कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समकालीन विमर्शमा थप पाइला

किरण विक

काठमाडौँ — समृद्धि अहिले दलहरूका दस्तावेज र नेताका भाषणका अत्यावश्यक शब्द हुन् । समृद्धिको बहसमा विद्यार्थी नेता, हाल अनेरास्ववियु अध्यक्ष लेखक सुनिता बराल पनि जोडिन आइपुगेकी छन्– ‘समृद्धिप्रतिको संकल्प’ किताबमार्फत । विद्यार्थी नेताहरूले पढ्न/लेख्न छोडे, प्राज्ञिक बहसबाट टाढा भए भन्ने टिप्पणी आम रूपमा आइरहेकै बेला यो किताब आउनु खुसीकै विषय हो । 

समकालीन विमर्शमा थप पाइला

समृद्धि–बहसमा उनको प्रश्न छ– ‘रोडम्याप र अपेक्षा– सकिने कि सच्चिने ?’ नेपाल किन बनेन भन्ने दशकौंदेखिको स्थायी प्रश्न हो । यसमा उनी लेख्छिन्– ‘राजनीतिक प्रणाली नै सबै समस्याको जड हो भन्दै प्रणाली बदलेर फरक पार्टी र व्यक्ति नेतृत्वमा पुग्दा पनि आधारभूत जनताको समस्या समाधान नभएको यथार्थले प्रणाली बदल्नु मात्र समाधान होइन ।’ किताबमा महिलालाई सुख र थकान नभएका प्राणी भनिएको छ । तर, अहिले भइरहेको अभ्यासमा लेखकको गम्भीर प्रश्न छ– सशक्तीकरणका नाममा कतै सिलाइ, पार्लर, तालिम, भाषण–कला आदि गतिविधि हुँदा के अबको युगमा त्यति सस्ता टपिक्सले महिला सशक्तीकरणको उचाइ चुम्छ ?

देश समृद्ध बनाउन स्कुलदेखि नै विद्यार्थीलाई प्राविधिक शिक्षा र सीपसँग जोड्नुपर्ने कुरा उल्लेख छ किताबमा । लेखकको विचारमा समृद्धितर्फको यात्रा प्राविधिक शिक्षा, महिला नेतृत्व, दक्षता अभिवृद्धि, प्रशासनिक सुदृढीकरण, युवा क्षमताको उच्चतम प्रयोग, हरेक भान्सामा नेपाली उत्पादनबाट सुरु गर्न सकिन्छ । लेखकले रोजगार प्राधिकरणको विचार प्रस्ताव गरेकी छन् । ‘प्रेमको परिणाम प्रेम’ शीर्षक लेखमा सेते दमाई, अजित मिजार, मना सार्की, लक्ष्मी परियार, अस्मिता सार्कीहरूको घटना–वर्णन छ । उनको प्रश्न छ– कथित दलित समुदायमाथि नेपाली समाज किन यति बर्बर ? कथित माथिल्लो जातले दलित–छुवाछुत र विभेद गरेर सन्तानलाई अपराधी बनाइरहेको निष्कर्ष लेखकको छ । राज्य मौन बसेकैले रुकुम चौरहजारीमा नवराज विक हत्याकाण्ड भएको र त्यस्ता घटना दोहोरिएको लेखकको बुझाइ छ ।

लेखक भन्छिन्, ‘वास्तवमा विगतका ज्ञानलाई बुझ्नु र वर्तमानलाई विश्लेषण गरी ज्ञानलाई अध्यावधिक गर्नु नै अध्ययन हो । मानिसले अध्ययनकै माध्यमबाट विगत बुझ्छ । वर्तमानलाई मूल्यांकन गर्छ, भविष्य निर्धारण गर्छ ।’ हाल नेपालले राजनीतिक–प्रशासनिक नेतृत्वमा युवा पुस्तालाई अवसर नदिने खतरा देखिएको विषय पनि पुस्तकमा उल्लेख छ । जसरी एक परिवारमा दोस्रो पुस्तालाई सही समयमा जिम्मेवारी नदिँदा पारिवारिक कुशलता र परिणाममुखी प्रगतिमा पर्खाल लाग्छ, त्यस्तै राष्ट्रिय महत्त्वको जिम्मेवारीमा युवालाई उपेक्षा गरिँदा आवश्यकताअनुसारको प्रगति र मुलुकको समृद्धिमा पर्खाल लाग्छ । पुस्तकमा लेखकको राजनीतिक आबद्धताअनुसारको विषय पनि चर्चा गरिएको छ, जस्तै ‘महिला आन्दोलन उचाइमा पुर्‍याउन मार्क्सवादी दृष्टिकोण’, ‘जबज, मदन भण्डारी र भावी पुस्ता’, ‘जेठ ३ स्मरणमा मदन भण्डारी’, ‘बदलिँदो सामाजिक परिवेश र जबजको सान्दर्भिकता’ । कंगनाको फिल्म पंगादेखि एमसीसी, कोभिड–१९ सम्मका विषय पुस्तकमा छन् ।

महत्त्वपूर्ण विषयमा पुस्तकले बहस सुरु गरे पनि केही गल्ती भने छन् । कतिपय विषय छोइएका मात्रै छन्, कतिपय विषय शीर्षकभन्दा अन्तै–अन्तै डुलेका छन् । पुस्तक अखबारी लेखनको संग्रहजस्तो भएको छ । तथ्य अध्यावधिक छैनन् । लेखकले ‘डेमोग्राफिक डिजास्टर’ जस्तो संवेदनशील, तर कम चर्चा गरिएको विषय पनि उठान गरेकी छन् । तर, यही विषय पनि एकदम हल्का ढंगले लेखिएको छ । पुस्तकमा बलियो सम्पादनको अभाव देखिन्छ । समृद्धिको भीषण बहसमा केन्द्रित नभई धेरै विषय छुन खोज्दा समृद्धि–बहस छिरोलिएको छ । गणतन्त्र, समावेशिता, संघीयता, समृद्धिप्रतिको प्रतिबद्धता प्रदर्शन गर्न पुस्तक सफल छ ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?