हजुर, म आजीवन आउटसाइडर

देश फर्किएपछि म फेरि एकपटक हरेक कोणले नयाँ भएको छु । काठमाडौंको माटोले फेरि म हुनुको परिचयपत्र मागिरहेको छ । र, लाखौंको भीडमा म एउटा साँच्चैको आममान्छे बनेको छु ।
पदम गौतम

‘तपाईं कहाँ बस्नुहुन्छ ? कहाँबाट आउनुभएको ?’

हजुर, म आजीवन आउटसाइडर

‘पुरानो घर कता ? अनि काठमाडौंको घरचाहिँ कता ?’

‘ए ! कुनै काम, पेसा रहेनछ है ?’

सबैभन्दा बढी पछिल्ला केही सातामा मतिर तेर्सिएका प्रश्न हुन् यी । यी सामान्य देखिने प्रश्नको जवाफ दिन मलाई हम्मे पर्छ । म पहाडको एउटा जिल्लामा जन्मिएँ, मधेसको कुनामा हुर्किएँ । कलिलैमा काठमाडौं छिरेँ र यहीँ आफ्नो सानोतिनो परिचय बनाएँ । फेरि विदेश हान्निएँ र केही सातादेखि काठमाडौंमा छु । नेपालमा नामभन्दा बढी सोधिने घर र थरबारेको प्रश्नमा म जन्मस्थान बताऊँ कि मूलघर ? आफूले खुट्टा टेक्न सिकेको ठाउँ काठमाडौं बताऊँ कि निकट विगतमा बसेको विदेशी भूमिको नाम ?

विदेश रहँदा म बेला–बेला सोच्थेँ, कुनै दिन म फेरि काठमाडौं फर्किनेछु र त्यहाँ आफ्नो पुरानो साथीभाइ र यारहरूसँग भेट्नेछु । फेरि उस्तै लयमा हाम्रा विचार र अनुभवहरू सेयर हुनेछन् । करिब साढे दुई दशक संघर्ष गर्दै रमाएको काठमाडौं मेरो मनमा सबैभन्दा धेरै बसिरहने ठाउँ थियो । मेरो जवानीसँगै मेरा धेरै सपना यो सहरले निलेको थियो, धेरै नयाँ सपना मलाई यही सहरले देखाएको पनि थियो । प्रेम र घृणाको यो सहरसँग प्रेमकै मात्रा बढी थियो होला मेरो मनमा । यो सहरका हरेक रुग्ण गल्ली, अनेक गतिविधि र कछुवा शैलीको बदलावलाई नजिकैबाट नियालेका कारण पनि मैले काठमाडौंलाई यति धेरै मनमा सजाएको थिएँ, सजाइरहन्छु ।

देश फर्किएपछि म फेरि एकपटक हरेक कोणले नयाँ भएको छु । काठमाडौंको माटोले फेरि म हुनुको परिचयपत्र मागिरहेको छ । र, लाखौंको भीडमा म एउटा साँच्चैको आममान्छे बनेको छु । मेरो अहिले कुनै काम या पेसा छैन । केही महिनाका लागि मात्र नेपाल आएका कारण म आफ्नो बच्चाको स्याहारबाहेक कुनै काम गरिरहेको छैन । बसाइ अस्थायीको पनि अस्थायी फ्ल्याटमा छ । काठमाडौं बढेर ठूलो भएको छ र धेरै नयाँ संरचना बनेका कारण म धेरै ठाउँ जान मास्क लगाएर सोध्दै हिँड्छु । यसरी हिँड्दा चिन्ने कसैले देख्यो र मैले देखिनँ भने पनि तिनले मलाई चिन्दैनन् । यसरी आफैंले खाईखेली गरेको ठाउँमा नचिनिएर बाँच्नुको अनुभव अर्कै पाराको हुनेरहेछ । मिडियाकर्मीबाट गेरुवस्त्रधारी जोगी बनेको साथी अच्युतमले एकपटक भनेको थियो– गरिरहेको पेसालाई टाढा बसी आम मान्छे बनेर हेर्नुको अर्कै आनन्द हुन्छ, तर यो जटिल काम हो । मैले पेसा मात्र नभएर देश नै छोडेर लामो समय बिताइसकेको छु । यसर्थ मलाई पेसाहीन र परिचयहीन बन्दा कुनै जटिलता भएको छैन । तर, मेरो मनले गुनासो गर्दै दशकअघिको समयमा मलाई लैजान खोजिरहन्छ । हरेक पल त्यो समयको परिवेश, प्राप्ति र अवस्थिति अनि संघर्ष खोजिरहने मेरो मानसिकता मानव जातिकै गुण हो कि मेरो मात्र, थाहा छैन ।

बाहिर बसेर पनि फुर्सदमा धेरथोर लेखपढ गरिरहने भएकाले मलाई लागेकै थियो, मैले जानी नजानी अठार वर्ष खर्च गरेको पत्रकारिता गर्न म आउटडेटेड हुनेछु । तर, पत्रकारिता गर्न मात्र नभएर म त यो क्षेत्रलाई नजिकबाट चिन्न पनि असफल भइसकेछु । हरेक गल्लीमा भेटिने नयाँ युगका नयाँ शैली र चिन्तनका अनलाइनको नेतृत्वमा नै नयाँ पुस्ता तयार भइसकेको छ । नयाँहरूको भीडमा कुनै एक जना पुरानो साथीसँग बस्न पुगेँ भने म उनीहरूका लागि एउटा फरक परिवेशको मान्छे बन्न पुग्छु । बोल्दै जाँदा, गफिँदै जाँदा कताकता केके हराएजस्तो, केके नमिलेजस्तो । समयको गतिले पुराना कुरा खोज्न अभ्यस्त मान्छेको मानसिकतालाई नै पुरातन बनाएर जाँदोरहेछ । सोच्छु, म आफैं या मेरा साथीभाइ धेरै बदलिएका कारण यसो भएको होइन होला, समयको गति र मान्छेबीचको दूरीका कारण पो यो अवस्था आयो कि ? समय बदलिइरहँदा हामी पनि धेरथोर बदलियौं नै । तर, हामीले खोजिरह्यौं पुरानो सन्दर्भ र मानसिकताको लय । अहिले आएर लामो ग्यापमा पुरानो समयको ‘यारी’ र त्यसको लय खोज्नु सपनाबाट झस्किएर फेरि सुत्दा उही सपना देख्न खोज्नुजस्तै हुँदोरहेछ ।

अँ, मसँग पुरानो परिचयको बाँकी रह्यो मैले प्रतिभा र समय खर्च गरेको अर्को ठाउँ– साहित्य । यता पनि ठूलो समूहका लागि म पूर्ण रूपले नयाँ भइसकेँछु । म कुनै गुट वा समूहमा नपर्ने, नबस्ने र आफैंलाई गुटभन्दा बलियो सम्झिने भएका कारण चिनेजानेका माझ पनि खासै महत्त्वको मान्छे बन्न नसकेको पो हुँ कि ? नयाँ ठाउँमा जम्न अलिक समय लाग्ने र जमेपछि सबैथोक आफ्नै देख्ने मजस्तो प्रकृतिको मान्छेको भौतिक अनुपस्थितिको निकै अर्थ हुनेरहेछ साहित्यमा पनि । मेरो लामो समयको भौतिक अनुपस्थितिका कारण काठमाडौंले मलाई धेरै हदसम्म पाखे बनाइरहेको छ । अलिक पहिला बाहिरका धेरै मान्छेले घर बनाएर बस्ने हैसियत बनाउनुअघि म जस्तालाई भनिने शब्द थियो, पाखे । लाग्छ, म काठमाडौंका लागि फेरि एक पटक पाखे नै भएको छु । अन्य सहरभन्दा फरक काठमाडौंको अनौठो चरित्र के पनि रहेछ भने आफूले जानेको र बुझेको कुरा आफ्नै पाराले नबुझ्नेहरूलाई यो सहरले आफ्नो मान्दैन, स्वीकार गर्दैन ।

म काठमाडौं छिर्दा काठमाडौंका काँठमा अलिअलि नयाँ घर बन्दै थिए, बाहिरी मान्छे निकै कम थिए । बानेश्वर, लैनचौर, बालुवाटारजस्ता ठाउँका भित्री गल्लीमा कोही नयाँ मान्छे देख्दा यो कुन घरमा डेरा बस्ने मान्छे होला ? भन्ने प्रश्न गरिने बेला थियो त्यो । काठमाडौंका स्थानीय मान्छेले देश नै आफ्नो मात्र हो र चक्रपथ आसपास मात्रै हो भन्ठान्थे । मलाई मधेस घर बताउँदा पनि ऐतिहासिक कालमा पराजित शत्रु देशको सेनासरह व्यवहार गर्थे । एक हिसाबले देश ठूलो छ भन्ने बुझ्न यहाँका मान्छे आनाकानी गरिरहन्थे । मलाई अनौठो लाग्थ्यो, काठमाडौंको मानसिकतासँग ।

अहिलेभन्दा केही महिनाअघिसम्म म भाषा, धर्म, संस्कृति अनि छालाको रंगका हिसाबले हाम्रा लागि बिरानो लाग्ने मुलुकहरूमा बसेँ । त्यहाँ म आप्रवासी थिएँ, फेरि फर्किए पनि आजीवन आप्रवासी हुनेछु । कागजी र प्राविधिक रूपमा मेरो हैसियत जे भए पनि, पूरै जीवन नै अर्पण गरे पनि म त्यहाँ विदेशी मात्र रहनेछु । तर, यससँगै जीवनभर आउटसाइडर बनेर बाँचेको मलाई फेरि नेपाल फर्किंदा भएको अनौठोपनाले चाहिँ अर्कै पाराले घोचिरहेको हुन्छ । आफ्नाहरूले कटक्क मन दुखाएजस्तो, जसको पीडा बिर्सेर या खुर्केर मेटिँदैन ।

यहाँनेर विगतको अनौठो अनुभव पनि छ मसँग परिचयकै सन्दर्भमा । काठमाडौं बसेपछि पढ्दापढ्दै म मिडिया र साहित्यमा लागेँ । मिडियामा धेरैजसो फिचर वा डेस्कमा काम गर्ने भएका कारण मैले दसैंमा बढीमा एक साताको मात्र छुट्टी पाउँथेँ । तर, घर गएको समयमा गाउँघरमा पुराना मान्छेले मलाई नचिन्ने र नयाँ मान्छेलाई मैले नचिन्ने अवस्था हरेक पटकको बसाइमा आइरहन्थ्यो । पहिला सानो छँदा दिइने परिचय अर्थात् ‘फलानोको छोरा’ भन्ने क्रम केही वर्ष रह्यो । अलिक पछि मेरो भाइ गाउँमै बस्न थालेका कारण उसलाई गाउँले अलिक चिन्न थाल्यो । म फेरि ‘फलानोको दाजु’ बनेर चिनिन थालेँ । काठमाडौंमा चाहिँ केही वर्ष संघर्ष गरेपछि यो समस्या थिएन । खुट्टै किन नतानून्, कम्तीमा मेरा साथीभाइ थिए त्यहाँ । सार्वजनिक क्षेत्रका साथीहरूसँग स्वतः एउटा सर्कल बन्नपुगेको थियो । बरु साहित्य र पत्रकारिता दुवैतिर समानान्तर रूपमा सक्रिय रहेका कारण कहिलेकाहीँ अर्को पीडा हुन्थ्यो । साथी राजकुमार बानियाँले एकपल्ट मेराबारे लेखेका थिए, ‘पदम गौतम कविका भीडमा पत्रकार र पत्रकारका भीडमा कवि हो ।’ उनको यो हेराइ सोह्रैआना सही थियो र दुवैतिर लाग्नेहरूको पाइला पाइलाको भोगाइ । तर, मलाई कम्तीमा चिन्ने मान्छे त थिए नि ! कविहरूले पत्रकार र पत्रकारहरूले कवि भनेर भए पनि म चिनिन्थेँ । यसरी आधा मात्र परिचय बनाउन पनि मैले धेरै वर्ष काठमाडौंमा आउटसाइडरजस्तै बन्नुपरेको थियो । एक अर्थमा आफू हिँड्ने गोरेटो आफैं खन्नुपरेको थियो ।

मैले जिल्लाको नाम लिएपछि धेरैले एउटै प्रतिक्रिया दिन्थे, ‘मोरङ भनेको झापा, है !’ काठमाडौंमा घर नहुँदैमा आउटसाइडर बनाइने ठाउँमा तराईका मूलवासी र सुदूर क्षेत्रबाट काठमाडौं पुग्नेहरू मभन्दा बढी अपरिचित बन्थे । तिनको पीडा कति ठूलो थियो होला भन्ने म अहिले पनि कल्पना गरिरहन्छु ।

गाउँ बस्दा आफ्नै घर वरपर र काठमाडौं बस्दा त्यहाँको पूरै समाजमा आउटसाइडर बन्दाको पीडा अर्कै हुन्थ्यो । काठमाडौं मेरो थिएन र म मात्र काठमाडौंको थिएँ । किनकि त्यहाँ म र मजस्ता धेरैको घर थिएन । तर, सारा सुविधा र अवसर काठमाडौंले मुठ्ठीमा कजाएर बसेको थियो ।

एक दशकसम्म विदेशमा फरक संघर्ष गरेर, कोरोनाकाल र अन्य विभिन्न समस्या भोगेर आएपछि लाग्छ, मेरो काठमाडौंसँग विगतमा साम्राज्यवादी भनेर चिनिएका देशभन्दा बढी कट्टर मानसिकता छ । सोचिरहेको छु, कहिले मेरो देशमा हरेक देशवासी एउटा मान्छे बनेर चैनले बस्न पाउला ? कहिले बाहिरी आवरण र जन्मका आधारमा हुने घुमाउरो विभेदको अन्त्य होला ? थोरै समयका लागि धर्तीमा आएका हरेक मान्छे उस्तै हैसियतका आउटसाइडर होइनन् र ?

प्रकाशित : आश्विन १, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?