१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

यी प्रिय गीत, यी प्रिय कविता

शिव पलाँस

कवि/गीतकार दिनेश अधिकारीको लेखनको आफ्नै सौन्दर्य छ, सुगन्ध छ र अरूभन्दा पृथक् छ । उनी खहरे कविता, गीत लेख्दैनन् । कवि दिनेश अधिकारी वजनदार कि गीतकार दिनेश अधिकारी वजनदार ? तराजुमा जोखे तौल बराबरी देखिन्छ । त्यसो त उनी गीतलाई पनि नगाइएको अवस्थामा कविता नै भन्छन् ।

यी प्रिय गीत, यी प्रिय कविता

शैली र संरचनाका हिसाबले फरक देखिए पनि काव्यतत्त्व र भावका हिसाबले उनका गीत साँच्चै नै कविता लाग्छन् । उनले समातेको कलम सचेत, अनुशासित र कलात्मक छ । शब्दलाई कोमल र बुद्धिमत्तापूर्ण चलाउँछन् । कुनै वादको छाता ओढ्नुभन्दा स्वतन्त्र ढंगले लेख्न चाहन्छन् । कविता र गीत दुवैलाई उत्तिकै न्याय गर्ने कम सर्जकमध्ये एक हुन् उनी ।

शिखा बुक्सले हालै प्रकाशित गरेको उनको ‘कविताको कथा, गीतको कथा’ माथि एकछिन कुरा गरौं । मान्छेकै जस्तो जीवन तय गर्दोरहेछ सृजनाले पनि भन्ने लाग्छ उनलाई । पाठक, श्रोता र स्वयं अधिकारीको मन जित्न सफल रचना, तिनको रचनागर्भ र सार्वजनिक भइसकेपछिका उतारचढाव किताबमा उत्खनन गरिएको छ । किताबभित्र चर्चित एघार कविता र सत्र गीतको कथा छ ।

पहिलो खण्डमा कविताको कथा छ । सुरुवातमै छ ‘हर्कबहादुर’ कविता । हर्कबहादुरकी छोरी सर्पले टोकेर मर्दा राष्ट्रियता औषधिमा अनुवाद भयो ? बाढीले गाउँ बगाउँदा नागरिकता घर भएर ठडिन सक्यो ? यी र यस्ता प्रश्नभित्र देश अटाएको छ । हर्कबहादुर त माध्यम मात्रै हो । विसं ०३८ मा ‘रूपरेखा’ मा प्रकाशित भएदेखि यो प्रतिनिधि नेपाली कविताले कति प्रहार चिरेर पाठ्यपुस्तकसम्मको बाटो तय गर्‍यो भन्ने यसमा खुलस्त पारिएको छ ।

‘युद्धविराम’ कवितामा चाहिँ कविले युद्धमाथि उभिएर जुनसुकै तर्क गरिए पनि त्यो मानवताभन्दा माथि पुग्न सक्दैन भन्ने अडान लिएका छन् । पछि हिन्दी र अंग्रेजीमा समेत अनूदित भएको ‘सिपाही’ कविता लेखिसकेपछि आफूलाई बिझेको काँडा झिकेजस्तो हलुंगो भएको प्रतिक्रिया दिएका छन् । यसबाहेक ‘आत्मस्वीकृति’, ‘सेतो सिंह’, ‘घर’ लगायत काव्यिक रचनाको कथा र अघि–पछिको परिवेश पनि किताबमा छ ।

दोस्रो खण्डमा गीतको कथा लेखिएको छ । विसं ०३६ मा लेखिएको ‘तिमी जुन रहरले ममा फुल्न आयौ’ गीतको पहिलो अन्तरामा रहेको ‘राताम्य’ शब्द ‘रक्ताम्य’ बनेर रेकर्डमा आएपछि उनलाई महसुस भएको असजिलोबारे बोलेका छन् । अठार/बीस वर्षको काँचो उमेरको ठिटोलाई कुन विषय र संवेदनाले यस्तो परिपक्व गीत रचना गर्न प्रेरित गर्‍यो भन्ने सवालको समाधान भने स्वयं गीतकारसँग पनि छैन । उनी अनुप्रास मिलाउन र नीरस शब्द थुपार्न होइन, गीतलाई गेयात्मक बनाउन र भाव खिच्न मिहिनेत गर्छन् ।

नारायणगोपालकै संगीत र आवाजमा स्वरांकन भएको ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी’ गीतलाई जब कुनै श्रोताले अनपेक्षित व्याख्या गरिदिए, गीतकार अधिकारी झसंग भए । एउटै गीतलाई श्रोताले फरक परिस्थितिमा फरक अर्थले ग्रहण गरे भने वा गीतको अन्य क्षितिज खुल्दै गयो भने त्यो गीत झन् सबल हुन्छ । भयो पनि त्यस्तै । त्यसयता गीतकारलाई महसुस भयो– गीतको परिधि कहिलेकाहीँ गीतकारको आँखाले देखेभन्दा फराकिलो हुँदोरहेछ । उनी अन्य विषय–प्रसंगले पनि पाठकलाई मीठोसँग डोर्‍याउँदै अगाडि लैजान्छन् ।

‘सोचेजस्तो हुन्न जीवन’ गीतमा रचनाकार चाँदनी शाह ठानिएको प्रसंग होस् या ‘तिमी यसै लजायौ’ गीतको साठी रुपैयाँ पारिश्रमिक पाएको सन्दर्भ होस्, गोपाल योञ्जनले रोजेको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ’ गीत आलोकश्रीको हार्मोनियममा कसरी पुग्यो भन्ने प्रसंग होस् वा ‘जीवन भनूँ त घात छ’ गीत नगाएको भए नि हुन्थ्यो कि जस्तो महसुस भएको सन्दर्भ होस्, यिनले पाठकको ध्यान बाँध्छन् ।

एउटा गीतमा कतिसम्म मिहिनेत गर्नुपर्छ भन्ने उदाहरण हो– ‘आफ्नै लागि ज्युन गाह्रो’ गीत । अम्बर गुरुङको संगीत र रविन शर्माको स्वरमा रेकर्ड भएको यो गीतको कथा संगीतकर्ममा लागेका सबैले पढ्नुपर्छ । अझ विशेष तिनीहरूले त एक पटक सोच्नैपर्छ, जसले एकै दिनमा सातवटासम्म गीत गाएँ भनी गर्व गर्छन् ।

‘विजय/पराजय’ फिल्मका निम्ति लेखिएको ‘निधारमा लर्काएर सप्तरङ्गी टीको,’ ‘ओखरमा फोरिदिएँ बाधाहरू मैले’, ‘जता पनि पुग दाजै घामभन्दा पैले’ गीतका पंक्तिले एक बहिनीले दाजुका निम्ति प्रकट गर्ने प्रेम र शुभेच्छाको विराट् अभिव्यक्ति दिन्छ । शम्भुजित बास्कोटाको धुनमा भारतीय गायिका हेमलताले स्वर भरेको यो गीत दाजु–बहिनीको प्रेम अभिव्यक्त गर्ने बलियो सांस्कृतिक गीत बन्न पुग्यो ।

‘लैजा चरी मेरो खबर’ गीत कसरी रोयल अल्बर्ट हलसम्म पुगेर गुन्जियो भन्ने कथा पनि रमाइलो छ । संगीतकार प्रकाश गुरुङले नेपालमै रेकर्ड गरेर भारतीय स्टुडियोको गुणस्तर निकाल्छु भनेर अठोट लिएको गीत ‘बोल बोल पाखाहरू’ अत्यन्तै लोकप्रिय भएको र एउटै गीत दुईवटा चलचित्र ‘झुमा’ र ‘छिरिङ’ मा प्रयोग भएको कथा पनि चाखलाग्दो छ । यी गीतका कथाको अतिरिक्त ‘रक्सी बेचें आलु बेचें,’ ‘कहिले छायासँग खसें’, ‘पानी पानी भयो मेरो मन पनि’ जस्ता गीत लेखनको कहानी पनि किताबमा छन् ।

किताबलाई दिनेश अधिकारीका रुचाइएका एवं छानिएका सृजनाको संगालोका रूपमा पढ्न सकिन्छ । कविता र गीतको रचनागर्भबारे जानकारी लिन पनि सकिन्छ । सार्वजनिक भइसकेपछि यी रचनाको तरंग कहाँसम्म फैलियो भन्ने बुझ्न सकिन्छ । अनि देशको भूगोल, राजनीति, समाज, संस्कृति र जनजीवन आफ्नै आँखाले नछामेसम्म गहन चीज लेख्न सकिँदैन भन्ने पनि सिक्न सकिन्छ किताबबाट ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?