५२ वर्षअघिको त्यो फर्माइसपत्र

कुम्भराज राई

मानेभन्ज्याङ गाउँपालिका–१ उँबु तारक्वाममा छ– चौरासे घर । करिब १ सय ५० वर्ष पुरानो यो घर तत्कालीन मुखिया, जिम्वालको हो । हालै यो घरमा आधा दशकपहिले लेखिएका दुई थान रोचक पत्र भेटिए । ती थिए– रेडियो नेपालको कार्यक्रममा लागि लेखिएका फर्माइस पत्र ।
पहिलो पत्रमा मिति ०२७ साल लेखिएको छ ।

५२ वर्षअघिको त्यो फर्माइसपत्र

दोस्रोमा भने मिति लेखिएको छैन । फर्माइसमा पेन्सिलले लेखिएको अक्षर र फुलिस्केप हेर्दा दुवै पत्र लेख्ने व्यक्ति एकै हुन् भन्ने अड्कल काट्न सकिन्छ । किनकि हस्तलिपि एउटै छ । फर्माइसकर्तामा जीबी राई र शम्बरबहादुर राईको नाम छ । दुवैले कार्यक्रमका निम्ति दुई–दुईवटा गीत फर्माइस गरेका छन् । दुवैको ठेगाना लेखिएको छ– ‘पूर्व ३ नम्बर उँबु चौरासबाट’ ।

फर्माइस लेख्नेमध्ये जीबी राई को थिए ? कसैलाई थाहा छैन । तर, शम्बरबहादुर राई नजिकैको कटवाल गाउँका हुन् । हाल उनी धरान बस्छन् । प्यारालाइसिसले थलिएका छन् । शम्बरका सहपाठी तथा अधिवक्ता हर्कबहादुर राईका अनुसार, २०२७ सालमा उनीहरू ७ कक्षा पढ्थे । गाउँमा कक्षा ४ सम्म मात्रै पढाइ हुने भएकाले हर्कबहादुर ५ कक्षा पढ्न सदरमुकाम गए भने शम्बर धरान झरे । एसएलसीसम्म पढेका शम्बरले सम्भवतः धरानबाट फर्किर्एका बेला त्यो फर्माइस लेखेको हुन सक्ने अड्कल हर्कको छ ।

उँबु चौरास क्षेत्रमा त्यतिबेला औंलामा गन्न सकिने संख्यामा थियो रेडियो । जुरे गाउँका जयबहादुर राई, सिम्सारका जितमान राई, सिखाईका जगतराम राई, खचापुका भीमबहादुर राई र फकुलका भलबहादुर राईको घरमा मात्रै रेडियो थियो । तीमध्ये भीमबहादुर राई जिम्वाल थिए भने बाँकी सबै लाहुरे । सर्वसाधारणले त रेडियो किन्न सक्ने अवस्थै थिएन ।

उतिबेला गाउँका एक मात्र हुलाकी थिए, शरणबहादुर खत्री । कुनै पनि चिठीपत्र लिन–दिन हुलाकी नभेटी सुखै थिएन । तर, कसरी त्यो फर्माइस मुखिया तालुकदारको घरमा आइपुग्यो ? प्रश्न अनुत्तरित छ ।

फर्माइस सम्झना

उँबुका महाजित राईसँग ०४८ सालपछि नियमित रेडियो नेपालमा फर्माइसे पठाउने गरेको अनुभव छ । उनले पठाएको फर्माइस पत्राचार ढिलोमा दुई महिनादेखि छिटोमा २५ देखि ३५ दिनपछि रेडियो नेपाल, अल इन्डिया रेडियो, रेडियो खर्साङबाट प्रसारण हुन्थे । ‘नियमित श्रोता र चिठी लेख्नेलाई अल इन्डिया रेडियोले पत्रको फर्म्याट हुलाकमार्फत पठाउँथ्यो,’ हाल शिक्षण पेसामा आबद्ध राई सम्झिन्छन्, ‘फर्म्याटमा फर्माइस गरेको गीत, गायक, संगीत, गीतको बोल, सुनाउन चाहेको व्यक्ति र फर्माइसकर्ताको नाम राख्ने ठाउँ हुन्थ्यो । भरेर पठाउनुपर्थ्यो ।’

सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका लोकगायक तथा कलाकार कल्याण राईलाई ४० देखि ५० को दशकमा रेडियो नेपालमा फर्माइस लेखेको सम्झना छ । रुम्जाटारबाट त्यतिबेला रेडियो नेपालमा बारम्बार फर्माइस पठाउनेहरू थिए, लक्ष्मण गुरुङ, सिर्जना गुरुङलगायत । एउटा पत्रमा चारभन्दा बढीको नाम राखेर फर्माइस गर्न नमिल्ने भएकाले कतिपयले आफ्ना प्रेमी–प्रेमिकाको नाम राखेर गीत फर्माइस गर्थे । प्रेमिकाको नाम गाउँघर र परिवारले थाहा पाउलान् भनेर धेरैले उपनामको प्रयोग गर्थे । फर्माइस लेखेपछि कहिले प्रसारण हुन्छ भनेर रेडियामा कान थापेर सुन्ने त्यो जमानाको रमाइलो सम्झिँदा कल्याण अहिले पनि खुसी हुन्छन् ।

चिशंखुगढी गाउँपालिका–३ दियालेका शिक्षक तथा साहित्यकार इन्द्रकुमार श्रेष्ठले ०४४ सालमा घरमा पानासोनिक रेडियो किने । उनले ०४३ देखि ‘दियाले–३ ओखलढुंगा’ ठेगानाबाट अलिअलि फर्माइस लेख्न थालेका थिए । त्यतिखेरको फर्माइस कार्यक्रममा धेरै पत्र सुनिने केही फर्माइसकर्ताको नाम उनलाई कण्ठस्थै छ । ‘वीरगन्ज गहवाबाट कुर्वान हवारी, बेगम ताजमा हवारी, रहमान हवारी’ को नाम बिर्सेका छैनन् । त्यसैगरी ‘काठमाडौं सामाखुसीबाट अरुणबहादुर खत्री, पालुङ शिखरकोट मकवानपुरबाट राजाराम रायमाझी र किसु रायमाझी’ उनले रेडियो नेपालका फर्माइसी कार्यक्रममा धेरै सुनेको नाम हो ।

त्यतिबेला रेडियो नेपालको गीत फर्माइस गर्न हुलाकले पोस्टकार्ड नै छापेको थियो । खाम र पत्र दुवैको काम त्यसैले गर्थ्यो । उनी बीबीसी, सीआरआई (चाइना रेडियो इन्टरनेसनल), रुसबाट प्रसारण हुने रेडियो मस्कोको नेपाली कार्यक्रममा पत्र लेख्थे । ०५२ सालमा रेडियो मस्कोमा कार्यरत प्रस्तोता कृष्णप्रकाश श्रेष्ठले उनलाई लेखेको पत्र अझै सुरक्षित छ । अल इन्डिया रेडियोमा पत्र पठाएपछि उताबाट ‘इन्डिया कलिङ’ नामको पत्रिका र रेडियोको कार्यक्रम तालिका आउँथ्यो । रेडियो भुटानमा पनि फर्माइस कार्यक्रम थियो । ‘मनोरञ्जनको साधन रेडियोभन्दा अरू केही थिएन,’ श्रेष्ठ भन्छन्, ‘सूचना, मनोञ्जनका लागि निर्विकल्प साधन रेडियो थियो ।’

२०२७ देखि २०६२ सम्म रेडियो नेपालमा काम गरेकी धन लामाले २०२८ सालदेखि लामो समय फर्माइसी कार्यक्रम सञ्चालन गरिन् । उनका अनुसार त्यतिबेला सबैभन्दा धेरै फर्माइस पठाउने थिए, वीरगन्ज गहवाका हवारी परिवार हुन् । त्यतिबेला हुलाकबाट बोराको बोरा पत्र आउँथ्यो । उनी आफ्नो कार्यक्रममा पढ्न भ्याइने जति पत्र मुठ्ठीमा झिकेर स्टुडियोमा लैजान्थिन् । ‘फर्माइसको क्रेज यति ठूलो थियो,’ उनले विगत सम्झिँदै भनिन्, ‘आफ्नो नाम रेडियोमा सुन्नु ठूलै कुरा थियो ।’

तर, समय उस्तै रहेन । एउटै जिल्लामा दर्जनौं रेडियो सञ्चालनमा आए । पञ्चायतकालसम्म रेडियो ऐन २०१४ अनुसार रेडियो बजाउन लाइसेन्स लिएर वार्षिक नवीकरण गर्नुपर्ने जमाना समयसँगै छुट्यो । प्रविधिले चिठ्ठी–पत्रको प्रयोग पनि घटायो । अब जीबी राई र शम्बरबहादुर राईको फर्माइस इतिहास भइसके ।

प्रकाशित : भाद्र २५, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?