३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्याफे स्टुडियो

कुकुरको संगत गर्न थाल्नुहोस् । खुसी हुनकै लागि तपाईंले विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त, ऊ कसरी नाचिरहेको छ तपाईंवरिपरि ।
मनिषा गौचन

अनेकन पात्र भएर जिन्दगी जिउन कथा लेख्छु, चाहे त्यो एक सुकोमल बालक होस् या कुख्यात डाँकू । चाहे सामान्य आइमाइ हुन्, या वीरंगना । र, गुजारा चलाउने देहव्यापारी होस् या यौनको लतले बिग्रिएकी आइमाई अनि चाहे ती पशुपंक्षी हुन् या प्रकृति । मेरा कथा यही समाज चल्ने क्रममा एकअर्कासँग ठोक्किएर बलेका झिल्का हुन् ।

क्याफे स्टुडियो

– कथाकार

...

यतिबेला म महिला हिंसा न्यूनीकरणअन्तर्गत परियोजनाको त्रैमासिक प्रतिवेदन तयार पार्दै छु । घरमा काम गर्ने वातावरण नभएकाले यो कामका लागि म बौद्ध नजिकैको गेस्टहाउसमा कोठा लिएर बसेकी छु । कोठाबाट बौद्धनाथको स्तूप राम्रैसँग देखिन्छ । झ्यालबाट स्तूप देखिने भएकैले यो कोठा मेरो रोजाइमा परेको हो । यसभन्दा अघि पनि तीनचार पटक आइसकेकाले गेस्टहाउसकी सञ्चालक दिदीले मलाई चिनिसकेकी छन् । हामीबीच मुस्कान साटासाट हुनेगर्छ । कुरा साटासाट हुन भने पाएको छैन । कुनै दिन उनीसँग बसेर कुरा गर्नेछु भन्ने पनि लाग्छ, तर मलाई मान्छेभित्र पस्न डर लाग्छ अचेल । महिला हिंसाको क्षेत्रमा काम गर्दागर्दै कतै थाकिसकेँ कि जस्तो पनि लाग्छ ।

आज मलाई गेस्टहाउसमा खाना खान मन लागेको छैन । त्यसो त तीन दिनदेखि लगातार एउटै कोठाभित्र उही ल्यापटपसँग चल्दाचल्दै थाकिसकेँजस्तो लाग्छ । कुनै बेला पट्यार लाग्दा बौद्धनाथका आँखाहरूसँग मौन संवादमा रमाउँछु । यस्तो पनि कति गर्नु, त्यसैले बाहिर निस्कन्छु । मलाई देखेर काउन्टरमा उभिएकी दिदी मुसुक्क हाँस्छिन् । उनको सुनको दात टिलिक्क टल्किन्छ । आज घामले अरू वस्तुहरू पनि टल्केका छन् । घाम लागेकै भएर पनि हो मलाई बाहिर निस्कन मन लागेको !

उस्तै प्रकृतिका पसलहरू लाइनै छन् । मोटरसाइकलको खचाखच उस्तै छ । बाटो नखुलिरहेको अवस्थामा ट्याक्सीहरू पनि घुस्न आउँछन् । सहरमा सलहजस्तै फैलिएका छन् मान्छे । सलहले बाली खाएर विनाश गरिदिन्छ, तर यी सलह–मान्छेले त बाली फल्ने फाँटै खाइदिइसकेको छ । मैले थाहा पाउँदापाउँदै काठमाडौँका हरिया फाँट सकिँदै गए । अहिले त भित्ताहरूसँगै जंगल पनि सकिँदै छ ।

म तीनचुलीपट्टि मोडिन्छु । अलि भित्र गएपछि दायाँपट्टि एउटा क्याफे देख्छु । नाम लेखिएको छ– क्याफे स्टुडियो । त्यहाँको बाहिरी एम्बियन्सले नै मलाई आकर्षित गर्छ । धेरै झिलमिल नभएको, काठका सिम्पल झ्यालहरू भएको क्याफेभित्रका भित्ताहरूमा फोटो नै फोटो छन् । प्रायः फोटाहरू कुकुरकै छन् । काउन्टरमा एउटा डोनेसन बक्स छ । बक्समा लेखिएको छ– ‘सडकका कुकुरलाई माया गरौं ।’

०००

एकाएक मेरो आँखासामुन्ने हरिणाको आकृति सलबलाउँछ । केही अग्ली, हल्का मोटी, चम्किलो अनुहार, सुन्दर आँखा, छोटाछोटा मसिना कपाल भएको त्यो आकृति मेरो मिल्ने साथी हरिणाको हो । हरिणको जस्तो सुन्दर आँखा भएकाले उसको नाम हरिणा राखिएको रे । तर, उसलाई आफ्नो नाम कहिल्यै मन परेको थिएन । म उसलाई हरिणा मोटी, हरिणा काली, हरिणा जोक्कर भन्दै जिस्क्याउँथेँ । ऊ रिसाएझैँ गर्थी, तर पनि खुसी हुन्थी ।

कलेजमा भेट भएदेखि नै हामी यति धेरै मिल्ने भयौँ । तर, उसको र मेरो अवस्था धेरै फरक थियो । म काठमाडौँकी रैथाने थिएँ, ऊ पढ्नकै लागि तराईबाट आएकी जमिनदारकी छोरी । दाइहरूसँगै बस्थी ऊ । मलाई उसले आफ्नो कोठामा एकपटक लगेकी थिई । नीलो रङको स्टोभ बालेर चाउचाउ पकाएर खुवाएकी पनि थिई । चाउचाउ खाइसकेपछि ‘आमाले बनाउनुभएको’ भनेर पेडा पनि चखाएकी थिई । त्यो पेडा यति स्वादिष्ट थियो कि अहिले सम्झँदा पनि जिब्रो रसाउँछ ।

उसको र मेरो अर्को फरक बानी थियो । ऊ बाटोमा भेटेजति कुकुरलाई माया गर्थी । म भने कुकुरको नजिक कहिल्यै पर्दिनथें । एक दिन हामी एउटा रेस्टुरेन्टमा खाजा खाँदै थियौँ । खाजा खाँदै गरेको ठाउँमा एउटा कुकुर आयो । उसका स्तनहरू झोल्लिएका थिए । हरिणाले दूध र बिस्कुट अर्डर गरी र त्यो कुकुरलाई टन्न खुवाई । कुकुर पुच्छर हल्लाउँदै गयो । पारी अर्को सटरको कुनामा उसका बच्चाहरू कुइँकुइँ कराइरहेका थिए । म आफ्नै धुनमा थिएँ । खासमा हरिणाले जे गरिरहेकी थिई, त्यसमा मलाई खासै वास्ता थिएन । बरु मेरो कुरा नसुनेरै कुकुरलाई नै बढी ध्यान दिएकामा अलि चित्त दुखाउँदै थिएँ । अचानक सडकमा कुकुर चिच्याएको आवाज आयो ।

हरिणा जुरुक्क उठी र सडकतिर दौडिई । म पनि उसको पछिपछि लागेँ । उसले भर्खरै दूध बिस्कुट खुवाएको कुकुरमाथि एउटा चिल्लो कारको टायर थियो । कारको रङ रातो थियो, कुकुरको नाकबाट भुलभुल बगेको रगतजस्तै । चालकले गाडी केही ब्याक गर्‍यो । कुकुर छटपटाइरहेको थियो ।

हरिणाले पहिले कुकुरलाई उचाली । उसले अन्तिम सास हरिणाकै हातमा फेर्‍यो । एकाएक आँसुले भरिएका उसका आँखा रिसले राताराता भए ।

‘तँलाई अर्काको ज्यानको माया लाग्दैन ? साला किलर...!,’ हरिणाले गाडीचालकलाई जोडले थर्काई ।

उसले फेरि थपी, ‘तेरो बच्चा छ कि छैन घरमा ? तेरो आमा छ कि छैन घरमा... ऊ हेर्, यसको बच्चा... अब तँ खुवाउँछस् दूध ?’

उताबाट कुकुरका बच्चाहरू छुनुमुनु गर्दै आए र मरिसकेको आमाको दूध चुस्न थाले । यो दृश्य देखेर हरिणा भक्कानो छोडेर रोई । गाडीचालक केही बोल्न सकेन । उसले गाडी फनक्क घुमायो र जहाँबाट आएको त्यही बाटो फर्क्यो । जानु त उसलाई अगाडि थियो, खोइ किन पछाडि फर्क्यो, मैले बुझ्न सकिनँ । उसको निधारको दाहिने भागमा टाढैबाट देखिने पुरानो चोटको दाग थियो । मलाई लाग्यो, आज हरिणाको गालीले उसको मनमा एउटा चोट थपियो ।

कुकुरका बच्चाहरू काखमा लिएर हरिणा रोइरही । सेता, काला छिर्केमिर्के, खैरा, पूरै सेता, पूरै काला पाँचवटा बच्चाहरू थिए ।

‘अब के गर्छेस् ?’, मैले सोधेँ ।

‘कोठामा लैजाऊँ भने दाइहरूलाई राम्रो लाग्दैन । अब सेल्टरमा लगिदिन्छु । कि तँ पाल्छेस् त एउटा ? तेरो त आफ्नो घर पनि छ । यहाँ... मलाई दिने नाम यसैलाई दे... ।’

मैले उसको यो प्रस्ताव स्विकार्न सकिनँ । किनकि मलाई कुकुर भनेपछि मनै पर्दैनथ्यो । मन नपर्नुको कारण यत्ति हो, सानो बेला एउटा कुकुरले झम्टेर मेरो नयाँ लुगा मैलो पारिदिएको थियो ।

उसले मलाई सम्झाई, ‘हेर् कुकुरजस्तो साथी कोही पनि हुन सक्दैन... ।’

‘म पनि ?,’ मेरो प्रश्न थियो ।

उसले जवाफ दिएकी थिई, ‘एस्... ह्वाई नट ।’

अनि उसले भनी, ‘हेर् म त कुकुरसँग हुर्केको मान्छे हुँ । दाइले मान्ने भए यहाँ कोठामा पनि पाल्थें, तर घरबेटीले गाली गर्छ भनेर राख्नै दिनुहुन्न ।’

अन्ततः कुकुरका बच्चाहरू उसले एउटा सेल्टरमा लगेर छोडी । उनीहरूलाई दूध, बिस्कुट दिन आफूलाई घरबाट दिएको पकेट खर्च बचाउन थाली । कुकुरप्रतिको उसको लगाव देखेर कहिले त म हैरान हुन्थेँ ।

ऊ र मबीच कुनै कुरा नमिले पनि हाम्रो मनको कुरा भने मिलिरहन्थ्यो । ऊ मेरो यस्तो साथी थिई, जसलाई म सबैथोक सुनाउन सक्थें ।

समयसँगसँगै हाम्रो पढाइ अगाडि बढिरहेको थियो । स्नातक तह सकेपछि ऊ स्नातकोत्तरका लागि अस्ट्रेलिया पढ्न गई । उसको पढाइ राम्रो थियो र स्कोर पनि । त्यसैले सजिलै भिसा पाई । मलाई भने विदेश जानु थिएन । मेरो परिवारका मान्छेहरू सबै बिदेसिएर घर उजाडिएको थियो । मलाई त आफ्नै घर प्रिय लाग्थ्यो ।

हरिणा गई । मलाई छोडेर गई । गएको दुई वर्षपछि समुद्रमा डुबेर उसको मृत्यु भएको खबर कुनै एउटा अनलाइन पोर्टलमा छापिएर आयो । म छाँगाबाट खसेझैँ भएँ । ऊ आफैं डुबेकी थिई या कसैले हत्या गरेर फालेको थियो, कुनै पत्तो भएन ।

०००

भित्तामा टाँस्सिएका कुकुरका तस्बिरमा टोलाउँदै हरिणालाई सम्झिदै थिएँ, एक युवक मलाई भद्रताका साथ स्वागत गर्छ । उसलाई कतै देखेजस्तो लाग्यो । उसको निधारको दायाँ भागमा रहेको दाग देखेर झल्याँस्स सम्झें– ऊ वास्तवमा त्यही व्यक्ति थियो, जसले चलाएको गाडीको ठक्करबाट केही वर्षअघि मात्रै हरिणाले बिस्कुट, दूध खुवाएको कुकुर मरेको थियो । त्यही कुकुरको सम्झनामा ऊ सायद यो सिंगो क्याफे सञ्चालन गरेर बसेको थियो । मैले पुरानो दिनको कुरा केही भन्न चाहिनँ । केहीबेरमै एउटा कुकुर पुच्छर हल्लाउँदै मतिर आयो । म डराएजस्तो गरेँ । तर, उसले भन्यो, ‘कुकुरले माया गर्ने मान्छे चिन्छ, नडराउनुस्... ।’

‘तर, म माया गर्दिनँ कुकुरलाई ।’

‘त्यसो भए किन आउनुभयो यहाँ ? यहाँ त कुकुरलाई माया गर्नेहरू मात्रै आउँछन् । तपाईंले देख्नुभएन यो क्याफेको गेटमा ?’

‘अहँ... !’

‘बाहिर गएर हेर्नुस् त...’

मैले बाहिर निस्केर गेटमा झुन्ड्याएको नोटिस बोर्डमा हेरें । त्यहाँ लेखिएको थियो, ‘कुकुरलाई माया गर्नेहरूका लागि मात्र... ।’

म अवाक भएँ । त्यो युवक मलाई हेरेर मुस्कायो र भन्यो, ‘कुकुरको संगत गर्न थाल्नुहोस् । तपाईंलाई खुसी हुनकै लागि विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त ऊ कसरी नाचिरहेको छ तपाईंको वरिपरि... ।’

हुन पनि त्यो कुकुर मेरै वरिपरि घुमिरहेको थियो । मैले सोचें, हरिणाको गन्ध अझै बाँकी रहेछ मसँग । अनायासै औंलाहरू त्यो कुकुरको शरीरमा खेल्न पुग्छन् । कुकुर झनै लपक्क मसँग टाँस्सिन आउँछ । उसका आँखामा हेर्छु, मलाई अचम्मको अनुभूति हुन्छ ।

यति मायालुसँग मलाई आजसम्म कसैले पनि हेरेको थिएन । अहो ! कत्ति गहिरो स्नेहसागर छ, यो कुकुरको आँखामा... । मलाई लाग्छ, हरिणाका आँखाहरू हुन् यी ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?