क्याफे स्टुडियो- कोसेली - कान्तिपुर समाचार

क्याफे स्टुडियो

कुकुरको संगत गर्न थाल्नुहोस् । खुसी हुनकै लागि तपाईंले विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त, ऊ कसरी नाचिरहेको छ तपाईंवरिपरि ।
मनिषा गौचन

अनेकन पात्र भएर जिन्दगी जिउन कथा लेख्छु, चाहे त्यो एक सुकोमल बालक होस् या कुख्यात डाँकू । चाहे सामान्य आइमाइ हुन्, या वीरंगना । र, गुजारा चलाउने देहव्यापारी होस् या यौनको लतले बिग्रिएकी आइमाई अनि चाहे ती पशुपंक्षी हुन् या प्रकृति । मेरा कथा यही समाज चल्ने क्रममा एकअर्कासँग ठोक्किएर बलेका झिल्का हुन् ।

– कथाकार

...

यतिबेला म महिला हिंसा न्यूनीकरणअन्तर्गत परियोजनाको त्रैमासिक प्रतिवेदन तयार पार्दै छु । घरमा काम गर्ने वातावरण नभएकाले यो कामका लागि म बौद्ध नजिकैको गेस्टहाउसमा कोठा लिएर बसेकी छु । कोठाबाट बौद्धनाथको स्तूप राम्रैसँग देखिन्छ । झ्यालबाट स्तूप देखिने भएकैले यो कोठा मेरो रोजाइमा परेको हो । यसभन्दा अघि पनि तीनचार पटक आइसकेकाले गेस्टहाउसकी सञ्चालक दिदीले मलाई चिनिसकेकी छन् । हामीबीच मुस्कान साटासाट हुनेगर्छ । कुरा साटासाट हुन भने पाएको छैन । कुनै दिन उनीसँग बसेर कुरा गर्नेछु भन्ने पनि लाग्छ, तर मलाई मान्छेभित्र पस्न डर लाग्छ अचेल । महिला हिंसाको क्षेत्रमा काम गर्दागर्दै कतै थाकिसकेँ कि जस्तो पनि लाग्छ ।

आज मलाई गेस्टहाउसमा खाना खान मन लागेको छैन । त्यसो त तीन दिनदेखि लगातार एउटै कोठाभित्र उही ल्यापटपसँग चल्दाचल्दै थाकिसकेँजस्तो लाग्छ । कुनै बेला पट्यार लाग्दा बौद्धनाथका आँखाहरूसँग मौन संवादमा रमाउँछु । यस्तो पनि कति गर्नु, त्यसैले बाहिर निस्कन्छु । मलाई देखेर काउन्टरमा उभिएकी दिदी मुसुक्क हाँस्छिन् । उनको सुनको दात टिलिक्क टल्किन्छ । आज घामले अरू वस्तुहरू पनि टल्केका छन् । घाम लागेकै भएर पनि हो मलाई बाहिर निस्कन मन लागेको !

उस्तै प्रकृतिका पसलहरू लाइनै छन् । मोटरसाइकलको खचाखच उस्तै छ । बाटो नखुलिरहेको अवस्थामा ट्याक्सीहरू पनि घुस्न आउँछन् । सहरमा सलहजस्तै फैलिएका छन् मान्छे । सलहले बाली खाएर विनाश गरिदिन्छ, तर यी सलह–मान्छेले त बाली फल्ने फाँटै खाइदिइसकेको छ । मैले थाहा पाउँदापाउँदै काठमाडौँका हरिया फाँट सकिँदै गए । अहिले त भित्ताहरूसँगै जंगल पनि सकिँदै छ ।

म तीनचुलीपट्टि मोडिन्छु । अलि भित्र गएपछि दायाँपट्टि एउटा क्याफे देख्छु । नाम लेखिएको छ– क्याफे स्टुडियो । त्यहाँको बाहिरी एम्बियन्सले नै मलाई आकर्षित गर्छ । धेरै झिलमिल नभएको, काठका सिम्पल झ्यालहरू भएको क्याफेभित्रका भित्ताहरूमा फोटो नै फोटो छन् । प्रायः फोटाहरू कुकुरकै छन् । काउन्टरमा एउटा डोनेसन बक्स छ । बक्समा लेखिएको छ– ‘सडकका कुकुरलाई माया गरौं ।’

०००

एकाएक मेरो आँखासामुन्ने हरिणाको आकृति सलबलाउँछ । केही अग्ली, हल्का मोटी, चम्किलो अनुहार, सुन्दर आँखा, छोटाछोटा मसिना कपाल भएको त्यो आकृति मेरो मिल्ने साथी हरिणाको हो । हरिणको जस्तो सुन्दर आँखा भएकाले उसको नाम हरिणा राखिएको रे । तर, उसलाई आफ्नो नाम कहिल्यै मन परेको थिएन । म उसलाई हरिणा मोटी, हरिणा काली, हरिणा जोक्कर भन्दै जिस्क्याउँथेँ । ऊ रिसाएझैँ गर्थी, तर पनि खुसी हुन्थी ।

कलेजमा भेट भएदेखि नै हामी यति धेरै मिल्ने भयौँ । तर, उसको र मेरो अवस्था धेरै फरक थियो । म काठमाडौँकी रैथाने थिएँ, ऊ पढ्नकै लागि तराईबाट आएकी जमिनदारकी छोरी । दाइहरूसँगै बस्थी ऊ । मलाई उसले आफ्नो कोठामा एकपटक लगेकी थिई । नीलो रङको स्टोभ बालेर चाउचाउ पकाएर खुवाएकी पनि थिई । चाउचाउ खाइसकेपछि ‘आमाले बनाउनुभएको’ भनेर पेडा पनि चखाएकी थिई । त्यो पेडा यति स्वादिष्ट थियो कि अहिले सम्झँदा पनि जिब्रो रसाउँछ ।

उसको र मेरो अर्को फरक बानी थियो । ऊ बाटोमा भेटेजति कुकुरलाई माया गर्थी । म भने कुकुरको नजिक कहिल्यै पर्दिनथें । एक दिन हामी एउटा रेस्टुरेन्टमा खाजा खाँदै थियौँ । खाजा खाँदै गरेको ठाउँमा एउटा कुकुर आयो । उसका स्तनहरू झोल्लिएका थिए । हरिणाले दूध र बिस्कुट अर्डर गरी र त्यो कुकुरलाई टन्न खुवाई । कुकुर पुच्छर हल्लाउँदै गयो । पारी अर्को सटरको कुनामा उसका बच्चाहरू कुइँकुइँ कराइरहेका थिए । म आफ्नै धुनमा थिएँ । खासमा हरिणाले जे गरिरहेकी थिई, त्यसमा मलाई खासै वास्ता थिएन । बरु मेरो कुरा नसुनेरै कुकुरलाई नै बढी ध्यान दिएकामा अलि चित्त दुखाउँदै थिएँ । अचानक सडकमा कुकुर चिच्याएको आवाज आयो ।

हरिणा जुरुक्क उठी र सडकतिर दौडिई । म पनि उसको पछिपछि लागेँ । उसले भर्खरै दूध बिस्कुट खुवाएको कुकुरमाथि एउटा चिल्लो कारको टायर थियो । कारको रङ रातो थियो, कुकुरको नाकबाट भुलभुल बगेको रगतजस्तै । चालकले गाडी केही ब्याक गर्‍यो । कुकुर छटपटाइरहेको थियो ।

हरिणाले पहिले कुकुरलाई उचाली । उसले अन्तिम सास हरिणाकै हातमा फेर्‍यो । एकाएक आँसुले भरिएका उसका आँखा रिसले राताराता भए ।

‘तँलाई अर्काको ज्यानको माया लाग्दैन ? साला किलर...!,’ हरिणाले गाडीचालकलाई जोडले थर्काई ।

उसले फेरि थपी, ‘तेरो बच्चा छ कि छैन घरमा ? तेरो आमा छ कि छैन घरमा... ऊ हेर्, यसको बच्चा... अब तँ खुवाउँछस् दूध ?’

उताबाट कुकुरका बच्चाहरू छुनुमुनु गर्दै आए र मरिसकेको आमाको दूध चुस्न थाले । यो दृश्य देखेर हरिणा भक्कानो छोडेर रोई । गाडीचालक केही बोल्न सकेन । उसले गाडी फनक्क घुमायो र जहाँबाट आएको त्यही बाटो फर्क्यो । जानु त उसलाई अगाडि थियो, खोइ किन पछाडि फर्क्यो, मैले बुझ्न सकिनँ । उसको निधारको दाहिने भागमा टाढैबाट देखिने पुरानो चोटको दाग थियो । मलाई लाग्यो, आज हरिणाको गालीले उसको मनमा एउटा चोट थपियो ।

कुकुरका बच्चाहरू काखमा लिएर हरिणा रोइरही । सेता, काला छिर्केमिर्के, खैरा, पूरै सेता, पूरै काला पाँचवटा बच्चाहरू थिए ।

‘अब के गर्छेस् ?’, मैले सोधेँ ।

‘कोठामा लैजाऊँ भने दाइहरूलाई राम्रो लाग्दैन । अब सेल्टरमा लगिदिन्छु । कि तँ पाल्छेस् त एउटा ? तेरो त आफ्नो घर पनि छ । यहाँ... मलाई दिने नाम यसैलाई दे... ।’

मैले उसको यो प्रस्ताव स्विकार्न सकिनँ । किनकि मलाई कुकुर भनेपछि मनै पर्दैनथ्यो । मन नपर्नुको कारण यत्ति हो, सानो बेला एउटा कुकुरले झम्टेर मेरो नयाँ लुगा मैलो पारिदिएको थियो ।

उसले मलाई सम्झाई, ‘हेर् कुकुरजस्तो साथी कोही पनि हुन सक्दैन... ।’

‘म पनि ?,’ मेरो प्रश्न थियो ।

उसले जवाफ दिएकी थिई, ‘एस्... ह्वाई नट ।’

अनि उसले भनी, ‘हेर् म त कुकुरसँग हुर्केको मान्छे हुँ । दाइले मान्ने भए यहाँ कोठामा पनि पाल्थें, तर घरबेटीले गाली गर्छ भनेर राख्नै दिनुहुन्न ।’

अन्ततः कुकुरका बच्चाहरू उसले एउटा सेल्टरमा लगेर छोडी । उनीहरूलाई दूध, बिस्कुट दिन आफूलाई घरबाट दिएको पकेट खर्च बचाउन थाली । कुकुरप्रतिको उसको लगाव देखेर कहिले त म हैरान हुन्थेँ ।

ऊ र मबीच कुनै कुरा नमिले पनि हाम्रो मनको कुरा भने मिलिरहन्थ्यो । ऊ मेरो यस्तो साथी थिई, जसलाई म सबैथोक सुनाउन सक्थें ।

समयसँगसँगै हाम्रो पढाइ अगाडि बढिरहेको थियो । स्नातक तह सकेपछि ऊ स्नातकोत्तरका लागि अस्ट्रेलिया पढ्न गई । उसको पढाइ राम्रो थियो र स्कोर पनि । त्यसैले सजिलै भिसा पाई । मलाई भने विदेश जानु थिएन । मेरो परिवारका मान्छेहरू सबै बिदेसिएर घर उजाडिएको थियो । मलाई त आफ्नै घर प्रिय लाग्थ्यो ।

हरिणा गई । मलाई छोडेर गई । गएको दुई वर्षपछि समुद्रमा डुबेर उसको मृत्यु भएको खबर कुनै एउटा अनलाइन पोर्टलमा छापिएर आयो । म छाँगाबाट खसेझैँ भएँ । ऊ आफैं डुबेकी थिई या कसैले हत्या गरेर फालेको थियो, कुनै पत्तो भएन ।

०००

भित्तामा टाँस्सिएका कुकुरका तस्बिरमा टोलाउँदै हरिणालाई सम्झिदै थिएँ, एक युवक मलाई भद्रताका साथ स्वागत गर्छ । उसलाई कतै देखेजस्तो लाग्यो । उसको निधारको दायाँ भागमा रहेको दाग देखेर झल्याँस्स सम्झें– ऊ वास्तवमा त्यही व्यक्ति थियो, जसले चलाएको गाडीको ठक्करबाट केही वर्षअघि मात्रै हरिणाले बिस्कुट, दूध खुवाएको कुकुर मरेको थियो । त्यही कुकुरको सम्झनामा ऊ सायद यो सिंगो क्याफे सञ्चालन गरेर बसेको थियो । मैले पुरानो दिनको कुरा केही भन्न चाहिनँ । केहीबेरमै एउटा कुकुर पुच्छर हल्लाउँदै मतिर आयो । म डराएजस्तो गरेँ । तर, उसले भन्यो, ‘कुकुरले माया गर्ने मान्छे चिन्छ, नडराउनुस्... ।’

‘तर, म माया गर्दिनँ कुकुरलाई ।’

‘त्यसो भए किन आउनुभयो यहाँ ? यहाँ त कुकुरलाई माया गर्नेहरू मात्रै आउँछन् । तपाईंले देख्नुभएन यो क्याफेको गेटमा ?’

‘अहँ... !’

‘बाहिर गएर हेर्नुस् त...’

मैले बाहिर निस्केर गेटमा झुन्ड्याएको नोटिस बोर्डमा हेरें । त्यहाँ लेखिएको थियो, ‘कुकुरलाई माया गर्नेहरूका लागि मात्र... ।’

म अवाक भएँ । त्यो युवक मलाई हेरेर मुस्कायो र भन्यो, ‘कुकुरको संगत गर्न थाल्नुहोस् । तपाईंलाई खुसी हुनकै लागि विश्व परिक्रमा गर्नु पर्दैन । बरु कुकुरले नै तपाईंको परिक्रमा गरेर भरपूर खुसी दिने कोसिस गर्छ । नपत्याए हेर्नुस् त ऊ कसरी नाचिरहेको छ तपाईंको वरिपरि... ।’

हुन पनि त्यो कुकुर मेरै वरिपरि घुमिरहेको थियो । मैले सोचें, हरिणाको गन्ध अझै बाँकी रहेछ मसँग । अनायासै औंलाहरू त्यो कुकुरको शरीरमा खेल्न पुग्छन् । कुकुर झनै लपक्क मसँग टाँस्सिन आउँछ । उसका आँखामा हेर्छु, मलाई अचम्मको अनुभूति हुन्छ ।

यति मायालुसँग मलाई आजसम्म कसैले पनि हेरेको थिएन । अहो ! कत्ति गहिरो स्नेहसागर छ, यो कुकुरको आँखामा... । मलाई लाग्छ, हरिणाका आँखाहरू हुन् यी ।

प्रकाशित : आश्विन १५, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

नाविकहरूका लोक-लय

नदीहरू दु:खका विम्ब हुन् । यिनका आसपास यिनकै आश्रयमा जीविकोपार्जन गर्ने भुइँमानिसका दु:खकष्ट अवर्णनीय छ । यही दु:खकष्टलाई आधार बनाएर सिर्जिएका छन् कैंयौ माझी, मछुवारे र नाविकका विरहलाग्दा भाका ।
नदीहरू संकटमा छन् । नदीका छालसँगै युगौंदेखि सलल बगेका अन्तराहरूले आज पनि नदीसँग स्थानीयको विशिष्ट सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध बोकिरहेकै छन् ।
युवराज भट्टराई

सन् १९३८ को कुरा हो, एल्लो रिभर किनाराको वुहान सहर जापानीहरूको कब्जामा थियो । चिनियाँ कवि तथा तत्कालीन लाल सेनाका तेस्रो स्क्वाड कमान्डर गुयान ओयराङ्ग जापानीविरुद्धको युद्धमोर्चामा जनसेनाको जत्था लिएर एल्लो रिभर तर्दै थिए ।

ठूला–ठूला छालसँग पौंठेजोरी खेल्दै स्थानीय माझीहरूले जोसिलो भाका हालेर जीवन र मृत्युको दोसाँधमा एल्लो रिभर तारेका थिए । पछि यही भाकालाई रूपान्तरित गर्दै ओयराङ्गले एल्लो रिभरमाथि गीतिकाव्य सिर्जना गरे । तत्कालै यसलाई सिन सिङ्ग होइले ‘एल्लो रिभर क्यान्टाटा’ को रूपमा संगीतबद्ध गरे ।

डुंगा तार्ने माझीको जोसिलो भाकाबाट जन्मिएको ‘एल्लो रिभर क्यान्टाटा’ ले चीनकै सामरिक महत्त्वको नदी एल्लो रिभरको गुणगान मात्र गाउँदैन, सँगसँगै चिनियाँ बहादुर योद्धाहरूको युद्धगाथा पनि भन्छ र जापानिज उपनिवेशविरुद्ध जुझारु रूपमा लड्न अभिप्रेरित गर्छ । क्यान्टाटामा ‘माझीको गीत’, ‘एल्लो रिभरलाई सम्बोधन’, ‘एल्लो रिभरको रक्षा गर’ लगायतका आठ छोटा गीत छन् । ओयराङ्गका छोरा आङ झाङले ‘अ सङ फर चाइना : हाउ माई फादर रट एल्लो रिभर क्यान्टाटा’ पुस्तकमा यस गीतको रचनागर्भ र स्वतन्त्रताको युद्धमा यसको महत्त्वबारे विस्तृत लेखेका छन् ।

ताई पर्वतबाट सुरु भएर जापानी सिमानाको पूर्वी किनारामा गएर मिसिने एल्लो रिभर चीनको धमनी हो र यसको रक्षा गर्नु मुलुककै रक्षा गर्नु थियो । जापानिजसँगको युद्धमा समेत यो नदीको विशेष महत्त्व थियो । १९७६ पछि सुधारवादी अर्थनीति अख्यियार गरिएपछि मुलुक र नागरिकको उज्ज्वल भविष्यको आशा गर्दै गीतकार चाओ योङले पनि एल्लो रिभरमाथि नै अर्को प्रसिद्ध राष्ट्रवादी गीत लेखेका छन् । गीतले भन्छ, ‘हामी एल्लो रिभर हौं,... एल्लो रिभरझैं हाम्रा पूर्वजहरूको एतिहास हजारौं वर्ष बगिरहनेछ निरन्तर !’

त्यसयता चीन र चिनियाँ जनताको सभ्यता, संस्कृति र समृद्धिले अकल्पनीय एतिहासिक फड्को मारेको छ । एल्लो रिभरझैं अनवरतसँग उनीहरू बगिरहेकै छन् । तर, दु:खको कुरा, अहिले यही एल्लो रिभरको पानीको सतह भने अकल्पनीयसँग घटेको छ ।

एल्लो रिभर मात्र होइन, अहिले सम्पूर्ण नदी संकटमा छन् । पानीको सतह घट्नु मात्रै संकटको कारण होइन । ठूला–ठूला बाँध र हाइड्रोपावरका कारण प्राय: नदी आफ्नो परम्परागत स्वरूपमा छैनन् । तर, ती नदीका छालहरूसँगै युगौंदेखि सलल बगेका अन्तराहरूले भने आज पनि नदीसँग स्थानीयको विशिष्ट सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध बोकिरहेका छन् । र, नदीसँगको मानिसका बहुआयमिक सम्बन्ध केलाउन अन्त कहीँ पुगिराख्नु पर्दैन, नदीमाथि सुसाइएका केही प्रतिनिधि भाका सुने पुग्छ ।

नदी र लोकभाका

उत्कृष्ट अमेरिकी लोकगीतहरूको सूचीमा समाविष्ट ‘ओ सेनान्दो’ लाई पहिलो पटक कहिले गाइयो ठ्याक्कै यकिन छैन । यसको मूल भर्सन कुन हो, किटान गर्न सकिन्न । मिजौरी नदीमा डुंगामा लामो यात्रा गर्दा थकाइबाट मुक्ति खोज्दै स्वस्फूर्त सिर्जना गरिएको एउटा ‘क्यानी सङ’ (नौका गीत) हो ‘ओ सेनान्दो’ । यद्यपि यो लोकगीतलाई पिट सिजरदेखि पल रब्सनजस्ता धेरै हस्तीले विभिन्न भर्सनमा गाइसकेका छन् । तर, जसले जसरी गाए पनि ‘ओ सेनान्दो’ ले कुनै लिजेन्ड गायकको स्वर र संयोजनसँग खासै महत्त्व राख्दैन । यसले कसैमाथि विशिष्ट अर्थ राख्छ भने ती हुन्– तत्कालीन मिजौरी अर्थात् सेनान्दो नदीमा डुंगा खियाएर अमेरिका छिचोल्ने नाविकहरू, मिजौरी नदीको पारवहन महत्त्व, त्यहाँका सेनान्दो उपत्यका र आदिवासीहरू । जसरी सेनान्दो नदी बगिरहन्छ त्यसरी नै अमेरिकी सभ्यताको इतिहास बोकेर गुन्जिरहन्छ यो नाविकहरूको लोक लय ‘ओ सेनान्दो’ ।

अमेरिकी आदिवासीको त्यो प्राचिन भूमिमा सबैभन्दा पुरानो रैथाने कोही थियो भने ती थिए– सेनान्दो नदी, सेनान्दो उपत्यका र सेनान्दो आदिवासी । अनि त्यो आदिम भूमि छिलोल्ने कुनै रुट थियो भने त्यो थियो सेनान्दो नदी । हो, त्यही घुम्ती नै घुम्ती भएर अविरल बग्ने सेनान्दोको ढाडमा नौका खियाउँदै अमेरिकाको भित्री भाग छचोलेका थिए युरोपियन आप्रवासीहरूले । यसरी नै महिनौं लामो नौका यात्राका क्रममा नाविकहरूले सिर्जेका थिए– ओ सेनान्दो । गीतको अन्तराले भन्छ – ‘ओ सेनान्दो तिम्रो हालखबर के छ/तिमी सलल बगिरहेकी भब्य मिजौरी हौं ।’ यहाँ सेनान्दो शब्दले नदी र युवती दुवैलाई सम्बोधन गर्छ । स्थानीय अदिवासी मुखियालाई पनि सम्बोधन गर्छ– ‘ओ सेनान्दो, म तिम्री छोरीलाई प्रेम गर्छु ।’

त्यसो त यो गीतले नाविकको एकतर्फी प्रेमको सौन्दर्य पनि पोख्छ– ‘ओ सेनान्दो तिमीलाई एक झल्को हेर्न मैले सात वर्ष पर्खें ।’ यसबाट आकलन गर्न सकिन्छ, नाविकको यात्रा साँच्चिकै लम्बेतान थियो । फेरि फर्कने/नफर्कने केही टुंगो थिएन, फर्किहाले पनि वर्षौं लाग्न सक्थ्यो । त्यसैले त नाविक भन्छ– ‘मैले तिमीलाई छोडेर जानैपर्छ, ...यो फराकिलो मिजौरीमा हामी छुट्टिनु त छँदैछ ।’ यसरी ‘ओ सेनान्दो’ ले आदर्श प्रेम, एकटक हेराइका लागि अनन्त पर्खाइ, श्रमिकको बाध्यता र वाचाजस्ता धेरै विषय उजागर गरेको छ ।

तर, यी नौका गीतहरूको अभिप्राय भने फरक छ । खासमा यी गीत थकित नाविकहरूमा उत्साह भर्दै थप नौका खियाउन उत्प्रेरित गर्न सिर्जना भएको हो । ‘हैंसेमा होस्टे’ भावका यस्ता भाकाहरू कामको दौरान श्रममा बल पुगोस् भनेर श्रमिकहरू आफू–आफू मिलेर सिर्जन्थे । यस्ता श्रमका दौरान श्रमिकले सिर्जेका थुप्रै गीत कतिपय भाषाका बुलन्द लोकगीत भएका छन् । त्यसमा पनि नाविकका लोकभाकालाई संकलन गरेर प्रसिद्ध गायक पल रब्सनले ‘कङ्गो लुलवी’ र ‘स्यान्डर्स अफ द रिभर’ जस्ता सर्वकालीन महान् नौका गीतहरू सिर्जेका छन् । उनका गीतहरूले खासगरी अश्वेत श्रमिकबीचको सामूहिकताको भावना र तिनको कठोर जीवनशैलीलाई मुख्य विषयवस्तु बनाएका छन् ।

यस्तै श्रमिकहरूले भोल्गामाथि सिर्जेको रसियन भाषाको ‘ओ खयाम’ सम्भवत: विश्वकै सबैभन्दा चिरपरिचित लोकगीत हो । भोल्गा बोटम्यानको नामले चिनिने ओ खयाम सिंगो रसियाको एउटा कठोर विम्ब हो । ‘ओ खयाम’ शब्दको भाव पनि ‘हैंसेमा होस्टे’ नै हो । भोल्गा नदीमा सामान ओसारपसार गर्ने डुंगा र जहाजलाई घिसार्दै पानीको विपरीत दिशातिर लैजाने मजदुरहरूले कठोर श्रमका दौरान सिर्जित भाका हो ‘ओ खयाम’ । यो गीतलाई जनाउन पश्चिमाहरूले ‘भोल्गा बोटम्यान’ नाम दिए । तर, गीतका सर्जक भने नाविक होइनन्, विशुद्ध जहाज घिस्याउने मजदुरहरू हुन् ।

यिनलाई रसियामा ‘बुर्लाकी’ या ‘बुर्लाक्स’ भनिन्थ्यो । अनि भोल्गा नदी त्यसमाथि पनि रिबिन्स्क सहर ‘बुर्लाकी’ हरूको केन्द्रजस्तै थियो । टाढाटाढाबाट जहाज घिस्याउने कामको आशामा श्रमिकहरू त्यहाँ पुग्थे ।

पारवहन र आर्थिक गतिविधिको मानक थियो– भोल्गा । व्यापारिक जक्सन थियो– किनारको रिबिन्स्क । ३० देखि ३५ मिटर चौडाइका जहाजहरू भोल्गामा यत्रतत्र तैरिरहेका हुन्थे । माथिबाट तलतिर यी जहाजलाई नाविकहरूले सजिलै लैजान सक्थे । तर, जब जहाज तलबाट माथि अर्थात् पानीको विपरीत दिशातिर लैजानुपथ्र्यो, दर्जनौं श्रमिकका समूहले लठाराले बाधेँर किनारै–किनार हिँड्दै जहाजलाई घिस्याउनुको कुनै विकल्प थिएन । अनि यो कठोर श्रमलाई जसरी पनि पार लगाउने श्रमिकहरू थिए ‘बुर्लाकी’ हरू ।

यो श्रम रहर थिएन, एउटा कठोर वाध्यता थियो । रोजीरोटीको कुनै विकल्प नहुँदा या पैसाको अत्यन्त सकस हुँदा मात्रै मानिस यो काम गर्न बाध्य हुन्थे । दीनहीन महिलाहरू पनि यो कठोर श्रममा सामेल हुन्थे । हुन त ‘बुर्लाकी’ हरू कुनै दास थिएनन्, ज्यालादारीमा काम गर्ने मजदुर थिए । आर्टेल्स नाम गरेको तिनको संघठन पनि थियो । तर, तिनको काम अत्यन्त कठिन मात्र थिएन, त्यहाँ श्रमको चरम शोषण पनि थियो । १६ औं देखि २०औं शताब्दीसम्म अनवरत चलेको त्यस पेसालाई सन् १९२६ मा रसियन सरकारले बन्देज लगाएको थियो । सायद अब जहाज घिस्याउन मानव श्रम मात्रै अन्तिम विकल्प थिएन ।

तर, भोल्गामा जहाज तान्ने कठोर श्रमका दौरान ‘बुर्लाकी’ हरूले ‘ओ खयाम’ र ‘दुबिनुस्का’ जस्ता कालजयी लोकभाका सिर्जेका थिए । कठोर र धोद्रो भाकामा गाइएको भोल्गा बोटम्यानले ती ‘बुर्लाकी’ हरूको कठोर जीवन र श्रमको प्रतिनिधित्व गर्छ । तिनीहरू ‘पटक पटक तान, जोर लगाएर तान’ भन्दै गीतमै आपसमा ऊर्जा भर्छन् भने सँगसँगै ‘ओ तिमी भोल्गा, नदीहरूकी जननी, गहिरी र फराकिली’ भन्दै भोल्गाप्रति उत्तिकै आदर र सम्मान व्यक्त गर्छन् ।

भोल्गा आसपासका ‘बुर्लाकी’ हरूको कठोर जीवनशैली उजागर गर्ने यो विशुद्ध लोकभाकालाई लियोनिद कात्रितोनोभले रसियाको ‘रेड आर्मी चोयर’ का लागि ‘बुर्लाकी’ हरूकै टेम्पोमा गाएपछि भने यो गीतले सिंगो रसियनलाई जस्तोसुकै कठिन समयमा पनि जीवनप्रति उत्साह भरेर बाँच्न अभिप्रेरित गरेको आभास मिल्छ । दोस्रो विश्वयुद्धमा रसियाले सामना गरेको परिस्थिति पनि ठ्याक्कै यस्तै थियो ।

त्यसो त रसियन संगीतकार मिली बालाकिरेभको १८६६ मा प्रकाशित ‘कलेक्सन अफ रसियन फकसङ’ मै भोल्गा बोटम्यान छापिएको थियो । पहिलो विश्वयुद्धबाट विस्थापित २० लाख रसियन शरणार्थीको सहयोगार्थ स्पेनिस कम्पोजर म्यानुयल डी फलाले सन् १९२२मा भोल्गा बोटम्यानलाई आफ्नै शैलीमा कम्पोज गर्दै बजाएका थिए । पश्चिमाहरूको नजरमा रसियनहरूको कठोर जीवनशैली प्रतिविम्बित गराउन पनि यही गीतको लय र शैलीले उल्लेख्य भूमिका खेलेको थियो ।

त्यसो त सधैँ नदीहरूलाई सृष्टि, समृद्धि, राष्ट्रियता र जीवनसँग जोडेर तिनको महिमागान मात्र गाइएको छैन । दीनहीनका उत्पिडनका विम्बका रूपमा पनि तिनको चित्रण गरिएको छ । यस्तै उत्पीडनकारीको रूपमा चित्रण गरिएको एक नदी हो– मिसिसिपी अनि त्यो लोकप्रिय गीत हो ‘ओल म्यान रिभर’ ।

नदी, श्रम र शोषण

पहिलोपल्ट मिसिसिपीलाई ‘एउटा बूढो मान्छेको संज्ञा दिँदै’ १९२७ मा ओस्कार ह्यामस्टेनले ‘सो बोट’ नामको गीति–नाटकका लागि ‘ओल म्यान रिभर’ गीत लेखे । ‘सो बोट’ को यो गीतले मिसिसिपीका अश्वेत कामदारहरूको दैनिकी, श्रम शोषण, पीडा र उत्पीडनलाई देखाएको छ । गीतले भन्छ, ‘संसार समस्या ग्रस्त भए पनि, भूमि स्वाधीन नभए पनि, बेमतलबसँग बगिरहन्छ– मिसिसिपी । यसले न त आलु रोप्छ, न त कपास नै फलाउँछ । मात्र यो चुपचाप बगिरहन्छ ।’

तर, यो क्लासिक मास्टरपिसले खास प्रसिद्धि त्यतिबेला चुम्यो, जब पल रब्सनले १९३६ को ‘सो बोट’ शीर्षककै उनको सिनेमामा यही गीतलाई केही परिमार्जन गर्दै गाइदिए । गीतले भन्छ – मिसिसिपीले आम मजदुरका दु:ख, पीडा, वेदना र भोगेको शोषण त देखेको छ, तर यी तमाम विषयले यसलाई केही फरक पर्नेवाला छैन । यसलाई केही त पक्कै थाहा छ, तर एक शब्द पनि बोल्दैन... थकान मेट्न हामी रक्सी पिउँछौँ अनि जेलमा थुनिन्छौँ ।... तर यो सब देखेर पनि बेवास्ता गर्दै बूढो मान्छे मिसिसिपी बगिरहन्छ– मात्र चुपचाप बगिरहन्छ ।’

गीतमा वक्ता मिसिसिपी र श्वेत मालिकबाट मुक्त हुन चाहन्छ । ऊ मिसिसिपीबाट उम्केर जोर्डन नदीमा पुग्न चाहन्छ । अफ्रिकन नदी जोर्डन आफैँमा अश्वेत दासत्व मुक्तिको विम्ब हो भने मिसिसिपी अफ्रिकन– अमेरिकीले भोगेको विभेद, शोषण र उत्पीडनको । ह्यामस्टेनको शब्दमा एउटा ठूलो व्यंग्य छ । त्यो के भने उनी आफैँ त्यो केही कुराले नछुने, गम्भीर नहुने, बेमतलब बूढो मान्छे मिसिसिपीजस्तो हुन चाहन्छन्, तर रब्सन त्यो बेमतलबी बूढो मान्छे बिलकुलै हुन चाहँदैनन् । रब्सनको भाका सीधा र सरल पनि छ । उनले केही उच्चो र धोद्रोसँग अफ्रिकन लयमा गाएका छन् । यो गीतबारे समालोचक टोड डेकर भन्छन्, ‘यो गीतले शरीरिक शोषणलाई लिएर दु:ख व्यक्त गर्छ र जातीय विभेद अन्त्यका लागि अपिल गर्छ ।’

अमेरिकी ‘समृद्धि’ मा सबैभन्दा ठूलो भूमिका कसैको थियो भने त्यो मिसिसिपी नदीकै थियो । कपासदेखि मकै र गहुँ खेतीदेखि पशुपालन मिसिसिपी आसपासकै क्षेत्रमा हुन्थ्यो । डुंगा जहाज र अझ स्टिम इन्जिन आइसकेपछि मिसिसिपी नदी परवाहनको सबैभन्दा गतिलो माध्यम पनि थियो । तर, मिसिसिपी श्वेत र अश्वेतका लागि भने बिलकुलै फरक थियो । श्वेतहरूका लागि अश्वेतहरूको शोषण गर्ने प्लेटफार्म थियो– मिसिसिपी । नाफाको लागि उत्पादन चाहिन्छ, त्यो पनि कम लागतमा । यसको लागि बँधुवा श्रमिकहरू चाहिन्थ्यो, अश्वेत दासहरू चाहिन्थ्यो । त्यसैले अश्वेत दास व्यापारको एउटा अखडा थियो– मिसिसिपी ।

‘स्लेभरी एन्ड क्राइम इन मिजौरी’ पुस्तकका अनुसार, १८३५ मा एक अश्वेत दास तल मिसिसिपीतिरको साहुलाई बेचिन्छ । दास भएर मिसिसिपी जानुभन्दा ऊ नेलसहितको खुट्टा काटेर उम्कन खोज्छ, सक्दैन र फेरि ऊ आफ्नै घाँटी रेट्छ । पार लाग्दैन । अनि अन्तत: मिजौरीमा हाम फालेर आत्महत्या गर्छ । अश्वेतहरूका लागि नर्कको रौरव थियो मिसिसिपी । वाल्टर जोन्सनले ‘रिभर अफ डार्क ड्रिम्स : स्लेभरी एन्ड इम्पायर इन द कटन’ मा लेखेका छन्, ‘मिसिसिपीले कपासको व्यापार मात्रै गरेन, यसले पुँजीवाद र दास व्यापार पनि फैलायो ।’

मिसिसिपी आफैंमा जातीय विभेद, अश्वेतहरूको उत्पीडन, दास व्यापार र श्रम शोषणको एउटा संरचना थियो । यही संरचनामाथिको सबैभन्दा पेचिलो प्रहार हो– ‘ओल्ड म्यान रिभर’ । पल रब्सनको गीतबाट प्रभावित भएर रब्सनकै आग्रह र प्रेरणाका कारण भूपेन हजारिकाले मिसिसिपीको बिम्बको साटो ब्रह्मपुत्र र गंगाको विम्ब प्रयोग गरेर दक्षिण एसियाका बेथितिमाथि प्रहार गर्दै ‘विस्तिर्नो परोरे’ र ‘गंगा बहते हो क्यु’ सिर्जेका छन् ।

सन् १९२६ मा ओल्ड म्यान रिभर लेखिएकै वर्ष मिसिसिपीमा ऐतिहासिक ठूलो बाढी आएको थियो, जसले लाखौँ विपन्न अश्वेत समुदायको जीवन तहसनहस पारेको थियो । नदीहरू दु:खका विम्बहरू पनि हुन् । यिनका आसपास यिनकै आश्रयमा जीविकोपार्जन गर्ने भुइँमानिसका दु:खकष्ट अवर्णनीय छ । यही दु:खकष्टलाई आधार बनाएर सिर्जिएका छन् कैयौं माझी, मछुवारे र नाविकका विरहलाग्दा भाकाहरू ।

संकटमा नदीहरू

नदी र माझीको अन्तरसम्बन्धसँगसँगै माझीको कष्टकर र उत्पीडित जीवनगाथा हो– रामेशको ‘कोसीछेउ उभिएको सिमल जत्ति नि बाँच्दिन म ।’ कोसीमा ढुंगा चलाएर र माछा मारेर गुजारा गर्ने यो माझी भन्छ– ‘ममाथिको आकाश नीलो छ, ममुनिको नदीको दह नि नीलो छ... एक दिन म नरहुँला... तर नीलो आकाश नीलो नदी रहिरहनेछ ।’ तर, अहँ रामेशले भनेजस्तो यो नदी सधैं नीलो रहिरहनेमा भने भयङ्कर शंका उत्पन्न भएको छ । बेलाबखत दीनहीनहरूको जीवनमाथि संकटको धावा बोल्ने नदीहरू आफैं निरीह बन्दै छन् । उनीहरू सधैं यसरी निरन्तर बगिरहलान् भन्नेमा पनि सन्देह छाएको छ ।

यही २०२२ को जुलाई र अगस्टयता अमेरिकी महाद्वीपका कोलोराडो, रियो ग्रान्डे, अर्कानस, रेड रिभरलगायतका नदीमा पानीको सहत सुक्दै गएको छ । युरोपका रिने, रिभर पो, लोरे र डेन्युबहरू अकल्पनीयसँग घटेका छन् । अस्ट्रेलियाको मुर्रे, दक्षिण एसियाका टिस्टा र सिन्धु, मध्यएसियाको अमुदारी सबैसबै सुक्दै गएका छन् । चिनियाँ सभ्यताको अर्को धरोहर याङ्गत्सेको हालत पनि एल्लो रिभरकै जस्तो छ ।

हरेक नदी अहिले चरम संकटबाट गुज्रिएका छन् । अनि यो संकटका केही प्रस्ट कारण छन्: जलवायु परिवर्तन, स्रोतको अत्यधिक दोहन र प्रदूषण । यी सबैको जड भनेको बढ्दो अनधिकृत मानवीय हस्तक्षेप नै हो । प्राय: नदीहरू निर्बाधसँग बग्न पाएका छैनन् । धेरै ठाउँमा साना–ठूला हाइड्रोपावरका ड्यामले तिनलाई थुनिदिएको छ, जमाइदिएको छ, रोकिदिएको छ । यसले सिङ्गो पर्यावरणीय चक्र नै बदलिदिएको छ । गायक विपुल क्षेत्रीले आफ्नो गीत ‘टिस्टा’ को भूमिकामा भनेका छन्, ‘विकासका पछिल्ला हस्तक्षेपहरूलाई सहन गर्न नसकेर यी वृद्ध भद्र महिला (टिस्टा) पहिलाजस्ती छैनन् । आधा दर्जनभन्दा बढी हाइड्रोपावर ड्यामका कारण कुनै दिन निस्फिक्री बग्ने यिनी मृत जलाशयमा रूपान्तरित भएकी छन् । यो गीत उनको विगतको भव्यताप्रति समर्पित गाना हो, जसलाई हाम्रा सन्ततिहरूले फेरि कहिल्यै देख्न पाउनेछैनन् ।’

यो समस्या हाम्रा नदीहरूको पनि हो । हाइड्रोपावरले हामी समृद्धिको रोटी सेक्न त सकौंला, तर यसले असंख्य जलचर र नदीकै अस्तित्वमा नराम्ररी धावा बोल्नेछ । दीर्घकालीन रूपमा पर्यावरणीय चक्रलाई भत्काइदिनेछ । अनि नि:सन्देह, हाम्रा सन्ततिहरूले नदीहरूलाई परम्परागत स्वरूपमा देख्न पाउनेछैनन् । हो, रामेशले भनेझैं नदीहरू त्यस्तै नीला रहिरहनेवाला छैनन्, नदीको स्वरूप बदलिएसँगै समुद्र पनि नीलै रहिरहनेछैन । अनि समुद्रबिना आकाश पनि नीलो रहिरहनेछैन । समग्रमा मछुवारेको भन्दा दयनीय हालत नदीहरूको छ ।

आजसम्म हामीले नदीलाई साक्षी राखेर सभ्यताका, संस्कृतिका, आफ्ना गौरवगाथा र पीरव्याथाका भाकाहरू सुसेल्यौं । नदीको वेगसँगसँगै हामी पनि स्वच्छन्दसँग बहकियौं । तर, अब नदीकै सकसबारे गाउने बेला आइसकेको छ । तिनकै सुसेला हामीले सुसेल्दिनुपरेको छ । त्यसैले त कुमाउ–गडवालबाट बीके सावन्त महाकालीको बचाउका लागि गुन्जिरहेका छन्– ‘यो आरि ऊ पारि डुबी जाली थ्वाड दिनों का वाद, बनमै – बनमैं देखा पञ्चेश्वर में बाँध ।’ अनि नदीमाथिको अनधिकृत दोहनको विरुद्ध यता पनि भनिँदै छ, ‘ओ कालीगण्डकी माकुराको माउ भयो तिम्रो जिन्दगी ।’

प्रकाशित : आश्विन ८, २०७९ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×