कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
कोसेली

रहनुपर्छ बाँस, बज्नुपर्छ बाँसुरी

हाम्रा फिरन्ते पुर्खाले खेतीपाती गरेर स्थायी घरजम थालेपछि सबैभन्दा बहुउपयोगी प्राकृतिक वनस्पति थियो– बाँस । पुरातात्त्विक अध्ययन र दस्तावेजले बाँसबाट बनेका तीर, कागज, किताबका कथा भन्छन् । नेपाली समाजमा चाडपर्व, जीवनशैली, संस्कार, संस्कृति, जन्म–मृत्युहरुमा बाँचेको छ– बाँस ।

कतै सुदूरबाट नियाल्दा कुनै विशाल तालमा माछा मार्न थापेको बडेमाको बल्छीजस्तै देखिन्छ– बाँस । त्यसैले बाँससँग अनेकन् गाउँखाने कथा–उखान–किस्सा जोडिन्छन् । जस्तो, ‘पानीबिनाको बल्छी खेल्ने के हो ?,’ ‘न रहे बाँस न बजे बाँसुरी’, ‘नौतले घरको झ्याल न ढोका, त्यो के हो ?’ बल्छी, बाँसुरी, नौतले घर, यी सबैको उत्तरमा हाम्रोअघि अग्लो बाँस नै उभिन्छ । बाँसको बहुआयामिक उपयोगीतामाथि नेपाली जनजीवनमा यस्तो पनि भनिन्छ, ‘बाँस सबैको भलो, नहुने हलो !’

रहनुपर्छ बाँस, बज्नुपर्छ बाँसुरी

यसरी घरको तलाझैं गन्न मिल्ने गरी तलैतला आँख्ला लागेको अरू वनस्पतिको खामो हुँदैन । खामोभित्र खोक्रो ढुङ्ग्रो हुन्छ, बाँसको बनोटमा । बाँसमा कतै पनि झ्याल–ढोका वा प्वाल हुँदैन । त्यसैले हाम्रा गाउँघरमा यस्तो भनिन्छ– ‘एकातिर काटे ढुङ्ग्रो, अर्कातिर काटे पुङमाङ !’ असलमा बाँसको आकृति सोझो ठाडो लिङ्गोको रूपमा हुन्छ । र, यो टुप्पोतिर मसिनो हुँदै तल जमिनतिर झुकेको हुन्छ ।

एकैछिन फर्कौं मानव विकासको इतिहासतिर । बाँसको उत्पत्ति चीनमा भएको मानिन्छ । धेरै चिसो हावा–पानी भएका स्थानबाहेक संसारका जताततै कुनामा बाँस फैलिएको छ । त्यसैले बाँसले चीनबाटै विश्व–यात्राको आफ्नो पहिलो पाइला सुरु गर्‍यो भन्न सकिन्न । जब मान्छेले वन–जंगलको फिरन्ते जीवन त्यागेर खेतीपाती गरी स्थायी घरजम गर्न थाल्यो, तब उसका लागि सबैभन्दा उपयोगी प्राकृतिक वनस्पति बन्यो– बाँस । भनिन्छ– घर बनाएर परिवारमा बस्न थालेपछि मान्छेले दैनिकीमा प्रयोग गरेको पहिलो वस्तु बाँसबाटै बनेको थियो । बाँसलाई शताब्दियौंदेखि नै मान्छेले दैनिक जीवनमा प्रयोग गर्दै आएको छ । सात हजार वर्षअघिका पुराना दस्तावेजले बाँसबाट बनेका सामान (तीर, कागज, किताब, निर्माण सामग्री) का कथा भन्छन् ।

घर–टहरा, गोठ–छाप्रो जेसुकै बनाउन होस, बाँसको उपादेयतालाई अरू कुनै प्राकृतिक वनस्पतिले उछिन्न सक्दैन । दाँत कोट्याउने वा टपरी गाँस्ने मसिनो सिन्कोदेखि ठूला–ठूला भवन र मन्दिर निर्माणमा टेवा दिने एवं खट बाँध्ने जब्बर काममा प्रयोग हुन्छ– बाँस । बाँस काट्न कुनै विशेष औजार वा ज्यावल आवश्यक पर्दैन । सामान्य खुकुरी, कर्दो, हँसिया वा चक्कुबाटै बाँसका सबैथरीका सामग्री तयार गर्न सकिन्छ । बाँसका प्रकार धेरै हुन्छन्— ठूलो, अग्लो वा सानो कदको, मसिनो वा मोटो खालको । ठूलो खालको अग्लो बिरुवालाई बाँस भनिन्छ भने सानो मसिनो बिरुवालाई निगालो वा मालिङ्गो भनिन्छ । हामी यस लेखमा तिनै बाँस–निगालो–मालिङ्गोको चर्चा गर्नेछौं ।

नेपाली जनजीवनको अभिन्न अंग हो – डोको। थाप्लामा नाम्लो र पिठ्युँमा डोको नेपाली ग्रामीण महिला–पुरुषको दैनिक–नियति हो। एक गाउँकी महिलाले निकैअघि भनेकी थिइन्, ‘हामीलाई चाहिएको विकास एउटै मात्र छ, त्यो हो– थाप्लोबाट नाम्लो हटाइपाऊँ।’

वनस्पतिशास्त्रले सबै प्रकारको बाँसलाई दूबो वा कुशलाई झैं घाँसको ‘ग्रामिनी’ अथवा ‘पोयसी’ (हाल आएर) परिवारमा राखेको छ । ग्रामिनी घाँस ‘ग्रास’ सँग जोडिन्छ र ‘पोयसी’ पोवा भन्ने लेकाली दूबोसँग जोडिन्छ । संसारभर बाँस तथा निगालो वा मालिङ्गोको प्रजाति संख्या १५०० भन्दा बढी छ । अनुसन्धानले भन्छ– १५०० प्रजातिमध्ये नेपालमा ८१ प्रजातिको बाँस पाइन्छ । नेपालका रैथाने बाँसहरू वनजंगलमा मात्रै नभई गाउँबस्ती वरपर, कम उब्जनी हुने पाखा पखेरुतिर तथा समथर भूभागका विभिन्न क्षेत्रतिर पाइन्छ/लगाइन्छ । घरायसी वा सामुदायिक खपतका लागि मात्रै होइन उद्योग–व्यवसायका लागि पनि बाँसघारी रोप्ने चलन छ ।

नेपालका बाँसहरूमा मलबाँस ‘ब्याम्बुसा नुटान्स’ सबैभन्दा लोकप्रिय मानिन्छ । यो काठमाडौं र यसकै उचाइको हाराहारी भएको १५०० मिटरभन्दा उच्च क्षेत्रमा पाइँदैन । अन्यत्रको पहाडी क्षेत्र र तराईमा यसको प्रचुरता हुन्छ । विशेषगरी पूर्वी नेपाल मलबाँसका लागि प्रख्यात छ । बाँस–विशेषज्ञ पुण्यप्रसाद पौडेलका अनुसार, विश्वकै सर्वाधिक सुन्दर बाँसहरूमध्येमा मलबाँसको विशेष स्थान छ । यो १० देखि २३ मिटरसम्म अग्लो हुन्छ । फेदतिरको व्यास पनि १० सेन्टिमिटरको गोलोमा फैलिएको हुन्छ । कच्ची घरको खर छाना छाउन यो बाँस अधिक प्रयोग हुने गरेको छ । डोको–डालो बुन्न पनि यो बाँसको लचक स्वभाव निकै उपयोगी हुन्छ । बार–बन्देज लगाउन पनि मलबाँसको उपयोग गरिन्छ । मलबाँसको विशेष गुणमध्ये यसभित्र जम्ने वंशलोचन आयुर्वेदिक औषधि उल्लेखनीय छ । अरू बाँसझैं यो बाँस पनि जीवनकालमा एकपल्ट मात्रै फूल्छ । लगभग ३५ वर्षपछि यो बाँसमा फूल फुल्छ । र, त्यसपछि यो बाँस मरेर जान्छ । सायद त्यसैले गाउँघरतिर भनिन्छ– ‘बाँसमा फूल फुल्यो भने अनिकाल लाग्छ ।’ कुनै बाँसको चाहिँ ५०/६० वर्ष उमेर पुगेपछि मात्रै फूल फुल्छ ।

नेपाली समाजमा हाम्रा चाडपर्व, जीवनशैली, संस्कार, संस्कृति, जन्म–मृत्युहरूमा बाँचेको छ– बाँस । दसैं–तिहारतिर गाउँघरमा थापिने लिङ्गे पिङको चःचः हुईमा बाँच्छ बाँस । बाँसको सम्पूर्ण गुणात्मक प्रकृतिको प्रदर्शन हो– लिङ्गे पिङ । अग्लो सुरिलो आकृति, मान्छे चढ्न सहायक हुने आँख्लाका गाँठाहरू, स्वाभाविक लचक तथा सुरक्षित बलियो प्रकृति– बाँसमा उजागर हुने विशेषता हुन् यी । पिङ हाल्न मलबाँस तथा थारुबाँस विशेष उपयोगी मानिन्छ । गाउँघरतिर मात्रै होइन सहरी क्षेत्रभित्रका खुला स्थानमा पनि पिङ थापेर दसैं मनाउनु नेपालीहरूको विशेषता हो ।

मेरो मष्तिस्कमा जब आफ्नै बाल्यकाल सलबलाउँछ तब ठिङ्ग उभिएको बाँसको आकृति पनि सँगै आउँछ फोटोजस्तै भएर । विसं २०१०–२०२० तिर काठमाडौंको महाबौद्ध बहालमा पिङ थापिन्थ्यो, तर टुँडिखेलमा भने पिङ थाप्न पाइँदैनथ्यो । नेपाली समाजमा बाँस र निगालो मान्छेको जीवन निर्वाहका लागि आवश्यक सबै थोक बनाउन मिल्ने प्राकृतिक वरदानझैं स्थापित छ । आधुनिक सहरी जीवनमा भने बाँसका सामग्रीहरू अब विस्थापित हुन थालेका छन् । परम्परागत ग्रामीण समाजमा बाँस–निगालोबिना मान्छेको जीवनचर्या नै चल्दैन भन्दा अत्युक्ति हुँदैन । यो वनस्पति आर्थिक, सांस्कृतिक रूपले पनि असाध्यै महत्त्वपूर्ण छ । हाम्रो संस्कृति, संस्कार र समाजमा बाँसको महत्त्व जन्म, जीवन र मृत्युसँग पनि गाँसिन्छ भन्ने तथ्यलाई हामीले भुल्दै गइरहेका छौं कि ?

बाल्यावस्थामा आमाले झुलाउने त्यो कोक्रो बाँस–निगालोबाटै बनेको हुन्छ । जीवनकालका शुभ अवसर मानिने विवाह, व्रतबन्ध, धर्मकर्मका शुभ मण्डपहरू सजाउन हरियो निगालो नै आवश्यक पर्छ । हरियो बाँसको अर्को अर्थ मृत्युसँग पनि जोडिन्छ । हरियो बाँसलाई घरभित्र हुल्नु वा यात्रामा बाहिर निस्कँदा हरियो बाँस देख्नु अशुभ मानिन्छ । मृत लासलाई हरियो बाँसमा बाँधेर अर्थी बनाई स्मशानघाट लैजाने चलन धेरै जातिमा कायमै छ । दाहसंस्कार गर्दा पनि बाँसको घारो नै प्रयोग हुने हो । त्यसबेला अरू सामग्री चल्दैन । काठमाडौंका नेवारहरूको मृत्यु संस्कारका बेला मृत लासलाई कात्रोले बेरेपछि बाँसको मान्द्रोमा बेरेर बाँसकै खटमा बोकेर स्मशानघाट पुर्‍याइन्छ । त्यस अर्थमा जीवनका शुभ कार्य होस् वा अशुभ, सबैमा बाँस अति उपयोगी छ । कोक्रोदेखि कात्रोसम्मै बाँसको प्रयोग हुन्छ ।

आधुनिक निर्माण सामग्री र प्रविधि विकास हुनुभन्दा पहिले बाँसबिना मानिसको बास व्यवस्थापन प्रायः असम्भव नै हुने गर्थ्यो । गुफा र ओडारबाट बाहिर आएर मान्छेले आफ्नो बासको बन्दोबस्त गर्दा बाँस नै चाहिन्थ्यो । अर्थात् झुप्रो, छाप्रो, कच्ची घर, गोठ आदि निर्माण सामग्रीमा बाँसको भूमिका अग्रिम पंक्तिमा पर्थ्यो । घर निर्माणको वास्तुकलाअनुसार, प्रथम चौकोस कस्न बाँसकै प्रयोग हुन्छ । त्यसपछि दलिन वा छानाको चौकोस पनि बाँसैबाट निर्माण गरिन्छ । गोलो बाँसलाई चिरेर कोठा बारिन्छ वा भित्ता–दिवार बनाइन्छ । तराईका परम्परागत घरहरूमा आजभोलि पनि बाँसको दिवारमा माटो–गोबर लिपेर भित्ता–गाह्रो लाउने चलन छ । पहाडी घरहरू पनि बाँस–निगालोबाटै निर्माण भएका हुन्छन् । ढुंगा–इँटाका घर–भवन, मठ–मन्दिरहरूको निर्माणमा वा मर्मत–स्याहार सुधार तथा रंगरोगन गर्दा बाँसकै खट नबाँधी काम गर्नु सम्भव हुँदैन । बीस–तीस वर्षअघिसम्म पनि काठमाडौं उपत्यकाभित्रका सहरी घर, भवन वा मन्दिर निर्माण गर्दा बाँसकै खट बाँधिन्थ्यो । विसं २०७२ को भूकम्पले भत्काएका घर–भवनहरूको पुनर्निर्माणमा बाँसको अत्यधिक प्रयोग भएको हामीले बिर्सेका छैनौं । यस्ता निर्माणकार्यमा अत्यधिक प्रयोग हुने बाँसहरूमध्ये मलबाँस, धनुबाँस, तामेबाँस, कठ्बाँस आदि लोकप्रिय छन् ।

घरबार जोड्न बाँस चाहियो, घरबार जोडिसकेपछि पनि बाँस नै चाहियो । घर–गृहस्थीका निम्ति आवश्यक धेरैभन्दा धेरै सामग्री बाँस–चोया–निगालो र मालिङ्गोबाट तयार गरिन्छ । प्रत्येक घरका महिला–पुरुषमा त्यस्तो सीप, जाँगर र प्रविधि नेपाली समाजमा देखिन्छ । तीमध्ये नेपालकै चिनारी सामग्रीका रूपमा बाँसबाटै बन्ने डोकोलाई प्रस्तुत गर्न सकिन्छ । डोको नेपाली जनजीवनको असाध्यै अभिन्न अंगमध्ये एक हो । पर्वतीय उकाली–ओरालीमा डोकोभन्दा दक्ष ढुवानी सामग्री अरू हुनै सक्दैन । नेपाली भरियाले डोकोमा बोक्ने भारी विश्वकै कीर्तिमानी हो भन्दा अत्युक्ति नहोला । थाप्लामा नाम्लो र पिठ्युँमा डोको नेपाली ग्रामीण महिला–पुरुषको दैनिक–नियति हो । लगभग ३०–३५ वर्षपहिले संखुवासभाको याफु गाउँमा केही समय बिताउँदा हामीले विकासका कुरा चलायौं । त्यस गाउँकी एक महिलाले भनिन्, ‘हामीलाई चाहिएको विकास एउटै मात्र छ, त्यो हो– थाप्लोबाट नाम्लो हटाइपाऊँ ।’

विकासको परिभाषा र परिसूचक त्योभन्दा गहन अरू थिएन । विकासका अनेक परिभाषा सोचिहिँडेको मेरा लागि त्यस दिन घैंटोमा नयाँ घाम लागेजत्तिकै भयो । मैले ग्रामीण महिलाको ‘थाप्लोबाट नाम्लो हटाइपाऊँ’ भन्ने वाणीलाई विकासको सन्दर्भमा धेरै प्रचारप्रसारमा ल्याएको थिएँ ।

दैनिक जीवनमा मालसामान, अन्नपात आदि बोक्ने र ओसारपसार गर्ने अन्य सामग्रीमा डोकोबाहेक थुन्से, खर्पन, डालो मात्रै होइन हाँस–कुखुरा बोक्ने ढाकर, सुकेका माछा वा जंगली च्याउ बजारमा ल्याउने पेरुङ्गो, दूध दुहुने गोबुवा, आगो फुक्ने ढुङ्ग्रो वा हुक्का तान्ने नली, अन्न निफन्ने नाङ्लो, पानी ओसार्ने ढुङ्ग्रो र पानी तर्काउने डुँडजस्ता अनेकौं सामग्री छन् । ती सबै बन्ने प्राकृतिक कच्चा पदार्थका रूपमा बाँस–निगालो–मालिङ्गो नै स्थापित छ । त्यसका अतिरिक्त सुगाबाहेक अरू पाल्तु चराचुरुंगीको पिँजडा बनाउँदा पनि बाँस नभई हुँदैन । काठमाडौंमा ५०/६० वर्षपहिलेसम्म पनि बट्टाई जुधाउने सोखिनहरू धेरै थिए । बट्टाईको ‘काबुज’ भनिने विशेष खोर बनाउन असल बाँसका कप्टेरा र सिन्का आवश्यक पर्छ । बाँसका कप्टेराको घरायसी प्रयोग धेरै हुन्छ । हाँडीमा मकै भुट्दा कप्टेराहरूकै प्रयोगलाई लिएर पनि रोचक गाउँखाने कथा बनेको छ । जस्तो, ‘काम गरुन्जेल पटुका फुकाएर नाच्छे, काम सकिएपछि पटुका बाँधेर सुत्छे, कस्ती नकचरी !’

बाँस–निगालोको अरू उपादेयता सम्झँदा धान रोपाइँका बेला ओढ्ने घुम र त्यहाँको दोहोरी गीतको गुञ्जन हामी भुल्दैनौं । नेपाली घुमको बान्की चिनियाँ वा जापानीभन्दा भिन्दै हुन्छ । रोपाइँमा निहुरिएको शरीरलाई पूरै ढाक्ने घुम नेपाली हो । पानीबाट बच्न हाम्रा उच्च हिमाली लेक, खर्क पाटनहरूमा गोठालाहरू निगालोका मान्द्रो गुन्टा पारेर बोकीबोकी गोठ सार्ने काम गर्छन् । पानीबाट ओत लाग्ने गोठ बनाउन विशेष प्रकारका मालिङ्गो प्रयोग हुन्छ । यस्ता मालिङ्गोका आँख्लाहरू गाँठो परेको हुँदैन र पानी चुहिँदैन । आँख्ला ठूला भएर कस्सिएको मान्द्रो नबुनिने निगालो वा मालिङ्गोलाई घुँडे निगालो भनिँदो रहेछ । बार बन्देज लगाउने काममा तिनको उपयोग उत्तम हुन्छ ।

एकैछिन सम्झना–बिर्सनाका कुरा गरौं । विसं २०१०–२०१५ सालतिरसम्म दसैंका बेला काठमाडौं ल्याउने भेडा–च्याङ्ग्राका बागल रानीपोखरीछेउ रत्नपार्क नजिक थुपारिन्थे । भोटे लिवाजमा आउने ती भेडा–च्याङ्ग्राका व्यापारीहरू ठूला–ठूला मान्द्रोका भकारी बेरेर साथै ल्याउँथे । ती भकारी फुकाएर आ–आफ्ना बगाललाई छुट्याएर राख्ने गर्थे । बजार भाउ मिलेपछि ‘लौ दरवस्यो’ भनेर चिच्याउँदै ग्राहक बोलाउने काम गर्थे । भकारीको बारभित्र ग्राहकहरू पालैपालो छिरेर भेडा–च्याङ्ग्रा छान्ने काम गर्थे । त्यसबेला अन्न भण्डारण गर्न काठमाडौंका घरघरमा पनि भकारी थिए । गाउँघरको कुरै भएन । बाँसका चोया तथा बाँस–निगालो बुनेर बाहिरबाट कागज टाँसी ठूला–ठूला मूर्ति बनाएर डोके मान्छे बजार घुमाउने चलन अहिले कहीँ देखिँदैन । तर, मान्द्रोको ऐरावत हात्तीलाई सिँगारेर इन्द्रजात्रामा घुमाउने चलन भने अद्यावधि बाँकी छ । मान्द्रोलाई नेवारीमा ‘पुलु’ भनिन्छ र उक्त हात्तीलाई ‘पुलकिसी’ भनिन्छ । इन्द्रजात्राका बेला काठमाडौं सहरका घर–घरमा आकाश दीप बाल्ने चलन बाँकी नै छ । साधारण बाँसभन्दा मसिनो, तर निगालोभन्दा मोटो लामो बाँसलाई कौसीमा ठड्याएर त्यसको टुप्पोतिर आकाश दीप बाल्ने चलन छ । माटाको चिलिमजस्तै विशेष भाँडोभित्र दियो बालेर पूजा गर्ने चलन रहिआएकै छ । यस्तै बाँसको लामो लठारो नेवारी धिमे बाजागाजाका साथ ‘देश’ घुमाउने चलन छ । उक्त ध्वजालाई ‘ध्वाँय्’ भनिन्छ र त्यसलाई बडो कलात्मक ढंगले फनफनी घुमाउँदै त्यसमा जडेको चमर (चौंरी गाईको पुच्छर) नचाउने गरिन्छ । त्यो चलन अझै लोप भएको छैन । आजभोलि कागजमा लेखिने बाँसको कलम वा हुक्का तान्ने निगालोको नली भने हाम्रो स्मृतिबाटै बिलाइसक्योजस्तो लाग्छ ।

बाँस–निगालोको प्रसङ्गमा बाँसुरी वा मुरलीको कुरा नगरी धर पाइन्न । विशेषगरि गोपी बाँस (किफालोस्टाचियम ल्याटिफोलियम) र अन्य बाँसबाट पनि यो लोकप्रिय बाजा बन्छ । सामान्य वनस्पतिमा कौशलतापूर्वक प्वालहरू खोपेर बनाइने यो संगीत सामग्रीभन्दा सुरिलो अरू बाजा हुँदैन भन्दा फरक नपर्ला । मुरलीधर श्रीकृष्णको लीलामा हिन्दु धर्मावलम्बीहरू मख्ख पर्छन् । निगालो–मालिङ्गोको लोकप्रियता तिनका कलिला टुसामा पनि लुकेको हुन्छ । निगालोको टुसा खाने चलन देशव्यापी छँदैछ । आजभोलि बजारमा पनि निगालोको टुसा ज्यादै प्रचलित छ, तर कुन निगालो वा मालिङ्गोको टुसा खानु हुन्छ वा हुँदैन भन्ने ज्ञान चाहिँ परम्परागत ज्ञानका वाहक स्थानीय जनमानसमै सीमित छ । वैज्ञानिक आधार स्थापित गर्न धेरै बाँकी छ । स्थानीय मानिसहरू निगालो र मालिङ्गोमा भेद भेट्टाउँछन् । तिनका नाम पनि विभिन्न हुन्छन् । तीमध्ये तीतेनिगालो, निभानिगालो, मालिङ्गो, पहेँलो निगालो, चितुवा निगालो, कालो निगालो, गोपी निगालो, सेतो गोपी बाँस, देउ निगालो, वन निगालो, मालिङ्गो निगालो, सेतो निगालो, सुनौलो निगालो, लिंगे निगालो, घुँडे निगालो आदि बढी चल्तीमा आउँछन् ।

निगालोमध्ये नेपालभित्र मात्रै पाइने स्थानीय प्रजातिलाई घुंग्रे निगालो भन्ने उल्लेख छ । यो वनस्पति लाङटाङ र कास्कीमा पाइन्छ । डालो बुन्न तथा हस्तकलाका अन्य सामग्री बनाउन यो अति उत्तम छ भन्ने यो निगालोलाई वैज्ञानिक पहिचान दिने क्रिस स्टेपलटनको भनाइ छ । यसको वैज्ञानिक नाम हिमालय–क्यालामस अस्पर निर्धारण भएको छ ।

माछा, चराचुरुंगी एवं वन्यजन्तु सिकारमा पनि बाँस–निगालो–मालिङ्गोका सामग्री प्रयोग हुन्छन् । तिनमा निहित प्रविधिको जगेर्ना गर्नुपर्ने स्थिति पनि आइसक्यो अब । ‘साउने खोला उर्लेर आउँदा माछा मार्नु दुवाली छेकेर’ भन्ने गीत कानमा गुन्जिरहन्छ । दुवाली थाप्न बाँस–निगालोकै अधिक प्रयोग हुन्छ । लेकतिर डाँफे, मुनाल, कालिज, पिउरा, चिल्मेचरी आदिलाई पासो थाप्ने काममा निगालोलाई कमानी (स्प्रिङ) को रूपमा प्रयोग गरिन्छ । त्यस्तै कस्तूरी सिकारमा सोला थाप्दा निगालोको घोचोमा कडा विषको लेपन लगाउने चलन कर्णाली क्षेत्रमा प्रचलित छ । सानातिना सिकारमा पनि धनु–वाण बनाउन सबभन्दा सजिलो वनस्पति भन्नु बाँस नै हो ।

असलमा बाँस भोजनको पनि स्रोत हो । बाँसको तामालाई कसले भुल्न सक्छ ! नेपाललगायत चीन, जापान, कोरिया र अन्य दक्षिण पूर्वीय एसियाली देशहरूमा बाँसको तामा ज्यादै लोकप्रिय छ । नेपाली जनजिब्रोले विदेशमा पुगेर सम्झिने विशेष स्वादमध्ये तामाको स्थान उच्च हुन्छ । ‘आलु–तामा’ लाई थुप्रै लोकगीत र साहित्यमा पनि प्रयोग गरिन्छ ।

‘आलु–तामा कचौरामा जुँगेमामा तपोवन... आलु र तामा हजुर छेपारोलाई जामा, भ्यागुतालाई इस्टकोट...’ इत्यादि लोक गायन अझै पनि सम्झनामा आइबस्छन् । तामा खाने बाँसमध्ये चोयाबाँस वा ढुंग्रेबाँस वा वनबाँस भनिने डेन्ड्रोक्यालामस ह्यामिल्टोनाई उत्तम कोटिमा पर्छ । बाँसको बहुउपयोगितामाथिको चर्चा जति गरे पनि कमै हुन्छ । बाँस सामान्य र व्यापक फैलिएको वनस्पति भए पनि यसका विशेषता अनेकन् छन् । अब बुँदामै बाँसका केही विशेषता पढौं–

१. वनस्पति जगत्मा सबैभन्दा छिटो बढ्ने बिरुवामध्ये बाँस उच्च कोटिमा पर्छ । प्रतिदिन ३ वा ४ फुटसम्म बढ्न सक्छ ।

२. बाँस पुनरोत्थान वा पुनःस्थापित छिट्टै हुने वनस्पतिको कोटिमा पर्छ । भनिन्छ, आणविक विनाशपछि पनि स्वतः उम्रेर आउने शक्ति बाँसमा निहित हुन्छ ।

३. तृण परिवारको वनस्पति भए पनि सामान्य वृक्षभन्दा बाँस बलियो हुन्छ । लचिलोपनमा बाँसलाई अरूले भेट्ने कुरै भएन ।

४. वन डँढेलो लाग्दा पनि आगोले बाँसलाई हत्तपत्त डढाउन सक्दैन ।

५. वातावरणबाट बाँसका पातले अरू वृक्षभन्दा १० गुणा छिटो कार्बन सोस्न र सञ्चय गर्न सक्छ ।

६. भूसंरक्षणमा बाँस–निगालो ज्यादै प्रभावकारी साबित भएको छ । त्यस्तै नदीनाला नियन्त्रणमा बाँस–निगालोलाई उत्तम साधनको रूपमा लिइन्छ ।

७. लामो आयु भएर पनि जीवनकालमा एकपल्ट मात्र फुल्नु बाँसको विशेषता हो ।

८. बाँस बलियो, लचिलो, सोझो, सफा, भित्र खोक्रो र हलुका पदार्थले बनेको हुन्छ । यसलाई सजिलैसित काट्न, फुटाउन, चिर्न, बटार्न र बंग्याउन सकिने भएकाले परापूर्वकालदेखि अहिलेसम्मै मानिसका निम्ति बहुउपयोगी प्राकृतिक सम्पदाको रूपमा बाँस स्थापित छ ।

बाँस हाम्रो जन्म, जीवन र मृत्युसम्मको संस्कार एवं जीवनोपयोगी प्राकृतिक वनस्पतिमध्ये सर्वोत्तम सम्पदा पनि हो । अहिलेको विश्व परिवेशमा पनि बाँसको उपादेयताले अझै बढी महत्त्व बोक्न थालेको छ । विश्व जलवायु परिवर्तनको परिप्रेक्ष्यमा वायुमण्डलको कार्बनडाइअक्साइडलाई अरू वनस्पतिले भन्दा शीघ्र सोसेर लिने गुणले गर्दा बाँसघारीको क्षेत्र बढाउँदै लैजानुपर्ने सिफारिसहरू प्रबल हुँदै छन् । त्यसका अतिरिक्त डाँडाकाँडा एवं नदीनाला छेउमा हुने भूस्खलन र भूक्षय नियन्त्रण गर्न पनि बाँस रोप्ने र क्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढ्न थालेको छ । बाँसको अति परिवर्तनशील गुण, स्वभाव र स्वरूपले कलात्मक सीप र शिल्प जाहेर हुने हस्तकलाका विभिन्न स्थानस्मारिका ‘सुभिनियर’ वा कोसेली निर्माणमा पर्यटन व्यवसायले उचित स्थान दिनुपर्छ । सो कार्यमा ग्रामीण महिलाहरूको संलग्नताले उनीहरूको आयस्रोत बढ्छ । हाम्रो समाज, संस्कृति र संस्कारमा मात्रै होइन, आर्थिक विकासमा पनि बाँसको प्रयोगलाई बढाउनु उचित छ । बाँस–संस्कृतिको जगेर्ना हुनुपर्छ र बाँसुरी पनि बज्दै रहनुपर्छ ।

प्रकाशित : आश्विन १, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?