२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मान्छेले देउता बनाए कि देउताले मान्छे ?

ईश्वरको अवधारणा मानव सभ्यताको असाधारण आविष्कार हो । मानवशास्त्री भन्छन्– एक लाख वर्षपहिले नै प्रागमानव वा नियान्डरथलहरुकै समाजमा ईश्वर र धर्ममाथि विश्वास र अभ्यास थियो । तर, मान्छेका मस्तिष्कमा स्वर्गको आस र नर्कको त्रासका कथा थिएनन् । संस्कृति विकासको विशिष्ट कालखण्डमा क्रमशः अस्तित्वमा आएको ईश्वरको अवधारणा आज जटिल विषय बनेको छ । 
सुरेश ढकाल

बहस एउटा प्रश्नबाट सुरु गरौं– मान्छेले देउता आविष्कार गरे कि देउताले मान्छे ? यो एक रुचिकर प्रश्न मात्रै होइन अवधारणागत बहसको विषय पनि हो । पुरातत्त्वविद्, मानवशास्त्रीले हालसम्म गरेका केही अध्ययनबाट प्राप्त प्रमाणका आधारमा धर्म र देउताको अवधारणागत विकासमाथि यस लेखमा केही चासो जाहेर गरिन्छ । 

मान्छेले देउता बनाए कि देउताले मान्छे ?

अंग्रेज मानवशास्त्री सर एडवर्ड बर्नेट टाइलर (१८७१–१९५८) को मत थियो– आदिम समाजमा जब मान्छेले कतिपय रहस्य (जस्तै मृत्यु, सपना, अवचेतन अवस्था आदि) बारे दैनिक जीवन–अनुभवका आधारमा बुझ्न सकेनन् तब धर्मको जन्म भयो । उनी भन्छन्– यस्तो प्रयासमा मान्छेहरू मान्छेको दैहिक अस्तित्व र परा–दैहिक अर्थात् आत्मिक अस्तित्व हुने बुझाइमा पुगे । टाइलरको निष्कर्ष थियो– जडात्मावाद तसर्थ धर्मको प्रारम्भिक स्वरूप थियो, जसले आत्मिक अस्तित्वमा विश्वास गर्थ्यो । त्यसपछि क्रमशः बहुईश्वरवाद अनि एक–ईश्वरवादको विकास भएको हो । यद्यपि कतिपय मानवशास्त्री टाइलरको विभिन्न अवधारणालाई श्रेणीगत वा सिँढीबद्ध गरेर हेर्ने कालक्रमगत विकासको सिद्धान्त उपयोगी नहुने मत राख्छन् ।

१९ औं शताब्दीमा मानवशास्त्र एक विशिष्ट प्राज्ञिक विधाका रूपमा विकास भयो । यससँगै मानवशास्त्रीहरूको रुचि र ध्यान धर्म–अध्ययनमा पुग्यो । स्वाभाविक हो, मानवशास्त्रीहरू संस्कृतिको क्रमिक विकासको सिद्धान्तमा विश्वास राख्छन्, सृष्टिको कथामा होइन । तर, उनीहरू धर्मलाई मानव विकासको पछौटे अवस्था वा आदिम अवस्थाको रूपमा सिँढीबद्ध भने गर्दैनन् । बरु पुरातात्त्विक प्रमाणका आधारमा धर्मको आवधारणा कसरी सांस्कृतिक विकासक्रममा क्रमशः प्रवेश गर्‍यो भन्ने व्याख्या निर्माण गर्छन् । तर, समकालीन समाज, जहाँ धर्मका अभ्यासकर्ता तथा व्याख्याता साक्षी भएको अवस्थामा त धर्मबारे गरिने विश्लेषण दुर्जेयसाध्य काम हो भने प्राग्ऐतिहासिककालमा पुरातात्त्विक अवशेषका आधारमा धर्मको अवधारणा, उत्पत्ति, अर्थ र विस्तारबारे धारणा निर्माण गर्ने र विश्लेषण गर्ने कार्य निश्चय पनि कष्टसाध्य थियो । सीमित र कतिपय अवस्थामा खण्डित पुरातात्त्विक प्रमाणका आधारमा धर्मबारे निश्चित रूपमा बताउनु जोखिमपूर्ण कार्य हो । तर, तिनै सीमित प्रमाण नै उपलब्ध स्रोत हुन्, अन्य विकल्प हामीसँग उपलब्ध छैन ।

पुरातत्त्वविद्हरूले हालसम्म पुरातात्त्विक सन्दर्भमा उत्खनन गरेका पुरातात्त्विक अवशेषहरू, अभिलेख, शिलालेख, भोजपत्र, ताडपत्र, ताम्रपत्रलगायत चट्टान, गुफाहरूमा कुँदिएका भित्ते चित्र, प्रस्तर मूर्तिहरू धर्म र देउताबारे अध्ययन गर्ने अश्मिभूत प्रमाण हुन् । यस्ता पुरातात्त्विक प्रमाणमध्ये प्राचीन समाधिस्थल वा चिहानहरू महत्त्वपूर्ण स्रोत हुन् तत्कालीन धर्म–सम्प्रदाय र संस्कारको अस्तित्व पढ्न । तिनै र त्यस्तै प्रमाणका आधारमा मानवशास्त्रीहरूले गरेका अन्तर्सांस्कृतिक अध्ययनले प्रमाणित गरेका छन्– प्राग्ऐतिहासिककालदेखि नै धार्मिक रीति, विश्वास र धर्मको इतिहास फरक–फरक थियो । यस क्रममा इमाइल दुर्खाइम, क्लिफर्ड गिर्ज, भिक्टर टर्नर, मेरी डगलस, क्लउद लेभिस्त्रोस, अल्फ्रेड सुज, कार्ल मार्क्सजस्ता मानवशास्त्रीको योगदान महत्त्वपूर्ण मानिन्छ ।

धर्म विमर्श : एक मानवशास्त्रीय विचरण

मानवशास्त्री इमाइल दुर्खाइम (इसं १८५८–१९१७) को ‘अनुष्ठान (रिचुअल) एक प्रकारको त्यस्तो सामूहिक कार्य हो, जसमार्फत समाजले यसका सदस्य (व्यक्ति) को तहभन्दा माथि ज्ञानातीत शक्तिको उत्सव मनाउन सक्दछन् वा त्यस्तो सामूहिक अनुभूति’ गर्न सक्छन् भन्ने व्याख्याले मानवशास्त्रीलाई धर्मबारे गरिने अध्ययन–अनुसन्धान कार्यमा निकै प्रभाव पारेको छ । यद्यपि दुर्खाइमको प्रकार्यवादी सिद्धान्तभन्दा फरक उनका समकालीन म्याक्स वेबर (१८६४–१९२०) ले पुँजीवादको विकासमा प्रोटेस्टेन्टहरूको नैतिक–मूल्यको भूमिका रहेको व्याख्या गरेर तुलनात्मक मानव/समाजशास्त्रमा धर्मबारे गरिने व्याख्यालाई नयाँ मोड दिएका थिए । अमेरिकी मानवशास्त्री क्लिफर्ड जेम्स गिर्ज (१९२६–२००६) को ‘धर्म संकेतहरूको प्रणाली हो, जसले मानिसमा शक्तिशाली, व्यापक र दूरगामी मनोदसा स्थापित गरिदिन्छ... धर्म सांकेतिक संप्रेषण हो र संकेतहरूले अर्थ वहन गर्ने काम गर्छ’ भन्ने व्याख्याले धर्म बुझ्ने सवाललाई परिष्कृत मात्र गरेन, सांकेतिक मानवशास्त्रको एक उपविधा नै स्थापित गरिदियो ।

विगतका मानव समाजको अन्तर्सांस्कृतिक तुलनात्मक अध्ययनहरूले इंगित गरेका छन्– ‘धर्म समाजलाई एक सूत्रमा बाँध्ने वा संगठित गर्ने सिद्धान्त वा प्रणाली थियो, यो कुनै बेग्लै र विशिष्ट मानव गतिविधि थिएन ।’ इतिहासको सबै कालखण्ड र स्वरूपमा धर्मले सामाजिक जीवन र व्यक्तिगत अनुभवलाई संगठित र संरक्षित गर्दै आएको छ । भनाइ नै छ– ‘कविला झुन्ड जो सँगै प्रार्थना गर्छन्, सँगै रहन्छन् ।’

अध्ययनअनुसार, प्रारम्भमा प्रकृतिपूजक, जडात्मावादी र पछि बहुईश्वरीय अनि एक–ईश्वरीय अवधारणा विकसित भएको देखिन्छ । तर, सबै कालखण्डमा धर्म प्रकार्य, प्रकट वा अप्रकट रूपमा उस्तै छ ।

पुरापाषाणकालीन विस्तारित संस्कार, अनुष्ठानका प्रमाण अप्राप्य छन् । गेरु रंगको धूलोको नियमित र विशिष्टीकृत प्रयोग (वर्तमान सन्दर्भमा अबिरको जस्तै) लाई धर्म अवधारणाको अस्तित्व मान्ने हो भने करिब ३ लाख वर्षअघिदेखि नै यस्ता झीना प्रमाण भेटिन्छन् । तर, यस्ता प्रमाणका आधारमा मात्रै धर्मको अवधारणाको अस्तित्वबारे निश्चित रूपमा केही भन्न सकिँदैन । धार्मिक विश्वासका प्रारम्भिक संकेतहरू पुरापाषाणकालका अनकन्टार गुफाहरूमा भेटिएका थिए । पुरातत्त्वविद्हरूले गुफाहरूमा भेटिएका संकेतका आधारमा धार्मिक विश्वासको अस्तित्वको प्राचीनताको अनुमान गरेका हुन् । समस्या के हो भने कतिपय त्यस्ता सांस्कृतिक, धार्मिक अनुष्ठानहरूले कुनै भौतिक प्रमाण नै छाडेका हुँदैनन् । दूरदराजका समकालीन आदिवासी र कबिला समुदायका अनुष्ठान अवलोकन गर्दा पनि थाहा लाग्छ– उतिबेला मान्छे जटिल र सुविस्तारित गतिविधिको अभ्यास र अनूभूति गर्थे, तर तिनका भौतिक अवशेष भेटिँदैनन्, जो पुरातात्त्विक अध्ययनका विषय बन्न सक्थे ।

अनकन्टार गुफाका भित्ताहरूमा भेटिन्छन्– ईश्वर, धर्म र मान्छेका कथा । त्यहाँ लेखिएका छन् ईश्वरका इतिहास । रक आर्टहरूमा भेटिन्छन्– पुराना मान्छेका मस्तिष्कमा कुँदिएका देउताका चित्र । मान्छेहरू धर्म, संस्कृतिसम्बन्धी धारणा र विश्वास विभिन्न कलामार्फत व्यक्त गर्थे । ईश्वरहरू भेटिन्छन्– प्रस्तर कला, सेरामिक, माटोको मूर्ति, चट्टानमा कुँदिएका चित्र, गुफा चित्रहरूमा । इन्डोनेसियाको सुलाबेंसी टापुको एक चुन ढुंगाको गुफामा कुँदिएका तीनवटा वराहका चित्रहरू अनुमानित ४५ हजार वर्ष पुरानो मानिन्छ । ‘साइन्स एडभान्सेस ’ का अनुसार, पुरातत्त्वविद्ले पत्ता लगाएका ती जनवार–आकृति हालसम्मकै पुरानो चित्रकला हो । र, ती पनि कुनै विश्वास परम्परासँग सम्बन्धित प्रतिनिधिमूलक चित्र हुन सक्छन् ।

पाषाणकालीन समयमा पनि रीति–अनुष्ठान कुनै प्रकृति सम्बन्ध स्थान (गुफा, रूखका टोड्का, पानीको मूल, डाँडाका टुप्पाहरू) मा हुन्थे । दैनन्दिन उपयोगमा आउनेभन्दा फरक स्थानमा कुनै फरक खाले संरचना निर्माण गरी रीति–अनुष्ठान गरिन्थ्यो भन्ने अध्ययनले देखाउँछन् । कुनै खास सामग्री (गेरु रंगको धूलो, खास आकारको आकृति, ढुंगे हतियार, पत्थर–माला) प्रयोग गरिन्थ्यो । दैनिक जीवनमा उपयोगमा आउने सामग्री प्रयोग नहुनाले ती स्थान अनुष्ठानका लागि प्रयोग भएका थिए भनेर अनुमान गरिन्छ ।

लामो अवधिको पाषाणकालीन समयदेखिको यायावरी सिकारी युगको अन्त्य कृषिको सुरुवातसँगै नवपाषाणकालमा आएर भयो । त्यसयताका पुरातात्त्विक प्रमाणको प्रचुरता र सन्दर्भ पनि बढ्दै गयो । यायावरी सिकार–संग्रह युगमा प्रकृतिसँग अनुकूलन र एकाकार बस्नुपर्ने अवस्थामा प्रकृतिका रहस्य र भयले अलौकिक शक्तिको आवधारणाको अस्तित्व निर्माण गरेको थियो । यद्यपि पर्याप्त पुरातात्त्विक प्रमाण भने उपलब्ध थिएनन् । १०–१२ हजार वर्षपहिलेदेखि क्रमशः जब मानिस ठूला र विस्तारित समूहमा स्थायी बसोबास गर्न थाले तब धर्म र देउतासम्बन्धी अवधारणा पनि बढी प्रत्यक्ष रूपमा प्रकट र संस्थागत हुन थालेको देखिन्छ । यद्यपि यस्ता सम्पदा सम्पन्न ठाउँहरू भने पर्याप्त मात्रामा उत्खनन् गर्न सकिएका छैनन् ताकि ती प्राग्ऐतिहासिक धार्मिक विश्वास परम्परा, अनूभूति र अनुष्ठानबारे विशिष्टीकृत र निश्चित रूपमा केही भन्न सकियोस् ।

चिहान वा समाधिस्थल त्यस्ता महत्त्वपूर्ण पुरातात्त्विक सन्दर्भ हुन्, जसको उत्खनन र भेटिएका वस्तुका विश्लेषणका आधारमा तत्कालीन समाज, सामाजिक सोपानबारे धेरै भन्न सकिन्छ । तर, विश्वास परम्परा, परलोक, मरणोपरान्तको अस्तित्व आदि अवधारणाबारे सांकेतिक हिसाबमा मात्रै बुझ्न सकिन्छ, तर कुनै कुरा निश्चित गरेर भन्न सकिँदैन ।

आज पनि विश्वका कतिपय कुनामा अक्षत मानव समुदाय छन्, जो समकालीन ‘आधुनिकता’ बाट प्रभावित छैनन् । आज पनि उनीहरू सिकार–संग्रह गरेर यायावरी जीवन बाँचेका छन् । पपुवान्युगिनी, अमेजन क्षेत्र, अफ्रिकाका दूरदराजका स्थानका त्यस्ता समुदायको अध्ययन भएका छन् । पश्चिम नेपालका राउटे पनि त्यस्तै एक समुदाय हो, जो खेती गर्दैनन्, यायावरी जीवन नै बाँचिरहेका छन् । त्यस्ता समुदायमा निहित विश्वास परम्परा, अनुष्ठान विधिको अवलोकन र अध्ययनबाट विगतका उस्तै सामग्री उपयोग गर्ने, उस्तै जीवन बाँच्ने, खेतीपातीको युगमा प्रवेश नगरिसकेका समुदायको धर्म, देउतासम्बन्धी विश्वास र रिवाजबारे बुझ्न सकिन्छ । नवपाषाणकालीन अर्थात् १० हजार वर्षयता प्राप्त भएका चोइटिएका, टुक्रिएका माटा (सेरामिक) का आकृति, भित्ते चित्र (चट्टान तथा गुफाका) मा अंकित (देवी, देउता) आकृतिहरूको व्याख्या गर्न त्यस्तो विधि उपयोगी साबित भएको छ ।

धर्मप्रतिको समुदायको अवधारणालाई उनीहरूको सबैभन्दा महत्त्वपूर्ण व्यावहारिक चासोले आकार दिइरहेको हुन्छ । नवपाषाणकालीन धार्मिक अवधारणामा तसर्थ जनावर र जमिनको उर्बरता, खेतीपाती र पशुको सुरक्षासम्बन्धी चासो हावी हुनु स्वाभाविक थियो । त्यसबेलाका मान्छेले निर्माण गरेका थिए– भूमि देउता, जल वा वर्षाका देउता, सूर्य अर्थात् ताप र प्रकाशका देउता । उनीहरूको तत्कालीन काल्पनिकीमा उर्बरता र उत्पादनका लागि भाले र पोथी अर्थात् पुरुष र स्त्री शक्ति आवश्यक पर्थ्यो । सोहीअनुरूप ती मान्छेहरूले भाले र पोथी शक्ति (देव–देवी) को परिकल्पना गरे । जस्तै सूर्य वा आकाश भाले र पृथ्वी पोथी, यी दुईको समागममार्फत नै पृथ्वीमा उर्बरता र उत्पादन सम्भव हुन्छ भन्ने ज्ञानको निर्माण गरे । उत्पादन र पुनरुत्पादन पृथ्वीमा हुने भएकाले उनीहरूले सूर्यलाई देउता र पृथ्वीलाई मातृ शक्तिका रूपमा ग्रहण गरे । त्यसैले आकाश, पृथ्वी, जल, वायुजस्ता शाश्वत प्राकृतिक तत्त्वमा उनीहरूले उर्बरताको शक्ति निहित ठाने र सोहीअनुरूप मिथकीकरण गरे, अनुष्ठान प्रारम्भ गरे, जसलाई आज हामी नवपाषाणकालीन धर्मका रूपमा बुझ्छौं । नवपाषाणकालीन भौतिक आकृति, संरचनाहरूमा पुरुषशक्ति र स्त्रिशक्ति दुवैको विम्ब देख्न सकिन्छ, जसको निरन्तरता केही परिवर्तित र परिष्कृत रूपमा आज पनि कृषिमा आधारित समुदायमा देख्न सक्छौं । उक्त अवधिमा निर्माण भएको अवधारणाको प्रभावको निरन्तरता हामी वर्तमानको संस्कृति र संस्कारमा पनि पाउँछौं ।

आदिम रहस्यहरू, जसको बोध मान्छेहरूको उपलब्ध ज्ञानको दायराभन्दा बाहिर थियो । एउटा अज्ञात भय पनि थियो, जसले अज्ञात अस्तित्वको अवधारणाका लागि भावभूमि प्रदान गर्‍यो, जुन अन्ततोगत्वा क्रमशः आदि र अन्त्य नभएको, सर्वव्यापी, कणकणमा, तर देख्न, छुन नसकिने ईश्वरका रूपमा संस्थागत विकास भयो । कालान्तरमा तिनै ईश्वरपालित धर्म सूत्रहरू बने । कसले के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने नैतिक मानक निर्माण गरियो । र, ईश्वर–धर्मको वर्तमान स्वरूपमा समाज आइपुग्यो ।

यदि देउता रहस्य हुन्, जसरी संसारमा यस्ता लाखौं रहस्य छन् भने ती देउता भलादमी देउता हुन् । तिनले मान्छेका उत्सुकतालाई कायम राख्छन्, थप खोज–अनुसन्धानलाई सहयोग नै होला । तर, मान्छेको दैनिक जिन्दगीमा ‘नैतिकताको पाठ’ सिकाउन आउने देउतामाथि भने प्रश्न उठ्छन् ।

देउता : एक परिभाषा

हामी धेरैसँग सम्झनाहरू होलान्, जुनबेला हामीले ‘धरोधर्म’, ‘भगवान् कस्सम्’ जस्ता अनेकौं वाचा सुनेका, भनेका थियौं वा कुनै भाकल गरेका थियौं अनि तिनमा विश्वास पनि गरेका थियौं । हामीलाई त्यस्ता ‘कस्सम’हरू स्वाभाविक लाग्थे मानौं अनन्तकालदेखि चलेका शाश्वत विश्वास परम्परा थिए ती । विश्वका सबै कुनाका मानव समुदायमा बिनाअपवाद यस्ता अनेकन् विश्वास/परम्परा हुन्छन्, जसले अलौकिक शक्तिको अस्तित्व रहेको ठान्छन् । समय, स्थान, समुदाय, संस्कृतिअनुसार त्यस्ता विश्वास फरक–फरक होलान्, तर तिनलार्ई सामान्यतया प्रश्न नगरीकनै स्विकारिन्छ । त्यस्ता विश्वासको समुच्च र संस्थागत अस्तित्वलाई नै सामान्यतया धर्मको रूप दिइन्छ । तिनै विश्वासका आधारमा मान्छेका सामूहिक र व्यक्तिगत व्यवहार पनि निर्देशित भइरहेका हुन्छन् ।

मानवशास्त्रीहरू कायल छन्– धर्मको परिभाषालाई सरल ढंगले सूत्रबद्ध गर्न नसकेकामा । क्यानेडेली–अमेरिकी मानवशास्त्री एन्थोनी वालेस (१९२३–२०१५) ले धर्मलाई ‘अलौकिक सत्त्व, शक्ति र गुणसँग सम्बन्धित विश्वास एवं रिवाज’ का रूपमा परिभाषित गरेका थिए । तर, यदि धर्मलाई परिभाषासापेक्ष अवधारणा हो भनेर मान्ने हो भने यसको कुनै ठोस् र सर्वमान्य परिभाषा हुँदैन । कैयौंका लागि धर्म ईश्वरमाथिको विश्वास र ईश्वरभक्ति पनि हो । कतिपयका लागि धर्म निष्ठा, नैतिकता, इमान र आचरण हो । कतिपयका लागि धर्म दैनन्दिनीको सांसारिक जीवनभन्दा अलग अनूभूति गर्ने प्रक्रिया हो ।

समकालीन विश्वमा धर्म सायद सबैभन्दा विवादित मुद्दा बनेको छ, जसले सहजै राजनीतिक स्वरूप ग्रहण गर्ने गरेको छ । एक ख्यातिनामा रोमन दार्शनिक लुसियस सेनेका (४ इपू– ६५ इ) ले दुई हजार वर्षअघि नै व्यंग्यात्मक शैलीमा भनेका थिए, ‘धर्म आम मान्छेले सत्य हो ठान्छ, बुद्धिमान्ले मिथ्या र शासकले उपयोगी ।’ प्लेटो, एरिस्टोटल, एपिक्युरसजस्ता दार्शनिकबाट प्रभावित सेनेकाको यो उक्ति कति सहासी, सत्य र सर्वकालिक थियो भन्ने दृष्टान्त आज पनि भेटिन्छन् ।

दक्षिण अफ्रिकी रगंभेदविरोधी नेता आर्क विशप डेसमन्ड टुटु (१९३१–२०२१), (जसले सन् १९८४ मा शान्तिका लागि नोबेल पुरस्कार पाए) ले भनेका थिए, ‘जब मिसनरीहरू अफ्रिकामा आए, उनीहरूसँग बाइबल थियो र हामीसँग भूमि । उनीहरूले भने– प्रार्थना गरौं । हामीले हाम्रा आँखाहरू चिम्लियौं । जव आँखा खोल्यौं, हामीसँग बाइबल थियो र उनीहरूसँग भूमि ।’ यो ऐतिहासिकी–अनुभवजनित भनाइ समकालीन विश्वमा धर्मको एउटा पाटो बुझ्न महत्त्वपूर्ण हुन सक्छ । टुटुको यो भनाइले पश्चिमा उपनिवेशको अफ्रिकी इतिहास मात्रै बताउँदैन, औपनिवेशिक शासकले कसरी उपनिवेश विस्तारका लागि धर्मलाई औजारको रूपमा उपयोग गरेका थिए भन्ने दृष्टान्त पनि प्रस्तुत गर्छ ।

१९ औं शताब्दीको पूर्वाद्धको धर्मको चरित्र अवलोकन गरेर कार्ल मार्क्स (१८१८–१८८३) ले भनेका थिए, ‘आम जनसाधारणका लागि धर्म अफिम हो, जसले उनीहरूलाई तत्कालको पीडादायी यथार्थबाट अलग्याउँछ र संवेदनाशून्य बनाउँछ । उनीहरूलाई प्रगतिशील राजनीतिप्रति अरुचिकर बनाउँछ र अलग्याउँछ । यद्यपि तत्कालका रूपमा हेर्दा भने उनीहरूलाई मनोवैज्ञानिक रूपमा क्षतिपूर्ति गरिरहेको हुन्छ ।’ समकालीन विश्वमा उनको यो धारणा असान्दर्भिक बनिसकेको छैन ।

माथिका यी विमर्शले धर्मको समकालीन विश्वचरित्र बुझ्न मद्दत गर्ला नै । तर, हामीले मानव संस्कृति र सभ्यतामा धर्मको प्रवेश, विस्तार र भूमिकाबारे भने केही फरक ढंगबाट बुझ्नुपर्ने हुन सक्छ ।

ईश्वर–विमर्श

ईश्वरको अवधारणा र विकासबारे शताब्दिर्औंदेखि विमर्श हुनथालेको हो । देउता र ईश्वरहरू कसरी निर्माण भए ? करिब एक लाख वर्षपहिले नै प्रागमानव वा नियान्डरथलहरूकै समाजमा ईश्वर र धर्ममाथिको विश्वास, अभ्यास थियो भन्ने संकेत गर्छन् मानवशास्त्रीहरू । पुरातात्त्विक अवशेषका आधारमा यस्तो संकेत गरिएको थियो । यद्यपि यस्ता विश्वास र अभ्यास सीमित अनि आदिम स्वरूपका थिए । त्यो अभ्यासलाई आजजस्तो कुनै अमुक धर्मको नाम भने दिइँदैनथ्यो । खासमा धर्मका प्राचीनतम, आद्य संकेत मात्रै थिए ती ।

धर्म, पाप, देउता (भगवान्/ईश्वर) जस्ता विश्वास वा अवधारणा खासमा मानव संस्कृति निर्माणका क्रममा कुनै एक कालखण्डमा सिर्जित भएको थियो । मानवशास्त्रीको समान बुझाइ के छ भने पाप, धर्म, देउताहरू मानवनिर्मित सांसारिक अवधारणा हुन् । सांस्कृतिक उद्विकासका क्रममा मान्छेले गरेका हुन् देउताको आविष्कार ।

यहाँ ईश्वर अस्तित्व र धर्मबारे चर्चा गर्नुको आशय देउता, धर्मजस्ता संवेदनशील विषयमा मान्छेका आस्थामाथि प्रश्न उठाउने मनशाय पटक्कै होइन अनि तिनको अस्तित्वमाथि सन्देह गर्नु पनि होइन । खासमा मानव समुदायको धर्मप्रतिको यस्तो आस्था र विश्वास सधैं उस्तै थिएन । सुदूर विगतमा अहिले झैं यस्तो गर्नु हुन्छ/गर्नु हुँदैन भनेर मान्छेलाई नैतिक नियन्त्रण र निर्देशन गर्ने देउता–धर्म थिएनन् । उबेला मान्छेको मस्तिष्कमा स्वर्गको आस र नर्कको त्रासका कथा थिएनन् । यथार्थमा दर्शन जब प्रदर्शनको विषय बन्न पुग्यो तब धर्मको आध्यात्मिक विधा र अभ्यासको स्वरूप स्खलित भएर त्यो राजनीति र बजारको विषय बन्न पुगेको हो । नेपाल, भारत र समग्र दक्षिण एसियाको वर्तमान यस विषयको साक्षी छ । समकालीन नेपालको राजनीतिको एक केन्द्रीय मुद्दा बनेको छ– धर्म निरपेक्षताको समर्थन र विरोध । राजनीतिक ध्येयसाथ राजनीतिज्ञले उठाएका छन् यो मुद्दा, यद्यपि केन्द्रमा धर्म रहेको देखिन्छ । यो एक साधारण उदाहरण मात्रै हो, खासमा दक्षिण एसिया धर्मको यस्तो राजनीतिक उपयोगबाट आक्रान्त रहेको तथ्य सर्वविदितै छ । यी र यस्ता समकालीन चरित्रलाई नजरअन्दाज गरेर पनि धर्मको आदिम र प्राक्स्वरूपबाट आजको जटिलतासम्म कसरी आइपुग्यो भन्ने विमर्श गर्नु वाञ्छनीय हुन्छ ।

सृष्टि कथा र ईश्वर

जीवन–जगत् उत्पत्तिको आद्यकारणबारे व्याख्या गर्ने मुख्य दुई अवधारणा प्रचलनमा छन्– सृष्टिको अवधारणा र उद्विकास अर्थात् क्रमिक विकासको अवधारणा ।

सृष्टि अर्थात् दैवी सृजनाको अवधारणा (थियरी अफ क्रिएसन) ले यो जीवन र जगत् यही स्वरूपमा ईश्वरले रचना गरेका हुन् भन्नेमा विश्वास गर्छ । संसारका सबै कुनामा, सबै कालमा कुनै पनि धर्म–परम्परामा यस्ता सृष्टि कथाहरू शताब्दिऔंदेखि श्रुति–स्मृति परम्परामार्फत् पुस्ता–दरपुस्तामा हस्तान्तरण भइरहेका छन् । कथ्य परम्पराहरू समय, स्थान, समुदाय, धर्म–परम्पराअनुसार फरक–फरक हुन्छन् । लामो र उत्कृष्ट कथ्य परम्परा भएको हिन्दुहरूमा पृथ्वीको सृष्टि, मानिस, अन्य चराचर जीवनको अस्तित्वमाथि अनेकौं पौराणिक कथा–उपकथा छन् । विभिन्न धर्म, सम्प्रदाय, समुदाय, भेगमा सुनिने, पढिने आदिकथा र तिनको पुनरोक्ति सायद नेपालमा पनि अनिगिन्ती छन् । तिनमा आदिवासी–ज्ञान र विश्व दृष्टिकोण पनि निहित हुन्छन् । त्यस्ता कथालाई विश्वास परम्पराका रूपमा ग्रहण गरिन्छ र प्रश्न गरिँदैन । तिनै विश्वास परम्परा र विभिन्न धर्मको तुलनात्मक अध्ययनका आधारमा पनि के बुझिन्छ भने देउता र धर्म एकै पटक अस्तित्वमा आएका होइनन् । मानव सभ्यताका विभिन्न कालखण्डको अध्ययन गर्दा थाहा पाइने तथ्य हो– धर्म र देउताको अर्थ पनि एकै छैनन् । समयक्रममा तिनको अर्थ र उद्देश्य परिवर्तन हुँदै आएका छन् ।

सबै सृष्टि कथाहरूमा आदि सृष्टिकर्ता पनि हुन्छन् । कसैले तिनलाई आदि पुर्खा भनेर पुज्छन्, कसैले ईश्वर मानेर संस्थागत गर्छन् । हिन्दु धर्मजस्तो बहुल परम्परा र एकभन्दा बढी सृष्टिकथा भनिने समाजमा बहुल ईश्वर पनि अस्तित्वमा हुन्छन् । हिन्दु मान्यतामा ‘तेत्तीस कोटी’ अर्थात् तेत्तीस प्रकारका परम् देउता छन्, जसमा वायु, जल, पृथ्वी, आकाश, अग्नि आदि पर्छन् । यद्यपि वैदिक संस्कृत ‘त्रयत्रिंशत् कोटी’ को केही पश्चिमा विद्वान्को भ्रमपूर्ण अनुवादका कारण कसैकसैले तेत्तीस करोड देउता भनेको पनि सुनिन्छ । केही धर्मले भने अद्वैतवाद वा एक ईश्वरवादमा विश्वास गर्छन् ।

दोस्रो धारणा हो– उद्विकासको सिद्धान्त, जसले जीवन र जगत्को हालको अस्तित्व क्रमिक विकास हुँदै आइपुगेको हो भन्ने ठान्छ । यस्तो सिद्धान्तमा विश्वास गर्नेहरूको भने एउटै भाष्य र उस्तै कथ्य परम्परा हुन्छ । सृष्टिको कथामा जस्तो स्थान, धर्म, सम्प्रदायसापेक्ष अनेकन् कथा हुँदैनन्, देउताको अस्तित्वबारे पनि कथाहरू रचिएका हुन्नन् । यद्यपि केही वैज्ञानिक तथ्यमाथि विवाद र बहस भने हुन सक्छन्, भएका छन् ।

०००

हामी दसैंको पूर्वसन्ध्यामा छौं । दसैं खासगरी मध्यपहाडका नेपालीहरूको महत्त्वपूर्ण चाड हो, जसले कालान्तरमा राष्ट्रिय चाडको मान्यता र महत्त्व पाएको छ । यो एउटा यस्तो महत्त्वपूर्ण अवसर हो, जहाँ धर्म, संस्कृति र रिवाज/अनुष्ठानको अर्थपूर्ण अन्तर्घुलन देख्न सकिन्छ । र, यो यस्तो उदाहरण पनि हो, जसका कारण हामीलाई धर्म, संस्कृति र अनुष्ठान (रिचुअल) बीच भेद खुट्याउन कठिन पर्छ । तर, तिनले सारमा परिवार, समुदायका सदस्यलाई भावनात्मक रूपले एकाकार बनाउने, सम्बन्धको पुनर्ताजगी गर्ने कार्य गर्छन् ।

धर्म, संस्कृति र संस्कार फरक अवधारणा हुन्, तर एकआपसमा यसरी गुजुल्टिएका छन्, एकमाथि अर्को यसरी खप्टिएका छन् कि तिनलाई तटस्थ र छुट्टाछुट्टै बुझ्न कठिन पर्छ । तर, त्यो भेद छुट्याउन र दैनिक जीवनमा त्यसको अनुभव बोध गर्न निरन्तर विमर्श र संवाद आवश्यक छ । यसो गर्दा हामी समकालीन समाज र मानवीय व्यवहारलाई परिष्कृत तबरले बुझ्न सक्छौं ।

प्रकाशित : आश्विन ८, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?