बुद्धजङ रायमाझीको सक्कली सानो जीवन–चरित्र- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धजङ रायमाझीको सक्कली सानो जीवन–चरित्र

बुद्धजङ रायमाझी अलिअलि धेरै थोक हो । अलिअलि कलाकार, अलिअलि पत्रकार, अलिअलि सभा–समारोह सञ्चालक । यो देशमा यस्तै अलिअलि सबै थोकको खुबी हुनेहरूको कदर छ । कुनै एक विषय वा विधामा पूर्ण दखल राख्ने विशेषज्ञ छ भने त्यसले यो देशमा कुकुरले नपाएको दुक्ख पाउँछ । 
अविनाश श्रेष्ठ

कथाको पात्र/चरित्रलाई कथाकै पात्र सम्झेर–बुझेर पढेको वेश । कथाका पात्रमा यथार्थ व्यक्ति खोज्न–खोतल्न थालियो भने पुगिने— विभ्रम, शंका र अराजकतामा हो । तर, यसो भनिरहँदा कथा कल्पित कुरो मात्र हो भन्ने मेरो आशय कदापि होइन । कल्पित कुरो भए पनि कथा वास्तविकताको धरातल टेकेरै उभिएको हुन्छ । मैले पहिले पनि पटक–पटक भनेको छु र फेरि पनि भन्दै छु— कथा अवास्तविक वास्तविकता हो;— अवास्तविक वास्तविकता मान्छेको, समाजको साथै मान्छे र समाजको सामुहिक अन्तरमनको पनि ।

– कथाकार

...

प्रारम्भ

आज तपाईंलाई म एकजना यस्तो चरित्रसित भेट गराउन गइरहेको छु पाठक महोदय, जसका बारेमा मैले बयान गर्दै जाँदा तपाईंलाई ऊ पक्कै चिने–चिनेझैं लाग्दै जाला । अझ तपाईंले उसलाई ठ्याक्कै चिनेको ठोकुवा गर्न पनि बेर छैन— यो कथा पूरै पढिसकेपछि ।

तर, सावधान पाठक महोदय, कतै तपाईं झुक्किनुहोला नि... किनभने यो मुलुक अचेल यस्ता चरित्रहरूको ठूलो गोदामघरमा फेरिँदै गइरहेको छ ।

त्यसैले होसियार !, सावधान !!, ... सतर्क रहनुहोला ! —‘कतै तपाईंलाई भेट्न धाइरहने मान्छे बुद्धजङ रायमाझी त हैन ?’

बुद्धजङ रायमाझीको बाल्यकाल

बुद्धजङ रायमाझीको बाल्यकाल ऊजत्तिकै अस्पष्ट र अज्ञात छ । यसै मुलुकमा छब्बीस सय वर्षअघि जन्मेका बुद्धको बाल्यकालबारे बरु हामीलाई धेरै कुरा थाहा छ, तर यसै देशमा एकाउन्न–बाउन्न वर्षअघि अवतरित हुने बुद्धजङ रायमाझीको जन्म, कुल–घराना, बाललीला, बालसखा आदिआदिबारे धेरैजसो कुरा हामीलाई जानकारी छैन र जान्ने त्यस्तो कुनै ठोस, उपयुक्त अनि मौलिक आधार अहिलेसम्म हात लाग्न सकेको छैन । यस्तो अज्ञातकुलशील श्री श्री श्री श्री बुद्धजङ रायमाझीको बाल्यकाल जतिसुकै अन्धकारमय भएपनि उसको तन्नेरीकाल, उत्तरतन्नेरीकाल अनि पूर्वप्रौढकालका बारेमा भने उसले लुकाउन खोजे पनि धेरै तथ्य— यत्रतत्र छरपस्ट रहेको खोजिपस्दा हातलागी हुनसक्छ ।

बुद्धजङ रायमाझीसँग टाढाको साइनो पर्ने भनिएकी एउटी भद्र महिलाले कुन्नि कसलाई हो भनेका कुरा कुन्नि कसले फेरि अर्को कसलाई हो भनेको सुन्ने व्यक्तिबाट यस कथावाचकले सुनेअनुसार बुद्धजङ रायमाझीका बाउ कटकजङ रायमाझी पश्चिम नेपालको कुनै बाइसे–चौबीसेको बीउ हुँ भन्ने सामन्तीको हुक्के–छाते–बैठके यस्तै के जाती हो पदमा ताबेदारी गर्दै टंकप्रसाद आचार्य प्रधानमन्त्री बनेको वर्ष २०१२ साल माघ १३ गतेका दिन काठमाडौं खाल्डोमा भित्रिएका थिए रे । त्यसको लगभग अढाई–तीन वर्षपछि यसै चारभन्ज्याङ खाल्डोमै बुद्धजङ जन्मेको कुरो भर पर्न नसकिने सूत्रबाट थाहा भएको हो ।

उनै ठालु अर्थात् बाइसे–चौबीसेको बीउ हुँ भन्ने मकरध्वज शाहीलाई बुद्धजङका बाउले आफ्नो अनन्त चाकडीद्वारा खुबै रिझाएको हुँदा— उनै निज बीउले केही वर्षपछि आफ्नो अत्यन्तै बिग्रेको बीउ (अर्थात् छोरो) लाई दोर्जेलिङ पढ्न पठाउँदाहुँदी हाम्रो बुद्धजङलाई पनि उसैको गोठालो–खेतालो बनाएर पठाउँदा भएछन् । यसरी हाम्रो कथानाकय बुद्धजङ रायमाझीलाई पनि उतै दोर्जेलिङतिरको ठीकठीकै स्कुलमा आठ–नौ कक्षासम्म पढ्न जुरेको कुरो उनै टाढाको साइनो पर्ने ती भद्र महिलाको किंवदन्तीबाट थाहा हुन आएको हो । टाढाको साइनो पर्ने ती भद्र महिलाको किंवदन्ती किन पनि साँचो हुन सक्छ भने— हाम्रो कथानायक बुद्धजङको बोलीचालीको अंग्रेजी त्यति नराम्रो छैन । ऊ अर्थात् बुद्धजङ— दोर्जेलिङका पोनी ब्याय (खच्चड हाँक्ने ठिटो) हरूले पर्यटकसित आत्मविश्वाससाथ बोल्ने अंग्रेजीजत्तिको कामचलाउ अंग्रेजी फररर्र बोल्ने हुँदा उसको छट्टुपनलाई छोप्न अंग्रेजीले ढालको काम गर्छ बेलाबखतमा । कतिसम्म भने दुईचार पटक उसलाई भेटेर कुराकानी गरेकाहरूको बुद्धिको रेडारले उसको चल्तापुर्जापनलाई ठम्याउनै सक्दैन । जे होस् दोर्जेलिङको अंग्रेजी स्कुलमा आरम्भिक शिक्षा पाएकाले होला— बुद्धजङ रायमाझीको पछिल्लो चरित्र–निर्माणमा त्यसले सघाउ पुर्‍याएको अड्कल काट्न सकिन्छ ।

(यहाँ विषयान्तर हुनुभन्दा पहिले नै एउटा कुरा भन्दिराखौं— आफ्नो बाल्यकालका बारेमा बुद्धजङ भने अर्कै किस्सा बयान गर्ने गर्छ अक्सर । एक पटक उसले मलाई भनेको सम्झन्छु— ‘चान्नेचुन्ने मान्छेको छोरा कहाँ हुँ र सर ! मेरो ड्याड यस मुलुकको ठूलै मान्छे पो हुन् त । तपाईंले राजनीतिक क्षेत्रमा चर्चित फलानो ...जङ रायमाझीको नाम त सुन्नुभएकै होला । अफसोस— उहाँ मेरा ड्याड होइबक्सन्छ । ड्याडसँग मेरो कुरै मिल्दैन । त्यसैले ठूलो बाउको छोरो भएर पनि म घरबाहिर डेरामा बस्छु । सर, मानिसहरू मलाई ठूलो बाउको बिग्रेको छोरो भन्छन् । तर, कुरो त्यसो होइन । म पद र सत्ताको तुजुकले मातेको बाउको विद्रोही छोरो भने पक्कै हुँ सर...!’)

फेरि अर्को विषयान्तर हुनुभन्दा पहिले बुद्धजङ रायमाझीका पिताश्रीको बारेमा एक जना पत्रकार मित्रले खोजी पत्रकारिता गरी पत्तो लगाएको कुरो यहाँनिर जानकारी गराउनु सान्दर्भिक होला भन्ठानेको छु । कथा भए पनि यो चरित्रप्रधान साथै जीवनीमूलक किसिमको कथा भएकाले बुद्धजङ रायमाझीको सक्कली चरित्र र जीवनी थाहा पाउन पत्रकार मित्रको खोजी पत्रकारिताबाट प्राप्त तथ्यले तपाईंलाई सघाउने नै छ । पाठक महोदय ! त्यो तथ्य के हो भने— बुद्धजङ रायमाझीका सक्कली ड्याड (बाउ बिचरा) अचेल काठमाडौंको भोसिको टोलको एउटा साँघुरो छिँडीमा म:म पसल थापेर आफ्नो परिवारको गुजारा चलाउँदै आइरहेका छन् । बाइसे–चौबीसेका बीउ अर्थात् मकरध्वज शाहीको ताबेदारीबाट हटेपछि कटकजङ रायमाझीले धेरै हन्डर खाएका रहेछन् र केही सीप नलागेपछि म:म पसल चलाउने निधो गरेछन् । (श्रम गरेर खानु, म:म पसल थापेर जीवन–निर्वाह गर्नु त गौरवको कुरा हो । तर, बुद्धजङ रायमाझीलाई आफ्नो श्रमजीवी बाउलाई ‘बाउ’ भन्न किन लाज लागेको हो कुन्नि ? किन होला कुन्नि, दौरा–सुरुवाल लगाउने बाउको साटो सुट–टाई लगाउने ड्याडकै खाँचो परेको बबुरो बुद्धजङलाई ?)

कथावाचकसँग बुद्धजङको पहिलो भेट

उसको र मेरो पहिलो भेट— त्यस्तो सम्झनलायक, अतिरञ्जनापूर्ण, सनसनीखेज वा मेलोड्रयामेटिक घटना भने पक्कै थिएन ।

जाडोको साधारण बिहान थियो ।

भुइँकुइरोले सडक र परिवेश ग्वाम्लङ्गै ढाकिएको । बीस/एक्काइस वर्षअघिको काठमाडौं, गणेशथान, कमलादीको ठिहीमा कामिरहेको चिसो, बिरसिलो अपारदर्शी दिन ।

म सानुमैयाँको चियापसलअगाडि उभिएर तात्तातो चिया सुर्काउनमा तल्लीन थिएँ— एकजना दुब्लो–पातलो, सादा फ्रेमको चस्मा लगाएको, च्युँडोमा मात्र झुस्स दाह्री उमारेको र हातमा दुई थान पेपरब्याक संस्करणको अंग्रेजी किताब च्यापेको अन्दाजी तीस–बत्तीसको लाग्ने ऊ दुवै हात जोरी दार्शनिक मुद्रामा प्रस्तुत हुँदै बोलेको थियो, ‘नमस्कार !, सर कथाकार फलानो–ढिस्कानोज्यू हुनुहुन्छ, हैन ?’

आफू कुनै पाठकद्वारा चिनिएको सुखद भ्रम सँगाल्दै मैले ऊतिर हेर्दै सगर्व भनेँ, ‘हो... हुँ । अनि यहाँको शुभ नाम ?’

‘खै शुभ भनूँ कि अशुभ भनूँ— आफूलाई त चिन्नेहरूले बुद्धजङ रायमाझी भनी बोलाउँछन् ।’ उसले फिल्मी संवाद बोल्ने शैलीमा कुम झट्कार्दै आफ्नो परिचय दिएको थियो ।

त्यस दिन सम्झनलायक अरू खासै कुराकानी ऊसित हुन पाएन । केही छिनको कुराकानीपछि उसले आफू धेरै वर्ष बम्बई बसेर आएको बखान थालेको मात्र के थियो— प्रज्ञा–प्रतिष्ठानको एकजना कर्मचारी मलाई खोज्दै आइपुगे । उपकुलपतिलाई भेटिहाल्नुपर्ने भएकाले ऊतिर हेर्दै, ‘सरी, फेरि भेटौंला है’ भन्दै म हिँडे ।

०००

पहिलो भेटको एक साता जति पछि— बुद्धजङ मलाई जिल्याउँदै मेरो डेरामै आइपुग्यो साँझपख ।

साँझको पाहुना !, मनभित्र जेसुकै भए पनि बाहिर देखावटी उमंगले अनुहार रङ्ग्याउँदै उसलाई स्वागत गरी बैठकमा लगेर बसाल्दै सोधिहालेँ, ‘मेरो डेरा कसरी पत्तो लगाउनुभो बुद्धजङजी ?’

सोफामा दुवै खुट्टा उचालेर निर्धक्कसँग पलेँटी कसेर बस्दै उसले सम्मोहनको पहिलो मन्त्रपुत वाण प्रहार गर्‍यो— ‘सरजस्तो प्रसिद्ध व्यक्तिको डेरा पत्तो लगाउनु कुन ठूलो कुरो हो र ?’

मलाई उसले त्यति एउटा वाक्यले नै किनिहालेको थियो बिनामूल्य । ‘आफू प्रसिद्ध रहेछु’ भन्ने भ्रमको हुस्सुमा धेरै बेरसम्म गदगद बनी भौंतारिरहेँ म ।

यसैबीच उसले मेरी अर्धांगिनीलाई ‘रूप र गुणकी खानी हुनुहुँदो रहेछ हजुर त !’ भन्नसमेत भ्याएर ‘भाउजू’ को साइनोसमेत गाँसिसकेको हुन्छ ।

कति छिटो !, कति फास्ट आम्मै ? मनमनै उसको बठ्याइँको गतिको गणना गर्दै थिएँ म । त्यत्तिकैमा उसले ममाथि फेरि अर्को ब्रह्मास्त्रको प्रयोग गरी मलाई भुतुक्कै पारिहाल्यो ।

‘सरको म ठूलो प्रशंसक पो हुँ त । सरका कथा–कविता खोजी–खोजी पढेको छु मैले । कुनैकुनै कथा त बाह्र–तेह्र पटकसम्म पढेको छु र पनि धीत मरेको छैन अझै ।’ उसले मेरी अर्धांगिनीलाई सम्बोधन गर्दै अगाडि थप्यो, ‘भाउजू !, हजुरले पनि आफ्नो श्रीमान्लाई कति चिन्नुभएको छ कुन्नि अब्बुई ऽऽ !, सर त ठूलो जिनियस पो त नेपाली साहित्य संसारको । ज्युँदो नेपाली लेखकहरूमा उहाँ जत्तिको प्रतिभाशाली म त अर्को कुनै देख्दिनँ परपरसम्मन्...!’

त्यसपछि पनि उसले प्रशंसाका मर्मभेदी साना–ठूला क्षेप्यास्त्रहरू एकपछि अर्को प्रहार गरिरह्यो ममाथि ।

त्यस साँझ मेरी अर्धांगिनीको हृदयमा ‘हितैषी बाबु’ को छवि बनाउन सफल ऊ— ‘रातिको खाना आज यतै खाएर जानुस् बाबु’ भन्ने वाक्यको हकदार मात्र बनेन— खानासमेत खायो उसले मसित बसेर ।

त्यस साँझ मेरो डेरामा आउ–जाउ गर्ने ‘लाइसेन्स’ सजिलै हात पार्न सफल भएको थियो ऊ ।

०००

त्यसपछिका दिनहरूमा विभिन्न अवसरहरूमा, विभिन्न ठाउँ (धेरैजसो आफ्नै डेरा) मा बुद्धजङसँग मेरो भेट भइरह्यो । जहिले भेट्दा पनि उसले आफ्नो बायाँ हातमा पेपरब्याक संस्करणका एक–दुई थान अंग्रेजी किताब च्यापिराखेकै हुन्थ्यो । सायद ऊ आफू निकै पढाकु भएको देखाउन चाहन्थ्यो यसरी ।

ऊसँग भेट हुन थालेपछि— उसको कुरा गर्ने ढंग, कुराकानीको विषय, आनीबानी आदिबारे मैले बिस्तारै थाहा पाउँदै जान थालेँ । अब त उसलाई ‘तपाईं’ बाट ‘तिमी’ मा झारिसकेको थिएँ मैले ।

बुद्धजङको पहिलो विशेषता के भने ऊ जुन कुरो पनि बडो आत्मविश्वासका साथ बोल्छ र उसको दोस्रो विशेषता— ऊ चाखलाग्दो शैलीमा बोल्न सिपालु छ । त्यसैले उसले हाँक्ने गरेका ठूल्ठूला गफहरू पनि साँचा हुन् कि जस्ता आकर्षक र लोभ्याउने लाग्न सक्छन् तपाईंलाई ।

उसका गफ पनि चानचुने कुरा वा चानचुने मान्छेसँग सम्बन्धित कहाँ हुन्छन् र ! ऊ प्राय: ठूल्ठूला नामी मान्छेहरूलाई चिनेको कुरा मात्र गर्दैन, उनीहरूसँग आफू कति अन्तरंग वा घनिष्ट छु भन्ने जानकारी गराउन उनीहरूसित आफ्नो प्रगाढ सम्बन्ध दर्साउने घटनाहरूको बेलिविस्तार लगाउन पनि पछि पर्दैन ऊ । जस्तै :

बुद्धजङको स्वैरकल्पनायुक्त संस्मरण : १

अथ : बुद्धजङ उवाच—

‘एक दिन दिउसोपख म बम्बईको मेरिन ड्राइभमा हिँडिरहेको थिएँ । एउटा कार आएर छेउमा रोकियो । कसैले बोलाइरहेको थियो, ‘बुद्ध !, हेलो बुद्धजङ !, कहाँ खोए रहते हो यार तुम ?’

‘हेर्छु त काका पो !’

‘तिम्रो काका ?... बम्बईमा ?’ छक्क पर्दै सोध्छु, म ।

‘हैन, काका क्या काका !... राजेश खन्ना !’

‘एऽऽ, राजेश खन्ना द सुपरस्टार अफ हिन्दी सिनेमा ।’ रस लिँदै बोल्छु म ।

‘अँ, उही राजेश खन्ना । ऊसित मेरो घनिष्ट सम्बन्ध छ । कति घनिष्ट भन्नुहोला भने सर,—चुन्नीभाईको घरमा उसले मलाई पठाउने जहिले पनि...!’

‘को चुन्नीभाई भनेको... ?’ म बीचैमा प्रश्न तेस्र्याउँछु ।

‘चुन्नीभाइ क्या ! चुन्नीभाई कपाडिया, डिम्पल कपाडियाको बाउ । अब डिम्पल कपाडिया को भनेर चैं नसोध्नुहोला सर... ।’

‘डिम्पल मलाई थाहा छ...।’

‘काका र डिम्पलको लभ चलिरहँदा... काकाले डिम्पललाई दिनू भनेर ममार्फत नै लभ लेटरहरू पठाउँथ्यो नि ।...त्यतिबेला म आफू भरखर सोह्र–सत्रको त हुँदो हुँ,— दार्जिलिङबाट पढ्दापढ्दै भागेर बम्बई पुगेको ...।’

उसका कुरा सुनेर म जिल पर्दै ऊतिर हेरिरहन्छु । ऊ भने बोलिरहेकै हुन्छ धाराप्रवाह ।

बुद्धजङको स्वैरकल्पनायुक्त संस्मरण : २

कुनै अर्कौ दिन बुद्धजङ फेरि सुरु भयो—

‘म बम्बईमा छँदाकै यो चैं केही वर्षपछिको कुरो है सर, एक दिन एकाबिहानै आफ्नो खास मान्छे थापालाई ठाकरे साबले मलाई डाक्न पठाउनुभएछ...।’

‘को ठाकरे साब... ?’

‘तपाईंले ठाकरे साबको नाम सुन्नुभा’छैन सर ? मराठीहरूका हृदयसम्राट्, बम्बईका बेताज बादशाह..., शिवसेना प्रमुख बाल ठाकरे साब !’ उसले गर्वसाथ नाकका टोटा फुलाउँदै मतिर छड्के नजरले हेर्‍यो ।

‘बाल ठाकरेकहाँ के गथ्र्यौ तिमी ?’ मेरो निरीह प्रश्न ।

‘के गर्दिनथेँ त्यो सोध्नुस् न सर । बम्बई सिनेजगत्का टप–टप हस्तीहरूसित सम्पर्क गर्नुपर्‍यो कि ठाकरे साब मलाई खोज्न आफ्ना मान्छे दगुराइहाल्थे, ‘जाओ, बुद्धजङको ढुँडो कहाँ है...!’

‘अनि आफ्नो खास मान्छे थापालाई बाल ठाकरेले तिमीलाई डाक्न किन पठाएका रै’छन् ?’ कुराको सिलसिला फेरि जोडेँ मैले ।

‘अँ, त्यै त...। कुरो के परेछ भने युसुफ खान साब... उही ट्रेजडी किङ दिलीपकुमार क्या... । युसुफ भाइ र ठाकरे साबमाझ आवत–जावत, बोलीचाली बन्द भएको महिनौं भइसकेको रहेछ । कुनै राजनीतिक कारणले होला बाल ठाकरे साब युसुफ भाइसित सम्झौता गर्ने मुडमा हुनुहुन्थ्यो क्यार । त्यसैले मध्यस्थता गराउन म फुच्चेलाई डाकी पठाउनुभयो...,’ उसले लामो खुई काढ्दै विराम लिएको स्वाङ गरिटोपल्यो ।

‘अनि... ?’ मैले उसलाई कोट्याएँ ।

‘अनि उही त हो नि सर, धेरैपटक भेटेर सम्झाइ–बुझाइ गरेपछि अटेरी युसुफ भाइ बल्लबल्ल राजी भए ठाकरे साबलाई भेट्न । यसरी दुई ठूला ठालुको बिग्रेको सम्बन्धलाई फेरि ट्रयाकमा ल्याउने काम यही बुद्धजङको करामतले सम्भव भएको थियो सर...,’ सन्तोष र तृप्तिले भरिएको लामो सास फेर्दै उसले उडाइरहेको कुराको जहाजलाई सेफ ल्यान्डिङ गरेको थियो ।

०००

बीचमा डेढ–दुई वर्ष जति बुद्धजङ काठमाडौंबाट अलप भयो । अनि जसरी एक्कासि केही नभनी ऊ अलप भएको थियो त्यसरी नै बिनासूचना अचानक ऊ प्रकट भइदियो । अनि उसले रविन्सन क्रुसो शैलीको आफू अलप हुनुको यात्रावृत्तान्त लामै सुनाइसकेपछि अन्ततिर विरही यक्षको मुखमुद्रा बनाएर मतिर उदास आँखाले हेर्दै भन्दो भयो—

बुद्धजङको स्वैरकल्पनायुक्त संस्मरण : ३

‘आज म सरलाई आसामका आजका एकजना शिखर व्यक्तित्वले ममाथि गरेको उपकारको कथा सुनाउनेछु । तर, सुन्दा अनौठो लाग्ला— उहाँले गरेको उपकारले गर्दा आज मेरो जिन्दगी डाँवाडोल बनेको छ...!’

उसका कुरा सुनेर म छक्क पर्छु, ‘के कुरा गरेको बुद्धजङ, कसैको उपकारले तिम्रो जिन्दगी कसरी डाँवाडोल हुन सक्छ ? अनि तिमीले को शिखर व्यक्तित्वको कुरा गरेको असमको ?’

‘प्रफुल्लकुमार महन्तको नि सर, अहिले उहाँ आसामको दोस्रो पटक मुख्यमन्त्री हुनुहुन्छ । उहाँले ममाथि गरेको उपकारको प्रसंग केही वर्षअघि उहाँ पहिलो पटक मुख्यमन्त्री छँदाको हो ।’ बुद्धजङले बडो सावधानीपूर्वक कुराका पत्रहरू उधिन्दै थियो ।

‘तिमी असमचाहिँ कहिले कसरी पुग्यौ नि फेरि ?’ आश्चर्य मानेझैं गरी मैले बुद्धजङलाई हेर्छु ।

ऊ बेलिविस्तार लाउन थाल्छ, ‘सर, आसाममा ‘अल आसाम स्टुडेन्ट्स युनियन’ ले राज्यव्यापी विदेशी बहिष्कारको आन्दोलन मच्चाइरहेको बेला कलकत्ताबाट भुपेन हाजरिकाले मलाई गुवाहाटी लिएर जानुभएको थियो सन् १९८२ तिर । त्यतिबेला प्रफुल्लकुमार महन्त र भृगु फुकन बहुचर्चित विद्यार्थी नेता थिए आसामका । भुपेन हाजरिकाजस्तो हस्तीले चिनजान गराएकाले प्रफुल्ल महन्त, भृगु र ममाझ गहिरो सम्बन्ध झांगियो । आसाम आन्दोलन चलिरहेकै बेला प्रफुल्ल र भृगु फुकन मेरो निम्तोमा नेपाल र नेपाली समाजलाई बुझ्न सुटुक्क काठमाडौं पनि आएका थिए । र, उनीहरूलाई मैले दुई सातासम्म उपत्यकावरपर र पोखरासमेत डुलाइदिएको थिएँ । पछि पटकपटक म आसाम पुगिरहेँ । ब्रह्मपुत्र नदीमा डुंगामा सयर गरिरहेँ । गजब ठाउँ रहेछ आसाम । असमिया लड्कीहरू सबै ‘यक्षकन्या’ जस्ता— कति राम्राराम्रा मोरीहरू ! आऽऽहाऽऽ !’ बुद्धजङले मनको लड्डु घ्यूसित क्वाप्लक्क निलेको थियो ।

‘अनि त्यसपछि के भयो त ?’ बुद्धजङलाई मूल कुरोबाट बरालिन नदिनका लागि थियो मेरो यो प्रश्न ।

‘के हुनु नि सर !’ सम्हालिँदै बुद्धजङ बोल्यो, ‘आसाममा विदेशी बहिष्कार आन्दोलन केन्द्र सरकारसँगको सम्झौतामा हस्ताक्षरपछि एउटा प्रक्रियामा गयो । चुनाव भयो । प्रफुल्लकुमार महन्त आसामका मुख्यमन्त्री अनि भृगु फुकन गृहमन्त्री बने । शपथग्रहण समारोहमा म पनि आमन्त्रित विशेष पाहुना बनेर पुगेको थिएँ प्रफुल्ल दाको ।’

‘प्रफुल्ल दा ?’

‘हो, प्रफुल्ल दा । अरूका लागि पो महामहिम मुख्यमन्त्री । म त प्रफुल्ल दा नै भन्थेँ उनलाई । उनी उमेरमा मभन्दा पाँच वर्ष जेठा जो थिए । त्यतिबेलै तेत्तीस–चौंतीसका पुगिसक्दा पनि बिहे नभएरै छिप्पिएका छिप्पट । मैले यसो कुरा बुझ्दा ‘जयश्री गोस्वामी’ नाम गरेकी सुशील डक्टर कन्यामाथि रिझिएका रैछन् हाम्रा प्रफुल्ल दा— तर, भन्न नसकेर कुरो जहाँको त्यहीँ अड्किरहेको । मैले नै अगाडि सरेर कामकुरो छिन्न लगाएँ । जयश्री बौ (भाउजू) सित बिहेको जग्गेमा बस्दा हाम्रा मुख्यमन्त्री प्रफुल्ल दा सैंतीस वर्षका बालब्रह्मचारी नै थिए बरा ।’

‘भनेपछि प्रफुल्लकुमार महन्तको बिहे गराउनुमा पनि तिम्रै भूमिका पो रै’छ है बुद्धजङ !’ मैले पत्याएझैं गरी गाडा अपत्यार पोख्दो भएँ ।

उसले खुसी हुँदै तत्कालै फेरि थप्यो, ‘प्रफुल्ल दाको बिहे गराउनमा मेरो योगदान जति छ, त्योभन्दा पनि धेरै ठूलो भूमिका प्रफुल्ल दाको मेरो बिहे गराउनमा रहेको कुरो मैले बिर्सेको छैन ।’

‘तिम्रो बिहे ?’— खोतल्ने नजरले ऊतिर हेर्छु म पूर्ण अविश्वासका साथ ।

‘अँ, मेरो बिहे । त्यही विशेष प्रसंगको कुरो त मैले ह्याँ गर्न खोजेको नि । आफ्नो विवाहको भोलिपल्ट प्रफुल्ल दाले सबैको अगाडि ठट्टा गर्दै मसित सोधे, ‘ओई बुद्धजङ !, भन् त तँ कति पुगिस् ?’ मैले भनेँ, ‘दा, तपाईंभन्दा चार–पाँच वर्ष कान्छो त हुँ नि । पुगेँ होला त्यस्तै तेत्तीस वर्षजति ।’

‘अनि बिहे गर्ने हैन त ?’— प्रफुल्ल दाले सोधे रौसे पाराले ।

‘पाए त किन नगर्दो हुँ दा !’— दंग पर्दै भनी त गएँ मैले पनि ।

‘अनि केटी नेपाली नै हुनुपर्ने कि असमिया भए पनि चल्छ बे !’— प्रफुल्ल दाले रस लिँदै सोधे फेरि ।

मैले भनेँ, ‘प्रफुल्ल दा, पर्न त मलाई असमिया लड्कीहरू नै असाध्धे मन परेका छन् । तर, एक बारको जुनी बिताउने कुरो परो— त्यसैले राम्री, गुणी, सुशीला, बत्तीसै लच्छिन नभए पनि कम्तिमा सोह्र लच्छिनसम्म भएकी नेपाली केटी खोजिदिनोस् न त !’

‘प्रफुल्ल दाले आफ्नो गाउँघरभन्दा केही परको कलियाबर भन्ने ठाउँकी एक जना मालदार नेपाली महाजनकी छोरी मामनी खर्मा (शर्मा) गजुरेललाई बिहेका लागि मागिदिए, अनि आफ्नै खर्चमा धुमधामसहित मेरो बिहे गरिदिएर ममाथि ठूलो उपकार गरे ।’

‘बिहेपछि मामनीलाई लिएर म काठमाडौं आएँ । तर, किन हो कुन्नि काठमाडौं उनलाई पटक्कै मन परेन । काठमाडौंभन्दा पनि उनलाई मन नपरेको पहिलो जिनिस थियो– वाग्मती नदी । भन्न थालिन्, ‘कहाँ हाम्रो आसामको महाबाहु ब्रह्मपुत्र नदी— कहाँको यो मरन्च्याँसे वाग्मती ।’ एक दिन रानीपोखरी देखेपछि उनले भन्न थालिन्, ‘कहाँ हाम्रो आसामको दिघली पोखरी, कहाँको यो फुच्चे रानीपाखेरी ।’ अनि बिस्तारै उनलाई पाटन, कीर्तिपुर, भक्तपुर, बनेपा, धुलिखेल पनि मन पर्न छाडे । हुँदाहुँदा उनलाई नेपालका सागपात, फलफूल, दूध–घ्यू, माछामासु, दालचामलधरि मन पर्न छाड्दै गए । मामनी जहिल्यै पनि बर्बराइरहन्थिन्, ‘आहा !, हाम्रो आसामको रहु र मागुर माछा, हाम्रो आसामको मालभोग कोल

(केरा), हाम्रो आसामको सागली (बाख्रा) को मासु, हाम्रो आसामको गोरुगाखिर (गाईको दूध)... । आदि ।’

‘मामनी दुई जीउकी थिइन् । माइती जान्छु भनेर हैरान पार्न थालेपछि उनलाई आसाम लिएर गएँ । तर, ज्यान गए उनी फर्कन माने पो । छोरो जन्मेर न्वारान गरेपछि म एक्लै फर्किआएँ विरही यक्षजस्तो बनेर । मामनी मेरी वाइफ भने उतै छुटेकी थिइन् सदाका लागि । तर, यसरी विछोड हुँदा पनि कहिलेकतै क्रियटिभ फाइदा हुँदो रहेछ सर !’

‘कस्तो क्रियटिभ फाइदा भनेको ?’ मेरो जिज्ञासा ऊसित ।

‘धेरै दिनसम्म आफ्नी वाइफ मामनीबाट टाढाटाढा रहनुपर्दा, अनि उता आसाममा छोरा हुर्किंदै–बढ्दै गरेको कुरोले मेरो मनमा एउटा गीतको आइडिया फुरी त गो ।’

‘कुन गीतको आइडिया बुद्धजङ ?’ सोधेँ मैले ।

बुद्धजङ बर्बराउन थाल्यो, ‘...छङछङी बज्ने खहरेखोला, अब त छोरो कुद्ने भो होला...!’

‘ए, यो त भर्खरै रेडियो नेपालले बजाउन थालेको छ, छुजेन डुक्पाले गाएको नयाँ गीत ‘असारै महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने ?’ को अन्तराको हरफ हो, हैन र ?’ म बाठो बनेर बोली त हालेँ प्वाक्क ।

त्यसपछि भने ऊ केही हच्कियो, थोरै खुम्चियो र भ्वाङ परेको ठाउँमा कुरोले रफ्फु भर्न थालिहाल्यो, —‘यो गीत पहिलोपल्ट मलाई मेरो आफ्नै कथा–व्यथाले फुरेको थियो र यसको आइडिया मैले नै गीत–संगीतकार तुल्सी गजमेरलाई सेयर गरेको थिएँ सर ।’

उसले लाजै नमानी अरू कसैको चर्चित बन्दै गरेको गीतको रचनागर्भको श्रेय आफ्नो पोल्टामा पारेको थियो । यसरी हरेक उत्कृष्ट अनि चर्चित रचना, व्यक्ति, स्थान, समाचारसित बठ्याइँपूर्वक आफ्नो संलग्नता देखाउन बुद्धजङ सधैं ठूलो कसरत गथ्र्यो र कहिलेकतै भने यस्तो हर्कत गरिरहँदा आफ्नो सुरुवालको इजार फुस्केको उसले पछि मात्र चाल पाउँथ्यो । र, पनि उसलाई लाज–सरम, पछुतो, ग्लानि भएको कहिल्यै देख्दिनथेँ ।

‘अनि तिम्री वाइफ मामनी कहाँ छिन् त अहिले ?,’ कुरालाई ट्रयाकमा ल्याउन मैले बुद्धजङअगाडि प्रश्न तेस्र्याएँ फेरि ।

‘अघि मैले भनेको थिएँ नि सर, प्रफुल्लकुमार महन्तले ममाथि गरेको उपकारले गर्दा मेरो जिन्दगी नै डाँवाडोल भयो भनेर । कुरो के भने नि सर, मेरो वाइफ मामनी त माइतबाटै पोइल हिँडिछ एकजना असमिया गीताङ्गे ठिटोसित । मैले हिजो मात्र थाहा पाएँ । आफ्नो त जिन्दगी नै डाँवाडोल भइगयो सर !’ बुद्धजङले लामै खुइ काढ्यो र अनुहार उदास पार्ने उपक्रमतिर लाग्यो ।

०००

म छक्क पर्छु— यति सानो जीवनमा बुद्धजङले के–के गर्न भ्याएको होला । आफूले त अहिलेसम्म केही गर्न सकिएको छैन त्यस्तो उल्लेखनीय काम ।

बुद्धजङले नचिनेको र संगत नगरेका ठूल्ठूला हस्ती कमै होलान् जस्तो लाग्छ उसका कुरा सुन्दा । मान्छे चमत्कारी नै हो जस्तो लाग्न थाल्छ कहिलेकतै त । कहिले ऊ जया भादुडी र अमिताभ बच्चनको बिहेमा जन्त गएको कुराको विस्तृत विवरण लाइभ टेलिकास्ट भइरहेझैं देखिने–सुनिने गरी बयान गर्छ । कहिले सुनील गावस्करसँग कुनै रिसोर्टमा लन्च लिँदै ब्याटिङमा उसले आफूलाई कसरी सुधार्ने भन्ने टिप्स दिँदा सुनीलले अँगालो मार्दै ‘बुद्धजङ, यु आर सिम्प्ली एन इनकम्पेरेबल जिनियस’ भनेको सम्झन्छ । अनि एकपटक त उसले भुटानी राजा जिग्मे सिङ्गे वाङचुक उसको नर्सरी स्कुल पढ्दाका बाल सहपाठी हुन्सम्म भनेको मेरो कानमा अझैसम्म गुन्जिरहेको छ ।

त्यसपछिका केही वर्ष बुद्धजङले काठमाडौंमा हल्लिँदै बितायो । २०४६ सालको जनआन्दोलन सफल भएपछिका वर्षहरूमा केही समय ऊ राजनीतिमा पनि भिड्यो । राजनीति गर्नेहरूले उसलाई आफ्नो क्षेत्रभित्र नसहेर बाहिरिया ठानी गलहत्याएर निकालिदिएपछि भने ऊ चुर्लुम्म रंगकर्ममा होमियो र नाटक लेखक–निर्देशकको चोला फेरेर देशका कुनाकाप्चाहुँदी नाटकसम्बन्धी कार्यशाला, अभिनयको तालिम गराउँदै हिँडेको पनि सुनियो । त्यसपछि भने ऊ छिट्छिटो कवि, कथाकार, पत्रकारमा रूपान्तरित हुँदै चलचित्र लेखक–निर्देशक पनि तिनै पाँच–सात वर्षभित्र बनिछाडेको थियो ।

(टिप्पणी १ : बुद्धजङ रायमाझी अलिअलि धेरै थोक हो । अलिअलि कवि, अलिअलि कलाकार, अलिअलि पत्रकार, अलिअलि राजनीतिबाज, अलिअलि सभा–समारोह सञ्चालक, अलिअलि टीभी र एफएमको एंकर, अलिअलि व्यवस्थापक, अलिअलि प्रशासक, अलिअलि मानवअधिकारवादी, अलिअलि आईएनजीओ सञ्चालक आदि । यो देशमा यस्तै अलिअलि सबै थोकको खुबी हुनेहरूको कदर छ । कुनै एक विषय वा विधामा पूर्ण दखल राख्ने विशेषज्ञ छ भने त्यसले यो देशमा कुकुरले नपाएको दुक्ख पाउँछ । साथै सयौं गोता, हजारौं हन्डर खाँदै हिँड्नुपर्ने हुनसक्छ ।)

तर, हन्डर र गोता त बुद्धजङले पनि गतिलैसँग खानुपर्ने भयो यो देशमा— जब उसले पटकथा लेखेका, निर्देशन गरेका चार–पाँचवटा चलचित्र नचलेर भकाभक बाकसमै थन्किन पुगे, अनि निर्माताहरूका हरेक गाँसमा हरिया झिँगा भन्कन थाले ।

(टिप्पणी २ : त्यसपछि बुद्धजङमाथि दुईचार पटक भौतिक–शारीरिक कारबाही अर्थात् कुटपिट भएको हल्ला पनि सुनियो । यो मुलुकमा हल्ला त्यसै चल्दैन । हावा नचली पात त्यसै हल्लिँदैन भन्छन् नि !)

अनि के भयो कुन्नि— बुद्धजङ फेरि यस मुलुकको परिवेशमा देखिन–सुनिन छाडेको थियो । सायद अझ एकपल्ट ऊ यस देशबाट अन्यत्र कतै पलायन भइसकेको हुनुपर्छ ।

०००

बुद्धजङ रायमाझी मेरो मनमस्तिष्कबाट लगभग मेटिई नै सकेको थियो बितेका आठ–नौ वर्षहरूमा । तर, एक दिन बिहानबिहानै कोटेश्वर, अमरावतीमा बनेको हाम्रो नयाँ घर ‘मन–मन्दिर’ खोज्दै ऊ टुप्लुक्क आइपुग्यो फेरि । बितेका वर्षहरूमा मुलुकको अवस्था र राजनीति कहाँबाट कहाँ पुगिसकेझैं ऊ पनि झ्वाट्ट हेर्दा शारीरिक–मानसिक रूपमा कहाँ पुगिसकेझैं लागेको थियो मलाई ।

बाहिरी आकृति र आकार–प्रकारमा निकै फेरिएको फस्टाएको देखिँदै थियो ऊ । निकै पो मोटाएछ बुद्धजङ । (एउटा झुर उपमा क्षमायाचनासहित — ‘सुँगुर मोटाएझैं मोटाएछ’ भन्दा नेपाली पारामा बुझ्न सजिलो भयो होला तपाईंलाई ।)

बुद्धजङको स्वैरकल्पनायुक्त संस्मरण : ४

‘अमेरिकामा थिएँ सर— आठ वर्ष । यो मुला बेगरहरूको कन्ट्रीमा कसले लाइफ बर्बाद गरोस्...।’ कुराको उठान बुद्धजङले यसरी गरेको थियो र त्यसपछि उसले नेपालमै बसेर काम गरिरहेका विभिन्न क्षेत्रका प्रतिभाहरूविरुद्ध विषवमन गरिरह्यो । यो ऊभित्रको कुण्ठा र हीनताको मनोग्रन्थिको उपज थियो— मैले त्यसरी नै बुझें । सुनिरहेँ । प्रतिक्रिया भने जताइनँ ।

‘कहाँ थियौ त अमेरिकामा ?’ धेरैबेर उसको एकालाप सुनेपछि सोधेँ ।

‘पहिले लस एन्जेलस, हलिउडमा । अनि पछि वासिङ्टन डीसी...।’

‘के गर्थ्यौ ?’

उही पुरानो आत्मविश्वासका साथ उसले मतिर हेर्‍यो— मानौं म बबुरो निरीह प्राणीउपर दया गर्दै छ ऊ, यी बहुमूल्य कुरा बोल्ने कृपा गरेर । अनि नि:संकोच भन्यो, ‘बिलको सल्लाहकारजस्तै थिएँ, इन्डाइरेक्ट्ली । यति ठूलो पोस्टमा बसेर काम गर्ने नेपाली सायद म नै हुँ पहिलो ।’ उसले यस्तरी भन्यो मानौं ऊ सगरमाथा आरोहणमा पहिलो हुने तेन्जिङ हो ।

यसपटक उसले निकै ठूलो गफ हाँकेको थियो भन्ने प्रस्ट बुझेँ र भित्रभित्रै हाँसिरहेँ । तर, प्रत्यक्षमा भने गम्भीर बन्दै सोधेँ, ‘को बिल भनेको ?’

‘सर त हरे !!, बिल भनेको बिल क्लिन्टन नि सर । अमेरिकाको भूपू राष्ट्रपति !’

‘बिल क्लिन्टनकहाँ के गथ्र्यौ तिमी ?’ मेरो अबोध प्रश्न सुनेर टिठ्याउँदै केही बेर हाँसिरह्यो ऊ ।

‘भनेँ नि एड्भाइजरजस्तै थिएँ । मोनिका लेविन्स्की काण्डमा अनेक खुराफाती आइडियाहरू सिकाएर बिललाई कानुनी दाउपेचबाट उम्काउनमा मेरो ठूलो हात थियो । अनि हालसालै उसको अटोबायोग्राफी प्रकाशित भयो नि...।’

‘माई लाइफ,’ म जान्ने पल्टेर बोलिहालेँछु ।

‘अँ, त्यही ‘माई लाइफ’ । त्यसलाई डिजाइन गर्नमा मेरै मुख्य हात रह्यो । अझ भनूँ भने बिलको ‘माई लाइफ’ मा कहाँ के सामग्री राख्ने, कसरी राख्ने, अध्याय के–के शीर्षक–उपशीर्षकमा छुट्याउने भन्ने मूल प्रारूप तयार पारिदिने नै म हुँ ।’ बुद्धजङले जीवनकै ठूलो गफ लडायो भन्ने मैले चाल त पाइरहेको थिएँ र मनमा लाजले कुरीकुरी लाग्न थालेको थियो आफैंलाई । तर, उसको अनुहारमा कतै पनि लाज, सरम, ग्लानि वा हीनत्वबोध देखिनँ, देखिएन ।

०००

यसपटक ऊ अमेरिकाबाट फर्केको सात–आठ महिना जति भइसकेको छ । र, ऊ धरमरमा छ यसपटक— यहीँको बनेर बस्ने कि भुर्र उडेर जाने फेरि उतै ।

यहाँ बसुन्जेल ऊ फेरि पहिलेको जस्तै यहीँको देखिन, यहीँको रैथाने रङमा रंगिएर पुरानै शैलीमा आफूलाई प्रस्तुत गर्न खोजिरहन्छ । तर, समयको भित्री लगाम भने उसले सही ढंगले पक्रन नसकेको महसुस गरिरहेको छ यसपालि । ‘साला, सबथोक बोल्ड रूपमा फेरिँदै छ यहाँ पनि । अब पहिलेको जस्तो सजिलरी कज्याउन सम्भव देख्दिनँ म यहाँको स्थिति–परिस्थितिलाई ।’ एकदिन ऊ आफैंसित एक्लै बर्बराइरहेको सुनेँ र नसुनेजस्तो गरिदिएँ । मलाई लागिरह्यो— ऊ मनैमनमा कहालिँदै थियो सायद ।

पहिलेको जस्तै स्टाइलमा प्रस्तुत हुन खोज्दा ऊ जोकर बनिरहेको हुन्छ । तर, थाहा नपाउँदा ऊ गल्ती दोहोर्‍याइरहन्छ र हास्यास्पद बनी नै रहन्छ पटक–पटक ।

अहिले पनि— कवि भेटे ऊ कवि हो, नाट्यकर्मी भेटे ऊ नाट्यकर्मी । अभिनेत्री भेटे चलचित्र लेखक–निर्देशक, अनि राजनीति गर्ने भेटे ऊ राजनीतिबाज । राजनीतिबाज पनि कस्तो भने— बाबुराम भेटिए माओवादी, खुर्सानी माहिलो भेटिए ऊ खाओवादी ।

यसरी समयको धरातल पैतालामुनिबाट चिप्लिँदै गएको बुद्धजङको बाठो बुद्धिले छिट्टै भेउ पाउँछ । र, उसले आफ्ना बाहिरी गतिविधिहरूलाई छिट्टै नै सम्पादन गर्दै–समेट्दै लगी शून्य प्रतिशतमा झार्छ विलम्ब नगरी ।

बुद्धजङको स्वैरकल्पनायुक्त संस्मरण : ५

सायद आफ्नो मनभित्रका अन्तरविरोधहरूसित जुझ्दै र बाहिरको परिस्थितिहरूसित तालमेल मिलाउन नसकिरहेको मनोवेगमा हुनुपर्छ, एकदिन ऊ मेरो सामुमा आर्तनाद गरेझैं कुर्लियो— ‘बस्दिनँ म यो भ्रष्टाचारीहरूको देशमा । म यही साता उड्दै छु सर, क्यालिफोर्नियातिर । त्यहाँ अर्नोल्ड स्वार्जनेइगरले मलाई डाकीपठाएको छ । सरले फेरि सोध्नूहोला– ‘तिमीले स्वार्जनेइगरलाई पनि चिन्दछौ ?’ त्यसैले यसपालि म सरलाई प्रश्न गर्ने मौका नदिई भन्दिऊँ, ‘हो, म उसलाई राम्ररी चिन्दछु र ऊ पनि मेरो खुबीहरूसित राम्रैसँग परिचित छ । मैले अंग्रेजीमा लेखेका ‘लाइफ एन्ड टाइम अफ एल्भिज प्रिस्ले’ र ‘पिकासो : द जिनियस’ (टिप्पणी ३ : प्रिय पाठक, बुद्धजङले अरू नै लेखकहरूका थुप्रैथुप्रै उद्धरणहरू थुपारेर माथि उल्लेख गरिएका दुई किताब आफ्नो नाममा छपाएको भने साँचो हो ।) उसले पढेको रहेछ । एकपटक लन्डनको हिथ्रो एयरपोर्टको ट्रान्जिट लाउन्जमा आफ्नो घर अस्ट्रिया जाँदै गरेको अर्नोल्डसित अचानक भेट भएको थियो मेरो । कुरैकुरामा ऊ मबाट निकै प्रभावित भएछ क्यार । मलाई आफ्नो पर्सनल भिजिटिङ कार्ड दिँदै उसले च्याटिङ गरौं न भन्यो । च्याट गर्दागर्दै हामी एकार्काको हृदयभित्र छिरिसकेछौं । त्यसपछि दुईचार पटक हलिउड पुगेर अर्नोल्डसँग भेट गरिसकेँ । नाउ ही इज अ भेरी क्लोज फ्रेन्ड अफ माइन । अहिले भने ऊ अभिनयबाट विश्राम लिएर क्यालिफोर्नियाको गभर्नर बनेको छ । तर, मेरा लागि ऊ उही पुरानो अर्नोल्ड हो सर । मैले गफ दिएको नठान्नुहोला सर, किनभने नेपालीहरूको बानी छ यस्ता माथिल्ला कुराहरूलाई गफ ठानिदिने ।...मैले अर्नोल्डलाई दस–बीस हजार डलरको खाँचो पर्‍यो, काठमाडौं पठाइदे त भनेर इमेल गरेँ भने— भरे साँझसम्म कुनै पनि माध्यमबाट उसले मेरो हातमा डलर पारिदिनेछ । तर, म त्यसो गर्ने मान्छे होइन नि सर...।’

त्यसपछि ऊ उठ्यो र जाने तरखर गर्दै भन्यो, ‘ल गफ त निकै चुटियो खास कुरोचैं भन्दै भनिनछु । सर, मलाई दस हजार रुपैयाँको खाँचै परेको छ । पाऊँ न है...। यही साता अमेरिका उड्नुअघि सरको पुरानो रकमसमेत हिसाबकिताब गरी फर्काइदिउँला नि हुन्न !’

उसले पहिलेपहिले यसरी नै सापटी भनेर पटकपटक गरी लगेर नफर्काएको रु. एक लाख पच्चीस–तीस हजारको हिसाब मेरो डायरीमा लेखिएको छ । त्यो रकम यसले फर्काई पो हाल्छ कि भन्ने आसको झीनो त्यान्द्रोमा दरफरिँदै भित्रबाट दस हजार रुपैयाँ ल्याएर केही नबोली उसको हातमा राखिदिएँ मैले ।

बुद्धजङले एक साताभित्र अमेरिका उड्ने कुरा गरेको थियो । र, आज नवौं दिन हो । एकजना पुराना पत्रकार मित्र फूलप्रसाद काफ्लजी मलाई भेट्न आउनुभएको छ । बैठकमा लगेर बसालेँ । सोफामा बस्दा नबस्दै आक्रोशमिश्रित धमिलो स्वरमा फूलप्रसादजीले मनको बह पोख्नुभयो— ‘त्यो बुद्धजङ फटाहा त चार दिनपहिले नै अमेरिका फर्किसकेछ हेर्नुस् न सर...।’

‘किन के गर्‍यो र बुद्धजङले काफ्लेजी ?’ आफ्नो बोलीमा सहानुभूतिको डोज दोब्बर गर्दै सोधेँ मैले ।

‘डुबाइहाल्यो नि दुच्छरले । दुईचार दिनभित्रै बिल गेट्सले मेरो नाममा तीस हजार डलर पठाइदिँदै छ, चार–पाँच दिनका लागि एक लाख सापटी काम चलाइदिनुपर्‍यो दाइ, ...बरु डेढ लाख फर्काउँला भन्यो बुद्धेले र सोचविचारै नगरी दिइहालेँ । हेर्नोस् न मलाई घनचक्करमा पारेर उडिसकेछ मुर्दार...।’ फूलप्रसादजीको बोलीमा गहिरो विक्षोभ, रोष र पीडाको रन्को मिसिएको थियो ।

भन्न त भएन, तर यथार्थ कुरो के हो भने— फूलप्रसादजीलाई बुद्धजङले होइन उहाँको आफ्नै लोभले ठगेको थियो । अनि म खिस्रिक्क पर्नुपरेकोचाहिँ बुद्धजङजस्तोलाई चाहिनेभन्दा बढ्ता भाउ दिने हुँदा ।

लेखन : १६–१७ भदौ २०६७

प्रकाशित : आश्विन १५, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

लामो हात

यो देश के प्रधान हो, हामीले यकिन गर्न सकेनौं । हामी अल्पज्ञानी थियौं । सरकारले राम्रो काम गर्छ, त्यसमा हाम्रो विश्वास थिएन । तर, हामी विद्रोही थिएनौं । सरकारकै स्तुति गाएर दुनो सोझ्याइरहेका थियौं । यो काम विद्वान्हरूको हो । त्यसैले यो देश ज्युँदो छ, यतिका उपद्रो हुँदा पनि प्यारो छ ।
ध्रुव सापकोटा

कथा मेरा लागि मनको उकुसमुकुस पोख्ने माध्यम हो । त्यसमा सपना–विपना सबै पर्छन् । सिद्धान्तलाई सिरानी बनाएर म कथा लेख्दिनँ । समयको कुरूप अनुहार मेरो सामुन्ने उपस्थित हुन्छ । त्यो कुरूप अनुहारलाई च्याप्प समाएर पस्किन मन लाग्छ । कुन विषयले पाठक रत्तिन्छन्, त्यतातिर कहिल्यै ध्यान गएन ।

सुरुसुरुमा आफैंले लेखेको ‘भोको पेट’ र ‘भोका आँखा’ बाट मेरा पाइला अघि सरेनन् । त्यो भने अहिले पनि मलाई अनौठो लागिरहेको छ । परिस्थिति नबदलिएर म बदलिन नसकेको हो कि ? क्षमतामा ह्रास आएर हो ? भाषा धारिलो बनाउने प्रयत्न भने जारी छ । पाठकले त्यसलाई भुत्ते देख्लान्, त्यो अर्कै कुरा हो । किन हो कुन्नि कथा एउटा ठूलो फाँट हो, उर्वर जमिन हो । र, मनचिन्ते संसार हो । यस्तो मलाई लागिरहन्छ । राम्रो चीज आफूले छान्न सक्नुपर्‍यो । छान्ने प्रयत्न जारी छ, हेरौं । भविष्य पर्खेर बसेको छु । ७० वर्षे कायामा पनि भविष्य पर्खनु भनेको अनौठो होइन र ?

– कथाकार

...

ठूलो बिचौलया हुन नपाएकोमा उनी चिन्तित थिए । म त उनको आशामुखी । उनी नै चिन्तित भएपछि परेन फसाद ! म उनको सामुन्ने थिएँ । उनलाई सान्त्वना दिने हैसियत थिएन । उनलाई त अहिले सत्ताको आशीर्वादको खाँचो थियो ।

‘खुद्रा मसिना काममा जिन्दगी बित्ने भयो,’ उनले आफ्नो मनको दु:ख व्यक्त गरे । अरू बिचौलियाले ठूलै बाजी मारेको उनले थाहा पाएछन् । नत्र यो वाक्य बोल्न आवश्यक थिएन । राज्यकोषमा लामो हात घुसार्नेहरूले उनलाई अहिले चिन्ता दिएका थिए ।

‘सर पनि कम हुनुहुन्न । व्यवसायमा लागिरहनुभएको छ,’ मैले भनेँ ।

‘मेरो हात छोटो भयो,’ उनले भने ।

‘व्यवसायबाट हात झिकेर ती लाखौं दु:खीहरूसँग मिसिएको भए पो चिन्ता ?’

‘हुन त हो । व्यवसाय छोडियो भने त शून्यमा पुगिन्छ । चिन्ता लिएर सफलता हात लाग्ने होइन । सानोतिनो भए पनि काम खाँचो छैन । तपाईं पनि मेरो एउटा ग्राहक हो नि,’ उनले भने ।

‘म त पक्का ग्राहक हुँ । सानो हुँ । त्यो अर्कै कुरा हो ।’

‘मेरा कुरा पछि गरौंला । तपाईंको कुरा पहिले । तपाईं नआउनुभएको धेरै भयो । मैले त तपाईंबाट कामको आशा मारिसकेको थिएँ ।’

‘बल्लबल्ल एउटा ठाउँ फेला पारेँ । तपाईंसँग यही कुराको सल्लाह गर्न आएको ।’

‘ठाउँ जति पनि पाइन्छन् । पत्ता लगाउन मात्र गाह्रो । काम बन्लाजस्तो छ भने मात्र हात हाल्नोस् । पहिले नै हात झिकेको राम्रो । दलदलमा फस्नु हुँदैन ।’

सानोतिनो कामको खोजीमा म उनको शरणमा पुगेको थिएँ ।

‘सानोतिनो काम के गर्ने यस्तो महँगीमा ! गतिलो आँट्नोस् । खल्ती पनि गह्रुँगो हुन्छ,’ उनले बेलुन फुके ।

‘गतिलो कामका लागि पुँजी चाहियो । मसँग क्षमता पनि छैन ।’

‘केही नभएकाहरू अहिले देशको नीति निर्माणमा दखल दिने भइसकेका छन् । तपाईंसँग त केही छ ।’

‘केही हुन तपाईंकोमा आएको । राजनीतिमा मात्र रुचि छैन । अरूमा त रुचि छ । कमाउने लालसा छ । त्यही लालसाले धकेलेर तपाईंकोमा आएको ।’

‘म तपाईंको गन्तव्य हो । अब तपाईंको कामको कुरा गरौं । यो कृषिप्रधान देश हो कि होइन ?’

‘हो । तर, कसरी कृषिप्रधान भन्ने ? कृषिबाट खानै पुग्दैन !,’ मैले भनेँ ।

‘यो त सबलाई थाहा छ । के भन्ने ? उद्योगप्रधान भन्ने ?,’ उनी कुरा काटेकोमा क्रोधित भए ।

‘बरु त्यो भन्न सुहाउँछ । उद्योग त मज्जाले चल्छ,’ मैले आगोमा घ्यू थपेँ ।

‘केको उद्योग ?’

‘त्यसको नि । कलिला नानीहरूलाई विदेश पठाएर तिनीहरूको चीत्कार सुन्न परिरहेको छ । त्यो पापको भारी बोकेर बस्नभन्दा त यहीँ चलाए भैहाल्यो नि ।’

‘आधिकारिक रूपले नचलाएसम्म त उद्योगप्रधान भन्न मिलेन ।’

‘मिलेन भने मिल्ने खोजौं ।’

‘मेरो कुरा काट्ने तपाईं नै हो । तपाईं नै भन्नोस्,’ उनले मलाई जवाफ दिन बाध्य पारिरहेका थिए ।

‘रेमिट्यान्सप्रधान ?’

‘बरु त्योचाहिँ भन्न मिल्छ । रेमिट्यान्सको अभावमा देश आज हो भोलि श्रीलंका हुन्छ भन्न थालेका छन् । त्रसित छौं ।’

‘स्वर्ण गजराज प्लेनबाट आउँछ । ससम्मान एयरपोर्टबाट बाहिरिन्छ । विशेषखाले सवारीसाधनमा सवार भएर भ्रमणमा निस्कन्छ । यो रमाइलो दृश्यले पनि नाम पाउनुपर्‍यो नि ।’

‘तराजुमा पनि सन्तुलन रहेन । त्यसका पक्षपाती नै भन्न थालेका छन्— त्यसमा पनि छुत लाग्यो ।’

यो देश के प्रधान हो, हामीले यकिन गर्न सकेनौं । त्यसको एउटै कारण थियो— हामी अल्पज्ञानी थियौं । हामीमा सैद्धान्तिक ज्ञानको अभाव थियो । सरकारले राम्रो काम गर्छ, त्यसमा हाम्रो विश्वास थिएन । तर, हामी विद्रोही थिएनौं । सरकारकै स्तुति गाएर हामी आफ्नो दुनो सोझ्याइरहेका थियौं । यो काम विद्वान्हरूको हो । तिनीहरू दलगत छन् । स्वतन्त्र खोज्न सकिन्छ । हामीलाई थाहा छ, सब कुरा समाप्त भइसकेको छैन । त्यसैले त यो देश ज्युँदो छ । यतिका उपद्रो हुँदा पनि प्यारो छ ।

‘हेर यो सब हामीले टाउको दुखाउने कुरा होइन । अहिले हामीलाई गरिखान परेको छ,’ उनले भने । उनलाई मैले अनावश्यक बहसमा उतारेँ ।

‘तपाईंले कृषिप्रधान देश भन्नुभएको थियो । त्यसको आशय के हो ?,’ म चाकडीमा उत्रिएँ ।

‘तपाईंको कल्याण यही कृषिबाटै हुन्छ ।’

‘कसरी ?’

‘तपाईं अब कृषि फार्मको मालिक हुनुहुन्छ । तपाईं हामी दुवै मालामाल हुन्छौं ।’

‘मेरो भाग्यको ताल्चा के तपाईंले खोल्न लागेको हो त ? मेरा लागि योभन्दा ठूलो कुरा अरू के हुन सक्छ ? कहाँ छ त्यो कृषि फार्म ?’

‘मेरो कल्पनामा छ । मूर्तरूप दिने काम तपाईंको ।’

म अहिले जग्गाको खोजीमा भौंतारिएको छु । यही ठाउँको जग्गा चाहिन्छ भन्ने छैन । त्यसले नै मलाई मालिक बनाउँछ । मेरो दिमागमा ठूलो सपनाले ठाउँ लिइसकेको छ । मेरो आदर्श उही बिचौलिया । कस्तो विडम्बना ! बीपी र पुष्पलालको आदर्श छोडेर बिचौलियाको पछिल्तिर उभिनु परिरहेको छ । त्यो पनि गर्वका साथ । मैले ‘कान्तिपुर’ को वर्गीकृत विज्ञापन स्तम्भमा विज्ञापन छपाएँ— एउटा गतिलो कृषि फार्म सञ्चालन गर्न भाडामा कम्तीमा पनि पचास रोपनी जग्गा तुरुन्त चाहिएको छ । त्यसमा आफ्नो फोन नम्बर दिएँ । त्यो स्तम्भको तागत मलाई थाहा छ । घरको सानोतिनो काम गराउन त्यही स्तम्भको सहयोग लिएको छु । त्यही स्तम्भमा दिएको फोन नम्बर हेरेर फोन गरेको छु । अहिले भने फोन कुरेर बसेको छु ।

सहरको व्यस्त बजारको चौतारोमा बूढाहरूले वर्षौंदेखि कब्जा जमाइरहेका छन् । तिनीहरू ४ बजे आउँछन्, ६ बजे जान्छन् । यो अघोषित वृद्ध–क्लब हो । सधैं आउने वृद्ध एक्कासि हराउँछ । पछि थाहा हुन्छ, ऊ त मरिसकेको छ । यि वृद्धहरूको भेटघाट यहिँ हुन्छ । यहिँबाटै तिनीहरू छुट्टिन्छन् । यहिँको मित्रता यहिँ समाप्त हुन्छ । यहाँ आउने वृद्धहरू फेरिइरहेका हुन्छन् । पुराना हराउँछन्, नयाँ देखापर्छन् । यसरी नै यो क्लबले निरन्तरता पाएको छ । म ४ बजे नै त्यहाँ पुगेको छु । वृद्धहरूलाई चुनाव लागिसकेको छ । गठबन्धन ठिक/बेठिक भन्ने विषय स्थानिय चुनावअघिको थियो । अहिले बहस भने जसरी पनि चुनाव जित्ने र सत्तामा जानेमा केन्द्रित छ । ‘सिद्धान्त मारे’, यस्ता महावाणि बोल्छन् वृद्धहरू । पहिले यहाँ चुच्चे नक्साको खुब चर्चा हुन्थ्यो । पहिले यहाँ एमसीसीबारे घम्साघम्सी हुन्थ्यो । अमेरिकी सेना आउँछ भनेर वृद्धहरू ठोकुवा गर्थे, अफगानिस्तानलाई झैं अलपत्र पार्छ भन्थे । अहिले यि दुवै विषय चर्चाबाट बाहिरिएका छन् । एउटी युवति आउँछिन् । अलग मेचमा बस्छिन् । एउटा ठिटो आउँछ । सँगै बस्छ । केही समयपछि तिनीहरू हराउँछन् । हराउन र भेटाउन यो चौतारोले मौका दिएको छ । चौतारोमा मैले पनि आफ्नो कुरा राख्न मौका पाएँ ।

एउटा मान्छे हतारिएर आउँछ । बर्बराउँछ— ‘यो देशमा किन चुनाव चाहियो ? त्यो पैसा देश विकासमा लगाए हुन्छ ।’ कसैले पनि प्रतिक्रिया दिँदैनन् । त्यो व्यक्ति तुरुन्तै गयो पनि । अनि बूढाहरूले मुख खोले, ‘यस्ता विक्षिप्त मान्छे धेरै देखिन थालेका छन् ।’

म एउटा भू–माफियालाई भेट्न गएको छु । डोजर लगाएर सरकारी जग्गा सम्याउन लागेका माफियालाई । मलाई भेटेर उनी खुसी हुन्छन् ।

‘बधाई छ । हात त तपाईंको लामो रहेछ,’ म भन्छु ।

‘गाह्रो छ मित्र । गाह्रो छ । धेरै ठाउँमा सेटिङ गर्नुपर्‍यो,’ उनी भन्छन् ।

‘हाकाहाकी यो गर्न सक्नु ठूलो कुरा हो,’ म भन्छु । उनी मलाई जग्गाको प्लट खोज्न आएको ठान्छन् । म उनलाई समस्या बताउँछु । आश्वासन दिन्छन् ।

एउटा बूढा मेरो सम्पर्कमा छन् । बिहानै हामी मोटरबाट प्रस्थान गरेका छौं । हामी एउटा बजारमा पुग्छौं । त्यहाँ पुरी–तरकारी र चिया खान्छौं । हामी उनको जग्गामा पुग्छौं । यो सहर होइन । गाउँ हो । उनी आफ्नो घर देखाउँछन् । त्यो घर ढुंगाले बनेको छ । छानो भने जस्ताको छ । घर जताततै चिरिएको छ । घरको पछिल्लो भागमा प्वाल नै देखिन्छ । उनले बारी देखाए । पाटा परेको बारी । उनले बाँझो जग्गा देखाए । गाईबस्तुका लागि घाँस काट्ने ठाउँ । अब यो ठाउँमा रूख उम्रिएका थिए । कामै नलाग्ने पाखो ।

घर उच्च ठाउँमा थियो । वरिपरि कुनै घर नभएको । एक्लो । छुट्टै ।

‘बस्नका लागि घर काम नलाग्ने रहेछ ।’

‘भुइँचालोले खत्तम पार्‍यो । गोठहरू थिए । ती त जगदेखि नै भत्किए,’ उनले भने । जग्गा भने पर्याप्त थियो ।

म अहिले बिचौलियाको घरमा छु । त्यो ठाउँको जानकारी दिन्छु । ‘अब तपाईंलाई फार्मको मालिक बन्न कसैले रोक्न सक्दैन,’ उनले मलाई हौसला दिएका छन् । उनकै निर्देशनमा मैले बूढासँग जग्गाको सम्झौता गरेको छु । एउटा विशेषज्ञ उनले खोजिदिएका छन् । तिनलाई लिएर म फार्ममा गएको छु ।

‘तपाईंले यो जग्गामा के गर्न लाग्नुभएको ?,’ एक गाउँलेको प्रश्न छ ।

‘कृषि फार्म बनाउन लागेको,’ म भन्छु ।

‘मेरो जग्गामा फार्म खोल्नोस् । यो जग्गाभन्दा मेरो जग्गा उर्बर छ । यो जग्गामा बाघ आउँछ । बस्तुभाउ मार्छ । बारीमा भालु आउँछ । अन्नबाली सखाप पार्छ । म उनको भन्दा सस्तो मूल्यमा दिन्छु,’ गाउँलेको प्रस्ताव छ ।

‘यो जग्गामा सम्झौता भइसकेको छ । फार्म विस्तार गर्दा तपाईंको लिन्छु,’ मैले उनलाई निराश बनाइनँ ।

एउटाले घर बनाउने ठेक्का माग्यो । फार्मको रेखदेख गर्न अर्को युवक तयार भयो । डोको बोकेकी एउटी महिला आइन् । घाँस काट्ने काम मागिन् । फार्मको तरकारी बारी गोडमेल गर्न अर्का तयार भए । म अब यो गाउँको महत्त्वपूर्ण मान्छे बन्ने क्रममा छु । यो भन्दा विडम्बना अर्को के हुन सक्छ ?

अब म निर्णायक मोडमा पुगेको छु । यो फार्ममा मैले सरकारी कर्मचारीलाई निरीक्षण भ्रमण गराएको छु । उनी फार्मको ठूलो आकर्षक साइनबोर्ड देख्छन् । गोठमा गाईहरू देख्छन् । मेसिनले दूध दुहुने गरेको जानकारी पाउँछन् । उन्नत जातका बाख्राहरू देख्छन् । तरकारी बारीमा लागेका कामदार देख्छन् । घरमाथिको हरियो जंगल देख्छन् ।

‘म त यो ठाउँमा आएको रहेनछु,’ उनी भन्छन् ।

‘यतातिर फार्म नभएर हो कि ?,’ म भन्छु ।

‘ठाउँमा घुम्न आउने त हुँदैनन्,’ उनी भन्छन् ।

‘छैनन्,’ म भन्छु ।

‘अब तपाईंले सम्भावनाको ढोका खोल्नुभएको छ,’ उनी भन्छन् ।

‘धन्यवाद सर ।’

‘अर्गानिक खेतीबाट कत्तिको फाइदा उठाइरहनुभएको छ ?,’ उनको प्रश्न छ ।

‘पटक्कै छैन । मान्छेलाई विश्वास दिलाउनै गाह्रो छ । अहिले डिपार्टमेन्टल स्टोरमा सम्पर्क गरेपछि सुधार भएको छ,’ म भन्छु ।

उनका सुझाव धेरै छन् । फार्मको अफिस कोठामा बसेर सुझाव सुन्ने प्रस्ताव राख्छु । उनी सहर्ष स्विकार्छन् । म स्कचको बोतल टेबुलमा राख्छु । प्लेटमा सलाद आउँछ । उसिनेको भटमास आउँछ । चिउरा आउँछ । पानी आउँछ । गिलास आउँछ । हामी चियर्स गर्छौं ।

‘कत्तिको सजिलो छ यहाँ फार्म चलाउन ?,’ उनी सोध्छन् ।

‘खर्चालु छ, बाघ, भालु र मान्छेबाट जोगाउन धेरै गाह्रो छ,’ मैले गरेका सुरक्षाका उपाय सुनाउँछु । फर्कने बेला मेरा कामदारले एक झोला तरकारी मोटरमा राखिदिएका छन् । बिहान गएको बाटोबाटै हामी फर्कन्छौं ।

म बिचौलियाको घरमा धाउन थालेको छु । हामीहरू मन्त्रालयमा धाउन थालेका छौं ।

‘यो फार्मको रमाइलो पक्ष के हो ?,’ उनको प्रश्न ।

‘अनुदान,’ मेरो जवाफ ।

‘मैले भनेको कुरा पूरा भएन त ?’

‘शतप्रतिशत ।’

‘तपाईंको कल्याण भएन त ?’

‘भयो । सरको पनि भयो ।’

‘बैंकको पनि कल्याण भयो ।’

‘हाकिम साहेबहरूको पनि कल्याण भयो । सरकारको लक्ष्य पूरा भयो, कल्याण गरियो ।’

‘एउटै अनुदानले धेरैथरीको कल्याण भयो त,’ मैले भनेँ ।

‘ती बस्तुभाउको कल्याण भयो त ?,’ उनले सोधे ।

‘तिनीहरूले पनि ठाउँ फेर्ने मौका पाए,’ मैले भनेँ ।

‘अनि ती जग्गा मालिक बूढाको नि ?,’ उनको जिज्ञासा थियो ।

‘खोइ ? अहिले त थाहा छैन । धेरै आए । वचनले कल्याण गरेँ,’ मैले भनेँ ।

‘मात्र वचनले ?,’ उनको सोधाइ ।

‘हो त,’ मेरो जवाफ ।

‘बूढाको आँसु र हाम्रो हाँसो,’ उनले भने ।

‘यो त खलिल जिब्रानको पुस्तकको शीर्षक हो,’ मैले भनेँ ।

‘उनले व्यापक अर्थमा शीर्षक राखेका थिए । हाँसो अलग । आँसु अलग । हामीले भने मिश्रण गरेका छौं, त्यो पनि संकुचित अर्थमा,’ उनले भने ।

‘कस्तो खाले मिश्रण हो यो ?’ मेरो प्रश्न ।

‘यो पनि नयाँ होइन । पुरानै हो । हामीले निरन्तरता दिएका मात्र हौं,’ उनले भने ।

‘त्यो ठाउँमा तपाईं फर्केर जानुभएको छ कि छैन ?’

‘त्यो ठाउँमा जाने नाता नै के छ र अब ?’

‘गाउँलेहरूको पनि कल्याण भयो । मीठो सपना देख्न पाए,’ उनले भने ।

उनको हात अब लामो भइसकेको थियो ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×