यो कथा हो- कोसेली - कान्तिपुर समाचार
कथा

यो कथा हो

रत्न प्रजापति

काठमाडौँ — एउटा रातो रङको चिल्लो कार सर्र आएर सडकको छेउमा रोकियो । कारबाट निस्केर दुई जना लोग्नेमान्छे सरासर घरभित्र पसे ।
‘ओहो ! दाजुहरू आउनुभो ?’ बहिनी भन्नेले मस्किँदै भनी । ‘अनि त ? बहिनीले प्रेमपूर्वक बोलाएपछि आउनु परेन त ?’ दाजु भन्नेहरूले जिस्किँदै भने । बहिनी मक्ख । दाजुहरू दङ्ग ।
‘बसौंन त ।’ बहिनीले मक्ख परेर भनी ।

दुवै दाजुहरूले यताउता हेरे बस्नका लागि । तर बस्ने ठाउँ कतै देखेनन् । कुनै मुढा, कुर्सी वा सोफा थिएन त्यहाँ । मात्रै एउटा खाट थियो । दुवै दाजुहरू त्यही खाटमा टुसुक्क बसे ।

बहिनीचाहिँ उभिइरही । बहिनी उभिराखेको देखेर एउटा दाजुले भन्यो, ‘तिमी पनि बसन ।’ अनि बहिनी पनि दाजुहरूसँगै टुसुक्क बसी खाटमा । त्यसरी बस्दा बहिनीको तातो दाजुहरूमा स¥यो । दाजुहरूको तातो बहिनीमा स¥यो । दाजुहरूलाई तातोको अनुभूति भयो । बहिनीलाई पनि तातोको अनुभूति भयो । तर भन्न सकेनन् तातो लागेको कुरा । भनिहाल्ने कुरा पनि थिएन । एकले अर्कालाई हेराहेर मात्रै गरे । बहिनी मुसुक्क हाँसी । दाजुहरू पनि उसैगरी हाँसे । बहिनीको कोठामा रमाइलो वातावरण छायो ।

‘म त दाजुहरू आउनुहुन्छ भनेर बिहान सबेरै उठेर नुवाइधुवाई गरेर बसेकी । पूजाको सामान पनि ठीक पारिसकेकी छु । खाना पनि तयार पारिसकेकी छु । दाजुहरूलाई खानासँगै अलिअलि पिउने कुरा पनि ल्याएकी छु ।’ बहिनीले एकछिनको मौनतालाई तोड्दै भनी ।

दङ्ग पर्ने पालो दाजुहरूको थियो, परे । दङ्ग परेरै एकअर्कालाई हेराहेर गरे । एउटा दाजुले आँखा सन्कायो । अर्को दाजु मुसुक्क हाँस्यो । फेरि उसले पनि आँखा सन्कायो । अर्को दाजु पनि मुसुक्क हाँस्यो । उनीहरूको हाँसो रहस्यपूर्ण थियो ।

दाजुहरू एकले अर्कोलाई हेरेर मुस्कुराएको देखेर बहिनीको मनमा खुल्दुली भयो । आफूलाई रोक्नै नसकेर बहिनीले सोधी, ‘किन हाँस्नुभो दाजुहरू ?’

‘बहिनीको हामीप्रतिको प्रेम देखेर ।’ चतुर दाजुले निकै चतु¥याइँपूर्वक भन्यो ।

बहिनी पुनः मक्ख परी र लाडे पल्टिई, ‘दाजुहरू जस्तो हो त म ?’

अब लाडे पल्टिने पालो दाजुहरूको आयो । दाजुहरूले पनि लाडिएर भने, ‘हामी पनि त गर्छौं नि बहिनीलाई धेरै प्रेम । खोलेर देखाउन मिलेन र पो त ।’

बहिनी प्रेमले ओतप्रोत भई । खुसीले एक बित्ता उफ्रिएजत्तिकै भई । सगरमाथै टेकेजस्तो गर्व महसुस भयो बहिनीलाई ।

दुवै दाजुका हातहातमा झोला छन् । बहिनीका आँखा झोलामा परे । झोलामा केके होला ? बहिनीलाई फेरि अर्को खुल्दुली भयो । तर अघिजस्तै तुरुन्तै सोधिहाल्न सकिन । सोध्ने कुरा पनि भएन । पक्कै दाजुहरूले बहिनीका लागि ल्याइदिएको बहुमूल्य उपहार हो त्यो । तर खोलेर नहेरेसम्म कसरी थाहा पाउनु, त्यसमा के छ भनेर ? बहिनीको मनको खुल्दुली मनमै रह्यो ।

‘साँच्चि, बहिनीले आज अफिसमा बिदा त लिएकी छौ नि ? फेरि बहिनीको त बिदै नमिल्ने अफिस छ क्यारे ।’ एउटा दाजुले यसो केही सम्झेजस्तो गरेर समझदार भएर भन्यो ।

‘लिएकी छु नि । भाइटीकाको दिनमा पनि बिदा नपाउनु त । होइन दाजु ?’ बहिनीले अर्को दाजुको मुखमा हेरेर भनी ।

‘त्यही त, आजको दिनमा पनि ।’ अर्को दाजुले त्यो दाजुको मुखमा हेर्दै भन्यो । त्यो दाजु के सोचेर हो मुसुक्क हाँस्यो । अर्को दाजु पनि मुसुक्क हाँस्यो ।

दाजुहरू हाँसेको देखेर फेरि बहिनीको मनमा तुलुबुल भयो । सोधिहाली, ‘किन हाँस्नुभो दाजुहरू ?’

‘यत्तिकै ।’ दुवै दाजुहरूले एकै स्वरमा भने । दाजुहरू किन खुसी छन् । बहिनीले थाहा पाउन सकिन । बरु मनमनै सोची, मेरो हातबाट भाइटीका लाउन पाएर होला । दाजु भन्नेहरू बहिनी भन्नेकहाँ भाइटीका लाउन आएका रहेछन् ।

सोच्दासोच्दै बहिनी पनि एक्लै फिसिक्क हाँसी । बहिनीलाई हेरेर दाजुहरू फेरि मुसुक्क हाँसे । बहिनीको कोठै हाँसेजस्तो भयो ।

एक छिन तीनैजना शान्त भए । कोठामा एकछिन मौनता छायो । बाहिर भने हल्लीखल्ली छ, मान्छेहरूको । मोटरगाडीहरूको । बहिनीको डेरा सडकछेउमै छ नि त ।

बहिनीले हातको घडी हेरी । आज बहिनीको हातमा नयाँ घडी छ । सायद उसले भाइटीकामा लाउनकै लागि किनेकी थिई । दाजुहरूले पनि हेरे बहिनीको हातको नयाँ घडी । बहिनीको हातको नयाँ घडी हेरेर दुवै दाजुहरूले मनमनै सोचे, यस्तो राम्रो हातमा आफैंले एउटा नयाँ घडी लाइदिन सकेको भए ? अहिलेसम्म बहिनीलाई एउटा नयाँ घडी पनि दिन नसकेकोमा दुवै दाजुहरूलाई पछुतो लाग्यो । अर्को भाइटीकामा ल्याइदिने अठोट गरे मनमनै । बहिनीले थाहै पाइन तिनीहरूको अठोट ।

‘भाइटीकाको साइत भएछ ।’ बहिनीले घडी हेर्दै भनी ।

‘अब सुरु गरौंन त ।’ यसो भन्दै दुवै दाजुहरू बहिनीले ओछ्याइदिएको चकटीमा अनुशासित विद्यार्थीजस्तो टुसुक्क बसे । बहिनीले के–के गर्छिन् त्यो हेर्न थाले दुवै दाजुहरूले ।

बहिनीले दुवै दाजुहरूको वरिपरि तेल र पानीको घेरा हाली । दाजुहरूको टाउकोमा पालैसित चोखो पानी छर्की । तेल लाइदिई । निधारमा सप्तरङ्गी टीका लाइदिई । मखमलीको फूलको माला लाइदिई । पूजा गरी । आरती उतारी । ढोकामा ओखर पनि फोडी । मसला, मिठाई र फलफूल पनि दिई । अनि दाजुहरूले आफूले ल्याएको नगद र जिन्सी दुवै उपहार बहिनीलाई दिए । उपहार पाएर बहिनी दङ्ग परी । दाजुहरूप्रति कृतज्ञ भई । तर उपहार खोलेर हेर्न बिर्सी बहिनीले । सायद धेरै खुसीले गद्गद् भएर होला । बहिनीको हातबाट टीका लाउन पाएर दाजुहरू पनि कृतज्ञ भए । बहिनीजस्तै खुसीले गद्गद् भए ।

भाइटीका सकियो । अब खान बाँकी रह्यो । बहिनीले प्रेमपूर्वक खाना पस्किदिई । दाजुहरू अघिजस्तै अनुशासित विद्यार्थीजस्तो ज्ञानी भएर खान बसे । बहिनीले प्रेमपूर्वक खानेकुरासँगै पिउने कुरा पनि दिई । दाजुहरूले खाँदै र पिउँदै गरे । सायद दाजुहरूलाई खानेकुराभन्दा पिउने कुरा बढी स्वादिलो लाग्यो । किनभने तिनीहरूको जोड खानुमा भन्दा पिउनु देखियो । बहिनी त्यसमा पनि खुसी भई । दाजुहरूले पिएको हेरिही ।

‘अब तिमी पनि खाऊन ।’ एउटा दाजुले भन्यो ।

‘अलिकति तिमी पनि पिऊन । ’ अर्को दाजुले भन्यो ।

बहिनीले पिउँदिन भन्दै थिई । दाजुहरूको मन राख्न अलिकति पिइदिई । दाजुहरूले फेरि पिउन कर गरे । अनि त नारायण गोपालले जस्तै पिउँदिन–पिउँदिन भन्दै पिई । दाजुहरूलाई साथ दिएर पिई । अलिअलि भन्दै धेरै पिई । दाजुहरूले त अघि नै धेरै पिइसकेका थिए । अघि तिनीहरूले बियर पिएका थिए । अहिले त बियरले नै तिनीहरूलाई पिएजस्ता देखिए दुवै दाजुभाइ । होश हराएजस्ता । बोली लर्बरिएका । अनि जीउ हल्लिएका । पिउँदै जाँदा बहिनी पनि दाजुहरूजस्तै देखिई । होश हराएजस्ती । बोली लर्बराएकी । अनि जीउ हल्लिएकी । जसले जसको गिलास उठाएर पिए पनि मतलब हुन छाड्यो तिनीहरूलाई ।

‘दाजुहरूलाई त लागेजस्तो छ ।’ बहिनीले हाँस्दै भनी ।

‘बहिनीलाई पनि लागेजस्तो छ ।’ दाजुहरूले पनि उसैगरी हाँस्दै भने ।

‘हामी सप्पैलाई लाग्यो । हाहाहा.... ।’ तीनैजना एकसाथ हाँसे ।

तिनीहरूको खाने काम सकियो । तर पिउने काम सकिएन । खान बस्दा विद्यार्थीजस्तै अनुशासित देखिएका दाजुहरु पिएपछि भने अनुशासनहीन विद्यार्थीजस्तै भए ।

बहिनीले दाजुहरूका लागि मनग्गे पिउने व्यवस्था गरेकी रहिछ । उदार रहिछ बहिनी । उसको उदारता बिस्तारै देखिँदै गयो ।

बहिनीको उदारताले खुसी भएको एउटा दाजुले आफूले दिएको उपहारको झोलातिर औंल्याउँदै भन्यो, ‘हामीले दिएको उपहार हेर्दिनौ बहिनी ?’

‘हेर्छु नि, किन नहेर्नु । खैखै हेरिहालुँ त ।’ यसो भन्दै बहिनीले एउटा झोला खोली । झोलाबाट फुत्त एउटा बुट्टे सारी निस्कियो ।

‘आहा, कति राम्रो सारी ।’ बहिनी खुसीले चिच्याई ।

‘एकचोटि लगाइहेरन । कत्तिको सुहाउँदो रहेछ तिमीलाई ।’ एउटा दाजुले सहर्ष भन्यो ।

‘दाजुहरूकै अगाडि ?’ बहिनी लाजले अनकनाई ।

‘के भो त ?’ अर्को दाजुले भन्यो ।

‘हो त । दाजुहरूको अगाडि केको लाज ।’ अब बहिनी खुलस्त भई र कस्सिई सारी लाउनलाई । उसले सुन्तलाको बोक्रा छोडाएजस्तै छोडाई आफूलाई । केस्रामात्रै बाँकी रह्यो । ऊ दाजुहरूकै अगाडि आधा नाङ्गिई । उसको अर्धनग्न र मुलायम शरीर हेरेर दाजुहरूको विचारचाहिँ पूरै नाङ्गियो । अब तिनीहरू अश्लीलताउन्मुख मात्रै होइन, आक्रमणउन्मुख नै हुन लागे ।

बहिनीले आफ्नो जीउमा दाजुले दिएको सारी लपेट्न खोज्दै थिई । एउटा दाजुले झटपट त्यो सारी समातेर तान्यो, दुशासनले द्रौपदीको सारी तानेजस्तै । अब बहिनी निर्वस्त्र बनी । हेर्दा द्रौपदीको चीरहरण हुँदाखेरिको जस्तै देखिने त्यो अकल्पनीय दृश्य तिनीहरूका लागि सामान्य बन्यो ।

दाजुले बिस्तारै बहिनीको बारुले कम्मरमा हात लगायो । काउकुतीले बहिनी चलमलाई र भनी, ‘नगर्नुस्न दाजु । मलाई काउकुती लाग्यो ।’

आक्रमणमै उत्रिसकेको चितुवाजस्तो दाजुले मृगजस्ती बहिनीको करुणामय पुकारलाई के सुन्थ्यो । उसले बहिनीको जीउ मुसार्न थाल्यो । बहिनी काउकुतीले खितखिताई । दाजु मदहोश भयो । बहिनी खितखिताउँदै खाटमा उत्तानो परेर डङरङ्ग पल्टी । होश गुमाइसकेको र पशु बन्न आतुर दाजु पशु अवतारमा बहिनीमाथि नै घोप्टियो । आगोको रापमा परेको नौनी पग्लेर तरल भयो ।

दाजुले केही देखेन । बहिनीले पनि केही देखिन । दाजुले केही सोचेन । बहिनीले पनि केही सोचिन । तीनैजनाले होश गुमाइसकेका थिए । त्यसपछि जे–जे नहुनुपर्ने हो त्यही–त्यही भयो । दुवै दाजुहरूले बहिनीसँग पालैपालो त्यही गरे, जे नगर्नुपर्ने थियो र गर्न नहुने थियो । पशु अवतारमा अवतरित भइसकेका थिए तिनीहरू । केही कुराले छेकेन तिनीहरूलाई । न जोडेको नाताले, न त गाँसेको सम्बन्धले । आखिर एक–अर्कामा कोही पनि त थिएनन् तिनीहरू ।

एक छिनपछि तीनैजना होशमा आए । ज¥याकजुरुक उठे । अत्तालिँदै एकले अर्कोलाई हेरे । तीनैजना निर्वस्त्र थिए । जीउमा केही थिएन । निधारमा अघि भर्खर लगाएको सप्तरङ्गी टीकाचाहिँ जस्ताको तस्तै थियो ।

‘यो के भयो ?’ बहिनीले झटपट सारीको सप्कोले आफ्नो उदाङ्गो छाती छोप्दै भनी ।

दुवै दाजुहरू मौन बसे ।

पाठकवृन्द, यद्यपि यो कथा हो । तथापि अन्यथा सोच्ने छुट भने छ ।

प्रकाशित : आश्विन १८, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

एउटा पत्र प्रवासबाट

दीपक पराजुली

काठमाडौँ — वकिल साहब, नमस्कार ।उचित सुझाव दिनुहोला भन्ने आशले यो पत्र लेखिपठाएको छु ।मेरो घर सल्यान जिल्ला हो । अहिले म नयाँ दिल्लीमा छु । पहाडगञ्ज-आराकाशाँ रोडको एउटा होटलमा मजदुरी गर्छु । देशले रोजगारी दिन सकेन अनि परदेशमा आएर रगतपसिना बगाउन बाध्य भएँ जस्ता शास्त्रीय गुनासाहरू मेरा मनमा छैनन् ।

जहाँ रहे पनि धर्ती उही हो; आकाश उही हो; मान्छे उही हो; देश पनि उही हो‚ जहाँ मान्छेहरू बस्छन् । सारा संसार उस्तै छ । अचेल यस्तै कुराहरू मेरो चित्तमा बास बस्न आउँछन् ।

बरु मजदुरीबाट छुट्टी मलेको दिन मुड चले साथीहरूसँग आग्रा जान्छु, ताजमहल हेर्न । ताजमहल नै गइरहनुपर्ने त्यस्तो कुनै ऐतिहासिक कारण छैन । मुम्बई वा गोवातिर पनि जान मन नलाग्ने होइन । टाढा घुम्न जाँदा त पैसा पनि बढी खर्च हुन्छ नि । हामी यहाँ कमाउनका लागि आएको हो भन्ने कुरा बिर्सनु हुँदैन । फुर्सदमा कहीँ नगए यहाँदेखि १४ किलोमिटर पर रहेको अक्षरधाममा टहलिन जाने गर्छु । किन किन त्यो मन्दिरमा पुगेपछि मन पनि सितलो भएझैँ लाग्छ । अनि प्रवासी नेपालीहरूले बेलामौकामा आयोजना गर्ने कार्यक्रममा पनि जाने गर्छु ।

दिल्लीमा मैले १३-१४ वर्ष गुजारिसकेको छु । १३-१४ वर्षकै उमेरमा म यता छिरेको हुँ । सुरुसुरुमा मलाई यहाँ रहन/बस्न गाह्रो भएको थियो । अहिले त यहाँको घामपानी, सर्दीगर्मी सबै पचाउन सक्ने भएको छु । ज्यानलाई जस्तो बनायो‚ त्यस्तै हुने रहेछ । अब त काँचुली फेर्दै गरेको नयाँ दिल्लीमा म आफैँ पनि पुरानो भइसकेँ ।

मैले आफ्नो गाउँघरलाई मायै मारेको त होइन । बरु म घर नगएको चाहिँ धेरै भयो । भुइँचालो आउँदाको सालमा गएको थिएँ । बाआमा फोनमा कराउनुहुन्छ‚ ‘तेरा लागि केटी हेरेर ठिक्क छ । कहिले आउँछस् तँ ? आउनासाथ बिहे गर्ने हो ।’ म पनि घर जाउँला भन्दा भन्दै धेरै महिना बित्यो । ‘त्यतै केटी लिएर बसेको छस् कि के हो ?’ उहाँहरू शंका गर्नुहुन्छ र एउटै कुरा दोहोर्‍याई तेहेर्‍याई सोधिराख्नु हुन्छ ।

परार कोरोनाको टाइममा गुन्टा बोकेर घरै जान भनेर हिँडेको थिएँ । महामारी नथामिन्जेल उतै बस्छु अनि मिल्यो भने बिहे पनि गर्छु भनेर । बोर्डरमा पुग्दा देखेँ- आम्मामामा मान्छेको भीड ! घर फर्किने मान्छेको भलबाढी देखेर मेरो मनमा अनेक कुरा सलबलाएका थिए- बाँचुन्जेल जता नाँच्दै हिँडे पनि मर्नलाई आफ्नै घर-आँगन खोज्दो रहेछ मान्छेले । अनि आफ्नै घर-आँगन नहुनेहरू कहाँ गएर मर्ने ? यसबारे सरकारले केही सोचेको होला र !

घर हिँडेका म र मजस्ता परदेशीलाई बोर्डरमा आफ्नै देशको पुलिसले रोकिदियो । किन रोकेको भनेर सोध्दा पुलिसले माथिको आदेश भन्थ्यो । साला, योमाथिको भनेको कुन चाहिँ गधा हो आदेश फर्माउने ? खुब झोँक चलेको थियो त्यतिखेर । तर‚ जति झोँक चले पनि के गर्नु । हामीजस्ता मान्छेहरुको झोँक भनेको मस्त गर्मीमा रोडमाथि थुकेको थुकजस्तै रहेछौं । केहीबेरमै बिलाइजाने ।

अचेल लाग्छ, म आफैँ पनि दिल्लीको माहोलमा बिलाइसकेँ । यहाँ बिलाइजानेहरुको कथा अथाह छ । कहिल्यै नफर्कने गरी यो शहर अनि संसारबाटै बिलाइजानेहरुको खबर बेलाबखत सुन्नु परिरहन्छ । अत्यास लाग्छ । केही दिनसम्म उदास बनाउँछ त्यस्ता खबरले । त्यस्तै उदासीका दिनहरुमा हो मन बहलाउन ताज महल र अक्षरधामतिर जाने ।

अनि त्यस्तै बेला फुर्न थाल्छन् गजल र कविता । कहिलेकाहीँ लेख्ने पनि गर्छु । लेख्न थालेपछि मैले पनि आफ्नो नाम फेरिदिएँ । र राखेँ नयाँ नाम- जीवनप्रेम अधुरो । अचेलमलाई सोसाइटितिर यही नामले चिन्छन् ।

आफ्नै मात्रै कुरा बढी गर्‍यो भनेर नभन्नुहोला । खासमा भन्नुपर्ने उसको कुरा पनि म भन्दैछु । जसको नाम बालकुमार अविनाशी हो। जसका कारण मैले यो पत्र लेख्न परेको छ । यो उसको परिवर्तित नाम हो । घर मुगु हो भनेर उसैले बताएको हो । ऊसँगको मेरो पहिलो भेट चार वर्षअघि प्रवासी नेपालीहरुले आयोजना गरेको दशैँ-तिहार-छठको शुभकामना कार्यक्रममा भएको थियो ।

त्यो कार्यक्रममा बालकुमार राजीबसँगै आएको थियो । उसलाई हामीमाझ राजीबले नै चिनाएको हो । राजीब अभिनय । जिन्दगीलाई ऊ केवल अभिनय मान्छ । र अभिनय ठिकसँग गर्नुपर्छ भन्छ । रामेछाप हो उसको घर । उमेरले हामी सबैमा जेठो उही हो । साथी हो र पनि परदेशमा ऊ अभिभावक जस्तो लाग्छ । हामी कसैलाई केही परेको बेलमा ज्यान फालेर सहयोग गर्ने भनेको उही हो । सहयोग गर्न पनि अक्किल हुनुपर्छ । जानेको बुझेको हुनुपर्छ । पक्को हुनुपर्छ । उसमा यी सबै गुण छन् । नहुने कुरा गरेमा उसले हामीलाई गाली गर्न सक्छ । हकार्न सक्छ । हामीमाथि त्यति हक जताउने अधिकार उसलाई स्वतः प्राप्त छ ।ऊ नभए यो परदेशमा हाम्रो को छ ?

राजीबले देशबन्धु गुप्तारोडको होटलमा काम गर्छ । मैले काम गर्ने ठाउँबाट नजिकै हो । राजीबले काम गर्ने होटलमा बालकुमारले काम शुरु गरेको केही महिना भएको रहेछ । त्यसअघि उसले लखनऊमा काम गर्ने गरेको रहेछ । यसरी ऊ पनि हाम्रो साथी सर्कलमा मिसिएको थियो । हामी आपसमा घरव्यवहारदेखि मनव्यवहारसम्मका कुरा साट्ने गर्थ्यौँ । गाह्रोअफ्ठ्यारोमा एकअर्कालाई साथ दिने गर्थ्यौँ । परदेशमा आफ्ना भनेका यिनै त हुन्छन् जसलाई माटोको नाताले जोडेको हुन्छ । यहाँ होटल मजदुरी गर्ने अरु नेपालीहरु पनि छन् । परदेशमा छुट्टै किसिमको मिलति हुन्छ स्वदेशी बन्धुहरुसँग ।

त्यो कार्यक्रममा नेपालबाट गन्यमान्य कलाकारहरु आएका थिए । यहाँ हुने कार्यक्रमहरुमा प्रायः आउने भनेको कलाकार र नेता नै हुन् । नेता आउने भएपछि राजनीति पनि आउने भयो । नेतागिरी गर्दै हिँड्ने केही प्रवासी साथीहरुलाई राजनीति यसरी लाग्छ कि यो कुनै कडा अम्मल हो । जो अफिम भन्दा पनि कडा छ ।

कार्यक्रमको कुरा गरेपछि मैले यहाँ प्रकाश विश्मयलाई सम्झिएँ । साथीको घर दाङ हो । उसलेमेन बजार रोडको होटलमा मजदुरी गर्छ । प्रतिभाशाली छ केटो । त्यो शुभकामना कार्यक्रममा उसले पनि मञ्च तताएको थियो । नेपालका कयौँ नेता र कलाकारहरुको दुरुस्त आवाज निकालेर व्यङ्ग्य गरेको थियो उसले । उसको प्रस्तुतिमा ताली माग्नै परेन । बजेको बज्यै गर्‍यो । अरुको आवाज निकाल्नमा खप्पिस छ ऊ । कहिलेकाहीँ हुने जमघटमा हाम्रै आवाज निकालेर पनि हसाउने गर्छ । उसले कार्यक्रममा गीत पनि गाएको थियो । गाउनमा पनि उत्तिकै तगडा छ । लाग्छ, उसले वाग्देवीको बरदाननै पाएको छ । मजदुरीबाट जोहो गरेको पैसाले गीत रेकर्ड गराउने र त्यसैमा एउटा म्युजिक भिडियो पनि बनाउने उसको धोको छ । अनि त्यो भिडियोमा हिरोनी आँचल शर्मासँग आफैँ जोडी बनेर कम्मर मर्काउँदै नाच्ने सपना छ उसको । जुन सपना उसले भेटेजतिलाई सुनाउँदै हिँड्छ । यदि तपाईँसँग पनि कुनै दिन उसको भेट भयो भने अर्थोक भन्ला नभन्ला तर यो सपना चाहिँ जरुरै भन्छ । मैले उसलाई सम्झाउँछु- ‘ए, धेरै सपना सुनाउँदै नहिँड् । अरुलाई सुनाउँदै हिँडेको सपना बतासले उडाएर लैजान्छ ।’ तर ऊ माने पो !

धैर्य गर्नुहोला, म तपाईँलाई बालकुमारकै कुरा भन्दैछु । कुरा के भने उसको घरमा आमा हुनुहुन्छ । आमा वृद्ध हुनुहुन्छ । वृद्धभत्ता बुझ्न थाल्नुभएको पनि दुई-तीन वर्ष भइसक्यो भन्थ्योउसैले। बुबाले उहिल्यै स्वर्ग सुधार गरिसक्नुभएको कुरा पनि उसैले बताएको थियो । गाउँमा घर बनाएको ऋण तिर्न बाँकी छ भन्थ्यो । ऋण चुक्ता गरेपछि बिहे गर्ने योजना थियो उसको । त्यसैले हरेक महिनाको कमाइबाट सक्दो पैसा छुट्याएर उसले आमालाई पठाउने गर्दथ्यो ।

फुर्सद हुँदा हामी चार भाइ भेटिएकै हुन्थ्यौँ । कहिलेकाहीँ कोही अनुपस्थित हुने भए पहिल्यै जानकारी दिन्थ्यौँ । र हामीलाई थाहा हुन्थ्यो कि को किन अनुपस्थित छ भनेर । फुर्सदको भेटघाट हाम्रो नियमित हिस्साजस्तै बनेको थियो । तर पछिल्लो केही समययता बालकुमार यसमा नियमित थिएन । ऊ नआएको बेला हामीले ऊसँगै काम गर्ने राजीवलाई सोध्थ्यौँ । राजीवले पनि ‘गाउँको कुनै लाहुरे दाइलाई भेट्न जान्छु भनेर गएको छ’ भन्थ्यो । उसको गाउँको को लाहुरे दाइ रहेछ भनेर हामीले चासो लिनुपर्ने पनि केही थिएन । किनभने हामीजस्ता सबैको जीवनमा एउटा न एउटा ‘लाहुरे दाइ’ हुन्छन् नै । राजीवले पनि उसलाई ‘को लाहुरे दाइ हो तेरो?’ भनेर कहिल्यै सोधेन होला ।

बरु प्रकाशले ठट्टा गरेर भन्थ्यो- ‘लाहुरे दाइको नाम पारेर लाहुरेनी भाउजु भेट्न गएको त हैन त्यो...?’

अनि हाम्रो मुखबाट एक-एक फ्वाँक अट्टाहाँस निस्कन्थ्यो र मजासँग गुन्जिन्थ्यो ।

तर राजीवलाई यस्तो सस्तो टिप्पणी गरेको निको लाग्दैनथ्यो र ‘अब धेरै बढ्ता नबोल्...!’ भन्दै प्रकाशसँग झोक्किन्थो । किनभने ऊ हाम्रो अभिभावकजस्तै हो । कुनै पनि अभिभावकलाई कसैले आफ्नो सन्तानको कुरा काटेको मन पर्दैन ।

तर एकदिनको कुरा हो ।

जुन दिन लास्टै झुर भएर आयो । ड्युटीको समयमा राजीव म काम गर्ने होटलमा झुल्कियो ।‘एउटा जरुरी कुरा गर्नुछ’ भन्दै मेरो पाखुरा समाएर छेऊतिर लग्यो । रंगरोगन खुइलिएको पोट्रेटजस्तो उसको अनुहार, हडबडाएको बोली र हतारिँदो व्यवहारले नै बताइरहेको थियो कि ऊ कुनै लफडावाला कुरा भन्न आएको छ ।

‘बालकुमारले तँलाई फोन गरेको थियो ? केही भनेको थियो तँलाई...?’ अलिकति शंका अनि केरकार गरेजस्तो गरी राजीवले मलाई सोध्यो।

‘किन र ? के कुराका लागि फोन गर्नुपर्ने...?’

‘ऊ अस्तिदेखि काममा आएको छैन । मोबाइल पनि होटलमै छाडेर हिँडेको छ ।’

‘अनि मलाई किन नभनेको त अस्तिकै दिनमा?’

‘आफ्नै सुरले काम छोडेर अन्त गयो होला भनेर नि !’

‘गयो होला नि त अन्तै । अब के खोजी हिँड्नु?’

‘जहाँ गए पनि हामीमध्ये कसैलाई भनेर त जान्थो होला नि ! न प्रकाशलाई भन्यो, न मलाई भन्यो, न होटलका कसैलाई केही भन्यो, तँलाई पनि केही भनेको रहेनछ ।अनि एक्कासी हिँडेको छ । मोबाइल पनि होटलमै छाडेको छ । म त उसको डेरामा पनि गएँ । ढोकामा ताला मारेको छ । घरको साहुलाई सोधेको केही दिनदेखि आएको छैन भन्छ । कुरा बुझ्न तँ...!’ मैले उसको कुरालाई लिनुपर्ने जति गम्भीतापूर्वक नलिएकोजस्तो ठानेर राजीव झोँक्किएर बोल्यो ।

त्यसपछि कामबाट फुर्सद मिलेको समयमा हामीले पहाडगञ्जको वरपर उसलाई खोज्न सुरु गर्‍यौं ।ऊ हराएको कुरा नेपाली दूतावासमा जानकारी दियौँ । त्यहाँ नजिकको पुलिसचौकीमा गएर रिपोर्ट लेखायौँ । उसको फोटो दियौँ । हुलिया बतायौँ । हराएको दिन र अन्दाजी समय पनि टिपायौँ । पुलिसले उसको बारेमा थप कुरा सोध्यो । हामीले थाहा पाएसम्मको कुरा भन्यौँ । पुलिसले पनि खोजी पत्ता लगाएर खबर गरौँला भन्यो ।

पुलिस चौकीबाट फर्किँदै गर्दा राजीवले एउटा अड्चन सुनायो- ‘दुई-तीन दिन बिराएर बालकुमारले आफ्नी आमालाई फोन गर्ने गर्थ्यो । भरे भोलिसम्म ऊ भेटिएन भने के गर्ने ? धेरै दिनसम्म यताबाट फोन गएन भने उतैबाट फोन आउला । आयो भने के भन्ने हो उसको आमालाई ?’

एकछिन मैले पनि सोचेँ । त्यसपछि ‘जे हो त्यही भन्दा ठिक होलाजस्तो लाग्छ है मलाई त‚’ भनेँ ।

‘कति सजिलोसँग भन्छस् यार ! तँलाई थाहा छैन उसको घरमा आमा एक्लै हुनुहुन्छ भन्ने कुरा ? ल तँलाई दिन्छु म उसको मोबाइल । तैँले भन्न सक्छस् त ?’ राजीव फेरि झोँक्कियो । म केही बोल्न सकिनँ । उसको कुरा पनि ठिकै हो जस्तो लाग्यो । बरु एक-दुई दिनमा ऊ भेटियो भने त टन्टै साफ हुन्छ । अहिले नै तात्तातै उसको आमालाई यस्तो अत्यासलाग्दो खबर सुनाएर किन तनाव दिने ।हामीले यही सोच्यौँ । आमाको फोन आयो भने के गर्ने भन्नेमा उपाय खोज्न थाल्यौँ ।

त्यसपछि हामीले प्रकाशलाई सम्झियौँ । उही प्रकाश विश्मय । अरुको आवाज निकाल्न खप्पिस साथी ।प्रकाशको सम्झनासँगै सुझेको उपायले हाम्रो मन पनि प्रकाशमय भयो । हामीले यस्तो सल्लाह गर्‍यौँ कि बालकुमारको मोबाइल प्रकाशलाई दिने र आमाको फोन आयो भने उसले बालकुमारको आवाज निकालेर आमासँग कुरा गर्नेछ ।

त्यसपछि हामीले प्रकाशलाई बोलायौँ। र हाम्रो कुरा मान्न भन्यौँ । सुरुमा ऊ त्यसो गर्न डरायो ।

‘भिडियो कल गरे भने के गर्ने नि? मैले स्वर पो उसको बनाउने हो । अनुहार त सक्दिनँ नि !’

‘उसको आमासँग स्मार्ट फोन छैन । त्यही टिकटिके मोबाइल हुनुपर्छ । उसले त्यसैमा बोल्ने गर्छ । किनभने उसले आजसम्म आमालाई भिडियो कल गरेको मलाई थाहा छैन ।’ राजीवले विश्वास दिलाउँदै भन्यो ।

‘भोलि केही गडबड भयो भने तिमीहरू जिम्मा है !’ प्रकाशले हामी दुवैलाई औँला उज्याउँदै खर्‍याएर भन्यो । हामी उसको कुराले खारियौँ अनि उसलाई विश्वास दिलायौँ र मनायौँ । किनभने त्यो योजनामा उसलाई राजी बनाउन हामी सबै किसिमका जिम्मा लिन तयार थियौँ । प्रकाशले हाम्रो कुरा मानेपछि एउटा गह्रुँगो तनावबाट छुटकारा पाएको महसुस गर्‍यौँ ।

अब कामबाट फुर्सद मिलेको समयमा बालकुमारको सोधखोज गर्नु नै हाम्रो दैनिकीको नित्य अङ्ग बनेको थियो । यति ठूलो महानगरमा कहाँकहाँ मात्र खोज्न जाने । तै पनि, कनाट प्लेसदेखि कुतुब मिनारसम्मत कहिले लालकिल्लादेखि राजघाट हुँदै इन्डिया गेटसम्म अनि कहिले जहाँगीरपुरीतिर त कहिले नोएडासम्म पनि पुग्यौँ । हाम्रा खुट्टा थाकेनन् । आँखा थाकेनन् ।किनभने हामी आफैँले आफैँलाई थाक्न मनाही छ भनेका थियौँ ।

यसरी खोज्दै हिँड्ने सिलसिलामा एकदिन राजीव, प्रकाश र म रामलीला ग्राउन्डमा पुगेका थियौँ । त्यहाँ ठूलो पण्डाल लगाइएको थियो । मान्छेहरू भरिभराउ थिए ।हामीले त्यहाँ अनेक तरहले सिँगारिएको भव्य मञ्च देख्यौँ । मञ्चमा पौराणिक भेषभूषा पहिरिएका दुई जना पात्रहरु देखिए । तीमध्ये एउटा सिँहासनमा बसेको राजा थियो भने राजासँग मन्त्रणा गरिरहेको अर्को चैँ मन्त्री थियो । ती दुईको अभिनय र संवाद बुझ्दै जाँदा थाहा भयो कि राजा भनेको धृतराष्ट्र र मन्त्री विदुर रहेछन् । हामी मञ्चको नजिक पुग्यौं ।

धृतराष्ट्र- ‘प्यारो भाइ विदुर ! म बेचैन छु । कति दिन भयो म निदाएको पनि छैन । सोच्दा सोच्दा टाउको फुट्लाजस्तो हुन्छ । म के गरुँ ?’

विदुर- ‘हे राजन् ! जो आवेशमा आएर धर्म, अर्थ र कामादि कार्यमा हात हाल्दैन, बुद्धिमान उही हो । जो हरेक प्रश्नमा दृढतापूर्वक सत्य बोल्छ । जो थोरै लाभ र स्वार्थका लागि व्यर्थको टन्टा बिसाउँदै हिँड्दैन अनि पाउनुपर्ने चिज नपाउँदा पनि शान्त रहन्छ र अरुसँग झगडा गर्दै हिँड्दैन त्यस्तो बुद्धिमान व्यक्ति नै आरामसित निदाउन सक्छ ।’

धृतराष्ट्र- ‘म पनि चाहन्छु कि पाण्डवहरुलाई उनीहरुको राज्य फिर्ता गरिदिऊँ र ढुक्कसँग निदाऊँ तर दूर्योधन मेरो सामुन्ने आउनासाथ पुत्रमोहले म गलिहाल्छु । अनि मेरा सारा चाहना तत्क्षण बदलिन्छ । भाग्य बदल्न सकिन्न रहेछ । पुरुषार्थभन्दा त भाग्य नै बलवान रहेछ । तिमी नै भन भाइ, म कसो गरूँ ?’

विदुर- ‘संसाररुपी सगर पाँचै इन्द्रियका विषले भरिएका छन्‚ जसमा काम‚ क्रोध‚ लोभ‚ मोह‚ मद‚ मात्सर्य नामका गोहीले बास गर्दछन् । त्यो विषाक्त र डरलाग्दो नदीमाथि धीरताको डुंगा खियाए मात्र पार पाउन सकिन्छ । संसारमा धर्म बाहेक सबै अनित्य छ । अनित्यलाई त्यागेर नित्यमा स्थित हुनुहोस्, महाराज !’

दाजुभाइको दोहोरो संवाद चाखलाग्दो हुँदै थियो । तर मेरो आँखाले एकोहोरो धृतराष्ट्रलाई मात्रै देख्न थाल्यो । अझ गहिरिएर हेरेँ । र हेर्दाहेर्दै मैले छेउमा बसेको राजीवलाई कोट्याएँ- ‘यो धृतराष्ट्र बनेर बोलेको त बालकुमारजस्तै देखिन्छ त !’ राजीवले पनि आँखा तिखारेर हेर्‍यो- ‘अँ त नि । उस्तै छ त । कि उही हो ?’ त्यसपछि उसले पनि छेउको प्रकाशलाई कोट्यायो- ‘ओए हेर् त ! यो धृतराष्ट्र बन्ने बालकुमार त होइन ?’

‘ए हो त ! यहाँ पो आएको रहेछ !’ भन्दै प्रकाश सरासर मञ्चतिर सोझियो । मञ्चमा पात्रहरूको अभिनय जारी थियो । मञ्चमा पुगेर प्रकाशले सिधै धृतराष्ट्रको हात समातेर हिँड् भन्दै तान्यो । ऊ साथी फेला परेकोमा उत्साहित थियो । धृतराष्ट्र हिँडेन । बरु अर्को हातले प्रकाशको गाला चड्काइदियो । त्यसलगत्तै विदुर अघि बढेर प्रकाशलाई जोरसँग धक्का दियो । प्रकाश मञ्चमै लड्यो । त्यसपछि अरु मान्छेहरु पनि हल्लाखल्ला गर्दै मञ्चतिर झुम्मिन गए । प्रकाशलाई अब मार्ने भए भन्दै उसलाई जोगाउन हामी पनि मञ्चतिरै दौडियौँ ।

रामलीला ग्राउण्डमा प्रकाशको रामधुलाइ सुरु भइसकेको थियो ।आक्रोशित भीडसँग अनुनय विनय गर्दै उसलाई बल्लतल्ल जोगाएर बाहिर ल्यायौँ । त्यो क्रममा हामीले पनि केही धक्कामुक्का सहन पर्‍यो । आयोजकजस्ता देखिने केहीले हामीलाई गाली दिँदै थिए- ‘अब आइन्दा यहाँ वरपर देखेँ भने तिमीहरूलाई काटेर फालिदिन्छु । भाग् यहाँबाट !’

हामी भाग्यौँ ।

यो घटनापछि हामी बाहिर पनि कतै निस्किएनौँ । एक अर्कासँग पनि खास्सै कुरा गरेनौँ । के ऊ बालकुमार नै थियो त ? कि हाम्रो दृष्टिभ्रम थियो ? यस्तै कुराले मनलाई चिमोटिरह्यो ।

केही दिनपछि पुलिसले राजीवलाई फोन गरीचौकीमा आउनु भनी बोलायो । पुलिसले फोनमा केही कुरा खुलाएन । बालकुमार भेटिएकाले बोलाएको हो कि वा कुनै नराम्रो खबर सुनाउन हो ? वा रामलीला ग्राउन्डमा भएको घटनाको बारेमा पो हो कि ? मनमा आस र अत्याश दुवै वारपार गरिरहेका थिए ।

राजीव र म पुलिस चौकी पुग्यौँ । प्रकाशलाई पनि जान भनेका थियौँ । तर उसले जान मन गरेन । हामीले पनि कर गरेनौँ । किनभने रामलीला काण्डको असर उसमा छँदै थियो । धन्न बालकुमारको आमासँग फोन गर्ने क्रम भने उसले टुटाएको थिएन । हाम्रा लागि सन्तोष मान्नु पर्ने कुरा यही थियो ।

पुलिसले हामीलाई कुनै खबर सुनाएन । सुरुमै ठूलो स्क्रिनमा सीसीटीभीले खिचेको भिडियो फुटेजहरू देखाउन थाल्यो । हामीले एक-एकगरी हेर्दै गयौँ ।यही सिलिसलामा एउटा भिडियोमा खैरो रंगको टिसर्ट लगाएको व्यक्ति यमुना नदीमाथि बनेको सिग्नेचर ब्रिजतर्फ गइरहेको देखियो । मैले चिनिहालेँ र भनेँ –‘उ ! त्यही हो बालकुमार !’ पुलिसले भिडियो रोक्यो र पुनः त्यो क्लिपलाई दोहोर्‍यायो । योपटक राजीjले पनि चिन्यो र मेरो होमा हो मिलायो । भिडियोमा देखिएको व्यक्ति बालकुमार नै थियो । अब उसलाई भेटिन्छ भन्ने आश पलायो । छातीमा उत्साहका दुई मुठी सास भरिएर आयो ।

लगत्तै पुलिसले अर्को फुटेज पनि देखायो । त्यसमा पनि खैरो टिसर्ट लगाएको बालकुमार नै देखियो । ऊ यमुना नदीतर्फ हेर्दै उभिरहेको देखियो । त्यसपछि टाउको आकाशतिर फर्काएर हेर्‍यो । हेरिरह्यो केहीबेरसम्म । अनि अपर्झट दिमागमा कुनै सम्झनाले झट्का दिएजस्तो गरी हल्लियो । र उसले यमुना नदीमा हाम फाल्यो ।

अप्रत्याशित ! अकल्पनीय ! अविश्वसनीय !

अघि भरिएको सास कता फुस्केर गयो गयो । अवसादग्रस्त आँखाले राजीव र मैले एकअर्काको मुख हेराहेर गर्‍यौं । मलाई चक्कर लाग्लाजस्तो भयो । छेऊको मेच समातेर थचक्क बसेँ । राजीव पनि टाउको समाउन लाग्यो । हाम्रो सातो उडेको थियो । केहीबेरपछि राजीवले पुलिसलाई ‘सर त्यो अघिको फुटेज फेरि देखाउनु न’ भन्यो । उसले यसकारण भन्यो कि त्यो यमुना नदीमा हामफाल्ने खैरो टिसर्ट लगाएको व्यक्ति बालकुमार हो होइन भनी पक्का गर्न । अझ त्योभन्दा पनि उसले यसकारण त्यसो भन्यो कि त्यो हामफाल्ने व्यक्ति बालकुमार नभइदियोस् भनेर । अथवा उसले यसकारण भन्यो कि अघि आफ्नै आँखाले ठम्याएको कुराप्रति पनि विश्वास गर्न मन नलागेर । अथवा उसले यस कारण भन्यो कि बालकुमारले त्यसरी हामफालेको कुरा मिथ्या भइदियोस् भनेर ।

पुलिसले फेरि अघिको फुटेज देखायो । हामफालेको फुटेज पनि देखायो । दोहोर्‍याएर फुटेज हेरेपछि भने ऊ केही बोलेन । दोहोर्‍याएर हेर्दैमा बितिसकेको कुरा र घटिसकेको घटना सँच्चिने होइन । र पनि मन मान्दैन । मनले बुझ्दैन । बुझ्न खोज्दैन । बरु बुझ्नै नपरे हुन्थ्यो भन्छ । हाय मन !

बालकुमारले किन त्यसो गर्‍यो होला ? के त्यस्तो कारण पर्‍यो होला उसलाई यमुना नदीमा हेलिनुपर्ने ? हामी उसका नजिकका साथी भएर पनि कसैले केही जानेनौँ । घरीघरी त लाग्यो सँगैको साथी भएर पनि उसलाई हामीले राम्ररी बुझ्न सकेका रहेनछौँ । यो घटनाले हामी आफैँलाई समेत अचम्ममा पारेको छ । घटनाको भिडियो आफ्नै आँखाले देखेको भए पनि विश्वासलाई नै अविश्वास गर्न मन लाग्यो ।

पुलिससँग हामीले रामलीला ग्राउन्डमा घटेको घटना पनि बतायौँ । पुलिसले बालकुमारको स्वभाव र सम्बन्धका बारेमा अरु कुराहरु पनि सोध्यो । हराउनुअघिका दिनहरूमा उसको गतिविधि र अवस्थाका बारेमा पनि सोध्यो । हामीले भन्यौ कि त्यस्तो शंका नै गर्नुपर्ने केही थिएन । सब सामान्य नै थियो । हामीले सुरुमा देख्दा ऊजस्तो थियो अन्तिममा देख्दा पनि उस्तै थियो । तर रामलीला ग्राउन्डको कुरा चाहिँ हाम्रो लागि पनि आश्चर्य भएको थियो ।

पुलिसले पनि सान्त्वना दिँदै भन्यो‚ ‘यमुना नदीमा उसको खोजी जारी छ । फेला परेपछि दूतावास र तपाईँहरूलाई पनि खबर गर्छौँ । धैर्य गर्नुहोस् !’

हाम्रो सबैभन्दा ठूलो पीर यही हो कि, उता आजसम्म पनि आमासँग प्रकाश ‘बालकुमार’ बनेर मोबाइलमा बोलिरहेको छ ।आमाको नाउँमा बालकुमारले पठाउने गरेको मासिक खर्च पनि हामी साथीहरूले नै उठाएर जेनतेन पठाइरहेका छौँ । कति दिन यसरी चल्न सकिएला र !

बालकुमार अझै बेपत्ता छ । त्यसरी यमुना नदीको भेलमा हामफालेको ऊ जिउँदै आउला र चमत्कारै होला भन्ने त हाम्रो मनको आशमात्रै हो । कसैले पनि ऊ बाँच्यो होला भन्ने अनुमान गर्न सक्दैन । त्यै पनि मन मान्दो रहेनछ । कताकता ऊ जिउँदै आउला कि भन्ने आस पनि लाग्दो रहेछ । असलमा हामी आसभन्दा बढी अत्यासमा छौँ ।

हुलका हुल मान्छेहरू चोर औँला सोझ्याउँदै मैतिर आउँछन् । अनि नजिकै आएर तिनीहरुले मेरा छाती घोच्न थाल्छन् । म ऐय्या ऐय्या भन्छु । असहाय स्थितिमा हुन्छु । गुहार माग्छु । चिच्याउँछु तर मेरो आवाजै निस्कँदैन ।मलाई जोरजोरसँग ऐँठन हुन्छ । अचेल सपना पनि के के हो के के देख्न थालेको छु । खाली खराब सपनामात्र ।

अघि हामीले जे गर्‍यौँ असल मनसायले नै गरेका थियौँ । परिणाम यस्तो होला भनेर सोच्दै सोचेनौँ । भोलि हामीलाई यसै गरेका कारणले पुलिसले समातेर लैजाने त हैन ? हामीले कुनै दण्ड सजाय भोग्नुपर्ने पो हो कि ! कतै हामी कानुनको फन्दामा फसिरहेका त छैनौँ ? के भन्छ कानुनले ? अब हामीले के गर्दा उपयुक्त हुन्छ ?

वकिल साहेब, हामी धेरै आँत्तिएका छौँ ।कृपया बाटो देखाइदिनुहोला !

पहाडगञ्ज,नयाँ दिल्लीबाट
जीवनप्रेम अधुरो र साथीहरू ।

प्रकाशित : आश्विन १७, २०७९ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×