कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ढिँडो–गुन्द्रुकको स्वाद

यी नियात्रामा गुन्द्रुकदेखि पिज्जा, म्याकडोनल्डसम्मको स्वाद छ । तर, फास्टफुड स्वादको भाषाशैली र प्रस्तुतीकरणको निजत्वले पाठकीय भोक तृप्त गराउँछ ।
प्रकाश थाम्सुहाङ

बेलायतमा रहेर साहित्य लेखनमा सक्रिय जानु काम्बाङ लिम्बूको पछिल्लो किताब प्रकाशनमा आएको छ । पूर्वी नेपालको ताप्लेजुङबाट सुरुवात भएको नियात्राकारको पाइलाले विश्वको नयाँ/नवीन भूगोल टेकेपछि उत्पन्न अनुभूतिको कलात्मक अभिव्यक्ति हो– ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, जहाँ नेपाल, हङकङ र युरोप यात्राका अठार थान स्मृति संगृहीत छन् । लामो अवधि थातथलोबाट टाढा रहे पनि लेखनमा रैथाने अर्गानिक सौन्दर्य भेटिनु यो किताबको सबल पक्ष हो । देशविदेशका भौगौलिक विवरण, वेगल सांस्कृतिक धरातलमा निसृत रोमाञ्चकता, सरल चमत्कारी भाषाशैलीले किताबलाई पठनीय बनाएको छ ।

ढिँडो–गुन्द्रुकको स्वाद

श्रद्धेय लेखक ताना शर्माको ‘घनघस्याको उकालो’ पढेर नियात्रा लेखनको स्वाद चाखिसकेको नेपाली पाठकलाई भारी पुग्ने गरी अब्बल नियात्रा कर्म गर्नु चुनौतीको विषय हो । नेपाली नियात्रा विधाको विडम्बना भनूँ या दुर्भाग्य, यो चुनौती आत्मसात् गर्ने थोरै मात्र नियात्राकार छन् । अधिकांश नियात्रा विदेश घुमघामका बायोडाटा मात्र लाग्छन् । तर, जानु काम्बाङ लिम्बूले आफ्नो नियात्रा लेखनीमा मिहिनेत र साधना गरेकी छन्, पढ्दा लाग्छ । लेखकीय अनुभूति, मानसिक आरोहअवरोह, यात्रामा सृजित घटनाक्रमसँगै पाठकलाई जोडेर राख्न सक्नु अर्थात् समयात्री, समदर्शी बनाउन सक्नु लेखकीय सफलता हो । यसो हुँदा लेखनी जीवन्त, अजम्बरी बन्दो रहेछ । जस्तो पुस्तकमा पहिलो नियात्रा छ— तीस वर्षमा माइत गाउँ । नियात्राकार लामो बिदामा देश आउँदा माइत गाउँ गएको यात्रा वृत्तान्त । सुरुवातमा गाडीका कठिनाइहरूको वर्णनले पाठकलाई झिंझो लागे पनि जब यात्रा झापाबाट उकालो लाग्छ मौसमझैं पाठकलाई शीतल अनुभूत हुँदै जान्छ । घुम्ती, पहाडको साँघुरो बाटो रात्रिकालीन यात्राको अभिव्यक्ति कौशल ताप्लेजुङमा पुगेर उत्कर्षमा पुग्छ । ताप्लेजुङ नियात्राकारको माइती जिल्ला जब तीस वर्षपछि पुग्छिन् उनलाई स्मृतिदंशले छोपेर ल्याउँछ । ताप्लेजुङमा आएको परिवर्तन, सदरमुकामदेखि सुदूर गाउँसम्म कल्पनै नगरेको गाडीको यात्रा, रैथाने संस्कृति, लवज, खानपान र स्थानीय ऐतिहासिक भूगोलको मुन्धुमकृत व्यख्याले पहिलो नियात्रा नै किताबको सुन्दर प्रवेशद्वार बनेको छ ।

आफ्नो जरा, थातथलोबाट अलग्गिएका लेखकहरूमा अतीतमोह ज्यादा हुँदोरहेछ । विश्व साहित्यका उम्दा नामहरूले पनि आफ्नो थातथलो छाडेर अन्य देशहरूमा विचरण गरेका दृष्टान्त छन् । उनीहरूले प्रायः आफ्नोपुरानो थातथलोको स्मृति लेखिरहेछन् । कर्मले, जीवन भोगाइको क्रममा जानु काम्बाङ लिम्बू पनि आफ्नो थातथलोबाट अलग्गिएका छन् । तर्सथ, विकासको चरम विन्दुमा पुगेको देशबाट आफ्नो बालापन सम्झना गर्छिन् । पुस्तकमा दोस्रो नियात्रा छ– तमोरका सुसेली सुसेल्दै । पुस्तकको उम्दा नियात्रा । नियात्राकार एघार/बाह्र वर्षकी हुँदा सक्ने भारी बोकेर ताप्लेजुङको सबैभन्दा उपल्लो भेग ओलाङचुगोला चेने गएको कथा । यो यात्रा कुनै साहसिक, चमत्कारी कथाझैं लाग्छ । अहिलेका डिजिटल पुस्ताहरूका लागि साहसिक राजकुमारीको यात्रा । जो निडर छिन्, निर्धक्क छिन् र गन्तव्यमा अडिग आँटिली सानी राजकुमारी । यो नियात्राले तात्कालिक समयको बन्दव्यापारलाई पनि परिचित गराएको छ । अन्न साटफेर गर्ने प्राचीन व्यापार । कठिन बाटो, ढाकर बोकाइ, ओडारको बास, उमेर छिप्पिएकाहरूको तालमा ताल मिलाएर हिँड्नु, त्यो पनि दस–बाह्र दिनको यात्रा कुनै साहसिक सिनेमाको दृश्यचित्रणभन्दा कम छैन । उहिले पूर्वको पहाडी गाउँहरूमा यस्तै चलन थियो । हाम्रो पाँचथरको गाउँमा भने लेकबाट आलु बोकेर आउँथे र धान साटेर लैजान्थे । यो नियात्रा पढ्दा लाग्छ, हामीसँग कठिन दिनहरू हिजो पनि थियो र आज पनि छ । यद्यपि हाम्रो संस्कृतिले सदैव खुसी हुन सिकाइरहेछ । आलुको बीउ आफ्नो गाउँ ल्याइपुर्‍याउँदाको असीम खुसी त्यसको दृष्टान्त हो । यो नियात्रा पढेर लाग्यो, जानुले नियात्राकारहरूको भीडमा सार्थक उपस्थिति दाबी गरेकी छन् ।

किताबमा सात थान देशको र अन्य विदेशका नियात्रा छन् । स्वदेशको नियात्रा पढ्दा ढिँडो गुन्द्रुकको स्वाद आउँछ । विदेशका नियात्राहरू स्वाभाविक रूपमा पिज्जा, म्याकडोनल्डको स्वाद आउँछ । तर, यी फास्टफुड स्वादमा भाषाशैली र प्रस्तुतीकरणको निजत्वले पाठकीय भोकलाई तृप्त गराउँछ । विदेशका चरम विकाश, आर्थिक मोडल, सांस्कृतिक चेतसँग साक्षात्कार गराउनु नियात्राकारको ध्येय देखिन्छ । नियात्राकारको रेल छुट्दा पाठक बेचैन हुनु, उनको खुसीमा खुसी हुनु, कतैकतै उद्वेलित हुनु समग्रमा लेखकीय कौशलको करामत हो । जस्तो पुस्तकमा अन्तिम नियात्रा छ— फ्लान्डर्स फिल्डमा गोर्खाली । यो नियात्रा बेल्जियमको इपर सहरकेन्द्रित यात्रा वृत्तान्त हो । इपर सहरमा रहेछ फ्लान्डर्स फिल्ड अर्थात् पहिलो विश्वयुद्धमा ज्यान गुमाउने सैनिकहरूको स्मृतिमा बनेको स्मारक । यो स्मारकमा नेपालीहरूको नाम पनि कुँदिएको रहेछ । पहिलो विश्वयुद्धताका बेलायतले पच्चीसभन्दा बढी देशमा उपनिवेश कायम गरेको थिएछ । तीमध्ये भारत पनि एक थियो । बेलायतको तर्फबाट लड्न भारतबाट मात्रै तेह्र लाख सेनाहरू युरोप आएका थिए रे । ती तेह्र लाख सेनामा कति नेपाली थिए ? नियात्राकारको प्रश्न छ । यो प्रश्नले पाठकलाई उद्वेलित बनाउँछ । अझै पनि नेपालीहरू अरूका लागि लडिरहेछन् । निरन्तरता जारी छ । युद्ध स्मारकमा सहिद सैनिकहरूको रगतबाट पप्पी फूल उम्रिएको किस्सा, मर्ने र घाइतेको आँकडा र देशको नाम पढ्दा युद्ध त्रासदीले मस्तिष्क रन्थन्याउँछ । पहिलो र दोस्रो विश्वयुद्धपछि युरोप विशेषगरी बेलायतको सत्ता संरचनामा आएको फेरबदल, उपनिवेशवादमा अल्झिरहँदा अन्य राष्ट्रको प्रगतिमाथि विश्लेषण नियात्राकारले चित्तबुझ्दो ढङ्गले गरेकी छन् ।

नेपाली डायास्पोरा भनूँ या प्रवासी नेपालीहरू विदेश रहँदा आफ्नो जरासँग सदैव जोडिएका हुन्छन् भन्ने उदाहरण हो— बेलायतमा मेरा शनिबार, आइतबार । त्यहाँ नेपालीहरूले विभिन्न साहित्यिक, सांस्कृतिक संस्थाहरू खोलेका हुँदारहेछन् । ती संस्थाहरूले बिदा पारेर सृजनात्मक कार्यक्रमको आयोजना गर्दारहेछन् । यो नियात्रा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको वार्षिक कार्यक्रममा सरिक हुन जाँदाको इतिवृत्तान्त हो । रेल चढ्दै गर्दा नियात्राकारलाई पुरानो घटना याद आउँछ । थकानले नियात्राकार निदाएपछि गलत रेल स्टेसनमा पुग्नु, सुनसान मध्यरातमा एक्लै हुनुको भय, धेरै कोसिसपछि श्रीमान्को उद्धार याद भएर आउँछ । पुरानो घटना सम्झना गर्दै कार्यक्रममा सरिक भएको यात्रालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । खोक्लिङको लङ्के पिँडालु अर्को पठनीय नियात्रा हो । तमोरपार खोक्लिङ ताप्लेजुङको एक गाउँ जहाँ नियात्राकारकी फुपू बस्छिन् । उनलाई भेट्न जाँदा झापादेखि खोक्लिङसम्मको यात्रा वृत्तान्त यो नियात्रामा समेटिएको छ । यो नियात्राले फगत यात्रा विवरण मात्र नभनी गाउँमा मोटरबाटो पुगेपछिको आर्थिक गतिविधि, नदी किनार, दोभानतिर विस्तारित बस्तीको सौन्दर्य चिन्तन पनि बताउँछ । अर्को पक्ष निख्खुर लिम्बू गाउँको जीवन पद्धति, सांस्कृतिक रीतिरिवाजलाई पनि अनुभूत गर्न पाइन्छ । यो नियात्रा पढ्दा छनुवा जाँड र लङ्के पिँडालु एकसाथ खाँदा उत्पन्न हुने स्वाद याद दिलाउँछ । नियात्रा विधाका जानकारहरूको एउटा धारणा रहेछ कि नियात्रा विदेश भ्रमणको हुनुपर्छ । यो धारणामाथि गतिलो जवाफ हो— खोक्लिङको लङ्के पिँडालु । नियात्राको प्रमुख सर्त यात्रा हो, तर यात्रा विदेशकै हुनुपर्छ भन्ने लेँडेढिपी अब रहेन । आमाको पेन्सनपट्टा बनाउँदाको दुःख नियात्रामा बुबाको मृत्युपछि उनको नामको पेन्सन आमाको नाममा सार्न काठमाडौं जाँदा भोग्नुपरेको कष्ट, कर्मचारीतन्त्रको ढिलासुस्ती रोचक ढंगले प्रस्तुत गरिएको छ ।

किताबभित्र पस्नुअघि भनेर नियात्राकारले पुस्तकमा आफ्नो भनाइ राखेकी छन् । उक्त भनाइको सुरुवातमै क्रिस्टोफर कोलम्बस र भास्को डी गामालाई महान् यात्रीको विम्बमा चित्रण गरिएको छ । यो मानक निरन्तरता हो । तर, अहिले मानकहरू भत्किरहेको समय हो ।

अहिलेको नवइतिहासले कोलम्बस र भास्को डी गामाका त्यो बेलाका काला कर्तुतहरूलाई उजागर गर्दै छ । ती कथित साहसिक यात्रीहरूले रैथाने आवादी, स्थानीय संस्कृतिलाई गरेको क्रूर शोषण र बर्बरता अहिले सतहमा आइरहेछ ।

नयाँ जमिन खोज्दै स्थानीय स्रोतसाधनको बर्बर लुट गर्नु तिनीहरूको ध्येय थियो, नवइतिहासले भन्छ । तसर्थ, आफ्नो भनाइमा यी नामहरू उल्लेख नगरेकै भए जाती हुन्थ्यो ।

प्रकाशित : भाद्र २५, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?