जसले चिनियाँलाई पढाए

‘सत्यमोहन गुरूसँगका श्यामश्वेत तस्बिरहरु सुरक्षित छन् मसँग । शताब्दी पुरूषका नाममा नेपाल राष्ट्र बैंकले निष्कासन गरेका तीन सिक्काहरु पनि छन् ।’
लक्ष्मी लम्साल

अब पुराना फोटाहरू खोजेर हेर्छु,’ संस्कृतिविद् सत्यमोहन जोशी ब्रह्मलीन भएको खबरपछि च्या चे (प्रेमलता) ले पुराना एल्बम पल्टाउन थालिन् । च्या चे तिनै छात्रा हुन्, जो हाइस्कुल शिक्षापछि उच्च शिक्षाका लागि सन् १९६३ मा पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युट भर्ना भएकी थिइन् । च्या चेकै सहपाठी, सहकर्मी र जीवनसाथी हुन्– सु हाउ । दुवै कुनै बेला बेइजिङमा सत्यमोहनका शिष्य थिए । त्यसैले सत्यमोहनको देहावसान दुवैका लागि शोकपूर्ण थियो ।

सत्यमोहनका चिनियाँ विद्यार्थी खोजी गर्दै गुरुको चिनियाँ साइनोमाथि बोलिदिन केहीलाई अनुरोध गरें । उमेरले ८० को उकालो चढ्नै लागेका सु हाउले फोनमा एक घण्टा बितेको पत्तै पाएनन् । गुरुप्रति श्रद्धा दर्शाउँदै भने, ‘सत्यमोहन गुरुले बिरानो मुलुक चीनमा नेपाली भाषाको बीउ छर्नुभयो । त्यसैमा लपेटिएर हाम्रो पनि पूरै जीवन बित्यो ।’

नयाँ चीन स्थापनापछि सन् १९४९ ताका अध्ययनका लागि लोकप्रिय विदेशी भाषा भन्नु नै रसियन थियो । त्यतिखेर किसान अगुवा, पार्टी कार्यकर्ता लगायतलाई रुसमा अध्ययनका लागि पठाउने चलन थियो । अंग्रेजी भाषा फाट्टफुट्ट चल्दै थियो । सन् १९६३ ताका बल्ल खुला रूपमा भाषा अध्ययनका लागि विश्वविद्यालयले कक्षाहरू थप्न थाले । त्यतिखेर पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा पहिलो पटक ३ वटा भाषा थपिए– अफगानिस्तानको पास्तो, बंगाली र नेपाली ।

विद्यार्थीहरुसँग चीनको फ्रेन्डसिप होटलमा सत्यमोहन जोशी

नेपाल भाषा पढ्न शाङ्हाईबाट आएका र बेइजिङमै रहेका १२ जना विद्यार्थी भेला भए । तिनै विद्यार्थी थिए– सत्यमोहनको पहिलो ‘ब्याच’ (उसो त १९६३ मा ब्रोडकास्टिङ इन्स्टिच्युटमा नेपाली भाषाको श्रीगणेश कृष्णबहादुर प्रधान र सुलोचना प्रधानले गरेका थिए) । दुई वर्षपछि सन् १९६५ मा सत्यमोहनले पढाउन थालेपछि विद्यार्थीहरूको पढाइले नयाँ मोड लियो । त्यस समूहका सबै विद्यार्थीलाई प्रभाव पारेको एउटै पक्ष थियो, त्यो के भने कुनै पनि शब्द प्रयोग गर्नुपरे र त्यो शब्दमाथि प्रकाश पार्नुपरे सत्यमोहन मौलिक शैली अपनाउँथे । सु हाउ सम्झिन्छन्, ‘मेरो यादमा एउटा क्रियापद ‘लाग्नु’ को प्रयोग गर्नुपर्‍यो भने उहाँ उदाहरणसहित बीसौं तरिकाले सिकाउनुहुन्थ्यो । करिब ६ महिनासम्म लगातार दैनिक कागजमा लेखेर पढाउनुभएको थियो उहाँले । नेपाली शब्दको प्रयोग कसरी गर्ने भनेर सिकाउने उहाँको तरिकाले नेपाली भाषामाथि हाम्रो प्रगति निकै तीव्र र गहिरो रूपमा भएको थियो ।’

गोविन्द भट्ट र सत्यमोहन सीआरआई स्रोता क्लबको पहिलो राष्ट्रिय सम्मेलनमा , १९९६

गुरु सत्यमोहन जोशीको एउटा विशेषता के भने उनी एकदमै मिहिनेत गरेर लेख्थे, नोट लेखेर दिन्थे, पढ्न लगाउँथे अनि कक्षामा भेला भएका बेला व्याख्या गर्थे ।

पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युट रेडियो जनशक्ति उत्पादन गर्न स्थापित संस्था थियो । हाल चिनियाँ सञ्चार विश्वविद्यालयका रूपमा त्यो सञ्चालित छ । त्यहाँ अझै नेपाली भाषा पढाइ हुन्छ । यी विद्यार्थीभन्दा अघि सम्भवतः बेइजिङमा औपचारिक रूपमा नेपाली भाषाका वक्ता थिएनन् । सु हाउको सम्झना छ, ‘नेपाली भाषा अध्ययन गर्ने हामी नै पहिलो समूह हौं । सुरुमा कक्षा चलाउन एकदमै गाह्रो थियो । पहिलो चरणमा अ, आ, इ, ई र कखरा त सिकिएको थियो नै, तर वाक्य गठनदेखि बोलचालीचाहिँ चुस्त हुन सकिरहेको थिएन । ‘स्याउ’ भन्ने फल चिनाउनुपर्‍यो भने सत्यमोहन गुरु स्याउ नै खोजेर ल्याउनुहुन्थ्यो । भान्छाको कुरा सिकाउनुपर्‍यो भने आफ्नै भान्छामा लैजानुहुन्थ्यो । त्यसैक्रममा हामीले पनि कैयौं पटक उहाँकै भान्छामा खानपिन गरेका थियौं ।’

तिनताक क्रान्तिका कारण थिलोथिलो भएको चीन आर्थिक रूपले जर्जर थियो । रुस सरकारले बनाइदिएको एउटा ‘फ्रेन्डसिप होटल’ थियो । त्यतिबेला बेइजिङ आएका सबैजसो विदेशी त्यहीँ बस्थे । श्रीमतीसँगै बेइजिङ पुगेका सत्यमोहन त्यही होटलमा खाना पकाएर खान्थे । त्यसैले उनले चिनियाँ खानापानप्रति असहज महसुस गर्नुपरेन ।

सत्यमोहनका छोराछोरीसँग शु हाउ

सन् १९६६ मा चीनमा सांस्कृतिक क्रान्ति सुरु भयो । करिब ६/८ महिनापछि पठनपाठन अस्तव्यस्त भएर ठप्पै भयो । उप्रान्त बीचबीचमा पढाइ रोकिँदै–चल्दै भइरह्यो । ‘अहिले पनि म छक्क पर्छु, उहाँलाई कसरी थाहा भयो ? हरेक हप्ताको बिदामा खुरुक्क श्वेतचैत्य वरिपरि पुग्नुहुन्थ्यो । मेरो यादमा त्यति बेला बस चल्थ्यो । सत्यमोहन गुरु बसमै आउजाउ गर्नुहुन्थ्यो,’ उमेरले उकालो चढिरहेका सु हाउ बोलीपिच्छे ‘मेरो यादमा’ भन्ने वाक्यचाहिँ जोडिरहेका हुन्छन् ।

चार वर्षपछि सन् १९६९ मा नेपाली भाषाका गुरु सत्यमोहन नेपाल फर्किए । तत्कालीन पेकिङ रेडियोमा नेपाली भाषाको प्रसारण हुने भएपछि सन् १९७२ देखि नै उनका विद्यार्थीहरू काममा भर्ती भए । सन् १९७५ जुन २५ तारिखमा पेकिङ रेडियो (पछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवा) सुरु हुँदा गोविन्द भट्टले साथ दिए । पछि १९८० मा फेरि सत्यमोहन रेडियोमा काम गर्न चीन पुगे । सत्यमोहनले रेडियोबाट प्रस्तोताको कामचाहिँ गरेनन् । उल्था गरेका समाचार र लेखहरू सच्याइदिएपछि चिनियाँ विद्यार्थीले टाइप गर्थे । प्रसारणका सबै काम चिनियाँले नै गर्थे । अन्तर्मुखी स्वभावका सत्यमोहन गुरु रिसाएको कहिल्यै यी विद्यार्थीले थाहा पाएनन् । सदैव बिस्तारै–बिस्तारै बोल्ने र मिलनसार मिजास उनीहरूले सत्यमोहनमा महसुस गरेका थिए ।

सीआरआई स्रोता क्लबको पहिलो राष्ट्रिय सम्मेलन

कार्यथलोमा गुरुको पुनरागमन भएका बेला सु हाउ भने सांस्कृतिक सहचारीका रूपमा नेपालस्थित दूतावासमा काजमा खटिनुपर्‍यो । दूतावासमा सांस्कृतिक, राजनीतिक, अर्थ, मिलिटरीजस्ता विभाग थिए । सु हाउ इकोनोमिक काउन्सिलरका लागि अनुवादकको काम गर्थे र सम्बन्धित लेखहरू अनुवाद गरी चीन पठाउँथे । सन् १९८० देखि ८३ सम्म नेपालमा रहेका बेला सु हाउ हरेक महिना चिनियाँ सहयोगमा चलिरहेका काठमाडौं, हेटौंडा र पोखरालगायत परियोजनास्थलमा निरीक्षणका लागि पुग्नुपर्थ्यो । तर, गुरुप्रतिको श्रद्धाभाव मनबाट हटेको थिएन । पुराना स्मृतिमा पस्छन् सु हाउ, ‘त्यतिबेला सत्यमोहन गुरुका २ छोरा र ३ छोरी थिए । त्यही समय उहाँको घरमा गएर खाना खाएको फोटो मसँग सुरक्षितै छ ।’

पहिलो पटक भाषा अध्यापन गर्दाताकै चीनको श्वेतचैत्य फेरो मार्न थालिसकेका थिए– सत्यमोहन । लेखक गिरीश गिरीको किताब ‘सत्यमोहन’ मा जोशीले सन् १९५६ तिरै चीन–यात्रा गर्ने मौका पाएको बताएका छन् । काठमाडौंमा चौथो विश्व बौद्ध सम्मेलन भएपछि धर्मोदय सभाको एक सदस्यका रूपमा पहिलो पटक चीन पुगेका बेला उनले श्वेतचैत्य देखेका रहेछन् । त्यतिबेलै उनले श्वेतचैत्य जाने गाडी पत्ता लगाइसकेका थिए । तर, सांस्कृतिक क्रान्तिका कारण झन्डै–झन्डै भत्किसकेको श्वेतचैत्यको मूल गेट बन्द भएपछि उनको गन्तव्य नै अधुरो भयो । तथापि बाहिरैबाट श्वेतचैत्य हेर्ने र फर्किने सिलसिला चलेको उनैले बताएका छन् । उनका विद्यार्थीहरू पनि त्यसै भन्छन् । दोस्रो पटक कामकै सिलसिलामा उनी (सन् १९८० मे – १९८२ मे) मा चीन पुगेका बेला सांस्कृतिक क्रान्ति सकिइसकेको थियो । अरनिकोमाथि खोज–अनुसन्धान गर्ने सत्यमोहनको मनोकांक्षा यस पटक भने सफल भयो ।

शु हाउ र जिया जी सत्यमोहनसँग

सन् असीको दशकमा आइपुग्दा सत्यमोहनका विद्यार्थीहरू अब सहकर्मी भए । रेडियोमा काम एकातिर छँदै थियो, अर्कोतिर सत्यमोहन एकोहोरो श्वेतचैत्यको अध्ययन र अनुसन्धानमा डुबेको देखेर उनका सहकर्मी चकित पर्थे । अंग्रेजी भाषाका पुस्तक पाउन मुस्किल पर्ने त्यो जमानामा सत्यमोहन बेइजिङका पुस्तकालयहरू धाउँथे र चिनियाँ किताबहरू बोकेर ल्याउँथे । सु हाउले सुनाए, ‘हामीले पनि नबुझ्ने चिनियाँ भाषाका किताबबारे उहाँले कसरी थाहा पाउनुभयो होला ?’

जनगणतन्त्र चीन स्थापना भएपछि नै परम्परागत चिनियाँ भाषालाई सरलीकृत गर्न थालिएको थियो । पुराना पुस्तकमा ‘ट्रेडिसनल माण्डारिन’ प्रयोग भएको थियो, त्यसैले ‘सिम्प्लिफाइड माण्डारिन’ पढेका विद्यार्थीलाई पनि शब्दहरू खुट्याउन सहज थिएन । कार्यालयबाहेकको समय सत्यमोहन सिधै पुस्तकालय वा श्वेतचैत्यतिरै बरालिइरहेका हुन्थे । अनि अनेक थरी चिनियाँ पुस्तक ल्याएर ‘यसमा के लेखेको छ’ भनी चिनियाँलाई पुस्तक–अंश उल्था गर्न लगाउँथे । श्वेतचैत्य पुगेका बेला सत्यमोहन चामल, ध्वजा, बत्ती के–के सामग्रीसहित त्यहाँ पूजाआजा गर्थे । चिनियाँहरू सत्यमोहनलाई चकित परेर हेरिरहन्थे ।

सत्यमोहनले शिक्षादीक्षा दिएको नेपालीभाषी चिनियाँ पुस्ता सन् २००५ मा सेवानिवृत्त भयो । कोही जन्मथलो गए, कोही परदेशमा सन्ततिका घर । सु हाउले चाहिँ नेपाल–चीन आउजाउ गरिरहने पाटो रोजे । ‘रिटायर भएपछि गुरुलाई सबैभन्दा धेरै भेट्ने मै हुँला,’ सु हाउले सुनाए, ‘नेपाली वा चिनियाँ ‘डेलिगेसन’ लिएर आउजाउ गरिरहन्थें । हरेक पटक नेपाल गएका बेलामा गुरुको दर्शन नगरी सायदै फर्किन्थें ।’

काठमाडौंमा जोशीसँग सु हाउ

गम्भीर तर अटल स्वभावका सत्यमोहन नेपाल–चीन पुरानो सम्बन्धका अध्येता भएकाले पनि चिनियाँ टोली नेपाल पुगेका बेला उनीसँग भेट्न इच्छुक हुन्थ्यो । सु हाउ भन्छन्, ‘घर पुगेका बेला गुरुआमा तेलमा तारेको अण्डा, चिया र बिस्कुट खुवाउनुहुन्थ्यो ।’ कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ मा दुई पटक नेपाल पुगेका सु हाउले ठ्याक्कै एक सय वर्ष पुगेका सत्यमोहनलाई भेटेका रहेछन् । भन्छन्, ‘गुरुको घरको रूखमा राम्रोसँग भोगटे फलेको छ । त्यो फोटो पनि मसँग छ ।’

क्रान्ति सकिएपछिका प्रारम्भिक अप्ठ्यारा दिनहरू भोगेका कविका लागि क्रमशः राम्रा दिन आउँदै थिए । क्रान्तिकालीन जटिल घुम्तीहरू पार हुँदै गए । चीनका एक नामी कवि ल्वी चेन नेपाल घुम्न आए । उनी सन् १९४९ अघिका पुराना कवि थिए ।

नृत्यकार, कविहरू छनोट गरी साहित्य तथा कलासम्बन्धी चिनियाँ विभागले एउटा टोली नेपाल पठायो । टोलीमा परेका कवि ल्वी चेन नेपालमा जहाँ–जहाँ पुग्थे, त्यहाँ कविता लेखिहाल्थे । जस्तो ‘काठमाडौंका केटा’, ‘हिमालय’, ‘सांग्रिला होटेलको बिहानीपख’, ‘फेवातालमा नौका बिहार’ । उनी थुप्रै कविता बोकेर चीन फर्किए । र, चिनियाँ भाषाका पत्रपत्रिकामा ती कविता प्रकाशित भए ।

एक पटक नेपाल प्रज्ञा प्रतिष्ठान र चीनको सम्बन्धित निकायबीच गोष्ठी आयोजना हुँदा दोभाषेको भूमिकामा थिए– सु हाउ । अनुवाद–स्तर राम्रो लागेकाले ल्वीका कविता उल्था गर्नुपर्ने प्रस्ताव उनीमाथि आयो ।

नेपाली माया चिनियाँ पाठकमाझ पुगेको, तर स्वयं नेपालीले खबर नपाएको यथार्थ थियो त्यो । नेपाल–चीन मित्रताको विषयमा कविता लेखिए पनि सम्बन्धित पक्षले थाहै पाएको थिएन । त्यसैले सु हाउ तम्सिए उल्था गर्न । तर, एउटा संकोच छँदै थियो– उल्था गरिएको चीज कविताजस्तो हुन्छ कि हुँदैन ?

‘माकुराको जालो एक ठाउँबाट अर्को ठाउँमा जस्ताको तस्तै सार्नुजस्तै हो कविता उल्था गर्नु,’ एक चिलीका कविको भनाइ सम्झँदै सु हाउले सुनाए, ‘उल्था गरिएको सामग्री कविताको स्तरमा छ कि छैन, म दुविधामा थिएँ ।’ प्रत्युत्तरमा गोविन्द भट्टले पनि अनुवादको प्रशंसा गरे, हौसला दिए । अघि बढ्न चाहिने सहयोगका लागि प्रतिबद्धता देखाए ।

त्यही उमंगमा सु हाउले ल्वी चेनका ३० वटा जति कविता उल्था गरे । सु हाउ मात्रै होइन, उनकी जीवनसंगिनी (सत्यमोहनकी चेली) च्या चे पनि अनुवादमा साथै रहिन् । यस दम्पतीको अनूदित कृतिमा एउटा हार्दिक भूमिका लेखिदिए– सत्यमोहन गुरुले ।

२०६९ साल मंसिरमा नेपाल–चीन मैत्री सप्ताहबीच तत्कालीन उपराष्ट्रपति परमानन्द झाले कवितासंग्रह विमोचन गरिदिए । पाका उमेरका विद्यार्थीमध्ये च्या चे र सु हाउले गुरुलाई कविताको भूमिकामा भेट्टाए । ‘किताबको यिनै भूमिका, एल्बमका पुराना फोटाहरू र पुराना स्मृति त छन् अब सत्यमोहन गुरु सम्झाउने,’ सु हाउले भने ।

कुनै जमानाको राजधानी सहरकै ‘आइकन टावर’ श्वेतचैत्य र अरनिकोबारे धेरै चिनियाँ जानकार छन् । सत्यमोहनले नश्वर चोला त्यागेपछि चिनियाँ टेलिभिजनमा वृत्तचित्रका टुक्राहरू पनि छरपस्ट देखिए । यति ठूलो चीनमा थोरैले भए पनि सत्यमोहनको अनुहार सम्झिएका छन् ।

‘एक असाधारण प्रतिभावान् गुरुको सान्निध्यता पाइयो । सत्यमोहनले छर्नुभएको नेपाली भाषाको बीउको जरा चीनमा फैलिएको छ,’ सु हाउ भन्छन्, ‘केही श्यामश्वेतकालीन तस्बिरहरू छन् उहाँसँगका । शताब्दी पुरुषका नाममा नेपाल राष्ट्र बैंकले निष्कासन गरेका तीन प्रकारका सिक्काहरू पनि मसँग छन् ।’

प्रकाशित : कार्तिक ५, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्

सत्यमोहनको त्यो टोपी

जीवनकालमा चिन्ताले उनलाई जलाएन । आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी ।
तीर्थबहादुर श्रेष्ठ

सत्यमोहन जोशी । एउटा यस्तो नाम, जसलाई कालले पनि हत्तपत्त खान सकेन । निल्न सकेन । असल मानिसको नाम यस्तै हुन्छ । भर्खरै सत्यमोहनको निधन भएको छ । उनीसँग धन छैन । सम्पत्ति छैन लिएर जाने । सबै छोडेर गए । शरीर पनि दान गरेर गए । जीवनकालमा चिन्ताले उनलाई जलाएन र आज चिताले पनि उनको शरीर जलाएन । चिता र चिन्ताले नजलाएका एक युग हुन्– सत्यमोहन जोशी । उनको दिवंगत आत्माको चिर शान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्छु ।

सत्यमोहन परलोक भएको ०७९, असोज ३० गते आइतबारे बिहानीदेखि केही मित्रहरूले प्रश्न गर्न थाल्नुभयो– तपाईं सत्यमोहनलाई कसरी सम्झनुहुन्छ ? मलाई भने मनमा लाग्यो– के मात्रै सम्झने, के नसम्झने ! बिर्सने कुरा नै छैनन् । सरल जीवन र जीवनको सरलतालाई उनले कति सरस र सक्रिय बनाए भन्ने सम्झन उनको लवाइ, खवाइ, बोलीचाली सम्झे पुग्छ । अरू त अरू नै भए उनको टोपी मात्रै हेर्दा पनि कति सामान्य र सरल लाग्छ । टोपी लगाउँथे तर ढल्काएर । फुर्ती देखाएर टलक्क चम्किलो टोपी लगाएको कहिल्यै देखिनँ । जहाँ भेटे पनि उही टोपी, उस्तै टोपी ! राजाको सभामा होस् वा रंकहरूका माझमा । मैले देखेको राजा वीरेन्द्रको अध्यक्षतामा बस्ने प्राज्ञ–सभामा पनि उही टोपी । मंगलबजारको आमसभामा पनि उही टोपी । गोष्ठी, सेमिनार र उद्घाटनका बेला पनि उही टोपी । वाङ्मय शताब्दी–पुरुषको पगरी पनि उही टोपीले थाप्यो । उनको निवासमा स्थापित संग्रहालयभरि टाँगिएका मान–सम्मानका तक्मा, विभूषण, पदक तथा अनेकौं प्रशस्तिका थुप्रो पनि उही टोपीले थाप्यो । आजभोलि सामाजिक सञ्जालभरि देखिएका फोटो र तस्बिरहरूमा पनि उही टोपी । कुनै बुट्टा वा छाप नछापेको सादा कपडाको एक टोपी । टोपीभित्र सिलाइ गरिएको सेतो नयनसुत कपडा । संजावपेटीले बाहिरी निधारमा कोरेको सेतो चाँदीको घेरा सधैं प्रस्ट देखिन्थ्यो । सूचीकारको हातले सिएका धागोका टाँकाहरू बाहिरबाटै प्रस्ट देखिन्थ्यो । सबैभन्दा मार्मिक दृश्य त श्रद्धाञ्जलीका निम्ति राखिएको उनको पार्थिव शरीरको शिरमा पनि उही टोपी देखिएको थियो । तिनै हुन्– सत्यमोहन जोशी ।

सत्यमोहन जोशीसँग लगभग ४०/४५ वर्षसम्मको संगतमा रहँदा हरेक ठाउँमा उनी पैदलै हिँडेर पुगेको देख्थेँ । सय वर्षे शरीर बोकेर हिँड्दा पनि उनले लट्ठी टेकेर हिँडेको कहिल्यै देखिएन । ‘जब पुग्यो साठी हातमा लाठी’ भन्ने उक्तिलाई उनले त्यतिकै लत्याएर हिँडे । उमेरले नगल्ने, परिश्रमले नथाक्ने शरीर उनले पाएका रहेछन् । जिब्रोमा सधैं सरस्वती बसेजस्तो । स्मरण शक्ति उत्तिकै तेज । बोल्दा कहिल्यै नलरबराउने जिब्रो । ऐला र ह्विस्की दुवैको स्वाद यत्तिकै ठम्याउने जिब्रो । घ्राणशक्तिको पनि कुरै भएन । कान सधैं तिखो । आँखामा कहिल्यै चस्मा लागेन । यस्ता अद्वितीय शरीर र स्वास्थ्य लिएर सक्रिय जीवनको शतक पार गरेका व्यक्ति थिए– सत्यमोहन ।

मैले सत्यमोहन जोशीलाई सम्झनुपर्दा हामी दुई आबद्ध केही संघ, संस्था र कार्यक्रमलाई सम्झनुपर्ने हुन्छ । पहिलो कुरा त तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्रसंग उठ्छ । सत्यमोहन जोशी उक्त प्रतिष्ठानमा पहिलो सह–सदस्य र पछि सदस्य सचिव भएर १० वर्ष (२०२६–२०३६) सम्म सेवारत रहे । मैले पनि त्यसपछिका १० वर्ष (२०३६–२०४६) प्रज्ञा–प्रतिष्ठानमा पहिले सदस्य र धरै काल सदस्य सचिव भएर काम गरें । त्यसपछि २०५२ सालदेखि हामी दुवै प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य बन्यौं । त्यस नातामा उनीसँगको सामीप्य सौभाग्यको कुरा थियो । त्यसका अतिरिक्त उनी र मेरो भेटघाट मदन पुरस्कार गुठीको कार्यक्रममा पनि बाक्लै रह्यो । मेरो सौभाग्य, विसं २०६३ को जगदम्बाश्री पुरस्कार मलाई प्रदान गर्दा उक्त कार्यक्रममा उनले नै मलाई ओल्काएर स्टेजमा उकालेका थिए । तीनपल्ट मदन पुरस्कारबाट सम्मानित व्यक्तित्वबाट त्यो अवसर पाउनु मेरा लागि अहोभाग्यको विषय थियो । यसैगरी अर्को प्रतिष्ठित संस्था ‘ज्ञानगुनका कुरा’ ले मलाई नयराज पन्त शोध सम्मान प्रदान गर्दा पनि उनकै हातबाट प्रशंसापत्र आदि प्राप्त गरेको थिएँ । म कति भाग्यमानी ! मेरो विशेष संलग्नता भएको अर्को सामाजिक संस्था ‘शेष–हीरा प्रतिष्ठान’ को स्थापनाकाल २०५२ सालबाटै उनले हामीलाई समाज सेवा एवं संस्थागत विकासका लागि मार्गदर्शन गर्दै आएका थिए । उनलाई २०५५ साल फागुन १९ गते विशेष सम्मानका साथ मानार्थ सदस्य बनाउन पायौं भने २०७२ चैत २७ गते शेषराज दलीको स्मृतिमा ‘शताब्दी पुरुष सत्यमोन जोशीलाई’ विशेष अभिनन्दन गर्ने अवसर मिल्यो । प्रतिष्ठानका संस्थापक शेषराज दलीलाई उनी नजिकैबाट चिन्थे । उनले शेषराज दली शताब्दी स्मृति ग्रन्थका लागि लेखेको श्रद्धाञ्जली मन्तव्यको पहिलो पंक्ति यसप्रकार छ—

‘म पाटनको मान्छे भए पनि दरबार स्कुलमा पढेको हुनाले यहाँबाट दरबार स्कुल पढ्न जाने एउटै थिएँ अर्थात् स्कुलमै पाटनको एक्लो विद्यार्थी । एक्लै जान्थें, एक्लै आउँथें । पछि अरू पनि जान थाले । त्यसरी पढेको हुनाले दरबार हाइस्कुलको चालामाला मलाई थाहा छ । शेषराजजी र गोपाल पाँडे ‘असीम’ सहपाठी हुनुहुन्थ्यो— हामीभन्दा तीन–चार वर्ष सिनियर । भीमबहादुर पाँडे, ज्ञानबहादुर, अमृत साइन्स क्याम्पसका संस्थापक अमृत आदि त्यो बेलाको समूहमा सिद्धिचरण श्रेष्ठ पनि थिए ।’

नेपाल र नेपालीको विविधतामा एकता हेर्ने, देख्ने र स्थापित गर्ने–गराउने काममा सत्यमोहन जोशीका कृतिहरू धेरै छन् । त्यसमध्ये कमै चर्चामा आउने गरेको उनको ‘पर्यायवाची शब्द–कोश (२०३०)’ नामक ग्रन्थबारे थोरै प्रकाश पार्नु उचित होला । किनभने यो पनि एक कीर्तिमानी कृति हो भन्ने मलाई लाग्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा उनी आयोजक बनेर तयार भएको साढे सत्र इन्च (१७.५ इन्ज) लम्बाइ र एघार इन्ज (११ इन्च) चौडाइको आकारको १८७ पृष्ठको पुस्तक आफैंमा असामान्य देखिन्छ । दराजमा हत्तपत्त अटाउँदैन पनि । त्यसैले अरू पुस्तकमाझ सधैं टड्कारो देखिन्छ । यो पुस्तकलाई सम्झने क्रममा हामीले त्यसमा विशेष योगदान पुर्‍याउने २३ जना भाषाविज्ञहरू तथा शब्द संकलन र सम्पादनको जिम्मा पाएका पुष्कर लोहनीलाई बिर्सिन मिल्दैन । यस पुस्तकले १३ वटा नेपाल भाषाहरूलाई समावेश गरेको छ । पहिलो कोलम महलमा नेपाली शब्द र त्यसको अर्थ खुलाइएको छ भने त्यसपछि लहरै गुरुङ, चेपाङ, तामाङ, थारू, दनवार, नेवारी, भोजपुरी, मगर, मैथिली, राई, लिम्बू, लेप्चा र सुनवार भाषाका १३ महल कोलम राखिएका छन् । प्रत्येक शब्दको क्रमसंख्या दिइएको छ । ती एकदेखि २, ९, १६ सम्म छन् । अर्थात् झन्डै तीन हजार नेपाली शब्दका पर्यायवाची अरू भाषाका शब्द राखिएका छन् । त्यसमा अतिरिक्त प्रत्येक भाषाका शब्दहरूको संग्रह अ देखि ज्ञ सम्म क्रमैले राखिएको अनुक्रमणिका पनि छ र प्रत्येक शब्द कुन पृष्ठमा भेट्टाइन्छ भन्ने पृष्ठांक पनि अंकित छन् । यसप्रकार उसबेलाको ‘लेटर प्रेस’ प्रविधिभित्र बसेर यो काम गर्ने धैर्य निकै सराहनीय मान्नुपर्छ । यस पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसमा समावेश नक्साहरू हुन् । प्रत्येक भाषाका नेपालीहरू नेपालको कुन भागमा बसोबास गर्छन् भन्ने विषयमा छुट्टाछुट्टै नक्सांकन गरिएको छ । त्यसका अतिरिक्त नेपाललाई १० भौगोलिक क्षेत्रमा विभाजन गरिएको प्राकृतिक स्वरूपको नक्सा निकै व्यावहारिक र वैज्ञानिक पनि छ । त्यसअनुसार, पूर्व पहाडभित्र १० जिल्ला, पूर्व भित्री मधेसमा दुई जिल्ला, पूर्व तराईमा ९ जिल्ला पर्न आउँछन् । सुदूरपश्चिममा पहाडमा ८ जिल्ला र मध्य भित्री मधेसमा ३ जिल्ला पर्न आउँछन् । पश्चिम भित्री मधेसमा दुई जिल्ला तथा पश्चिम तराईका ४ जिल्ला पर्छन् । सुदूर पश्चिम तराईमा ४ जिल्ला समावेश छन् । आञ्चलिक विभाजन अनुसार, १४ अञ्चलमा ७५ जिल्ला समावेश छन् । यसप्रकार नेपालको भूस्वरूप र प्रशासनिक विभाजन कुनै पनि विकास योजनाका लागि एक महत्त्वपूर्ण सामग्रीका रूपमा स्थापित गराउने काम यस पुस्तकले गरेको देखियो । वर्तमान नेपालको राज्य व्यवस्था तथा भाषिक एवं सांस्कृतिक स्वरूप कहाँबाट, कसरी विकसित भयो र अब आउने दिनमा कस्तो दिशा लिनुपर्ला भन्ने अठोट गर्न यो दस्तावेज अति उपयोगी हुने भएकाले यसको पुनः मुद्रण हुनु आवश्यक देखिन्छ ।

पुस्तकको परिचयात्मक विवरण सत्यमोहन स्वयंले लेखेका छन् । विविधतामा एकता, एक राष्ट्रियताको सिर्जना, विकासमा जातीय भाषाहरूको महत्त्व र भूमिकाबारे स्पष्ट जानकारी त्यहाँ पाउँछौं । मातृभाषा र बोल्न सक्ने अरू भाषाको तथ्यांकको महत्त्व उजागर भएको पाउँछौं । कुन भाषा कुन क्षेत्रमा क–कसले बोल्छन् भन्ने विस्तृत वर्णन पनि त्यहीँ छ । यस्तो शब्दकोश यसभन्दा पहिले कहिल्यै बनेको थिएन । पछिका दिनमा भाषिक सर्वेक्षण, तथ्यांक संकलनका लागि आवश्यक मार्गदर्शन र मार्गचित्रण गर्ने अति महत्त्वको सामग्रीका रूपमा खडा छ यो । यो प्रयोगात्मक रूपमा थालिएको पहिलो कार्य भएकाले यसमा पहिलोपल्ट १४ भाषाहरू मात्रै समाविष्ट भएको उल्लेख छ । वर्तमान अवस्थामा नेपालमा १०० भन्दा बढी भाषाभाषीहरू भएको तथ्यहरू प्रकाशित छन् । हाम्रो भाषिक वैभवलाई उजागर गर्न कस्तो उद्देश्यले काम गर्नुपर्छ भन्ने बोध जोशीले प्रस्तुत गरेका ७ उद्देश्यभित्र समाहित हुन आउँछ । तिनलाई यसप्रकार उल्लेख गर्न सकिन्छ—

१. भाषाको एकतामा नेपाली राष्ट्रियताको फल्दोफुल्दोपनासँग चिनारी गर्नु–गराउनुका साथै एक भाषाभाषीले अर्को भाषाभाषीलाई आत्मसात् गराउने ।

२. एकले अर्कोसँग भएको विशिष्ट गुण र विशेषता ग्रहण गर्ने बानी बसाउने ।

३. एक भाषामा भएको शब्द अभावमा अर्को भाषाबाट आपूर्ति गर्ने ।

४. ‘चार वर्ण ३६ जातको फूलबारी’ भन्ने कथनलाई भाषिक पक्षबाट चरितार्थ गराउने ।

५. नेपालमा बोलिने विभिन्न भाषाका शब्द–ग्रहणद्वारा राष्ट्र भाषा नेपालीलाई समृद्ध तुल्याउने ।

६. क्षेत्रीय अथवा जातीय भाषाहरूलाई लाभान्वित गराउने र निकटतम आपसी सम्बन्ध कायम गरी एकले अर्कालाई सघाउने ।

७. नेपाली भाषा–विज्ञानका विद्यार्थीहरू एवं अनुसन्धाताहरूलाई तुलनात्मक भाषा–विज्ञानमा प्रशस्त मात्रामा अन्वेषण क्षेत्र औंल्याउने ।

सत्यमोहन जोशीले विसं २०३० असारमा लेखेको उपरोक्त विवरण तथा भाषिक मानचित्र २०१८ सालको तथ्यांकमा आधारित थिए । बितेका ६० वर्षभित्र नेपालमा परिवर्तनको भंगालो नै फुटेको अवस्था छ । कतिपय भाषाहरू लोप पनि भइसके । सत्यमोहन जोशीको आफ्नै मातृभाषा नेवारी बोल्ने हाम्रो काठमाडौंको समाजमा आजका पुस्ताले नेवारी बोल्दैन । यसप्रति चासो र चिन्ता जनाउँदै उनी स्वयं परलोक भएका छन् । तर, उनका विचारहरू जिउँदै छन् । त्यसतिर मनन गर्न सकौं भन्ने कामना गर्छु ।

सत्यमोहन जोशीका प्रकाशित कृतिहरू नेवारी मातृभाषामा तथा नेपाली राष्ट्रभाषामा थुप्रैथुप्रै छन् । तीमध्ये उनको एक मात्र यात्रा साहित्य ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ को थोरै चर्चा गर्न चाहन्छु ।

उपरोक्त पुस्तक पढेपछि मलाई लाग्यो, सत्यमोहन न्युजिल्यान्ड पुग्दा त्यहाँ पहिलो नेपालीभन्दा पहिलो नेपाल पुगेको स्पष्ट देखिन आउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्ने अथवा भनौं त्यस शिविरमा आफ्नो शिर झुकाउन पुग्ने मानवद्वव नेपालको तेन्जिङ नोर्गे शेर्पा तथा हातेमालोमा पुग्ने न्युजिल्यान्डका एडमन्ड हिलारीको कीर्तिमानी सफलतामा रमाइरहेको शुभघडीमा त्यहाँ पुग्नु, त्यो पनि सत्यमोहन जोशी पुग्नु सिंगो नेपाल पुग्नुजत्तिकै भएछ । विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्नुमा सत्यमोहनभन्दा उपयुक्त विद्वान् अरू को होला ? उनलाई नेपाल र नेपालीबारे तथा विशेष गरि हिमाल, हिममानव, तेन्जिङको गाउँघरबारे थुप्रैथुप्रै जिज्ञासाहरूको सामना गर्नुपर्‍यो र साथै नेपाली लोकगीत पनि सुनाउनुपरेको उल्लेख गरेका छन् जोशीले

आफ्नो पुस्तकमा । उनी लेख्छन्, ‘मलाई अफिसमा गएर काम सिक्न जाने कि संघ–संस्थामा गएर भाषण दिन जाने भनेझैं हुन लाग्यो । कति माया गरेर, उत्सुकता र कौतूहल बोकेर आउनेहरूलाई नाइँनास्ति गर्ने कुरो पनि भएन.... ।’ न्युजिल्यान्डको ‘फ्रिलायन्स’ पत्रिकाले अग्रभागमा नेपाली टोपी लगाएको फोटोसहित अग्रलेख छापेकामा उनी निकै प्रसन्न भएको पनि हामी पढ्न पाउँछौं । उनी भन्छन्, ‘अनि मैले न्युजिल्यान्डमा खुट्टा टेक्दा मैले पाएको अभूतपूर्वको आतिथ्य सत्कारको रहस्य मलाई स्पष्ट हुँदै गयो...। एउटै टेबुलमा बसेर हामीहरू लन्च खान बस्यौं । नौलो मानिस देखेर लन्च खान आएका अरू मानिसहरू मलाई हेर्न थाले । मचाहिँ आफ्नै लवेदा सुरुवाल र भादगाउँले टोपीमा नै थिएँ...।’

सत्यमोहन जोशीले भादगाउँले टोपीबाट सामान्य हल्का रङको टोपी पहिरन कहिले र कसरी थालनी गरे, त्यसको ज्ञान मलाई छैन । तर, सत्यमोहन जोशीको टोपी मेरो सम्झनाको एक अभिन्न अंग बनिरहेको छ । धन्य त्यो टोपी !

गोपाल योञ्जनको गीतले भनेजस्तै जहाँ पनि, जहिले पनि सत्यमोहनको त्यो टोपी अघि बढिरहेकै थियो, त्यो थियो ‘हितैको साथीजस्तो, आमाको छातीजस्तो ।’

मेरो टोपी कैलाशको शिरजस्तो, हिमाली भीरजस्तो

कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने...

सगरमाथा उँभो पनि मेरो टोपी चड्दै थियो

मेरो टोपी खोज्दै गएँ सागरदेखि सगरसम्म

जहाँ पनि जहिले पनि यो त अघि बड्दै थियो

मेरो टोपी हितैको साथीजस्तो, आमाको छातीजस्तो...

प्रकाशित : कार्तिक ५, २०७९ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×