ब्याटरी नं ५५५०- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याटरी नं ५५५०

हात जोड्छु ! मलाई ‘भैया’ भनेर नबोलाउनुहोला । मेरो नाम बालेमुन्ना हो । चौकमा सबले बाले भन्छन्, सिरिफ अम्माले भन्छिन् मुन्ना । तपाईं मलाई रेक्सा वा ब्याटरीवाला भन्न सक्नुहुन्छ । अब त मेरो नागरिकताको नाम पनि ब्याटरी होजस्तो लाग्छ के गर्ने बालेबाट ब्याटरी जो भइगएँ !
शिवानीसिंह थारू

आख्यान लेख्ने साहित्यकारको परख छोटा कथा लेखनमा हुने गर्छ । किनकि एउटा सुन्दर उपन्यास फूलको सिंगो बोट हो भने छोटो कथा त्यो बोटमा फुल्ने फूलको अत्तरको एक बुँद । फुललाई आफ्नो सम्पूर्ण अस्तित्वसहित अत्तरको एक बुँदमा परिणत हुन जटिल प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यसैले त अत्तरको एक सर्को बास्नामा बोटको जरादेखि टुप्पाको मुनासम्म कल्पना गर्न सकिन्छ । भन्न खोजेको छोटो कथाको आत्मामा उपन्यास बसेको हुन्छ । त्यसद्वारा एउटा सिंगो समय खडा गर्न सकिन्छ । गाह्रो त सिंगो समयको संसारलाई छोटो कथाको क्याप्सुलमा देखाउन छ । त्यसैले कथा लेख्ने प्रक्रिया सजिलो झैं प्रतीत भए पनि चुनौतीपूर्ण सृजनशीलता हो ।

यो चुनौतीलाई स्विकारेर म आफ्नो सीमितता भत्काउन कथा लेख्ने गर्छु । ‘अरेबियन नाइट्स’ की कथावाचक सेहेरजादेजस्तै मसित पनि एक हजार एक कथाहरू छन् । ती कथाका विषयवस्तु, मुद्दा र समस्याका मर्मले मलाई दुखाउँदै आएका छन् । भए पनि ती सबैमाथि उपन्यास लेख्न सकिँदैन । न तिनलाई एकै उपन्यासमा समेट्न सकिन्छ । तिनलाई छोटा–छोटा कथामा अभिव्यक्त गरेपछि मलाई बल्ल लखेट्न छाड्छन् कि ! थाहा छैन । तर, दोस्रो उपन्यास लेख्नुअघि म ती तमाम कथाहरू लेखेर रित्तिन चाहन्छु ।

– कथाकार

...

मेरो ब्याटरी इलौन मक्सको रकेटवा भन्दा थोडै कम छ !

ब्याटरी माने ब्याटरी–रिक्सा, इलौन मक्स माने वही अमरिकी इलौनवा । उसको रकेट–रिक्साले मान्छेलाई आकाशको स्वर्गमा पुर्‍याइदिन्छ । मेरो ब्याटरी–रिक्साले मान्छेलाई घरको स्वर्गमा ल्याइदिन्छ । भन्नुहोला एउटा देहाती रिक्सावालालाई यो सब कसरी थाहा भयो । अरे भाइ ! किस्सा बहुत जिलेबी छ । फुर्सद छ ? त आउनुस् । पिछाडी बसिहाल्नुस् । तपार्इंलाई नेपालगन्जको एक चक्कर घुमाऊँ ।

तर, हात जोड्छु ! मलाई ‘भैया’ भनेर नबोलाउनुहोला । मेरो नाम बालेमुन्ना हो । चौकमा सबले बाले भन्छन्, सिरिफ अम्माले भन्छिन् मुन्ना । तपाईं मलाई रेक्सा वा ब्याटरीवाला भन्न सक्नुहुन्छ । अब त मेरो नागरिकताको नाम पनि ब्याटरी होजस्तो लाग्छ । पिछाडि पेसेन्जरले जब मोबाइलको ब्याटरीको कुरा गर्छन् त म ‘आँय !’ भनेर सटपटाइहाल्छु । के गर्ने बालेबाट ब्याटरी जो भइगएँ !

तपाईंले भन्नुहोला अरे भाइ ‘भैया’ त त्यसै सम्बोधन गरेको । यसमा ऐँठनुपर्ने के छ र । सबको नाम थोडै न सोधिराखिन्छ र ? म पनि के गरम हजुर । मेरा लागि पनि ‘भैया’ बडा आम बोलावट थियो । तर, रिक्सा चलाउन थालेपछि थाहा भयो । साला यो ‘भैया’ मा हिस्ट्री, जोगराफी छुपेको हुँदोरैछ । अनि यसको साथमा नियत पनि । कुनैकुनै पेसेन्जरले भाडा दिने बेला जब कचकच गर्छन्, तब यो शब्दको कोर्रा बर्साउँछन् । भन्छन्– ‘यी भैयाहरू फलाना ढिस्काना’ । अरू त अरू रुपैडिहा सिमानामा ट्राफिक र सीमाप्रहरीको मुखबाट यो शब्द गालीजस्तो सुनिन्छ ।

सशस्त्र पुलिसको जागिरमा मलाई सिरिफ एक बार ‘भैयावाला’ हेपाइ खानुपरेको थियो । तबै देखाइदिएँ सतबरियाको भिडन्तमा । सइ सा’ब भैया त हँु तर ‘ठुल्भैया !’ हे...हे...हे... ।

सशस्त्रको जागिर !... त्यो पनि जमाना थियो । यो पनि जमाना छ । वा’रे करमवा !

जमानाको कुरा छेडेपछि त तपाईंलाई जमानैको कुरा एउटा भनूँ । यो रोड जुन देखिरहनुभएको छ नि ? यो पुरानो टाँगा स्ट्यान्ड हो । आजभोलि टाँगावाँगा त छैन, सिरिफ एक्का बचेको छ । त्यो पनि अहिले देखिरहेको छैन । बचेका तीन–चारवटा जति छन्, सब रुपैडिहातिर लागे होलान् । तर, हाँ एक जमाना थियो, यहाँ एक्का र टाँगाको लयन हुन्थ्यो । यो टाउनहलको मेनरोडदेखि पछाडि घसियारन टोलसम्मको बाटो घोडाको लिदैलिदले गिचिरपिचिर हुन्थ्यो ।

टेन्टमा रुपैयाँ हुनेहरू टाँगामा बसेर बढियासित रुपैडिहा जान्थे । घोडाको टाप र घाँटीमा बाँधिएको घुँघरुँको छुन...टक...छुन...टक सुन्दै । हामीजस्ता अठन्नीहरू एक्कामा लदेर जानुपथ्र्यो । न बस्ने गद्दी, न छुन...टक...छुन...टकको लय । पिठ्युँदेखि पिठ्यँु सटाएर, काठको पटरामा पुठ्ठा गडाएर, एक्कावालको गाली सुन्दै रुपैडिहा पुग्नुपथ्र्यो । के भनुम् ! एक्कावालले यत्ति भद्दा गाली दिन्थ्यो आफ्नो घोडालाई । अझ घोडी हुनुपथ्र्यो । यस्तो लाग्थ्यो आफ्नी स्वास्नीलाई गाली गर्दै छ । छिनालदेखि लिएर सतभतारसम्म केही बाँकी राख्दैनथ्यो । हाम्रो त कानै झन्नाइहाल्थ्यो । कोही पेसेन्जरहरू एक्कावाललाई हप्काउँथे । बस् यही कुरामा दुईबीच लडालड भइहाल्थ्यो ।

म सोच्थें यो एक्काको घोडै किन अडियल हुन्छन् ! टाँगावाला त आफ्नो घोडालाई बेटा कि बेटा भन्दै लाडप्यार गर्छन् । यिनी एक्कावालहरूलाई हेरिहाल । या त चाबुक लगाउँछन् सटाकसटाक या गालीको बर्सात गर्छन् भकाभक ।

तर जे भन्नुस् । मलाई त एक्का नै थियो प्यारो । घोडैमाथि सवार भएजस्तो कति उँचा त्यसको पेसेन्जर सिट ! घोडाको एकएक चाल हेर्दै गुड्न पाइन्थ्यो । सिटमाथि छप्पर र चारैतिर खुला हुन्थ्यो । खुलाखुला राम्रो लाग्थ्यो । टाढाटाढासम्म फैलिएको रहरको खेत, घोडाको टाक...टाक..., सुनसान सडक । लाग्थ्यो यसरी नै गुडिरहूँ । कतै नरोकिइ गइरहूँ । फकिरा चलचलाचल !

नेपालगन्जदेखि रुपैडिहा र रुपैडिहा नेपालगन्ज गर्ने यही टाँगा र एक्का नै हुन्थे । साइलिक रिक्सा कमै जान्थ्यो । जो जान्थ्यो त सिङ्गो घोडा र त्यसमा जोतिने गाडीको बराबर पैसा तिरेर जान्थ्यो । त भला को जाओस् त्यो रथमा ।

अब त्यो जमाना गयो । टाँगा र एक्का सक्किँदै गइरहेको छ । तर हेर्नुस् न, आँखैअगाडि एस्सिलेटर हकाउँदै शहर फैरिदै गयो, मन साली ब्याक–गियरमा लागेको छ । तबै ! म जबजब यो बाटोबाट गुज्रिन्छु, मलाई घोडाको लिदको कुन्नि कस्तो गन्ध आएआएजस्तो हुन्छ । उनीहरूले खाने घाँसभुसको हरियोपन महकेजस्तो लाग्छ । बस् म पुगिहाल्छु त्यही छुन...टक...छुन...टकको जमानामा ।

हुन त जमाना साइकिल–रिक्साको पनि गइसक्यो । धेरै कम भइसक्यो । ल भन्नुस् हामी सहरको यति भित्र आइसक्यौँ, कतै देख्नुभयो साइकिल–रिक्सालाई ? सबै खाइसक्यो ब्याटरीले । ठीकै हो । सहरको आर्थिकस्तर बढेपछि सवारीको हैसियत पनि बढ्ने होला । अहिले ब्याटरी–रिक्सा कसले चलाउँदैन ! बुढउदेखि लिएर बबुवासम्मले चलाउँछन् । अक्षर नचिन्ने भुसकुमारदेखि अमरिकी इलौनवालाई चिन्ने हरफनमौलासम्मले चलाइरहेछन् । हे...हे...हे...।

तर, जब हामी स्याना थियौँ, यहाँ सिरिफ साइकिल–रिक्सा नै चल्थ्यो । त्यतिबेला अहिले जतिको ब्याटरी–रिक्सा कहाँ थियो ! यसको आधी मात्र थिए होलान् । सुर्खेती रोड, जहाँ सरकारी कार्यालयहरू छन्, त्यहाँ रिक्सा फटाकसित कहाँ पाइन्थ्यो । एक्कादुक्का रिक्सा टाढैबाट जब पैडल मार्दै आइरहेको देखिन्थ्यो, त बस् ! यताबाट चिल्लाउन सुरु भइहाल्थ्यो । ‘ए रे रिक्सा खाली हय... ।’ पाए पनि के ! बहुतै दादाभैया गर्नुपर्थ्यो ।

त्योबेला साइकिल–रिक्साको डिमान्ड त थियो, तर रिक्सावालाको भाउ ? घुइया जति पनि नाइँ । मलाई याद छ । हाम्रो टोलमा एक जना सुकदेव थिए । सबैले सुकैया भन्थे । बिहानदेखि साँझसम्म उनी रिक्सा चलाउँथे । साँझ पर्नेबित्तिकै रक्सी चढाउँथे । रक्सी चाहे जति चढाइहालुन् उनी लरबरचाहिँ गर्दैन्थे । भट्टीबाट सीधा चालले उनी नाली छेवैछेउ आफ्नो मढैया (सानो झुपडी) मा फर्किन्थे । कसैसित नबोली चुप्पैचाप । तर, फर्किरहेको बेला कसैले उनलाई छेड्नु हुँदैनथ्यो । जहाँ लौंडेहरूले छेडिहाले, त बस् ! उनी बीच सडकमा उभिएर सुरु भइहाल्थे । गाली बक्दाबक्दै रुन थाल्थे, रुँदारुँदै फेरि गाली बक्न थाल्थे ।

उनलाई ‘सुकैया दारु खाय हव ?’ भनेर सोध्नै नहुने । अचानक दिमाग खराब भइहाल्ने । उनको सनकमा लौंडेहरूले मजा लिन्थे, बूढापुरानाहरू सुकैयालाई चुप लगाउँथे ।

उनको चाला देखेर घरमा अम्मा–बप्पाले चेतावनी दिन्थे– ‘पढिलेउ नत्र सुकैयाजस्तो रिक्सा चलाउनुपर्ला ।’

म सोच्थे– भक् ! रिक्सावाला त कसैलाई बन्न नपरोस् । त्यो पनि दरुवा सुकैयाजस्तो । चलनीजस्तो चुहिने मढैयामा एक्लै बसेको छ, स्वास्नीले पनि छोडेर गएको छ । आमा पनि टीबीले मरेको छ, भाइ ड्रग्सवाला झोल औषधिको केसमा जेलमा छ । मानो सुकैयाको जिन्दगी, मान्छेको जिन्दगी रहिगएन । ‘जय सन्तोषी माँ’ फिलिम भइगयो ।

त्यसैले सुकैयाजस्तो रिक्सावाला नबन्न म खुब पढ्थें । थाहा छैन, रिक्सावालाबाहेक अम्मा–बप्पाले के बनाउन खोजेका थिए ! खालि पढ्नुपर्छ भनिराख्थे र सुकैयाको डर देखाइराख्थे । म पनि पढ्दै गएँ, पढ्दै गएँ । जब आईए पास गरेँ, तब एउटा कुराको चस्का लागिगो । घरमा त्यसबारे जब सबलाई थाहा भयो, बापरे बाप ! बवन्डर खडा भयो । थाहा छ, अम्माले उल्टै के भनिन् ? बरु रिक्सै चलाएको भए हुन्थ्यो ! रे ।

लेव सुनलेव ! भला यो पनि कुनै बात भयो ?! बहुत जोरसित रिस उठ्यो । फेरि अर्को मनले थमथमायो । बिचारी अम्मा ! मेरो मात्र होइन २०५८ सालको माओवादीकालमा सबैका आमाले यही भन्थे होला । जब थाहा हुन्थ्यो छोरो सशस्त्र प्रहरीमा सिपाहीको जागिर खान जाँदै छ ।

म पनि के गर्थें त ? झौवामा दिनभरि तरकारी बेच्नेको छोरा सशस्त्रको सिपाहीमा पास हुनु भनेको ठूलै कुरा थियो मेरालागि । बाँकी रह्यो भिडन्तमा मर्ने डर । त सुन्नुस् ! बाइसतेइस वर्षमा ‘म मर्छु होला’ भनेर कसैलाई लाग्दैन । चाहे त्यो लडाइँमै गइरहेको किन नहोस् । उसको आँखा अगाडि ऊ आफ्नै तस्बिर खिचिरहेको हुन्छ । आफूले छिरबिरे ड्ेरस लगाएको, बुटमा ग्रयाप–ग्रयाप हिँडेको, हातमा पेस्तोल लिएर निसाना लगाइरहेको जाँबाज तस्बिर । हो ! तालिममा अबै छोडूँ कि तबै छोडूँचाहिँ लाग्छ । त्यो पनि मर्ने डरले होइन, तालिमको पेलाइबाट तेल निक्लिने बेलामा । डर त एक्कैचोटि त्यतिबेला लाग्छ, जब कनपट्टीबाट गोली सिटी बजाउँदै गुज्रिन्छ । अनि चारैतिर बारुदको गन्धले दिमाग सट्किहाल्छ । त्यसपछि त मानौं मसान चढिहाल्छ । उसको बादमा ?... केही लाग्दैन । सिरिफ पानीको प्यास लाग्छ । बस् !

त्यो सब अहिले सोच्दा विश्वासै लाग्दैन । त्यो मै थिएँ जो दाङ र सल्यानजस्तो माओवादी गढमा एक महिना सर्च अपरेसनमा गएको थिएँ । राति ब्यारेकमा सेन्ट्री बस्दा कुकुरको एकेक भुकाइ गन्दै बसेको थिएँ । माओवादीको आक्रमणमा पर्दा रातरातभर डटेर लडेको थिएँ । र अहिले हेरिहाल्नुस्, चोकचोकको ट्राफिकसित तर्केर बच्नुपर्छ । भीडभाडवाला मोडमा अगाडि पिछाडि सबको ठोकाइ खानुपर्छ । नत्र सब सवारीहरूसित लड्दै बाटो छोड् भन्नुपर्छ । पेसेन्जरसित भावतावमा पर्ने झिकझिक त छँदैछ फेरि ।

अरे बाप रस्ता छोडो... अरेरे कहाँ घुसेडे दे थो !?

यो एक्लैनीको मोड हो हेर्नुस् । देख्नुभो ! यहाँको घच्चाघच्ची । एकमाथि एक सब लदेका छन् । अब यो ठेलावालालाई पनि यहीँ घुसेर मटर चाट बेच्न थियो ? अनि यो हेर्नुस् यो, अगाडि जुन आाइरा’छ । त्यो हो त्रिवेणी मोड । न्युरोड, सदर, साहबा र मन्दिर रोडको जक्सन । वद्दे ! ठोक दिहिस् ! देख्नुभो ? भर्खरै के भयो ? मोटरसाइकको हिरोगिरि ?

बजारको यस्तै मोडहरूमा हामी रिक्सावालाको एक न एकचोटि माथा गरम भइहाल्छ । यो जुन अहिले हामी गइरहेका छौँ नि, यो बागेश्वरी मन्दिरको मोड हो । यो पनि झगडा लडाउने मोड हो । भीड भएको बेला यहाँ अक्सर दुईतिरबाट आइरहेका रिक्सावालाहरू झगडिरहेका हुन्छन् । अझ नौरथा हुनुपर्छ । रिक्सावालाबीच सडक कसको बाउको हो ? वाला लफडाबाजी सुरु भइहाल्छ ।

मेरो माथा गरम हुने अर्को घपला सुन्नुहुन्छ ? आजकाल पेसेन्जरहरू सोध्छन्– तिमी भैया हो कि भाइ हो ? रे ! मलाई लाग्दैन सुकैयाको जमानामा यस्तो प्रश्न पेसेन्जरले कहिल्यै साइकिल–रिक्सालाई गरेका होलान् । मै भन्छु, हामीले यस्तो राष्ट्रियता सोधीसोधी रिक्सामा चढेको कहिल्यै थाहा छैन । त यसको माने के ? नेपालगन्जमा कस्तो सोच हावी हुँदै गएको छ भन्ने हैन !

मलाई जब यस्तो सोध्छन् । म भन्छु– म नेपाली सिटिजन हुँ । अनि उनीहरू सफाइमा भन्छन्– हैन भैयाहरू खुब ठग्छन् त्यसैले सोधेको । म केही बोल्दिन । तर, रिस उठ्छ । अरे भाइ ! ठग, चोर, पाकेटमारको न कुनै जात हुन्छ, न समुदाय । अहिले भन्दिम् यो देशका बेइमानहरू सत्ताधारी नेता हुन्, त के सबै पहाडीहरू बेइमान भइगए ?

किस्सा यहीँ थोडै सकिन्छ ! सुन्नुस्..., कहिलेकाहीँ पेसेन्जरले आधी घण्टा पैंतालीस मिनेट कुराइदिन्छन् । कति त बुझ्ने हुन्छन् । दस रुपैयाँ ज्यादै दिएर जान्छन् । कोही त गाली दिन्छन् । भिख दिएजस्तो पैसा फालेर जान्छन् । यस्तो बेला मनबाट सराप निस्किन्छ । मिहिनेत गर्ने मान्छेको आत्मसम्मानमा ठेस पुर्‍याउने समाजले आखिरमा कमिसनखोर ठेकेदार नै जन्माउँछ !

एक दिन रुपैडिहा जाँदा बोर्डरको सशस्त्र पुलिसले हावा फुस्काइदियो । गल्ती मेरै थियो, तर नजानेर गरेको । तर, अब त्यत्रो बोर्डरमा न हावा भर्ने ठाउँ छ । फर्केर आउँm भने त्यति टाढा छ । यता न उतिको भइगएँ । रिस र दिक्क एक्कैचोटि लाग्यो । यो पनि कुनै कानुन सिकाउने तरिका हो ? कि बर्दी लगाएपछि यसरी हेप्न पाइन्छ भनेर जताएको ?

हावा फुस्काइदिनेको हाकिमसित कुरा गर्न गएँ । असइ सा’ब हुनुहुँदो रहेछ । म पनि पाँच वर्षअघि सशस्त्रमै थिएँ भनेर थाहा पाएपछि उनले के भने थाहा छ ? यत्रो हवल्दारसम्म भइसकेको मान्छे रिक्सा चलाउने हो ? रे ! यस्तो काम छोडेर पसल थापेर बस पो भन्छन् । रिक्सा चलाउने काम अलि तल्लो स्तरको भयो रे ।

त्यो दिन मनमा बडा चोट लाग्यो । मिहिनेतको काम गर्दा आम मान्छेले इज्जत त दिएको थिएन नै, समाजमा उदाहरण बन्नुपर्ने सुरक्षाकर्मीहरू पनि त्यस्तै छन् । कोरोनाको बेला कालाबजारी गर्न नहिच्किचाउने दुकानदार इज्जतदार भइगए । तर, रातबिरात रिक्सा चलाएर अस्पताल लगिदिने रिक्सावालालाई सरम मान्नुपर्ने !

त्यसपछि मलाई सुकदेवको याद आयो । उनीसित गर्ने व्यवहार मैले एकएक ख्याल गरेँ । सोचे, हामीले साइकिल–रिक्सावालालाई इज्जतसाथ हेरेको भए पो ब्याटरी–रिक्सावालाको पनि इज्जत हुन्थ्यो । यस्तै सोच रहिरह्यो भने यो सडकमा चाहे ट्याक्सी गुडोस् वा बस, चालकलाई हेर्ने नजरिया वही रहिरहन्छ ।

एक दिन त लिमिट पार भइहाल्यो । साँझ भेरी अस्पतालबाट बिरामी लिएर भुजइगाउँ जाँदै थिएँ । सहरदेखि कोहलपुरतिर आउनुपर्ने । एक त इरघाटदेखि वीरघाट पुग्नुपर्ने, त्यसमाथि जाडोको रात । रातको नौ बजे नै आधारातजस्तो मरिमसान छाएको थियो । पेसेन्जर पुर्‍याएर फर्किरहेको बेला टाढैबाट देखेँ । बाटोको कल्भर्टमा पाँच–छजना केटाहरू रक्सी खाएर बसेका । सब सालेहरू भर्खरका लौँडे थिए ।

मनैमन आफूलाई धिक्कारें । बेकारमा यति राति हाइवेभित्रको गाउँमा आएर मरें । यतातिर यस्तै हुन्छ । चोकचोकमा केटाहरू झल्लु भएर बसेका हुन्छन् । रिक्सावालालाई देख्यो कि हैरान गर्छन् । फिरीमा यता जाऊँ, उता जाऊँ भन्न थाल्छन् । नाइँनुइँ गर्‍यो भने सिधै गर्दनतिर लप्किन्छन् । पहिलापहिला त उनीहरूलाई बसालेको पनि हो । तर, पछिपछि लफडा कसले लियोस् भनेर रिक्सालाई भगाउँदै फुत्किने गर्थे । त्यो रात पनि यस्तै गर्ने सोचले म रिक्सा भगाउन थालो ।

नभन्दै केटाहरू बीच सडकमा उभेर चिल्लाउन थाले । ए रोक ! रोक भनेको !

मैले रोकिन । तर, केटाहरू रिक्सा पछिपछि दगुर्न थाले । मैले पनि भगाउँदै गएँ । त्यसपछि एउटा साँढे स्वरमा पछाडिबाट करायो । साला देशी ! भनेको मान्दैनस् ?

देशी ! (यता देशी भनेको हामी देहातीहरूलाई भन्छन्, हजुर) ।

मलाई रिस उठ्यो । तनतनाईकन रिस उठ्यो । दिनभरिको थकान, खाना पनि खाएको थिइनँ । त्यसमाथि लौँडेहरूको दादागिरी । मैले ब्रेक मारे । पछाडिबाट एक हूल दगुर्दै आए । नजिक आएपछि मैले नै आवाज उँचा गरेँ– ‘के हो ?’

‘रिक्सा किन रोकिनस् ?’

‘आजका लागि सवारी पुग्यो ।’

‘निहुँ खोज्छस् ?’

उल्टै मलाई थर्काउँछन् बा ! मैले पनि भनिदिएँ, ‘हेर केटा हो... म तिमीहरू कसैलाई पनि रिक्सामा बसाल्दिन । तिमीहरू पाँच–छ जना छौ, म अकेला छु । अब मलाई पिट कि लुट । जे गरे पनि मलाई जिउँदै चाहिँ यहाँबाट जान नदिनू । मैले तिमीहरूलाई चिनिसकेको छु । र, भोलि पुलिसमा उजुरी दिएर हुन्छ कि एकएकलाई यही एरियामा खोजेर हुन्छ, तिमीहरूलाई छोड्दिन ।’

यति भनेर मैले सबको मुख एकएक गरी हेरें । अनि त्यहाँबाट चल्दिए । मेरो फौजी पारा तातेको थियो । एक–दुई जनालाई धोबीपाट नखुवाईकन म पिटाइ मात्र खाएर फर्किनेवाला थिइन त्यो रात ।

फर्केर आइरहँदा यति पारा चढेको थियो कि पसिना चिटचिटाउन थाल्यो । जाडोको रातमा पनि पसिना छुटिरहेको देख्दा मलाई त त्यही रात याद आयो । सतबरियामा माओवादीसित भिडन्त भएको रात । हामी धेरै जना थिएनौँ । किनभने त्यो सशस्त्र प्रहरी बलको बेस मात्र थियो । र, बेस डीएसपीको कमान्डमा थियो । त्यही वर्ष स्थापना भएकाले हाम्रो तयारी पूरा भइसकेको थिएन ।

माओवादीले हाम्रो बेसमा चैत २९ गते अट्याक गरेको थियो । उनीहरूले हामीलाई तीनतिरबाट घेरेका थिए । एक छेउबाट अजुर्नखोला बगेको थियो । मान्छेका जत्था त्यति धेरै मैले जिन्दगीमा कहिल्यै देखेको थिइनँ । उनीहरूको दाँजोमा हामी त केही थिएनौँ । उनीहरूले सरेन्डर गर त भनिरहेका थिए । तर भर्खर मात्र स्थापना गरिएको सशस्त्र प्रहरी बल सरेन्डर गर्नका लागि बनाइएको थिएन । त बस् ! रातको ठीक ८ बजे उताबाट फायर खुल्यो ।

हामी दुईदुई जनाको टिमले ट्रेन्चको कभर लियौँ । म हवल्दार सा’बसित परेको थिएँ । हामीले त्यसपछि जिन्दगीको पहिलो र अन्तिम लडाइँ लड्न थाल्यौँ ।

बिहान हुनहुन लाग्दा लडाइँ बन्द भयो । रातभरिको भारी लडाइँपछिको सन्नाटा... बापरे बाप ! मेरो कान सन्न भएको थियो । टाउको भारी भएर आँखा पोलिरहेको थियो । एकछिन आँखा चिम्म गरे कि गोलीबारीको आवाज गुन्जिएर आँखा फट्टसित खुलिहाल्थ्यो । म फेरि उही दुनियाँमा फर्केको छुजस्तो लागिरहेको थिएन । तल छेउको अर्जुनखोला मात्र त्यसैगरी बगिरहेको थियो ।

हामी ट्ेरन्चबाट घस्रेर बिस्तारै बाहिर निस्कियौँ । साथीहरू पानी सक्केर खोलाको पानी ओसारेर खाँदै थिए । हामी जति पनि बाँकी थियौँ, कसैसित केही बोल्न सकेका थिएनौँ । न आँखा जुधाउन सकिरहेका थियौँ । किनभने हाम्रो अगाडि हाम्रा कमान्डर डीएसपी सा’ब, दुई जना इन्स्पेक्टर सा’ब र पैंतीस जना जवान साथीहरूका लास थिए ।

त्यो देखेर मैले आफूलाई छामें । म अधमरा भएको थिएँ । हवल्दार सा’बतिर हेरेँ । उनको आँखाको डिलबाट आँसु बगिरहेको थियो । बिचरा बुढउ ! राति कस्तरी नर्भस भएका । हामी दुवै चुपचाप अर्जुनखोलातिर हेरिरह्यौँ । खोलाको एकनासको स्वाँऽऽसँुऽऽ सुनेर बसिरह्यौँ । त्यसको सुसाइले मात्र लाग्थ्यो आफू बाँचेर फर्केको ।

मलाई लागेको थियो, मान्छेको जिन्दगीमा योभन्दा ठूलो लडाइँ अरू हुन सक्दैन ।

तर, म गलत रहेछु । आफ्नो ज्यान बचाउन गरेको लडाइँ र आत्मसम्मानका लागि गरिने लडाइँमा बहुतै फरक रहेछ । हतियार लिएर आँखाअगाडिको दुश्मनलाई मार्न वा त्यसबाट मरिन धेरै सजिलो लडाइँ हो । सबैभन्दा गाह्रो त आत्मसम्मानका लागि गरिने हरेक दिनको संघर्ष हो । जुन ज्ञान मैले लडाइँको मोर्चामा पाइनँ त्यो मलाई रिक्सा जिन्दगीले थाहा दियो ।

खासमा यो रिक्सा चलाउने काम मैले मेरी जुनीले गर्दा गरेको हो । जुनी मेरी घरवाली । हवल्दारमा बढुवा भएपछि मैले सशस्त्रको जागिर छोडिदिएको थिएँ । नेपालगन्जको एउटा होटलमा सिक्युरिटीको जागिर गर्न थालेँ । तीन वर्षसम्म राम्रै चलेको थियो । ससुरी कोरोना आइहाल्यो । लकडाउन भयो । एक महिना, दुई महिना, तीन महिना, यसै बितेर गयो । होटलको मेनेजरले होटलै बन्द हुन्छ भन्यो । अरु ठाउँमा पनि त्यस्तै हाल थियो । अब नेपालगन्जमा गर्नका लागि अरू के रोजगारी छ र !

छ जनाको परिवारमा म मात्रै कमाउने । म घबडाउन थाले । जुनी पनि परेसान हुन थाली । काखमा पाँच र तीन वर्षका छोरी थिए । छोरीहरूलाई बिहान–बेलुका दूध खुवाउन तङ्गी हुन थाल्यो । जुनीले निर्धन बचतमा जम्मा गरेको सबै पैसा निकाली र मेरो हातमा थमाई । भनी– ‘एउटा ब्याटरी–रिक्सा किन र हाम्रो पेट पाल’ । त्यसपछि मैले धेरै सोचिनँ । सडकमा निस्किहालें ।

तर, जसको हिम्मत र हौसलाले मैले ब्याटरी रिक्सा चलाउन थालेँ, आज उही यो संसारमा छैन । दोस्रो कोरोनाकाल थियो नि, डेल्टावाला ? हो त्यै बेला उसलाई बँचाउन सकिन । सामान्य खोकी थियो । लाग्यो, अबै ठीक हुन्छ तबै ठीक हुन्छ । मलाई के थाहा रगतमा अक्सिजन लेभल कम हुँदै जाँदो रहेछ । बस् यही लापरबाहीमा ऊ घरको घरैमा मरिहाली । हस्पिटल पनि पुर्‍याउन पाइनँ ।

मेरो घर डुडुवा गाउँपालिकामा पर्छ । राप्ती नदी गाउँ छेवैबाट बग्छ । मैले उसको लासलाई आफ्नो ब्याटरी रिक्सामा राखेँ र राप्ती लगेँ । त्यस्तो बेला कसलाई बोलाउने र को आउने ? आर्मीसार्मीलाई बोलाउने तागत पनि थिएन । नदी किनार एक्लै चिता बनाएँ । एक्लै जलाएँ र एक्लै सेलाएर आएँ ।

मलाई पनि कोरोना लाग्यो । घरमै अलग्ग बसेँ । जीउ पूरै गलेको थियो । तर, दर्द खालि दिल र दिमागमा भइरहेको थियो । मेरो आँखाले जुनी मात्र खोजिरहन्थ्यो । छोरीहरूलाई आमा धादिङबेंसी गएका छन् भनेर भ्रम दिइएको थियो । मचाहिँ कुन भ्रमको सहाराले मन बुझाऊँ ! मलाई ऊसित लभ पर्दादेखिको कुराहरू याद आउँथ्यो ।

साँच्चै मैले भने कि नाइँ ? ऊ पहाडिन हो । मेरो सरुवा काठमाडौंको सतुंगलमा हुँदा ऊसित प्रेम परेको । ऊ धादिङकी हो । उसको बाबु र दाइले ‘मदिसे’ सित विवाह गर्न नदिने भनेपछि हामी भागेका हौँ ।

मसित आँखा चिम्लेर आएकी हो मेरी जुनी । बिचरी नेपालगन्जको ४८ डिग्रीको गर्मीमा कस्तरी छटपटाउँथी । माया लागेर म भन्थें गर्मीमा धादिङबेंसी पुगेर आऊ न । ऊ भन्थी– ‘मलाई पोल्दा मेरो कालेलाई पनि पोल्दो रहेछ, मलाई शीतल भइहाल्यो नि ।’ बरु दिनको चारचोटि नुहाउन जान्थी, तर मेरो माटोलाई कहिल्यै ‘यस्तो पनि ठाउँ’ भनेर मुख बिगारिन । मेरी जुनी ! त्यस्ती जुनीलाई म कहाँबाट ल्याउँm अब ।

मेरो दिमागमा एउटै कुराको चुकचुकाहट हुन्थ्यो । लाग्थ्यो, जुनीलाई समयमै हस्पिटल लैजान पाएको भए बाँच्थी कि ? मैले किन लापरबाही गरेँ । घरीघरी लाग्थ्यो, मैले नै मारेको हो जुनीलाई । यस्तै सोचीसोचीकन म पग्लाउन आँटेको थिएँ । यही समयमा घरमा एकजना टोले आए । विचरा दुई हात जोडेर आमालाई भेरी हस्पिटल लगिदिन अनुरोध गरे । उनकी आमा कोरोनाले सिकिस्त थिइन् । मलाई ठ्याक्कै सुकदेवको याद आयो ।

सुकदेवको जमानामा उनी हाम्रो टोलको एम्बुलेन्स थिए । रात बिरात केही मान्दैन्थे । कोही बिरामी भएर हस्पिटल जान परे उनैलाई उठाउन जान्थे टोलेहरू । सुकदेव भूतजस्तो अँध्यारो मढैयाबाट सट्ट उठेर आउँथे । बिरामी लादेर उनी चुपचाप हस्पिटल पुर्‍याउँथे । पैसा दिँदा ‘अरे नाही रख्खो’ भन्थे । त्यति मात्र हो र ! टोलका मान्छेलाई बजारसम्म पनि ल्याइदिन्थे । पैसा कति भयो भनेर सोध्दा अप्ठेरो मानेर कपाल चिलाउँथे । पानको कत्थाले कोइला भएको दाँत देखाउँदै भन्थे– ‘अब... जत्ता दे मन लागे देओ’ ।

अहिले आएर सोच्छु– दरुवा, एकलकाँटे, दु:खी सुकदेव टोलको सबैभन्दा असल मान्छे थिए ।

म झटपट तयार भएँ । टोले दाइको आमालाई ब्याटरी–रिक्सामा राखेँ र हस्पिटल पुर्‍याएँ । भोलिपल्ट थाहा भयो, उनको आमालाई सन्चो भइरहेको छ । मनमा अलि सकुन आयो । जुनी मरेपछि मलाई बल्ल यति तरान आएको थियो । मनमा आयो– कोरोनाभरि यस्तै सेवामा लागूँ क्या हो ? त्यसपछि त... ‘चलव’ ! मलाई जोजोले अस्पताल पुर्‍याइदिन भन्थे, मैले फिरीमा लगिदिने ल्याइदिने गर्न थालेँ । कति बिरामीहरू त अक्सिजन र बेड नपाएर मेरै रिक्सामा घोप्टेर कहलिरहन्थे । म पनि उनीहरूको साथमा पर्खेर बस्थे ।

हस्पिटलमा अक्सिजन र बेड नपाएर मान्छेहरू असहाय भएको देख्दा त... उफ ! मलाई आफ्नो दु:ख हल्का लाग्न थाल्यो । बाप रे... कस्तो क्रूर समय थियो । बेडवाला बिरामी मरेर जब आफ्नो बिरामीले पालो पाउँथ्यो त कस्तो धन्य हुन्थ्यौँ हामी ।

हो ! अरूलाई हस्पिटल पुर्‍याएर मैले जुनीलाई हस्पिटल पुर्‍याउन नसकेको चुकचुकाहट थोरै कम गर्न चाहन्थे । मुक्ति त कहाँ मिल्थ्यो । तर, आफ्नो दु:ख सहन लायक बनाउँथ्यो । त्योबेला मैले यो करम नगरेको भए... ? अम्मा कसम ! मलाई पूरै टुट्नबाट बचाउने नै यो ब्याटरी–रिक्सा हो ।

भन्ने हो भने ब्याटरी–रिक्साले धेरै बेरोजगारहरूलाई बोर्डर–ब्लेकिया हुनबाट बचाएको छ । ब्याटरी चलाउनेले हरेक साँझ कम्तीमा पाँच सय घर लिएर गएकै हुन्छ । कहिलेकाहीँ हजार–पन्ध्र सय । एउटा गरिबलाई शिर उँचा गर्न यति नै काफी छ । बस् हामीलाई नहेप्नुहोस् । बाँकी... परिस्थितिले जिन्दगीमा गर्ने घपलाबाजी त छँदैछ । हे...हे...हे...।

आउनुस् म तपाईलाई नेपालगन्जमा पाइने फसकिलास राबडी पाउने दुकानमा लिएर जान्छु । के भन्नुभो ? राबडी खाइसक्नुभयो । त्यसोभए कबाब र रुमाली रोटी खाने ठाउँमा लिएर जाऊँ । त्यो पनि नखाने ! त टिक्काचाट, घमन्जाको ठेलामा लिएर जाऊँ । त्यो पनि नाइँ । कहाँ त ?

नेपालगन्जको सबैभन्दा बढिया ठाउँ ! साँच्चै हो ? पक्का ?

ठीक छ ! त्यसोभए जाऊँ डुडुवा राप्ती । नदीको किनार । त्यहाँ मनलाई मल्हम लगाउने हावा चल्छ । मेरा लागि त्यही हो नेपालगन्जको इस्पेसल ठाउँ । त्यहाँ मेरी जुनीको आत्मा बसेको छ । एक्लो महसुस गर्दा म त्यतै गइहाल्छु । जब तबियत खुस रहन्छ तब झम्म गरेर नदीमा पौडी खेल्न थाल्छु । आजचाहिँ त्यहाँ पुगेपछि म तपार्इंलाई अहिरहरूको नौनीवाला मठ्ठा खुवाउँछु । राति आकाश गर्जिंदा जंगलमा फाट्टफुट्ट गरी निस्किने फुट्की च्याउ खानुभएको छ ? ल ! त्यो पनि तपाईंलाई खुवाउने भएँ । त्यसपछि यो ब्याटरी नम्बर पाँच सय पच्पन्न सुन्ना यानेकी मुन्नालाई कहिल्यै बिर्सिनुुहुनेछैन ।

कि बिर्सिहाल्नुहुन्छ हामी देहाती ब्याटरीवालालाई ?

प्रकाशित : आश्विन १५, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

कोठी 

ओठमा कोठी हुने अभिनेत्री अनेक छन् । बलिउड अभिनेत्री रेखाको ओठमा शोभायमान् कोठीबारे के कुरा गर्नु ! त्यही खालको कोठी ओठको त्यही ठाउँमा अम्रिकाने मोडल सिन्डी क्राफोर्डको पनि छ । अनि पप क्विन –मटेरियल गर्ल– मडोनाको प्रख्यात कोठीको त झन् के कुरा गराइ भो र !
कुमार नगरकोटी

म बारम्बार आफ्नो दिमागको ‘प्लटिङ’ गरिबस्छु । मलाई लाग्छ, प्लटिङ गरिएको दिमाग सिर्जनशील एवं कल्पनाशील हुन्छ, जहाँ आख्यानको वैध/अवैध जन्म हुन्छ ।

दिमागमा जन्मित प्लटले मलाई कुन हदसम्म प्रभावित, आकर्षित गर्छ ? त्यो प्लटले मलाई कति ‘छक्क प्लस चकित इक्वल्स टु छकित’ पार्छ ? त्यसले नै मैले लेख्ने कथाको स्वरूप निर्धारण गर्छ ।

त्यसो त प्लटको एक्स्पायरी–डेट पनि हुने गर्छ । उक्त प्लट तपाईंको दिमागमा एकदुईतीन दिन मात्र बस्यो भने त्यो नालायक हुन्छ । कम्तिमा एकदुईतीन साता भन्दा बढी बस्यो भने चाहिँ लेख्नलायक हुन्छ ।

प्लट–प्राप्ति पश्चात सर्वप्रथम म कथाको अन्त्य खोज्छु । त्यसका निम्ति प्रशस्त डुल्छु । भुस्याहा कुकुरझैं टोल–गल्ली–चोक चहार्छु । मन–मस्तिष्कमा एउटा काल्पनिक ब्रम्हाण्डको रचना गर्छु । अजिब–ओ–गरिब पात्रहरूलाई प्लटमा ऊन्छु । उनीहरूका कुरा सुन्छु । यसरी म कथा बुन्छु ।

कहिलेकाहीं त कस्तो हुन्छ भने कथाको एक होइन, अनेक अन्त्य भेटिइन्छ । त्यस्तो बखत ‘कोठी’ जस्तो कथा लेखिइन्छ, जसलाई प्रस्तुत गर्न –फेसबुक लाइभ, रेडियो कोलिग्राम, कथार्सिस क्लब– जस्ता विविध न्यारेटिभ डिभाइसहरू खोजिइन्छ । यहि ‘खोज’ मा मेरो कथा–लेखनको अल्टिमेट आनन्द–ओ–आनन्द भेटिइन्छ ।

कथाको अन्त्य खोज्दै हिँड्ने यो प्रक्रियाप्रति मभित्र अगाध प्रेम छ ।

पल–पल क्लाइमेक्सिँदै जाने यो अप्रतिम प्रक्रियाको अन्त्यमा कथाले जुन कथार्सिस प्रदान गर्छ, त्यो अतुलनीय त हुन्छ नै, त्यो कथार्सिस –तौबा तौबा– अत्यन्त एडिक्टिभ पनि हुने गर्छ । तब एउटा कथाकार के गर्छ, जब ऊ कथार्सिसको एडिक्सनमा फस्छ ?

भन्नु परोइन, ऊ बारम्बार आफ्नो दिमागको प्लटिङ गरिबस्छ ।

– कथाकार

...

फेसबुक लाइभमा अन्तरालको संस्मरण

हेलो फ्रेन्ड्स, गुड इभनिङ ! यो फेसबुक लाइभमा जोडिइनुहुने तपाईंहरू सबैलाई अन्तराल अधिकारीको सन्ध्या–सलाम !

यो मेरो पहिलो फेसबुक लाइभ हो । हेर्नुस् न ! अलिकति नर्भस छु । यसरी बोल्ने अभ्यास मरु ! कसो गरूँ ? तैपनि आज बोल्नुपरेको छ । मेरो मनमस्तिष्कमा अल्झेको–बल्झेको कुरा तपाईंहरूसामु खोल्नुपरेको छ ।

पेसाले म सिनेमाटोग्राफर । फिल्महरू खिच्छु । थुप्रै फिल्महरूमा डीओपी अर्थात् –डाइरेक्टर अफ फोटोग्राफी– को रूपमा मैले आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गरेको छु । तर, मेरो विडम्बना के भने एकाधबाहेक आफूले छायांकन गरेका नेपाली कथानक चलचित्रहरू मैले हेरेको छैन ।

आफ्नो काम आफैंलाई चित्त बुझ्दैन । सन्तुष्टि नै मिल्दैन । दृश्यहरूको अमिल्दो कम्पोजिसन र गलत फ्रेमिङ देखेर कहिलेकाहीँ त घनघोर लाज लाग्छ ।

म्यारिटल स्टेटसको कुरा गर्दा म विवाहित हुँ । पाँच वर्षदेखि । अर्धांगिनीको नाम अन्तरा हो । अन्तरा तुलाधर । तपाईंहरूमध्ये अधिकांशले नाम सुन्नुभएकै होला । ऊ चित्रकार हो । प्रसिद्ध चित्रकार ।

उसलाई म क्यान्भासिका भन्न मन पराउँछु । किनभने ऊ प्राय: क्यानभासमै तल्लीत–लवलीन भइरहेकी हुन्छे ।

अन्तराको संसार भन्नु नै क्यानभास हो, जसलाई ऊ अनेक एक्रेलिक रङहरूले रंग्याउँछे । चित्रकारिताको संसारमा उसको आफ्नै पहिचान छ । नाम छ । प्रसिद्धि छ । वास्तवमा म प्रख्यात स्वास्नीको लोग्ने हुँ, जो उमेरका हिसाबले ऊभन्दा केही वर्षले कान्छो छु ।

पति छायाकार ! पत्नी चित्रकार ! पतिको नाम अन्तराल । पत्नीको नाम अन्तरा । गजब छैन त !

अन्तरासित मेरो प्रेमविवाह भएको हो ।

पाँच वर्षअघि लाजिम्पाटस्थित ‘ज्याक्सन पोलक आर्ट ग्यालेरी’ मा ऊसित मेरो पहिलो भेट भएको थियो । त्यहाँ उसको एकल चित्रकला प्रदर्शनी भएको थियो । उसका पेन्टिङ प्रदर्शनी प्राय: त्यहीँ हुने गर्छ । कहिले एकल । कहिले सामूहिक ।

विख्यात चित्रकार किरण मानन्धरले हाम्रो परिचय गराइदिनुभएको थियो । चिनापर्चीपश्चात् मानन्धरज्यूले हामीलाई भन्नुभएको थियो, ‘अन्तरा र अन्तराल ! क्या खुब ! एउटा चित्रकार अर्को छायाकार । तपाईंहरूको जोडी सुन्दर हुनेछ । डेटिङमा जाँदा हुन्छ ।’

मानन्धरज्यूले उक्त कुरा ठट्टैठट्टामा भन्नुभएको हुँदो हो ! तर, त्यसलाई हामीले सिरियसली लियौं । हाम्रो घर बस्यो । अब परिवार बसाउने तरखरमा छौं । आउँदो हिउँदमा हामी ड्याडी–मम्मी बन्दै छौं । कस्तो सुन्दर कुरो !

कुरैकुरामा यतिका कुरा गरेँ । यो कुरा मैले नगर्दा पनि हुने थियो क्यारे ! वास्तवमा मैले कुरा गर्न चाहेको कुरा त अर्कै खालको कुरा थियो । तर, हेर्नुस् न ! जिब्रोको भर हुन्न भन्छन् । त्यस्तै भयो । त्यस्तै भइरहेको छ ।

जिब्रोबाट शब्दहरू चिप्लिएको भए त तैबिसेक ठीकै थियो रे लौ ! तर, मेरो त विषय–प्रसंग नै चिप्लेर वित्यास पर्ने भो । खैर, एनिवेज ! अब म मूल विषय–प्रसंगमा आउँछु । त्यसबारे कुरा गर्छु, जसलाई भन्न आज मैले यो फेसबुक लाइभ गर्नुपरेको छ ।

अँ त ! कुरा खासमा यस्तो हो : यो घटना लगभग सात महिनाअघिको हो । मेरो मन–मस्तिष्कमा घटना अझै ताजा छ । ताजा मात्र होइन, उक्त घटनाले मेरो मन–मस्तिष्कलाई यसरी आघात पुर्‍याएको छ कि त्यसको साइड एफेक्टबाट म कसै गरी मुक्त हुन सकिरा’छैन । टोटल्ली मुक्त हुन कति समय लाग्ने हो, त्यो पनि मलाई थाहा छैन ।

निर्देशक अनुप बरालको नयाँ फिल्ममा मैले डीओपीको जिम्मेवारी सम्हालेको छु । प्रि–पोडक्सनको काम चलिरा’छ । फिल्मको सेन्ट्रल क्यारेक्टरमा हामीलाई नयाँ अभिनेत्री चाहिएको थियो । बिलकुलै नयाँ, फ्रेस अनुहार चाहिएको थियो । त्यसका निम्ति कास्टिङ–कल गरियो ।

थुप्रै महिला कलाकारहरू अडिसन दिन आए ।

अडिसनमा सहभागी सबै कलाकारहरू प्रतिभासम्पन्न थिए । आकर्षक थिए । सुन्दर थिए । बडी ल्यांग्वेज, डाइलग डेलिभरी एवं फेसियल एक्स्प्रेसनमा एक–सा–एक थिए । तर –एज अ सिनेमाटोग्राफर– एउटी युवतीप्रति म अलि बढी नै आकर्षित भएँ ।

ऊ सत्र नम्बरकी युवती थिई ।

हरेक एंगल र फ्रेमबाट ऊ फिल्मका निम्ति पर्फेक्ट थिई । कम–से–कम मलाई त्यस्तो लाग्यो । अरू युवती सुन्दर थिए, आकर्षक थिए । तर, ऊ सुन्दर–आकर्षक त थिई नै, त्यसमाथि हिसी परेकी पनि थिई ।

ओठमाथिको कालो कोठीले उसको मुहारमा हिसी थपेको थियो ।

मरीचको दानाजस्तो–जत्रो कोठीले उसको मुहारलाई विशेष बनाएको थियो । मौलिक, एवं अतुलनीय बनाएको थियो । त्यो कोठी उसको जन्मचिनो थियो । अ बर्थ–मार्क, यु सी !

अडिसन–हलमा अनुप बराल र म मात्र थियौं । युवती नम्बर सत्रलाई एक छिन वेटिङ–रुममा बस्न भनियो । फिल्मका निम्ति उक्त युवती उपयुक्त हुने कुरा मैले मिस्टर बराललाई बताएँ । तर, मेरो राय–सल्लाहलाई उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘फिल्ममा धेरै ठाउँमा एक्स्टि्रम क्लोज–अप–सट लिनुपर्छ । त्यस्तो बेला ओठमाथिको कालो भद्दा कोठीले डिस्टर्ब गर्छ । त्यो कोठीले उसको फेसियल एक्स्प्रेसनलाई डिस्ट्रयाक्ट, डिस्टोर्ट गरिदिन्छ । दृश्यमा त्यही कालो कोठी हावी हुन्छ ।’

उहाँको कुरा एकदमै जायज थियो । त्यसतर्फ त मैले ध्यानै दिएको रहेनछु ।

युवती नम्बर सत्रलाई बोलाएर अनुप बरालले त्यही कुरा भन्नुभयो । त्यसमाथि उहाँले थपेर बताउनुभयो, ‘तपाईंको ओठमा कोठी नभइदिएको भए तपाईं नै फिल्मको हिरोइन हुनुहुन्थ्यो । तर, कोठीले बिगार्‍यो । अर्को फिल्ममा तपाईंलाई कास्ट गर्नेबारे म जरुर सोचुँला ।’

अनुप बरालको कुरा सुनेर ऊ खिन्न भई । मलाई बडो नमज्जा लाग्यो । ऊ गएपछि त्यो विषय त्यहीँ ड्रप भयो ।

तर, अडिसन–हलमा ड्रप भएको विषय मेरो मनमा अल्झ्यो, मस्तिष्कमा बल्झ्यो । युवती नम्बर सत्रको मुहार –विशेषगरी कालो कोठी– मेरो दिल–ओ–दिमागमा बस्यो । त्यो मरीचदाने कोठी मेरो स्मृतिबाट हट्दै हटेन ।

ओठमा कोठी हुने अभिनेत्रीहरू अनेक छन् । बलिउड अभिनेत्री रेखाको ओठमा शोभायमान् कोठीबारे के कुरा गर्नु ! त्यही खालको कोठी ओठको त्यही ठाउँमा अम्रिकाने मोडल सिन्डी क्राफोर्डको पनि छ । अनि पप क्विन –मटेरियल गर्ल– मडोनाको प्रख्यात कोठीको त झन् के कुरा गराइ भो र !

ती प्रख्यात महिलाहरूको सन्दर्भमा ती कोठी, ती बर्थ–मार्कलाई सौन्दर्यको हिसाबले ब्युटी–मार्क भन्ने चलन छ । धेरै टाढा गइरहनै पर्दैन, त्यस्तो ब्युटी–मार्क हाम्रै देशका रेखा थापा र निशा अधिकारीजस्ता चर्चित अभिनेत्रीहरूको ओठमा पनि देखिन्छ ।

युवती नम्बर सत्रको कोठीलाई चाहिँ ब्युटी–मार्क भनिहाल्न मिल्दैन थियो क्यारे ! किनभने त्यो कोठी अस्वाभाविक रूपले केही ठूलो थियो, जसलाई तपाईं टाढैबाट स्पष्ट देख्न सक्नुहुन्थ्यो, जसका कारण तपाईंको सम्पूर्ण ध्यान त्यही कोठीमा गई बस्न सक्थ्यो ।

दिनभरि मलाई युवती नम्बर सत्रको कोठीले पछ्याइरह्यो । त्यो रात म अलि चाँडै सुतेँ । ठ्याक्कै के कस्तो सपना देखेँ, अहिले मलाई सम्झना छैन । पक्कै पनि भयप्रद सपना देखेँ हुँला । किनभने मलाई ऐंठन पर्‍यो ।

नाइटमेरबाट ब्युँझदा डर र त्रासले तपार्इंको शरीर कक्रक्क पर्छ । सास फेर्न कति गाह्रो हुन्छ ! त्यसको वर्णन गर्न मुस्किल पर्छ । दुस्वप्नबाट ब्युँझदा अन्तरा ओछ्यानमा थिइन । रातको साढे एक बजेको रहेछ । बाथरुममा गएँ र अनुहार पखालेँ ।

बाथरुमसितै जोडिएको कोठामा अन्तरालाई देखेँ । त्यो कोठा उसको स्टुडियो हो, जहाँ ऊ पेन्टिङसित सम्बन्धित क्रियाकलापहरू गर्ने गर्छे । अलिकति खुलेको ढोकाबाट मैले उसलाई चियाएर हेरेँ ।

अन्तरा एकसुरले क्यानभाससामु एकाग्र चित्तका साथ बसेकी थिई । मध्यरातमा ऊ चित्र कोरिरहेकी थिई । सिर्जनामा तल्लीन सर्जकलाई डिस्टर्ब गर्नु अपराध नभए पनि पाप त जरुर हो । मध्यरातमा बित्थामा किन पापी भइटोपल्नु ? उसलाई स्टुडियोमै छाडी म बेडरुम फर्कें र निदाइहालेँ ।

भोलिपल्ट ब्रेकफास्ट खाँदै गर्दा मैले अन्तरालाई सोधेँ, ‘तिम्रो पेन्टिङ पूरा भयो ?’ उसले एक बेर त मलाई अनौठो किसिमले हेरी । अनि बोली, ‘कुन पेन्टिङ ?’

मैले भनेँ, ‘राति तिमी चित्र बनाउँदै थियौ ।’ उसले भनी, ‘कहाँ बनाउनु ? मलाई याद छैन । मैले चित्र बनाएँ र ?’

मध्यरातको कुरा मैले अन्तरालाई डिटेलमा सुनाएँ । कसरी ऊ एकसुरले क्यानभासमा चित्र कोरिरहेकी थिई ! तर, अन्तरालाई यसबारे केही पनि सम्झना भइरहेको थिएन । त्यसपछि म झल्याँस्स भएँ । मलाई अकस्मात् आफ्नो गल्तीको आभास भयो ।

कुरा के भने अन्तरा कहिलेकाहीँ निद्रामा हिँडडुल गर्छे । ऊ स्लिप–वाकर हो । त्यस्ता निद्रामा हिँडडुल गर्ने मानिसहरूलाई सोम्नाम्बुलिस्ट भन्दा रहेछन् । अन्तरालाई रातिको कुनै कुरा पनि याद नहुनुको अर्थ के भने : ऊ निद्रामै स्टुडियो छिरेकी थिई र चित्र कोरेकी थिई ।

अन्तराले भनी, ‘मैले चित्र बनाएकी थिएँ भने त्यो चित्र त्यहाँ पक्कै पनि होला । लेट्स गो एन्ड सी !’

पाउरोटी टोक्दै गरेको मलाई अन्तराले तानेर स्टुडियोमा लिएर गई । जब मैले क्यानभासमा कोरिएको चित्र देखेँ तब म एकै पटक –छक्क प्लस चकित इक्वल्स टु छकित– परिगएँ । क्यानभासमा एक्रेलिक पेन्टिङ थियो ।

पेन्टिङमा युवती नम्बर सत्रको मुहार थियो । त्यो मुहारको ओठमा कालो कोठी थियो । मरीचदाने कोठी, यु सी !

क्यानभाससामु म नि:शब्द उभिइरहेँ । कसरी यस्तो भयो ? मेरो स्मृतिमा बसेको मुहार अन्तराको क्यानभासमा कसरी प्रकट भयो ? तर्क र विचारले काम गर्न छोड्यो । अचेतन संसारको सब्जेक्ट –त्यो मुहार– चेतन संसारको अब्जेक्ट –त्यो क्यानभास– मा कसरी प्रोजेक्ट भयो ?

यो घटना मेरा निम्ति रहस्यको यस्तो चक्रब्यूह बनेको छ, जसबाट म आजसम्म निस्कन सकेको छैन । मेरो मनमा चलेको यो रहस्यमय चक्रवातबारे अन्तरालाई केही थाहा छैन ।

अन्तरालाई त्यो पेन्टिङको पाश्र्वकथाबारे कुनै जानकारी नै छैन । किनभने युवती नम्बर सत्रको मुहार उसले निद्रामा बनाएकी थिई ।

अडिसन हलबाट खिन्न भई बाहिरिएकी युवती नम्बर सत्रलाई मैले त्यसपछि कहिल्यै देखेको–भेटेको छैन । ऊ कहाँ होली ? के गर्दै होली ? तपाईंहरूजस्तै उसले पनि के यो फेसबुक लाइभमा मलाई सुनिरहेकी होली ?

के युवती नम्बर सत्र आफ्नो औंलाले ओठको कालो मरीचदाने कोठी चलाइरहेकी, कोट्याइरहेकी या सुमसुम्याइरहेकी होली ?

रेडियो कोलिग्राममा अरोमाको सुगन्धित सम्झना

छोटो सांगीतिक विश्रामपछि रेडियो कोलिग्राममा तपाईंहरूलाई फेरि एकपटक स्वागत छ । भर्खरै मात्र ट्युन गर्नुभएको छ भने म राजन गोदार ! तपाईंहरूको आफ्नै मनप्रिय कार्यक्रम –साथीको सम्झना– को प्रस्तोता ।

भागदौडको यो संसारमा कति साथीहरू कहीँ–कतै छुटिजान्छन् । जिन्दगीको लामो यात्रामा कति साथीहरू घुम्ती, मोड र दोबाटोहरूमा छुट्छन् । त्यो कुन साथी थियो, जसले तपाईंको पहिलो प्रेमपत्र लेखिदिएको थियो ? त्यो साथी को थियो, जसले तपाईंलाई पौडी खेल्न, साइकल चलाउन र तास खेल्न सिकाएको थियो ?

अनि तपाईंको दु:ख, अभाव र संकटमा प्रेरणा एवं साथ दिने त्यो मायालु, आत्मीय साथीको नाम के थियो ?

रेडियो कोलिग्राम, मात्र रेडियो कोलिग्राममा प्रत्येक साँझ पाँच बजे प्रसारण हुने यो –साथीको सम्झना– तिनै तमाम साथीहरूको सम्झनामा, स्मृतिमा, यादमा समर्पित कार्यक्रम हो । सांगीतिक विश्रामअघि हामीले एक जना श्रोताको यादनामा सुन्यौं । म, राजन गोदार, अब तपाईंको फोन–कलको प्रतीक्षामा छु ।

आज दिनभरि ननस्टप पानी पर्‍यो/परिरह्यो, जुन रोकिने छाँटकाँट छैन । यो रिमझिम पानी परेको दिनमा, पल–छिनमा तपाईंलाई पनि आफ्नो साथीको सम्झना भइरहेको होला । तो, माई फ्रेन्ड्स, देरी किस बात की ! फोन गर्नुस् र मसित कुरा गर्नुस् । साथीको सम्झना रेडियो कोलिग्रामका साथीहरूलाई सुनाउनुस् ।

कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएजस्तो छ । अलराइट, फ्रेन्ड्स ! लेट मी रिसिभ दिस फोन–कल । हेलो, कहाँबाट के बोल्दै हुनुहुन्छ ?

– म कालीमाटीबाट राधिका बोल्दै छु ।

– कार्यक्रममा तपाईंलाई स्वागत छ, राधिकाजी ।

– धन्यवाद ।

– यो कार्यक्रम कत्तिको सुन्नुहुन्छ ?

– रेगुलर सुन्छु । यो कार्यक्रम मलाई मन पर्छ ।

– सबैभन्दा बढी के मन पर्छ ?

– तपाईंले लेघ्रो तानेर ‘अलराईट फ्रेन्ड्स’ भनेको खुब मन पर्छ ।

– अलराइट राधिकाजी ! तपाईं आज आफ्नो स्पेसल साथीलाई सम्झन चाहनुहुन्छ, राइट ?

– राइट !

– अल गुड ! साथीको नाम ?

– अरोमा ।

– अरोमा ! अरोमाको अर्थ– ‘सुगन्धित’ हुन्छ, राइट ?

– अब्सोल्युट्ली राइट ! गोदारजी, यो लोकप्रिय कार्यक्रममा आज म आफ्नो बेस्ट फ्रेन्ड अरोमाको सुगन्धित सम्झना गर्न चाहन्छु ।

– अल गुड राधिकाजी, अल गुड ! अरोमाको सुगन्धित सम्झना ! लभ्ली एक्स्प्रेसन ! साथीबारे तपाईंले विस्तारमा भन्नुहुने नै छ । तर, त्यसअघि मलाई एउटा कुरा भन्नुस्, ल ! साथीको एउटा यस्तो चीज बताउनुस्, जसलाई तपाईं सबैभन्दा बढी सम्झनुहुन्छ । त्यो चीज के हो ? मेरा श्रोताहरूलाई भन्दिनुस् ।

– त्यो चीज हो, अरोमाको कोठी ।

– कोठी ! यु मिन बर्थमार्क ?

– यस्, अफकोर्स ! अ बर्थमार्क ! अरोमाको ओठमा एउटा कालो कोठी थियो, जसलाई म सबैभन्दा बढी सम्झने गर्छु । त्यो कोठी उसको दायाँ ओठमाथि थियो, जसले उसको अनुहारलाई विशेष बनाएको थियो । हामी साथीहरूमाझ त्यो कोठी निकै चर्चित थियो ।

– अल गुड राधिकाजी । डोन्ट स्टप, किप अन स्पिकिङ ! मस्तसँग कोठीवाली साथीको सम्झना गर्नुस् ।

– प्लिज गोदारजी । ‘कोठीवाली’ भन्ने शब्द प्लिज प्रयोग नगर्नुस् । यो ज्यादै अपमानजनक शब्द हो । यसले कोठी चलाउने आइमाई भन्ने बुझाउँछ । प्लेजर हाउसमा प्रोस्टिच्युसनको धन्दा चलाउने मोहतरमा भन्ने अथ्र्याउँछ ।

कलेजका केटाहरू अरोमालाई ‘कोठीवाली’ भन्ने गर्थे । यो अमर्यादित एवं, अश्लील सम्बोधनका कारण अरोमाले अनेक मानसिक कष्ट भोगी ।

ऊ मेरो असल साथी थिई । माई बेस्ट फ्रेन्ड । पढाइमा निकै तेज । नृत्य, नाटक र अभिनयमा उसको विशेष रुचि थियो । तर, ओठको कोठीका कारण ऊ निकै चिन्तित थिई । त्यो कोठी उसका निम्ति अभिशाप बन्यो । त्यही कोठीले उसलाई बर्बाद गर्‍यो ।

– भनेपछि राधिकाजी, त्यो एक श्रापित कोठी थियो ।

– ज्यु, ज्यु ! मलाई लाग्छ, त्यो श्रापित कोठी थियो ।

– कसैकसैलाई ओठको कोठी वरदान हुन्छ । ओठमा एकदमै सुहाउँछ ।

– तर गोदारजी, अरोमाको कोठी वरदान थिएन । तपाईंले सही भन्नुभयो, कसैकसैलाई कोठी सुहाउँछ । मेरो नजरमा अरोमाको मुहारमा त्यो कोठी खुब सुहाएको थियो । उसलाई पनि त्यस्तै लाग्थ्यो । कहाँसम्म भने आफ्नो कोठीप्रति अरोमा गर्वसमेत गर्थी । तर, जब केटाहरूले उसलाई ‘कोठीवाली’ भनी अशोभनीय एवं द्विअर्थी सम्बोधन गर्न थाले, तब ऊ निराश हुन थाली । कतिसम्म निराश भने उसले आखिर कलेज नै छाडिदिई ।

अरोमाले कलेज छाडे पनि ऊसित मेरो भेटघाट भइरहन्थ्यो । उसको ताहाचलको घरमा म आउजाउ गरिरहन्थेँ । ऊ पनि मकहाँ आउने गर्थी । मेरो बिहे भएपछि चाहिँ हाम्रो भेटघाट पातलो भएको थियो । तर, फोनमा कुराकानी भइरहन्थ्यो ।

उसलाई अभिनयमा केही गर्छु भन्ने लाग्थ्यो । फिल्म क्षेत्रमा आफ्नो बेग्लै नाम, परिचय र पहिचान बनाउँछु भन्ने लाग्थ्यो । ‘कोठीवाली’ भनेर हियाउने, जिस्क्याउने, अपमान गर्नेहरूलाई ऊ केही बनेर देखाउन चाहन्थी सायद । यही बीचमा उसले अभिनय र नृत्यको तालिम पनि लिई ।

आकर्षक एवं सुन्दर मुहार त उसले पाएकी थिई नै, त्यसमाथि उसको शरीर पनि चिटिक्क, बान्की परेको थियो । भन्ने नै हो भने कुनै कुशल मूर्तिकारले ताछेर बनाएको जस्तो शरीर थियो अरोमाको ।

एक दिन ऊ एउटा फिल्मको अडिसनमा भाग लिन गएकी थिई । फिल्मको निर्देशक अनुप बराल हुनुहुन्थ्यो । फिल्मका लागि उहाँ नयाँ हिरोइन खोजिरहनुभएको थियो । अरोमाले मलाई बडो उत्साहका साथ भनेकी थिई, ‘त्यो नयाँ हिरोइन मै हुँ, बुझिस् राधिका !’

उसले अडिसनका लागि राम्रै अभ्यास गरेकी थिई । फिल्ममा छनोट हुनेमा ऊ ढुक्क थिई । उसको आत्मविश्वास देखेर मै चकित परेकी थिएँ । तर, उसको आत्मविश्वास तब चकनाचुर भयो जब अनुप बरालले उसलाई पोइन्ट–ब्ल्याङ्क–रिजेक्ट गरिदिनुभयो ।

– एकछिन एकछिन राधिकाजी ! रिजेक्सन हुनुको कारण के थियो ?

– अरू के हुनु ? त्यो कोठी थियो ।

– कोठीको कारण रिजेक्सन ? दिस इज नट फेयर ।

– नथिङ इज फेयर गोदारजी ! जब उसको कोठीको कुरा आउँछ, नथिङ इज फेयर । तपाईंकै शब्द सापटी लिएर भन्नुपर्दा त्यो श्रापित कोठी थियो ।

त्यो श्रापित कोठीलाई उसले मेटाउने प्रयास नगरेकी पनि होइन । तर, त्यो कोठी त उसको जन्मचिनो थियो । भन्ने नै हो भने त्यो जन्मचिनो जिन्दगीले उसको ओठमा गरिदिएको दस्तखत थियो । र, जिन्दगीको दस्तखत मेटाउने इरेजर आजसम्म बनेको छैन ।

कोठीकै कारण अनुप बरालको फिल्मबाट ‘आउटकास्ट’ भएपछि अरोमालाई आफ्नो जीवन, आफ्नो अस्तित्व वास्तवमै आउटकास्ट रहेछ भन्ने लाग्न थाल्यो । ऊ ज्यादै हतास एवं झन् बढी निराश हुन थाली । यस्तैमा परिवारबीच उसको विवाहको कुरा चल्न थाल्यो । विवाह भएपछि, परिवार बसेपछि उसको जीवन सामान्य रूपले चल्ला थाल्यो भन्ने परिवारलाई लाग्यो होला । फेरि उसको विवाहको उमेर पनि घर्कंदै थियो ।

तपाईंलाई थाहा छँदैछ गोदारजी ! उमेरदार छोरीलाई परिवारले आफ्नो होइन, सधैं पराई नै ठान्छ । यो समाजले उमेरदार छोरीलाई उसको जन्मघरबाट जतिसक्दो चाँडो निकालेर पराईघरमा सुम्पन चाहन्छ ।

– राधिकाजी, उहाँको उमेर कति थियो ?

– मेरो जति थियो ।

– तपाईंको कति ?

– तपाईं एउटी नारीसित उसको उमेर सोध्दै हुनुहुन्छ ?

– यु आर राइट ।

– नारीसित उमेर अनि पुरुषसित तलब कहिल्यै नसोध्नू भन्छन् ।

– मेरो तलब पच्चीस हजार हो ।

– तपाईं केही बेग्लै हुनुहुँदो रहेछ गोदारजी !

– तपाईं पनि केही बेग्लै बन्नुस् । आफ्नो उमेर भन्नुस् ।

– मेरो उमेर सत्ताइस वर्ष हो ।

– अल गुड राधिकाजी ! भनेपछि तपाईंको साथी अरोमाको उमेर पनि सत्ताइस !

– ज्यु, ज्यु ! हामी दुवै सत्ताइस ।

– उहाँको प्रेमी, ब्याइफ्रेन्ड थिएनन् ?

– मलाई लाग्छ, थिएनन् । हुन्थ्यो भने मलाई थाहा नहुने कुरै थिएन । विवाहका निम्ति एक दिन एउटा सो–कल्ड योग्य वर अरोमाको घर आयो । यसलाई ‘केटी हेर्ने चलन’ भन्छन्, जो मलाई लाग्छ, झुर एवं क्रुर चलन हो । यो त सरासर नारी जातिकै घोर अपमान हो । नारी अस्मिता र अस्तित्वमाथि पुरुषले रचेको घीनलाग्दो षड्यन्त्र हो । खैर, म भन्दै थिएँ । के पो भन्दै थिएँ रे ?

– केटी हेर्न जाने वरबारे केही भन्दै हुनुहुन्थ्यो ।

– वर होइन, सो–कल्ड वर ।

– अलराइट, त्यही त्यही !

– सो–कल्ड वरले अरोमालाई हेर्‍यो । अनि उसले पनि अनुप बरालले जस्तै पोइन्ट–ब्ल्याङ्क–रिजेक्ट गरिदियो । कारण थियो– ओठमाथिको त्यही कोठी ।

त्यो घटनापछि अरोमासित अलिकति बचेखुचेको आत्मविश्वास पनि मर्‍यो । ऊ एकान्तवासी हुँदै गई । सबैसित उसले सम्पर्कविच्छेद गरी । मबाट समेत ऊ टाढिँदै गई ।

उसलाई भेट्न एक दिन म उसको घर गएकी थिएँ । ऊ आफ्नो कोठाबाट निस्कँदै निस्किइन । मसित कुरा गर्ने त टाढाको कुरा, मलाई भेट्नसमेत उसले अस्वीकार गरिदिई ।

अंकल भन्नुहुन्थ्यो, ‘अरोमाको कोठामा इरेजरै इरेजर छन् । यता इरेजर, उता इरेजर । यत्र–तत्र–सर्वत्र इरेजरै इरेजर । तिनै इरेजरले ऊ अचेल ओठको कोठी मेटाई बस्छे ।’

अंकलको कुरा सुनेर मलाई साह्रै ननिको लाग्यो । कोठीकै कारण उसले ठूलो मानसिक यातना झेलेकी थिई । उसको मानसिक उपचार पनि भइरहेको थियो । तर, त्यसको केही सीप लागेन । अन्त्यमा एक दिन घरको छतबाट हाम फालेर ऊ सदासदाका निम्ति यो क्रूर तथा बैगुनी संसारबाट बिदा भई ।

– अत्यन्त दु:खद निधन भएछ राधिकाजी ! तपाईंको साथीलाई मेरो हार्दिक श्रद्धाञ्जली । यो संसारमा उहाँलाई शान्ति मिलेन, परासंसारमा उहाँको आत्मालाई शान्ति मिलोस् । यो घटनाचाहिँ कहिलेको हो ?

– साउन सत्ताइस गतेको कुरा हो ।

– हालसालैको घटना रहेछ ।

– त्यो दिन रक्षाबन्धन परेको थियो । जनै पूर्णिमा । अब अद्भुत संयोग हेर्नुस्, त्यो दिन उसको जन्मदिन थियो । सत्ताइसौं जन्मदिन । म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ । बिहान साढे सात बजे उसले देहत्याग गरेकी थिई । मैले दिउँसो मात्र थाहा पाएँ ।

अंकल भन्नुहुन्थ्यो, ‘अरोमाले फूलबुट्टे नाइट ड्रेस लगाएकी थिई । नाइट ड्रेसको खल्तीमा इरेजरहरू थिए । घटनास्थलभरि इरेजरहरू यत्र–तत्र–सर्वत्र छरिएका थिए ।’

गोदारजी ! कहीँकतै जब म इरेजर देख्छु, तब म अरोमालाई सम्झन्छु । इरेजरले ऊ आफ्नो ओठको श्रापित कोठी मेटाउन चाहन्थी । मलाई अचेल पनि त्यो श्रापित कोठीको यादले घरीघरी सताउँछ ।

कथार्सिस क्लबमा अनुप्रासको एकालाप

कथार्सिस क्लबमा मेरो कथा सुन्न पाल्नुभएका तपाईं सम्पूर्ण भद्रभलाद्मीहरूलाई म हार्दिक नमन गर्दछु । सन्ध्या अभिवादन अर्पण गर्दछु । मेरो नाम अनुप्रास सापकोटा । कथार्सिस क्लबको रेगुलर भिजिटर । यहाँ मैले अनेक मानिसका अनेक कथाहरू सुन्ने अवसर पाएको छु ।

आज भने म आफ्नो कथा सुनाउन यो मञ्चमा प्रस्तुत भएको छु ।

सर्वप्रथम कथार्सिस क्लबका फाउन्डर–त्रय नारायण ढकाल, नयनराज पाण्डे र महेशविक्रम शाहलाई म मनैदेखि अभिवादन तथा धन्यवाद तथा आभार प्रकट गर्छु, जसले कथा सुन्ने–सुनाउने यस्तो महत्त्वपूर्ण प्लेटफर्म स्थापना गर्नुभयो । उहाँहरू तीनै जना मूर्धन्य कथाकार हुनुहुन्छ, जसले कथार्सिस क्लबको परिकल्पना मात्र गर्नुभएन, उक्त परिकल्पनालाई मूर्तरूप दिनुभयो । यो प्लेटफर्म रचना गर्नुभयो, जहाँ मजस्ता तमाम अज्ञात एवं अपरिचित मानिसहरूलाई यसरी आफ्नो जीवनमा घटित घटनाहरू सुनाउने अवसर प्राप्त भएको छ ।

यति कुरा राख्दै म अब हालसालै मेरो जीवनमा घटित एक अविस्मरणीय तथा अविश्वसनीय घटना तपाईंहरूलाई पेस गर्न चाहन्छु । यस्तो दुर्लभ घटना, जसलाई पत्याउन मलाई अझै गाह्रो भइरहेको छ ।

पेसाले म इन्सुरेन्स एजेन्ट हुँ । पेन्टिङहरूको इन्सुरेन्स गर्छु । विशेषगरी नेपाली आधुनिक चित्रकारहरूको क्यानभास–क्रियसन बिमा गर्नु–गराउनु मेरो काम, नाम र दाम हो । केही नाम लिनुपर्दा अस्मिना रञ्जित, एरिना ताम्राकार, सौरंगा दर्शनधारी, अन्तरा तुलाधर, विधाता केसी, रागिनी उपाध्याय ग्रेलाजस्ता कलाशिल्पीहरू मेरा क्लाइन्ट हुन् ।

सहरका तमाम आर्ट ग्यालेरीहरू चहार्नु मेरो कर्म र धर्म हो । पाँच महिनाअघिको कुरा हो । लाजिम्पाटको –ज्याक्सन पोलक आर्ट ग्यालेरी– मा म पुगेको थिएँ । प्रदर्शनीको अन्तिम दिन थियो सायद ।

त्यो दिन मेरी मनप्रिय चित्रकार अन्तरा तुलाधरले मलाई एउटा पोट्रेट–पेन्टिङ उपहार दिनुभयो । म यति खुसी भएँ, यति खुसी भएँ कि खुसीले समेत त्यति खुसी सायदै अनुभव गर्दो हो !

उक्त पेन्टिङबारे अन्तराजीले भन्नुभएको थियो, ‘यो निद्रालु पेन्टिङ हो । किनभने यसलाई मैले निद्रामा बनाएकी हुँ ।’

निद्रालु पेन्टिङमा एउटी युवतीको मुहारचित्र थियो ।

युवतीको मुहार अत्यन्त जीवन्त लाग्थ्यो । बोली नै हाल्छे कि जस्तो । युवतीको दायाँ ओठमाथि एउटा कालो कोठी थियो । त्यही कोठीको कारण युवतीको मुहार एक्स्ट्रा स्पेसल भएको थियो ।

चन्द्रमा किन सुन्दर छ ? किनभने त्यसमा दाग छ । युवतीको कोठीलाई तपाईं चन्द्रमाको दागसित दाँज्न सक्नुहुन्छ ।

पातमा बसेको शीतको दाना हुन्छ नि ! त्यस्तै र त्यत्रै शीतको दाना युवतीको ओठमा थपक्क बसेको थियो । यत्ति हो, त्यो शीतको दाना कालो रङको थियो ।

निद्रालु पेन्टिङलाई मैले बेडरुमको भित्तामा झुन्ड्याएँ ।

राति सुत्नुअघि मेरो आँखा युवतीको मुहारमा पथ्र्यो । बिहान निद्राबाट ब्युँझदा मेरो आँखा त्यही मुहारमा पथ्र्यो । के दिन, के रात ! के बिहान, के साँझ ! त्यो मुहारलाई म हरबखत नयनपान गर्थें । वास्तवमा त्यो मुहार नयनमारा थियो ।

कालान्तरमा त्यो नयनमारा मुहारप्रति नजानिँदो किसिमले मभित्र एक प्रकारको अनुराग पलाउन थाल्यो । आसक्ति जाग्न थाल्यो ।

त्यो मुहार आत्मिय लाग्न थाल्यो ।

तपाईंहरूसित मैले साँचो बोल्नुपर्छ । म त्यो मुहारको प्रेममा फसेँ । ‘फसेँ’ सायद उपयुक्त शब्द होइन । म त्यो मुहारको प्रेममा परेँ । यस्तो मुहार, जसलाई कालो शीतको थोपाले शृंगार गरिदिएको छ ।

त्यो मुहार मेरो सपनामा पस्यो । कल्पनामा बस्यो ।

त्यो मुहार कसको होला ? जसको होला, त्यसको ज्युँदोजाग्दो शरीर होला । हात होला । खुट्टा होला । नङ–मासु होला । रक्त–मासी होला । स्तन होला । योनि होला । यस्ता कुराहरू म कल्पन्थेँ र मानिसक रूपले विक्षिप्त हुन्थेँ ।

त्यो मुहार धारण गर्ने युवती पक्कै पनि कतै हुनुपर्छ भनी सोच्दा म पुलकित हुन्थेँ । तर, उसलाई कहाँ भेटुँला ? ज्युँदोजाग्दो !

म उसलाई क्याफेमा भेटुँला, ज्युँदोजाग्दो ! नाटकघरमा भेटुँला, ज्युँदोजाग्दो ! या मल्टिप्लेक्समा इन्टरभलको बेला पपकर्न र कोल्ड कफी लिन लाइनमा उभिएको अवस्थमा भेटुँला, ज्युँदोजाग्दो !

फेरि सम्झन्थेँ, त्यो मुहारलाई चित्रकारा अन्तरा तुलाधरले निद्रामा –अवचेतन लोक– मा भेट्नुभएको थियो । त्यो मुहार धारण गर्ने युवतीलाई म चेतन लोकमा कसरी भेटुँला ?

म दुविधाको दलदलमा फसेँ ।

मेरो दुविधाग्रस्त जीवनमा केही समयअघि ठूलो बज्रपात पर्‍यो । त्यो दिन म कसरी बिर्सन सकुँला र ! मेरो जीवनमा घटित त्यो एक अविस्मरणीय एवं, अविश्वसनीय घटना थियो, जसलाई म जीवनपर्यन्त सम्झिरहनेछु ।

त्यो जनै पूर्णिमाको दिन थियो । सदाझैं निद्राबाट ब्युँझेपछि निद्रालु पेन्टिङकी युवतीलाई मैले गुड मर्निङ विस गरेँ । नुहाईधुवाई गरीवरी नजिकैको मन्दिर गएँ । जनै फेरेँ । फेरेँ पनि के भन्नु ! खल्तीमा राखेँ । पुजारीको हातबाट नाडीमा डोरो बाँधेँ । चारू दिदीको पसलमा ग्वारमारी–मालपुवा–तरकारी खाएर घर फर्कें ।

बेडरुममा गई कपडा फेर्ने बेला मेरो नजर स्वभावत: भित्ताको पेन्टिङमा पर्‍यो । त्यहाँ मैले जे देखेँ, त्यो सम्झेर अहिले पनि मेरो आङमा काँडा उम्रेका छन् । भित्तामा सादा क्यानभास थियो । मात्र क्यानभास । युवतीको मुहार गायब भइसकेको थियो ।

नजिक गई क्यानभासलाई नियालेँ । केही बेरअघि मात्र मैले गुड मर्निङ विस गरेको मुहार एकाएक त्यसरी कसरी बिलायो ? कहाँ हरायो ? म छाँगाबाट खसेँ । थचक्क भुइँमा बसेँ ।

भुइँ पनि भास्सिन–धस्सिन लागेजस्तो भएपछि जुरुक्क उठेँ । रित्तो क्यानभासलाई विचारशून्य, तर्कशून्य, भावशून्य भई ट्वाल्ल हेरेँ । हेरिरहेँ ।

रित्तो क्यानभासमा युवतीको केही अवशेष बाँकी थियो भने त्यही कालो कोठी थियो । कालो शीतको दाना मात्र बाँकी थियो ।

त्यो क्यानभास मेरो बेडरुमको भित्तामा आज पनि ज्युँ–का–त्युँ छ । मेरो घर पाल्नुभएको खण्डमा तपाईंहरूले त्यो रित्तो क्यानभास देख्नुहुनेछ, जसमा मेरो मनप्रिय चित्रकारा अन्तरा तुलाधरले निद्रामा एउटी अज्ञात युवतीको मुहारचित्र बनाउनुभएको थियो ।

क्यानभासबाट गायब भएको उक्त अज्ञात युवतीको मुहार अब त मेरा यादहरूमा मात्र सीमित छ ।

क्यानभासमा चन्द्रमा छैन । केवल त्यसको दाग बाँकी छ ।

क्यानभासमा त्यो दाग अर्थात् शीतको दाना अर्थात् कालो कोठी मात्र बाँकी छ, जसलाई अज्ञात युवतीको ओठमा मृत्युले कोरेको दस्तखत भन्न सकिन्छ । मेरो एकालाप पनि अब यहीँ सकिन्छ ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×