१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘शब्दकोश मौलिक सृजना होइन’

विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘गौतमको अंग्रेजी व्याकरण’ का ख्यातिले चिनिएका चूडामणि गौतमले व्याकरण, हिज्जे, शब्दकोशसहितका १ सयभन्दा बढी किताब लेखेका छन् ।

‘शब्दकोश मौलिक सृजना होइन’

तेह्रथुमको खाम्लालुङ (हाल आठराई) मा जन्म भई विराटनगर हुँदै काठमाडौंमा भाषा–व्याकरण तथा वर्णविन्यासको मानकीकरणमा लागिपरेका अभियन्ता गौतमले हालै प्रकाशनमा ल्याएको ‘बृहत्तर नेपाली शब्दकोश’ लाई भाषाविज्ञानका जानकारले ‘शुद्ध र सही वर्णविन्यासको अमूल्य उपहार’ मानेका छन् । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘यो कोष नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत’ भनेर सराहना गरेका छन् । नेपाली भाषाको मानकीकरण, शब्द र विशेषणको सामयिकीकरण तथा शब्दकोश बनाउने होडबारे ७९ वर्षीय भाषा–व्याकरणविद् गौतमसँग वार्ता :

हामीकहाँ विद्वान्–अन्वेषकहरू शब्दकोश लेखन र प्रकाशनको होडमा लाग्नुभएको छ । तपाईंका बुझाइमा यो कत्तिको सृजनात्मक कर्म हो ?

शब्दकोश सृजनात्मक काम होइन । किनभने जसले सुरुमा कोश लेख्न सुरु गरे, त्यसमै परिमार्जन र शब्द थप गरिने काम हुँदै आएको हो । यो आफ्नो मौलिक रचना होइन । तर, के भने समाजमा बोलिने र जनजिब्रोमा रहेका शब्दहरूको संकलन, तुलना, विश्लेषण यसमा हुन्छ ।

आ–आफ्नो सोख, साधना र रुचिमा शब्दकोश निस्किने गरेको देखिन्छ । प्रज्ञा प्रतिष्ठानकै कोषमा समेत विवाद/विरोध कायमै छ । यस्तो कोष वा शब्दमा मानकीकरण भन्ने पक्ष रहन्न ?

मानकीकरण हुन्छ नि । भाषाको एकरूपताका पक्षमा विचार्दा, विगतमा हाम्रा स्वनामधन्य विद्वान्–विदुषीले के–कस्ता भाषा, कुन सन्दर्भमा प्रयोग गरेका थिए, कुन शब्दमा अर्थ–बुझाइ पहिल्याएका थिए त्यो पनि हेर्नुपर्छ । विगतमा मानकीकरणको केही प्रयास पनि भएको छ । तर, वर्णविन्यासमा विकृति भित्र्याउने काम भएपछि (२०१९ पछि) मानकीकरणका सबै प्रयत्न खेर जान थाले । वर्णलाई संयुक्त रूपमा नलेखेर खुट्टा काट्ने पद्धति सुरु गर्ने, सग्लो शब्द वा संयुक्त रूपको शब्दमाथि जे–जसरी परीक्षण हुन थाल्यो, त्यसले धेरै कुरा बिगारेको छ । ‘विद्या’ लेख्नुपर्दा ‘विद्या’ लेखिने अवस्था त्यति सजिलो र सहज हुँदै होइन ।

यसरी शब्द वा व्याख्याको उपयोग गर्दा सामयिक राजनीति, समाज र परिवर्तनलाई आत्मसात् गरिन्न र ? जस्तो अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा समेटिएका केही शब्दावलीले जातीय/वर्गीय अपमान र विभेद गरेको देखाउँछ नि ?

यसरी एकमुस्ट रूपमा हेरेफेर गर्ने हो भने शब्द र भावको मूल थाहा हुँदैन । यसो गरियो भने सबै जातजाति एकै भए, एउटै भए । तर, ‘दलित’ शब्दावलीकै उपयोगको कुरा गर्दा उनीहरू आफैंले ‘दलित’ नभनेर अरू कुनै साझा र चित्तबुझ्दो शब्दको थालनी गरे हुन्थ्यो । यहाँ सिधै दलित आयोग भनेर राज्यले विभेदीकरण गरेको अवस्था छ । बुझाइमा अनर्थ मात्रै खोजिएर बढी समस्या भएको हो । जस्तो, विश्वकर्मा भनेका प्रसिद्ध देवता हुन् निर्माण र सृजनाका । तर, सामयिकता समात्ने पक्षमा कुरा गर्दा अहिलेको कानुन र नियमले गरेको व्याख्या अनुसार शब्दको पारिभाषिक रूप दिनुपर्दा यस्तो कानुन/ऐनलाई आधार मानेर मात्रै भन्नुपर्छ, लेख्नुपर्छ । मैले यसै गरेको छु ।

आफ्नो बृहत्तर शब्दकोशलाई कसरी चिनाउन–अर्थ्याउन चाहनुहुन्छ ?

वर्णविन्यासमा भित्र्याइएका सम्पूर्ण विकृतिबाट मुक्त, शिष्ट परम्परा तथा स्वनामधन्य साहित्यकारको प्रयोगमा आधारित तथा धेरै राष्ट्रभाषाका शब्द प्रविष्ट भएकाले समावेशी र सच्चा अर्थमा मानक कोषका रूपमा बृहत्तर शब्दकोश तयार गरेको हुँ । मैले ११ वर्षको आफ्नो तन्मयता र साधना यस कोषमा लगाएको छु, जहाँ करिब ८७ हजार शब्द, ६ सय १२ उखान र ७ सय २४ टुक्का प्रविष्ट छन् ।

यो दाबी त तपाईंले गर्ने/भन्ने कुरा भयो । शब्दकोशजस्ता काममा मानकीकरण स्थापित गर्ने वा तपार्इंको कामलाई स्तर निर्धारण गरिदिने कसले ?

यो मूल्यांकन सरकारी तवरबाट हुने कुरा होइन, फेरि सरकारी हैसियत र तरिकालाई म मान्दिनँ पनि । यसको मूल्यांकन त सच्चा नेपाली भाषा प्रयोगकर्ता र भाषा बचाउ अभियन्ताहरूले गरिदिने कुरा हो । भाषा र शब्द मानकीकरण जबरजस्ती लादिने कुरा होइन, यो स्वतःस्फूर्त हुनुपर्छ । मैले यही आधारलाई समाएको छु । मलाई लागेको के हो भने नेपाली साहित्य र वाङ्मयमा रहेका, विशिष्ट परम्पराबाट स्थापित शब्दहरू नेपाली शब्दकोशहरूमा भेटिन छाडेका छन् । यसले भाषा प्रयोगकर्तामाझ ठूलो अन्योल र निराशा पैदा भएको छ । यही निराशालाई आशामा बदल्न बृहत्तर नेपाली शब्दकोश तयार गरेको हुँ ।

प्रकाशित : भाद्र २५, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?