३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फर्मुलाले पढन्ते बनाए, बुझन्ते बनाएनन्

कान्तिपुर संवाददाता

रमेश भुसाल ‘द थर्ड पोल’ नामक वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय अनलाइनका नेपाल सम्पादक हुन् भने वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल ‘अर्थ जर्नलिज्म नेटवर्क’ का दक्षिण एसिया संयोजक हुन् ।

फर्मुलाले पढन्ते बनाए, बुझन्ते बनाएनन्

जंगलको कथा

अहिले म जिम कोर्बेटको किताब ‘द र्फुचुनेट टाइगर’ दोस्रो पटक पढिरहेको छु । सन् १८७५ मा भारतको नैनीतालमा जन्मेका नामुद सिकारी कोर्बेट पछि विश्वविख्यात बाघ संरक्षणकर्मी भएका थिए । म एकै पटक विभिन्न किताब पढ्छु । किताबहरू विभिन्न ठाउँहरूमा राख्छु । जस्तो सुत्ने पलंगको छेउमा आख्यान वा यात्राको किताब, झोलामा भने थोरै समय भए पनि झिकिहालौंजस्तो लाग्ने रोचक किताब । काम गर्ने टेबल छेउछाउ इतिहास, आत्मवृत्तान्तजस्तो एकाध पृष्ठ सधैं पढ्दा पनि फरक नपर्ने र जहिले सकाए पनि हुने खालका किताब राख्छु ।

सन् १९३० अप्रिल ११ लेखेर जिम कोर्बेटले गढवालको नक्सामा एउटा चिह्न लगाउँछन् । त्यो उनले मारेको मान्छे खाने बघिनीको मृत्युको मिति हुन्छ । त्यो मिति लेख्नु केही घण्टाअघि कोर्बेट र बघिनीबीचको दूरी आठ फिट थियो । उनलाई देखेर बघिनी मुस्कुराएजस्तो देखिन्थी, जसरी आफ्नो मालिक देख्दा कुकुर खुसी हुन्छ । कोर्बेटको दाहिने हातमा बन्दुक हुन्छ र देव्रे हातमा केहीबेर अघि लिएको चराको अण्डा । शरीरमा भिरेको बन्दुकको ट्रिगरमा औंला हुन्छ । तर, त्यो बन्दुकको नालले अगाडि उभिएकी बघिनीलाई लाग्ने गरी हान्न एउटा गोलाकारको तीन चौथाइ घुमाउनुपर्ने हुन्छ, तर यसरी घुमाउनुपर्ने हुन्छ कि बघिनीले चाल नपाओस् र नाल चलेको देखेर असुरक्षित महसुस गरी आक्रमण गरिनहालोस् । बघिनीले एकटकले कोर्बेटलाई हेरिरहन्छे र कोर्बेट पनि उसलाई हेरिरहन्छन् । जब कोर्बेटको हातले धीमा गतिमा घुमाएको बन्दुकको नालबाट निस्केको गोली बघिनीको शरीरमा पुग्ने पक्का हुन्छ आँखा जुधाइरहेका कोर्बेट ट्रिगर दाब्छन् । बघिनी त्यसपछि पनि केहीबेर उभिइरहन्छे र टाउको जमिनतिर पारेर लड्छे । ६४ जना मान्छे खाइसकेकी चौघरकी बघिनी मार्न उनले १९ दिन जंगल चहारेका हुन्छन् । १५० मान्छे खाएकी गढवालको तल्ला देशकी बघिनी होस् वा दवीधुरामा आठ पटक भेटेको, तर नमारेको भाग्यमानी बाघ होस्, कोर्बेट तिनका रहस्यमय कथा लेख्छन् ! दवीधुराको त्यो बाघले उनलाई अन्तिम भेटमा आधा घण्टा आँखा तरेर, सिकार पनि खाएर कोर्बेट बसेको रूखमा आइपुगेर, आफ्ना खुट्टाले खोस्रेर हिँड्छ, तर मार्ने वातावरण हुँदाहुँदै पनि त्यसको भाग्य बलियो रहेछ भनेर उनी मार्दैनन् । ‘द फर्चुनेट टाइगर’ त्यस्तै घटनाहरूको सँगालो हो ।

सय वर्षअघि जतिबेला एसियाका जंगलमा लाखभन्दा बढी बाघ थिए त्यो बेला मान्छे खाने बाघ मार्न कोर्बेट महिनौं एक्लै रातबिरात भारतको गढवालका जंगलमा हिँड्थे । कहिले तीन दिनसम्म पनि भोकै हिँड्थे त कहिले रूखका हाँगामा बाघ कुरेर जुनेली रातहरू बिताउँथे । अनेकौं पटक आफैं मृत्युको मुखमा पुगेर बाँचेका र हजारौं मानिसलाई बाघको मृत्युको मुखमा पुग्नबाट जोगाएका कोर्बेटको सिकार–यात्राभन्दा पनि उनले विकास गरेको जंगल बुझ्ने क्षमता र ज्ञान लोभलाग्दो छ । उनले लेखेका छन्, ‘मलाई अहिले पनि बाघको दाँत र पन्जासँग उत्तिकै डर लाग्छ जतिबेला म पहिलो पटक बाघ मार्न निस्केको थिएँ, तर कालान्तरमा मैले एउटा कुरा सिकें । त्यो के भने केसँग डराउने र केसँग नडराउने भन्ने ज्ञान मैले जंगल चहारेर बुझें । सुरुमा रातमा जंगलमा हिँड्दा मलाई जुन आवाजसँग पनि डर लाग्थ्यो तर मैले त्योमध्ये कुन खतराको संकेत हो, कुन होइन छुट्याउन सक्ने भएँ । त्यसपछि म डराउनुपर्ने कुराको सूची स्वाट्टै घट्यो ।’ उनी भन्छन्, ‘जंगल कुनै त्यस्तो विज्ञान होइन जुन किताब पढेर बुझ्न सकियोस् । त्यो यस्तो कुरा हो, जुन भोगेर मात्रै त्यो पनि थोरै थोरै गरेर बुझिन्छ र बुझ्ने कुरा अनन्त हुन्छ । त्यो नै जंगल बुझ्ने फर्मुला हो ।’

छैटौं लोप

मान्छेको सबैभन्दा भाग्यमानी पुस्ता र सम्भवतः अभागी पुस्ता अहिले बाँचिरहेको छ । पृथ्वीमा विगतका पचास करोड वर्षमा पाँच पटक ठूला सामूहिक लोप भएका थिए । हजारौं हजार प्राणी तथा वनस्पति एकै पटक लोप भएका थिए । अहिले पनि लोप हुने गति व्यापक छ र त्यसलाई छैटौं सामूहिक लोप भन्न मिल्छ । तर, फरक के छ भने योभन्दा अगाडिका लोपहरू प्राकृतिक थिए, तर अहिलेको लोपको कारण भने मानिस हो । एलिजावेथ कोलबर्टले लेखेको ‘द सिक्स्थ एस्क्टिंगसन’ मा उनले अहिलेको सामूहिक लोपको शृंखलालाई निकै मिहिन तरिकाले उनेकी छन् । एक तरिकाले हेर्दा मानिस अहिले विकासको उच्चविन्दुमा छ । मानव इतिहासमा यो पुस्ता सबैभन्दा भाग्यमानी हो किनभने योभन्दा अगाडिको पुस्ता पृथ्वीको पूर्ण आकारको तस्बिरसमेत नदेखी मर्‍यो । पृथ्वी नचहारी मर्‍यो वा कुनै अर्को देश वा महादेशका मान्छेलाई देख्न त परै जाओस् हेर्न र बोल्न पनि नपाई मर्‍यो । मानव इतिहासको सबैभन्दा भाग्यमानी यो पुस्ता एकाएक अभागी पुस्ता पनि बन्दै छ किनभने जेमा उसले गर्व गरिरहेको थियो त्यो नै विनाशक बनेर निस्कियो । पृथ्वीको समग्र तापक्रम नै बढाउनेसम्मको काम एउटा मानिस भन्ने प्रजातिले गर्‍यो । हजारौंहजार अन्य प्रजातिलाई लोप गरायो र गराउँदै छ । व्यक्तिगत रूपमा हेर्दा मानिस एकदम आरामदायी अवस्थामा छ, तर सामूहिक रूपमा हेर्दा मानिस एकदमै डरलाग्दो अवस्थामा छ वा चिन्ताजनक ।

ढुंगामाटो : इतिहास बुझ्ने बाटो

मार्सिया बार्नुडले लेखेको ‘रिडिङ द रक्स : द अटोबायोग्राफी अफ द अर्थ’ किताबका कतिपय कुरा मैले विश्वविद्यायलमै पढेको थिएँ । तर, त्योबेला घोकेका परिभाषाले ममा प्रश्न खडा गरिदिएका थिएनन् । चित्र कोरेर, अक्षर लेखेर, पाना भरेर मैले राम्रो अंक ल्याएँ, तर अहिले फर्केर हेर्दा आफैंलाई ‘ज्या’ भन्ने लाग्छ । मार्सियाको किताबले मलाई भूगर्भ विज्ञानलाई इतिहाससँग जोडेर हेर्न सिकायो ।

ढुंगामाटो पृथ्वीका सबैभन्दा टिकाउ वस्तु हुन् र तिनले समग्र पृथ्वीको कथा बोकेर बसेका हुन्छन् । आधुनिक विज्ञानले ती ढुंगामाटोभित्र पसेर तिनले राखेका बहुमूल्य सूचना पत्ता लगाउने क्षमता विकास गरेको सय वर्ष पनि भएको छैन । आँखाले जे देख्यो त्यो नै अन्तिम सत्य लाग्ने बेला थियो त्यो । मान्छेले चन्द्रमाबाट पृथ्वीको पूर्ण आकार देखेको सय वर्ष कटेको छैन ।

हामीलाई चीनले तिब्बत गाभेको कुरा कत्रो इतिहास लाग्छ, बेलायत भारत पसेको इतिहास कति सुदूर लाग्छ वा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाताकाको सूचना पनि हामीसँग छैन । ढुंगामाटो वा रूखले दिने एतिहासिक सूचना हेर्दा त मानव इतिहासका कालखण्ड हिसाबै नगरे हुने अवस्थाको लाग्छ । यो पृथ्वीको बृहत् प्रणाली, यसले भोगेको इतिहास जति पढ्यो उति रोचक लाग्छ । जति बुझ्यो उति कम लाग्दै जान्छ । मार्सियाले पनि सामान्य भाषामा ढुंगामा लेखिएको इतिहास कोरेकी छन् ।

बाल्यकाल कहिल्यै नर्फकोस्

धेरैलाई ‘आफ्नो बाल्यकाल फर्केर आइदिए हुन्थ्यो’ भन्ने लाग्छ भनेको सुन्छु, तर मलाई मेरो बाल्यकाल कहिल्यै नर्फकियोस् र कसैले पनि मेरोजस्तो बाल्यकाल विताउन नपरोस् भन्ने लाग्छ । म जन्मिनुअघि नै बुबाको मृत्यु भएपछि सामाजिक परिवेशसँग जुध्न नसकेर र मलाई पढाउने उद्देश्यले आमाले मलाई २०४६ सालमा पर्वतबाट काठमाडौं ल्याउनुभएको थियो । हामीसँग दुई ज्यानबाहेक केही थिएन । जेनतेन बोर्डिङ स्कुलमा पढाए पनि आमाले खोलेको चियादोकानमा सहयोग गर्नुपर्ने हुनाले न मसँग पढ्ने समय हुन्थ्यो न मुस्किलले किनेका एक झोला किताबबाहेक अरू कुनै किताब किन्ने क्षमता थियो । यतिसम्म कि मैले कक्षा आठमा पढ्दा स्कुलबाट एक सेट किताब चोरेको थिएँ । माथिल्लो क्लासमा पुगेको दुई महिना भइसक्दा पनि किताब किन्ने पैसा नहुँदा म बिनाकिताब स्कुल गइरहेको थिएँ । एक दिन चाँडै पुगेछु । किताब राखेको कोठाको चाबी गार्ड दाइले लगाउन बिर्सेका रहेछन् । मैले त्यो कोठाबाट एक सेट किताब चोरेर झोलामा हालें र दिनभरि कक्षामा बसें । अहिले सम्झँदा डर लाग्छ । यदि ति किताब चोरेको कुरा त्योबेला स्कुलमा थाहा भएको भए सायद म लाजले स्कुल जानै छाड्थेँ ।

अहिले भने मैले धीत मर्ने गरी बालकथाहरू पढिरहेको छु । हाम्री छोरी छ वर्षकी छन् । म घरमा भएका बेला मैले किताब पढेर नसुनाएसम्म पटक्कै सुत्न मान्दिनन् । घरीघरी त लाग्छ, आफू बालखा हुँदा पढ्न नपाएको शोधभर्ना अहिले भइरहेको छ । ‘द गिभिङ ट्री’ भन्ने किताब मैले छोरीलाई लगभग दुई सय पटक पढेर सुनाएँ होला । नेपाली भाषामा राम्रा बाल किताबको कति खाँचो रहेछ भन्ने बल्ल बुझ्दै छु ।

सेरोफेरो बुझ्न किताब

म विज्ञानको विद्यार्थी हुँ । मेरो पढाइको अधिकांश समय विज्ञानका फर्मुला पढेर बित्यो । तिनले मलाई पढन्ते त बनाए, तर बुझन्ते पटक्कै बनाएनन् । अहिले परीक्षामा पढ्नेजस्तो हतार गर्नु छैन त्यसैले म निकै ढिलो पढ्छु, किताबैभरि केरमेट गरेर ।

म आफैंले आफैंलाई प्रश्न गर्न सक्ने बनाओस् भन्ने हेतुले किताब पढ्छु । जति अरूलाई प्रश्न गर्छु, त्यति नै आफूलाई प्रश्न गर्न खोज्छु । जुन प्रश्न अरूलाई तेर्स्यायो, त्यो आफैंतिर फर्काउँदाचाहिँ आफ्नो प्रतिक्रिया कस्तो हुन्छ भनेर हेर्ने समाज बन्नु जरुरी छ । अहिले सहरमा दुई सय मिटर हिँड्दा कम्तीमा दसवटा औषधि दोकान र दसवटा मदिरा दोकान भेटिन्छन्, तर दुई किलोमिटर हिँड्दा पनि एउटा गतिलो पुस्तक पसल भेटिँदैन । पुस्तकालयको त कुरै भएन । मलाई लाग्छ, हामीलाई दिइरहेको किताबी ज्ञानले कुनै पनि कुराको गहिराइमा पुर्‍याउन सकेको छैन र झन् ढोंगी बनाउँदै छ । आफैंले आफैंलाई ढाँट्ने समाज निर्माण हुँदै छ । सेरोफेरो बुझ्ने ज्ञान त हामीसँग न्यून नै छ भन्दा हुन्छ ।

विगतका केही वर्षहरूमा पढेका किताबले मलाई थप जिज्ञासु बनाएका छन् । एउटा के कुरा सत्य रहेछ भने पृथ्वी मसिना प्रणालीका तान्द्राहरूको गठजोड हो, त्यसैले कुनै एउटा प्रणालीमा आउने फेरबदलले समग्र जालोलाई नै बिगार्छ । जस्तो अहिलेको पृथ्वीको बढ्दो तापक्रम । त्यसको समाधान गर्न अहिले चरम विभाजित मानव समाजले सक्लाजस्तो लाग्दैन । हरेक मानिसका तीनवटा दायरा हुन्छन्– पहिलो आफू, दोस्रो आफ्नो समाज वा बृहत्तर मानव समाज, तेस्रो ती दुईलाई निर्देशित गर्ने पृथ्वी र जीवन सञ्जालमा जोडिएका अन्य लाखौं वन्यजन्तु अनि वनस्पति । हामी धेरै समय आफू र समाजको कुरामा बिताउँछौं, तर बिस्तारै–बिस्तारै तेस्रो पक्षलाई बेवास्ता गर्दै छौं, जुन चिन्ताको विषय हो । त्यो तेस्रो पक्ष एकदम महत्त्वपूर्ण छ । त्यो नबुझी न आफैंलाई बुझिन्छ न आफ्नो समाज नै ।

प्रकाशित : कार्तिक २६, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?