१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८
इन्द्रजात्रा

निवर्तमान ‘देवीदेवता’

जीवित बालिकालाई कुमारी मानेर पूजा–आराधना गर्ने चलन अरु नगरमा पनि छ । तर, जीवित बालकलाई श्री गणेश र श्री भैरवका रुपमा पूजा गर्ने परम्परा काठमाडौंमा मात्रै छ ।
सुरेश किरण

एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।

निवर्तमान ‘देवीदेवता’

नेसं ८०८ तिर काठमाडौंबाट भागेर भक्तपुर लुक्न गएका भारदार भागिराम काजीलाई ‘सुपुर्दगी गर’ भनी पाटन र काठमाडौंका काजीहरूले भक्तपुरलाई अनुरोध गरे । तर, भक्तपुरले सुपुर्दगी गरेन । त्यसैले भागिरामलाई पक्रिन पाटन र काठमाडौंका काजीहरूले भक्तपुरमा आक्रमण गरे । युद्ध भइरहेकै बेला इन्द्रजात्रा सुरु भयो । काठमाडौं र पाटनका काजीहरू युद्ध स्थगित गरी काठमाडौं फर्किए र धुमधामसँग इन्द्रजात्रा मनाए । अनि जात्रा सकेपछि फेरि आक्रमण गर्न गए र भागिरामलाई फिर्ता लिएर आए (पं. देवीप्रसाद लम्साल, भाषा वंशावली (दृतीय भाग), विसं २०२३) ।

नेपाली इतिहासमा मल्लकालीन राजाहरूका लागि इन्द्रजात्रा कति महत्त्वपूर्ण पर्व रहेछ ? माथिका दुई दृष्टान्तले नै सविस्तार वर्णन गर्छन् । मल्लकालमा इन्द्रजात्रा अत्यन्तै महत्त्वसाथ मनाउने गरिन्थ्यो भन्ने कुरा त्यस समयका थुप्रै अभिलेखमा इन्द्रजात्राबारे उल्लेख गरिएबाटै थाहा हुन्छ । मल्लकालीन नेपालका धेरै स्थानमा त्यस्ता धेरै शिलापत्र प्राप्त भएका छन्, जसमा इन्द्रजात्रा मनाउन जग्गा आयस्ता राखी गुठीको समेत व्यवस्था गरिएको छ (डा. अजयक्रान्ति शाक्य, सुरेश किरण मानन्धर, इन्द्रजात्रा, विसं २०७७) ।

मल्लकालमा इन्द्रजात्रा भव्यतापूर्वक मनाउने क्रम अन्तिम मल्ल राजा जयप्रकाशको समयसम्मै जारी रह्यो । जयप्रकाशले इन्द्रजात्रामा थपिदिएको सबैभन्दा ठूलो अंग हो– जीवित देवी श्री कुमारीको रथयात्रा । श्री कुमारीको रथयात्रा अहिले इन्द्रजात्राकै सबैभन्दा महत्त्वपूर्ण अंश बनिसकेको छ । जात्रामा श्री कुमारीका रूपमा पुजित जीवित बालिकालाई रथमा विराजमान गराई नगर परिक्रमा गराइन्छ । रथयात्राको अघि–अघि जीवित देवताहरू श्री गणेश र श्री भैरवको रथ पनि तानिन्छ । जीवित बालिकालाई कुमारीका रूपमा पूजा–आराधना गर्ने चलन काठमाडौंलगायत पाटन, भक्तपुर र अन्य नगरमा पनि छ । तर, जीवित बालकहरूलाई श्री गणेश र श्री भैरवका रूपमा पूजा गर्ने परम्परा भने काठमाडौंमा मात्रै छ । यो परम्परा स्थापना पनि जयप्रकाश मल्लले नै गरेका थिए ।

जीवित देवी श्री कुमारी काठमाडौंका शाक्य कुलपुत्रीमध्येबाट छनोट गरिएजस्तै श्री गणेश र श्री भैरव पनि काठमाडौंका शाक्य कुलपुत्रमध्येबाटै छानिन्छ । श्री कुमारी बस्ने छुट्टै आवास (कुमारी घर) को व्यवस्था छ, तर श्री गणेश र श्री भैरव भने आ–आफ्नै घरमा बस्छन् । आफ्नै घरमा बसे पनि उनीहरूले विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । जस्तो ः देवता भइरहुन्जेल कपाल काट्नु हुँदैन, गणेशले सेतो जामा र भैरवले नीलो जामाबाहेक अर्को पोसाक लगाउनु हुँदैन, विद्यालय जाँदा पनि त्यही पोसाक लगाएर जानुपर्छ, जुठो खानु हुँदैन, खोला तर्नु हुँदैन, आफ्नोबाहेक अरूको घरमा रात काट्नु हुँदैन, भोज जानु हुँदैन, शरीरमा रगत आउने गरी घाउ–चोटपटक लगाउनु हुँदैन ।

एकपटक छनोट भइसकेपछि करिब १०–११ वर्षसम्म उनीहरू ‘देवता’ कै आसनमा विराजमान हुन्छन् । ‘देवता’ रहुन्जेल प्रत्येक वर्ष इन्द्रजात्राका तीन दिन रथयात्रा गराइन्छ । मानिसहरू उनीहरूलाई द्यः मय्जु वा द्यः भाजु भनी ढोग्न आउँछन् । पैसा चढाउँछन् । पूजा पनि गर्छन् । देवताकै रूपमा सम्मान गर्छन् ।

अनि देवताको आसनबाट झरिसकेपछि के हुन्छ ? दुई वर्षअघि मात्रै ‘देवता’ बाट निवृत्त भएका निवर्तमान गणेश संवेग शाक्य भन्छन्, ‘त्यसपछि त इजी लाइफमा जाने हो । देवता हुँदा नियममा बस्न गाह्रो छ । अहिले त्यस्तो छैन ।’

उनीसँगै निवृत्त भएका निवर्तमान भैरव रुजन शाक्य भने ‘देवता’ को आसनमा नरहेपछि लाइफ इजी भए पनि पाइरहेको सम्मान भने गुमेको महसुस गर्छन् । भन्छन्, ‘पहिले बाटामा हिँड्दा मानिसहरू हामीलाई पोसाकले नै चिन्दथे । हातमा पैसा राखेर ढोग्न आउँथे । छुट्टै पर्सनालिटी हुन्थ्यो । अहिले बाटो हिँड्दा कसैले चिन्दा पनि चिन्दैन, वास्ता पनि गर्दैन ।’

अहिले दुवै निवर्तमान ‘देवता’ घर–परिवार र टोल–छिमेकमा घुलमिल हुँदै सार्वजनिक जीवन जिउने प्रयासमा छन् । दुई वर्षअघिसम्म आजका दिन यी दुवै ‘देवता’ लाई रथयात्राको तयारीमा भ्याईनभ्याई भइरहन्थ्यो । यसपालि यी ‘देवता’ हरूले वसन्तपुरकै कुनै घरको आँखिझ्याल वा छतमा बसेर श्री कुमारीको रथयात्रा अवलोकन गर्नेछन्, सर्वसाधारणसरह ।

उनीहरूसँगै कुमारीको आसनमा पुगेकी निवर्तमान कुमारी मतिना शाक्य भने आजभन्दा ५ वर्षअघि नै ‘देवी’ आसनबाट निवृत्त भइसकेकी थिइन् । कुमारी रहुन्जेल उनी सधैं कुमारी घरमा थिइन् । त्यसैले सार्वजनिक जीवनमा आउन उनलाई अलिकति गाह्रो भएको थियो । काठमाडौंका टोलहरूको नामसमेत उनलाई थाहा थिएन । तर, परिवार, स्कुल र अन्य आफन्तको सहयोगले उनको त्यो अप्ठ्यारो लामो समय रहेन । अहिले उनी सामान्य भइसकिन् ।

संयोग नै भन्नुपर्छ, हालैको गुँला पर्वमा यी तीनै निवर्तमान देवीदेवता परम्परागत धाः बाजा र बाँसुरी बजाउँदै स्वयम्भू महाचैत्य परिक्रमा गर्दै गरेका भेटिए । प्रत्येक वर्ष श्रावण महिनाभरि उपत्यकाका बौद्ध नेवारहरू स्वयम्भू महाचैत्यलगायत विभिन्न बौद्ध स्मारक गई स्तोत्र पाठ गर्छन् । र, धाः बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन्, जसलाई गुँला पर्व भनिन्छ । यस वर्ष गुँला पर्वमा यी तीनै जना निवर्तमान देवी–देवता आ–आफ्ना परम्परागत बहाःको बाजा खलःमा सम्मिलित भई स्वयम्भू महाचैत्य परिक्रमा गर्न भेला भएका थिए । मतिना बाँसुरीमा पोख्त थिइन् भने संवेग र रुजन धाः बाजामा निपुण थिए । तीनै जनाले आ–आफ्नै बहाःको गुठीले प्रदान गरेको प्रशिक्षणमा ती बाजा सिकेका थिए ।

संवेग त गितारमा पनि उतिकै सिपालु छन् । ‘देवता’ रहेकै बेला उनले घरमा गितार सिकेका थिए भने एकपटक सिटी सेन्टरमा भएको सांगीतिक कार्यक्रम पनि हेर्न पुगेका थिए । ‘देवता–देवी’ आसनबाट निवृत्त भई सार्वजनिक जीवनमा पदार्पण हुनेबित्तिकै यी तीनै जना सार्वजनिक क्रियाकलापमा पनि अभ्यस्त हुँदै छन् । उनीहरूको सहभागिताले सम्बन्धित बहाःको बाजा खलःको पनि शोभा बढेको बताउँछन् इतुम्बहालका अभियन्ता प्रतापमान शाक्य ।

यी निवर्तमान देवी–देवताको सवालमा एउटा साझा विषय के पनि भइदियो उनीहरू तीनै जना अहिले १७ वर्षका भए । तीनै जना १२ कक्षा पढिरहेका छन् । र, तीनै जनाको मूल विषय कम्प्युटर साइन्स हो ।

निवर्तमान गणेश संवेग शाक्यको भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ । निवर्तमान भैरव रुजन शाक्य ग्राफिक्स डिजाइनर बन्छु भन्छन् । निवर्तमान कुमारी मतिना शाक्य भने सबै क्षेत्रमा कम्प्युटर अनिवार्यजस्तै भइसकेकाले कम्प्युटर साइन्सलाई सीमित क्षेत्रमा राखेर नहेर्ने बताउँछिन् । कुमारीको आसनबाट झरिसक्दा पनि उनी अक्सर कुमारी घर पुगिरहेकै हुन्छिन् । सबै पूर्वकुमारीलाई कुमारी घरमा छोरीको रूपमा सम्मान दिइन्छ । चाडपर्वहरूमा पूर्वकुमारीलाई छोरीसरह नख्त्या बोलाउने गरिन्छ ।

हाल कुमारी घर रहेकी वर्तमान कुमारीसँग पनि निकै राम्रो घुलमिल भएकाले मतिना अक्सर उनीसँग खेल्नैका लागि कुमारी घर पुगिरहेकी हुन्छिन् । वर्तमान कुमारी मतिनालाई ‘द्यःतता (देवी दिदी)’ भनेर सम्बोधन गर्छिन् । हाल मतिना शाक्यसमेत गरी ९ जना पूर्वकुमारी जीवित छन् । पूर्वगणेश ७ जना र पूर्वभैरव ८ जना जीवित छन् । काठमाडौं महानगरपालिकाले जीवित पूर्वकुमारीलाई मासिक १५ हजार रुपैयाँ र जीवित पूर्वगणेश एवं पूर्वभैरवलाई मासिक १२ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : भाद्र २५, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?