कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोठी 

ओठमा कोठी हुने अभिनेत्री अनेक छन् । बलिउड अभिनेत्री रेखाको ओठमा शोभायमान् कोठीबारे के कुरा गर्नु ! त्यही खालको कोठी ओठको त्यही ठाउँमा अम्रिकाने मोडल सिन्डी क्राफोर्डको पनि छ । अनि पप क्विन –मटेरियल गर्ल– मडोनाको प्रख्यात कोठीको त झन् के कुरा गराइ भो र !
कुमार नगरकोटी

म बारम्बार आफ्नो दिमागको ‘प्लटिङ’ गरिबस्छु । मलाई लाग्छ, प्लटिङ गरिएको दिमाग सिर्जनशील एवं कल्पनाशील हुन्छ, जहाँ आख्यानको वैध/अवैध जन्म हुन्छ ।

कोठी 

दिमागमा जन्मित प्लटले मलाई कुन हदसम्म प्रभावित, आकर्षित गर्छ ? त्यो प्लटले मलाई कति ‘छक्क प्लस चकित इक्वल्स टु छकित’ पार्छ ? त्यसले नै मैले लेख्ने कथाको स्वरूप निर्धारण गर्छ ।

त्यसो त प्लटको एक्स्पायरी–डेट पनि हुने गर्छ । उक्त प्लट तपाईंको दिमागमा एकदुईतीन दिन मात्र बस्यो भने त्यो नालायक हुन्छ । कम्तिमा एकदुईतीन साता भन्दा बढी बस्यो भने चाहिँ लेख्नलायक हुन्छ ।

प्लट–प्राप्ति पश्चात सर्वप्रथम म कथाको अन्त्य खोज्छु । त्यसका निम्ति प्रशस्त डुल्छु । भुस्याहा कुकुरझैं टोल–गल्ली–चोक चहार्छु । मन–मस्तिष्कमा एउटा काल्पनिक ब्रम्हाण्डको रचना गर्छु । अजिब–ओ–गरिब पात्रहरूलाई प्लटमा ऊन्छु । उनीहरूका कुरा सुन्छु । यसरी म कथा बुन्छु ।

कहिलेकाहीं त कस्तो हुन्छ भने कथाको एक होइन, अनेक अन्त्य भेटिइन्छ । त्यस्तो बखत ‘कोठी’ जस्तो कथा लेखिइन्छ, जसलाई प्रस्तुत गर्न –फेसबुक लाइभ, रेडियो कोलिग्राम, कथार्सिस क्लब– जस्ता विविध न्यारेटिभ डिभाइसहरू खोजिइन्छ । यहि ‘खोज’ मा मेरो कथा–लेखनको अल्टिमेट आनन्द–ओ–आनन्द भेटिइन्छ ।

कथाको अन्त्य खोज्दै हिँड्ने यो प्रक्रियाप्रति मभित्र अगाध प्रेम छ ।

पल–पल क्लाइमेक्सिँदै जाने यो अप्रतिम प्रक्रियाको अन्त्यमा कथाले जुन कथार्सिस प्रदान गर्छ, त्यो अतुलनीय त हुन्छ नै, त्यो कथार्सिस –तौबा तौबा– अत्यन्त एडिक्टिभ पनि हुने गर्छ । तब एउटा कथाकार के गर्छ, जब ऊ कथार्सिसको एडिक्सनमा फस्छ ?

भन्नु परोइन, ऊ बारम्बार आफ्नो दिमागको प्लटिङ गरिबस्छ ।

– कथाकार

...

फेसबुक लाइभमा अन्तरालको संस्मरण

हेलो फ्रेन्ड्स, गुड इभनिङ ! यो फेसबुक लाइभमा जोडिइनुहुने तपाईंहरू सबैलाई अन्तराल अधिकारीको सन्ध्या–सलाम !

यो मेरो पहिलो फेसबुक लाइभ हो । हेर्नुस् न ! अलिकति नर्भस छु । यसरी बोल्ने अभ्यास मरु ! कसो गरूँ ? तैपनि आज बोल्नुपरेको छ । मेरो मनमस्तिष्कमा अल्झेको–बल्झेको कुरा तपाईंहरूसामु खोल्नुपरेको छ ।

पेसाले म सिनेमाटोग्राफर । फिल्महरू खिच्छु । थुप्रै फिल्महरूमा डीओपी अर्थात् –डाइरेक्टर अफ फोटोग्राफी– को रूपमा मैले आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गरेको छु । तर, मेरो विडम्बना के भने एकाधबाहेक आफूले छायांकन गरेका नेपाली कथानक चलचित्रहरू मैले हेरेको छैन ।

आफ्नो काम आफैंलाई चित्त बुझ्दैन । सन्तुष्टि नै मिल्दैन । दृश्यहरूको अमिल्दो कम्पोजिसन र गलत फ्रेमिङ देखेर कहिलेकाहीँ त घनघोर लाज लाग्छ ।

म्यारिटल स्टेटसको कुरा गर्दा म विवाहित हुँ । पाँच वर्षदेखि । अर्धांगिनीको नाम अन्तरा हो । अन्तरा तुलाधर । तपाईंहरूमध्ये अधिकांशले नाम सुन्नुभएकै होला । ऊ चित्रकार हो । प्रसिद्ध चित्रकार ।

उसलाई म क्यान्भासिका भन्न मन पराउँछु । किनभने ऊ प्राय: क्यानभासमै तल्लीत–लवलीन भइरहेकी हुन्छे ।

अन्तराको संसार भन्नु नै क्यानभास हो, जसलाई ऊ अनेक एक्रेलिक रङहरूले रंग्याउँछे । चित्रकारिताको संसारमा उसको आफ्नै पहिचान छ । नाम छ । प्रसिद्धि छ । वास्तवमा म प्रख्यात स्वास्नीको लोग्ने हुँ, जो उमेरका हिसाबले ऊभन्दा केही वर्षले कान्छो छु ।

पति छायाकार ! पत्नी चित्रकार ! पतिको नाम अन्तराल । पत्नीको नाम अन्तरा । गजब छैन त !

अन्तरासित मेरो प्रेमविवाह भएको हो ।

पाँच वर्षअघि लाजिम्पाटस्थित ‘ज्याक्सन पोलक आर्ट ग्यालेरी’ मा ऊसित मेरो पहिलो भेट भएको थियो । त्यहाँ उसको एकल चित्रकला प्रदर्शनी भएको थियो । उसका पेन्टिङ प्रदर्शनी प्राय: त्यहीँ हुने गर्छ । कहिले एकल । कहिले सामूहिक ।

विख्यात चित्रकार किरण मानन्धरले हाम्रो परिचय गराइदिनुभएको थियो । चिनापर्चीपश्चात् मानन्धरज्यूले हामीलाई भन्नुभएको थियो, ‘अन्तरा र अन्तराल ! क्या खुब ! एउटा चित्रकार अर्को छायाकार । तपाईंहरूको जोडी सुन्दर हुनेछ । डेटिङमा जाँदा हुन्छ ।’

मानन्धरज्यूले उक्त कुरा ठट्टैठट्टामा भन्नुभएको हुँदो हो ! तर, त्यसलाई हामीले सिरियसली लियौं । हाम्रो घर बस्यो । अब परिवार बसाउने तरखरमा छौं । आउँदो हिउँदमा हामी ड्याडी–मम्मी बन्दै छौं । कस्तो सुन्दर कुरो !

कुरैकुरामा यतिका कुरा गरेँ । यो कुरा मैले नगर्दा पनि हुने थियो क्यारे ! वास्तवमा मैले कुरा गर्न चाहेको कुरा त अर्कै खालको कुरा थियो । तर, हेर्नुस् न ! जिब्रोको भर हुन्न भन्छन् । त्यस्तै भयो । त्यस्तै भइरहेको छ ।

जिब्रोबाट शब्दहरू चिप्लिएको भए त तैबिसेक ठीकै थियो रे लौ ! तर, मेरो त विषय–प्रसंग नै चिप्लेर वित्यास पर्ने भो । खैर, एनिवेज ! अब म मूल विषय–प्रसंगमा आउँछु । त्यसबारे कुरा गर्छु, जसलाई भन्न आज मैले यो फेसबुक लाइभ गर्नुपरेको छ ।

अँ त ! कुरा खासमा यस्तो हो : यो घटना लगभग सात महिनाअघिको हो । मेरो मन–मस्तिष्कमा घटना अझै ताजा छ । ताजा मात्र होइन, उक्त घटनाले मेरो मन–मस्तिष्कलाई यसरी आघात पुर्‍याएको छ कि त्यसको साइड एफेक्टबाट म कसै गरी मुक्त हुन सकिरा’छैन । टोटल्ली मुक्त हुन कति समय लाग्ने हो, त्यो पनि मलाई थाहा छैन ।

निर्देशक अनुप बरालको नयाँ फिल्ममा मैले डीओपीको जिम्मेवारी सम्हालेको छु । प्रि–पोडक्सनको काम चलिरा’छ । फिल्मको सेन्ट्रल क्यारेक्टरमा हामीलाई नयाँ अभिनेत्री चाहिएको थियो । बिलकुलै नयाँ, फ्रेस अनुहार चाहिएको थियो । त्यसका निम्ति कास्टिङ–कल गरियो ।

थुप्रै महिला कलाकारहरू अडिसन दिन आए ।

अडिसनमा सहभागी सबै कलाकारहरू प्रतिभासम्पन्न थिए । आकर्षक थिए । सुन्दर थिए । बडी ल्यांग्वेज, डाइलग डेलिभरी एवं फेसियल एक्स्प्रेसनमा एक–सा–एक थिए । तर –एज अ सिनेमाटोग्राफर– एउटी युवतीप्रति म अलि बढी नै आकर्षित भएँ ।

ऊ सत्र नम्बरकी युवती थिई ।

हरेक एंगल र फ्रेमबाट ऊ फिल्मका निम्ति पर्फेक्ट थिई । कम–से–कम मलाई त्यस्तो लाग्यो । अरू युवती सुन्दर थिए, आकर्षक थिए । तर, ऊ सुन्दर–आकर्षक त थिई नै, त्यसमाथि हिसी परेकी पनि थिई ।

ओठमाथिको कालो कोठीले उसको मुहारमा हिसी थपेको थियो ।

मरीचको दानाजस्तो–जत्रो कोठीले उसको मुहारलाई विशेष बनाएको थियो । मौलिक, एवं अतुलनीय बनाएको थियो । त्यो कोठी उसको जन्मचिनो थियो । अ बर्थ–मार्क, यु सी !

अडिसन–हलमा अनुप बराल र म मात्र थियौं । युवती नम्बर सत्रलाई एक छिन वेटिङ–रुममा बस्न भनियो । फिल्मका निम्ति उक्त युवती उपयुक्त हुने कुरा मैले मिस्टर बराललाई बताएँ । तर, मेरो राय–सल्लाहलाई उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘फिल्ममा धेरै ठाउँमा एक्स्टि्रम क्लोज–अप–सट लिनुपर्छ । त्यस्तो बेला ओठमाथिको कालो भद्दा कोठीले डिस्टर्ब गर्छ । त्यो कोठीले उसको फेसियल एक्स्प्रेसनलाई डिस्ट्रयाक्ट, डिस्टोर्ट गरिदिन्छ । दृश्यमा त्यही कालो कोठी हावी हुन्छ ।’

उहाँको कुरा एकदमै जायज थियो । त्यसतर्फ त मैले ध्यानै दिएको रहेनछु ।

युवती नम्बर सत्रलाई बोलाएर अनुप बरालले त्यही कुरा भन्नुभयो । त्यसमाथि उहाँले थपेर बताउनुभयो, ‘तपाईंको ओठमा कोठी नभइदिएको भए तपाईं नै फिल्मको हिरोइन हुनुहुन्थ्यो । तर, कोठीले बिगार्‍यो । अर्को फिल्ममा तपाईंलाई कास्ट गर्नेबारे म जरुर सोचुँला ।’

अनुप बरालको कुरा सुनेर ऊ खिन्न भई । मलाई बडो नमज्जा लाग्यो । ऊ गएपछि त्यो विषय त्यहीँ ड्रप भयो ।

तर, अडिसन–हलमा ड्रप भएको विषय मेरो मनमा अल्झ्यो, मस्तिष्कमा बल्झ्यो । युवती नम्बर सत्रको मुहार –विशेषगरी कालो कोठी– मेरो दिल–ओ–दिमागमा बस्यो । त्यो मरीचदाने कोठी मेरो स्मृतिबाट हट्दै हटेन ।

ओठमा कोठी हुने अभिनेत्रीहरू अनेक छन् । बलिउड अभिनेत्री रेखाको ओठमा शोभायमान् कोठीबारे के कुरा गर्नु ! त्यही खालको कोठी ओठको त्यही ठाउँमा अम्रिकाने मोडल सिन्डी क्राफोर्डको पनि छ । अनि पप क्विन –मटेरियल गर्ल– मडोनाको प्रख्यात कोठीको त झन् के कुरा गराइ भो र !

ती प्रख्यात महिलाहरूको सन्दर्भमा ती कोठी, ती बर्थ–मार्कलाई सौन्दर्यको हिसाबले ब्युटी–मार्क भन्ने चलन छ । धेरै टाढा गइरहनै पर्दैन, त्यस्तो ब्युटी–मार्क हाम्रै देशका रेखा थापा र निशा अधिकारीजस्ता चर्चित अभिनेत्रीहरूको ओठमा पनि देखिन्छ ।

युवती नम्बर सत्रको कोठीलाई चाहिँ ब्युटी–मार्क भनिहाल्न मिल्दैन थियो क्यारे ! किनभने त्यो कोठी अस्वाभाविक रूपले केही ठूलो थियो, जसलाई तपाईं टाढैबाट स्पष्ट देख्न सक्नुहुन्थ्यो, जसका कारण तपाईंको सम्पूर्ण ध्यान त्यही कोठीमा गई बस्न सक्थ्यो ।

दिनभरि मलाई युवती नम्बर सत्रको कोठीले पछ्याइरह्यो । त्यो रात म अलि चाँडै सुतेँ । ठ्याक्कै के कस्तो सपना देखेँ, अहिले मलाई सम्झना छैन । पक्कै पनि भयप्रद सपना देखेँ हुँला । किनभने मलाई ऐंठन पर्‍यो ।

नाइटमेरबाट ब्युँझदा डर र त्रासले तपार्इंको शरीर कक्रक्क पर्छ । सास फेर्न कति गाह्रो हुन्छ ! त्यसको वर्णन गर्न मुस्किल पर्छ । दुस्वप्नबाट ब्युँझदा अन्तरा ओछ्यानमा थिइन । रातको साढे एक बजेको रहेछ । बाथरुममा गएँ र अनुहार पखालेँ ।

बाथरुमसितै जोडिएको कोठामा अन्तरालाई देखेँ । त्यो कोठा उसको स्टुडियो हो, जहाँ ऊ पेन्टिङसित सम्बन्धित क्रियाकलापहरू गर्ने गर्छे । अलिकति खुलेको ढोकाबाट मैले उसलाई चियाएर हेरेँ ।

अन्तरा एकसुरले क्यानभाससामु एकाग्र चित्तका साथ बसेकी थिई । मध्यरातमा ऊ चित्र कोरिरहेकी थिई । सिर्जनामा तल्लीन सर्जकलाई डिस्टर्ब गर्नु अपराध नभए पनि पाप त जरुर हो । मध्यरातमा बित्थामा किन पापी भइटोपल्नु ? उसलाई स्टुडियोमै छाडी म बेडरुम फर्कें र निदाइहालेँ ।

भोलिपल्ट ब्रेकफास्ट खाँदै गर्दा मैले अन्तरालाई सोधेँ, ‘तिम्रो पेन्टिङ पूरा भयो ?’ उसले एक बेर त मलाई अनौठो किसिमले हेरी । अनि बोली, ‘कुन पेन्टिङ ?’

मैले भनेँ, ‘राति तिमी चित्र बनाउँदै थियौ ।’ उसले भनी, ‘कहाँ बनाउनु ? मलाई याद छैन । मैले चित्र बनाएँ र ?’

मध्यरातको कुरा मैले अन्तरालाई डिटेलमा सुनाएँ । कसरी ऊ एकसुरले क्यानभासमा चित्र कोरिरहेकी थिई ! तर, अन्तरालाई यसबारे केही पनि सम्झना भइरहेको थिएन । त्यसपछि म झल्याँस्स भएँ । मलाई अकस्मात् आफ्नो गल्तीको आभास भयो ।

कुरा के भने अन्तरा कहिलेकाहीँ निद्रामा हिँडडुल गर्छे । ऊ स्लिप–वाकर हो । त्यस्ता निद्रामा हिँडडुल गर्ने मानिसहरूलाई सोम्नाम्बुलिस्ट भन्दा रहेछन् । अन्तरालाई रातिको कुनै कुरा पनि याद नहुनुको अर्थ के भने : ऊ निद्रामै स्टुडियो छिरेकी थिई र चित्र कोरेकी थिई ।

अन्तराले भनी, ‘मैले चित्र बनाएकी थिएँ भने त्यो चित्र त्यहाँ पक्कै पनि होला । लेट्स गो एन्ड सी !’

पाउरोटी टोक्दै गरेको मलाई अन्तराले तानेर स्टुडियोमा लिएर गई । जब मैले क्यानभासमा कोरिएको चित्र देखेँ तब म एकै पटक –छक्क प्लस चकित इक्वल्स टु छकित– परिगएँ । क्यानभासमा एक्रेलिक पेन्टिङ थियो ।

पेन्टिङमा युवती नम्बर सत्रको मुहार थियो । त्यो मुहारको ओठमा कालो कोठी थियो । मरीचदाने कोठी, यु सी !

क्यानभाससामु म नि:शब्द उभिइरहेँ । कसरी यस्तो भयो ? मेरो स्मृतिमा बसेको मुहार अन्तराको क्यानभासमा कसरी प्रकट भयो ? तर्क र विचारले काम गर्न छोड्यो । अचेतन संसारको सब्जेक्ट –त्यो मुहार– चेतन संसारको अब्जेक्ट –त्यो क्यानभास– मा कसरी प्रोजेक्ट भयो ?

यो घटना मेरा निम्ति रहस्यको यस्तो चक्रब्यूह बनेको छ, जसबाट म आजसम्म निस्कन सकेको छैन । मेरो मनमा चलेको यो रहस्यमय चक्रवातबारे अन्तरालाई केही थाहा छैन ।

अन्तरालाई त्यो पेन्टिङको पाश्र्वकथाबारे कुनै जानकारी नै छैन । किनभने युवती नम्बर सत्रको मुहार उसले निद्रामा बनाएकी थिई ।

अडिसन हलबाट खिन्न भई बाहिरिएकी युवती नम्बर सत्रलाई मैले त्यसपछि कहिल्यै देखेको–भेटेको छैन । ऊ कहाँ होली ? के गर्दै होली ? तपाईंहरूजस्तै उसले पनि के यो फेसबुक लाइभमा मलाई सुनिरहेकी होली ?

के युवती नम्बर सत्र आफ्नो औंलाले ओठको कालो मरीचदाने कोठी चलाइरहेकी, कोट्याइरहेकी या सुमसुम्याइरहेकी होली ?

रेडियो कोलिग्राममा अरोमाको सुगन्धित सम्झना

छोटो सांगीतिक विश्रामपछि रेडियो कोलिग्राममा तपाईंहरूलाई फेरि एकपटक स्वागत छ । भर्खरै मात्र ट्युन गर्नुभएको छ भने म राजन गोदार ! तपाईंहरूको आफ्नै मनप्रिय कार्यक्रम –साथीको सम्झना– को प्रस्तोता ।

भागदौडको यो संसारमा कति साथीहरू कहीँ–कतै छुटिजान्छन् । जिन्दगीको लामो यात्रामा कति साथीहरू घुम्ती, मोड र दोबाटोहरूमा छुट्छन् । त्यो कुन साथी थियो, जसले तपाईंको पहिलो प्रेमपत्र लेखिदिएको थियो ? त्यो साथी को थियो, जसले तपाईंलाई पौडी खेल्न, साइकल चलाउन र तास खेल्न सिकाएको थियो ?

अनि तपाईंको दु:ख, अभाव र संकटमा प्रेरणा एवं साथ दिने त्यो मायालु, आत्मीय साथीको नाम के थियो ?

रेडियो कोलिग्राम, मात्र रेडियो कोलिग्राममा प्रत्येक साँझ पाँच बजे प्रसारण हुने यो –साथीको सम्झना– तिनै तमाम साथीहरूको सम्झनामा, स्मृतिमा, यादमा समर्पित कार्यक्रम हो । सांगीतिक विश्रामअघि हामीले एक जना श्रोताको यादनामा सुन्यौं । म, राजन गोदार, अब तपाईंको फोन–कलको प्रतीक्षामा छु ।

आज दिनभरि ननस्टप पानी पर्‍यो/परिरह्यो, जुन रोकिने छाँटकाँट छैन । यो रिमझिम पानी परेको दिनमा, पल–छिनमा तपाईंलाई पनि आफ्नो साथीको सम्झना भइरहेको होला । तो, माई फ्रेन्ड्स, देरी किस बात की ! फोन गर्नुस् र मसित कुरा गर्नुस् । साथीको सम्झना रेडियो कोलिग्रामका साथीहरूलाई सुनाउनुस् ।

कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएजस्तो छ । अलराइट, फ्रेन्ड्स ! लेट मी रिसिभ दिस फोन–कल । हेलो, कहाँबाट के बोल्दै हुनुहुन्छ ?

– म कालीमाटीबाट राधिका बोल्दै छु ।

– कार्यक्रममा तपाईंलाई स्वागत छ, राधिकाजी ।

– धन्यवाद ।

– यो कार्यक्रम कत्तिको सुन्नुहुन्छ ?

– रेगुलर सुन्छु । यो कार्यक्रम मलाई मन पर्छ ।

– सबैभन्दा बढी के मन पर्छ ?

– तपाईंले लेघ्रो तानेर ‘अलराईट फ्रेन्ड्स’ भनेको खुब मन पर्छ ।

– अलराइट राधिकाजी ! तपाईं आज आफ्नो स्पेसल साथीलाई सम्झन चाहनुहुन्छ, राइट ?

– राइट !

– अल गुड ! साथीको नाम ?

– अरोमा ।

– अरोमा ! अरोमाको अर्थ– ‘सुगन्धित’ हुन्छ, राइट ?

– अब्सोल्युट्ली राइट ! गोदारजी, यो लोकप्रिय कार्यक्रममा आज म आफ्नो बेस्ट फ्रेन्ड अरोमाको सुगन्धित सम्झना गर्न चाहन्छु ।

– अल गुड राधिकाजी, अल गुड ! अरोमाको सुगन्धित सम्झना ! लभ्ली एक्स्प्रेसन ! साथीबारे तपाईंले विस्तारमा भन्नुहुने नै छ । तर, त्यसअघि मलाई एउटा कुरा भन्नुस्, ल ! साथीको एउटा यस्तो चीज बताउनुस्, जसलाई तपाईं सबैभन्दा बढी सम्झनुहुन्छ । त्यो चीज के हो ? मेरा श्रोताहरूलाई भन्दिनुस् ।

– त्यो चीज हो, अरोमाको कोठी ।

– कोठी ! यु मिन बर्थमार्क ?

– यस्, अफकोर्स ! अ बर्थमार्क ! अरोमाको ओठमा एउटा कालो कोठी थियो, जसलाई म सबैभन्दा बढी सम्झने गर्छु । त्यो कोठी उसको दायाँ ओठमाथि थियो, जसले उसको अनुहारलाई विशेष बनाएको थियो । हामी साथीहरूमाझ त्यो कोठी निकै चर्चित थियो ।

– अल गुड राधिकाजी । डोन्ट स्टप, किप अन स्पिकिङ ! मस्तसँग कोठीवाली साथीको सम्झना गर्नुस् ।

– प्लिज गोदारजी । ‘कोठीवाली’ भन्ने शब्द प्लिज प्रयोग नगर्नुस् । यो ज्यादै अपमानजनक शब्द हो । यसले कोठी चलाउने आइमाई भन्ने बुझाउँछ । प्लेजर हाउसमा प्रोस्टिच्युसनको धन्दा चलाउने मोहतरमा भन्ने अथ्र्याउँछ ।

कलेजका केटाहरू अरोमालाई ‘कोठीवाली’ भन्ने गर्थे । यो अमर्यादित एवं, अश्लील सम्बोधनका कारण अरोमाले अनेक मानसिक कष्ट भोगी ।

ऊ मेरो असल साथी थिई । माई बेस्ट फ्रेन्ड । पढाइमा निकै तेज । नृत्य, नाटक र अभिनयमा उसको विशेष रुचि थियो । तर, ओठको कोठीका कारण ऊ निकै चिन्तित थिई । त्यो कोठी उसका निम्ति अभिशाप बन्यो । त्यही कोठीले उसलाई बर्बाद गर्‍यो ।

– भनेपछि राधिकाजी, त्यो एक श्रापित कोठी थियो ।

– ज्यु, ज्यु ! मलाई लाग्छ, त्यो श्रापित कोठी थियो ।

– कसैकसैलाई ओठको कोठी वरदान हुन्छ । ओठमा एकदमै सुहाउँछ ।

– तर गोदारजी, अरोमाको कोठी वरदान थिएन । तपाईंले सही भन्नुभयो, कसैकसैलाई कोठी सुहाउँछ । मेरो नजरमा अरोमाको मुहारमा त्यो कोठी खुब सुहाएको थियो । उसलाई पनि त्यस्तै लाग्थ्यो । कहाँसम्म भने आफ्नो कोठीप्रति अरोमा गर्वसमेत गर्थी । तर, जब केटाहरूले उसलाई ‘कोठीवाली’ भनी अशोभनीय एवं द्विअर्थी सम्बोधन गर्न थाले, तब ऊ निराश हुन थाली । कतिसम्म निराश भने उसले आखिर कलेज नै छाडिदिई ।

अरोमाले कलेज छाडे पनि ऊसित मेरो भेटघाट भइरहन्थ्यो । उसको ताहाचलको घरमा म आउजाउ गरिरहन्थेँ । ऊ पनि मकहाँ आउने गर्थी । मेरो बिहे भएपछि चाहिँ हाम्रो भेटघाट पातलो भएको थियो । तर, फोनमा कुराकानी भइरहन्थ्यो ।

उसलाई अभिनयमा केही गर्छु भन्ने लाग्थ्यो । फिल्म क्षेत्रमा आफ्नो बेग्लै नाम, परिचय र पहिचान बनाउँछु भन्ने लाग्थ्यो । ‘कोठीवाली’ भनेर हियाउने, जिस्क्याउने, अपमान गर्नेहरूलाई ऊ केही बनेर देखाउन चाहन्थी सायद । यही बीचमा उसले अभिनय र नृत्यको तालिम पनि लिई ।

आकर्षक एवं सुन्दर मुहार त उसले पाएकी थिई नै, त्यसमाथि उसको शरीर पनि चिटिक्क, बान्की परेको थियो । भन्ने नै हो भने कुनै कुशल मूर्तिकारले ताछेर बनाएको जस्तो शरीर थियो अरोमाको ।

एक दिन ऊ एउटा फिल्मको अडिसनमा भाग लिन गएकी थिई । फिल्मको निर्देशक अनुप बराल हुनुहुन्थ्यो । फिल्मका लागि उहाँ नयाँ हिरोइन खोजिरहनुभएको थियो । अरोमाले मलाई बडो उत्साहका साथ भनेकी थिई, ‘त्यो नयाँ हिरोइन मै हुँ, बुझिस् राधिका !’

उसले अडिसनका लागि राम्रै अभ्यास गरेकी थिई । फिल्ममा छनोट हुनेमा ऊ ढुक्क थिई । उसको आत्मविश्वास देखेर मै चकित परेकी थिएँ । तर, उसको आत्मविश्वास तब चकनाचुर भयो जब अनुप बरालले उसलाई पोइन्ट–ब्ल्याङ्क–रिजेक्ट गरिदिनुभयो ।

– एकछिन एकछिन राधिकाजी ! रिजेक्सन हुनुको कारण के थियो ?

– अरू के हुनु ? त्यो कोठी थियो ।

– कोठीको कारण रिजेक्सन ? दिस इज नट फेयर ।

– नथिङ इज फेयर गोदारजी ! जब उसको कोठीको कुरा आउँछ, नथिङ इज फेयर । तपाईंकै शब्द सापटी लिएर भन्नुपर्दा त्यो श्रापित कोठी थियो ।

त्यो श्रापित कोठीलाई उसले मेटाउने प्रयास नगरेकी पनि होइन । तर, त्यो कोठी त उसको जन्मचिनो थियो । भन्ने नै हो भने त्यो जन्मचिनो जिन्दगीले उसको ओठमा गरिदिएको दस्तखत थियो । र, जिन्दगीको दस्तखत मेटाउने इरेजर आजसम्म बनेको छैन ।

कोठीकै कारण अनुप बरालको फिल्मबाट ‘आउटकास्ट’ भएपछि अरोमालाई आफ्नो जीवन, आफ्नो अस्तित्व वास्तवमै आउटकास्ट रहेछ भन्ने लाग्न थाल्यो । ऊ ज्यादै हतास एवं झन् बढी निराश हुन थाली । यस्तैमा परिवारबीच उसको विवाहको कुरा चल्न थाल्यो । विवाह भएपछि, परिवार बसेपछि उसको जीवन सामान्य रूपले चल्ला थाल्यो भन्ने परिवारलाई लाग्यो होला । फेरि उसको विवाहको उमेर पनि घर्कंदै थियो ।

तपाईंलाई थाहा छँदैछ गोदारजी ! उमेरदार छोरीलाई परिवारले आफ्नो होइन, सधैं पराई नै ठान्छ । यो समाजले उमेरदार छोरीलाई उसको जन्मघरबाट जतिसक्दो चाँडो निकालेर पराईघरमा सुम्पन चाहन्छ ।

– राधिकाजी, उहाँको उमेर कति थियो ?

– मेरो जति थियो ।

– तपाईंको कति ?

– तपाईं एउटी नारीसित उसको उमेर सोध्दै हुनुहुन्छ ?

– यु आर राइट ।

– नारीसित उमेर अनि पुरुषसित तलब कहिल्यै नसोध्नू भन्छन् ।

– मेरो तलब पच्चीस हजार हो ।

– तपाईं केही बेग्लै हुनुहुँदो रहेछ गोदारजी !

– तपाईं पनि केही बेग्लै बन्नुस् । आफ्नो उमेर भन्नुस् ।

– मेरो उमेर सत्ताइस वर्ष हो ।

– अल गुड राधिकाजी ! भनेपछि तपाईंको साथी अरोमाको उमेर पनि सत्ताइस !

– ज्यु, ज्यु ! हामी दुवै सत्ताइस ।

– उहाँको प्रेमी, ब्याइफ्रेन्ड थिएनन् ?

– मलाई लाग्छ, थिएनन् । हुन्थ्यो भने मलाई थाहा नहुने कुरै थिएन । विवाहका निम्ति एक दिन एउटा सो–कल्ड योग्य वर अरोमाको घर आयो । यसलाई ‘केटी हेर्ने चलन’ भन्छन्, जो मलाई लाग्छ, झुर एवं क्रुर चलन हो । यो त सरासर नारी जातिकै घोर अपमान हो । नारी अस्मिता र अस्तित्वमाथि पुरुषले रचेको घीनलाग्दो षड्यन्त्र हो । खैर, म भन्दै थिएँ । के पो भन्दै थिएँ रे ?

– केटी हेर्न जाने वरबारे केही भन्दै हुनुहुन्थ्यो ।

– वर होइन, सो–कल्ड वर ।

– अलराइट, त्यही त्यही !

– सो–कल्ड वरले अरोमालाई हेर्‍यो । अनि उसले पनि अनुप बरालले जस्तै पोइन्ट–ब्ल्याङ्क–रिजेक्ट गरिदियो । कारण थियो– ओठमाथिको त्यही कोठी ।

त्यो घटनापछि अरोमासित अलिकति बचेखुचेको आत्मविश्वास पनि मर्‍यो । ऊ एकान्तवासी हुँदै गई । सबैसित उसले सम्पर्कविच्छेद गरी । मबाट समेत ऊ टाढिँदै गई ।

उसलाई भेट्न एक दिन म उसको घर गएकी थिएँ । ऊ आफ्नो कोठाबाट निस्कँदै निस्किइन । मसित कुरा गर्ने त टाढाको कुरा, मलाई भेट्नसमेत उसले अस्वीकार गरिदिई ।

अंकल भन्नुहुन्थ्यो, ‘अरोमाको कोठामा इरेजरै इरेजर छन् । यता इरेजर, उता इरेजर । यत्र–तत्र–सर्वत्र इरेजरै इरेजर । तिनै इरेजरले ऊ अचेल ओठको कोठी मेटाई बस्छे ।’

अंकलको कुरा सुनेर मलाई साह्रै ननिको लाग्यो । कोठीकै कारण उसले ठूलो मानसिक यातना झेलेकी थिई । उसको मानसिक उपचार पनि भइरहेको थियो । तर, त्यसको केही सीप लागेन । अन्त्यमा एक दिन घरको छतबाट हाम फालेर ऊ सदासदाका निम्ति यो क्रूर तथा बैगुनी संसारबाट बिदा भई ।

– अत्यन्त दु:खद निधन भएछ राधिकाजी ! तपाईंको साथीलाई मेरो हार्दिक श्रद्धाञ्जली । यो संसारमा उहाँलाई शान्ति मिलेन, परासंसारमा उहाँको आत्मालाई शान्ति मिलोस् । यो घटनाचाहिँ कहिलेको हो ?

– साउन सत्ताइस गतेको कुरा हो ।

– हालसालैको घटना रहेछ ।

– त्यो दिन रक्षाबन्धन परेको थियो । जनै पूर्णिमा । अब अद्भुत संयोग हेर्नुस्, त्यो दिन उसको जन्मदिन थियो । सत्ताइसौं जन्मदिन । म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ । बिहान साढे सात बजे उसले देहत्याग गरेकी थिई । मैले दिउँसो मात्र थाहा पाएँ ।

अंकल भन्नुहुन्थ्यो, ‘अरोमाले फूलबुट्टे नाइट ड्रेस लगाएकी थिई । नाइट ड्रेसको खल्तीमा इरेजरहरू थिए । घटनास्थलभरि इरेजरहरू यत्र–तत्र–सर्वत्र छरिएका थिए ।’

गोदारजी ! कहीँकतै जब म इरेजर देख्छु, तब म अरोमालाई सम्झन्छु । इरेजरले ऊ आफ्नो ओठको श्रापित कोठी मेटाउन चाहन्थी । मलाई अचेल पनि त्यो श्रापित कोठीको यादले घरीघरी सताउँछ ।

कथार्सिस क्लबमा अनुप्रासको एकालाप

कथार्सिस क्लबमा मेरो कथा सुन्न पाल्नुभएका तपाईं सम्पूर्ण भद्रभलाद्मीहरूलाई म हार्दिक नमन गर्दछु । सन्ध्या अभिवादन अर्पण गर्दछु । मेरो नाम अनुप्रास सापकोटा । कथार्सिस क्लबको रेगुलर भिजिटर । यहाँ मैले अनेक मानिसका अनेक कथाहरू सुन्ने अवसर पाएको छु ।

आज भने म आफ्नो कथा सुनाउन यो मञ्चमा प्रस्तुत भएको छु ।

सर्वप्रथम कथार्सिस क्लबका फाउन्डर–त्रय नारायण ढकाल, नयनराज पाण्डे र महेशविक्रम शाहलाई म मनैदेखि अभिवादन तथा धन्यवाद तथा आभार प्रकट गर्छु, जसले कथा सुन्ने–सुनाउने यस्तो महत्त्वपूर्ण प्लेटफर्म स्थापना गर्नुभयो । उहाँहरू तीनै जना मूर्धन्य कथाकार हुनुहुन्छ, जसले कथार्सिस क्लबको परिकल्पना मात्र गर्नुभएन, उक्त परिकल्पनालाई मूर्तरूप दिनुभयो । यो प्लेटफर्म रचना गर्नुभयो, जहाँ मजस्ता तमाम अज्ञात एवं अपरिचित मानिसहरूलाई यसरी आफ्नो जीवनमा घटित घटनाहरू सुनाउने अवसर प्राप्त भएको छ ।

यति कुरा राख्दै म अब हालसालै मेरो जीवनमा घटित एक अविस्मरणीय तथा अविश्वसनीय घटना तपाईंहरूलाई पेस गर्न चाहन्छु । यस्तो दुर्लभ घटना, जसलाई पत्याउन मलाई अझै गाह्रो भइरहेको छ ।

पेसाले म इन्सुरेन्स एजेन्ट हुँ । पेन्टिङहरूको इन्सुरेन्स गर्छु । विशेषगरी नेपाली आधुनिक चित्रकारहरूको क्यानभास–क्रियसन बिमा गर्नु–गराउनु मेरो काम, नाम र दाम हो । केही नाम लिनुपर्दा अस्मिना रञ्जित, एरिना ताम्राकार, सौरंगा दर्शनधारी, अन्तरा तुलाधर, विधाता केसी, रागिनी उपाध्याय ग्रेलाजस्ता कलाशिल्पीहरू मेरा क्लाइन्ट हुन् ।

सहरका तमाम आर्ट ग्यालेरीहरू चहार्नु मेरो कर्म र धर्म हो । पाँच महिनाअघिको कुरा हो । लाजिम्पाटको –ज्याक्सन पोलक आर्ट ग्यालेरी– मा म पुगेको थिएँ । प्रदर्शनीको अन्तिम दिन थियो सायद ।

त्यो दिन मेरी मनप्रिय चित्रकार अन्तरा तुलाधरले मलाई एउटा पोट्रेट–पेन्टिङ उपहार दिनुभयो । म यति खुसी भएँ, यति खुसी भएँ कि खुसीले समेत त्यति खुसी सायदै अनुभव गर्दो हो !

उक्त पेन्टिङबारे अन्तराजीले भन्नुभएको थियो, ‘यो निद्रालु पेन्टिङ हो । किनभने यसलाई मैले निद्रामा बनाएकी हुँ ।’

निद्रालु पेन्टिङमा एउटी युवतीको मुहारचित्र थियो ।

युवतीको मुहार अत्यन्त जीवन्त लाग्थ्यो । बोली नै हाल्छे कि जस्तो । युवतीको दायाँ ओठमाथि एउटा कालो कोठी थियो । त्यही कोठीको कारण युवतीको मुहार एक्स्ट्रा स्पेसल भएको थियो ।

चन्द्रमा किन सुन्दर छ ? किनभने त्यसमा दाग छ । युवतीको कोठीलाई तपाईं चन्द्रमाको दागसित दाँज्न सक्नुहुन्छ ।

पातमा बसेको शीतको दाना हुन्छ नि ! त्यस्तै र त्यत्रै शीतको दाना युवतीको ओठमा थपक्क बसेको थियो । यत्ति हो, त्यो शीतको दाना कालो रङको थियो ।

निद्रालु पेन्टिङलाई मैले बेडरुमको भित्तामा झुन्ड्याएँ ।

राति सुत्नुअघि मेरो आँखा युवतीको मुहारमा पथ्र्यो । बिहान निद्राबाट ब्युँझदा मेरो आँखा त्यही मुहारमा पथ्र्यो । के दिन, के रात ! के बिहान, के साँझ ! त्यो मुहारलाई म हरबखत नयनपान गर्थें । वास्तवमा त्यो मुहार नयनमारा थियो ।

कालान्तरमा त्यो नयनमारा मुहारप्रति नजानिँदो किसिमले मभित्र एक प्रकारको अनुराग पलाउन थाल्यो । आसक्ति जाग्न थाल्यो ।

त्यो मुहार आत्मिय लाग्न थाल्यो ।

तपाईंहरूसित मैले साँचो बोल्नुपर्छ । म त्यो मुहारको प्रेममा फसेँ । ‘फसेँ’ सायद उपयुक्त शब्द होइन । म त्यो मुहारको प्रेममा परेँ । यस्तो मुहार, जसलाई कालो शीतको थोपाले शृंगार गरिदिएको छ ।

त्यो मुहार मेरो सपनामा पस्यो । कल्पनामा बस्यो ।

त्यो मुहार कसको होला ? जसको होला, त्यसको ज्युँदोजाग्दो शरीर होला । हात होला । खुट्टा होला । नङ–मासु होला । रक्त–मासी होला । स्तन होला । योनि होला । यस्ता कुराहरू म कल्पन्थेँ र मानिसक रूपले विक्षिप्त हुन्थेँ ।

त्यो मुहार धारण गर्ने युवती पक्कै पनि कतै हुनुपर्छ भनी सोच्दा म पुलकित हुन्थेँ । तर, उसलाई कहाँ भेटुँला ? ज्युँदोजाग्दो !

म उसलाई क्याफेमा भेटुँला, ज्युँदोजाग्दो ! नाटकघरमा भेटुँला, ज्युँदोजाग्दो ! या मल्टिप्लेक्समा इन्टरभलको बेला पपकर्न र कोल्ड कफी लिन लाइनमा उभिएको अवस्थमा भेटुँला, ज्युँदोजाग्दो !

फेरि सम्झन्थेँ, त्यो मुहारलाई चित्रकारा अन्तरा तुलाधरले निद्रामा –अवचेतन लोक– मा भेट्नुभएको थियो । त्यो मुहार धारण गर्ने युवतीलाई म चेतन लोकमा कसरी भेटुँला ?

म दुविधाको दलदलमा फसेँ ।

मेरो दुविधाग्रस्त जीवनमा केही समयअघि ठूलो बज्रपात पर्‍यो । त्यो दिन म कसरी बिर्सन सकुँला र ! मेरो जीवनमा घटित त्यो एक अविस्मरणीय एवं, अविश्वसनीय घटना थियो, जसलाई म जीवनपर्यन्त सम्झिरहनेछु ।

त्यो जनै पूर्णिमाको दिन थियो । सदाझैं निद्राबाट ब्युँझेपछि निद्रालु पेन्टिङकी युवतीलाई मैले गुड मर्निङ विस गरेँ । नुहाईधुवाई गरीवरी नजिकैको मन्दिर गएँ । जनै फेरेँ । फेरेँ पनि के भन्नु ! खल्तीमा राखेँ । पुजारीको हातबाट नाडीमा डोरो बाँधेँ । चारू दिदीको पसलमा ग्वारमारी–मालपुवा–तरकारी खाएर घर फर्कें ।

बेडरुममा गई कपडा फेर्ने बेला मेरो नजर स्वभावत: भित्ताको पेन्टिङमा पर्‍यो । त्यहाँ मैले जे देखेँ, त्यो सम्झेर अहिले पनि मेरो आङमा काँडा उम्रेका छन् । भित्तामा सादा क्यानभास थियो । मात्र क्यानभास । युवतीको मुहार गायब भइसकेको थियो ।

नजिक गई क्यानभासलाई नियालेँ । केही बेरअघि मात्र मैले गुड मर्निङ विस गरेको मुहार एकाएक त्यसरी कसरी बिलायो ? कहाँ हरायो ? म छाँगाबाट खसेँ । थचक्क भुइँमा बसेँ ।

भुइँ पनि भास्सिन–धस्सिन लागेजस्तो भएपछि जुरुक्क उठेँ । रित्तो क्यानभासलाई विचारशून्य, तर्कशून्य, भावशून्य भई ट्वाल्ल हेरेँ । हेरिरहेँ ।

रित्तो क्यानभासमा युवतीको केही अवशेष बाँकी थियो भने त्यही कालो कोठी थियो । कालो शीतको दाना मात्र बाँकी थियो ।

त्यो क्यानभास मेरो बेडरुमको भित्तामा आज पनि ज्युँ–का–त्युँ छ । मेरो घर पाल्नुभएको खण्डमा तपाईंहरूले त्यो रित्तो क्यानभास देख्नुहुनेछ, जसमा मेरो मनप्रिय चित्रकारा अन्तरा तुलाधरले निद्रामा एउटी अज्ञात युवतीको मुहारचित्र बनाउनुभएको थियो ।

क्यानभासबाट गायब भएको उक्त अज्ञात युवतीको मुहार अब त मेरा यादहरूमा मात्र सीमित छ ।

क्यानभासमा चन्द्रमा छैन । केवल त्यसको दाग बाँकी छ ।

क्यानभासमा त्यो दाग अर्थात् शीतको दाना अर्थात् कालो कोठी मात्र बाँकी छ, जसलाई अज्ञात युवतीको ओठमा मृत्युले कोरेको दस्तखत भन्न सकिन्छ । मेरो एकालाप पनि अब यहीँ सकिन्छ ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?