२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘अनुवाद झुर लागे मूल कृति पढ्नुस्’

‘यदि भाषा सिकेरै मूल कृति पढ्न सक्नुहुन्न भने अनुदित कृति झुर भयो भन्ने अधिकार तपाईंमा रहन्न । कृति अनुवाद गर्ने अनुवादकलाई नै किन गाली गरिरहनु हुन्छ ?’
‘दक्षिण एसियाली साहित्य दक्षिण एसियाबाहिर अनुवाद कृतिका रूपमा प्रकाशित गर्न निकै कठिन छ । दक्षिण एसियाभित्रै चाहिँ अनुवाद भइरहेकै छन् ।’
उपेन्द्रराज पाण्डेय

भारतीय लेखक गीतांजलि श्रीको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टुम अफ स्यान्ड’ ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गर्‍यो । श्री उक्त पुरस्कार पाउने पहिलो हिन्दी लेखकसमेत हुन् । कुनै पनि भाषाका साहित्यलाई विश्वमञ्चमा पुग्न जति धेरै भाषामा हुन सक्छ अनुवाद हुनैपर्छ । मूल रुपमा जुन भाषामा लेखिए पनि स्तरीय अनुवाद हुन सके साहित्यको विश्वमञ्चमा पुग्न सकिन्छ । 

‘अनुवाद झुर लागे मूल कृति पढ्नुस्’

अनुवादक डेजी रकवेलले उपेन्द्रनाथ अश्कको प्रसिद्ध उपन्यास ‘गिरती दिवारें’, भीष्म सहनीको ‘तमस’, कृष्णा सोबतीको ‘गुजरात पाकिस्तान से गुजरात हिन्दुस्तान’, खादिजा मस्तुरको ‘आँगन’ लगायत हिन्दी तथा उर्दू कृति अनुवाद गरिसकेकी छन् भने थुप्रै कृतिमा काम गरिरहेकी छन् । यसै सन्दर्भमा अनुवाद साहित्यका विविध पक्षबारे डेजी रकवेलसँग उपेन्द्रराज पाण्डेयले गरेको संवाद :

‘रेत समाधि’ को अंग्रेजी अनुवाद ‘टुम अफ स्यान्ड’ ले बुकर पुरस्कार प्राप्त गरेपछि दक्षिण एसियाली साहित्यको विश्व साहित्यिक मञ्चमा उपस्थितिबारे चर्चा परिचर्चा चलेको छ । रेत समाधि नै छनोट गर्नुको पछाडि के कारण होला ?

धेरै कामहरू म आफैं छान्ने गर्छु । तर, रेत समाधि अनुवाद गर्नचाहिँ मलाई विशेष अनुरोध गरिएको थियो । यो एउटा अनुवाद गर्नैपर्ने कृति थियो ।

तपाईंले ‘रेत समाधि’ को अनुवाद निकै कठिन थियो भन्नुभएको थियो । अनुवादको क्रममा के कस्ता जटिलता आए ?

यस कृतिमा धेरै हास्यरस र द्विअर्थी शब्द प्रयोग भएका छन् । साथै यो कृति अब्बल र विचित्र शैलीमा लेखिएको छ । कतिपय शब्दको ठ्याक्कै अर्थ मलाई पनि थाहा नभएर थुप्रै पटक लेखकलाई सोध्नुपरेको थियो, जसको समाधान चलाखीपूर्ण थियो ।

आञ्चलिक शब्दाबली तथा हिन्दी उखानटुक्का पनि उपन्यासमा प्रयोग भएका छन् । मूल कृतिलाई न्याय हुने गरी त्यसलाई कसरी अनूदित गर्नुभएको छ ?

आफ्नो भाषाभन्दा बाहिरका शब्दहरू अनौठा लाग्न पनि सक्छन्, जसलाई सोझै अंग्रेजीमा ढाल्न कठिन हुन्छ । मूलभाषाको ध्वनिलाई अनुवादमा ल्याउने अथवा त्यसको पुनर्सिजना गर्ने प्रयास मात्र गरेको हो मैले ।

तपाईंले उपेन्द्रनाथ अश्कदेखि गीतांजलि श्रीसम्मका कृति अनुवाद गर्नुभएको छ । भारत–पाकिस्तान विभाजनको विषय संयोग हो कि रुचि ?

यशपालको ‘झूठा सच’ मैले पढेको पहिलो हिन्दी उपन्यास हो । दुई भागको यो उपन्यास विभाजनकै कथामा आधारित छ । यो उपन्यास पढ्नुभन्दा पहिले मलाई विभाजनका बारेमा केही पनि थाहा थिएन । मैले ‘गान्धी’ चलचित्र हेरेको थिएँ । तर, त्यसमा प्रस्ट रूपमा विभाजनको कथा आउँदैन । ‘झूठा सच’ ले नै मलाई विभाजनप्रति रुचि जगायो । त्यसपछि मैले त्यस कालखण्डका बारेमा धेरै कृति पढेको छु र केही अनुवाद पनि गरेको छु ।

एउटा संयोगकै कुरा पनि छ, ‘रेत समाधि/टुम अफ स्यान्ड’ अनुवादका लागि सहमत हुँदै गर्दा यसमा विभाजनको कथा छ भन्ने थाहा थिएन । उपन्यासको तेस्रो खण्डभन्दा अगाडि विभाजनको कुरै आउँदैन । तेस्रो खण्डमा विभाजनबारे थुप्रै हिन्दी र उर्दू लेखकका प्रसंग आउँदा धेरै रोमाञ्चित भएँ म ।

कतिपय अवस्थामा मूल कृतिसम्म पाठकको पहुँच हुँदैन । संस्कृति र भाषाबीचमा तालमेल मिलाउने कुरा पनि अनुवादको समस्या होला । अनुवादका क्रममा ‘लस्ट इन ट्रान्सलेसन’ ले त अल्झाएन ?

हामी अनुवादकले ‘लस्ट इन ट्रान्सलेसन’ भन्ने कुरै मन पराउँदैनौँ । खासमा यो ‘क्लिसे’ भइसक्यो । निश्चय नै अनुवादका क्रममा धेरै कुरा हराउँछन् । तर, धेरै कुरा पनि त भेटिन्छन् नि । उदाहरणका लागि एउटा सिंगो कृति । ‘लस्ट इन ट्रान्सलेसन’ कै कुरा गर्दा मान्छेहरूले मूल कृति उत्कृष्ट भए पनि अनुवाद झुर भयो भन्ने गर्छन्, तर यो सधैं सत्य हुँदैन । कतिपय अवस्थामा हामीले जानीजानी अभिरुचिपूर्ण र चाखलाग्दा नभएका कुराहरू हटाइदिन्छौँ । कहिलेकाहीँ नयाँ भाषामा गरिएको कृतिको रूपान्तरण नै अझ अब्बल बन्न जान्छ ।

अनुवादले मूल कृतिको मर्म भाँड्ने काम गर्छ भन्ने सुनिन्छ । कृतिको मौलिकपन कायम रहने गरी कसरी अनुवाद गर्न सकिन्छ ?

यसबारे मैले माथि नै भनिसकेँ । तर, यस्तो भन्ने मान्छेहरूलाई म भन्न चाहन्छु : यदि तपाईं मूल कृतिबारे साह्रै चिन्तित हुनुहुन्छ भने मूल कृति नै किन पढ्नुहुन्न त ? यदि भाषा जान्नुहुन्न भने सिकेरै मूल कृति पढ्न सक्नुहुन्छ । यदि भाषा सिक्न सक्नुहुन्न वा चाहनुहुन्न भने अनुदित कृति झुर भयो भन्ने अधिकार तपाईंमा रहन्न । कुनै कृतिको अनुवाद गरी तपाईंको पहुँचमा ल्याइदिने अनुवादकलाई नै किन गाली र आरोप लगाइरहनुहुन्छ ?

न्गुगी वा थियोंगोले पहिले अंग्रेजी भाषामा लेखे, पछि गिकुयु भाषामा फर्किए । पछिल्लो समय झुम्पा लहिरीले पनि इटालेली कृतिहरू प्रकाशित गरिरहेकी छन् । यो भाषान्तरणलाई तपाईं कसरी लिनुहुन्छ ? के यो साहित्यिक राजनीति होइन र ?

तपाईंले दिएका दुई उदाहरणलाई मचाहिँ समान दृष्टिकोणले हेर्न चाहन्नँ । न्गुगी औपनिवेशिक प्रवृत्तिलाई उल्ट्याएर आफ्नै मूल जरोमा फर्किएका हुन् । झुम्पाले पनि त्यही शैली पछ्याएकी भए त बांग्लामा लेख्थिन् होला नि । इटालेली उनलाई मन परेकाले छनोट गरिन् होला । मलाईचाहिँ झुम्पाको सन्दर्भमा कुनै राजनीति छ भन्ने लाग्दैन । तर, सामान्यतया भन्ने हो पनि विश्वको भाषिक परिदृश्यमा अंग्रेजी भाषाको दबदबा निकै छ र यसले अन्य भाषाको अस्तित्व धरापमा पारिसक्यो । त्यसैले अंग्रेजीको धङधङीबाट वाहिर निस्कनु एउटा उपयुक्त निकास हुन सक्छ ।

पछिल्लो समय हिन्दीबाट अंग्रेजीमा थुप्रै कृति अनुवाद भइरहेका छन् । ती अनुवादलाई कसरी लिनुहुन्छ ?

म भारतमा बस्दिनँ । कोरोना महामारीका कारण केही वर्ष भारत आउन पनि पाइनँ । त्यसैले पछिल्ला अनूदित कृति पढ्न पाएकी छैन । तर, मलाई लाग्छ–राम्रा कृति अनुवाद भइरहेका छन् । हिन्दी मात्रै होइन, पछिल्लो समय अन्य भारतीय भाषाका साहित्य पनि अनुवाद भइरहेका छन् ।

अझै पनि थुप्रै हिन्दी कृति विश्वबजारमा पुग्न बाँकी छन् । कुन–कुन कृति अनुवाद भइदिए हुन्थ्योझैं लाग्छ ? तपाईंले काम गर्दै गरेका केही कृति छन् कि ?

कृति छनोट निकै चलाखीपूर्ण काम हो । यसमा धेरै पक्षको ख्याल राख्नुपर्छ । अनुवादमा सबैभन्दा ठूलो चुनौती प्रतिलिपि अधिकारप्राप्त व्यक्तिबाट अनुमति लिनु हो । त्यसपछि मात्र प्रकाशनको कुरा आउँछ । अझै पनि अमेरिका र बेलायतमा दक्षिण एसियाका अनूदित कृतिहरू प्रकाशन गर्नु चुनौतीपूर्ण काम हो । भारतमा भने यो काम भइरहेको छ । यसमा बजारले पनि प्रभाव पारेको छ ।

मैले उषा प्रियंवदाको ‘रुकोगी नहीं राधिका ?’ को अनुवाद सक्नै लागेको छु । त्यस्तै कृष्णा सोबतीको पहिलो उपन्यास ‘चन्ना’ (जुन उनको मृत्युको केही समयअघि मात्र प्रकाशित भएको थियो) को पनि पहिलो ड्राफ्ट तयार भएको छ । त्यस्तै उर्दू कवि आजरा अब्बासको गद्य कवितासंग्रह ‘निंद कि मुसाफतेँ’ र गीतांजलि श्रीकै केही कथाको अनुवादमा काम गरिरहेको छु । त्यस्तै निसार अजिज बटको उर्दू उपन्यास ‘नगरी नगरी फिरता मुसाफिर’ को काम पनि छिट्टै सुरु गर्दै छु । बटको यो किताब त मेरा लागि पाकिस्तानको उत्तर पश्चिमी प्रान्तहरूमा टोमस म्यानको ‘द म्याजिक माउन्टेन’ र जर्ज एलिएटको ‘मिडलमार्च’ को मिलन भएजस्तो लाग्छ ।

तपाईंले भारतीय अनुवादमा बाहिरी जगत्को खासै चासो देखिन्न भन्नुभएको थियो ? यसका कारण के होलान् ?

यो एक किसिमको रहस्य नै हो । तर, यसका पछाडि केही कारण भने पक्कै छन् । पहिलो त अमेरिका र बेलायतमा अंग्रेजी भाषामा थुप्रै भारतीय साहित्य प्रकाशित भइसकेका छन् । त्यसैले प्रकाशकले सबै विषय समेटिसकेका छन् भन्ने ठान्दा हुन् ।

दोस्रो, धेरै प्रकाशनगृह गोराहरूले सञ्चालन गरिरहेका छन्, जसले सौन्दर्यको पाटोबाट सिर्जनाको मूल्यांकन गर्छन् । तर, उनीहरू पश्चिमइतरका अनूदित साहित्यप्रति कम जानकार छन् । जीवनका अन्य पक्षजस्तै रुचि पनि विभेदकारी हुन सक्छन् ।

अन्तिममा भन्नुपर्दा लगानीको पनि समस्या छ । विश्वका केही सरकारले साहित्य अनुवादका लागि सहयोग गर्ने गरेका छन् । विश्वमञ्चमा उनीहरूले आफ्ना कला साहित्यलाई ‘सफ्ट पावर’ का रूपमा प्रस्तुत गरिरहेका छन् । तर, दक्षिण एसियाली सरकारहरूले अनुवादमा त्यति ध्यान दिएका छैनन् । यसमा केवल निजी दाताको मुख हेरेर बस्नुपर्ने अवस्था छ ।

बिस्तारै नेपाली साहित्य पनि अनुवाद हुन थालेका छन् । हिन्दीबाहेक अन्य दक्षिण एसियाली भाषामा लेखिएका कृतिको अनुवादमा के–के कुरा अवरोध बनिरहेका छन् ?

मैले माथि नै पनि भनिसकेको छु । दक्षिण एसियाली साहित्य दक्षिण एसियाबाहिर अनुवाद कृतिका रूपमा प्रकाशित गर्न निकै कठिन छ । दक्षिण एसियाभित्रै चाहिँ अनुवाद भइरहेकै छन् । मलाई लाग्दैन कि यसमा हिन्दीको विशेष स्थान छ । वास्तवमा बांग्ला कृतिहरू नियमित रूपमा अनुवाद भइरहेकै छन् । मलायलम पनि निकै लोकप्रिय छ । तर, अनुवादमैत्री वातावरण भने बनिसकेको छैन । प्रक्रिया नै प्रणालीमा चलेको छैन । प्रत्येक अनुवादकको आफ्नै रुचि हुन्छ । उसले आफ्नै रुचिअनुसारको कृति छनोट गर्छ । ऊ आफैंले अनुवादको अनुमति लिएर काम गरिरहेको हुन्छ । त्यसैले पनि अनुवाद साहित्यको परिणाम एउटा अनुवादकको रुचिका भरमा आउने गरेको छ ।

युरोपेली बजारमा भने प्रकाशक नै अन्य भाषाका के कस्ता कृति प्रकाशित भइरहेका छन् भनेर चनाखो भइरहेका हुन्छन् । उनीहरूले नै कृति छनोट गरेर अनुवादकलाई काम दिन्छन् । मलाई लाग्छ, हामी सबै दक्षिण एसियाली वातावरणमै रमाइरहेका छौं । अन्धाधुन्ध अनुवाद भइरहँदा धेरै महत्त्वपूर्ण कृति ओझेलमा परेका छन् । सायद यी दुवै प्रक्रियाको मिश्रित प्रणाली अपनाउने हो भने अनुवाद साहित्य धेरै माथि जान सक्छ ।

प्रकाशित : कार्तिक ५, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?