हिउँचितुवाको पैताला पछ्याउँदा*- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँचितुवाको पैताला पछ्याउँदा*

कान्तिपुर संवाददाता

अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही तस्बिरहरू सम्पादित तथा फेक भएको दाबी गर्दै फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त तस्बिरका बारेमा लेखक सुरज सुवेदीको लेख कान्तिपुर दैनिकको शनिबारीय परिशिष्टांक कोसेलीमा प्रकाशित भइ अनलाइन संस्करणमा पनि सम्प्रेषण भएको थियो । तस्बिर सम्पादित र झुठो भएको पुष्टि गर्दै अल्पाइन म्यागजिनमा लेख प्रकाशित भएपछि हाललाई हामीले उक्त लेख हटाउने निर्णय गरेका छौं । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

-प्रधान सम्पादक

प्रकाशित : कार्तिक २६, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

महाकुम्भको महातनाव

कतारमा फुटबलको महाकुम्भ विश्वकप सुरू हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएको छैन । र, चर्चा फुटबलको भइरहेको छैन ।
हिमेश

पत्याउनु के पत्याउनु ! झन् नपत्याउँदा कसरी नपत्याउनु ! विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप कतारमा सुरु हुन केही दिन मात्रै बाँकी छ । तर, विवाद र तनावको शृंखला सेलाएकै छैन । आजभन्दा १२ वर्षजति अघि चार/पाँच जनाको एउटा यस्तो बैठक बसेको थियो, जतिबेला सन् २०२२ को विश्वकप कतारमा हुन्छ भन्ने निर्णय भएकै थिएन ।

बैठकमा सहभागी थिए, फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजी, युरोपेली फुटबल महासंघका तत्कालीन अध्यक्ष मिचेल प्लाटिनी र कतारका दुई उच्च पदाधिकारी । बैठकको विषय थियो, फाइटर जेट र एन्टी मिसाइल सुरक्षा व्यवस्थापबारे । भनिन्छ, त्यही बैठकले कतारलाई विश्वकप आयोजना गर्ने अधिकार दिने कुरा भएको थियो । कहाँ हतियारको किनबेचका कुरा, कहाँ विश्वकप फुटबल ! तर, तारतम्य मिलेकै थियो । मिलाइएकै थियो ।

हतियार किनबेच भए/भएन्, त्यो तथ्य ठ्याक्कै बाहिर आएन । तर, विश्वकप कतारमा हुने भयो नै । यी दुई कुराको सम्बन्ध के होला त ? अनुमान गर्न गाह्रो छैन । भनिन्छ, त्यो बैठकको व्यवस्था गर्न अरू दुई जनाले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका थिए, त्यसमा एक अहिलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थिए । अर्का मोहम्मद विन हमाम । हमाम कतारी हुन् र उनले कुनै समय एसियाली फुटबल महासंघ सम्हालेका थिए अनि फिफा अध्यक्ष हुने सपना पनि देखेका थिए । तर, पछि आफैँ फिफाबाट आजीवन प्रतिबन्धमा परे । कुरा यत्तिकैमा सकिन्न, प्लाटिनी पनि फिफाको प्रतिबन्धमा परे । कतारलाई विश्वकप आयोजनाको अधिकार दिन सबैभन्दा ठूलो भूमिका उनैले खेलेका थिए । यता सार्कोजीविरुद्ध भ्रष्टाचारको मुद्दा चलेकै थियो । उनको राजनीतिक जीवन तहसनहसजस्तै भइसकेको छ । तर, कतारमा विश्वकप हुने निर्णय पल्टिएन । विश्वकप आयोजना गर्न कसलाई दिने भन्ने निर्णयका लागि भएको मतदानमा कतारले अमेरिकालाई हराएको थियो ।

त्यतिबेला अमेरिकामा राष्ट्रपति थिए, बाराक ओबामा । अमेरिकाको पक्षमा निर्णय ल्याउन उनी खुलेरै लागेका थिए । पछि उनले भनिहाले, ‘कतारलाई विश्वकप दिनु गलत निर्णय हो है ।’ त्यसको लगभग १२ वर्षपछि फिफाकै तत्कालीन अध्यक्ष सेप ब्लाटरले पनि भनिसके, ‘वास्तवमै यो गलत निर्णय थियो ।’ उनले कतिसम्म भनेका छन् भने यो निर्णयका पछाडि सबैखाले चलखेल गर्ने तिनै प्लाटिनी हुन् । यी सबैको सार खिच्दा कुरा कहाँबाट कहाँ पुग्छ– एकातर्फ फ्रान्स, रुस र अमेरिकाका राष्ट्रपतिसम्म । अर्कोतर्फ हातहतियारको किनबेच । प्रसस्तै आर्थिक चलखेल । अनि बीचमा विश्वकप फुटबल । कतारलाई विश्वकप आयोजनाको अधिकार दिनुसम्मको घटनाक्रमलाई समेटेर लेख्दा एउटा बाक्लै उपन्यास बन्छ । ती अगाडिको घटना भने त्यसका केही पाना मात्र हुन् । अविश्वसनीय घटनाक्रम त कति हो कति ! त्यसमध्ये कतारमाथि नै केही गम्भीर आरोप पनि छन् । त्यसमध्ये मानव अधिकार, आप्रवासी कामदार र एलजीबीटीक्यू प्लस समुदायप्रति कतारी दृष्टिकोण र व्यवहारबारे पनि उत्तिकै बहस चलिरहेको छ ।

विश्वकपका लागि चाहिने रंगशालाहरूको निर्माणमा हजारौंहजार आप्रसावी कामदारले काम गरे । त्यसमध्ये धेरै त हाम्रै नेपाली दाजुभाइ थिए । तिनीहरूमाथि पर्याप्त श्रम शोषण भएको मानिन्छ । तिनलाई प्रचण्ड गर्मीमा काम गर्न बाध्य पारिएको पनि भनिन्छ । यही कारण सयौंले ज्यान पनि गुमाए । दुघर्टनामा परेर मृत्यु हुनेको संख्या बेग्लै छ । फेरि समलिंगी सम्बन्ध त कतारमा कानुनी रूपमै प्रतिबन्धित छ ।

कतारलाई विश्वकपबाट रोक्न त सकिएन, कम्तीमा व्यक्तिगत रूपमै यो विश्वकप बहिष्कार गरौं भन्ने पनि उत्तिकै निस्किरहेका छन् । विश्वकपमा सहभागी हुने कतिपय देशका समर्थकले कतार जाने छैनौं भनेर घोषणा पनि गरेका छन् । अहिले केके भइरहेको छ, बुझ्न पश्चिमेली समाचार हेरे पुग्छ, पर्याप्त सामग्री छ्यापछ्याप्ती छन् । त्यसैले कतारको पनि आरोप छ, यी सबै पश्चिमेली सञ्चारमाध्यमको एकपक्षीय काम हो, तिनीहरूले भनिरहेजस्तो केही भएकै छैन । मध्यपूर्वमा कतार क्षेत्रफल र जनसंख्याको आधारमा वास्तवमै निकै सानो छ । तर, असाध्यै धनी छ । कतारसँगै प्राकृतिक ग्यासको अपार भण्डार छ । विश्व कूटनीतिमा पनि सफल र चलाख खेलाडी बनेको छ ।

छिमेकी साउदी अरेबियासँग उसको जबरजस्त दुश्मनी छ । अहिलेसम्म पनि पानी बराबारकै स्थिति छ । केही वर्षअघि साउदी नेतृत्वको एउटा गुटले कतारमाथि सबैखाले नाकाबन्दी नै लगाएको थियो । अनि सबैखाले कूटनीतिक सम्बन्ध पनि तोडेको थियो । तर, यसले कतारलाई केही पनि असर परेन । उल्टै कतार झन्झन् बलियो बनेर उभियो । अब गर्ने के ? ती सबै नाकावन्दी हटाएको घोषणा गर्न साउदी अरेबिया र उसको समूह बाध्य रह्यो ।

यी सबै घटनाक्रमबीच विश्व राजनीतिमा नयाँ शब्द जन्म भएको छ र यो ‘ट्रेन्ड’ बनेको छ । त्यो हो, ‘स्पोर्ट्स वासिङ’ अर्थात् खेलकुदको नाममा दूधले नुहाएर आफ्नो छवि सुधार्ने प्रयास । कतारले यो गरेकै छ । यो परम्परा अहिले धेरै बढेको छ । केही देश वास्तवमै मानव अधिकार, स्वतन्त्रताजस्ता विषयमा कमजोर हुन्छन्, अझ बदनाम हुन्छन् । अब यो कमजोरी र बदनामीलाई हटाउन ती देशले गर्ने भनेको खेलकुदमा लगानी नै हो । लगानी पनि कस्तो भने पानी बगेजस्तै छ्यालब्याल ! डलरको खोलै बगाउने ! कतारले एसियाली खेलकुद र एसियाकप त उही जमानामा गर्‍यो, अब ओलम्पिक गर्ने सोच छ उसको । विश्वकप त गर्दै छ । कतार विश्वकपको निहुँमा आफ्नो आफूलाई चोखो पार्ने प्रयास गरिरहेको छ । खेलकुदको निहुँमा कतारी लगानी उसको देशमै मात्र सीमित छैन, बाहिर पनि छ ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सीधा–सीधा कतारी लगानीमा चलेको क्लब हो, जहाँबाट लियोनल मेसी र नेयमारजस्ता खेलाडी खेल्छन् । खेलकुदका नाममा कतार जोकोहीलाई सहयोग गर्न पछाडि हट्दैन । मारमा परेको छ, फुटबल नै । विश्वकप सुरु हुन दिन केही दिन मात्रै बाँकी छ, चर्चा फुटबलको भइरहेको छैन । यो तनावमा फुटबलप्रेमीको दुःख यही हो ।

प्रकाशित : कार्तिक २६, २०७९ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×