‘भगवान नाममा के नै छ र ?’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

‘भगवान नाममा के नै छ र ?’

देवेन्द्र भट्टराई

मुटुरोग विशेषज्ञ एवं सर्जन डा. भगवान कोइरालाका नाममा धेरैवटा वेब–पोर्टल भेटिन्छन्, बरमजियाको असली पेडा पसलझैं । त्यसमध्ये एउटाको नाम छ— डा. लर्ड कोइराला । यसरी नाम–काम र पहिचानमा विशेष बनेपछि स्वभावतः क–कसले, कुन फ्यान–फलोवरले पेज खोलिदिन्छन्, थाहा पनि हुन्न । हैरान बनेपछि भगवान आफैंले प्रहरीको सहयोग मागेर आफ्ना नामका केही पोर्टल बन्द पनि गराएछन्, तर यो क्रम अझै रोकिएको छैन । कार्डियोथोरासिक सर्जन एवं प्राध्यापक कोइराला चिकित्सा क्षेत्रबाट चिनिएका सामाजिक अभियान्तासमेत हुन् ।

विगतमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र शिक्षण अस्पतालको नेतृत्वमा रहिसकेका कोइरालालाई नेपालमा ओपन हर्ट सर्जरीको सुरूवात गर्ने श्रेय जान्छ । संख्याका गणनामा नेपालमा १२ हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका कोइरालाले पछिल्ला वर्षमा भने बालबालिका उपचारका निम्ति नेपालमा बहुविशिष्टीकृत अस्पताल स्थापना गर्ने परोपकारी मनसायमा आफ्ना सबै कर्म–धर्म केन्द्रित गराएका छन् ।

६२ वर्षअघि पाल्पामा जन्मे–हुर्केका भगवान कोइराला सुरूमै ‘भगवान’ थिएनन्, खासमा उनी मोहन थिए । तर, सानैदेखिको सोझो स्वभाव र हरबखत हासमुख चेहराका कारण आफन्तले उनलाई ‘भगवान’ बनाइदिए । डा. भगवानको जीवन, संघर्ष र चिकित्सा जगत्मा देखे–भोगेको शल्यक्रिया–किताब ‘हृदय’ भर्खरै बजारमा आएको छ, जसबारे लेखक स्वयं भन्छन्— ‘म बल गरेर लेखक बनेको हुँ, अरुको जस्तो शैली र व्याख्या मेरो यो ‘हृदय’ मा नहुन पनि सक्छ ।’ कोइरालासँग देवेन्द्र भट्टराईको वार्ता :

किताब ‘हृदय’ बजारमा आउँदै गर्दा बहुविशिष्टीकृत बाल अस्पतालको योजना–सपना पनि सँगै जोडिएर आएको देखिन्छ । एकसाथ आएको यो योजनाबारे के भन्नुहुन्छ ?

बहुविशिष्टीकृत बाल अस्पतालको कल्पना, योजना पुरानै हो । तर, किताब आइरहेको सन्दर्भमा र किताब बिक्रीसँगै परोपकारी उद्देश्यको काम गर्न यससँगै जोडिएर आएजस्तो देखिएको हो । तर, यो किताब लेख्नै मलाई झन्डै ३ वर्ष लाग्यो । फुर्सदको समयमा एक–एक अंश थप्दै र जोड्दै यहाँसम्म आएको हुँ । आफ्नो अध्ययन र करिअरको सुरुवातमा जोडिएको बालबच्चा स्वास्थ्यको सरोकारमा केही ठोस काम गर्ने भनेर संस्थागत (दर्ता) रूपमा लागेकै ५ वर्ष भइसकेको छ ।

यसरी प्रत्यक्ष–परोक्ष पुस्तक लेखन र बालबच्चा स्वास्थ्य सेवाको सपना एकअर्कामा जोडिएजस्तै भयो, समय क्रमका आधारमा । बाल अस्पताल त एउटा टेक्ने ठाउँ मात्रै हो, त्यहाँबाट सबैले बोध गर्ने परोपकारी सेवा र स्वास्थ्यमै पनि विशिष्टीकृत क्षेत्रलाई सम्बोधन गर्दै जान सकिनेछ । यहीँबाट एड्भोकेसी (परामर्श) तथा विषयगत सही अध्ययन–अनुसन्धानको काम पनि अघि बढाउन सकिनेछ । जस्तो ‘अटिजम’ भनौं न । यो यस्तो विषय हो, जहाँ धनी–गरिब भन्ने कुरै रहन्न, पैसाले मात्रै पनि यहाँ हुँदैन । तर, यही सरोकारमा राज्यस्तरको वा अन्य तहको पनि ध्यान जान सकेको छैन ।

तपाईंले भन्नुभयो, बाल स्वास्थ्यमध्येको एउटा महत्त्वपूर्ण विषय हो— अटिजम । अध्ययनअनुसार, नेपालमै हरेक ७० मध्ये एक बच्चामा अटिजमको संकेत देखा पर्न थालेको छ । तर, यस्तो लुकेको घातक विषयमा पनि कहीँ कसैको पनि चासो गएको देखिन्न नि !

हो, अटिजम मात्रै होइन, यस्ता सहस्र विषय छन्, जसमा सामान्य तहको शोध वा उपचारको पद्धति थालिएकै छैन । रोगहरू पनि सामान्यतया गरिबकै छोराछोरीलाई लागेको देखिन्छ, मृत्यु पनि त्यही अनुपातमा हुन्छ । काठमाडौंमा देखिने एक वर्गका निम्ति नदेखिने वा नदेखिएको कुरा एउटा हुन सक्छ । तर, थिग्रिएको समस्या धेरै छ । अटिजम भनेको कतिपय अवस्थामा जटिल विषय हो, जसको संसारमै ‘पूर्वसंकेत’ (अर्ली डिटेक्सन) हुन सकेको छैन । पिडियाट्रिक न्युरोलोजी र साइकोलोजीको यो विषय पनि हाम्रो अध्ययनमा परेको छ । ‘मोलेकुलर बायोलोजी’, ‘जिनोम सिक्वेन्सिङ’ वा ‘जेनेटिक टेस्टिङ’ जस्ता परीक्षणका आधार र प्रविधि पश्चिमा देशमा आइसकेका छन्, जसलाई हामी नेपालमा भित्र्याउन चाहन्छौं । हाइ–टेक भन्नासाथ पछाडि सनुपर्ने अवस्था रहन्न । २० वर्षअघि मुटु अस्पतालको कल्पना गर्दा र काम सुरु गर्दा आज यहाँ आइपुगिएला भन्ने थियो र ?

मुटुरोगको उपचार र अस्पतालको आसलाग्दो स्थितिमा कुरा गर्दा स्वभावत तपाईंको नाम आउँछ नै । तर, अधिकांशत स्वास्थ्य सेवा चहार्दै भारत वा अन्यत्र पुग्ने वर्गबाट भने नेपालमा ‘रोगको पहिचान’ (डायग्नोसिस) हुनै मुस्किल रहेको गुनासो रहन्छ, तपाईंको अनुभव र हृदयले के भन्छ ?

स्वभावतः रोग लागेपछि थाहा पाउनु भनेको उपचारको पहिलो खुड्किलो हो । तर, यसरी ‘जनरलाइज’ गर्न मिल्दैन । हामीकहाँ सबै रोगको, सबै तहमा विश्वासिलो डाइग्नोसिस नभएको होला, हुन सक्छ । क्यान्सरका विभिन्न रूप र ‘न्युक्लियर डायग्नोस्टिक’ बारे डाइग्नोसिस हुन नसकेको वा विश्वासिलो नभएको होला । कतिसम्म भने बच्चामा रहने क्यान्सरमध्ये ५० देखि ८० प्रतिशतसम्म ‘उपचारयोग्य’ रहेको प्रमाणित भइसकेको स्थिति छ, तर हामीकहाँ यही कारण पनि बालबच्चा मरिरहेका छन् । तर, मुटु रोग, आँखासम्बन्धी उपचारमा हामी धेरै अघि छौं । मुटुमा ट्रान्सप्लान्ट वा कृतिम मुटुका कामबाहेकका उपचार पक्षमा हामी अन्तर्राष्ट्रिय स्तरमै छौं भन्ने लाग्छ । फेरि डाइग्नोसिस भन्ने प्रविधि आफैंमा जटिल र महँगोसमेत छ, जुन निजी तहले हत्तपत्त राख्नै सक्दैन, राज्यले गर्ने–गराउने कुरा हो यो । कतिसम्म भने ५/७ वर्षयता यो विषयमा बजेट विनियोजन भएर पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

यिनै हुन नसकेका र नभइरहेका स्वास्थ्य सरोकारलाई जोडेर चिकित्सक डा. गोविन्द केसी अहिले पनि आमरण अनशनमा बस्नुभएको छ । राज्य तहले सुनुवाइ नगरेको हो वा गर्न नचाहेको हो ? तपाईंहरूजस्ता इमान–जमान रहेका र केही गरौं भन्ने वर्गलाई राज्य तहले डा. केसीलाई झैं कत्तिको गलाउने गरेको छ ?

हो, यो एकदमै हृदय छुने सरोकार हो, जसलाई सबैले याद गरिरहेका हुँदैनन् । बाहिर भगवान कोइरालालाई सरकारले पत्याउँछ, उसका सल्लाहलाई सरकारले सधैं लिन्छ भन्ने भ्रम रहेको म देख्छु, सुन्छु । यो एकाध मात्रै सत्य कुरा हो । ममाथि पनि उत्तिकै

मुङ्ग्रो लाग्ने गरेको छ । नीतिगत विषयमा बहस चल्दा कसले, कुन बेला, कति अनुपातमा जित्छ भन्ने पनि महत्त्वपूर्ण कुरा हो । देश, सरकार वा संस्था जे भने पनि एउटा पद्धति त बन्नैपर्छ, बसाल्नैपर्छ । त्यो पद्धति लागू गर्ने र अक्षरस पालना गराउने जिम्मा त आखिरमा व्यक्तिकै हुन्छ । यसकारण कुनै पनि संयन्त्र र पद्धति ‘अटो–पाइलट’ मा चल्छ भन्ने सोच्नु नै निरर्थक छ । यस अर्थमा म पनि गल्छु, गलाउन खोजिएको हुन्छ । म अहिले सकेसम्म सकारात्मक मुड र मुद्रामा बोल्न चाहन्छु । तर, हाम्रो समाज किन यति धेरै नकारात्मक बनेको होला ? समाजमा लोभी–पापीहरू किन बढेका होलान् ? अरूकै खुट्टा तान्ने प्रवृत्ति मात्रै किन बढेको होला ? यस्तो भावनाले म बेलाबेलै चिन्तित (डिप्रेस्ड त नभनौं) बनिरहन्छु । जे जति निराश, उदास भए पनि अरू उपाय छैन । फेरि पनि फर्केर राम्रो काम गर्न खोज्ने नै हो । लुक्न मिल्दैन, भाग्न सकिन्न ।

पद्धतिको कुरा गरिरहँदा,राज्यसामु धर्ना र भोक हडतालमा नउत्री अथवा विद्रोही नबनी त तपाईंहरूजस्ता कर्मवीरका कुरा पनि सुनुवाइ हुँदैन नि त ! यो कस्तो पद्धति हो ?

होइन, मैले म विद्रोही बन्छु भनेर तर्साएको छैन । तर, म पनि त्यस्तै टोनमा बोलिरहन्छु । आफूलाई समेत राखेर र अरूलाई मात्रै गाली गरेर ‘म भयंकर जिम्मेवारपूर्ण व्यक्ति हुँ’ भन्न सक्दिनँ, चाहदिनँ पनि । मलाई पनि थकाइ लाग्छ नै । तर, मूलतः सरकारमा बस्ने र मन्त्रालयमा नेतृत्व गर्ने नेताहरूको ‘सेन्स अफ वनरसिप’ (उत्तरदायित्वबोध) नआईकन केही काम हुन्न । योचाहिँ आएको देखिन्न, मूल रूपमा । यसकारण राम्रा कुरा पनि यहाँ सुनिन्नन्, किनभने सुन्नु भनेको जिम्मेवार बन्नु हो ।

तपाईं चिकित्सा सेवामा सक्रिय बनेको पछिल्लो ३० वर्षमा आएको राजनीतिक र सामाजिक परिवर्तनको बहस आफ्नो ठाउँमा छ । तर, तपाईं–हामी सधैं संक्रमणकालमाझ रहँदै आएका छौं भन्ने बोध गर्नुहुन्छ ?

यो शब्द अलि कडा हुन्छ, ‘संक्रमणकाल’ त म भन्दिनँ । तर, केचाहिँ चिन्ताको विषय हो भने हाम्रा नेता र प्रशासकहरू एकदमै छोटो बुद्धिका भइदिए । ती अहिले नै म फाइदा लिइहालौं, आजै कुछ लाभ लिइहालौं र चुनावमा मात्रै भए पनि केही प्रभाव देखाइहालौं भन्ने खालका भइदिए । भोलिपर्सि ‘देखा जाएगा’ भन्ने प्रवृत्ति देखिन्छ, जुन एकदमै घातक हो । काँडाले घोचेको सहेरै भए पनि दीर्घकालमा देश र समाजलाई के भलो हुन सक्ला भन्ने सोचिदिने कोही भएनन् । हारे पनि हारिन्छ, तर म नचाहिँदो काम गरेर अगाडि जान्न भन्न पनि नसकिने हो र ? नेताहरूमाझ रहेको यही अल्पदृष्टिकै कारण अस्थिरता, निराशा र अन्योल देखिएको हो ।

अब ‘हृदय’ को सन्दर्भमा कुरा गरौं । किताब लेखन क्रममा कुनै नेपाली लेखक वा चिकित्सा पेसासम्बद्ध कुनै लेखकको प्रभाव र शिल्पी/शैलीलाई साँच्चिकै आफूले रुचाएको केही सम्झिनुहुन्छ ?

यसरी अरू लेखकको शिल्पी वा शैलीको कुरा गरिरहँदा खासै उच्च तहको किताब लेखेको छु भन्ने मलाई लाग्दैन । म ‘न्यारेट’ गर्न जान्ने मान्छे होइन । प्रकाशक (फाइन प्रिन्ट) ले मलाई कतिपय प्रसंग र लेखाइमा ‘यसमा अलि व्याख्या चाहियो, अलि बढाउनुपर्‍यो’ भनेर सुझाएको पनि हो । तर, मैले मानिनँ । म जस्तो छु, किताब त्यस्तै होस् भन्ने सोचें । यसलाई ‘ब्युटिफाइ’ किन गरिरहने भनेर म अडिइरहें । किताबमा संश्लेषण, तुलना र चिकित्सा जगत्का विषय पनि छन् । तर, त्योभन्दा बढी म आफू छु यो किताबमा । त्यही भएर मैले अरूले गर्ने ‘मोडिफाई’ यस किताबमा चाहिनँ । यो उच्च स्तरको साहित्य पनि होइन, तर यसमा कतिपय विषय भने संस्था र पद्धति खडा गर्दाका सन्दर्भ अभिलेखीकरणका रूपमा आएका छन् । बिरामीसँगका अन्तर्सम्बन्ध, अस्पताल असफल हुने कारण, स्वास्थ्य क्षेत्रका समस्या, सुधारका उपायहरू किताबमा छन् ।

अनुभव र संघर्षबारे नेपाली चिकित्सकहरूका पनि केही पुस्तक आएका छन् । कत्तिको अध्ययन गर्नुभएको छ ?

हो, लेखक अली ग्रिपरले लेखेको र नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेको नेत्र–चिकित्सक डा.सन्दुक रुइतको जीवनी किताब पढेको छु । एकदमै ग्रासरुटबाट उठेर आएको तथा नाम–कामको त्यो पहिचानमा पुगेको एउटा चिकित्सकको जीवन र संघर्ष अरूका निम्ति पनि पाठ र प्रेरणा दिने खालको छ । त्यसमा लागेको एउटै कुराचाहिँ नेपाली अनुवाद भने एकदमै साहित्यिक र गह्रौं लाग्छ । म भने त्योभन्दा सजिलो भाषाको पक्षधर हुँ । डा. रामेश कोइरालाको किताब भने लेखनशैलीका आधारमा आकर्षक लागेको थियो । यस्तै विदेशी चिकित्सक लेखकहरूका किताबबाट भने म निकै प्रभावित बनेको छु । एक जना अमेरिकी न्युरो–सर्जन पाउल कलानिथीको पुस्तक छ, ‘ह्वेन ब्रेथ बिकम्स एयर ।’ नन–फिक्सन अटोबायोग्राफीअन्तर्गत यो पुलित्जर पुरस्कारको नोमिनेसनमा पुगेको थियो । क्यान्सरको अन्तिम चरणमा रहेको एउटा बिरामीले बोध गरेको जीवन–मृत्युको त्यो किताबले मेरो मन–मुटुलाई हल्लाएको थियो । यस्तै भारतीय मूलका अमेरिकी सर्जन अतुल गवान्डेका पुस्तकहरू पनि असाध्यै मन पराएर पढेको छु ।

हुन त सधैं भनिन्छ– आखिर नाममा के नै छ र ! तर, तपाईंको जीवनमा ‘भगवान’ नामले कत्तिको अर्थ राखेको छ ?

मेरो नामको यो सन्दर्भको सानो अंश मैले किताबमा पनि लेखेको छु । ‘यो केटो धेरै लाटो भयो, सोझो पनि छ, जे भने पनि मुसुक्क हाँसिरहन्छ’ भन्ने कारण देखाउँदै पाल्पाको हाम्रो घरमा ट्युसन पढ्न आएका एक आफन्तले मेरो नाम ‘भगवान’ राखिदिएका रहेछन् । धेरै पछिसम्म पनि यो नाम बोकेर हिँड्न मलाई एकदमै असहज भयो । साथी–भाइले पनि ‘ऊ भगवान आयो’ भन्थे । धेरैपछि बंगलादेश पढ्न जाँदा पनि मुसलमान समाजमा ‘भगवान’ भन्नेबित्तिकै दृष्टि अर्कै रहन्थ्यो । तर, अमेरिका पुगेपछि भने ‘नाममा के रहेछ र !’ भन्ने बोध भयो । ‘भगवान’ नाममा कसलाई के मतलब ? त्यहाँ त सबैलाई काममा मतलब थियो ।

प्रकाशित : आश्विन १, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

बीपीको वास्तविक छवि–छाया

महान् देखाउनकै लागि बीपीका आलोचनात्मक पाटोलाई सम्पादकले लुकाइदिएका छैनन् । किताबमा आलोचनात्मक पक्ष पस्किनु फाल्तु प्रशंसाका आडम्बरी गजुर झिकिदिनु हो र व्यक्तिको दुरूस्त अनुहार दुनियाँलाई देखाइदिनु हो ।
गुरुङ सुशान्त

बीपी कोइराला प्रधानमन्त्री छँदा एक पटक योजना आयोग अफिसमा गएछन् । हार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालयका उत्पादनसमेत सम्मिलित योजनाविद्हरू बसिरहेको कोठाको भित्तामा राजाको तस्बिर टाँगिएको देखेपछि कोइरालाले भनेछन्, ‘यहाँ राजाको तस्बिर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ । तर, त्यहाँ एउटा गाउँको झुपडीको अर्को तस्बिर पनि राख्नुपर्छ ।’ कारणसहित थपेछन्, ‘तपाईंहरूले विकासको योजना बनाउँदा जहिले पनि त्यस झुपडीमा बस्ने किसानलाई सम्झनुहोस् र तपाईंहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, त्यस किसानलाई के फाइदा दिन सक्छ भनेर आफैँसित प्रश्न गर्नुहोस् ।’

बीपी कोइरालाको अन्तिम मानिने अन्तर्वार्तामा आएको यस प्रसंगलाई वर्तमानको समय विन्दुसँग दाँजेर हेर्नुपर्ने भएको छ । योजना आयोगको भित्ताबाट आज राजा–महाराजाका चम्किला तस्बिर झिकिएका होलान् । तर, राज्यको ‘समृद्धिजन्य’ प्राथमिकताबाट झुपडीका किसान र मजदुरहरू झनै धूमिल–धूमिल हुँदै गएको देखिन्छ । भूमि–समस्याको समाधान नै आफ्ना कार्यक्रमहरूको आधार हुनुपर्ने बीपीको अडान थियो । आजको राजनीतिक उतारचढाव र विकासको बदलिँदो बहसबीच बीपी कोइरालाका विचारहरूको प्रासंगिकता जीवित छ कि छैन भन्ने प्रश्नको जवाफमा जन्मिएको हुनुपर्छ– ‘विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत सङ्कलन’ । बीपी कोइरालाका गैरसाहित्यिक रचनावली सङ्कलन गरिएको यस पुस्तकले कोइरालाको वैचारिक यात्रालाई मात्रै देखाउँदैन, तत्कालीन राजनीतिको सनसनीपूर्ण ऊहापोहलाई पनि निकटबाट बुझ्न सघाउँछ ।

प्रदीप गिरिद्वारा सम्पादित गहकिलो यस ग्रन्थमा बाह्र वर्षअघि गिरिद्वारा नै सम्पादित ‘राजनीतिक अभिलेख’ का केही लेख दोहोरिएको भए पनि यी दुवै पुस्तकको स्वतन्त्र महत्ता छ । आजीवन जनताका लागि लडेका कोइराला राजासँग लडे र जीवनको उत्तरार्द्धमा रोगको राजा भनिने क्यान्सरसँग लडिरहे । उनको मृत्युमा उर्लिएका समवेदना र प्रशंसाबाट गिरि द्रवीभूत भएका थिए । बीपीलाई सैद्धान्तिक रूपमा बुझ्ने बौद्धिक व्यक्तित्व गिरि पनि भर्खरै क्यान्सर रोगसँग लड्दा–लड्दै दिवंगत भएका छन् । पार्टीभित्र, सदन र सभाहरूमा समाजवादको वकालत गरिरहने गिरिको निधनमा पनि नेपाली बौद्धिक जगत् शोकग्रस्त बन्यो । उनै गिरिले बीपीको वैचारिक सान्दर्भिकताबारे कतै भनेका छन्– ‘कोइरालाले नेपाली समाजमा देखा परेका प्रत्येक द्वन्द्व र समस्यालाई सम्बोधन गर्नुभयो । अधिकांश समसामयिक समस्यालाई बुझ्नका निमित्त कोइरालाका कतिपय कृति र अभिव्यक्तिले प्रस्थान–विन्दु र सन्दर्भको काम गर्न सक्छन् ।’ बीपीको सान्दर्भिकतालाई थप बहसमा ल्याउनका लागि पनि ‘आधारभूत सङ्कलन’ को परिभ्रमण आवश्यक देखिन्छ ।

बीपीको वैचारिकी सानो संघर्ष र चुनौतीबाट उठेको होइन । चन्द्रशमशेरको डरलाग्दो पञ्जाबाट बच्न उनका पिताजी सपरिवार भारत निर्वासनमा गएका थिए । बाल्यकालबाटै नेपाल र भारतमा चलेका राजनीतिक आन्दोलनका अनेक रङलाई नजिकबाट देखेभागेका उनी कालान्तरमा नेपालको परिवर्तनका एक अग्रणी बने । मार्क्सवाद र गान्धीवादलाई नजिकबाट बुझेका उनले गान्धीको असहयोग आन्दोलनमा एक बालकका रूपमा भाग लिन तत्परता देखाएका थिए । उनले आफ्नो जीवनकालमा निर्वासन र जेलनेल मात्रै भोगेनन्, राजनीतिक र साहित्यिक रूपमा आफूलाई विशाल मानकका रूपमा स्थापित समेत गराए । र, नेपालमा प्रजातान्त्रिक समाजवादको पनि अगुवाको रूपमा आफ्नो परिचय बनाए । उनका अनुसार, समाजवादका दुई पोया छन् ः एक– राजनीतिक स्तरमा प्रजातन्त्र, दुई– आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने खालको विकास । यी दुई पक्षबिना गरिबी उन्मूलन गर्ने र राजनीतिक स्वतन्त्रता ल्याउने कुरा गर्नु असम्भव–कथा सुनाउनु बराबर लाग्थ्यो उनलाई । समाज विकासको आधार आर्थिक उन्नति हुनुपर्ने र उत्पादनका साधनमाथि समाजकै नियन्त्रण रहनुपर्ने समाजवादको मौलिक आधारलाई उनी दोहोर्‍याइरहन्थे । विकासको पश्चिमी ढाँचा अनुकरण गर्दा धनी झन् धनी र गरिब झन् गरिब हुँदै गइरहेको उनको निष्कर्ष थियो । समाजवाद एउटा व्यापक एवं जीवित सिद्धान्त भएकाले मार्क्स–लेनिन–स्टालिनकै आँखाबाट मात्र नहेरी भिन्न–भिन्न देशमा आ–आफ्नै ढंगले परीक्षित भइरहेको उनको ठहर थियो । जीवित सिद्धान्त परिवर्तनशील हुने ठान्ने उनी नेपालले कुनै हालतमा पनि व्यक्तिगत स्वतन्त्रतालाई बलिदान गरेर समाजवाद स्वीकार गर्न नहुने र सरकारको गठन सधैं प्रजातान्त्रिक प्रणलीद्वारा हुनुपर्ने अडान राख्थे ।

युवाकालमा मार्क्सवादबाट विशेष प्रभावित रहेका बीपी पछि गान्धीका विचारका अनुगामी बन्न पुगे । साहित्य लेखनमा भने उनी सिग्मन्ड फ्राइडबाट अत्यन्त प्रभावित रहे भने परोक्षतः समाजमा रहेको आर्थिक विपन्नतालाई पनि उठान गरे ।

पछिल्ला दशकमा उठेको पहिचानवादी आन्दोलनले उठान गरेका कतिपय सन्दर्भहरूमा बीपीले २०२८ सालतिरै आफ्नो अग्रगामी धारणा राखेका छन् । उनी भन्छन्, ‘देश वा राष्ट्र भनेको भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो ।’ ‘राष्ट्रवादी’ आवरणका कतिपय राजनीतिज्ञ र लेखकहरूले मधेसको भूगोललाई आफ्नो ठान्ने, तर मधेसी समुदायलाई ‘अन्य’ को नजरले हेर्ने गरेको सन्दर्भमा बीपीको उपर्युक्त विचार गम्भीर र मननीय देखिन्छ । पृथ्वीनारायण शाहको प्रसंगमा पनि उनको टिप्पणी खरो देखिन्छ । उनका अनुसार, पृथ्वीनारायण तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरू केही पनि नभएकाले त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एउटा ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि नभएको गोर्खाली राजाहरूको चरित्र राष्ट्रिय नेताको नभई विजेताको रहेकाले तिनले विजित देशहरूका राजा/प्रदेशहरूसँग कहिल्यै कोमल व्यवहार नगरेको दाबी बीपीले गरेका छन् । बीपीलाई ‘महामानव’ मान्ने कतिपयले पृथ्वीनारायणलाई ‘एकीकरणकर्ता’ नै भन्ने गरेका छन्, उनीहरूले यस विषयमा आफ्नो मान्यतालाई न तथ्य र तर्कले पुष्टि गर्न सकेका छन्, न त बीपी–विचारलाई सहीसँग उद्धृत गरेका छन् । सम्भवतः बीपीलाई गम्भीर अध्ययनमा ल्याएका छैनन्, फगत ओठेभक्ति मात्रै प्रदर्शन गरेका छन् ।

राजनीतिमा झांगिएको पदलोलुपताबाट आमजनता आजित भइसकेको परिदृश्य हामीले देखिरहका छौँ । आजीवनजस्तै पार्टी प्रमुख र प्रधानमन्त्री दुवै पदमा एकै व्यक्ति रहने प्रवृत्तिको विपक्षमा बीपीले आफ्नो विचार राखेका थिए । दुःखद पक्ष– शक्ति पृथकीकरणको आफ्नै विचार उनले आफू पार्टी प्रमुख रहेका बेला व्यवहारमा उतार्न सकेनन् । पार्टीभित्र सशस्त्र विद्रोहको पक्षमा वकालतसमेत गरेका बीपी साम्यवादीहरूको कम्युनिस्ट गतिविधि रोक्नका लागि भए पनि गरिबी हटाउने आर्थिक सुधार पक्षमा उभिएको कुरा यस किताबले बोल्छ । तर, हाम्रोजस्तो अधमरो समाजले प्रगतिशील सामाजिक शक्तिहरूको संगठनको बलमा बिस्तारै–बिस्तारै अझै बढी क्रान्तिकारी कदम चाल्नुपर्ने तर्क पनि उनको थियो । २०१७ साल पुस १ गते तरुण दलको सम्मेलनलाई सम्बोधन गर्दै बीपीले भनेका थिए– ‘विश्वमा समाजवादको अन्तिम विजय हुन्छ भन्ने मलाई अटल विश्वास छ । हामी अहिले संघर्ष, तानातानी, दरिद्रता, रागद्वेष र अशान्तिबीच समुद्रमा थाकेका नाविकजस्तो टाढा क्षितिजमा समाजवादको तटको अस्पष्ट रेखा देखिरहेका छौँ । त्यहाँ पुगेर हामी आफ्नो सारा थकाइ मार्दछौँ र शान्त एवं सुखमय समाजको निर्माण गर्दछौँ । यो कुनै सपनाको कुरा होइन ।’ युवाहरूलाई समाजवादको सपनाप्रति जागरुक गराउने उक्त भाषण टुंग्याउनेबित्तिकै बीपीलाई राजाको आदेशमा सेनाले पक्राउ गर्‍यो । पछि बीपीले सेनालाई दरबारका षड्यन्त्रकारीहरूको स्वार्थसिद्धिमा प्रयोग भइरहने शक्तिमा अवतरित भएको आरोप लगाउँदै केवल ‘भरौटे पल्टन’ भनेका छन् । उनको विचारमा विदेशीसँग मुकाबिला गर्नु नपरेको र भर्तीको आधार सीमित भएकाले सेनाको दृष्टिकोण राष्ट्रिय हुन सकेन । सेनाले विभिन्न जाति तथा भाषाभाषीहरूलाई एउटै संगठनमा आबद्ध गरेर राष्ट्रियताको चेतना दिनुपर्नेमा सेनाले त्यो गर्न नसकेको विश्लेषण बीपीको थियो ।

साहित्य र राजनीतिमा समानान्तर प्रसिद्धि कमाएका कोइरालाका राजनीतिक कदम र वक्तव्यहरू आलोचनाभन्दा पर रहन भने सकेनन् । विशेषगरी राजतन्त्रबारे बीपीका विचारहरू बेला–बेला परस्पर बाझिए । आज राजतन्त्र निकट विगतको रूपमा रहे पनि त्यस तन्त्रलाई फर्काउनुपर्ने माग लिएर बसेका दलहरूले बहस उठाउन खोजिरहेका छन् । मूलधारका दलका एकाध नेताहरू पनि मनमा राजतन्त्र बोकेर हिँडेका देखिन्छन् । यस परिवेशमा बीपीको विचार एकपल्ट पल्टाउनु अन्यथा नहोला । राजतन्त्रलाई सामन्ती र कृषि व्यवस्थाको राजनीतिक रूप पनि मान्ने, तर राजतन्त्रको पक्षमा मत दिन्छु भन्नेजस्ता विरोधाभासी विचार बीपीमा थियो । उनी र राजाबीचको सम्बन्धका पहेलीका आधारमा उनको विचारमा उतारचढाव आएको आधारहरू पनि फेला पर्छन् ।

उनले २०१६ मा एक ठाउँमा भनेका छन्– ‘लोकहितकारी राज्यको स्थापना र बिर्ता, राजा, रजौटा, जमिनदारी आदि सामन्ती अवशेषको उन्मूलनको घोषणा गरिबक्सने राजालाई सामन्ती अवशेषको प्रतीकको संज्ञा दिनु सत्यलाई घोर उपेक्षा गर्नु हो । हाम्रा राजा महान् प्रगतिशीलताका प्रतीक होइबक्सिन्छ ।’ मार्क्सवाद र नेपाली समाजको वर्गीय चरित्र बुझेका एक उँचो राजनीतिक व्यक्तित्वको यो हदसम्मको विश्लेषण उदेकलाग्दो नै लाग्छ । राजतन्त्रबारे बीपीका लेखहरूलाई निचोर्दा निस्कने निष्कर्ष हो– उनी संवैधानिक राजतन्त्रका सच्चा हिमायती थिए । नेपाली राष्ट्रियताको सुरक्षामा राजतन्त्रको भूमिका महत्त्वपूर्ण रहेको तर्क थियो । यत्ति मात्रै होइन, उनले ‘राजा र मेरो घाँटी जोडिएको छ’ समेत भन्न भ्याए । उनको यस्तै अभिव्यक्तिजन्य रापतापको दीर्घ असर हुनुपर्छ, गणतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र पक्षधरता त्याग्न निकै अन्तरसंघर्ष गर्नुपरेको थियो ।

नेपाली राजनीतिमा फरक दलका नेतालाई विदेशी दलालको बिल्ला भिराइदिनु कुनै नौलो विषय होइन । बीपीलाई मात्रै होइन, उनको सिङ्गो पार्टीलाई समेत बेला–बेला ‘भारतीय दलाल’ को आरोप लागेको थियो । कतिपयले त्यस ‘दाग’ लाई अद्यापि कोट्याउने गर्छन् । कोइरालाको जन्म, शिक्षा–दीक्षा, राजनीतिक संगत र लेखन–प्रेरणाको भूमि भारत भएर मात्रै ‘भारतवादी’ को फतुर लागेको होइन, उनका केही अभिव्यक्तिको सन्दर्भमा उनलाई हेरिएको हुन सक्छ । कलकतामा सम्पन्न नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलन (२००३) को भाषणमा बीपी भन्छन्, ‘वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अंग रहेको देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कूटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञहरूको चालबाजी मात्र छ ।’ उनी थप्छन्, ‘नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठूलो स्वार्थसिद्ध हुन्छ ।’

व्याख्या र अपव्याख्याका लागि गरिने रंगीन तर्कहरूको लेपनले कोइरालाको यस कथनलाई केही ढाकछोप गर्न त सकिएला । तर, नेपाली क्रान्तिका अग्रणी व्यक्तित्वको यस तहको अभिव्यक्तिले देशप्रेमीहरूलाई दुखाउँछ नै । ‘द सर्च लाइट’ (२००३) मा प्रकाशित लेख ‘पार्टी निर्माण गर्न आह्वान’ मा समेत उनी लेख्छन्– ‘नेपाल भारतकै अभिन्न भाग हो । तसर्थ, भारतीय माटामा हुने जुनसुकै कुराबाट पनि नेपाल पूर्ण रूपमा प्रभावित हुन्छ ।’ तर, २०११ सालमा भने उनले भनेका छन्, ‘नेपाल एउटा स्वतन्त्र देश हो र यो देश भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ ।’ नेपालले दुई देशबीचको घनिष्ठ मित्रता चाहेको र त्यस्तो मित्रता अवसरवादितामा नभई पारस्परिक मित्रभाव र आदरभावमा आधारित होस् भन्ने चाहेको कुरा उनले उल्ल्खे गरेका छन् । ‘आधारभूत सङ्कलन’ को सुन्दर पक्ष हो, महान् देखाउनकै लागि बीपीका आलोचनात्मक पाटोलाई सम्पादकले लुकाइदिएका छैनन् । यस्ता पक्षलाई पाठकसामु पस्किदिनु भनेको फाल्तु प्रशंसाका आडम्बरी गजुरहरू झिकिदिनु हो र व्यक्तिको दुरुस्त अनुहार दुनियाँलाई देखाइदिनु हो । बीपीको वास्तविक छवि–छाया देखाइदिएर प्रदीप गिरिले राजनीतिक इतिहासका जिज्ञासुलाई गुन लगाएका छन् ।

प्रकाशित : आश्विन १, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×