कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वर्षामासका देउडा गीत

नन्दकृष्ण जोशी

आदिम संस्कृति र मौलिक पहिचान भएको देउडाले सिंगो नेपाललाई सांगीतिक उज्यालो दिइरहेको छ, केवल काली–कर्णाली क्षेत्रलाई होइन । वर्षैभरि गाइने अनेक यामका देउडा गीत थुप्रै गायक–गायिकाले गाइरहेकै छन् । मैले २०३४ सालदेखि नै रेडियो नेपालमा देउडा गाउँदै र यसको प्रचार गर्दै आएको छु । अहिले त थुप्रै देउडा गायक–गायिकाको आगमन भइसकेको छ । खासमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक–सांगीतिक क्रान्ति देउडा गीतबाटै भएको हो । यसको परिणाम अहिले देउडा संगीत–संस्कृतिको धरातल अझै फराकिलो बन्दै छ ।

वर्षामासका देउडा गीत

मूर्त–अमूर्त संस्कृतिसँग जोडिएको लोकविधा हो– देउडा । यसका धेरै भाका छन् । ऋतु परिवर्तनसँगै देउडाका धेरैथरी गीत गुन्जिन्छन् जनजनमा । साहित्यका सबै रस र संगीतका सबै राग देउडामा छन् । भूगोल, समाज र परिस्थिति अनुसार गीत र भाकाहरू जन्मिन्छन् । देउडासँगको मेरो ४५ वर्षे अनुभवले भन्छ– मार्मिक र ऐतिहासिक गीत कहिल्यै मर्दैनन् ।

...

आउनुस् अब वर्षामासमा गाइने केही देउडा गीतमाथि विमर्श गरौं । आकाशको कालो बादलबाट झरेको वर्षेझरीका गीत, धर्तीमा बग्दै गरेका नदी, गाड र झरनाको मीठो आवाजसँगै जन्मेका गीत वास्तवमा वर्खामासका गीत हुन् । रोपाइँ गर्दा, खेतमा साँउ हाल्दा (अनावश्यक झारपात उखेलेर फाल्ने चलन), गोठालो जाँदा, गाईबस्तु चराउँदा, बाढी–पहिरोले जनधन नोक्सानी गर्दा गाइने गीत नै खासमा बर्खायामका गीत हुन् ।

लेक्पानी बर्सन लाग्यो दाउरा वाल तारु ।

मन् अर्‍यै मन्दिरजसो जोवन राख्यै फारु ।।

पानी परेपछि जाडो हुन्छ, आगो बाल्न खोजे पनि भिजेका दाउरा बल्दैनन्, तर धैर्य गर्नुपर्छ । विपत्ति आउँछ जीवनमा, त्यस्तो बेला मनलाई मन्दिरजस्तो पवित्र राख्न सक्नुपर्छ, जोवन खेर फाल्नु हुन्न, फारु (बचाउनु) गर्नुपर्छ । अमरकोष ग्रन्थमा धेरै अर्थ लाग्ने शब्द उल्लेख गरेझैं देउडा गीतमा पनि बहुअर्थ लाग्छन् :

वरिषा मासको लाउन्या छिटुवाको जामा ।

तेरो रिथी मेरो कली काँग्यो भैंसी आमा ।।

सेतो कपडा छिपेर लगाउँछन् भने त्यसलाई छिटुवाको कपडा भनिन्छ । कुनै बेला हाटबाट हटारुहरू नुन, गुढ, तम्माखुसँगै छिटको कपडा ल्याउने गर्थे । वर्षामासमा पुरुषहरू त्यही कपडा लगाएर रोपाइँ गर्थे । गाईबस्तु चराउन जाँदा, भैंसी गोठालो लाग्दा लगाइने त्यो कपडा आजकाल उति देखिन्न । दूध दिने भएकीले भैंसीलाई आमा भनिएको हो । प्रेमिका या मन परेको मानिसलाई ‘कली’ भनिन्छ गीतमा । बाउरु गोठालोले भैंसीलाई सम्बोधन गर्दै तिम्री मालिक्नी, मेरी प्रियसी कहाँ गएकी होलिन् भन्दै प्रश्न गर्छन् । (यो गीत स्व. वीरेन्द्रबहादुर सिंहबाट सापट लिएको हो, जो भूपू मन्त्री हुनुहुन्थ्यो ।)

भाँड्खोलो बौलाउन लाग्यो साँघु छैन तर्न ।

वर्षामास चुइन्या घर पडा लाइग्या सर्न ।।

बझाङ तलकोटको भाँड्खोलो साउनमा बौलाएर आयो, तर साँघु छैन । कसरी तरेर काममा जाने ? स्लेटले छाएका घरका पडा (स्लेट) सरेर घरभित्र पानी चुहिइरहेको छ, लोग्ने मानिस घरमा छैन, महिलाले पाखो (छानो) मा जान मिल्दैन । अब के गर्ने भनी आफैंले प्रश्न गरी चित्त बुझाउने गीत हो यो ।

म पारी गै झान्या छिया निथ्रपानी निथ्र ।

म जसो दुखारी कोइनाई चौध अञ्चल भित्र ।।

काम गर्न खोलापारि जानुपर्ने, तर तर्नर् साधन छैन । घनघोर पानी परिरहेको छ, अब के गर्ने ? गीताङ्गी भगवान् इन्द्रलाई मनमनै पुकार्दै, ‘ए पानी ! अब निथ्र’ (कम हुनु) भनी विनय गर्छन् । तर, पनि पानी रोकिँदैन अनि आफूजस्तो दुखारी १४ अञ्चलभित्र कोही रहेनछन् भनी दुःख हुन्छन् ।

कर्णालीउदो लेदो बग्दो भेरी बग्दो फिन ।

बाल्कालैका बौला दुःख कैको खायाँ रिन ।।

वर्षा–हिउँद नभनी सधैं भारी बोकेर पेटभरि खान नपाइने, बालकालदेखि नै बौला (धेरै) दुःखले कहिल्यै छाडेन । हे

भगवान् ! पूर्वजन्ममा कसको रिन खाएको रहेछु भनी मनोभाव व्यक्त गरिएको छ यस गीतमा । साथै कर्णालीमा लेदो बगेर कैलालीको टीकापुर, भजनी, बर्दियाका नदी छेउछाउका मलिला धानका फाँटहरू पुरिदिएको छ, भेरीमा फिन बगेर वर्षामासमा पिउनयोग्य देखिँदैन भन्ने बहुअर्थ बोकेको गीत हो यो ।

स्याउली सोत्तर केइ पाइँदैन काट्याको वन पनि ।

मेरै जति मान्दो छ कि साई तम्रो मन पनि ।।

वर्षामासमा मल जम्मा गर्न स्याउली सोत्तर काटेर गोठमा राख्ने चलन छ । गाईबस्तुले गोब्य्राएपछि खेतीपातीका लागि राम्रो मल हुन्छ, तर सबैले स्याउला काटेर रूख नाङ्गो भइसके, अझै आजभोलि त कबुलियत वन, पालेका वनका कारण स्याउला काट्न पाइँदैन । वर्षामासमा कामको बोझ छ, तर समस्या झन् गाढा छ । ‘साई’ (प्रेमी) यस्तो बेला तिम्रो मन पनि मेरो जत्ति नै मायालु छ कि ? कामप्रति सचेत छ ? भनेर कविले गीतमा भावना पोखेका छन् ।

झुनझुन्या वरषु लाग्यो काट्या बाटो दर्की ।

यसाई दिन् गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ।।

काटेको बाटामा पनि दर्केर आएको पानीले क्षति पुर्‍यायो । झुन्झुन् गरी आएको पानीले दुःख दियो । यस्तै दुःखका दिनहरू सम्झेर दिन बिताउनुपरेको छ । सुदिन आउलान् कि यस्तै दिनहरू बित्लान् ? गीतकार कल्पना गर्छन् ।

कान्या कुहिरो लोटी आयो भैंसी बान्दा बान्दा ।

जीउ झुराई माछीको काँडो साईको सुर्ता मान्दा ।।

वर्षामासको कुहिरोले जमिन पूरै ढाकेको छ । लेकमा चर्ने भैंसीलाई दाम्लोमा बाँध्न पनि गोठालोलाई कठिन भयो । यस्तो बेला साई (प्रियसी) को याद धेरै आयो । साईको यादले शरीर झुरेर (दुब्लाएर) माछाको काँडाजस्तै मसिनो भएको छ । वर्षाका कारण भेट गर्न पनि सकिँदैन भन्ने आशयको गीत हो यो ।

कालीको लड्कन्या माछो कर्णालीका भेल ।

को आयो बिरानु माइस मेरा हौस्या खेल ।।

महाकाली नदीमा रमाउने माछो कर्णाली नदी कसरी आइपुग्यो ? गीतकार प्रश्न गर्छन् । देउडा, गीत मात्रै होइन, पाइतालाप्रधान खेल पनि हो, जुन खेलमा हजारौ मन मिलेका हुन्छन् । यस्तो खेलमा बिरानो मान्छे कताबाट आयो ? गीतांगीको प्रश्न छ ।

साउनका अँध्यारी रात झुपुझुपु ब्याइझा ।

मेरी माया मान्या भया अब घर आइझा ।।

साउनको अँध्यारो रात देखेर किन हो कुन्नि निद्रा पनि लाग्दैन । झुपुझुपु (छिटोछिटो) ब्याइझा (उज्यालो हुनु) अर्थात् अन्धकार हटेर गइहाल, परदेसिएको श्रीमान् अब घर आइहाल भन्छ यो गीतले ।

माल हिउँ पर्वत कुहिरो कालो मेघ वर्षंदो ।

अब कहिले हुने होला दुःखी मन् अपुरो ।।

अग्ला डाँडामा र नदीका खोंचमा कुहिरोले नचुमी, कालो मेघले आकाश नढाकी पृथ्वीमा पानी पर्दैन । जति नै काम गरेपनि पहाडी खण्डमा खान पुग्दैन । गरिब झन् गरिबीको रेखामुनि पस्दै छन्, महँगी बढेको बढ्यै छ । यो मनको दर्द कसले सुनिदिने होला ? यस गीतमा एक गरिबको वेदना पोखिएको छ ।

...

देउडा गीत प्रकृति हो, संस्कृति हो र मान्छेको जिन्दगी हो । देउडा बन्न गीतका २ चरण हुनु आवश्यक छ । दुवै हरफमा १४ अक्षर हुनु आवश्यक छ । एकल वा दोकल व्यक्तिले गीतको शैलीमा भाका हाल्छन् भने त्यो मीठो गीत बन्छ । पाइताला मिलाएर, डेढी कदम उचालेर, कुममा कुम जोडी, हातमा हात मिलाई भाका (लय) अनुसार घुमीघुमी गीत गाइन्छ भने ती गीत त्यसबेला खेल (नृत्य) बन्छन्, जुन गीत सवाल जवाफमा आधारित हुन्छन् । गीतको गहिराइमा पुगेपछि समय बितेको थाहै हुँदैन । रात–दिन त्यही खेलमा घुमी–घुमी गाइराखेका हुन्छन् खेलाडी । त्यसबखत गीतमा हारजित हुन्छ । गीतमा मान–प्रतिष्ठा लुकेको हुन्छ । जितेको खेलाडीलाई रुपैयाँको र फूलको माला लगाइदिने चलन वर्तमानमा बढ्दै छ । देउडा सामान्य लोकशास्त्र होइन, यो अलिखित महाकाव्य पनि हो । केवल सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकसंगीतको चिनारी मात्रै नभई देशकै गौरवशाली सांस्कृतिक चिनारी हो देउडा ।

(संस्कृतिविद् जोशी देउडा लोकगायक हुन्)

प्रकाशित : भाद्र २५, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?