कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लामो हात

यो देश के प्रधान हो, हामीले यकिन गर्न सकेनौं । हामी अल्पज्ञानी थियौं । सरकारले राम्रो काम गर्छ, त्यसमा हाम्रो विश्वास थिएन । तर, हामी विद्रोही थिएनौं । सरकारकै स्तुति गाएर दुनो सोझ्याइरहेका थियौं । यो काम विद्वान्हरूको हो । त्यसैले यो देश ज्युँदो छ, यतिका उपद्रो हुँदा पनि प्यारो छ ।
ध्रुव सापकोटा

कथा मेरा लागि मनको उकुसमुकुस पोख्ने माध्यम हो । त्यसमा सपना–विपना सबै पर्छन् । सिद्धान्तलाई सिरानी बनाएर म कथा लेख्दिनँ । समयको कुरूप अनुहार मेरो सामुन्ने उपस्थित हुन्छ । त्यो कुरूप अनुहारलाई च्याप्प समाएर पस्किन मन लाग्छ । कुन विषयले पाठक रत्तिन्छन्, त्यतातिर कहिल्यै ध्यान गएन ।

लामो हात

सुरुसुरुमा आफैंले लेखेको ‘भोको पेट’ र ‘भोका आँखा’ बाट मेरा पाइला अघि सरेनन् । त्यो भने अहिले पनि मलाई अनौठो लागिरहेको छ । परिस्थिति नबदलिएर म बदलिन नसकेको हो कि ? क्षमतामा ह्रास आएर हो ? भाषा धारिलो बनाउने प्रयत्न भने जारी छ । पाठकले त्यसलाई भुत्ते देख्लान्, त्यो अर्कै कुरा हो । किन हो कुन्नि कथा एउटा ठूलो फाँट हो, उर्वर जमिन हो । र, मनचिन्ते संसार हो । यस्तो मलाई लागिरहन्छ । राम्रो चीज आफूले छान्न सक्नुपर्‍यो । छान्ने प्रयत्न जारी छ, हेरौं । भविष्य पर्खेर बसेको छु । ७० वर्षे कायामा पनि भविष्य पर्खनु भनेको अनौठो होइन र ?

– कथाकार

...

ठूलो बिचौलया हुन नपाएकोमा उनी चिन्तित थिए । म त उनको आशामुखी । उनी नै चिन्तित भएपछि परेन फसाद ! म उनको सामुन्ने थिएँ । उनलाई सान्त्वना दिने हैसियत थिएन । उनलाई त अहिले सत्ताको आशीर्वादको खाँचो थियो ।

‘खुद्रा मसिना काममा जिन्दगी बित्ने भयो,’ उनले आफ्नो मनको दु:ख व्यक्त गरे । अरू बिचौलियाले ठूलै बाजी मारेको उनले थाहा पाएछन् । नत्र यो वाक्य बोल्न आवश्यक थिएन । राज्यकोषमा लामो हात घुसार्नेहरूले उनलाई अहिले चिन्ता दिएका थिए ।

‘सर पनि कम हुनुहुन्न । व्यवसायमा लागिरहनुभएको छ,’ मैले भनेँ ।

‘मेरो हात छोटो भयो,’ उनले भने ।

‘व्यवसायबाट हात झिकेर ती लाखौं दु:खीहरूसँग मिसिएको भए पो चिन्ता ?’

‘हुन त हो । व्यवसाय छोडियो भने त शून्यमा पुगिन्छ । चिन्ता लिएर सफलता हात लाग्ने होइन । सानोतिनो भए पनि काम खाँचो छैन । तपाईं पनि मेरो एउटा ग्राहक हो नि,’ उनले भने ।

‘म त पक्का ग्राहक हुँ । सानो हुँ । त्यो अर्कै कुरा हो ।’

‘मेरा कुरा पछि गरौंला । तपाईंको कुरा पहिले । तपाईं नआउनुभएको धेरै भयो । मैले त तपाईंबाट कामको आशा मारिसकेको थिएँ ।’

‘बल्लबल्ल एउटा ठाउँ फेला पारेँ । तपाईंसँग यही कुराको सल्लाह गर्न आएको ।’

‘ठाउँ जति पनि पाइन्छन् । पत्ता लगाउन मात्र गाह्रो । काम बन्लाजस्तो छ भने मात्र हात हाल्नोस् । पहिले नै हात झिकेको राम्रो । दलदलमा फस्नु हुँदैन ।’

सानोतिनो कामको खोजीमा म उनको शरणमा पुगेको थिएँ ।

‘सानोतिनो काम के गर्ने यस्तो महँगीमा ! गतिलो आँट्नोस् । खल्ती पनि गह्रुँगो हुन्छ,’ उनले बेलुन फुके ।

‘गतिलो कामका लागि पुँजी चाहियो । मसँग क्षमता पनि छैन ।’

‘केही नभएकाहरू अहिले देशको नीति निर्माणमा दखल दिने भइसकेका छन् । तपाईंसँग त केही छ ।’

‘केही हुन तपाईंकोमा आएको । राजनीतिमा मात्र रुचि छैन । अरूमा त रुचि छ । कमाउने लालसा छ । त्यही लालसाले धकेलेर तपाईंकोमा आएको ।’

‘म तपाईंको गन्तव्य हो । अब तपाईंको कामको कुरा गरौं । यो कृषिप्रधान देश हो कि होइन ?’

‘हो । तर, कसरी कृषिप्रधान भन्ने ? कृषिबाट खानै पुग्दैन !,’ मैले भनेँ ।

‘यो त सबलाई थाहा छ । के भन्ने ? उद्योगप्रधान भन्ने ?,’ उनी कुरा काटेकोमा क्रोधित भए ।

‘बरु त्यो भन्न सुहाउँछ । उद्योग त मज्जाले चल्छ,’ मैले आगोमा घ्यू थपेँ ।

‘केको उद्योग ?’

‘त्यसको नि । कलिला नानीहरूलाई विदेश पठाएर तिनीहरूको चीत्कार सुन्न परिरहेको छ । त्यो पापको भारी बोकेर बस्नभन्दा त यहीँ चलाए भैहाल्यो नि ।’

‘आधिकारिक रूपले नचलाएसम्म त उद्योगप्रधान भन्न मिलेन ।’

‘मिलेन भने मिल्ने खोजौं ।’

‘मेरो कुरा काट्ने तपाईं नै हो । तपाईं नै भन्नोस्,’ उनले मलाई जवाफ दिन बाध्य पारिरहेका थिए ।

‘रेमिट्यान्सप्रधान ?’

‘बरु त्योचाहिँ भन्न मिल्छ । रेमिट्यान्सको अभावमा देश आज हो भोलि श्रीलंका हुन्छ भन्न थालेका छन् । त्रसित छौं ।’

‘स्वर्ण गजराज प्लेनबाट आउँछ । ससम्मान एयरपोर्टबाट बाहिरिन्छ । विशेषखाले सवारीसाधनमा सवार भएर भ्रमणमा निस्कन्छ । यो रमाइलो दृश्यले पनि नाम पाउनुपर्‍यो नि ।’

‘तराजुमा पनि सन्तुलन रहेन । त्यसका पक्षपाती नै भन्न थालेका छन्— त्यसमा पनि छुत लाग्यो ।’

यो देश के प्रधान हो, हामीले यकिन गर्न सकेनौं । त्यसको एउटै कारण थियो— हामी अल्पज्ञानी थियौं । हामीमा सैद्धान्तिक ज्ञानको अभाव थियो । सरकारले राम्रो काम गर्छ, त्यसमा हाम्रो विश्वास थिएन । तर, हामी विद्रोही थिएनौं । सरकारकै स्तुति गाएर हामी आफ्नो दुनो सोझ्याइरहेका थियौं । यो काम विद्वान्हरूको हो । तिनीहरू दलगत छन् । स्वतन्त्र खोज्न सकिन्छ । हामीलाई थाहा छ, सब कुरा समाप्त भइसकेको छैन । त्यसैले त यो देश ज्युँदो छ । यतिका उपद्रो हुँदा पनि प्यारो छ ।

‘हेर यो सब हामीले टाउको दुखाउने कुरा होइन । अहिले हामीलाई गरिखान परेको छ,’ उनले भने । उनलाई मैले अनावश्यक बहसमा उतारेँ ।

‘तपाईंले कृषिप्रधान देश भन्नुभएको थियो । त्यसको आशय के हो ?,’ म चाकडीमा उत्रिएँ ।

‘तपाईंको कल्याण यही कृषिबाटै हुन्छ ।’

‘कसरी ?’

‘तपाईं अब कृषि फार्मको मालिक हुनुहुन्छ । तपाईं हामी दुवै मालामाल हुन्छौं ।’

‘मेरो भाग्यको ताल्चा के तपाईंले खोल्न लागेको हो त ? मेरा लागि योभन्दा ठूलो कुरा अरू के हुन सक्छ ? कहाँ छ त्यो कृषि फार्म ?’

‘मेरो कल्पनामा छ । मूर्तरूप दिने काम तपाईंको ।’

म अहिले जग्गाको खोजीमा भौंतारिएको छु । यही ठाउँको जग्गा चाहिन्छ भन्ने छैन । त्यसले नै मलाई मालिक बनाउँछ । मेरो दिमागमा ठूलो सपनाले ठाउँ लिइसकेको छ । मेरो आदर्श उही बिचौलिया । कस्तो विडम्बना ! बीपी र पुष्पलालको आदर्श छोडेर बिचौलियाको पछिल्तिर उभिनु परिरहेको छ । त्यो पनि गर्वका साथ । मैले ‘कान्तिपुर’ को वर्गीकृत विज्ञापन स्तम्भमा विज्ञापन छपाएँ— एउटा गतिलो कृषि फार्म सञ्चालन गर्न भाडामा कम्तीमा पनि पचास रोपनी जग्गा तुरुन्त चाहिएको छ । त्यसमा आफ्नो फोन नम्बर दिएँ । त्यो स्तम्भको तागत मलाई थाहा छ । घरको सानोतिनो काम गराउन त्यही स्तम्भको सहयोग लिएको छु । त्यही स्तम्भमा दिएको फोन नम्बर हेरेर फोन गरेको छु । अहिले भने फोन कुरेर बसेको छु ।

सहरको व्यस्त बजारको चौतारोमा बूढाहरूले वर्षौंदेखि कब्जा जमाइरहेका छन् । तिनीहरू ४ बजे आउँछन्, ६ बजे जान्छन् । यो अघोषित वृद्ध–क्लब हो । सधैं आउने वृद्ध एक्कासि हराउँछ । पछि थाहा हुन्छ, ऊ त मरिसकेको छ । यि वृद्धहरूको भेटघाट यहिँ हुन्छ । यहिँबाटै तिनीहरू छुट्टिन्छन् । यहिँको मित्रता यहिँ समाप्त हुन्छ । यहाँ आउने वृद्धहरू फेरिइरहेका हुन्छन् । पुराना हराउँछन्, नयाँ देखापर्छन् । यसरी नै यो क्लबले निरन्तरता पाएको छ । म ४ बजे नै त्यहाँ पुगेको छु । वृद्धहरूलाई चुनाव लागिसकेको छ । गठबन्धन ठिक/बेठिक भन्ने विषय स्थानिय चुनावअघिको थियो । अहिले बहस भने जसरी पनि चुनाव जित्ने र सत्तामा जानेमा केन्द्रित छ । ‘सिद्धान्त मारे’, यस्ता महावाणि बोल्छन् वृद्धहरू । पहिले यहाँ चुच्चे नक्साको खुब चर्चा हुन्थ्यो । पहिले यहाँ एमसीसीबारे घम्साघम्सी हुन्थ्यो । अमेरिकी सेना आउँछ भनेर वृद्धहरू ठोकुवा गर्थे, अफगानिस्तानलाई झैं अलपत्र पार्छ भन्थे । अहिले यि दुवै विषय चर्चाबाट बाहिरिएका छन् । एउटी युवति आउँछिन् । अलग मेचमा बस्छिन् । एउटा ठिटो आउँछ । सँगै बस्छ । केही समयपछि तिनीहरू हराउँछन् । हराउन र भेटाउन यो चौतारोले मौका दिएको छ । चौतारोमा मैले पनि आफ्नो कुरा राख्न मौका पाएँ ।

एउटा मान्छे हतारिएर आउँछ । बर्बराउँछ— ‘यो देशमा किन चुनाव चाहियो ? त्यो पैसा देश विकासमा लगाए हुन्छ ।’ कसैले पनि प्रतिक्रिया दिँदैनन् । त्यो व्यक्ति तुरुन्तै गयो पनि । अनि बूढाहरूले मुख खोले, ‘यस्ता विक्षिप्त मान्छे धेरै देखिन थालेका छन् ।’

म एउटा भू–माफियालाई भेट्न गएको छु । डोजर लगाएर सरकारी जग्गा सम्याउन लागेका माफियालाई । मलाई भेटेर उनी खुसी हुन्छन् ।

‘बधाई छ । हात त तपाईंको लामो रहेछ,’ म भन्छु ।

‘गाह्रो छ मित्र । गाह्रो छ । धेरै ठाउँमा सेटिङ गर्नुपर्‍यो,’ उनी भन्छन् ।

‘हाकाहाकी यो गर्न सक्नु ठूलो कुरा हो,’ म भन्छु । उनी मलाई जग्गाको प्लट खोज्न आएको ठान्छन् । म उनलाई समस्या बताउँछु । आश्वासन दिन्छन् ।

एउटा बूढा मेरो सम्पर्कमा छन् । बिहानै हामी मोटरबाट प्रस्थान गरेका छौं । हामी एउटा बजारमा पुग्छौं । त्यहाँ पुरी–तरकारी र चिया खान्छौं । हामी उनको जग्गामा पुग्छौं । यो सहर होइन । गाउँ हो । उनी आफ्नो घर देखाउँछन् । त्यो घर ढुंगाले बनेको छ । छानो भने जस्ताको छ । घर जताततै चिरिएको छ । घरको पछिल्लो भागमा प्वाल नै देखिन्छ । उनले बारी देखाए । पाटा परेको बारी । उनले बाँझो जग्गा देखाए । गाईबस्तुका लागि घाँस काट्ने ठाउँ । अब यो ठाउँमा रूख उम्रिएका थिए । कामै नलाग्ने पाखो ।

घर उच्च ठाउँमा थियो । वरिपरि कुनै घर नभएको । एक्लो । छुट्टै ।

‘बस्नका लागि घर काम नलाग्ने रहेछ ।’

‘भुइँचालोले खत्तम पार्‍यो । गोठहरू थिए । ती त जगदेखि नै भत्किए,’ उनले भने । जग्गा भने पर्याप्त थियो ।

म अहिले बिचौलियाको घरमा छु । त्यो ठाउँको जानकारी दिन्छु । ‘अब तपाईंलाई फार्मको मालिक बन्न कसैले रोक्न सक्दैन,’ उनले मलाई हौसला दिएका छन् । उनकै निर्देशनमा मैले बूढासँग जग्गाको सम्झौता गरेको छु । एउटा विशेषज्ञ उनले खोजिदिएका छन् । तिनलाई लिएर म फार्ममा गएको छु ।

‘तपाईंले यो जग्गामा के गर्न लाग्नुभएको ?,’ एक गाउँलेको प्रश्न छ ।

‘कृषि फार्म बनाउन लागेको,’ म भन्छु ।

‘मेरो जग्गामा फार्म खोल्नोस् । यो जग्गाभन्दा मेरो जग्गा उर्बर छ । यो जग्गामा बाघ आउँछ । बस्तुभाउ मार्छ । बारीमा भालु आउँछ । अन्नबाली सखाप पार्छ । म उनको भन्दा सस्तो मूल्यमा दिन्छु,’ गाउँलेको प्रस्ताव छ ।

‘यो जग्गामा सम्झौता भइसकेको छ । फार्म विस्तार गर्दा तपाईंको लिन्छु,’ मैले उनलाई निराश बनाइनँ ।

एउटाले घर बनाउने ठेक्का माग्यो । फार्मको रेखदेख गर्न अर्को युवक तयार भयो । डोको बोकेकी एउटी महिला आइन् । घाँस काट्ने काम मागिन् । फार्मको तरकारी बारी गोडमेल गर्न अर्का तयार भए । म अब यो गाउँको महत्त्वपूर्ण मान्छे बन्ने क्रममा छु । यो भन्दा विडम्बना अर्को के हुन सक्छ ?

अब म निर्णायक मोडमा पुगेको छु । यो फार्ममा मैले सरकारी कर्मचारीलाई निरीक्षण भ्रमण गराएको छु । उनी फार्मको ठूलो आकर्षक साइनबोर्ड देख्छन् । गोठमा गाईहरू देख्छन् । मेसिनले दूध दुहुने गरेको जानकारी पाउँछन् । उन्नत जातका बाख्राहरू देख्छन् । तरकारी बारीमा लागेका कामदार देख्छन् । घरमाथिको हरियो जंगल देख्छन् ।

‘म त यो ठाउँमा आएको रहेनछु,’ उनी भन्छन् ।

‘यतातिर फार्म नभएर हो कि ?,’ म भन्छु ।

‘ठाउँमा घुम्न आउने त हुँदैनन्,’ उनी भन्छन् ।

‘छैनन्,’ म भन्छु ।

‘अब तपाईंले सम्भावनाको ढोका खोल्नुभएको छ,’ उनी भन्छन् ।

‘धन्यवाद सर ।’

‘अर्गानिक खेतीबाट कत्तिको फाइदा उठाइरहनुभएको छ ?,’ उनको प्रश्न छ ।

‘पटक्कै छैन । मान्छेलाई विश्वास दिलाउनै गाह्रो छ । अहिले डिपार्टमेन्टल स्टोरमा सम्पर्क गरेपछि सुधार भएको छ,’ म भन्छु ।

उनका सुझाव धेरै छन् । फार्मको अफिस कोठामा बसेर सुझाव सुन्ने प्रस्ताव राख्छु । उनी सहर्ष स्विकार्छन् । म स्कचको बोतल टेबुलमा राख्छु । प्लेटमा सलाद आउँछ । उसिनेको भटमास आउँछ । चिउरा आउँछ । पानी आउँछ । गिलास आउँछ । हामी चियर्स गर्छौं ।

‘कत्तिको सजिलो छ यहाँ फार्म चलाउन ?,’ उनी सोध्छन् ।

‘खर्चालु छ, बाघ, भालु र मान्छेबाट जोगाउन धेरै गाह्रो छ,’ मैले गरेका सुरक्षाका उपाय सुनाउँछु । फर्कने बेला मेरा कामदारले एक झोला तरकारी मोटरमा राखिदिएका छन् । बिहान गएको बाटोबाटै हामी फर्कन्छौं ।

म बिचौलियाको घरमा धाउन थालेको छु । हामीहरू मन्त्रालयमा धाउन थालेका छौं ।

‘यो फार्मको रमाइलो पक्ष के हो ?,’ उनको प्रश्न ।

‘अनुदान,’ मेरो जवाफ ।

‘मैले भनेको कुरा पूरा भएन त ?’

‘शतप्रतिशत ।’

‘तपाईंको कल्याण भएन त ?’

‘भयो । सरको पनि भयो ।’

‘बैंकको पनि कल्याण भयो ।’

‘हाकिम साहेबहरूको पनि कल्याण भयो । सरकारको लक्ष्य पूरा भयो, कल्याण गरियो ।’

‘एउटै अनुदानले धेरैथरीको कल्याण भयो त,’ मैले भनेँ ।

‘ती बस्तुभाउको कल्याण भयो त ?,’ उनले सोधे ।

‘तिनीहरूले पनि ठाउँ फेर्ने मौका पाए,’ मैले भनेँ ।

‘अनि ती जग्गा मालिक बूढाको नि ?,’ उनको जिज्ञासा थियो ।

‘खोइ ? अहिले त थाहा छैन । धेरै आए । वचनले कल्याण गरेँ,’ मैले भनेँ ।

‘मात्र वचनले ?,’ उनको सोधाइ ।

‘हो त,’ मेरो जवाफ ।

‘बूढाको आँसु र हाम्रो हाँसो,’ उनले भने ।

‘यो त खलिल जिब्रानको पुस्तकको शीर्षक हो,’ मैले भनेँ ।

‘उनले व्यापक अर्थमा शीर्षक राखेका थिए । हाँसो अलग । आँसु अलग । हामीले भने मिश्रण गरेका छौं, त्यो पनि संकुचित अर्थमा,’ उनले भने ।

‘कस्तो खाले मिश्रण हो यो ?’ मेरो प्रश्न ।

‘यो पनि नयाँ होइन । पुरानै हो । हामीले निरन्तरता दिएका मात्र हौं,’ उनले भने ।

‘त्यो ठाउँमा तपाईं फर्केर जानुभएको छ कि छैन ?’

‘त्यो ठाउँमा जाने नाता नै के छ र अब ?’

‘गाउँलेहरूको पनि कल्याण भयो । मीठो सपना देख्न पाए,’ उनले भने ।

उनको हात अब लामो भइसकेको थियो ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?