिनुहोला ।

खगेन्द्र संग्रौलालाई एक अग्रजका रूपमा म सम्मान गर्छु, लेखकका रूपमा उनीबाट प्रभावित छु, पछिल्ला केही वर्षदेखि म उनको साथी भएको छु । हाम्रो यस सम्बन्धका कारण नै मलाई उनको जीवनी लेख्न दकस लागेको थियो । जे लेखिन्छ, त्यो प्रभाव र स्नेह, आदर र दोस्ती मात्रको दसी हुन पुग्ला भनेरै म सकसमा थिएँ । तर, गहिरिएर सोच्दा लाग्यो, यो निकटता आफैंमा एउटा सामर्थ्य पनि बन्न सक्ला । निकटताबारे सचेत हुँदै काम गरें । र, हामीबीचको सम्बन्धमा पर्दा हालेर शतप्रतिशत शुद्धताको जिरह गरेको छैन । संग्रौलाका लेखनी र सार्वजनिक गतिविधिमा मैले देखेका अन्तरविरोध र बेमेलहरू सतहमा ल्याउने प्रयत्न गरें । उनका आलोचकले उनका लेखन र व्यक्तित्वबारे गरेका दाबी र तिनका कारण खोज्ने कोसिस भएको छ । त्यसैले यो जे बन्यो, मेरो निकटता र त्यो निकटताका प्रभावप्रतिको मेरो सचेतताबीच बन्यो ।

तपाईं आफू जीवनी विधा कत्तिको पढ्नुहुन्छ ? कस्ता जीवनी पढ्नुभएको छ ?

मैले धेरैजसो बौद्धिक र लेखकहरूका जीवनी पढेको छु । कुनै लेखकबारे थप जान्न उत्सुक भएपछि तिनका राम्रा जीवनी छन् भने खोजेर हेर्छु । समाज विज्ञानसम्बन्धी अनुसन्धानका लागि पनि जीवनी उपयोगी औजार मानिन्छ ।

पछिल्लो समय पढेका दुई जीवनी मन परे : अक्षय मुकुलले लेखेको भारतीय हिन्दी साहित्यका प्रसिद्ध लेखक अज्ञेयको जीवनी र विनित गीलले लेखेको अर्का सर्जक निर्मल वर्माको बौद्धिक जीवनी । मुकुलको किताबमा अज्ञेयका निजी जीवनका रोचक घुम्तीसहित हिन्दी साहित्य संसारका उतारचढाव खिचिएका छन् । गीलले भने वर्माका लेखनीलाई मुख्य आधार बनाएर बौद्धिक अन्वेषण गरेका छन् । यी दुवै कृति मैले आफ्नो किताब लेखिसकेपछि बजारमा आएका हुन् ।

गत वर्ष टिमोथी ब्रेननको ‘प्लेसेस अफ माइन्ड : अ लाइफ अफ एड्वार्ड सइद’ पढेको थिएँ । किताबमा सइदको निजी जीवनका केही रोचक झलकहरू भए पनि मूलतः उनको बौद्धिक जीवनीमा केन्द्रित किताबले सइदका कृति पढेका पाठकलाई उनीबारे थप स्पष्ट हुन सघाउँछ । प्याट्रिक फ्रेन्चले भीएस नयपालबारे लेखेको ‘द वर्ल्ड इज ह्वाट इट इज’ पनि मन परेको काम हो । प्रख्यात बौद्धिक सुसन सोन्ट्यागको जीवन र लेखनीमा अन्वेषण गर्दा बेन्जमिन मोसरले ६ सयभन्दा बढी मान्छेसँग अन्तर्वार्ता गरेको थाहा पाउँदा आत्तिएको थिएँ, त्यो किताब भने पूरा पढ्न सकेको छैन ।

प्रकाशित : मंसिर ३, २०७९ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×