कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

डसनी फिक्सन

त्यो रात डसनीले आँखैअघि ब्रह्माण्ड रित्तिएको देखी । सात दिन आफू रित्तिने गरी रोई । आँसु निख्रिएपछि आठौं दिन गोठवरपर चहलपहल बढ्यो । डसनीले बल्ल टाउको उठाएर हेरी ।
लेनिन बञ्जाडे

आख्यानको जग कथा हो । कथाले पाठकको मनमा बेग्लै संसार ठड्याइदिन्छ, जसमा लेखकले शब्दको बान्की मिलाएर सीमाहीन कल्पनाको राजमार्ग कोरिदिन्छ । म कथा लेख्छु— किनकि मलाई त्यस्ता बाटा कोर्न मन पर्छ । म कथा पढ्छु— किनकि मलाई त्यस्ता बाटामा हिँड्न मन पर्छ । अरूले कोरेको बाटो हिँड्नुमा जति आनन्द छ, आफूले कोरेको बाटामा अरूलाई हिँडाउँदा त्योभन्दा बढी सन्तोष हुन्छ । कथामा लेखकीय स्वतन्त्रता हुन्छ, पात्रहरू स्वतन्त्र हुन्छन् । लेखकले चाहेर पनि पात्रलाई निश्चित घेरामा बाँधेर राख्न सक्दैन । सिर्जनाको कापबाट ती पात्रले आफैं बाटो बनाउँदै र भत्काउँदै जान्छन् । मलाई यसकारण कथा मन पर्छ— म पात्र र घटनाको माध्यम भएर उनीहरूकै संसारमा विचरण गर्न पाउँछु ।

डसनी फिक्सन

– कथाकार

...

(प्राक्कथन : यो कथा हर्ककोआई हेट म:म:’ शीर्षकको आत्मकथाबाट प्रेरित छ । सात वर्षअघि ‘कोसेली’ मा आत्मकथा प्रकाशित भएपछि उनी बेपत्ता छन् । )

भाले नबास्दै ट्रक बास्यो । आधारातमा ट्रक बासेको दिनपछि मजुवामा भाले बास्न छाडे ।

डसनी एक हप्तासम्म रोइरही । हर्के ट्रकमा कोचिएर सहर हिँडेको दिन उसका हातखुट्टा राम्ररी चलेनन् । काजीले तीन–चार भाटा हान्दा पनि ऊ चल्मलाइन । आँखामा सिंगो हर्के बोकेर सार फेरिरही ।

त्यो रात हर्केले डसनीको कानमा अन्तिमपटक फुस्फुसाएको थियो, ‘मान्छे आ’छन्, टरक ल्याछन् । मलाई डर ला’छ ।’

त्यो रात डसनीले आँखैअघि ब्रह्माण्ड रित्तिएको देखी । सात दिन आफू रित्तिने गरी रोई । आँसु निख्रिएपछि आठौं दिन गोठवरपर चहलपहल बढ्यो । डसनीले बल्ल टाउको उठाएर हेरी ।

विलौनामा डुबेर अन्न, सागपात केही खाएकी थिइन । ओइलाएको कमजोर शरीर हलचल भएन । मैसी आएर उसलाई अँठ्याई ।

‘दिदी, के गरेको यस्तो ? खानु त पर्छ नि,’ मैसीले डसनीलाई थाम्दै भनी, ‘हर्के भेना फर्केर आउँछन् । नआत्तेऊ । हामी छम् ।’

डसनीले मुन्टो उठाएर मैसीतिर हेरी । उसको आँखामा खै के देखी, चिच्याएर डाँको छाडी । उसको त्यो डाँको चारचौरास फैलियो ।

सिद्धको जोडीले पनि पखेंटा फिँजाउँदै आँगन टेक्यो ।

‘हाम्ले के गर्न सक्छम् भन्नुस् । यसरी चुपचाप बसेर केही हुन्न,’ गुरुले घ्यार्रर गर्‍यो, ‘हर्के दाइ फर्केर आएनन् भने खोज्न नजानी ?’

डसनी बोल्न सक्ने अवस्थामा थिइन । मुख सुकेर ओठमा फिँजको घेरा बसेको थियो ।

गुरुले कुलोबाट पराँतभरि पानी ल्याएर डसनीको छेउमा राखिदियो । उसले पानीमा मुख डुबाई र सासै नफेरी रित्याई । गुरुले फेरि पराँत भरिदियो ।

‘पुग्यो दाइ । यही पानीले त बचा’छ मलाई,’ रोएर बसेको घाँटी ख्वाङख्वाङ गर्दै डसनी सुस्तरी बर्बराई, ‘मेरै घरमा यस्तो बज्रपात किन परेको हो दाइ ?’

डसनी भक्कानिई । माईले थामथुम पारी । त्यही बेला आकाशमा चट्याङ पड्कियो । आँगनमा टुप्लुक्क भुकुरे देखा पर्‍यो ।

‘ब्यान बजार जाँदा हर्के दाइको बारेमा अलिअलि सुन्या थें । तुलसीपुरबाट घोराहीतिर लग्या हुन् रे ! मैले घोराहीतिर पनि खबर पुरा’छु,’ भुकुरेले स्याँस्याँ गर्दै भन्यो । उसको जिब्रो पनि उज्यालो देखियो ।

भुकुरेले केही कुरा भन्यो, केही लुकायो ।

‘त्यो टरक स्योर भेट्टिन्छ । क्वै नआत्तेऊ,’ आँखा तेजिलो पार्दै भुकुरेले थप्यो, ‘त्योभन्दा पैला त काजीको नसो काट्नुपर्छ । त्यसैले हैन हर्के दाइलाई टरकमा हुल्या ?’

वरपर जम्मा भएका सबै गुचुप्प भएर भुकुरेको छेउमा उभिए । उसले डसनीको सुक्खा मनमा आशाको सानो थोपा चुहाइदिएको थियो । डसनी पिलपिल गर्दै नजिक सरी ।

‘मैले भनेको मान्छौ भने हामी जातभात केही नभनी डसनी दिदीको साथमा उभिनुपर्छ । गाउँ, बजार, जंगल सबैतिरबाट उत्तिकै सहयोग चाहिन्छ,’ गुरुले जुरो थरर हल्लायो, ‘बरु बेपत्ता छानबिन समिति गठन गरौं । आजै ।’

सबैले मुखामुख गरे । आकाशमा फेरि चट्याङ पड्कियो । उत्तिखेरै हुरुरु पानी बर्सियो । त्यो पानीले डसनीको आङ भिज्यो । बिछोड, आशा र भोकले तातिएको ताप्केजस्तो शरीर बाफियो ।

माई उत्तर नपाएर उभिई । गुरु उत्तर पर्खिएर चुपचाप उभियो । भुकुरे प्रश्न बोकेर उभियो । छेवैको सिमलको काखीबाट तप्प चोप झर्‍यो ।

‘छानबिन मात्रै होइन, हामीलाई पशुजस्तो व्यवहार गर्ने सबैलाई यही गोठमा ल्याएर बान्नुपर्छ,’ भुकुरे ज्यान थरर हल्लाउँदै बम्कियो, ‘क–कसको समर्थन छ यसमा ?’

उसले वरपर मुन्टो बटार्‍यो । गुरुले समर्थनमा मुन्टो हल्लायो ।

‘ठीक हो । ठीक हो,’ गुरुको टाङमुनिबाट घुस्रिँदै सिद्ध बोल्यो, ‘छानबिन र बदला दुवैमा मेरो सहमति छ । मेरा आँखा तेजिला छन्, छानबिन समितिमा मलाई पनि राख्नू ।’

डसनी आठ दिनपछि फिस्स हाँसी । त्यो हाँसो उसको ओठ, आँखा हुँदै पैतालासम्म फैलियो । घाँटी खस्खसाउँदै सुस्तरी बोली, ‘एकरात मान्छेहरू आए र छोरो लगे । अर्को रात उस्तै मान्छेहरू आए र बूढालाई लगे । मलाई किन लगेनन् ? म एक्लै ...।’

डसनीको घाँटी ठप्प भयो । किर्नाले टोकेर घाउ भएको शरीर लम्पसार पारेर फैलिई । आँखा एक्कासि सेता भए । ओठको चेपबाट र्‍याल चुहियो । दर्किरहेको पानी हिउँदको घामझैं अलप भयो ।

माई हड्बडाउँदै चिच्याई, ‘कसैले सतुवा ल्याओ न । छिटो... ।’

ठीक त्यही बेला फेरि आकाश पड्कियो । यसपालि सिमल पनि हल्लियो ।

भुकुरे सबैलाई पन्छाउँदै भीडबाट बाहिर निस्कियो । र, यसरी दौडियो— मानौं सिंगो ब्रह्माण्ड उसलाई लखेटिरहेको छ ।

माई गुरुतिर फर्किएर बम्किई, ‘पानी ल्याऊ न बूढा । के वाल्ल परेको ?’

गुरु पराँत बोकेर कुलातिर लाग्यो । उत्तिखेरै घिसार्दै ल्यायो । र, ह्वाल्ल डसनीमाथि खन्याइदियो । डसनीका आँखा सेताबाट काला भए । जीउ थरर काम्यो । आँखाको चेपबाट तरर पानी बग्यो । कसैले थाहा पाएनन्— त्यो नुनिलो थियो कि अलिनो !

भुकुरे सतुवाका पात बोकेर आइसक्दा डसनी ठिंग उभिएकी थिई । ठीक त्यही बेला काजी दुई जना तिघ्रेहरूलाई अघि लगाएर आँगनमा झुल्कियो । उसका आँखा तिलबाट आलुजत्रा भए । कन्चटका नसामा अलि बढी रगत बग्यो । छिट्छिट् गर्‍यो । र, एक्कासि करेन्ट लागेझैं बम्कियो, ‘झ्याँक्नी छाँडाहरू । यिनरूको काल आयो आज ।’

ऊ धङ्धङिदै घरभित्र छिर्‍यो । र, उत्तिखेरै हातमा बाँसको लाठी लिएर निस्कियो । डसनीबाहेक सबैको भागदौड मच्चियो । काजीले त्यो बाँस डसनीको ढाडमा बजार्‍यो र उसैगरी चिच्यायो, ‘यत्रो दिन भइसक्यो, झ्याँक्नी । न खानु छ न दूध दिनु छ । मर् राँडी ।’

सिमलको ढाडमा छेलिएर बसेको भुकुरेको रगतमा कुन रसायन मिसियो कुन्नि, भक्भक् गर्दै उम्लियो । सिमललाई बेस्सरी कोपर्‍यो । तितरबितर भएका गुरु, मैसी र माईहरू बाटामा गुचुप्प परेर उभिएको देख्यो । सिमलमा छेलिएर ऊ फुत्त बाटामा हामफाल्यो । ऊसँगै सिद्ध पनि सिमलबाट जमिनमा झर्‍यो ।

गुरु फत्फतायो, ‘यो अन्याय अब सहन सकिन्न ।’

त्यसपछि गुरु जमिन र आकाश थर्किने गरी डुक्रियो । काजीले त बुझेन, तर ऊबाहेक संसारले बुझ्यो । सबै हुरुरु बाटामा जम्मा भए ।

‘जंगलका मित्रहरूसँग हाम्रो सम्बन्ध त्यति राम्रो छैन । हामीलाई देखेर झम्टिन्छन् । हाम्रो विद्रोहमा उनीहरूको साथ आवश्यक छ । कुरा पुर्‍याउनुपर्‍यो । तर, पुर्‍याउने कसले ?’

सबैले मुखामुख गरे । सबैका आँखामा त्यही प्रश्नका धर्सा देखिए । सन्नाटा चिर्दै गुरुको ढाडबाट ओर्लिएर सिद्ध बोल्यो, ‘मितुवासँग मेरो उठबस छ । धेरैपटक उसलाई मासु खुवाएको छु । एकपटक भनी हेर्छु । मितुवाले पाटे र लैनसिंहलाई फकायो भने हामीजति बलियो क्वै हुन्न ।’

सिद्धले लामो सास फेर्‍यो । गोठतिर हेर्‍यो । काजीलाई नदेखेपछि खुरुरु डसनीको छेउमा गएर भन्यो, ‘दिदी, अब तिम्रा रुने दिन सकिए ।’

डसनीका आँखा फैलिएर ठूला भए । उसले सिद्धको अनुहार धमिलो देखी ।

० ० ०

गह्रुंगो छाती लिएर सिद्ध वन पस्यो । टाढैबाट देख्यो— मितुवा जमिन खोस्रिँदै थियो । खान नपाएर ख्याउटिएको मितुवा देखेर सिद्धको मन अमिलियो ।

‘दाइ, के खोस्रिएको ?,’ रूखको हाँगाबाटै सिद्धले डराई–डराई सोध्यो ।

मितुवाले पुलुक्क माथि हेर्‍यो । सिद्धलाई देखेर अनुहार उज्यालो भयो । बोल्न खोज्यो, आवाज राम्ररी निस्किएन । सासैसासमा भन्यो, ‘भएभरका सबै सिकार चिडियाखाना गए । भोकले मरियो यार ।’

सिद्ध भुइँ झर्‍यो । मितुवाको नजिकै गएर शरीर सुँघ्यो । ‘पख्नुस् त’ भनेर दुई खुट्टाले भुइँ धकेल्यो र तिहारको रकेटझैं उड्यो । हनुमानले ल्याएको सञ्जिवनी पहाडजत्रो नभए पनि उसले मुख र पञ्जाले अँठ्याएर करिब–करिब आधा किलो मासु मितुवाको मुखैअघि खसालिदियो । मितुवाले कतै नहेरी मासु झम्टियो । कुवामा एक अम्खोरा पानी खन्याएजस्तो भो ।

तर, मितुवाले फिल गर्‍यो— एक अम्खोरा नै भए पनि उसको पेटमा जोडले छप्ल्याङ्ग गर्‍यो ।

‘थ्याङ्क्स यार,’ नाभिनेरबाट सुलुलु बग्दै आएको एक झोंक्का हावा एपिग्लोटिसमा ठक्कर खाएर धर्रर आवाज आयो, ‘बल्ल सास आयो ।’

सिद्धले त्यो सास अनुभूत गर्‍यो । भोकशिरोमणि भएर ऊ पनि धेरैपटक यस्तै सासको गीत गाएर बाँचेको छ ।

‘यसरी अरूको भर परेर हुन्न दाइ,’ सिद्धले पोयो फुकायो, ‘कमसेकम तपैंबाट यस्तो आसचाहिँ थिएन मलाई ।’

मितुवाले भुइँ कोतर्‍यो । ऊ जमिनमा बचेखुचेको मासु खोज्दै थियो ।

‘दाइ यार,’ मितुवाले खासै चासो नदिएपछि सिद्धले कोट्यायो, ‘कहिलेकाहीँ हाम्रा कुरा नि सुन्नू न । खालि पाटे र त्यो बूढो लैनसिंहको मात्रै सुन्नुहुन्छ यार ।’

मितुवाले पुलुक्क सिद्धको आँखामा हेर्‍यो । सिद्धका आँखा आकाशगंगाजस्ता देखिए । त्यो आकाशगंगामा मितुवाले आफ्नो ख्याउटो शरीर देख्यो । भुत्ला पनि खुइलिएर शरीरमा उम्रिएका टाटा देख्यो ।

‘क्लियर भन् जाँठा,’ मितुवाले आकाशगंगाबाट आँखा धर्तीमा ल्यायो । उसलाई समातेर काखमा राख्यो । निधारको कपालमा मुसार्‍यो । काखको न्यानोले सिद्धका आँखा लठ्ठिए ।

‘मासु ख्वाएर गुन लाइस् तैंले । अब भन्, किन मुन्टिस् आज ?’ मितुवाले उसको टाउकामा प्याट्ट हान्दै सोध्यो ।

लठ्ठिएका आँखा खोल्दा सिद्धले देख्यो, रुखमाथि हनु झुन्डिएर उनीहरूलाई टुलुटुलु हेरिरहेको थियो । सिद्धका आँखा पर्नेबित्तिकै ऊ उफ्रिएर भाग्यो ।

‘ओए हनु, तँ नि आइज,’ सिद्धले चिच्याएर बोलायो । अर्को रूख पुगिसकेको हनु टक्क अडियो । रातो नितम्बलाई हाँगामा धस्यो र पिर्लिक्क पछाडि हेर्‍यो ।

‘त्यो मितुवाले ३ दिनदेखि ढुकेर बस्या छ,’ हनुले रुँला–रुँलाझैं गरी भन्यो, ‘यसको डरले म ३ दिनदेखि झुन्ड्या झुन्ड्यै छु ।’

सिद्ध र मितुवा हाँसेको पर गाउँमा गुरुले पनि सुन्यो ।

‘खान्नँ के जाँठा । आइज,’ मितुवाले लामो जिब्रो निकालेर र्‍याल चुहायो, ‘खाने भए त यै दुई गाँस थियो ।’

जोगिँदै जोगिँदै हनुले धर्ती टेक्यो । ठीक त्यहीबेला सिरसिर बतास चल्यो । पानी परेर ओभाएको जमिनमा पात हल्लिए । रूखको टुप्पाबाट खसेका एकजोडी झुसिल्कीरा दुईतिर छुट्टिए र सुलुलु दुलोभित्र पसे ।

‘मान्छेहरूले हाम्रो अन्न, बास सबै लुटे । अब पनि बोलिएन र जागिएन भने यो वनमा सिमेन्टीका घरबाहेक केही हुन्न,’ सिद्धले मुठी कस्यो, ‘गाउँमा डसनी दिदीका बूढालाई मान्छेहरूले अपहरण गरेर लगे । भोलि हामीलाई पनि उठाएर लैजालान् । चुपचाप बस्ने ?’

मितुवाका कान ठाडा भए । हनुका आँखा फैलिए । दुलोभित्र पसेका झुसिल्कीरा फत्र्याकफुत्रुक गर्दै रूख चढे । आकाशमा बादल सल्बलायो । इन्द्रेणीले जंगल ढाक्ने गरी हात फैलायो ।

‘मान्छेहरूले हामीलाई जंगलबाट उठाएर कि चिडियाखाना पुर्‍याए, कि कुकरमा सिठी लगाए । अब फर्काउने बेला आयो,’ सिद्धले क्षेप्यास्त्र हान्यो ।

चिडियाखानाको कुरा सुनेपछि मितुवा र हनुको शरीरमा खै के पस्यो— जुरुक्क उठे । मितुवा भुइँचालो आएझैं हल्लियो । उसको जीउमा टाँसिएका पात भुर्रर उडे ।

‘गाउँमा सबैको रजामन्दी छ । पाटे, लैनसिंह र तपैंको डरले यता क्वै आउँदैन,’ सिद्ध रोकिएन, ‘आँट्नुस् दाइ । यसै पनि यहाँ भोकले खिल्टिएर सिद्धिसक्नुभो ।’

मितुवाले सिद्धलाई च्याप्प समात्यो र मुखनेर ल्याएर निधार चाट्यो । हनु एकछिन फुत्रुकफुत्रुक गर्‍यो र ठिंग उभियो । मितुवाको जिब्रोको तातोले रापिएर सिद्धका आँखा पग्लिए ।

‘एउटा टेक्निकल समस्या छ सिद्धे,’ मितुवाले उसलाई भुइँमा राख्यो र भन्यो, ‘मान्छेहरूसँग भिड्न सकिन्न । बन्दुक, राइफलको अगाडि हाम्रो केही लाग्दैन ।’ उसले हनुतिर देखाउँदै थप्यो, ‘यो दुईगाँसे त बाँसका भाटा देखे पनि तर्सिन्छ । कसैले चुइँगम पड्कायो भने चाक रातो पारेर कुद्छ ।’

हनुले देखाएका सेता दाँतले सिद्ध र मितुवा दुवैका आँखा तिर्मिराए ।

‘यसको रोल मैले सोचिसक्या छु दाइ । सबैका आ–आफ्ना काम छन्,’ सिद्धले हनुलाई तानेर मितुवाको काखमा बसालिदियो । मितुवाले उसको पनि निधार चाट्यो । हनुलाई यसअघि अन्तिम पटक सुन्दरीले चाटेकी थिई ।

‘म रामायणको बानरसेनाजस्तै लंका जलाउन सक्छु दाइ,’ हनुले मुठ्ठी कस्यो, ‘अहिलेसम्म पशुपतिनाथ र स्वयम्भू जोगाएको हाम्ले नै हो । राम र सीताको मिलन गराइदेको हाम्ले नै हो । डसनी दिदी र हर्के भिनाजुको मिलन पनि हामीले नै गराउँचम् ।’

यति सुनेपछि मितुवाको घाँटी खस्खसायो । उता फर्किएर आँखा चिम्म गर्‍यो ।

‘तपैंले पाटे र लैनसिंहसम्म कुरा पुर्‍याउनुस् अब,’ सिद्धले अलि ठूलो स्वरमा भन्यो, ‘अहिल्यै जानुस् ।’

‘मानेनन् भने ?’ मितुवाले साससँगै प्रश्न फ्याँक्यो ।

सिद्धले धेरैबेर सोचेन, ‘मान्नैपर्छ । मानेनन् भने यहाँ पनि गणतन्त्रको नारा लाग्छ दाइ ।’

सिद्ध र हनुका कुराले मितुवालाई खै कहाँ हान्यो, बज्र परेझैं रन्थनियो । रूखमाथि चढेका झुसिल्कीरालाई हेर्‍यो र भन्यो, ‘तिमीहरू पनि छिटो पुतली बनेर आऊ । अब घस्रिने होइन, उड्ने हो ।’

रूखको टुप्पामा बसेको एकजोडी कागे भुर्रर उड्यो ।

० ० ०

बादल चिरेर धर्तीमा पोखिएको घाम पश्चिम कुनाबाट अलप भएपछि गुरुले सुस्तरी भन्यो, ‘सबै आए ?’

भुकुरेले पालैपालो टाउको गन्यो । डसनीलाई देखेन ।

‘डसनी दिदीलाई त बाँधेर राख्या होलान् । कसैले खोल्दिनुपर्‍यो गएर,’ गुरुले भन्यो, ‘अलि तिखे यही भुकुरे छ । लुसुक्क गएर खोल्दे, जा ।’

बीचमा आँखा फट्टाएर बसेको लैनसिंहले भुकुरेलाई पुलुक्क हेर्‍यो । भुकुरे र उसका आँखा जुधे । पर गाउँमा बलेको बत्तीले लैनसिंहका आँखा हरिया र चम्किला देखिए । भुकुरे पुच्छर लुकाएर पछि सर्‍यो ।

‘मैले सबै खबर पाएँ । मितुवाले भनिसक्यो । अब हामी जातभातको वैरभाव केही नराखी मिल्नुपर्छ,’ भुकुरे हच्किएको देखेपछि लैनसिंह बोल्यो, ‘मलाई मेरो गद्दीको जिम्मेवारी थाहा छ । तिमीहरूको सुरक्षा गर्नु मेरो कर्तव्य हो ।’

अलि मिलाएर ताली पिट्न सक्ने हनु मात्रै थियो । उसैले पिट्यो । अरू कोही हिन्हिनाए, कोहीले जुरो हल्लाए । पाटेको ढाडमा कन्याइदिँदै सुनिरहेको सिद्धले फ्याटफ्याट गर्‍यो । हनु जोडले हात पड्काउँदै बोल्यो, ‘आदरणीय वनसमुदाय ! कुरो बुझियो ?’

लगभग सबैले टाउको तलमाथि हल्लाए ।

गुरु अघि सर्‍यो, ‘पहिले हामी शान्तिपूर्ण आन्दोलनमा जानुपर्छ । मेरो प्रस्ताव यो छ कि आजबाट मैसी र माईको फौजले दूध बहिष्कार गर्छन् । मेरो फौजले घाँटीमा जुवा छिर्न दिन्नौं । सिद्धेको फौजले मरेका कुनै पनि प्राणी व्यवस्थापन गर्दैनन् । हनुको फौजले केरा र मकैबारीमा धावा बोल्छ । लैनसिंह, मितुवा र पाटे दाजुहरूले तीनतिरबाट हाम्रो सुरक्षा गर्नुहुन्छ ।’

लैनसिंह अलमल्ल पर्‍यो । सबै कुरा ठीक हुँदाहुँदै पनि उसलाई एउटा कुराले अँठ्यायो, ‘अनि हामीले के खाने नि गुरु भाइ ?’

गुरुले उत्तिखेरै जवाफ दियो, ‘तपाईंहरूबाहेक हामी सबै भेज हौं । यो भुकुरेले अन्न पनि खान्छ । थिति, परम्परा र शरीरले नदिए पनि आजबाट केही समय तपाईंहरू पनि भेज बन्नुस् । यो विद्रोह सफल भयो भने हामीले मजुवालाई ननभेज गाउँ बनाउँछौं ।’

दाम्लोसहित आएका मैसी र माईले निधारमा त्यसकै फेटा बाँधेर मुठ्ठी कसे, ‘हाम्रो समर्थन छ । आजबाट हामी दूध दिन्नौं ।’

‘हामी नभई मान्छेको प्राण टिक्दैन । आफ्नै लालाबालालाई एक थोपो दूध चुस्न नदिई तिनेर्का छाउँडाको ओठमा हाल्दिएका छम्,’ माई डुक्रिई, ‘आफ्ना छोर्छोरी भोकभोकै हुँदा उनीहरू मुस्कुराएको देखेर मन बुझाएका छौं । अब यस्तो हुँदैन ।’

माईको कुराले मैसीको आक्रोश चर्कियो, ‘अहिलेसम्म हाम्रा लाम्टामा उनीहरूले शासन गरे । अब हाम्रा लाम्टाबाट बारुद निस्किन्छ ।’

माई र मैसीले झोसेको यो आगोले सबैको शरीरमा रगत उमाल्यो ।

हनु मुठ्ठी उठाएर च्याइँयय गर्‍यो, ‘मान्नुस्, भोलि बिहानसम्म केरा र मकैबारी पनि सिद्धिए ।’

सबैभन्दा तोड मितुवालाई पर्‍यो । ६ दिनदेखिको भोकले निख्रिसकेको सास रोक्दै उसले सुस्तरी भन्यो, ‘भेज खानाले त मलाई पखाला लाग्छ ।’

लैनसिंहले उपाय सुझायो, ‘तैले छेरिस् भने सतुवा खालास् । हामी ननभेज भइराख्यौं भने यिनैको सिकार गर्नुपर्छ । कुरो बुझेनस् ?’

‘यिनैको’ भन्ने बेला लैनसिंहले वरिपरि हात घुमायो । सबैका आँखामा जिज्ञासाका धर्सा कोरिए ।

‘कोही आफ्नै कालगतिले मरे भने सिद्धेले खबर गर्छ । त्यसमै गुजारा गरौंला,’ लैनसिंहले चर्किएर हाँक हाल्यो, ‘नत्र हामीले आफैं आक्रमण गरेर मार्दैनौं । बुझ्यौ ?’

सबैले टाउको हल्लाए । सबैभन्दा बढी खुसी सिद्धको आँखामा देखियो । उसले डसनी खोच्याउँदै भुकुरेको पछिपछि आएको देख्यो । डसनी एउटा आँखामा सन्देह र अर्को आँखामा आशा बोकेर भीडमा मिसिई । लैनसिंहको छेउमा पुगेर चुपचाप उभिई ।

गुरुले देख्यो— पर पिलिकपिलिक बत्तीजस्तो केही थियो । सुरुमा मकैको गेडाजत्रो थियो । बिस्तारै बढेर आरुबखडा जत्रो भयो । बत्तीको आकार बढ्दै गयो, गुरुको धड्कन । उसले लैनसिंहलाई कोट्यायो । लैनसिंहले जुरुक्क उठेर नजर फ्याँक्यो । त्यो बत्ती थिएन । कोही हुरीझैं बत्तिएर त्यतै आउँदै थियो ।

लैनसिंहले पाटेलाई कोट्यायो । पाटेले जुरुक्क उठेर नजर फ्याँक्यो । भीरबाट गुडुल्किएको ढुंगाझैं त्यो बत्ती पाटेको पैतालानेर आएर टक्क अडियो । भुकुरेका ओठ थरर काँपे । सेता दाह्रा किट्किटाए । घ्यार–घ्यार गर्दै दुई पाइला पछि सार्‍यो ।

हातैले नाप्ने हो भने त्यो जीव दुई बित्ताजत्रो थियो । पाटेले ठम्यायो, ‘लौ ! मिल्ली मामा ? तपाईं ?’

मिल्लीले तिखा दाँतको सार्वजनिक प्रदर्शनी गर्‍यो । पाटेले उसलाई च्याप्प समातेर अँगाल्यो । तातो जिब्रोले शरीरभरि चाट्यो । उसको र्‍यालले मिल्ली निथु्रक्क भिजेको बिरालोजस्तो देखियो ।

‘भाञ्जा, थाहा पाउनेबित्तिकै दौडिएर आएँ । उता सुनौलीपुरमा पनि खबर पुगिसक्यो । मजुवाको निर्णय कुरेर बस्या छन्,’ मिल्लीले छिटो–छिटो सास फेर्दै भन्यो ।

पाटेले एकै सासमा खरर निर्णय सुनायो । मिल्लीले आँखा फट्टाएर सुन्यो । डसनीको आँखामा चमक आयो ।

‘शान्तिपूर्ण आन्दोलनले केही हुन्न भाञ्जा । लडाइँ जित्ने हो भने सिधै धावा बोल्नुपर्छ,’ मिल्लीले म्याउ गर्‍यो, ‘मान्छेले ठूलै धक्का नपाई सुन्दैन । शान्तिपूर्ण आन्दोलन भनेको गुरु दाइको सिटजस्तै हो ।’

गुरु ङिच्च गर्‍यो । माई लाजले उता फर्किई ।

‘ठीक हो, ठीक हो,’ अघिदेखि चुपचाप सुनिबसेको सिद्धले मुख खोल्यो, ‘यसो गरौं । बहिष्कार कार्यक्रमलाई यथावतै राखेर भौतिक आक्रमणमा अघि बढौं । अन्न खान पाएनन् भने मान्छे यसै कमजोर हुन्छन् ।’

भीडले आ–आफ्नो गच्छेअनुसार ताली पिट्यो । लेख्न जान्ने कोही नभएकाले मौखिक सहमति मात्रै भयो ।

‘त्यसो भए हर्के दाइलाई बेची पठाउने काजीलाई आजै राति कब्जामा लिऊँ । डिटेल मागौं । अनि, भोलि बिहानै सिद्ध र भुकुरेलाई हर्के दाइ खोज्न पठाऊँ,’ गुरु डुक्रियो ।

भीडले फेरि आ–आफ्नो गच्छेअनुसार ताली पिट्यो । डसनी मरुभूमिमा ओइरिएको झरी भई ।

त्यो रात मजुवामा कोही भुकेन । कोही डुक्रिएन । कोही म्याउ गरेन । एकपटक छस्याक्कचाहिँ गर्‍यो, जतिबेला काजी मुत्न बाहिर निस्किएको थियो । आधा थैलो खाली गर्दा काजीले देख्यो— उसको आँखै अगाडि दुई थान हरिया आँखा थिए । उसको मूत नलीमै अड्कियो । पैताला उल्टो सार्‍यो, जबसम्म उसका खुट्टा पाटेमा ठोक्किएनन् ।

‘काजी, चुपचाप सरेन्डर गर् । चिच्याइस् भने दुई गासमात्रै होस्,’ लैनसिंहका हरिया आँखा बोले ।

नलीमा अड्किएको मूत सुलुलु बग्दै काजीको जाँगेभरि फैलियो । निधारका स–साना चिराबाट खहरे बर्सियो । छातीको देव्रेतिर जात्राको बाजाजस्तै केही बज्यो । हरेक धमनी र शिरामा बरफजत्तिकै चिसो रगत बग्यो ।

र, बुंग भुइँमा ढल्यो । बज्रिएको आवाज सुनेर भित्रबाट कजिनी हामफाल्दै आई । आई, तर फर्किएर गइन । सिमलनेर लुकेर सेन्ट्री गरिरहेको भुकुरेले लामो हाँक हाल्यो । घरको चारैतिर फैलिएका गुरु, मिल्ली, सिद्ध, माई, हनु र मितुवा दौडिँदै आए ।

आँखा खुल्दा काजी र कजिनी डसनीको गोठमा बाँधिएका थिए । हर्के बाँधिने खाँबोमा काजी थियो । डसनीको दाम्लोमा कजिनी थिई ।

‘हर्के खै ?’ लैनसिंह अधैर्य भएर गर्जियो, ‘कहाँ बेचिस् ? कसले लग्यो ?’

पसिना र गोबरको आहालमा डुबेको काजीको रुद्रघण्टीमा मानौं बडेमानको आलु अड्कियो । आँखा उठाएर कजिनीलाई हेर्‍यो । उसले आँखा बन्द गरी र जोडले डाँको छाडी ।

‘तिमीहरूलाई रुन जिन्दगीभरि छ । बाँच्यौ भने । भन् । छिटो भन्,’ मितुवा अघि सर्‍यो ।

ठसठस कन्दै काजीले केही बोल्यो । कसैले केही बुझेन ।

‘अलि जोडले भन्,’ मितुवा चर्कियो ।

‘शेरबहादुर... शेरबहादुर,’ काजीले आँखा चिम्म गरेर भन्यो, ‘शेरबहादुरले लग्या हो ।’

‘को शेरबहादुर ?’ लैनसिंहले मितुवालाई पछि तान्दै भन्यो ।

‘शेरबहादुर दाहाल ।’

लैनसिंहले यताउति हेर्‍यो । सबै कान ठाडा परेर उभिएका थिए । ऊ काजीनजिक गयो र दाहिने हातले गर्दन समात्यो ।

‘ल नाम, नम्बर सबै भन्,’ लैनसिंह चर्कियो ।

हड्बडाउँदै काजीले खरर नाम, गाडी नम्बर र दलालको ठेगाना भन्यो । लैनसिंह ठूलो बोझबाट उम्किएजस्तो भयो । जोडले हुंकार गर्‍यो ।

‘भुकुरे र सिद्धे सहर जान्छन् । हर्केलाई खोज्छन् । गाउँका आन्दोलन हामी सम्हाल्छौं,’ लैनसिंहले भन्यो, ‘भोलि बिहानबाट नयाँ युग सुरु हुन्छ ।’

सबैले शारीरिक बनावटअनुसार ताली पिटे । डसनी सरासर काजीनेर गई । ऊ बाँधिएको किलो हेरी । त्यसमा अझै हर्केको गन्ध थियो । त्यो किलोमा बाँधिएको काजीको अनुहार हेरी । रिसले नाकका फोरा फर्फराए । आँखा चिम्म गरेर जोडले काजीको मुखमा लात्ता हानी । काजीको नाकबाट तरर तातो रगत बग्यो । उसको रगत देखेर कजिनी निस्लोट भई र गोबरमा पसारिई ।

‘ल, अब हामी हिँड्छौं, आशीर्वाद दिनुस् दिदी,’ भुकुरे आएर डसनीको पाउमा तेर्सियो । ऊसँगै सिद्ध पनि फटफट गर्दै पाउमा घुस्रियो ।

डसनीले रक्ताम्य काजीबाट भुकुरेतिर मुन्टो फर्काई । उसलाई लाग्यो— तीन महिनाअघि ट्रकमा हुलेर बेपत्ता छोरोजस्तै कोही उसको सामु लुट्पुटिएको छ । यसपटक उसले आँसु खस्न दिइन । मायाले उसका थुन कस्सिए । उसको जुरो थरर हल्लियो ।

भुकुरे गोठ पसेर किलो सुँघ्यो र निस्कियो । लैनसिंह, गुरु र मितुवा उसको नजिक गए र सुम्सुम्याए ।

अँध्यारोले गाउँलाई छपक्कै निलिसक्दा भुकुरेको टोली तुलसीपुर बजार कटिसकेको थियो । बाटामा हिँड्ने मान्छेहरू भुकुरेको डाढमा बसेको सिद्धलाई देखेर एकछिन वाल्ल पर्थे । कोही सातो गएझैं बटारिएर दगुर्थे ।

२४ किलोमिटर बाटो छिचोल्न उनीहरूलाई ८ घण्टा लाग्यो । अँध्यारो आकाश बैजनी देखिनै लाग्दा हर्नोकको डाँडामाथि रातो सूर्य टुप्लुक्क उदायो ।

‘सिद्धे, हामीलाई यसरी हिँडेको देखेपछि मान्छेले शंका गर्छन् । तँ माथि–माथिबाटै जा । म तल सोधखोज गर्छु,’ भुकुरे भुक्यो, ‘मलाई हेरिराख्नू । अरू बेला म पुच्छर हल्लाउन्नँ । चाहिएको बेला हल्लाउँछु, तँ कुदेर आउनू ।’

सिद्ध भुर्रर उडेपछि काठमाडौंको नाइट बसले चोकमा मान्छे उतार्‍यो । दसैं मान्न घर आउनेको लस्करले चोक भरियो । भुकुरेले देख्यो— एक जना भर्खरको केटो झिसमिसेमा पनि कालो चस्मा लगाएर बसबाट ओर्लिंदै थियो । भुकुरेका ओइलाएका आँखा र लत्रिएका कानमा मानौं एकैपटक परमाणु बम पड्कियो ।

भुकुरेले सम्झियो— हर्के हराएपछि खोज्दै जाँदा एकदिन ऊ चियापसल पुगेको थियो । त्यहाँ गुचुप्प परेर पढिरहेका मान्छे देखेको थियो । तीमध्ये एक जनाले भनेको सुनेको थियो, ‘हाहाहा... मान्छे भनेको त राँगो पो रै’छ । लास्टै उल्लु बनायो ।’

उनीहरूले पत्रिका त्यहीँ छाडेर गएपछि भुकुरेले सुटुक्क त्यो पत्रिका हेरेको थियो । अक्षर नबुझे पनि त्यहाँ छापिएको फोटो देखेको थियो । उत्सुक भएर गिलास धुने फुच्चेलाई सोधेको थियो, ‘सर, त्यो सम्चार सुनाइदिनुस् न ।’

अचानक चारखुट्टेले ‘सर’ भनेपछि भक्कानिन ठिक्क परेको फुच्चेले भनेको थियो, ‘को होस् बे तँ ?’

भुकुरेले लामो जिब्रो निकालेर भुकेको थियो, ‘भुकुर हुँ सर । हाम्रो गाउँको हर्के दाइ हरा’छन् । खोज्दै हिनेको । ह्याँ राँगो... राँगो... भनेको सुनें । हाम्रै हर्के दाइ हुन् कि ?’

फुच्चेले भुकुरेलाई खरर हेर्‍यो । २ कक्षा पढेर छाडे पनि अक्षर चिन्न सक्थ्यो । उसले पत्रिका बोकेर भुकुरेलाई कुनातिर लग्यो ।

दुई घण्टा पुग्नै लाग्दा फुच्चेले अन्तिम वाक्य पढ्यो, ‘अलि बेरपछि घाँटीमा केही छ्याक्क गर्‍यो । चसक्क भयो ।’

भुकुरे आऊँ परेझैं बटारियो । जिब्रो मुखभित्र हुल्यो । खुट्टाको भरमा थचक्क बस्यो । आँखाबाट बर्बरी आँसु बगायो । फुच्चेले पनि आँखा पुछ्यो ।

‘यो साँच्चैको हैन के, कथा हो,’ उसले भुकुरेलाई सम्झायो, ‘सोची सोची लेखेको । फिलिम जस्तै ।’

भुकुरेलाई कथा र फिल्म के थाहा ! तर, साँच्चैको हैन भनेपछि फेरि जिब्रो निकालेर स्याँस्याँ गर्‍यो । पुच्छर हल्लायो ।

‘यो लेख्ने मान्छेलाई हर्के दाइको बारेमा थाहा होला नि है सर ?’ भुकुरेले सोध्यो ।

‘सर’ भनेको सुनेदेखि नै फुच्चे पग्लिसकेको थियो ।

‘अब काँ छन् काँ,’ फुच्चेले कनीकुथी नाम पढ्यो र भन्यो, ‘बरु यो फोटो हेर्नुस् । पछि चिन्न सजिलो हुन्छ ।’

भुकुरेले त्यो नाम र फोटो क्यामेराको रिलझैं मनमा टाँस्यो ।

० ० ०

पत्रिकाको त्यही मान्छे आँखैअघि देखेपछि भुकुरेले जोडले पुच्छर हल्लायो र माथि हेर्‍यो । एउटा घरको छतमा उभिएको सिद्ध सुइँयय धर्तीमा ओर्लियो ।

कालो चस्मा लगाउने मान्छे झोला बोकेर आफ्नै सुरमा हिँड्यो । उनीहरूले पछ्याए । मूल बाटो छाडेर गल्लीतिर तेर्सिएपछि भुकुरे जोडले अगाडि दौडियो र ठिंग उभियो । सिद्ध उसको पछिपछि लाग्यो ।

बाटो छेकेर उभिएको जन्तु देखेपछि मान्छेका खुट्टा रोकिए । भुकुरेको नाकका पोरा फरफर गरे । मान्छे बिस्तारै पछाडि सर्किन थालेपछि भुकुरे भुक्यो, ‘हल्ट !’

मान्छेले वरपर हेर्‍यो । कोही नदेखेपछि हलचल नगरी मूर्तिझैं उभियो ।

‘भाग्ने कोसिस नगर्नुस् । मैले त रेबिजको सुइँ नि लगाको छैन । ज्यानको माया छ भने त्यहीँ उभिनुस्,’ दाहिने खुट्टाले भुइँ खोस्रिँदै भुकुरे बोल्यो । सिद्ध अलि टाढै बस्यो ।

‘मैले के गरें र ? तिमी को हौ ?’ मान्छे आत्तियो ।

‘केही गर्नुभा छैन । आफ्नो परिचय दिनुस्,’ परैबाट सिद्ध करायो ।

‘मेरो नाम लेनिन बञ्जाडे हो । दसैं मान्न काठमाडौंबाट आ’ हुँ,’ त्यो मान्छेले एकसासमा भन्यो ।

‘हर्के दाइको बारेमा लेख्ने तपाईं हैन ?’ भुकुरेले ढिलो नगरी सोध्यो ।

बस–ल्यागले तन्द्रामै ऐंठन परेझैं त्यो मान्छे निसास्सिएझैं भयो । कालो चस्मा झिकेर टाउकोमा अड्यायो । काँधको झोला भुइँमा राख्यो र आफू पनि टुसुक्क पेटीमा बस्यो ।

‘हो, तर, त्यो त कथा न हो । फिक्सन । कल्पना गरेर लेखेको,’ त्यो मान्छेले स्पष्टीकरण दियो ।

भुकुरेले पत्याएन, ‘त्यो कल्पना सल्पना केही हैन । त्यो टरकमा गएका हाम्रै गाउँका हर्के दाइ हुन् । डसनी दिदीले ८ दिन भो केही नखाएको ।’

हर्के र डसनीको नाम सुनेपछि त्यो मान्छेको टाउकोमा जोडले चट्याङ पर्‍यो । घाम हर्नोकको डाँडा उक्लिएपछि उसको अनुहार अझै प्रस्ट देखियो । भुकुरेले उसको अनुहारमा सल्बलाएको छटपटी देख्यो ।

‘हामीलाई हर्के दाइ गएको ठेगाना भन्दिनुस् र आफ्नो बाटो लाग्नुस्,’ अघिदेखि चुपचाप सुनिरहेको सिद्ध अघि सरेर बोल्यो । सिद्धको तिखो नाक र तेजिला आँखा देखेर मान्छे पसिनामा डुब्यो । ऊसँग कुनै ठेगाना थिएन ।

‘यदि कथाका हर्क तिम्रा हर्क दाइ हुन् भने उनी ज्युँदा छैनन्,’ उसले ठूलो आँट गरेर भन्यो, ‘उनी त्यही दिन म:म: बनिसके । तिमीहरू फर्केर गाउँ जाऊ । उनलाई बेच्ने तुलसीपुरको शेरबहादुर दाहाल हो ।’

काजीले भनेको दलाल र यो मान्छेले भनेको दाहाल एउटै थियो— शेरबहादुर !

भुकुरे थच्च भुइँमा बस्यो । सिद्ध माउ खोसिएको बचेराझैं रोयो । झोला टिपेर परै पुगिसकेको मान्छेले पुलुक्क पछाडि फर्केर हेर्‍यो र चुपचाप तेर्सिएर अलप भयो ।

त्यो दिनभरि भुकुरे र सिद्ध त्यही पेटीमै झोक्राएर बसे । घाम अस्ताउने बेला दर्किएको आकाशतिर फर्किएर भुकुरे जोडले भुक्यो, ‘हर्के दाइ, हाम्लाई माफ गर । तिमी जहाँ भए पनि सुक्खले बसे है !’

उसको आँसु त्यही पानीमा मिसिएर दक्षिण बग्यो ।

भुकुरे टोली दुई दिन त्यही पेटीमा सुत्यो । त्यही पेटीमा उठ्यो, त्यही पेटीमा खायो । सिद्धले खोजेर ल्याएका आन्द्रा र हड्डीले भुकुरेलाई दुई दिन जोगायो । ‘भुसाल फलफूल तथा जुस सेन्टर’ ले फ्याँकेका केरा र स्याउले केही सास जोगायो । फर्किनु त थियो नै । तर, मजुवा फर्केर दिने उत्तर उनीहरूसँग थिएन ।

‘म आजै गएर खबर दिन्छु । धेरै बेर लाग्दैन । एक घण्टामा त पुगिहाल्छु,’ तेस्रो दिन सिद्धले भुकुरेलाई ढाडस दियो र ग्वाम्म अँगालो हाल्यो । छुट्टिएपछि दुई खुट्टालाई जोडले भुइँमा धकेल्यो र धर्ती छोड्यो । भुकुरे आकाशतिर हेरेर धेरै बेरसम्म टोलाइरह्यो ।

० ० ०

मजुवा नपुग्दै भुकुरेले मान्छेहरू चिच्याउँदै भागेको देख्यो । हनुको फौजले बारी सोत्तर पारेको देख्यो । लैनसिंह, पाटे र मितुवाले ज्युँदा मान्छे समात्दै घिसारेको देख्यो । डसनीले भुसका घर भत्काउँदै विलौना गरेको देख्यो ।

र, देख्यो— गोठमा ढाडिएर प्राण त्यागेका काजी र कजिनीलाई । उनीहरूको छेउमा लहरै उभिएका सिद्धका परिवारलाई ।

लैनसिंह दौडिँदै आँगनमा आयो र जोडले हाँक हाल्यो । मजुवाभरि फैलिएका सबै आँगनमा भेला भए । एकजोडी पुतली उड्दै आएर मितुवाको पाखुरामा बस्यो ।

‘आजबाट मजुवा र सुनौलीपुर हाम्रो हो,’ लैनसिंहले आँगनमा किला गाड्दै भन्यो, ‘क–कसलाई कुन घर दिने, छिट्टै निर्णय हुनेछ । त्यो घरमा बस्ने मान्छेहरूले आजबाट हाम्रो सेवा गर्नेछन् । अटेर गर्नेहरू म:म: बन्नेछन् ।’

भीडले पिटेको ताली सुनौलीपुरसम्म सुनियो । घरका ढोका थुनेर लुकेका मान्छेले सास थुनेर झ्यालबाट चिहाए ।

लैनसिंहले थप्यो, ‘जमिनमा पाटे र मितुवाले पहरा दिनेछन् । आकाशबाट सिद्धका परिवारले निगरानी गर्नेछन् । म बूढो भएँ, धेरै ताकत छैन । मैले उत्तराधिकारीका रूपमा डसनीलाई नियुक्त गरेको छु । कसैलाई केही भन्नु छ ?’

कसैलाई केही भन्नु थिएन । स्वागतमा उनीहरूले मजुवा उचाले ।

भोलिपल्ट बिहानै भुकुरे, मितुवा र पाटेलाई अघि लगाएर डसनी सहर निस्किई । सारा तुलसीपुर बजार ढोका र सटर बन्द गरेर लुक्यो । सेना ब्यारेकबाट निस्किएन, प्रहरी पर्खालभित्रै सास थुनेर बस्यो ।

भुकुरे सरासर शेरबहादुरको घरअघि गएर भुक्यो । पाटे र मितुवाले ढोकामा जोडले पञ्जा हाने र भित्र पसे । शेरबहादुर चिच्याउँदै बार्दलीबाट हाम फाल्यो । ऊसँगै अर्को मान्छे पनि भुइँमा बजारियो । उनीहरू गुडुल्किँदै डसनीको पैतालामा गएर ठोक्किए ।

मितुवा नजिक आयो । भुइँमा लम्पसार दुई थान मान्छेलाई कठालोमा समातेर उठायो र सोध्यो, ‘तेरो नाम के हो ?’

‘शेरबहादुर दाहाल,’ एउटाले भन्यो ।

‘पुष्पकमल ओली,’ अर्कोले भन्यो ।

त्यो रात मजुवामा पनि म:म: पाक्यो ।

Twitter: @lendaai

प्रकाशित : आश्विन १५, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?