१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहाडलाई तनाव छ

पहाडका मान्छे अरब, मलेसिया, कोरियातिर पुगेका छन् । सपना बोकेर हिँडेका जवानी बाकसमा फिर्छन् । यी कवितामा आवेग छन्, उत्तेजना छन् । राज्यमाथि प्रश्नैप्रश्न छन् ।
मुनाराज शेर्मा

युद्ध–कवि काङमाङ नरेश राईको कविता–किताब ‘तेप्लायु’ मा कविले योनिलाई मातृभूमिका रूपमा विम्बात्मक व्याख्या गरेका छन् । राई भाषामा तेप्लायुको अर्थ हुन्छ– योनि । कविले सृजनाको द्वारलाई साहित्यमा उपस्थित गराएका छन् । समसामयिक कविता, युद्ध कविता र असमानता अन्त्यको आन्दोलन गरी किताबमा कविता तीन खण्डमा बाँडिएका छन् ।

पहाडलाई तनाव छ

चराले गुँड छाडेझैं सन्तानले भूमि छाडेको पीडाको कथा छ, तेप्लायुमा । पहाडले प्रथम विश्वयुद्धदेखि नै वियोग सहेको छ । वियोगको यो व्यथा वर्तमानमा अझै पेचिलो बनेको छ । पहाडले विश्वलाई आदिवासी युवाको रगत समर्पण गरेको छ । पहाडका मान्छे वर्तमानमा तानिएर अरब, मलेसिया, कोरियासम्म पुगेका छन् । सपना बोकेर हिँडेको जवानी बाकसमा फिर्छन् । तनाव छ पहाडलाई । राज्यले सधैं छायामा राख्ने पहाडले देशलाई सुम्पिरहेको छ– रेमिट्यान्स । कवि यी तमाम पक्षमाथि कला र चेतले बोल्छन् । उनीसँग कवितामा आवेग छ, उत्तेजना छ । उनका कविताहरूले प्रश्नैप्रश्न गरेका छन् राज्यलाई ।

नरेश आफैं सेवानिवृत्त गोर्खा सेना हुन् । मृत्युछेउबाट फर्की आएकाहरूका भेट्रान गोर्खाका कथाहरू छन् संग्रहमा । युद्ध जित्न हिँडेका गोर्खाको जीवनगाथा लेखेका छन् उनले । पहाडले कति पीडा भोग्यो, त्यो वेदना उनका कवितामा आँसु भएर बगेको छ । आँसु बाबुआमाको सन्तानप्रतिको छ । पत्नीको पतिप्रतिको छ । युद्धमा छाडिएका जो कहिल्यै घर फर्किएनन्, तिनीहरूलाई पात्रका रूपमा लेखेका छन् कविले । सामाजिक पीडाको विषय लेखिएका छन् । युद्धमा गएकाहरू युद्धबाट त फर्किए, तर ती कहिल्यै घर फर्किएनन्, उनीहरूका नाममा कविता लेखेका छन् कविले । दोस्रो विश्वयुद्धबाट नफर्किएका अकलबहादुर राई, बाबुराजा लिम्बू, फक्ल्यान्ड युद्धबाट नफर्किएका वुद्धबहादुर लिम्बू... आदि छन् पात्रहरू ।

गोर्खालीलाई दिइएको असमान तलब, पेन्सन, भत्तालगायत विषय छन् कवितामा । गोर्खाको रगत, पसिना र बलिदानको मूल्य नेपाल सरकार वा बेलायतले सम्मानजनक पुर्ताल गर्नुपर्छ भन्छन् यी कविताले । असमानमा परेका सम्पूर्ण गोर्खाको माग त्यही हो ।

कविको प्रवृत्ति भनेकै युद्ध प्रभाव लेखेर युद्धका घाउको प्रक्षेपण गर्नु हो । खासगरी गोर्खाहरूले विश्वव्यापी रूपमा लडेको युद्धको इतिहासलाई उधिनेर प्रामाणिक युद्ध समयको काव्यिक प्रक्षेपण गर्नु उनको मूल उद्देश्य छ । दुई सय वर्षअघिदेखिको अनवरत युद्धले नेपालको मध्यपूर्व पहाडहरूमा कस्तो मानसिक, भौतिक, आर्थिक, सामरिक, सांस्कृतिक, पारिवारिक र राजनीतिक प्रभाव छोड्यो ती विषय कवितामा आएका छन् । कवि युद्ध इतिहासको पुनर्लेखन चाहन्छन् । खासमा योद्धाहरूको इतिहास देशले लेखेन, तसर्थ लेखिनुपर्छ भन्छन् । उनको जिकिर छ, ‘योद्धा बन्नु रहर थिएन जब्बर शासकीय बाध्यता थियो ।’ त्यो बाध्यता अब संस्कार बन्यो । अप्रिय वस्तु र विचार पनि किन कालान्तरमा अपनाइरहनुपर्छ, उनी विमर्श गर्छन् ।

कवि इतिहासकै गर्वमा छिरेर त्यो उधिन्छन् र गर्जिन्छन् । उनको प्रश्न छ– हामी भाडाको सिपाही भैजानुअघिको यो माटालाई दुत्कार्नेहरू को हुन् ? जो अघोर राष्ट्रवादी खोलमा देशलाई पानजसरी चपाएर थुकिरहेका छन् र असली लोकतन्त्र भुलेर सयौं श्रीपेच पहिरेर हिँडिरहेका छन् । किताबमा गोर्खाहरूले भोगेको विछोडको पीडा ज्यादा छ । सन्तानसित छुट्टिने व्यथा यद्यपि झन् जटिल बनेको छ ।

किरात राईहरूको मुन्दुमी सभ्यताको पृष्ठपोषण उनको काव्यिक वैचारिकी हो । उनका समसामयिक खण्डका कवितामा मुन्दुमलाई नजिकबाटै अध्ययन गरिएको छ । उनी युद्ध कवि मात्रै होइनन्, संस्कृति कविसमेत हुन् । उनी पुर्खाको नासो– संस्कृति नभत्काई, नबिगारी संरक्षण गर्नुपर्ने विचार राख्छन् । ग्रामीण समाज पोस्टमोर्डन र विकासे भएकामा चिन्ता छ कविलाई ।

नेपाल देश बहुल सांस्कृतिक छ भन्ने चिन्तनलाई प्रमाणित गर्ने किराती मिथकीय काव्य हो– तेप्लायु । राज्यको सौहार्द, समृद्ध, बहुभाषिक र निरपेक्ष समयको केन्द्रमा उभिएको काव्य हो– तेप्लायु । पहिचान प्राप्ति आन्दोलनको विषयमा कविताले आन्दोलन नै गरेको छ । यो आख्यानात्मक, घटनात्मक, विम्बात्मक र मिथकीय रसहरूले भरिएको किताब हो ।

कवि कवितामा आमासँग ज्यादा खेल्छन् । आमा सृष्टि, जन्मभूमि, गाउँ, देश, ममता, आश्रय घर र भर सबै हो भन्छन् उनी । आमा–वियोगको व्यथा सर्वाधिक पीडाले भनिएको छ किताबमा । उनका केही युद्ध कविता पढ्दा फुटनोट हेरेर इतिहास बुझ्नपर्ने हुन्छ ।

युद्धमा हिँडेको सिपाही र उसकी प्रेमिकाको कारुणिक संवाद र दृश्यले जोसुकैको हृदय काँप्छ । युद्ध न्युरोनहरूको विन्यास गरेर पात्रलाई उभ्याउँछन् कवि र शासकहरूलाई प्रश्न गर्छन् । युद्ध कति त्रासद छ, कविताले भन्छ । ‘तेप्लायु’ विश्वले भोगेको एक युद्धको अनुहार पनि हो, जो हाम्रो अँध्यारो चेहरा पनि हो ।

प्रकाशित : भाद्र २५, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?