कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

चुनाव : दृश्यहरूको अमूर्त मञ्चन

एउटा चोकको फ्लेक्समा लेखिएको थियो– दल बदल्दाबदल्दै हैरान हुनुहुन्छ ? अब नहुनुस् ! जुन दलमा हुनुहुन्छ, सोही रंग अनुसारको कपडा हामी सिलाइदिन्छौं ।
जनकराज सापकोटा

डिस्क्लेमर : यो कुनै कथा होइन । एउटा आम मान्छेको निदहराम गर्ने सपना र त्यसमा दोहोरिइरहने दृश्यहरूको उतार अर्थात् डिकोड हो । यहाँ प्रयुक्त पात्र तथा प्रवृत्ति काल्पनिक होइनन् । कुनै उम्दा कथाकारको अथक साधनापछि ती दृश्य जन्मेका होलान् भनेर पनि नसोच्नुहोला । उल्लिखित दृश्य कोही कसैको जीवनसँग मिल्न गएमा त्यो संयोग हुनेछैन ।

चुनाव : दृश्यहरूको अमूर्त मञ्चन

अनाम देशमा चुनावी हावा चलिरहेको थियो । त्यो हावा सामाजिक सञ्जालबाट, सार्वजनिक मन्तव्यबाट, सहरमा बढिरहेको माला र खादाको बिक्रीबाट, टेन्ट हाउस र साउन्ड सिस्टम भाडामा लगाएर जहान केटाकेटी पालिरहेको साहुजीको खुसीबाट, कार्यकर्ता ओसारपसारमा गुडिरहेका भाडाका गाडीका साहुजीको अनुहारबाट प्रकट भइरहेको थियो । अनि चर्को धूपमा अचानक वर्षा भएपछि सतहमा प्रकट भएका सर्प र भ्यागुताझैं चुनावको तातो हावापछि सतहमा खपहरू, ददाहरू (कुमार नगरकोटीको भाषामा) पनि उत्तिकै प्रकट भएका थिए । खप अर्थात् खल्तीका पत्रकारहरू । ददा अर्थात् दल दासहरू ।

कुनै कुराको पूर्वअनुमान लगाउन सकिने समय थिएन । मौसम पूर्वअनुमान महाशाखाका कर्मचारीहरू चुनावी मौसमका कुनै पनि दृश्यहरूको आँकलन गर्न सकिरहेका थिएनन् । पश्चिमी वायुको प्रभाव कति बेला पर्छ ? बंगालको खाडी कति बेला सक्रिय हुन्छ ? मतदातामा चक्रवात कसरी प्रकट हुन्छ ? कसको आङमा तुषारो पर्छ ? कसको सपनालाई षड्यन्त्रको खोलाले बगाउँछ ? हुरीले कुन दलको मान्छे कुन दलको झन्डामुनि लड्न पुग्छ ? कुनै टुंगो थिएन । उत्तरी र दक्षिणी वायुको चाप कसको पिठ्युँपछाडि सोझै पर्छ र को–कसको पाउमा पुगेर लम्पसार पर्छ ? यी सबै अनुमान महाशाखाको काबुबाहिरका विषय थिए ।

ठूलो हुन्डरी आउनुअघिको सन्नाटाजस्तो थियो, मनोनयन दर्ताको अघिल्लो साँझ । वायुमण्डलबाट पूरै दृश्य गायब थियो । तर, पर्दापछाडिबाट अनेकन् ध्वनि निरन्तर प्रकट भइरहेका थिए । मान्छेहरू यिनै ध्वनि डेसिबलका आधारमा अनुमान लगाइरहेका थिए । सूचना र प्रविधिका जानकारहरू भने ध्वनिहरूको विश्लेषण गरेर ती हतारसँग कुदिरहेका मान्छेका पाइतालाका आवाजहरू हुन् भन्ने अड्कल सुनाइरहेका थिए । यही अड्कलका आधारमा उनीहरू भनिरहेका हुन्थे, बालघाट बालुवाघाट र खुमलघाटतिर पाइतालाका हूलहरू कुदिरहेको हुन सक्ने देखिन्छ । बालघाटतिर हिँडेका खुट्टा बीचैबाट बालुवाघाट वा खुमलघाट पनि पुग्न सक्थ्यो । अथवा यसमा जस्तोसुकै अदलबदल पनि हुन सक्थ्यो । किनकि खुट्टाहरू दिमागको आदेशमा हिँडिरहेका थिएनन्, अतृप्त आवेगमा चलिरहेका थिए ।

अनुमानहरू सुनिन्थ्यो, गुटगुटका भेलाहरूमा क्यालकुलेटर बोकेर उपस्थित भएकाहरू आ–आफ्नो अंकगणितको भरमग्दुर कलागिरी देखाइरहेका होलान् । केही मान्छेहरू दुवै हात चुर्लुम्मै तेलमा डुबाएर कसैका पाइतालाहरू खोज्दै सडकमा निस्किएका होलान् । ती हातहरूले कसका पाइताला भेटे, तिनले कति समय तेल मालिस गरे र त्यसबाट के प्रकट भयो भन्ने कुरा मनोनयनपछि नै सतहमा देखिनेवाला थियो ।

मनोनयनपछि मौसम केही खुल्यो । सतहमा केही दृश्यहरू पनि प्रकट भए । केही जोर जुत्ताहरू सडक छेउछाउमा अलपत्र अवस्थामा भेटिए । ती जुत्ताका खुट्टाहरू कहाँ गए भन्ने कुनै नामोनिसान थिएन । प्रहरीको फरेनसिक विज्ञको टोली अनुसन्धानमा जुटिरहेको देखिन्थ्यो । छेवैको भीडबाट कोही फुसफुसाइरहेको थियो, देखियो यिनीहरूको अनुसन्धान पनि । कैलालीको निम्बुखेडामा पनि देखिएकै हो । ३३ किलो सुनमा पनि देखिएकै हो ।

सडकमा कहीँ कतै तेल पोखिएको देखिन्थ्यो, जसमा कोही लडेर लडखडाउँदै उठेजस्तो आकृति पनि थिए । तर, त्यस्ता आकृतिका आधारमा स्केच उतारेर को मान्छे लडेको थियो, कुन दिशातिर हुत्तिरहेका बेला यस्तो दुर्घटना भएको थियो र उठेपछि त्यो मान्छे कता हान्नियो भनेर विज्ञहरूले बताउन सकिरहेका थिएनन् । यस्तो दुर्घटनालाई भवितव्य मान्ने कि कुनै राजनीतिक दुर्घटना मानेर त्यसको एनाटोमी गर्ने भन्नेबारे इतिहासकारहरूमा काफी अलमल देखिन्थ्यो ।

मुख्यतः तीन मूल घाटको बाहिरफेर केही ब्रिफकेसहरू अलपत्र अवस्थामा फेला परेको सूचना पनि आएको थियो । ती ब्रिफकेसहरू कसका थिए ? ती कहाँबाट आएका थिए ? तिनको मालिक कहाँ छन् भन्नेबारे कुनै सूचना बाहिर आउन सकेका थिएनन् । अनुमान भने प्रशस्तै थिए । कोही भन्दै थिए, फलानो ब्रिफकेसवाला फलानो चुनाव चिह्नबाट प्रकट हुनेवाला छ । कोही भन्दै थिए, फलानो ब्रिफकेसवाला हातमा तेल बोकेर अझै पनि विभिन्न घाटहरूमा रन्थनिँदै कुदिरहेको छ । त्यो कुनै पनि बेला पत्रकार सम्मेलन गर्दै गरेको अवस्थामा, फेसबुकमा अन्टसन्ट लेखिरहेको अवस्थामा वा टिकटकमा लाइभ प्रकट भएर बान्ता गरिरहेको अवस्थामा भेटिने खतरा छ ।

मौसम खुलेपछि सडकका मूल चोकहरूमा केही अनौठा दोकानहरू खुलेको देखियो । त्यहाँ केही लेखनदास थिए । एउटा दोकानअघि झुन्डिएको फ्लेक्समा लेखिएको थियो, यहाँ हदैसम्मको घृणाको भाषा र हदैसम्मको चाकडीको भाषा दुवै पाइन्छ ।

दोकानअघि मान्छेहरूको स–सानो भीड थियो । रातो झोलामा घृणाका भाषाहरू र नीलो झोलामा चाकडीका भाषाहरू बोकेर मान्छेहरू निस्किरहेका थिए । दोकानदारहरू ग्राहकलाई सम्झाउँदै भनिरहेका थिए– यी दुवै भाषाहरू बडो जतनसाथ प्रयोग गर्नुहोला । दुवै संवेदनशील छन् । बडो ख्याल गरेर बोक्नुहोला ।

एउटा चोकमा टेलर खुलेको थियो । त्यसको निधारमा झुन्डिएको फ्लेक्समा लेखिएको थियो– दल बदल्दाबदल्दै हैरान हुनुहुन्छ ? अब नहुनुस् । जुन दलमा हुनहुन्छ, सोही रंगअनुसारको कपडा हामी सिलाइदिन्छौं ।

टेलरअघि मान्छेहरूको स–सानो भीड थियो ।

रातो कपडा लगाएर भित्र छिरेको मान्छे, पहेँलो कपडा लगाएर निस्किरहेको थियो । गाछी छाप भएको टिसर्ट लगाएर छिरेको मान्छे हँसिया हथौडा छाप भएको कपडा लगाएर निस्किरहेको थियो । हँसिया हथौडाको छाप भएको बुसर्ट लगाएर छिरेको मान्छे तारा छाप भएको कपडा लगाएर निस्किरहेको थियो । कुनै पनि छाप नभएको स्वतन्त्र हुँ भन्नेहरू पनि अनेकन् रंगीबिरंगी छाप भएका कपडा लगाएर मन्दमन्द मुस्काउँदै निस्किरहेका थिए ।

एउटा चोकमा टेबलअघि टाइपराइटर राखेर केही मान्छे बसेका थिए । तिनीहरू खप प्रजातिका मान्छे थिए भनेर चिन्न त्यति गाह्रो थिएन । तिनको मुखबाट फुत्तफुत्त चिप्ला शब्दहरू खसिरहेका थिए । तिनीहरूको खुबिगिरी भर्चुअल संसारमा सबैभन्दा धेरै प्रकट हुन्थ्यो । कसलाई शब्दको तीर मारेर फेसबुकमा के स्टाटस लेख्ने ? म्यासेन्जर ग्रुप बनाएर कसका विरुद्ध कुन हदसम्मको घृणाको प्रचार गर्ने ? कसलाई अमूर्त भावमा गाली गर्ने ? कसलाई खुइल्याएर त्यसका रौंहरू कुन दोकानमा लगेर बिक्री गर्ने ? सबै काममा तिनीहरू पारंगत थिए ।

तिनीहरू कसैको खल्तीमा बस्नका निम्ती लिलाम बढाबढमा उत्रिएका थिए । तिनको मूल्य कसरी तय भइरहेको छ भन्नेबारे सरकारका सबैजसो निकाय बेखबर थिए । तर, पनि सबै जना जानिफकारै थिए, तिनीहरू चुनावी मौसम प्रकट भएर आ–आफ्ना बालबच्चा पालनपोषणको रसदपानी जुटाइरहेका थिए ।

केही ददाहरू मान्छेलाई भगवान् बनाउन लागिपरेका थिए । तिनीहरू नेताहरूको आरती उतार्थे । नेताको छायालाई लाज लाग्ने गरी तिनीहरू रातोदिन टाँसिएरै हिँड्न खोज्थे । तिनीहरू विभिन्न चोकमा बसेका हुन्थे । परिवारको गर्जो टार्ने बाध्यताले तिनीहरू यस्तो पेसा गरिरहेका थिए कि समयक्रममा आनुवंशिक परिवर्तनका कारण तिनीहरूमा यस्तो स्वभाव विकास भएको थियो भन्नेबारे वैज्ञानिकहरूले निष्कर्ष निकाल्न सकिरहेका थिएनन् । केही बुज्रुग ददाहरू टेलिभिजनको पर्दामा, युट्युबको दृश्यमा मात्रै नभएर सामाजिक सञ्जालको जञ्जालमा पनि प्रकट भइरहेका थिए । तर, तिनका कुरा मनोरञ्जनका निम्ति कामयावी भए पनि त्यसको भेउ पक्रेर अर्थ खोतल्ने जाँगर भने कसैले चलाइरहेको देखिन्नथ्यो ।

थप केही ददाहरू माग फारम लिएर मालाले छापिएका नेताको अघि–पछि लखरलखर हिँडिरहेका थिए । तिनीहरू आम मान्छेका सपना, रहर र बचेखुचेको आशा पनि उधारोमा खरिद गरेर तिनलाई रित्तै पार्न उद्यत देखिन्थे । ददाहरूका अघि–पछि केही खपहरूको पनि ताहुरमाहुर थियो । तिनीहरूको भिडियो खिचिरहेका थिए, जसमा नेताहरू जनतासँग कलाहीन अभिनय गरिरहेका दृश्यहरू कैद भइरहेका थिए । कोही खेतखलिहान पुगेर ङिच्च गरिरहेका थिए । कोही जाँतोमा हात लम्काइरहेका थिए, कोही धान चुटेजस्तो गरिरहेका थिए । कोही भकारो सोहोर्न खोजिरहेजस्तो गरिरहेका थिए । अपच हुने यस्ता दृश्यबाट दृश्य प्रदूषण बढिरहेको थियो । तर, चुनावको मुखमा कोही यस्ता विषयमा बोल्न तयार थिएनन् ।

प्रकाशित : कार्तिक २६, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?