ब्रह्मनाल–२०२८ (शिखरनाथ भाष्यको सहयोगमा)

के रातारात यो सहर फेरिएको हो ? के अहिले म उभिएको सहर नेपालगन्ज होइन ? हो भने म बसेको होटल कहाँ हरायो ? कसले लगाइदियो मेरो पाउमा चप्पल ? कसले थपक्क राखिदियो मेरो शिरमा भादगाउँले टोपी ?
नयनराज पाण्डे

कथा मेरा लागि पाठकको अदालतमा दर्ता गरेको फिरादपत्र या जाहेरी दरखास्त हो । म चाहन्छु, यो फिरादपत्र या जाहेरी दरखास्त पढेर पाठकहरू सर्जमिनका लागि घटनास्थलमा आऊन् र समाजमा व्याप्त बेथितिविरुद्धको मुचुल्कामा मसँगै हस्ताक्षर गरून् । म समयसितको झगडामा पाठकलाई आफूसँगै सामेल गराउनकै लागि कथा लेखिरहेको छु ।

ब्रह्मनाल–२०२८ (शिखरनाथ भाष्यको सहयोगमा)

– कथाकार

...

यो कुन ठाउँ हो ? म कहाँ आइपुगें ? राति सुत्दा त म धम्बोझीजस्तो व्यस्त ठाउँको सिटी प्यालेस भन्ने होटलको आरामदायक कोठामा बडेमानको पलङमा सुतेको थिएँ । तर, ब्युझँदा म केही खपडैल घर र खरका छाना भएका केही झुपडीहरूको सुनसान बस्तीभित्रको एउटा सानो झुपडीमा डोरी बुनेर बनाएको खटियामा उत्तानो अवस्थामा थिएँ । के कसैले मलाई निद्रामै अपहरण गरेर यो छाप्रोको आँगनमा अलपत्र छाडेर गएको हो ?

म अत्तालिएर खटियाबाट उठें र पैतानातिर एकछिन घोरिएर बसिरहें । धेरैबेर त्यसरी बस्न सकिनँ । मनमा अनेकथरीको आशङ्का उत्पन्न भएको थियो । हतारहतार त्यहाँबाट हिँडेर धूलौटे सडकमा आएँ । सडकमा फाट्टफुट्ट एक्का, टाँगा र लढियाहरू गुडिरहेका थिए ।

के रातारात यो सहर फेरिएको हो ? तर, रातभरिमा यसरी सिङ्गै सहरलाई पुरानो संरचनामा फेर्नु सम्भव छ र ? के अहिले म उभिएको सहर नेपालगन्ज होइन ? हो भने म बसेको होटल कहाँ हरायो ? मसित भएका मोबाइल र ल्यापटपहरू कसले लिएर गयो ? मेरो स्केचर्सको जुत्ता कहाँ गयो ? कसले लगाइदियो मेरो पाउमा चप्पल ? मैले लगाइरहेको हिजोको लुगा खै ? मलाई दौरा र सुरुवाल कसले लगाइदियो ? कसले थपक्क राखिदियो मेरो शिरमा भादगाउँले टोपी ?

आफूमा र आफू वरिपरिको परिवेशमा भएको यस्तो अकल्पनीय परिवर्तन देखेर म एकछिन नराम्ररी अत्ताल्लिएँ । त्यसैले शरीरमा धोती–कुर्ता लगाएका र काँधमा गम्छा बेरेर हिँडिरहेका एक जना अधबैंसे पुरुषसित सोधें, ‘यो कुन ठाउँ हो ?’

उनले सायद मेरो कुरो बुझेनन् । सायद मेरो भाषा पनि बुझेनन् ।

केहीबेर म अलमल्ल परेर हिँडिरहें । बिहानीको समय भएकाले मानिसहरूको चहलपहल खासै थिएन । एकछिनमा लोटा लिएर मैदान जाँदै गरेका एक जना अर्का व्यक्तिलाई देखें । मैले उनैसित अवधी भाषामा सोधें, ‘यो कुन ठाउँ हो ?’

उनले भने भोजपुरीमा जवाफ दिए, ‘नयाँ मुलुक । बाँके बजार ।’

बाँकेबजार ? यो त नेपालगन्जकै पुरानो या अर्को नाम हो । यो भने मलाई चकित बनाउने खालको जवाफ थियो । म केहीबेर ट्वाल्ल उभिएँ । उनले भोजपुरीमै सोधे, ‘तपाईं कहाँबाट आउनुभएको हो ?’

अहिले काठमाडौंमा बासस्थान भए पनि म हुर्किएको ठाउँ त नेपालगन्ज नै हो । बाल्यकालदेखि युवावस्थाको सबैभन्दा उर्वर दिनहरू मैले यही नेपालगन्जमै बिताएको छु । मेरो बुवा यहींको स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो । हाम्रो घर पनि यहीं थियो । ‘तपाईं कहाँबाट आउनुभएको’ भन्ने उनको प्रश्नमा मैले अरू ठाउँको नाम लिनु जरुरी नै थिएन । त्यसैले भनें, ‘म त नेपालगन्जकै मान्छे हुँ । तर, हिजो रातिको नेपालगन्ज अर्कै थियो । सडकहरू पक्की र फराकिला थिए । अनेक खालका मोटरकारहरू गुडिरहेका थिए । पुराना रिक्सा र टाँगाहरू विस्थापित भएर ईरिक्साहरू चलिरहेका थिए । सहरभरि छ–सातवटा त क्यासिनो नै सञ्चालनमा थिए । भाटभटेनी सुपरमार्केट पनि थियो । सोल्टी होटल पनि थियो । राँझामा विमानस्थल पनि थियो । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयहरू थिए । अनेक पुस्तक पसलहरू थिए । तर, यी सबै हिजोसम्मका कुरा थिए । आज बिहान म उठ्दा यहाँ ती कुनै कुरा पनि देखिनँ मैले । रातारात यो के चमत्कार भयो ? मैले त केही बुझ्नै सकेको छैन ।’

मेरो कुरा उनले बुझ्दै बुझेनन् । वाल्ल परिरहे । मैले भनेको कुरा खासमा उनले बुझ्ने खालको पनि थिएन । यतिखेर म उनका लागि दिमागको पेच खुकुलो भएको मान्छे भएको थिएँ ।

‘मचाहिँ यहाँको बासिन्दा होइन । म वीरगन्जबाट आएको हुँ । रक्सौलबाट कम्पनी तीन रुपैयाँको टिकट काटेर यहाँ आएको हुँ । सुगौली जक्सन, मुजफ्फरपुर, छपरा, भटनी अनि गोरखपुरबाट गोन्डा हुँदै करिब चार सौ माइलको यात्रा गरेर आएको हुँ । मेरो दामादलाई डकैतीको आरोपमा गोश्वाराबाट समन आएको रहेछन् । गिरफ्तार भएको पनि छ महिना भैसक्यो । पेसी चलिरहेछ । बिटिया त्यही पीरले मरिगई । त्यसैले म आफैं गोश्वाराका बडाहाकिमलाई भेट्न आएको हुँ । उनले चाहे भने मेरो दामादलाई माफी दिन सक्छन् । हिजो पनि एक्का चढेर गोश्वारा गएको थिएँ । तर, त्यहाँ नायब सुब्बा, तहरिर खरिदार र सुबेदार मात्र भेट भए । एक जना सुब्बाले मलाई भोलि अमिनी आउनू भनेका थिए । त्यहाँ आज देवानी र फौजदारी मुद्दाको फैसला गर्न बडाहाकिम आउने कुरा छ रे ।’

उनको कुरा सुनेपछि मैले बुझिहालें, म वर्तमानमा छैन । अतीतमा आइपुगेको छु । किनभने गोश्वारा र अमिनीजस्ता अड्डाहरू यहाँ अतीतमा थिए । अतीतमा पुगेको बोध हुनासाथ मलाई आफू कुन समय र कालखण्डमा छु भन्ने बुझ्नु जरुरी छजस्तो लाग्यो ।

उनी अवधी नबुझ्ने, म भोजपुरी बोल्न नसक्ने । त्यसैले दुवैलाई सजिलो हुने हिन्दी भाषामा सोधें, ‘आजको मिति थाहा छ तपाईंलाई ?’

‘विक्रम संवत् १९७१ साल आश्विन १५ गते ।’

०००

म लेखक हुँ । मेरा लागि अतीतका कुराहरू लेख्नु चुनौतीपूर्ण कुरा हो । किनभने त्यसका लागि मैले इतिहासको पर्याप्त अध्ययन गर्नुपर्ने हुन्छ । इतिहासमा घुसपैठ गरेर आफूलाई चाहिएको सामल बटुल्नु सजिलो कर्म होइन । तर, यो त मेरा लागि अचानक आइलागेको गजबको अवसर थियो । किनभने यतिबेला म आफैं इतिहासमा आइपुगेको थिएँ । मैले यो अवसरको सदुपयोग गर्ने निश्चय गरें । तर, मनभित्र कताकता एउटा संशय भने थियो । कतै म जीवनपर्यन्त अतीत या इतिहासमै प्रेतझैं भट्किइरहने त होइन ? बडो डरका साथ मेरो मनले मेरै मनसित सोध्यो, ‘भोलि बिहान उठ्दा म फेरि विक्रम संवत् २०७९ मा फर्किसकेको हुनेछु या १९७१ मै भौंतारिइरहनेछु ?’

मनले जवाफ दिन सकेन ।

तर, अहिले संशयबाट मुक्त भएर इतिहासमै चप्पलसहित चहलपहल गर्नु नै मेरा लागि उचित थियो । त्यसैले केहीबेर म वीरगन्जबाट बाँकेबजार आएका ती व्यक्तिसितै यहाँका धूले बाटामा हिँडिरहें । उनीसितै म अमिनी पुगें । अमिनीमा केही व्यक्तिहरू एउटा ज्यान मुद्दाको फैसलाको तयारी गर्दै थिए । तिनीहरू अमिनीका लेफ्टिनेन्ट, खरिदार र सुबेदार रहेछन् ।

एकछिन उभिएर त्यहाँको रमिता हेरेपछि वीरगन्जबाट आएका ती व्यक्तिलाई त्यहीँ छाडेर म भने डुल्दै–डुल्दै नजिकैको अर्को कार्यालयमा पुगें । त्यो भने अडिटरको अफिस रहेछ । एक जनासित सोधें, ‘यहाँ के भैरहेछ ?’

‘बाँकेमा भएका अड्डाहरूको ‘तहबिल मौज्दात’ को जाँच भैरहेको छ ।’

मैले कुरो खासै बुझिनँ । त्यहाँ टाढाको कुनै गाउँमा नदीले छाडेर गएपछि बढेको जग्गाको लगत थप्ने या बढाउने काम पनि भइरहेको थियो । यी सबै कुरा मेरा लागि एकदमै अनौठा थिए ।

त्यहाँबाट अलिबेर हिँडेपछि म ‘बजार अड्डा’ मा पुगें । त्यहाँ व्यापारीहरूको भीडभाड थियो । मैले तीमध्ये एक जनालाई सोधें, ‘तपाईं यहाँ किन आउनुभएको ?’

‘म महाजन हुँ । यहाँ अस्थायी दोकान लगाएर बिक्रीबट्टाका लागि मैले देशबाट केही लत्ताकपडा र सामान ल्याएको छु । त्यसको महसुल तिर्नु छ । आज वनकस, महुवा, मह, मइन, सतावरी र पिपलाको ठेक्का लिएका महाजनहरू पनि महसुल तिर्न आएका छन् यहाँ । अनि केहीले चाहिँ माथि पहाडबाट हर्रो, बर्रो, तेजपात, टिम्मुर, हलेदो, चिउरीको घिउ, जटामसी, खोटो लगायतका जडीबुटीहरू लिएर आएका छन् । केहीले च्याखुरा, मैना पनि बेच्न ल्याएका छन् । देशबाट यता आएको र यताबाट देशमा निकासी भएको मालको महसुल तिर्नुपर्छ यहाँ ।’

उनको कुरा सुनेर म झनै अलमलमा परें । सोधिहालें, ‘अनि देशबाट माल ल्याउने भनेको कहाँबाट ल्याउने हो ?’

उनी हाँसे र भने, ‘गोरखा भाषामा के भन्छन् थाहा छैन, यताको पक्की भाषामा देश भनेको इन्डियालाई भन्छन् हजुर ।’

त्यसपछि म अलिक अगाडिको अर्को एक भवनमा पुगें । त्यहाँ पनि भीडभाड थियो । त्यो भने ‘वनजाँच कचहरी’ रहेछ । त्यहाँ महाजनले बिक्रीका लागि ल्याएका लकडी र लट्ठाहरूको नापजाँच हुँदै थियो र लकडी चोर्ने केहीलाई पाता कसेर पनि राखिएको थियो ।

म त्यहाँ पनि रोकिइनँ । यताउता घुमिरहेँ । मैले देखें, लास बोकेर केही मानिसहरू दाहसंस्कारका लागि ‘राम नाम सत्य है’ भनेर लावा र पैसा छर्कंदै कतै जाँदै छन् । मैले मलामी जाँदै गरेका एक जनासित सोधें, ‘कहाँ जान लागेको ?’

उनले दु:खी स्वरमा भने, ‘नजिकै सिधनियाँ भन्ने सानो गंगा छ । हामी मृतकको दाहसंस्कारका लागि त्यतै जाँदै छौं । राप्ती टाढा पर्छ । त्यहाँसम्म जाने आदमी पनि कम छन् ।’

त्यही बेला कसैले पछाडिबाट मेरो नामै लिएर बडो मधुरो स्वरमा आत्मीयताका साथ बोलायो, ‘नयन बाबु ?’

०००

मैले आवाज आएतिर फर्केर हेरें । ती भर्खर–भर्खर जुँगाको रेखी बस्न थालेका एक किशोर थिए । उनले जीउमा तुनावाला भोटो, कम्मरमुनि इजारवाला सुरुवाल र शिरमा कालो भादगाउँले टोपी लगाएका थिए । तर, मैले उनलाई चिनिनँ । त्यसैले मैले सोध्नैपर्ने भयो, ‘मैले त बाबुलाई चिनिनँ नि ?’

ती किशोर मुस्कुराए र भने, ‘म गुरुप्रसाद मैनाली हुँ ।’

मलाई एकछिन भाउन्न होला–होलाजस्तो त भयो । तर, भएन । सोधें, ‘तपाईं त उहिल्यै खुस्किसकेको होइन र ?’

उनी फेरि उसैगरी मुस्कुराए र भने, ‘लेखक कहिले मर्छ र ? ऊ त आफ्ना रचनाहरूमा सधैं जीवित रहन्छ । फेरि यो त १९७१ साल हो । म मर्ने त दुई हजार अट्ठाइसमा हो नि । म मर्न त अझै झन्डै छ दशक बाँकी छ ।’

मैले अनौठो मानेर उनका कुरा सुनिरहेको थिएँ । उनले स्थितिलाई केही सहज बनाउँदै भने, ‘तपाईं भविष्यबाट यहाँ आउनुभयो र म पनि तपाईंले पढ्ने गरेको इतिहासबाट यहाँ आएको छु । हामी यस्तो कालखण्डमा छौं, जहाँ तपाईं जन्मनै बाँकी छ र मैले मर्नै बाँकी छ ।’

उनले यस्तो बोलिरहँदा, हल्काहल्का फुलबसिया हावा चलिरहेको थियो । त्यो हावामा मिसिएको थियो, सडक छेउछाउका धानका फाँटहरूमा लहलहै हुर्किरहेका कुनै रैथाने धानको वास्ना । उनी त्यही फुलबसिया हावामा आफ्नो आवाज मिसाएर भन्दै थिए, ‘नयन बाबु, नियतिले तपाईं र मलाई भेट गराइहाल्यो । अब मेरो एउटा काम गरिदिनुस् ।’

उनले आफूसित भएको एउटा गरुङ्गो फाइल मतिर बढाए र भने, ‘यो भविष्यमा निस्कने मेरो कथासङ्ग्रह ‘नासो’ को पाण्डुलिपि हो । कृपया अब यो तपाईं लिनुस् । यसको पहिलो संस्करण तपाईं जन्मनुअघि नै छापिनेछ । त्यसपछि तपाईंले लेखक भएपछि कुनै प्रकाशकलाई भनेर आकर्षक कलेवरमा यसको नयाँ संस्करण छपाइदिनुहोला । भविष्यमा एक जना सचिन यगोल श्रेष्ठ भन्ने कलाकार जन्मिनेछन्, आवरणको डिजाइन उनैलाई बनाउन लगाउनुहोला । किताब भने ‘फाइनप्रिन्ट’ या ‘बुकहिल’, जहाँबाट छापे पनि हुन्छ । तत्कालीन कपीराइट–कानुन अनुसार, त्यतिबेला त यो कपिराइट फ्री पनि भइसक्नेछ । प्रकाशकले लेखकस्व दिनै पर्दैन् । तिनलाई फाइँदै होला । बरु भविष्यमा जन्मिने गुरुङ सुशान्त नामका समालोचकले यसको पुनर्समालोचना गरिदिए त्यतिबेलाका नयाँ पाठकका लागि उचितै होला ।’

पाण्डुलिपि मेरो हातमा थमाएर छुट्टिने बेलामा किशोरवयका मैनालीले भने, ‘एक दिन भविष्यमा टहल्दा–टहल्दै मैले जमलस्थित एजुकेसन बुक हाउसमा तपाईंको ‘जियरा’ भन्ने कथासङ्ग्रह किनेको थिएँ । तर, हतारमा फेरि यो समयमा फर्किनुपर्‍यो । तपाईंको ‘जियरा’ समयको उलट–यात्रामा कौना स्टेसनमा, कौना ठाउँमा, कता छुट्यो कता । मेरा लागि एक प्रति ‘जियरा’ राखिछाड्नुहोला । त्यतिबेला कुमार नगरकोटीको ‘कल्पग्रन्थ’ पनि देखेको थिएँ । तर, त्यो प्रि–बुकिङ गरेका पाठकहरूले मात्र पाउने रहेछन् । यसो केही पाना पल्टाएर हेरें । केही बुझिनँ । अनि फेरि त्यहीं छाडेर हिँडेँ । कुनै बेला म यो समयबाट टहलिँदै–टहलिँदै त्यो समयमा पुगें भने तपाईंको ‘जियरा’ कथासङ्ग्रह भने म अवश्य पढ्नेछु ।’

यति भनेर उनी एउटा गल्लीमा पसे र अदृश्य भइहाले । तर, म एउटा अधबैंसे लेखकले किशोरवयका गुरुप्रसाद मैनालीलाई यसरी भेट्नु गजबको रोचक कुरा थियो । मैले एकछिनलाई यो अतीतबाट फेरि वर्तमानमा फर्कन पाउँछु कि पाउँदिनँ भन्ने चिन्ता बिर्सिएँ र धेरैबेर मैनालीजीको ‘नासो’ लाई सुम्सुम्याइरहें ।

त्यही बेला अचानक अर्का एक परिचितसित मेरो जम्काभेट भयो ।

०००

आफ्नासामु आफ्नै समयका लेखक तथा पत्रकार चन्द्रकिशोरजीलाई देखेर म जिल्ल परें । एकअर्कालाई इतिहासमा अलपत्र अवस्थामा देखेर हामी दुवै चकित भयौं । हाँस्यौं पनि ।

हाँसो रोकेर मैले सोधें, ‘तपाईं यहाँ कसरी ?’

‘विक्रम संवत् २०८२ को साहित्य सम्मेलनमा सहभागी हुने क्रममा यहाँ आएको थिएँ । राति धम्बोझीको सिटी प्यालेसमा सुतेको थिएँ । बिहान उठ्दा त म इतिहासमा आइपुगेछु ।’

अनि उनले हाँस्दै भने, ‘मित्र, जब इतिहासमै आइपुगियो भने, अब इतिहासकै मजा लिऊँ । यसो गरौं, हामी यतैबाट वीरगन्ज जाऊँ । केही दिन बसेर हामी दुवै सँगसँगै काठमाडांै जाउँला । हुन्न ?’

इतिहासमा मेरो समयको अर्को लेखक भेटिनु र उनीसँगै यात्रा गर्न पाउनु त मेरा लागि थप खुसीको कुरा थियो । मैले उनको प्रस्ताव सहर्ष स्वीकार गरें र मैनालीजीको पाण्डुलिपि काखीमा च्यापेर म चन्द्रकिशोरजीसितै यात्रारत् भएँ ।

हामी सीमापार गरेर भारतीय भूमिमा आयौं । रेल्वे स्टेसन पुग्नेबित्तिक्कै रेल पनि आइहाल्यो । हामी जसै रेल चढ्ने सुरसार गर्दै थियौं, रेलबाट ओर्लंदै गरेका एक जनाले मेरो पाखुरा समाते ।

‘नयन बाबु, म शिखरनाथ सुवेदी हुँ । चाँडै मेरो ‘शिखरनाथ भाष्य’ छापिँदै छ । तपाईं अतीतबाट यहाँ आइपुग्नुभएको रहेछ । भविष्यमा यसबारेमा जरुर कथाकहानी लेख्नुहुनेछ । तपाईंको आख्यानलाई आवश्यक पर्ने केही जानकारी बटुल्नुपर्‍यो भने मेरो त्यही किताब पढ्नुहोला ।’

उनले यति भन्न नपाउँदै रेलले सिटी बजायो । धूवाँको मुस्लो उडाउँदै गुड्न पनि थाल्यो । मैले उनीसित थप वार्तालाप गर्न पाइनँ ।

गोरखपुर अनि नरकटियागन्ज हुँदै हामी रक्सौल पुग्यौं । मैले सोचेको थिएँ, रक्सौल पुगेपछि केहीबेरमै वीरगन्ज पुगिहालिन्छ । तर, यो त इतिहास पो थियो । मैले छोडेर आएको भविष्यजस्तो छरितो कहाँ थियो र यो इतिहास † इतिहासको वीरगन्जको सीमामा पस्नु त्यति सहज रहेनछ । भेडिया नदीमा स्नान नगरी वीरगन्ज पस्नै नपाइने नियम रहेछ । हामीले नदीमा नुहायौं । अनि मात्र वीरगन्ज प्रवेश गर्न पायौं ।

०००

इतिहासको वीरगन्जमा केही दिन चन्द्रकिशोरजीसित घुमघाम गरेपछि मेरो काठमाडांै जाने समय आयो । चन्द्रकिशोरजी पनि सँगै जाने भए । तर, त्यसका लागि हामीले पहिला अस्पतालबाट पास लिनुपर्ने रहेछ । अस्पतालमा प्लेग लागेको छैन भन्ने प्रमाणसहितको सिफारिसवाला पास पाएपछि मात्र काठमाडांै जान पाइने रहेछ । तर, अप्रिय कुरा के भयो भने, चन्द्रकिशोरजीले पास पाउने सम्भावना भएन । किनभने मेरो नाडी जाँचेर प्लेग नलागेको यकिन भएपछि अस्पतालका डाक्टर बाबुले नै भने, ‘पास तपाईं नेपालीको मात्र बन्छ, यो मदिसे चन्द्रकिशोरको बन्दैन । मदिसेले नेपाल जाने राहदानी पाउँदैनन् । यिनीहरू शिवरात्रिमा मात्र नेपाल जान पाउँछन् । जानु नै छ भने कोही वारेस चाहिन्छ ।’

वारेस या जमानी राखी–राखी ‘नेपाल’ जान चन्द्रकिशोरजीको स्वाभिमानले दिएन । उनको अनुहारमा आवेश देखियो । तर, आवेशलाई नियन्त्रित गर्दै मसित भने, ‘तपाईं जानुस् । म भविष्यमा आउनेछु ।’

‘कहिले आउनुहुन्छ ?’, मैले रुन्चे स्वरमा सोधें ।

‘भविष्यमा मधेस आन्दोलन हुनेछ । त्यसपछि गणतन्त्र आउनेछ । नयाँ संविधान जारी हुनेछ । त्यतिबेलासम्म त यो ‘नेपाल’ मेरो पनि होला नि । त्यतिबेला मदेसी भनेर हेपिनु नपर्ला । पास लिएर आउनु नपर्ला,’ उनले आश्वस्त पारे मलाई ।

मैले अस्पतालबाट पास लिएँ । पासमा लेखिएको थियो–

‘उप्रान्त नेपालसम्म जान भनी लेखक नयनराज शर्मा पाण्डेयलाई जाँचदा प्लेग रोगको र शंकासमेत देखियेन ।’

त्यो पास देखाएपछि वीरगन्ज गोश्वाराले मलाई निम्न व्यहोराको राहदानी दियो–

‘स्वस्ति श्री वीरगन्ज गोश्वारा कचहरी कस्य चीसापानी गढीका हाकिम कारिन्दा के पुर्जी । उप्रान्त बाँके बजारबाट रक्सौल हुँदै वीरगन्ज आएर आफ्ना घर नेपालस्थित टोखासम्म जान भनी लेखक नयनराज शर्मा पाण्डेय जना १ तेस तर्फको बाटो गरी आयाका छन् । आफ्ना नाउँमा भयाका सवाल सनद बमोजिम गरने काम गर ।

तपसिल

निज लेखक नयनराज शर्मा पाण्डेय जवान १ वर्ष ५६ वर्ण गहुँगोरो

इतिसंवत् १९७१ कार्तिक ९ गते रोज १ शुभम् ।’

०००

यही राहदानीको नक्कल निस्सा सिमराको झाडीबीचको चौकीमा बुझाएँ । त्यसपछि भीक्षाखोरी र चुरेमा पनि बुझाएँ । अनि सुपारीटार, भैंसे र चिसापानी गढीमा पनि यही राहदानी देखाएँ ।

चिसापानी गढीमा भएको बटुक भैरवको मन्दिरमा भीडभाड थियो । भीडभित्र छिरेपछि मैले देखें, मन्दिर परिसरमा एकजना महिला र गोरुको लास अलपत्र रहेछ । गाउँलेहरू खासखुस गर्दै थिए, ‘यो मन्दिरमा आइमाई र गोरुलाई पस्न निषेध छ । पसे भने मृत्यु निश्चित छ । खै, राति कसरी हो, यो आइमाई गोरु लिएर पसिछ । भैरव साह्रै रिसाएछन् क्यार † बिहान हेर्दा त दुवै रगतपच्छे भएर मरिरहेका रहेछन् ।’

के विक्रम संवत् २०७९ मा पनि महिलाहरूलाई यो मन्दिरमा यसैगरी प्रवेश निषेध गरिनेछ ? मनमा आफैंसित यस्तै–यस्तै प्रश्नहरू सोध्दै म ‘नेपाल’ अर्थात् काठमाडौं आइपुगें । गुरुप्रसाद मैनालीको पाण्डुलिपिसहित ।

बीचमा गढी घुम्दै गर्दा एकछिन मेरो आँखाअगाडि झ्याप्प अँध्यारो त भएको थियो । तर, त्यतिबेला मलाई के थाहा, म विक्रम संवत् २०७९ को कालखण्ड पुग्ने–पुग्ने बेलामा फेरि आधा–आधीमै कतै अल्मलिनेछु ।

मनमा संशय भएपछि मैले एक जना बटुवासित सोधें, ‘दाजु, आज कुन मिति हो ?’

उनले भने, ‘२०२८ साल जेठ ५ गते । बुधबार ।’

मैले आफ्नो हातैमा भएको पाण्डुलिपितिर हेरें र सोचें, ‘यसको पहिलो संस्करण छापिएको पनि आठ वर्ष भैसकेछ । फाइनप्रिन्ट र बुकहिलका प्रकाशकहरू त अझै यस धरतीमा जन्मिएका पनि छैनन् । म यो पाण्डुलिपिको बोझ अब धेरै कालसम्म कसरी बोकिरहनु सकुँला र ?’

अन्तत: मैले त्यो पाण्डुलिपि गुरुप्रसाद मैनालीलाई नै फिर्ता दिने निर्णय गरें । सोचें, उनी अहिले ७०–७१ वर्षका भए होलान् । वृद्ध भएकोले हिँडडुल खासै छैन होला । त्यसैले यतिबेला आफ्नै घरमा आराम गरिरहेको अवस्थामा भेटिएलान् ।

अनेक व्यक्तिहरूसित सोध्दैसोध्दै म पुगें गुरुप्रसाद मैनालीको घर । सात घुम्ती । पकनाजोल ।

तर, त्यहाँ पुगेपछि थाहा पाएँ, केही वर्षदेखि मधुमेह र उच्च रक्तचापका कारण उनको मिर्गौलाले काम गर्न छाडेको रहेछ । सिकिस्त अवस्थामा पुगेपछि तीन दिनअघि मात्र घाटे वैद्यको सल्लाहमा उनलाई आर्यघाट लगिएको रहेछ ।

उनकै आफन्त कसैले मलाई जानकारी दिए, ‘उहाँलाई अहिले ब्रह्मनालमा राखिएको छ । जुनसुकै बेला पनि उहाँको प्राणपखेरु उड्न सक्छ ।’

०००

म आत्तिँदै आर्यघाट पुगें । ‘नासो’ का स्रष्टा गुरुप्रसाद मैनालीलाई ब्रह्मनालमा अचेतावस्थामा मृत्यु कुरिरहेको देखें । मैले पुग्नासाथ अत्यन्त श्रद्धापूर्वक उनको पाऊ समातें । कालजयी कथाहरू लेख्ने उनका औंलाहरूलाई स्पर्श गर्न मन लाग्यो मलाई । उनको दाहिने हत्केलालाई आफ्नो हातमा लिएर बडो स्नेहले सुम्सुम्याएँ । उनले बिस्तारै आँखा खोले र मतिर हेरे । सम्भवत: उनले जीवनकालमा देखेको अन्तिम दृश्य यही थियो, जसमा उनको आँखाको आयतनमा मेरो दु:खी र मलिन अनुहार पनि अटाएको थियो । तर, उनको हेराइमा मप्रति गहिरो वितृष्णाको भाव थियो । उनले मसित केही बोल्न खोजे । मैले उनको मुखैनिर कान थापें ।

‘मैले त्यति दु:खकष्ट गरेर अतीतमा हराएको तँलाई आफूले लेख्नै बाँकी ‘नासो’ को पाण्डुलिपि दिएको थिएँ । नयाँ संस्करण, नयाँ आवरणमा फाइनप्रिन्ट या बुकहिलजस्ता प्रकाशकले छाप्लान् भनेर नै मैले त्यो पाण्डुलिपि तँलाई दिएको थिएँ । केही दिनअघि मात्र म २०७९ साललाई एक फन्को लगाएर आएँ । त्यो मेरा लागि बहुतै कष्टकर यात्रा रह्यो । त्यतिबेला मैले देखें, धेरैजसो कथाकार भनाउँदाले मेरै कथाहरूलाई अनेक जलप लगाएर आफ्नो नाममा छापिरहेका रहेछन् ।’

गुरुप्रसाद मैनालीजीका कुरा सुनेर म चकित परिरहेको थिएँ । उनले घृणामिश्रित कमजोर आवाजमा खुसुक्क सोधे, ‘भन् केटा, तैंले मेरो पाण्डुलिपिबाट कतिवटा कथा चोरिस् ?’

मैले केही जवाफ दिनै सकिनँ । म नाजवाफ ब्रह्मनालनिर उभिइरहें । ठीक गुरुप्रसाद मैनालीको प्राणपखेरु उड्नै लागेको बेलामा मैले देखें, केही अग्रज, केही मेरा समकालीन र केही मेरा भाइबैनीपुस्ताका कथाकारहरू अतिशय तीव्र गतिमा दौडँ्दै मतिरै आउँदै थिए । उनीहरूको दृष्टि भने मतिर थिएन । मेरो काखीमा च्यापिएको ‘नासो’ को पाण्डुलिपिमा थियो । उनीहरू अत्ताल्लिँदै अतीतको राजमार्ग हुँदै विक्रम संवत् २०७९ सालबाट २०२८ सालमा आएका थिए । मनिर आउनासाथ ती सबैले एकसाथ मेरो हातको पाण्डुलिपि खोसेर फेरि विक्रम संवत् २०७९ तिरै भागे । म स्तब्ध थिएँ । मैले हेर्दाहेर्दै मेरो हातबाट ‘नासो’ अलप भएको थियो ।

०००

अतीतबाट फेरि विसं २०७९ सालमा फर्किएपछि पो मैले गजबको कुरा थाहा पाएँ । उतिबेला ब्रह्मनालबाट हराएको ‘नासो’ आजका मितिमा पनि अनेक लेखकका नामले प्रकाशित भइरहेका छन् । म चकित परिरहेकै बेलामा कविद्वय गोपालप्रसाद रिमाल र भूपि शेरचन आ–आफ्ना पाण्डुलिपि च्यापेर मनिर आए र बडो त्रस्तभावमा सोधे, ‘भाइ, कथाको त यस्तो पारा रैछ अचेल पनि । नेपाली कविताको हालचाहिँ के कस्तो छ कुन्नि ?’

प्रकाशित : आश्विन १५, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?