छोडेर जानुको रहस्य !
जसरी
पवनको प्रत्येक झोंकाले फूल स्पर्शमा
सुवासहरु छोडेर जान्छन्
सल्किएर सुर्तीहरुले धूवााको सडकमार्गबाट
फिल्टरहरु छोडेर जान्छन्
रुखका हाँगाहरुमा झुलिरहेका पातहरुले
उझाड बनाएर छोडेर जान्छन्
बाँसुरीका प्वाँलहरुलाई सरगमका नादहरुले छोडेर जान्छन्
पहाडको अस्तित्वलाई पहिरोमा ढुंगामाटोले छोडेर जान्छन्
निधारका टीकाहरुलाई अक्षताले छोडेर जान्छन्
यसरी भेटिनु, छुटिनु र परिवर्तन हुनु
जीवन हुन सक्छ
कति चक्रझैं घुम्लान
कति समानान्तर रेखा होलान् ।
तर, याद गोडाको बुढीऔंलामा दायाँबायाँ पलाएको नङजस्तै गढेर चसक्क झस्काउँछ ।
कहिले साथ नछोडेका घाम, आकाश, जल, पवन
र, यो माटोलाई
सोध्ने मन थियो, के हो राज ?
तर, मौन छन्
मौनतामै प्रश्न खोज्ने अभ्यास गर्दैगर्दा
भेटिन थालेका छन्
केही जवाफ ।
छोडेर जानेहरु केही न केही दिएर जान्छन्
छोडेर जानेहरु केही न केही लिएर आउँछन्
जसरी,
सूर्यास्तले सिंगो आध्यारो छोडेर जाँदा
शीतल जूनताराको आकाश बाटिका दिएर जान्छ
रातभरि प्यासी धर्तीलाई तिर्खा मेटाउन छोडेर गएका शीतहरुले बिहानभरि कुहिरोको मसी बनेर आकाशको क्यानभासमा चित्र कोर्छन् ।
जवानहरुले छोडेर गएको नुनबिनाको तरकारीजस्तो जीवन
पसिना र रगतले किनेर ल्याउँछ स्वादिलो
प्रीति भोजमय जीवन ।
मुर्झाएर छाडेर गएका फूलहरुले
नयाँ बीज बनेर पुनः वाटिका सजाउँछ ।
जीवित रहन पनि त
छोडेर गएको कार्बनडाइक्साइडको
रित्तो स्थान पाएपछि मात्र
प्राणवायुले प्राण भर्दो रैछ ।
प्रकाशित : भाद्र २५, २०७९ १०:००