प्रश्नोत्तरझैं मुद्दा किन लेख्नु ! - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रश्नोत्तरझैं मुद्दा किन लेख्नु ! 

विवाद भइरहन्छ– ‘शिरीषको फूल’ उपन्यासमाथि । मार्क्सवादी समालोचक यो पुस्तक कामै लाग्दैन भन्छन् । गैरमार्क्सवादी पारिजातको उत्कृष्ट कृति यही हो भन्छन् । निरन्तर बहसमा रहेर पनि सबैभन्दा बढी पढिने किताब हो यो ।
कृष्ण धरावासी

हामी जो जहाँ छौं, त्यहीँबाट नेपाली भाषामा लेखिरहेका छौं । हामीले जानेको भाषा यही हो र यसैमा लेखिरहेका छौं । अरू भाषा जान्नेले त्यही भाषामा लेखे पनि हुने हो । अझ अहिलेको विश्वमा सबैभन्दा लोकप्रिय र चल्तीको भाषा अङ्ग्रेजीमै लेख्न सके अनुवादको झन्झटै नपर्ने थियो ।

नेपालीमा लेखेर फेरि अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने लामो फन्कोको कामै पर्ने थिएन । तर, हामी किन त्यसो नगरेर यसै गर्छौं त ? अङ्ग्रेजी मज्जैले जान्नेले पनि किन आफ्नै भाषामा लेख्न मन गर्छौं त ? हामीलाई हाम्रो भाषा किन चाहियो भने हाम्रो भाषामा दसैं छ, तिहार छ, तीज छ, माघे संक्रान्ति छ, गाईजात्रा छ । दौरासुरुवाल छ, टोपी छ, चौबन्दी चोलो र फरिया छ । यी सबैलाई बँचाएको छ यही भाषाले । यो भाषा सकिनेबित्तिकै ती सबै सकिन्छन् । भाषा किन छोड्न सकिँदैन भने योसँग सबै संस्कृति सुरक्षित छ ।

साहित्यको लामो यात्रामा जाने हो भने सिक्दै गरेका बेला पनि भविष्यमा आफूले पुग्नुपर्ने र त्यहाँसम्म पुग्ने बाटोबारे सोच्दै जानुपर्छ । के विधामा अडिने, कुन बाटो हुँदै जाने, कस्तो लेखनशैली बनाउने, कस्ता विषयलाई विशिष्टीकृत गर्दै अघि बढ्ने, आदिलाई पनि सँगै सोच्दै र काम गर्दै गएनौं भने अलि पर पुगेपछि माथि सिरानमा मूल सुकेको खोलाजस्तो केही तल पुगेर बालुवामा हराएजस्तो भइन्छ । त्यस्ता खतराबाट जोगिन हामीले कतिपय शास्त्रीय विषयको पनि सँगसँगै अध्ययन गर्दै जानुपर्छ ।

साहित्यमा एउटाले एउटा सिद्धान्तको सुरुवात गर्छ, अर्कोले अलिकति, अर्कोले अलिकति थप्दा–थप्दै त्यसले विस्तृत आयाम पाइसक्छ । हामीले पनि त्यस्ता शैली र प्रविधि आफैंले पनि बनाउनुपर्छ । यिनै विषय बुझेका नेपाली विद्वान्हरूले कहिले तेस्रो आयामका कुरा गरे, कहिले लीलालेखनका कुरा गरे । अरू कैयौं प्रयोग र सैद्धान्तिक प्रस्ताव आए । कतिले उत्कृष्ट सिर्जना गर्न सके, कति निकै परसम्म पुगे, कोही छोटै बाटोमा थाकेर अडिए, तर जति गरे, जे भने, केही त भने नि ! यी उदाहरणले भन्छन्, नेपाली साहित्यमा पनि सिद्धान्त जन्मिन सक्छन्, नयाँ नयाँ शैली र प्रविधि आउन सक्छन् र तिनले परिष्कृत हुँदै उत्तरोत्तर परिणाम दिन सक्छन् । थोरै मानिसले बोल्ने, लेख्ने र पढ्ने भाषाभित्रबाट पनि विचार, चिन्तन र दर्शन बन्न सक्छ भन्ने यो एक सङ्केत हो । पछि कुनै कालमा कसैले फेरि तिनै विषयमा नयाँ परिभाषा र शैली थपेर अझ सुन्दर बनाउन नसक्लान भनी कसरी भन्न सकिन्छ !

ती विचार र शैलीले तत्कालै विश्व मान्यता पाइहाल्नुपर्छ भन्ने पनि हुँदैन । ती विचार, शिल्प र शैलीमा दुई जना लेखकले राम्रा दुईवटा किताब लेखे पुग्छ । हामी हेर्न सक्छौं, जुनै विचार र सिद्धान्त पनि प्रारम्भमा केही पृष्ठका लेखहरूबाट प्रस्तावित भएका हुन् र कालान्तरमा हजारौं पृष्ठका ठेलीहरूले व्याख्या गरिरहे । सिर्जना मात्रै त हामी जति पनि गर्न सक्छौं । जे देखेर, भोगेर, कल्पना गरेर पनि गर्न सक्छौं । तर, सिर्जना सँगसँगै सैद्धान्तिक आधारहरूमा पनि उभिएर लेख्न लाग्यौं भने कुनै राम्रो सुगम गोरेटोमा छिटो बाटो काटेसरह हुन्छ । त्यस्ता अरूले बनाएकै सिद्धान्तमा हिँड्नुपर्छ भन्ने पनि हुँदैन । आफैंले आफ्नै लागि मात्रै पनि फरक दृष्टिकोण बनाएर जान सकिन्छ । आफैं त्यस्तो बाटो बनाउन सकिँदैन भने तत्काल अरूले खनेकै बाटोमा पनि केही परसम्म जाँदा हुन्छ । विविधताभित्र पनि झन् फरक हुन सक्ने नै पछिसम्म देखिने र पढिने लेखक तथा कृति बन्न सक्छ ।

पछिल्लोकालमा नेपाली साहित्यको लेखन, वैचारिकीको आधारमा उभिएको भन्दा अत्यन्त समसामयिक मुद्दालेखनमा केन्द्रित छ । यी मुद्दाकृत लेखनले समाजमा सामयिक चेतना त फैलिँदै छ, तर अत्यधिक मुद्दाकेन्द्रित हुँदाहुँदा कैयौं लेखकले लेख्न चाहेका विषय पनि लेख्न नसक्ने अवस्थामा पुगेको देखिन थालेको छ ।

अहिलेको मुद्दालेखनको भारी बोकेका किताब पढ्दा यी किताबले मानिसको मनलाई लेख्न छोडेको अनुभव हुन्छ । जस्तो कि पौराणिक किताब पढ्दा त्यहाँ फलानो भगवान्ले सोच्नुभयो भनेको कहीँ पढ्न पाइँदैन । भगवान्ले टाउकामा हात अड्याएर सोच्नुभो, कल्पना गर्नुभो भनेर पनि कतै लेखिएको हुँदैन । भगवान्हरूले त जे भन्नुपर्छ सिधै भन्छन् । ती कथामा मनोविज्ञान नै छैन । त्यहाँ मनको कुरा आउँदैन । पात्रहरूले पनि विरहको गीत गाउँदैनन् । भगवान्को आराधना र तपस्या गर्छन् । त्यहाँ सिधै संवाद हुन्छ, समस्या बताइन्छ र भगवान्ले समाधान गरिदिन्छन् वा त्यसको उपाय सिकाइदिन्छन् । त्यसैले गीताभित्र कहीँ पनि मन छैन । बुद्धि नै बुद्धि छ । त्यो बुद्धिले मुद्दा बोकेको छ युद्धको । मुद्दा र युद्धको एकै ठाउँ भेट भएपछि सबै तर्क, माग, अनुशासन र धैर्यले अर्जुनलाई छोडिदिएका छन् । हामीले लेखिरहेका मुद्दाहरूले पनि कतै हाम्रा कलमलाई छोडिरहेका छन् कि ! तर, आधुनिक साहित्यचाहिँ सोच्छ । यसले मानिसभित्र, समाजभित्र, समस्याभित्र लुकेका विषयलाई बाहिर लिएर आउँछ । मनोवैज्ञानिक लेखनबाट हामी जति टाढा जान्छौं, त्यति नै हामी मान्छेको अध्ययन कम गर्न थाल्छौं । यो पछिल्लो कालमा हामीले अत्यधिक रूपमा समाजको अध्ययन धेरै गर्‍यौं, जुलुसको अध्ययन धेरै गर्‍यौं, भीडका कुरा धेरै गर्‍यौं, तर मान्छेको अध्ययन भने छुटिरहेको छ । मान्छेभित्रका व्यक्तिगत सोच, चेत, अनुभूति, कुण्ठा लेखनमा छोडिँदै गएका छन् । हाम्रो लेखनको ढोकाका दुवै खापा अहिले बाहिरतिर खुल्ने प्रकारका बन्दै गएका छन् । भित्रतिर पनि खुल्ने खापा नभए हाम्रो लेखन पुस्तक पसलमा सजाइएको प्लास्टिक कोटेट किताबजस्तो मात्र हुनेछ, जसलाई पैसा तिरेर नकिनेसम्म त्यसभित्र पल्टाएर हेर्न मिल्दैन । अहिलेको लेखन भीडतिर आकर्षित छ । नारा, जुलुस र मतदानतिर केन्द्रित छ । जस्तो कि अचेल हुने गरेका ट्यालेन्ट शोहरूमा उसको ट्यालेन्सीले भन्दा भीडबाट जसले बढी भोट पाउँछ त्यसले जित्छ र भोट पाउन अनेकौं आर्थिक चलखेल हुन्छन् । लेखनको अवस्था पनि त्यही तहमा पुगेको छ । प्रकाशकले गर्ने व्यापार, प्रचार र पत्रपत्रिकाले उचालेको कृतिले अप्राकृतिक ढङ्गको बजार पाउने र नाम चलेका पुरस्कारमा पनि दाबी गर्दै आएका छन् । जुन कृतिले बजार र प्रचार पायो, त्यसले सहजै मूल्याङ्कनमा दावी गर्नु त स्वाभाविक छ तर, कस्तो कृतिले यी सबै सुविधा पाइरहेका छन् भन्ने विषय प्रमुख हुन्छ । जस्तो कि महिलावादी लेखनमा पुरुषका कुरा तपसिलमा राखिनुपर्ने ! मधेसीको कुरा गर्दा पहाडीलाई दानवीकरण गर्नुपर्ने ! किराती र दलितको कुरा गर्दा क्षत्रीबाहुनको दोहोलो काढ्नैपर्ने ! क्षेत्रीय लेखन गर्दा पूर्वलाई वा राजधानीलाई सकेसम्म फोहर छ्याप्नैपर्ने ! यी लेखनले समाजभित्रका समस्याको व्याख्या गर्दागर्दै समाजलाई यति धेरै तन्काइरहेको छ कि मानिस मानिसलाई जोड्नुपर्नेमा अनेकौं टुक्रामा फुटाइरहेको छ । यस्ता मुद्दाका कुरा त वर्षौंदेखि आईएनजीओ र पार्टीको राजनीति गर्नेहरूले गरिरहेकै हुन् । त्यसबाट समाज लाभान्वित नै छ ।

समाजभित्र ती समस्या छन् भने हामी लेखकले किन नलेख्ने ? त्यसो भए समाजका समस्याको सम्बोधन खालि राजनीतिक दल र विकासवादी एनजीओ आईएनजीओहरूले मात्र गर्ने हो ? समाजप्रति हामी लेखकको कुनै दायित्व छैन ? यो प्रश्न यहाँ छाताको डन्डीजत्रो भएर यो लेखतिर फर्किनु स्वाभाविक छ ।

राजनीतिक दल, सामाजिक सञ्जाल, गैरसरकारी संस्था आदिहरूले निरन्तर उठाइरहेका मुद्दाहरूलाई नै हामीले हाम्रो लेखनमा पनि ल्याइरह्यौं भने प्रकारान्तरले हामी लेखक उनीहरूकै प्रचार सामग्रीलाई उत्पादन गरिदिइरहेका हुनेछौं, त्यसपछि आफ्नो मौलिकतामाथि आफूले आफैंलाई प्रश्न गरे काफी हुन्छ । अहिले बजारमा खुबै चर्चा पाइरहेका किताबलाई हेरे यी विषयमाथि अरू व्याख्या गरिरहनु नपर्ला ।

विवाद भइरहन्छ ‘शिरीषको फूल’ उपन्यासमाथि । मार्क्सवादी लेखक, समालोचक यो पुस्तक कामै लाग्दैन भन्छन् । गैरमार्क्सवादीहरू पारिजातको सबैभन्दा उत्कृष्ट कृति नै यही हो भन्छन् । दुई धारमा निरन्तर बहसमा रहेर पनि सबैभन्दा बढी पढिने किताब यही हो । उनका अरू पनि दर्जनौं किताब छन् । उनको आलोचना भए पनि विवेचना भए पनि अरू किताबको चर्चा किन हुँदैन ? मार्क्सवादी समालोचकले पनि शिरीषको फूलको आलोचनामा दिमाग खर्च गर्न छोडेर उनका अरू प्रगतिवादी मानिएका पुस्तकलाई शिरीषको फूलभन्दा पनि माथिल्लो तहमा पुग्ने गरि स्थापनाको काममा किन लाग्न सक्दैनन् ! किनकि त्यहाँ मान्छेभित्र हुने अनियन्त्रित द्वन्द्वको विश्लेषण छ । आफूले आफूलाई रोक्न खोज्दा पनि नरोकिने कुण्ठा र लिप्सा लिपिएको छ । कुनै खास मुद्दा बोक्नुभन्दा समाजभित्र व्यक्तिले भोगिरहेका कुण्ठाको मनको तल्लो तहसम्म पुगेको जरोको खोजी छ । कतिपय समालोचकको मत छ– यस्ता लेखनले समाजमा परिवर्तन ल्याउँदैन । यहाँ प्रश्न छ– आफैंभित्र भास्सिएर निसास्सिएको मान्छेले समाजको परिवर्तन कसरी गर्न सक्छ ?

दुवै धारका लेखक, पाठक र समालोचकले प्रकारान्तरमा यही किताबभित्र आफ्नो मन भेट्छन् । आफूभित्रको द्वन्द्व भेट्छन् । अधिकांश पाठकले कसैलाई खुलेर भन्न नसकिएका आफूभित्रका ग्रन्थिहरूको व्याख्या यहाँ पढ्छन् । त्यसलाई सिद्धान्त र वादहरूका आँखाले हेर्दा उसबेला शंकर लामिछानेले अस्तित्ववाद भने । अब अहिलेकाले त्यसलाई उत्तरआधुनिक भन्लान् । अझ पछिकाले त्यसमा लीला पनि देख्लान् । समयअनुसार, व्याख्याका तरिका फेरिंदै जाँदा, पछि जन्मिँदै आउने दर्शनभित्र पनि सहजै प्रवेश पाउँदै जाने कृति भयो भने त्योभन्दा सफल अर्को कृति नहोला नै । त्यो पो अमर कृति हो । जस्तो आजका मुद्दावादी पाठकले वीपीका उपन्यासमा प्रशस्त मुद्दा भेट्लान, तर उनले ‘तीन घुम्ती’ मा न नेपाली काङ्ग्रेसको सङ्घर्ष लेखेका हुन्, न नारीवादको जुलुस । ‘सुम्निमा’ मा न किरातलाई होच्याएका हुन्, न आर्यलाई उचालेका । उनले आफ्ना सबै किताबमा मानव मनको उत्खनन गरेका हुन्, जसभित्र मिहिन पाराले हेर्नेले नारीवादको शङ्खघोष, धार्मिक कट्टरताको विद्रूप, सांस्कृतिक र जातीय विचलनको बिम्ब आदि अनेक देख्न सक्छन् । देखिरहेका पनि छन्, तर उनी नेपाली राजनीतिको धुरी पुरुष भएर पनि लेखिरहँदा उनले समसामयिक मुद्दाहरूमा मात्रै आफ्नो कलमलाई रोकेर राखेनन् । त्यसैले आज पनि हामी यी यसरी चर्चा गरिरहेका छौं ।

ठीकै छ, हाम्रो लेखनमा मुद्दाहरू पनि भेटिऊन्, जरुर भेटिऊन् । तर, हामीले लेख्न बस्दा नै परीक्षाको उत्तर पुस्तिकामा प्रश्नोत्तर गरेजसरी मुद्दैचाहिँ किन लेख्नु ! ठीक छ, हाम्रो लेखनमा पाठकले मुद्दा भेट्न सक्छ । जस्तो कि मेरा किताबमा कसैले नारीवाद

भेट्ला, कसैले प्रगतिवाद भेट्ला, कसैले उत्तरआधुनिकवाद भेट्ला, कसैले मधेस भेट्ला, कसैले दलित भेट्ला, कसैले जनजाति भेट्ला, कसैले आदिवासी भेट्ला । त्यो भेट्न ऊ स्वतन्त्र छ । तर, मैले लेख्न बस्दैचाहिँ किन कुनै अमुक मुद्दालाई नै समातेर गणितीय पाराले त्यसैलाई सिद्ध गर्नतिर लाग्ने ! हामी मूल कुरो लेखौं न, भेट्नेले आ–आफ्ना मुद्दा आफैं भेटून् ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

म पहाडकै मान्छे हुँ

शक्तिको स्रोत हो– दाल, भात र मःम । चम्चा प्रयोग नगरीकनै म नेपाली दाल–भात खान्छु । नेपाल छोडे पनि नेपालगन्जको बिरयानी, जनकपुरको लस्सी र काठमाडौंको नेवारी खाना मेरो स्मृतिमा सधैं अंकित हुनेछन् ।  
र्‍यान्डी बेरी

म एक जल्दोबल्दो युवा छँदै काठमाडौं आएँ । त्यो बेला थियो– सन् १९८० को अन्त्यतिर । अन्य पश्चिमी नागरिकजस्तै म पनि धेरै उत्सुकता बोकेर, काँधमा एउटा झोला भिरेर नेपाल आएको थिएँ । यहाँका अग्ला पहाड, साँच्चै सुन्दर सांस्कृतिक संरचना र अभ्यास हेर्ने आशासहित आइपुगेको थिएँ म नेपाल । 

त्यो ठिटौले उमेरमा मैले काठमाडौं उपत्यकाको वसन्तपुर, पाटन दरबार स्क्वायर र वरिपरिका इलाकामा लामो समय बिताएँ । सहरका रैथाने मान्छेहरूका रहनसहन, जीवनशैली, चित्रकला, सीप, खानपान अनि टाढा देखिने हिमालहरूको दृश्यले म मोहित भएँ । यहाँका यी चीजले मानिसलाई पटकपटक नेपाल फिर्ता ल्याउँछ । मैले दुईपटक नेपालमा काम गर्न पाएँ । काठमाडौंस्थित अमेरिकी राजदूतावासमा काम गर्न सन् २००७ मा नेपाल आएँ । अमेरिकी नीतिअनुसार, नेपालको पुनर्निर्माण र गृहयुद्धबाट अघि बढ्ने अभियानमा सहयोग गर्ने अवसर पाइरहेको छु । मेरा लागि यो एक अद्भुत अवसर हो ।

दोस्रोपटक सन् १९९३ मा नेपाल आएको थिएँ । त्यसबेलाको नेपालको वास्तुकला र सांस्कृतिक प्रचलनबारे केही कुरा सुन्नु साँच्चै रोचक छ । संयुक्त राष्ट्रसंघको जागिरपछि त्योबेला मलाई बंगलादेश पठाइएको थियो । बंगलादेश पुगेपछि नेपाल आएर पहिले घुमिहिँडेका ठाउँ फेरि घुम्ने मौका पाएँ ।

मलाई नेपालसम्म डोर्‍याउने पृष्ठभूमि म हुर्केको मेरै घरेलु वातावरण थियो । म पहाडमै हुर्कें–बढें । अमेरिकाको कोलोराडो राज्यको चट्टानी पहाडहरूमा खेलें । त्यसैले लाग्थ्यो, म पहाडकै मान्छे हुँ । जब म विश्वविद्यालयबाट बाहिर निस्किएँ तब यात्रा गर्ने अवसर मिल्यो । अनि यात्रामा प्राकृतिक सौन्दर्य नियाल्न पाएँ । त्यहीबेला नेपाल आएर हिमालहरू हेर्ने मौका पाएँ । नेपालमै घुम्न आउनुको कारणचाहिँ वास्तवमा मेरो आफ्नै आन्तरिक प्रक्रिया थियो । मलाई याद छ, जब म सानो थिएँ, म नक्साहरूप्रति आकर्षित हुन्थें । मेरा आमा–बाबुले मलाई मुलुकहरू र त्यसका प्रमुख सहरहरू हेर्न नक्सा किनिदिनुभयो । त्यहिँबाट नेपालबारे थाहा पाएँ र मलाई विभिन्न कारणले नेपालप्रति आकर्षित बनायो । जस्तै त्यतिबेला मैले नेपालको राष्ट्रिय झन्डाको असामान्य आकारको उदाहरण बुझ्न सकिनँ ।

नेपालमा मैले समग्रमा करिब साढे ६ वर्ष बिताएँ । पहिले दुईपटक पर्यटकका रूपमा, त्यसपछि दूतावासमा मिसन उपप्रमुख (२००७–००९) र सन् २०१८ देखि राजदूतका रूपमा । यस दौरानमा धेरै ठाउँ घुमें । नेपालमा मेरो प्रिय केही स्थान छन् । सबैभन्दा पहिले झापा भद्रपुरदेखि इलामसम्म, पूर्वदेखि पश्चिमसम्म अनि सबै पहाडदेखि हिमालसम्म घुमें । निःसन्देह काठमाडौं उपत्यका एक उल्लेखनीय खजाना हो । यहाँको परम्परागत नेवार संरचना, भव्य मन्दिरहरू, मूर्तिहरू, कला, इतिहास मलाई असाध्यै मन पर्छन् ।

मुक्तिनाथको पहिलो यात्रा मेरो स्मृतिमा गाढा भएर बसेको छ । मुक्तिनाथ अति आध्यात्मिक ठाउँ हो । त्यो ठाउँ मेरा लागि साँच्चै महत्त्वपूर्ण रह्यो । किनभने त्यसले शान्ति र धर्महरूबीचको सहअस्तित्व कायम गरिरहेको छ । जनकपुरमा मैले अथाह विविध संस्कृतिहरू हेर्न पाएँ । म मुस्ताङको उत्तरी जोमसोमदेखि लाङटाङसम्मको विश्वकै अद्वितीय क्षेत्र र यस देशका यस्ता उल्लेखनीय संस्कृतिहरूबाट प्रभावित छु ।

काठमाडौं उपत्यका र बौद्ध स्तूपा वरपरको क्षेत्र मेरो प्रिय स्थान हो । इतिहास, संस्कृति र एक अविश्वसनीय ठाउँमा रहेको महत्त्वपूर्ण स्थान हो यो । बौद्ध स्तूपावरिपरि घुम्दा शान्ति मिल्छ । मैले नेपालमा दसैं, तिहार, छठलगायत चाडपर्व मनाएँ । नेपालप्रति म सधैं ऋणी छु, यहाँको संस्कृतिको अद्वितीय गुणले । मानिसहरूका लागि जात्रा–संस्कृति कति महत्त्वपूर्ण छन् भन्ने यहाँ आएपछि थाहा पाएँ । त्यसैले म अत्यन्तै जिज्ञासु छु । नेपालमा धेरै वर्ष बसिसक्दा पनि प्रत्येक दिन केही न केही सिक्न पाएको छु । साँच्चै सहरका जात्राहरूको आनन्द लिन्छु म । नेपालको प्रकृतिलाई पनि स्वागत गर्छु । यस्तो प्रणाली, संस्कृति र विविधताको पूर्णतया अद्वितीय कला भएको देश संसारमै कहीँ छैन । भक्तपुरको बिस्केट जात्रा हेर्न पाउनु मेरा लागि निकै खुसीको कुरा हो । जनकपुरको छठ हेर्ने मौका पाएँ । मैले सामाजिक सञ्जालमार्फत नेपालप्रति चासो बढाउनेहरूका लागि पोस्टहरू गरिरहेको हुन्छु । किनकि नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्र पर्यटन पनि हो । नेपालको एउटा प्रमुख हिस्सा अमेरिकी पर्यटक पनि हुन् । नेपालको संस्कृति, जातीय र अन्य धार्मिक परम्पराहरूप्रति गर्व गर्ने ठूलो ठाउँ छ । लोकतान्त्रिक समाजमा हामीले एकअर्काको पहिचानलाई सम्मान गर्नुपर्छ । नेपालको विविधताबारे जानकारी लिन उपत्यकाको एक सहरबाट अर्कोमा गए पुग्छ । किनकि त्यहाँ मानिसहरू फरक सांस्कृतिक अभ्यास र परम्परा अनुभव गर्छन् । त्यसैले नेपालबारे ज्ञान लिन काठमाडौं र पोखराको भ्रमण गर्न पाउँदा निकै सम्मानित महसुस गर्छु । मैले धेरै समुदायहरूको पनि भ्रमण गर्ने मौका पाएँ । यो दौरान मैले यो मुलुक कति विविधतापूर्ण छ भन्ने बुझें । तसर्थ विविधतामा सुन्दरता छ, त्यो मूल्यवान् छ । र, अन्य सम्बन्धहरू ती परम्पराको सम्मानमा बाँधिएका छन् । म यो उल्लेख गर्न चाहन्छु, केही साता हाम्रो मिसन (अमेरिकी दूतावास) दसैंको सांस्कृतिक कार्यक्रमका लागि बन्द गर्दै छौं । दसैं सुरु हुनुअघि नै हामी दूतावास बन्द गर्छौं । हामीसँग कार्यरत सबै (नेपाली, विदेशी) कर्मचारी नेपाली सांस्कृतिक पोसाक, संगीत, बाँसुरी र गीतसँगै समय बिताउँछौं । भर्खरै नेपालमा आएका अमेरिकीले पनि थाहा पाउनेछन्– नेपाल कति सांस्कृतिक विविधता भएको देश हो ।

नेपाली खाना मलाई मन पर्छ । दाल, भात र मःम शक्तिको स्रोत हो भन्ने थाहा छ । म नेपाली दाल–भात हातैले खान्छु, चम्चा प्रयोग नगरी । पहिलोपटक यहाँ आएका बेला भात–दालको अनुभव गरें । मलाई खसीको मासु पकाउने तरिका पनि थाहा छ । नेपालका हिमाली क्षेत्रमा पाइने खानादेखि तराईमा पाइने खाना खाएको अुनभव छ मसँग । नेपालगन्जमा अचम्मको बिरयानी थियो, जनकपुरमा लस्सी थियो र मैले यहाँ काठमाडौंमा नेवारी खानाको स्वाद लिने अवसर पाएँ ।

सन् १९८० को दशकमा नेपालका धेरै बहुमूल्य खजाना र देवताका मूर्ति चोरी गरी अन्तर्राष्ट्रिय बजारमा बेचिएका थिए । त्यो मलाई स्पष्ट थाहा छ । त्यसैले मेरो टोली स्थानीय संस्थाहरूसँग काम गरेर चोरिएका मूर्ति नेपाल फर्काउन दत्तचित्त छ । त्यसरी नेपाल फिर्ता आएको पाटनको लक्ष्मी नारायणको मूर्ति एक हो । हामी अझै मूर्तिहरू फर्काउन सक्रिय भइरहेका छौं । ती मूर्ति पश्चिमी सङ्ग्रहालयहरूसँग सम्बन्धित मात्रै छैनन्, ती अध्यात्मिक पनि हुन् । केही साताअघि म पाटन दरबार स्क्वायर गएँ हिँड्नका लागि । म मेरा बच्चाहरूसँग गएको थिएँ । त्यहाँ म लक्ष्मी नारायण मन्दिरबाहिर बस्ने मौका पाएँ । मैले बच्चाहरूलाई त्यो किन महत्त्वपूर्ण छ भनेर बताएँ । समुदायको मुटुमा रहेको उक्त स्थानको कलात्मक मूर्ति देखेर मलाई खुसी लाग्यो ।

म ३० वर्षदेखि अमेरिकी सरकारका लागि यो काम गरिरहेको छु । मेरो समयको अविश्वसनीय घटनामध्ये एक थियो– कोभिड महामारीको सुरुवातमा नेपालमा अमेरिकी भ्याक्सिन ल्याउनु । मैले यी खोपहरूको प्रयोग कसरी भइरहेका छन् त्यो हेरें । देशैभरि खोप लगाएको हेर्न गएँ । अमेरिकी खोप अब बच्चाहरूका लागि पनि उपलब्ध छ । यसमा म निकै खुसी छु ।

म केही दिनमै नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर अर्को जिम्मेवारी सम्हाल्न नामिबिया जाँदै छु । नेपाल छाड्नुअघि नै म नेपाललाई मिस गर्न थालिसकेको छु । यो निश्चित छ, भविष्यमा फेरि नेपाल फर्केर आउनेछु । तर, म पूर्ण रूपमा फरक तरिकामा फर्कनेछु यहाँ । म हरेक वर्ष यहाँ आउने हजारौं अमेरिकी अनुहारमध्येको एक यात्रीका रूपमा आउनेछु । र, फेरि आएर ट्रेकिङ गर्ने मौकाको प्रतीक्षा गर्नेछु । यहाँ मेरा दुई साना छोरीहरू छन्, जसले नेपालमा आफ्नो महत्त्वपूर्ण बाल्यकाल बिताएका छन् । जब ठूला हुनेछन्, म उनीहरूलाई नेपाल फिर्ता ल्याउन चाहन्छु । हामीले छोरीहरूलाई ट्रेकिङका लागि बाहिर लैजान सकेका छैनौं । विद्यालयको समय–तालिकाका कारण उनीहरूले मैले जति यात्रा गर्न पाएनन् । छोरीहरूलाई भन्नेछु, उनीहरूको जीवनको ‘आफ्नो कथा’ को एक हिस्सा नेपाल पनि हो ।

(नेपालका लागि अमेरिकी राजदूत बेरीसँग जगदीश्वर पाण्डेले गरेको कुराकानी)

प्रकाशित : आश्विन ८, २०७९ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×