मखनटोलकी मैयाँ- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मखनटोलकी मैयाँ

मखन गल्लीमा सात वर्ष चलेको त्यो भिडियो–युग केवल नाम–बदनाम र भीडभाडको मेलो थिएन, चार दशकअघि देशमा प्रचलित मनोरञ्जन युगको एउटा जीवन्त दस्तावेज थियो ।
सुरेश किरण

काठमाडौँ — काठमाडौंको नेवाः समाजमा प्रचलित एउटा पुरानो लोकगीत छ– ‘राजमति कुमति’ । यस गीतमा चित्रित नायिका राजमतिमाथि काफी विमर्श भइसक्यो । उनको कथामा फिल्मसमेत बनिसकेको छ । काठमाडौंकै नेवाः समाजमा प्रचलित अर्को पनि एउटा लोकगीत छ– ‘व छु गल्लि, थ्व छु गल्लि’ ।

यस गीतमा अर्की एक नायिकाबारे वर्णन गरिएको छ, जसको नाम हो– पानवती । पानवतीबारे गीतले भन्छ –

व छु गल्लि थ्व छु गल्लि मखंत्वाःया गल्लि रे

पानवती मैंयां न्ह्याना वःगु जंगी सेलया कल्लि रे !


(यो कुन गल्ली त्यो कुन गल्ली मखन टोलको गल्ली रे

पानवती मैंयाँले लाएर आएकी जंगी सेलको कल्ली रे !)

तिनै काल्पनिक सुन्दरी पानवती मैयाँ डुलिहिँड्ने काठमाडौं मखनटोलको एक गल्ली कुनै समय संसारभरिकै ‘मैयाँ’ हरूको फिल्म हेर्न पाइने ‘भिडियो गल्ली’ का नामले देशैभरि विख्यात थियो ।

काठमाडौंको इन्द्रचोकदेखि हनुमानढोका क्षेत्रतिर पस्ने लामो बाटो नै वास्तवमा मखनटोल हो । हनुमानढोका क्षेत्रमा पर्ने सानो पशुपतिनाथ (महिन्द्रेश्वर महादेव) मन्दिरछेवै उता इटुम्बहाल छिचोल्ने अर्को एउटा गल्ली छ । त्यो सानो गल्लीको फुर्ती त्यतिबेला कति ठूलो थियो भने एक समय भारतको मुम्बईमा रिजिल हुने कुनै पनि नयाँ फिल्म त्यता रिलिज भएकै दिन यता मखन गल्लीमा प्रदर्शन भइसकेको हुन्थ्यो । यो विसं २०४० तिरको कथा हो । मखनटोलको त्यो सय मिटर लामो गल्लीमा करिब दुई सय भिडियो स्क्रिन थिए, जहाँ बलिउडका नयाँ फिल्म प्रदर्शन हुने गर्थे । प्रत्येक घरका प्रत्येक तल्ला एक–एक सिनेमा हलजस्तै थिए, जहाँ ३० देखि ५० मानिस कोच्चिएर फिल्म हेरिरहेका हुन्थे । बम्बईका हलहरूमा चलिरहेका सबैजसो नयाँ–पुराना फिल्म मखनका ती स–साना टाकिजहरूमा पनि चलिरहेका हुन्थे । भित्र कोठामा फिल्म देखाइन्थ्यो र घरबाहिर भित्तामा फिल्मको पोस्टर टाँसिएको हुन्थ्यो । गल्लीका ती पोस्टरहरू हेर्दै हिँड्दा यस्तो लाग्थ्यो मानौं पूरै बलिउडलाई मिनिमाइज गरी मखन गल्लीमा फिट गरिएको छ ।

उतिबेला उपत्यकावासीको मनोरञ्जन–स्रोत भनेकै काठमाडौंमा चल्ने जात्रा–पर्वबाहेक उपत्यकाका पाँच सिनेमा–हल (रञ्जना, विश्वज्योति, जय नेपाल, अशोक–पाटन र नवदुर्गा–भक्तपुर) मा देखाइने हिन्दी फिल्म थिए । ती सिनेमा–हलमा चल्ने फिल्म यस्ता हुन्थे, जसले बम्बईमा रिलिज भएर वर्षौंसम्म अल इन्डिया टुर गरिसकेको हुन्थ्यो र तिनका रिल पनि थोत्रिसकेका हुन्थे । ती पुराना फिल्म हेर्न पनि पाँच रुपैयाँको टिकटलाई पचास रुपैयाँसम्म तिर्थे दर्शक । त्यो ब्ल्याक टिकटको संसार बेग्लै थियो ।

यस्तो थियो यहाँको मनोरञ्जन–संसार । ती पुराना दिन थिए, जुनबेला बम्बईमा रिलिज भएकै दिन त्यहि फिल्म दस रुपैयाँमै काठमाडौंको गल्लीमा हेर्न पाइन्थ्यो । र, मजस्ता फिल्मका कीराहरू असाध्यै दंग पर्थ्यौं । सस्तो पाए जे पनि हेर्ने मजस्तै थिए स्थानीय दर्शक पनि । र, यस्तोमा ती साना टाकिजहरूमा फिल्म हेर्न मारामार हुनु अनौठो विषय थिएन ।

उतिबेला म आर.आर क्याम्पसमा पत्रकारिता पढ्न थालेको थिएँ । दिउँसो इनाप प्रेसमा (पत्रिकामा होइन) काम गर्थें, राति क्याम्पस पढ्थें । नेपालभाषाको साप्ताहिक ‘इनाप’ बुधबार प्रकाशित हुन्थ्यो । हामी मंगलबार रातैभरिजसो काम गर्थ्यौं । बुधबार आधा दिन सुत्थ्यौं । बाँकी आधा दिन मखनको कुनै कोठे टाकिजमा फिल्म हेर्थ्यौं । फिल्म प्रदर्शन गरिने सानो कोठा गजबको हुन्थ्यो । भुइँमा खुइलिएको, छेउ–कुना फाटेको, मैलो, पुरानो सुकुल ओछ्याइएको हुन्थ्यो । त्यहाँ दर्शक तन्मयसाथ पलेँटी मारेर यसरी बसेका हुन्थे मानौं ती मुङ्ग्रोले कुटेर गुन्द्रुक खाँद्न ठिक्क पारिएका कोचिएका सागका पत्रहरू हुन् । कोठैभरि पसिनाको अमिलो र मोजाको नमीठो गन्ध फैलिएको हुन्थ्यो । गन्हाउने अँध्यारो कोठा ! त्यसमाथि दर्शकको मुखबाट बुङ्बुङती उडिरहेको चुरोटको धूवाँ ! अनि कहिलेकाहीँ पेट खलास नभएका कुनै दर्शकले आनन्दले फुस्स छाडेको मन्द पादको गन्ध ! फिल्म हेर्नैका लागि सारा दर्शक साढे दुई घण्टासम्म शान्त भएर यी सबै सहन्थे ।

नयाँ फिल्म चल्दा कोठामा अतिरिक्त गुन्द्रक–कोचाइ हुन्थ्यो । मान्छे यति खाँदाखाँद हुन्थे कि एउटै फिल्म पाँच कोठामा पाँचै टेलिभिजन स्क्रिनमा प्रदर्शन गरिन्थ्यो । उतिबेला मखनटोलमा टाकिज सञ्चालन गर्ने स्थानीय विनोद तुलाधर फिल्मको पुरानो संसार सम्झिन्छन्, ‘नयाँ फिल्म लाग्यो कि महिनौंसम्म देखाइरहन्थ्यौँ । आम्दानी प्रशस्तै हुन्थ्यो ।’

उनलाई सम्झना भएसम्म हिन्दी फिल्म ‘कुर्बानी’ र ‘प्यार झुकता नहीं’ त्यतिबेला असाध्यै हिट थिए ।

ब्रुस्लीका फिल्महरू पनि अत्यन्तै हिट हुन्थे । एउटै डेकमार्फत् विभिन्न ठाउँमा स्क्रिन राखेर देखाइन्थ्यो । रिल राखिने डेक एउटा घरमा हुन्थ्यो भने फिल्म हेर्ने स्क्रिन अर्कै घरमा ! त्यसबेला मोबाइल, इन्टरनेटको प्रवेश भइसकेको थिएन नै, तर भारतमा कुन नयाँ फिल्म, कहिले, कहाँ रिलिज हुँदै छ भन्ने खबर काठमाडौंमा तुरुन्तै फैलिसकेको हुन्थ्यो । भारतमा रिलिज हुनेबित्तिकै त्यसको पाइरेसी कपी नेपाल पठाइहाल्ने एउटा सिन्डिकेटसमेत खडा भइसकेको थियो । त्यस्तो फिल्म रातारात नेपाल आइपुग्थ्यो । र, रातैभरिमा त्यसको सयौं कपी बनाएर विभिन्न भिडियो–टाकिजहरूमा बाँडिसकिएको हुन्थ्यो । त्यो काममा न्युरोडको फोटो कन्सर्न सबैभन्दा अगाडि थियो । पछि थपियो प्रमोद भिडियो । यसरी मखनटोलको यो अँध्यारो, चिसो, ओसिलो भिडियो–गल्लीले भारतको बम्बईसम्म आफ्नो कनेक्सन विस्तार गरिसकेको थियो ।

भिडियो प्रदर्शनको मुख्य थलो थियो– मखन । त्यसैले पछिपछि अन्य थलोमा खोलिएका भिडियो टाकिजहरूमा दर्शक अपुग हुन्थे र सञ्चालकहरू मखनसम्मै आउँथे दर्शक बोलाउन । फिल्म प्रदर्शन गरिने ती अन्य स्थान थिए– गुच्चा टोल, थहिटी, जहाँ मखनकै दर्शक पुग्थे । तुलाधरको सम्झनामा, स्वयम्भू क्षेत्रमा फिल्म देखाउन पनि मखनबाटै दर्शक लैजाने गरिन्थ्यो ।

ती भिडियो फिल्मका अक्सर दर्शक अत्यन्तै सामान्य पृष्ठभूमिका हुन्थे । तर, मलाई सम्झना भएसम्म त्यतिबेलाका वामपन्थी पृष्ठभूमिका केही साहित्यकारको एक समूह पनि ती फिल्मका नियमित दर्शक थिए । खासगरी नारायण ढकाल, श्यामल, विमल निभाहरू । उनीहरू मखनमा होइन, गुच्चाटोलमा प्रदर्शन गरिने एउटा छुट्टै खालको घरमा जाने गर्थे, जहाँ भारतमा बनाइने समानान्तर धारका फिल्म मात्रै प्रदर्शन हुन्थ्यो, जसलाई आर्ट मुभी भनिन्थ्यो । ‘अर्ध सत्य’, ‘अर्थ’, ‘अल्बर्ट पिन्टोको गुस्सा क्यूँ आता है’, ‘बाजार’, ‘सूत्रधार’, ‘कमला’, ‘सारांश’, ‘इक रुका हुआ फैसला’, ‘सुरज का सातवँ घोडा’ जस्ता फिल्म हेर्न पाइन्थ्यो 

त्यहाँ । उपत्यकाका कुनै पनि सिनेमा हलमा यी फिल्म चलेको मलाई थाहा छैन । एकपटक रञ्जना हलमा मन्नु भण्डारीको कथामा आधारित ‘रजनी गन्धा’ चलेको थियो । तर, दर्शकले सिट तोडफोड गर्न थालेपछि त्यो फिल्म एकै दिनमा हटाउनुपर्‍यो । माथि लेखिएका नामबाहेक मैले नचिनेका अन्य धेरै लेखक–साहित्यकारले पनि यस्तै भिडियो टाकिजमै गएर आर्ट मुभीको आनन्द लिएको हुनुपर्छ । म पनि अक्सर त्यस्तै टाकिजमा पुगिरहेकै हुन्थेँ ।

एकपटक गुच्चा टोलमै एउटा आर्ट मुभी हेर्न गएको थिएँ । लेखक रघु पन्त पनि पुग्नुभयो । फिल्म हेर्न चाहिने जति दर्शक भेला भइसकेका थिएनन् । त्यसैले ट्रेलरको रूपमा कुनै अंग्रेजी फिल्म देखाइँदै थियो । अंग्रजी फिल्म न हो, बीचमा ‘त्यस्तै’ दृश्य आइदियो । दर्शकहरू सबै चुप ! कसैले कसैको अनुहार हेर्न सकेनन् । म पनि लाजले रघु दाइको अनुहारै नहेरी निहुरिएर बसेको याद छ ।

मखनका टाकिजहरू भने मूलधारका हिन्दी फिल्मका लागि प्रख्यात थिए । जसले नयाँ फिल्म देखाउन सक्थे, उसैकहाँ ठूलो भीड लाग्थ्यो । ‘भीड लागेपछि पैसा त यसरी झर्थ्यो, मानौं घरको दलिनबाटै पैसाको वर्षा भइरहेको होस्,’ विनोद भन्छन् । दिनैभरि फिल्म देखाउँदा दैनिक १० देखि २० हजार रुपैयाँसम्म हात परिसकेको हुन्थ्यो । त्यतिबेला काठमाडौंको धर्मस्थलीमा जग्गाको भाउ प्रतिरोपनी जम्मा ५ हजार रुपैयाँ थियो । तर, काठमाडौंमा त्यो समय घर, जग्गालाई सम्पत्तिको रूपमा हेर्ने चलनै आइसकेको थिएन । जग्गा किनेर राख्नुपर्छ भन्ने धारणा पनि उस्तो विकास भइसकेको थिएन ।

काठमाडौंमा जग्गाको भाउ बढ्न थालेको वि.सं. २०४६ को जनआन्दोलनपछि मात्रै हो । आन्दोलनपछि जम्मै पार्टीका नेताहरूले काठमाडौंमा आ–आफ्ना कार्यकर्ता ओसार्न थालेदेखि यहाँ जग्गाको भाउ पनि उकालो लागेको हो । मखनमा भिडियो फिल्म देखाउने मालिकहरू त्यति पढे–लेखेका पनि थिएनन् । त्यसैले हात परेको नगद उनीहरूले सदुपयोग गर्न सकेको देखिँदैन । कमाएको पैसा सदुपयोगै गरे भने पनि एक थान टेलिभिजन स्क्रिन र एक थान डेक किन्थे साहुजीहरू । थोरैले मात्रै घर पनि किनेका छन्, तर त्यो सम्पत्ति जोड्न होइन, आफैं बसोबास गर्न ।

केही जान्नेहरूले चाहिँ ट्याक्सी र टेम्पो किनेर चलाए । विनोदले पनि सानै उमेरमा तीनवटा ट्याम्पो किनेर भाडामा चलाएका थिए । प्रतिटेम्पो दिनको सय रुपैयाँ घरमा आइपुग्थ्यो ।

त्यतिबेला सहकारी आइसकेका थिएनन् । त्यसैले केहीले आ–आफ्नो पैसा जम्मा गरी ढुकुटी खेल्ने चलन ल्याए । त्यतिबेला ढुकुटीको पनि खुबै बिगबिगी थियो । त्यो थियो कुनै योजनाबिनाको एक खाले बैंकिङ कारोबार । तर, कुनै आर्थिक नियम–विनियमबिना खेलाइने त्यस्ता ढुकुटी पछि धेरै डुबे । कतिपय सञ्चालक टाटै पल्टे ।

त्यसबेला टेलिभिजन स्क्रिन पनि अहिलेझैं सस्ता थिएनन् । निकै महँगो थियो टेलिभिजन । ३६ इन्चीवाला एउटा टेलिभिजनको मूल्य १ लाख ३० हजार जति पर्थ्यो । एउटा डेकको चाहिँ ३७ हजार जति पर्थ्यो । टेलिभिजनको यस्तो सेट जापानबाट आउँथ्यो । केही सोखिनको घरमा मात्रै यस्तो टीभी सेट हुनेगर्थ्यो । जग्गासँग तुलना गर्ने हो भने त्यतिबेला काठमाडौंको भित्री सहरमै जग्गा आनाको १ लाख पर्दैनथ्यो, टीभीचाहिँ एउटैको डेढ लाखजति पर्थ्यो ।

त्यतिबेला नयाँसडकमा फोटो सर्भिस चलाउने मेरा भिनाजु प्रेमकृष्ण मानन्धरले सुनाउनुभएको प्रसंग रोचक छ । उहाँले काठमाडौंको ताहाचलमा १०—१२ आना जति जग्गा किन्नुभएको रहेछ । जग्गा पूरै हिलाम्य थियो । पछि घर बनाउन सुरु गर्दा सँगैको एक टुक्रा जग्गा पनि किन्नुपर्ने भएछ । तर, हातमा पैसा थिएन । त्यसैले सँगैको जग्गाधनीलाई ३६ इन्चको एउटा टेलिभिजन दिएर तीन आना जग्गा लिनुभएछ । टीभीसँग जग्गा साटिएका यस्ता कथा बिस्तारै मिथ बन्ने क्रममा छन् । अहिले त्यो टेलिभिजनको अवस्था कस्तो छ ? त्यो थाहा भएन, तर भिनाजुको त्यस जग्गाको मूल्य आनाकै ७० लाख पुगेको छ ।

त्यतिबेला भिडियो किनेर घरमै राख्ने हैसियत सबैको थिएन । त्यसैले भिडियो स्क्रिन र डेक भाडामा लिन पाइन्थ्यो । एकै दिनको एक हजारदेखि दुई हजारसम्म तिनुपर्थ्यो । कमाइ नहुन्जेल भिडियो मालिकहरूले स्क्रिन र डेक भाडामा दिएर पनि फिल्म देखाए । स्क्रिन र डेक लिएर घर आएपछि ठीक समयमै त्यो फिर्ता पठाउनुपर्थ्यो । फिर्ता लैजान नपाई त्यो स्क्रिन भाडामा लैजान अर्को मान्छे पालो पर्खिरहेको हुन्थ्यो । राति २ बजेसम्म पनि स्क्रिन र डेक लिएर घर जान्थे मान्छेहरू । त्यतिबेला प्रतिव्यक्ति रु. २० देखि ३० सम्म लिएर एकै रातमा तीनवटा फिल्म देखाउने चलन पनि थियो ।

कहिलेकाहीँ राति भिडियो र डेक फिर्ता पुर्‍याउन ट्याक्सी पाइँदैनथ्यो । त्यस्तो बेला ठेलागाडामा राखेरै भए पनि स्क्रिन ढुवानी गर्नुपर्ने हुन्थ्यो ।

यसरी भिडियो फिल्म प्रदर्शनीको व्यापार राम्रै चलिरहेको थियो । यो व्यापारले त्यतिबेला ठूलै धक्का खायो, जतिबेला भिडियो साहुहरूले अझै बढी पैसा कमाउने लोभमा आफ्नै टाकिजमा पोर्न फिल्म पनि देखाउन सुरु गरे । त्यतिबेला पोर्न फिल्मलाई ‘ब्लु फिल्म’ भन्ने गरिन्थ्यो । मखन गल्लीमा चाहिँ त्यसको सांकेतिक भाषा थियो– ‘बम्फु फिल्म’ । गाडीमा सहचालक कराएजस्तै मखन गल्लीमा फिल्मको नाम लिएर किशोरवयका केटाहरू कराइरहेका हुन्थे । ती केटाहरूको दैनिक ज्याला ५० रुपैयाँ हुन्थ्यो भने तिनले बीचैमा ग्राहकबाट दैनिक ३०० जति कमाइसकेका हुन्थे । उनीहरूले उच्चारण गर्ने अंग्रेजी फिल्मको नाम बुझ्न नसकिने खाले हुन्थ्यो । नजिकै गएर सोध्दा उनीहरू नै प्रश्न गर्थे, ‘कम्फु हेर्ने कि बम्फु हेर्ने ?’ कम्फु भनेको लडाइँ झगडावाला चाइनिज फिल्म हुन्थ्यो । बम्फुचाहिँ तीन वर्गको हुन्थ्यो– एक्स, डबल एक्स र ट्रिपल एक्स । जे मन छ, त्यही हेर्न पाइन्थ्यो ।

यस्ता फिल्म प्रदर्शन हुन थालेपछि मखन गल्लीको नाम पनि बदनाम हुँदै जान थाल्यो । मखनका स्थानीय समाजसेवी विभोरलाल श्रेष्ठ भन्छन्, ‘ओहो, त्यतिबेलाको कुरा सम्झँदा अहिले पनि दिक्क लाग्छ । मान्छेहरू मखन गल्ली छिर्नसमेत डराउँथे । बाटो हिँड्ने बटुवाहरूलाई समेत ‘यो हेर्ने ?’ भन्दै नाकैसम्म ल्याएर नांगा फोटो भएको पोस्टर देखाउँथे मान्छेहरू । बटुवाहरू लाजले भुतुक्कै हुन्थे । महिलाहरू त झन् मखन गल्ली जानै नसक्ने भए । त्यति मात्र होइन, मखनको भिडियो गल्लीमा घर हो भनेपछि त्यहाँका छोरीबेटी माग्नसमेत कोही आउँदैनथे । यही भिडियोकै कारण कति केटीको बिहेसमेत हुन पाएन । कुनैबेला त्यति बदनाम थियो यो टोल ।’ स्थिति घीनलाग्दो र लाजमर्दो हुँदै गएपछि छिमेकीहरूले प्रहरीमा उजुरी दिन थाले । त्यसो त प्रहरीमा उजुरी दिइरहनुपर्ने विषय थिएन त्यो । किनभने यही भिडियो गल्लीको ठीक बगलमै काठमाडौं जिल्ला प्रहरीको कार्यालय थियो । प्रहरी कार्यालयको छतमै गएर नियाले पनि मखन गल्लीका नांगा पोस्टरहरू देख्न सकिन्थ्यो । तर, ‘घीनलाग्दा’ फिल्म प्रदर्शन गर्न प्रहरीसँग गरिएको सेटिङ भने फिल्मभन्दा पनि घीनलाग्दो थियो । त्यस्तो फिल्म देखाउने साहुहरूलाई प्रहरीको खतरा होइन, सुरक्षा प्राप्त थियो । किनभने मखन गल्लीका कतिपय भिडियोहरूमा हनुमानढोका प्रहरी कार्यालयकै हाकिमहरूको पनि लगानी हुन्थ्यो । श्रेष्ठ भन्छन्, ‘हाकिमहरूकै लगानी हुन्थ्यो, अनि कसरी कारबाही होस् ? प्रहरीले त्यसमा केही गर्न सकेन ।’

विनोद भन्छन्, ‘प्रहरीको त खुबै साथ थियो । सेटिङ भएपछि त्यही त हो नि ! तैपनि कहिलेकाहीँ पक्राउ परिन्थ्यो । तर, लास्टाँ फेरि त्यही हो । तर, पछि जनसेवा प्रहरी कार्यालयमा इन्स्पेक्टर भएर आएका विजयलाल कायस्थले ती सबै पोर्न फिल्म रोकिदिए ।’

विजयलाल प्रहरीको एआईजीसम्म बनेर अहिले रिटायर्ड भए । उनी स्थानीय क्षेत्रपाटीनिवासी हुन् । मैले उनलाई पनि भेटेरै सोधेँ, ‘त्यतिबेलाको भिडियो साम्राज्य कसरी तोड्नुभयो ?’

उनीसँग पनि अनौठा–अनौठा सम्झना रहेछन् । जिल्ला प्रहरी कार्यालयमा जति नै उजुरी परे पनि त्यो रोक्ने प्रयास नभएपछि स्थानीयहरू जनसेवा वडा प्रहरी कार्यालय गएका रहेछन् । उनले एक दिन जिल्ला प्रहरीलाई नै खबर नगरी नजिकैको मखनमा छापा हाने । एक भ्यान प्रहरी लिएर एकैचोटि तीनवटा भिडियो ‘हल’ मा छापा मारिएको थियो ।

उनी सम्झन्छन्, ‘तीन ठाउँमा छापा मारेको थिएँ । प्रहरी कम थियो, त्यसैले जसको भिडियो हो उसैलाई बोकाएर भ्यानमा हाल्न लगायौं । तर, तल पुग्दा त एउटा भिडियो गायब भइसकेको रहेछ । मखनजस्तो गल्ली नै गल्लीले भरिएको ठाउँ, कहाँ खोज्ने त्यो भिडियो ?’

तर, कायस्थ काठमाडौंकै रैथाने भएकाले खोज्न उति गाह्रो परेन । गायब भएको भिडियो अर्कै गल्लीको अर्को घरमा पुर्‍याइसकिएको रहेछ । त्यहाँ पनि छापा मारियो । तर, भिडियो भेटिएन । अन्तिममा थाहा भयो, भिडियोलाई घरको पूजा कोठामा लुकाइएको रहेछ । काठमाडौंको निजी घरको पूजाकोठामा बाहिरिया मान्छे छिर्न पाइँदैन । पुलिस छिर्ने त झन् कुरै भएन । धेरैपटकको करकापपछि बल्ल पूजा कोठा खोलियो । भिडियो त्यहीं भेटियो ।

यसरी नै फेरि दुई–चारपटक छापा हानेपछि मखनको त्यो सानो ‘बलिउड’ पूरै बन्द भयो । तर, मखनमा बन्द भए पनि काठमाडौंमा भिडियो देखाउने कामैचाहिँ अझै बन्द भएको थिएन । मखनमा ‘हल’ त बन्द भयो, तर दर्शक आउन बन्द भएन । त्यसरी मखन आइरहने दर्शकलाई गाडीमा हालेर लैजाने र रिंगरोडपारिको कुनै घरमा फिल्म देखाउने क्रम लामो समय चल्यो । कसैले मखनमा दर्शक बटुलेर ज्याठासम्म पुर्‍याउने, कसैले ढल्कोसम्म पुर्‍याउने काम पनि भइरह्यो । यसरी हल जम्मै बन्द भइसक्दा पनि मखन भने चलिरहेकै थियो ।

मखन गल्लीमा करिब सात वर्ष चलेको त्यो भिडियो युग केवल नाम–बदनाम र भीडभाडको मेलो थिएन, चार दशकअघि मुलुकमा प्रचलित मनोरञ्जन युगको एउटा जीवन्त दस्तावेज थियो । अहिले हात–हातमा मोबाइल छ, घरको कोठा–कोठामा भएको भिडियोसमेत मानिसले हेर्न छाडिसकेका छन् । त्यतिबेला स्क्रिनमा फिल्म देखाउन चलाउनुपर्ने डेक र डेकमा हाल्नुपर्ने पाल सिस्टमको रिल अहिले मनोरञ्जनको इतिहास लेख्ने स्रोत सामग्री बनिसकेको छ । त्यतिबेला पाल सिस्टमको रिल भाडामा दिने भिडियो पार्लरहरू पनि काठमाडौंमा छ्यापछ्याप्ती खुलेका थिए । एउटा रिलको भाडा एक दिनको २० रुपैयाँ पर्थ्यो । मानिसहरूका घरमा स्क्रिन भए पनि डेक हुँदैनथ्यो । तसर्थ डेक पनि भाडामै लिएर हेर्नुपर्ने अवस्था थियो ।

एकपटक मलगायत सुजीव बज्राचार्य र विजयकृष्ण श्रेष्ठ मिलेर एक रातका लागि डेक भाडामा लिएका थियौँ । फिल्म हेर्न हामीले तत्कालीन ‘विश्वभूमि’ दैनिकका सम्पादक अशोक श्रेष्ठको घर छान्यौं । खिचापोखरीस्थित उनको घरमा राति ९ बजे डेक लिएर हामी पुग्यौं । तर, दुर्भाग्य उनको स्क्रिनमा हाम्रो डेकको ज्याक मिलेन । निकै कोसिस गर्‍यौं, मिल्दै मिलेन । अब के गर्ने ? हामी डेक लिएर फर्क्यौं । आउँदै गर्दा बाटामा अरू कसैको घरमा जाने सल्लाह गर्‍यौं । दुई–तीन जना अरू साथीहरूको घरमा गयौं । तर, त्यहाँ पनि विभिन्न समस्या आए । कतै बत्ती थिएन, कतै ज्याक मिलेन, कतै रातभरि फिल्म हेर्ने वातावरण भएन । डेकलाई मिल्दो स्क्रिन खोज्दा–खोज्दै रातको १२ बजिसकेको थियो । डेक साथमा थियो, तीनै जना आतुर थियौं । १२ बजे असन डबलीमा बसेर अब चौथौ घर कुन होला भनेर सोच्न थाल्यौं । त्यतिकैमा विजयकृष्णले भने, ‘ल भो, म फिल्म हेर्दिनँ । म गएँ ।’ सुजीवले भने, ‘पख्नु न एक छिन, तीन सय हालेर डेक ल्याएका छौँ । कसरी नहेर्ने फिल्म ?’ विजयकृष्णले हैरान हुँदै भने, ‘ल उसो भए डेकको तीन सय म तिर्दिन्छु, अहिले मलाई जान देऊ ।’ उनको हैरानीपूर्ण जवाफ सुनेर हामी मरीमरी हाँस्यौं । सम्झँदा अहिले पनि हाँसो उठ्छ । विजयकृष्ण त गइहाले, सुजीव र म रातैभरि डेक च्यापेर असन—भोटाहिटी गरिरह्यौं ।

अहिले युग बदलियो । सहरमा कम्प्युटरसँगै सीडी भित्रियो । सीडी पसेपछि डेकमा चलाइने पाल सिस्टमको रिल हरायो । सीडीले साम्राज्य फैलाउन नपाउँदै युट्युबको प्रवेश भयो । अनि ती सीडी पनि हराए । अहिले युट्युब जो आएको छ, त्यसमा चाहिँ हामी हराइरहेका छौं ।

प्रकाशित : मंसिर ३, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

निवर्तमान ‘देवीदेवता’

जीवित बालिकालाई कुमारी मानेर पूजा–आराधना गर्ने चलन अरु नगरमा पनि छ । तर, जीवित बालकलाई श्री गणेश र श्री भैरवका रुपमा पूजा गर्ने परम्परा काठमाडौंमा मात्रै छ ।
सुरेश किरण

एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।

नेसं ८०८ तिर काठमाडौंबाट भागेर भक्तपुर लुक्न गएका भारदार भागिराम काजीलाई ‘सुपुर्दगी गर’ भनी पाटन र काठमाडौंका काजीहरूले भक्तपुरलाई अनुरोध गरे । तर, भक्तपुरले सुपुर्दगी गरेन । त्यसैले भागिरामलाई पक्रिन पाटन र काठमाडौंका काजीहरूले भक्तपुरमा आक्रमण गरे । युद्ध भइरहेकै बेला इन्द्रजात्रा सुरु भयो । काठमाडौं र पाटनका काजीहरू युद्ध स्थगित गरी काठमाडौं फर्किए र धुमधामसँग इन्द्रजात्रा मनाए । अनि जात्रा सकेपछि फेरि आक्रमण गर्न गए र भागिरामलाई फिर्ता लिएर आए (पं. देवीप्रसाद लम्साल, भाषा वंशावली (दृतीय भाग), विसं २०२३) ।

नेपाली इतिहासमा मल्लकालीन राजाहरूका लागि इन्द्रजात्रा कति महत्त्वपूर्ण पर्व रहेछ ? माथिका दुई दृष्टान्तले नै सविस्तार वर्णन गर्छन् । मल्लकालमा इन्द्रजात्रा अत्यन्तै महत्त्वसाथ मनाउने गरिन्थ्यो भन्ने कुरा त्यस समयका थुप्रै अभिलेखमा इन्द्रजात्राबारे उल्लेख गरिएबाटै थाहा हुन्छ । मल्लकालीन नेपालका धेरै स्थानमा त्यस्ता धेरै शिलापत्र प्राप्त भएका छन्, जसमा इन्द्रजात्रा मनाउन जग्गा आयस्ता राखी गुठीको समेत व्यवस्था गरिएको छ (डा. अजयक्रान्ति शाक्य, सुरेश किरण मानन्धर, इन्द्रजात्रा, विसं २०७७) ।

मल्लकालमा इन्द्रजात्रा भव्यतापूर्वक मनाउने क्रम अन्तिम मल्ल राजा जयप्रकाशको समयसम्मै जारी रह्यो । जयप्रकाशले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो– जीवित देवी श्री कुमारीको रथयात्रा । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश र श्री भैरवको रथ पनि तानिन्छ । जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ । तर, जीवित बालकहरूलाई श्री गणेश र श्री भैरवका रूपमा पूजा गर्ने परम्परा भने काठमाडौंमा मात्रै छ । यो परम्परा स्थापना पनि जयप्रकाश मल्लले नै गरेका थिए ।

जीवित देवी श्री कुमारी काठमाडौंका शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिएजस्तै श्री गणेश र श्री भैरव पनि काठमाडौंका शाक्य कुलपुत्रमध्येबाटै छानिन्छ । श्री कुमारी बस्ने छुट्टै आवास (कुमारी घर) को व्यवस्था छ, तर श्री गणेश र श्री भैरव भने आ–आफ्नै घरमा बस्छन् । आफ्नै घरमा बसे पनि उनीहरूले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तो ः देवता भइरहुन्जेल कपाल काट्नु हुँदैन, गणेशले सेतो जामा र भैरवले नीलो जामाबाहेक अर्को पोसाक लगाउनु हुँदैन, विद्यालय जाँदा पनि त्यही पोसाक लगाएर जानुपर्छ, जुठो खानु हुँदैन, खोला तर्नु हुँदैन, आफ्नोबाहेक अरूको घरमा रात काट्नु हुँदैन, भोज जानु हुँदैन, शरीरमा रगत आउने गरी घाउ–चोटपटक लगाउनु हुँदैन ।

एकपटक छनोट भइसकेपछि करिब १०–११ वर्षसम्म उनीहरू ‘देवता’ कै आसनमा विराजमान हुन्छन् । ‘देवता’ रहुन्जेल प्रत्येक वर्ष इन्द्रजात्राका तीन दिन रथयात्रा गराइन्छ । मानिसहरू उनीहरूलाई द्यः मय्जु वा द्यः भाजु भनी ढोग्न आउँछन् । पैसा चढाउँछन् । पूजा पनि गर्छन् । देवताकै रूपमा सम्मान गर्छन् ।

अनि देवताको आसनबाट झरिसकेपछि के हुन्छ ? दुई वर्षअघि मात्रै ‘देवता’ बाट निवृत्त भएका निवर्तमान गणेश संवेग शाक्य भन्छन्, ‘त्यसपछि त इजी लाइफमा जाने हो । देवता हुँदा नियममा बस्न गाह्रो छ । अहिले त्यस्तो छैन ।’

उनीसँगै निवृत्त भएका निवर्तमान भैरव रुजन शाक्य भने ‘देवता’ को आसनमा नरहेपछि लाइफ इजी भए पनि पाइरहेको सम्मान भने गुमेको महसुस गर्छन् । भन्छन्, ‘पहिले बाटामा हिँड्दा मानिसहरू हामीलाई पोसाकले नै चिन्दथे । हातमा पैसा राखेर ढोग्न आउँथे । छुट्टै पर्सनालिटी हुन्थ्यो । अहिले बाटो हिँड्दा कसैले चिन्दा पनि चिन्दैन, वास्ता पनि गर्दैन ।’

अहिले दुवै निवर्तमान ‘देवता’ घर–परिवार र टोल–छिमेकमा घुलमिल हुँदै सार्वजनिक जीवन जिउने प्रयासमा छन् । दुई वर्षअघिसम्म आजका दिन यी दुवै ‘देवता’ लाई रथयात्राको तयारीमा भ्याईनभ्याई भइरहन्थ्यो । यसपालि यी ‘देवता’ हरूले वसन्तपुरकै कुनै घरको आँखिझ्याल वा छतमा बसेर श्री कुमारीको रथयात्रा अवलोकन गर्नेछन्, सर्वसाधारणसरह ।

उनीहरूसँगै कुमारीको आसनमा पुगेकी निवर्तमान कुमारी मतिना शाक्य भने आजभन्दा ५ वर्षअघि नै ‘देवी’ आसनबाट निवृत्त भइसकेकी थिइन् । कुमारी रहुन्जेल उनी सधैं कुमारी घरमा थिइन् । त्यसैले सार्वजनिक जीवनमा आउन उनलाई अलिकति गाह्रो भएको थियो । काठमाडौंका टोलहरूको नामसमेत उनलाई थाहा थिएन । तर, परिवार, स्कुल र अन्य आफन्तको सहयोगले उनको त्यो अप्ठ्यारो लामो समय रहेन । अहिले उनी सामान्य भइसकिन् ।

संयोग नै भन्नुपर्छ, हालैको गुँला पर्वमा यी तीनै निवर्तमान देवीदेवता परम्परागत धाः बाजा र बाँसुरी बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्दै गरेका भेटिए । प्रत्येक वर्ष श्रावण महिनाभरि उपत्यकाका बौद्ध नेवारहरू स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध स्मारक गई स्तोत्र पाठ गर्छन् । र, धाः बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन्, जसलाई गुँला पर्व भनिन्छ । यस वर्ष गुँला पर्वमा यी तीनै जना निवर्तमान देवी–देवता आ–आफ्ना परम्परागत बहाःको बाजा खलःमा सम्मिलित भई स्वयम्भू महाचैत्य परिक्रमा गर्न भेला भएका थिए । मतिना बाँसुरीमा पोख्त थिइन् भने संवेग र रुजन धाः बाजामा निपुण थिए । तीनै जनाले आ–आफ्नै बहाःको गुठीले प्रदान गरेको प्रशिक्षणमा ती बाजा सिकेका थिए ।

संवेग त गितारमा पनि उतिकै सिपालु छन् । ‘देवता’ रहेकै बेला उनले घरमा गितार सिकेका थिए भने एकपटक सिटी सेन्टरमा भएको सांगीतिक कार्यक्रम पनि हेर्न पुगेका थिए । ‘देवता–देवी’ आसनबाट निवृत्त भई सार्वजनिक जीवनमा पदार्पण हुनेबित्तिकै यी तीनै जना सार्वजनिक क्रियाकलापमा पनि अभ्यस्त हुँदै छन् । उनीहरूको सहभागिताले सम्बन्धित बहाःको बाजा खलःको पनि शोभा बढेको बताउँछन् इतुम्बहालका अभियन्ता प्रतापमान शाक्य ।

यी निवर्तमान देवी–देवताको सवालमा एउटा साझा विषय के पनि भइदियो उनीहरू तीनै जना अहिले १७ वर्षका भए । तीनै जना १२ कक्षा पढिरहेका छन् । र, तीनै जनाको मूल विषय कम्प्युटर साइन्स हो ।

निवर्तमान गणेश संवेग शाक्यको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । निवर्तमान भैरव रुजन शाक्य ग्राफिक्स डिजाइनर बन्छु भन्छन् । निवर्तमान कुमारी मतिना शाक्य भने सबै क्षेत्रमा कम्प्युटर अनिवार्यजस्तै भइसकेकाले कम्प्युटर साइन्सलाई सीमित क्षेत्रमा राखेर नहेर्ने बताउँछिन् । कुमारीको आसनबाट झरिसक्दा पनि उनी अक्सर कुमारी घर पुगिरहेकै हुन्छिन् । सबै पूर्वकुमारीलाई कुमारी घरमा छोरीको रूपमा सम्मान दिइन्छ । चाडपर्वहरूमा पूर्वकुमारीलाई छोरीसरह नख्त्या बोलाउने गरिन्छ ।

हाल कुमारी घर रहेकी वर्तमान कुमारीसँग पनि निकै राम्रो घुलमिल भएकाले मतिना अक्सर उनीसँग खेल्नैका लागि कुमारी घर पुगिरहेकी हुन्छिन् । वर्तमान कुमारी मतिनालाई ‘द्यःतता (देवी दिदी)’ भनेर सम्बोधन गर्छिन् । हाल मतिना शाक्यसमेत गरी ९ जना पूर्वकुमारी जीवित छन् । पूर्वगणेश ७ जना र पूर्वभैरव ८ जना जीवित छन् । काठमाडौं महानगरपालिकाले जीवित पूर्वकुमारीलाई मासिक १५ हजार रुपैयाँ र जीवित पूर्वगणेश एवं पूर्वभैरवलाई मासिक १२ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : भाद्र २५, २०७९ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×