कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक्लै, सिर्फ एक्लै

मेरो पहिलो र अन्तिम प्रेम म आफैं हुँ । स्व–प्रेम गर्नु स्वार्थी हुनु हो भने सायद म दुनियाँकै सबैभन्दा स्वार्थी स्वास्नीमान्छे हुँ । ऐकान्तिकताप्रति हुरूक्क हुँदा र आफैंसित बढी रमाउने स्वभावले पटकपटक कैयन् मित्रता धरापमा परेको अनुभव छ मसित । प्रेम त झन् आईसीयूमै पुगेर फर्केको छ ।
सरस्वती प्रतीक्षा

कफी सपको एक कुनामा एक जना मान्छे बसिरहेका छन् । न उनी मोबाइल चलाइरहेका छन्, न ल्यापटपमा छन् । मनोरोगीझैं बसेर केवल कफी मात्र पिइरहेका छन् ।’ ‘द वाल स्ट्रेट’ का खेलकुद स्तम्भकार जेसन गेले सन् २०१५ मा गरेको यो ट्वीट तत्कालीन समयमा निकै विवादास्पद बन्न पुग्यो । कुनै पनि ग्याजेटबिना आफैंसित रमाएर बसिरहेको मान्छेलाई मनोरोगीको दर्जा दिनु आफैंमा कति उदेकलाग्दो विषय हो ? अहिलेका अधिकांश मान्छे यही उदेकको साइबर गुफामा कैद छन् ।

एक्लै, सिर्फ एक्लै

मान्छे स्वयंलाई भुल्न कतै न कतै अल्झिरहेको छ । जब ऊ केवल आफैंसित हुन्छ, तब जेसन गेजस्ताहरूको नजरमा ऊ असामान्य र मनोरोगी देखिन्छ । यहाँ स्वाभाविक हुनु सबैभन्दा अस्वाभाविक लाग्छ र अस्वाभाविक हुनुचाहिँ स्वाभाविक लाग्छ ।

‘आइडेन्टिटी’ नामक छोटो फिल्ममा पनि यही भावको चित्रण गरिएको छ । घरभित्र होस् वा बाहिर सबै मान्छे मकुन्डो लगाएर हिँड्छन् । मकुन्डोधारीहरू थरीथरी रङको मकुन्डोमा छन्– कोही सेतो, कोही रातो, कोही कालो, कोही पहेलो, कोही नीलो । बाटामा जताततै मकुन्डो लगाएका मान्छेको आवतजावत छ । यस्तोमा एक दिन एउटी युवती मकुन्डो नलगाईकन बाहिर निस्कन्छे । मकुन्डो पहिरिएका सबै मान्छे उसलाई आश्चर्य मान्दै फर्कीफर्की हेर्छन् । मकुन्डोधारीको जमातबीच मकुन्डो नलगाउने प्राकृत मान्छे अप्राकृतिक र असामान्य लाग्छ ।

आफू आफैंसित रहन सक्नु सबैभन्दा सजिलो विषय हो किनभने अरूको साथ अरूको अनुकूलतामा मात्रै प्राप्य हुन्छ । आफ्नो साथ भने आफूलाई सधैं प्राप्य हुन्छ । मान्छे प्राप्यभन्दा अप्राप्य कुराको पछाडि दौडिरहेको छ । एकै छिन केही नगरी आफू आफैंसित बस्दा मान्छे बोर हुन थालिहाल्छ र साथमा कोही न कोही वा केही न केही खोज्न सुरु गर्छ ।

केही अपवाद छोडेर अहिलेको जमानाका मान्छे एकान्तसित निकै भयभीत देखिन्छन् । आफूले आफैंसित समय बिताउन सकिरहेका छैनन् । एक्लो हुँदा त एक्लो हुने नै भए, आत्तिने नै भए । एक्लो नहुँदाको बखत पनि कतै एक्लो हुन्छु कि म भन्ने डरले एन्जाइटी बढेर मोनोफोबिया रोगको सिकार भइरहेका छन् मान्छेहरू ।

कोरोना भाइरसका कारण जब संसार ठप्प भयो, मान्छेका गतिहरूमा पनि ब्रेक लाग्यो । आफू आफैंसित रमाउन सक्नेहरूबाहेक अन्य धेरै मान्छे डिप्रेसन र एन्जाइटीको सिकार भए । विश्वमा आतंक मच्चाइरहेको रोगले भन्दा आफ्नै मनको रोगले धेरै मान्छे संक्रमित हुन पुगे ।

मी टाइम अर्थात् स्व–समय

सबै बच्चालाई अरू केही ज्ञानको प्याला पिलाउनु अघि एउटा ज्ञानको प्याला अवश्य पिलाइन्छ, त्यो हो, ‘मानिस सामाजिक प्राणी हो । त्यसैले समाजमा मिलेर बस्नुपर्छ, रमाउनुपर्छ ।’ हरेक बाबुआमालाई अन्तरमुखी स्वभावको बच्चाभन्दा बहिरमुखी स्वभावको बच्चा मन पर्छ किनभने उसले सबैको मन जितिरहेको हुन्छ । एकलकाटे बच्चाहरूलाई यसरी व्यवहार गरिन्छ, मानौं ती मनोरोगी हुन् ।

पहिलेपहिलेका बच्चाहरू सामाजिकताको खोजीमा स्कुलबाट फर्कनासाथ फुत्त झोला फ्याँकेर वरपरका बच्चाहरूसित खेल्न दौडन्थे । अहिलेका बच्चाहरू सामाजिकताको खोजीमा स्कुल युनिफर्म खोल्नासाथ मोबाइल वा ट्याबमा झुन्डिन्छन् । मोबाइल खेलकै माध्यमबाट एउटा महादेशको बच्चा अर्को महादेशको बच्चासित साथी भइरहेको हुन्छ । खाना खाँदा, खाजा खाँदा, खेल्दा, कतै यात्रा गर्दा जहीँतहीँ ऊ कसै न कसैसित जोडिइरहेको हुन्छ । अरू त अरू शौचालय जाँदा पनि आजकलका मानिस मोबाइल नै चलाइरहेका हुन्छन् र शौचकर्म गर्दा पनि कोही न कोही यो वा त्यो रूपमा साथमा हुन्छ । सम्पूर्णतः एक्लो त ऊ हुँदै हुँदैन ।

मान्छे अवश्य सामाजिक प्राणी हो, तर सामाजिकताको ट्याबलेटले मात्रै ऊ सम्पूर्ण रूपमा स्वस्थ हुन्छ भन्ने सोच्नु गलत हुन्छ । उसलाई निरोगी हुन निजी, नितान्त निजी टाइपका ट्याबलेटको पनि जरुरत पर्छ । निजी ट्याबलेट केहीले बन्छ भने त्यो केवल एकान्तको अभ्यासले मात्रै बन्छ ।

एकान्तप्रेमी हुनुको अर्थ नचाहेर एक्लो हुनु भन्ने होइन । एक्लोपन वा लोन्लिनेस त झन् हुँदै होइन । एक्लोपन भौतिकीभन्दा पनि भावको अर्को रूप हो । यसलाई बरु ऐकान्तिकतासित जोडेर हेर्न सकिन्छ ।

एक्लो त मान्छे भीडमा रहँदा पनि हुन्छ । साथीभाइसितको जमघटमा रमाइरहँदा पनि एक्लो हुन सक्छ । कतै समूहमा घुम्न जाँदा पनि एक्लो हुन सक्छ । एकान्तमा एक्लै बस्दा भने कोही एक्लो नहुन सक्छ ।

जिन्दगीलाई इन्जोय गर्नु छ भने सबैभन्दा पहिले आफ्नो एक्लोपनलाई इन्जोय गर्न जान्नुपर्छ । जिन्दगीमा रमाउनु छ भने सबैभन्दा पहिले आफू आफैंसँग रमाउन सिक्नुपर्छ । भनिन्छ, आफ्नो आफूसित जस्तो सम्बन्ध छ, अरूसित पनि त्यस्तै सम्बन्ध हुन्छ ।

कोही मान्छे अरू मान्छेहरूसित एकदमै रिसाइरहेको छ भने बुझ्नुपर्छ, त्यो मान्छे सबैभन्दा बढी आफैंसित रिसाइरहेको छ । कोही मान्छे अरूहरूसित एकदमै झगडा गरिरहन्छ भने बुझ्नुपर्छ, त्यो मान्छे सबैभन्दा बढी आफैंसित झगडा गरिरहेको छ । कोही मान्छे अरूहरूसित एकदमै खुसी भइरहन्छ भने बुझ्नुपर्छ, त्यो मान्छे आफैंसित एकदमै खुसी छ ।

एक्लो हुँदा नि रमाउनुको अर्थ कोही कसैसित बोल्दै नबोल्नु, सेयर नै नगर्नु वा सगोलमा बस्दै नबस्नु भन्ने होइन । केही समय आफू केवल आफूसित मात्र हुनु भन्ने हो । एक्लो हुनु भनेको आफूलाई अवलोकन गर्नु वा ध्यान गर्नु मात्र पनि होइन । दृश्य जेसुकै होस्, द्रष्टा र दृष्टि आफ्नो हुनु हो ।

यस सन्दर्भमा पश्चिमतिर अहिले एउटा शब्द चलनमा छ, जुन शब्दकोशमा छैन तर मान्छेहरूले प्रयोग गरिरहेका छन् । फ्रान्चेस्का स्पेक्टरले सर्वप्रथम प्रयोग गरेको उक्त शब्द हो– अलोनमेन्ट । आफूले आफैंलाई गुणात्मक समय दिने सन्दर्भमा उक्त शब्दको प्रयोग भएको पाइन्छ । अलोनमेन्ट अँगाल्न एक्लोपनलाई अँगाल्नु जरुरी छ, तर यो एक्लोपनलाई जीवनमा कोही हुनु र नहुनुले खासै अर्थ राख्दैन । कसैसित प्रेममा वा विवाहमा रहँदा पनि तपाईं अलोनमेन्टमा रमाउन सक्नुहुन्छ । तपाईं ‘अलोन सिंगल’ रहने वा ‘अलोन टुगेदर’– त्यो तपाईंको आफ्नै रोजाइमा भर पर्छ ।

अलोनमेन्टमा सबैभन्दा महत्त्वपूर्ण विषय हो– मी टाइम अर्थात् स्व–समय । आफूले आफैंलाई दिने समय । आफूले आफैंलाई समय नदिँदासम्म आफ्नो आफैंभित्रको वास्तविक उज्यालोको पहिचान हुन सक्दैन । स्व–समयको अर्थ नै स्व–उत्खनन हो, स्व–प्रज्वलन हो ।

पश्चिममा अलोनमेन्टप्रेमीहरूले मी टाइमको कुरा गरिरहँदा पूर्वमा आजभन्दा पच्चीस सय वर्षअघि नै दार्शनिक बुद्घले सो सम्बन्धमा महान् वाणी बोलिसकेका थिए । महानिर्वाण प्रस्थानका क्रममा चिन्तित भएर जब उनका प्रिय शिष्य आनन्दले प्रश्न गर्छन्, ‘तपाईं नै नरहेपछि अब यो संसारमा हामीलाई सत्यको बाटो कसले देखाउँछ ?’ तब बुद्घले भन्छन्, ‘अप्प दीपो भवः’ अर्थात् आफ्नो दीप आफैं बन । उनको यो सर्वाधिक चर्चित सूत्रवाक्यले कसैको बैसाखीबिनै जीवनमा वास्तविक उज्यालोको खोज गर्न अभिप्रेरित गर्छ । जसरी हर पत्थरभित्र आगो लुकेको हुन्छ, त्यसरी नै हर मान्छेभित्र पनि आगो लुकेको हुन्छ, प्रज्वलन लुकेको हुन्छ । आफैंभित्रको आगो जसले उत्खनन गर्न जान्यो, उसले अँध्यारोमा कहिल्यै भौंतारिनु पर्दैन ।

एकान्तको अभ्यास

मान्छे जन्मँदा एक्लै जन्मन्छ, मर्दा एक्लै मर्छ । जुम्ल्याहा, तिम्ल्याहा जन्मे पनि वा सामूहिक नरसंहारमा परेर मरे पनि हरेक मान्छेको जन्म–मृत्युको अनुभूति एक्लो हुन्छ ।

जन्मदेखि मृत्युसम्मको अन्तरालमा कोही कसैको साथमा निरन्तर रहन्छ भने त्यो केवल आफू आफैंसँग मात्र रहन्छ । आफैंले आफैंलाई दिने साथबाहेक अरू सबैको साथ कुनै निश्चित समय वा कालखण्डका लागि मात्र हुन्छ ।

रवीन्द्रनाथ टैगोरको प्रसिद्घ बङ्गाली गीत ‘एकला चलो रे’ ले पनि मान्छेलाई एक्लै हिँड्न प्रेरित गर्छ । कवि दिनेश अधिकारीको बहुचर्चित कविता ‘एक्लै हिँड्दाको आनन्द’ मा पनि एक्लै हिँड्दाको सुखद अनुभूतिलाई बडो मीठोसित अभिव्यक्त गरिएको छ । यो कविता मान्छेको आफैंसितको सम्बन्धसित जोडिएको दार्शनिक कविता हो, जसले भन्छ– एक्लै हिँड्नुको आनन्द तिमीसित हिँड्दा हुँदो रहेनछ ।

अतीतकालका ऋषिमुनिहरू निर्जन गुफा, जंगल वा हिमप्रदेशमा एकान्तको खोजीमा जाने गर्थे । त्योबेला एकान्तको खोजी साधनाका लागि हुन्थ्यो । जब मानिसको सम्पूर्ण चेतना र मन शून्य हुन्छ, तब जीवन–सत्यको बोध हुन्छ । बुद्घको महाभिनिष्क्रमण सम्पूर्णतः एक्लो भई सत्यको खोजयात्रा थियो ।

प्रसिद्घ दार्शनिक जिन ज्याक रुसोका अनुसार, मानिस स्वतन्त्र जन्मिन्छ, तर सर्वत्र साङ्लाले बाँधिन्छ । यो स्वतन्त्रताको अन्तर्सम्बन्ध मान्छेको एक्लो अवस्थासित छ । मान्छे स्वतन्त्र भएर एक्लो जन्मन्छ र एक्लो भएरै स्वतन्त्र हुन्छ । जन्मेपछि मान्छे मानिसको सभ्यताद्वारा आविष्कृत पारिवारिक र सामाजिक बन्धनमा पर्छ । अधिकार र कर्तव्यका, धर्म र आस्थाका, राजनीतिक वर्चस्व र स्वार्थप्रेरित युद्घ–महायुद्घका चपेटामा पर्न अभिशप्त हुन्छ । यी अवस्थामा बुद्घजनहरू बहुजनका हितार्थ एकान्तको साधना गरी सत्य खोज्छन्, सामान्य जनहरू वैयक्तिक शान्ति खोज्छन् ।

यस अर्थमा स्वतन्त्रता र ऐकान्तिकताका पनि दुई स्वरूप हुन्छ भन्न सकिन्छ । पहिलो व्यक्तिगत (निजी) आवश्यकतायुक्त हुन्छ भने दोस्रो वैश्विक (सार्वजनिक) मानवीय धर्मयुक्त हुन्छ ।

हामीकहाँ एउटा सामान्य, तर घतलाग्दो उखान छ– ‘काम गर्नका गाह्रोले जोगी भयो, जोगी भएको भोलिपल्टदेखि भोकै पर्‍यो ।’ हुन पनि एकान्तमा जाने अधिकांशको अवस्था यस्तै छ । कोही घरपरिवारको समस्यासित भागेर एकान्त खोज्छन्, कोही अन्य भावनात्मक वा सामाजिक समस्यासित भागेर एकान्त खोज्न पुग्छन् ।

दुःख र समस्याहरूदेखि भागेर एकान्त खोज्नेहरूले एकान्त फेला पार्दैनन्, ती एकान्तमा पनि समस्याग्रस्त भइरहन्छन् । जीवनमा मानिसले एकान्त खोज्नु र एकान्तमा भाग्नु अलग विषय हुन् । यी अलग मात्र होइनन्, विपरीत विषय पनि हुन् ।

निर्जन, एकलास, एक्लो स्थान वा अनुभूति ऊर्जा समाप्तिको अवस्था होइन, ऊर्जा वृद्घिको अवस्था हो ।

सिद्घार्थले एकान्तमा बुद्घत्व फेला पारे । न्युटनले एकान्तमा गुरुत्वाकर्षको सिद्घान्त फेला पारे । आइन्सटाइनले एकान्तमा सापेक्षतावादको सिद्घान्त फेला पारे । महान् साहित्यकार र कलाकारहरू एकान्तमा साधना गरेर महान् साहित्य र कला जन्माउँछन् । विचारकहरू विचार जन्माउँछन् । वैज्ञानिकहरू जीवन जगत्को सिद्घान्त जन्माउँछन् ।

सन् १९२९ मा भर्जिनिया उल्फले लेखेको चर्चित निबन्ध ‘अ रुम अफ वन्स ओन’ ले पनि ऐकान्तिकताको पक्षमा बोल्छ । उनी भन्छिन्, ‘यदि आख्यान लेख्नु छ भने एउटी महिलासित पैसा र आफ्नो छुट्टै कोठा हुन जरुरी छ ।’ उनको भनाइअनुसार, महिलाहरू क्षमता नभएर भन्दा पनि स्वयंका निम्ति एकान्तको अभावका कारण लेख्न सकिरहेका छैनन् ।

एकान्तिकता आफ से आफ हुने कुरा होइन, यो त निर्माण गर्ने कुरा हो । एउटी महिलाका निम्ति ऐकान्तिकताको निर्माण गर्न आजभन्दा लगभग १०० वर्षअघि भर्जिनियाको पालामा जति कठिन थियो, अहिले पनि उत्तिकै कठिन छ ।

गहिरिएर हेर्‍यौं भने हरेक धर्मका प्रवर्तक पुरुष छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद, जैन धर्मका प्रवर्तक महावीर, बुद्घ धर्मका प्रवर्तक गौतम बुद्घ, शिख धर्मका प्रवर्तक गुरु नानक, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट । भलै हिन्दु धर्ममा देवताभन्दा देवीहरूको संख्या धेरै होला, तर हरेक धर्मका प्रवर्तक पुरुष हुनुका पछाडि पनि ज्ञानको खोजीमा निस्कन र एकान्तको अभ्यास गर्नबाट समाज र परिवारले महिलालाई लगाउने अंकुशलाई मान्न सकिन्छ । मानिस पहिले आफ्ना लागि बाँच्छ, त्यसपछि क्षमताअनुसार समाज, देश र विश्वका लागि । ऊ बाँच्दा उसले एकान्तिकताको कति सफल सदुपयोग गर्न सकेको छ ? त्यसले उसको व्यक्तिगत क्षमता, सफलता, असफलता र उपलब्धिलाई दर्साउँछ ।

समकालीन विश्वको सबभन्दा ठूलो त्रासदी एकान्त क्षय (डिस्ट्रक्सन अफ अलोनमेन्ट) हो । आज विश्वका करोडौं मान्छे डिप्रेसनको सिकार, मनोरोगी बन्नुको कारण एकान्त क्षय हो । मनोवैज्ञानिक मनोचिकित्सकहरूले यस्ताखाले दीर्घरोगीहरूको उपचार गर्दा घरपरिवार, साथीभाइलाई भन्दा बढी आफूले आफैंलाई प्राथमिकतामा राख्नुपर्ने र स्वयंलाई माया गर्नुपर्नेमा जोड दिइरहेका छन् । योग र ध्यानको महत्त्व दिनानुदिन बढ्दै जानुका पछाडि पनि स्वयंले स्वयंलाई प्राथमिकतामा राखेर समय दिनुपर्ने मान्यताको ठूलो भूमिका छ ।

सर्भिसिङ गरेन भने समस्या आउँछ भनेर हामी बेलाबेला हाम्रा गाडी, बाइक, स्कुटरहरू सर्भिसिङ गर्छौं । चार्ज नगर्दा मोबाइल चल्दैन भनेर हर दिन मोबाइल चार्ज गर्छौं । यस्तोमा आफ्नो अवस्था ठीकठाक छ कि छैन भनेर जाँच गर्न मान्छेले बेलाबेला एकान्तमा बस्ने, मनन गर्ने अभ्यास गर्न अत्यन्त जरुरी छ । बेलाबेला चुपचाप बसेर आफैंलाई रिचार्ज गर्न आवश्यक छ ।

कसै–कसैलाई लाग्दो हो, विकेन्डमा साथीहरूसित बसेर खाँदा–पिउँदा, रमाइलो गर्दा मान्छे रिचार्ज भइहाल्छ नि ! यो त रिचार्जको अल्पकालीन उपाय मात्रै हो । खुसीको अस्थायी सर्टकट बाटो । वास्तविक खुसी त केवल आफू आफैंसित खुसी हुन सक्दाको क्षणमा प्राप्त हुन्छ । वास्तविक आनन्द त आफू आफ्नो साथमा रमाउन सक्दाको क्षणमा मात्र उपलब्ध हुन्छ ।

अलोनमेन्ट र सम्बन्धहरू

दार्शनिक रूपमा भन्नुपर्दा अलोनमेन्ट र सम्बन्धहरू एउटै दिशामा हिँड्नुपर्ने हो, तर व्यवहारमा यी त्यति सजिलै एकै दिशामा हिँड्न रुचाउँदैनन् । दैनन्दिन जिन्दगीमा अलोनमेन्टको अभ्यास गर्न त्यति सजिलोचाहिँ छैन, जति हामी सोच्छौं ।

किशोरावस्थादेखि नै मेरो सपनाको घर जहिले पनि घना जङ्गलबीचको एकतले घर हो । व्यावहारिक रूपमा जङ्गलबीचको घर त्यति सम्भव नभए पनि कम्तीमा आफ्नो घर ५,७ वटा रूखहरूले घेरिएको होस् र आँखा खुल्नासाथ रूखहरू देख्न पाइयोस् भन्ने लाग्थ्यो । घरअगाडि हुर्किरहेको एउटा कपूर र केही थान धुपीका रूखहरूले सपनाको घरमा नभए पनि अलिअलि सपनाको घरको नजिक–नजिक छु भन्ने एहेसासचाहिँ दिन्छ ।

सोचिल्याउँदा एकान्तप्रेमी त म पहिलेदेखि नै थिएँ । अहिले झन् धेरै एकान्तप्रेमी भएकी छु । अतिशय निर्जन ठाउँमा दशकौंदेखि सम्पूर्णतः एक्लै रमाइरहेकी ‘अ बुक अफ साइलेन्स’ की लेखक सारा मेटल्यान्डले जस्तो ‘अफ द बिट’ जिन्दगी बाँच्ने सपनाले समेत चिमोट्छ कहिलेकाहीँ त । लेखक हुनुको अर्थमा अरूलाई भन्दा बढी एकान्तको अभ्यास गर्ने छुट मसित जरुर छ । लेख्नका लागि प्राप्त हुने एकान्त र स्वयंसित इन्जोय गर्न प्राप्त हुने एकान्त एकैखाले भने हुँदैन ।

दिनमा कम्तीमा एक, दुई घण्टा आफू आफैंसित मात्रै हुन सकिनँ भने मलाई निस्सासिएको महसुस हुन्छ । लगातार लामो समय आफ्नै छोरा वा एकदमै मिल्ने साथीसित बस्नु पर्‍यो भने पनि म सक्दिनँ । भित्रभित्रै छट्पटिन्छु, आत्तिन्छु अनि आफ्नो लागि स्पेस खोज्न थालिहाल्छु ।

कहिलेकाहीँ साँझपख घरबाट फुत्त निस्केर लेकसाइड गएर एक्लै कफी खाँदै बस्ने मुड बन्छ र ‘म गएँ है’ भन्छु छोरालाई । ऊ अपत्यारिलो आँखाले हेर्दै प्रश्न गर्छ, ‘तपाईं साँच्चै एक्लै कफी खान जाने हो र मामु ?’

अनि लेकसाइडको कुनै क्याफेमा बसेर जब म एक्लै कफीको स्वादमा आफैंसित रमिरहेकी हुन्छु, वरपरका मान्छेहरू मलाई यसरी हेर्छन् मानौं म कुनै छुट्टै ग्रहबाट भर्खरै पृथ्वीका अवतरित भएकी हुँ । कफी सकेर नफर्कंदासम्म आश्चर्यका दर्जनौं आँखाले घोचिरहन्छन् । अझ एक्लै बियर वा वाइन पिइरहेको हुँ, हेर्ने मात्र होइन, फर्कीफर्की हेर्ने आँखा अनगिन्ती हुन्छन् । ती आँखाहरूमा आश्चर्यसँगै कैयन् प्रश्न पनि हुन्छन् ।

केही समयपहिले ‘मेरो पहिलो र अन्तिम प्रेम म आफैं हुँ’ भनेर स्टाटस लेखेथें । स्व–प्रेम गर्नु भनेको स्वार्थी हुनु हो भने सायद म दुनियाँकै सबैभन्दा स्वार्थी स्वास्नीमान्छे हुँ । छोरासित पनि कतिपय कुरा नचपाईकन स्पष्ट शब्दमा भनिदिन्छु, ‘सबैभन्दा बढी माया त मलाई आफ्नै लाग्छ अनि मात्रै तिम्रो ।’ मेरो कुरामा सधैं ऊ घुर्कीको ‘नोट अफ डिसेन्ट’ पोख्छ र भन्छ, ‘म त सबैभन्दा बढी माया तपाईंलाई नै गर्छु । तपाईंको माया त अलि स्वार्थी माया भएन र मामु ?’ मलाई आशा छ, उमेरजन्य परिपक्वतासँगै एक दिन छोराले मेरो बुझाइलाई बुझ्नेछ ।

ऐकान्तिकताप्रति हुरुक्क हुँदा र आफैंसित बढी रमाउने स्वभावका कारण पटकपटक कैयन् मित्रता धरापमा परेको अनुभव छ मसित । प्रेम त झन् आईसीयूमै पुगेर फर्केको छ । तपाईं वरपरका मान्छेले पनि ‘अलोनमेन्ट’ लाई बुझ्ने भए कथा बेग्लै होला, होइन भने अलोनमेन्ट रोज्नुको अर्थ सरासर आफ्ना प्रिय सम्बन्धहरूलाई अचानोमा राख्न कबुल गर्नु हो । कहिलेकाहीँ आफूलाई गलत व्याख्या गरिँदा पनि चुपचाप मुस्कुराउनु हो । अलोनमेन्ट र सम्बन्धहरूको तराजुलाई सन्तुलनमा राख्नु निकै जटिल र उल्झनयुक्त काम हो ।

अहिलेको समयको अधिकांश ब्रेक–अपको कथालाई हेर्दा ती प्रेमकथाहरूको एउटा साझा नियति देखिन्छ । प्रेमी–प्रेमिकाबीच प्रेम सकिएर होइन, स्पेस सकिएर प्रेमकथामा पूर्णविराम लागेको पाइन्छ । जब कोही आवश्यकताभन्दा बढी प्रेम गर्न सुरु गर्छ, उसले कत्ति पनि स्पेस नदिईकन दोस्रो व्यक्तिलाई प्रेम गर्छ र बदलामा प्रेम चाहन्छ । हक जतायो भनेर सुरुसुरुमा त रमाइलै लाग्छ, बिस्तारै स्पेसबिनाको प्रेमले अर्को व्यक्तिलाई सकस हुन थाल्छ, निस्सासिन थाल्छ र आफ्नो स्वतन्त्रतामा अंकुश महसुस गर्न थाल्छ । यस्तो खाले ऐंठनमा एक दिन जब प्रेम र स्वतन्त्रतामध्ये एउटा छान्नुपर्ने हुन्छ, अधिकांशले स्वतन्त्रता छानेको देखिन्छ ।

एक्लो हुनुको अर्थमा

एक्लो हुनु भनेको अँध्यारो गुफामा धुम्धुमिएर रन्थनिनु होइन । यो त आफ्ना लागि गुणात्मक समय जुटाउनु हो । आफूभित्रको प्रकृति अर्थात् सिर्जनात्मकतालाई आफूबाहिरको प्रकृतिसँग एकाकार गर्नु हो । प्रकृतिको काखमा गएर मिल्किनु हो । हेनरी डेभिजले आफ्नो कवितामा भनेझैं ‘डाँडापाखा, वनकन्दरा, खोलानाला, तालतलैयामा रमेर एक छिन बिताउने समय नहुने जिन्दगी पनि के जिन्दगी ?’

हामीले जिन्दगीको नाममा जे कुरामा समय खर्चेका हुन्छौं, त्यो खासमा जिन्दगीको नाममा हुँदै हुँदैन । जिन्दगी कटाउनु र जिन्दगी बाँच्नु नितान्त फरक कुरा हुन् । धेरै मान्छेको जिन्दगी जिन्दगी कटाउने मेलो अगाडि सार्दैमा बित्छ । हुनुपर्ने त रहरको बाटो मूलबाटो हो, तर मान्छे अज्ञानतावश कहरको बाटोलाई मूलबाटो सोचेर हिँडिरहेको छ । आफ्नो रहर के हो भनेर खुट्याउन नपाउँदै धेरैको जिन्दगी सकिइसक्छ । आफू को हुँ र केका लागि हुँ भन्ने नजान्दै अरूले ‘तँ यस्तो होस्’ भनिदिएकै भरमा आफूप्रतिको बुझाइमा पूर्णविराम लाग्छ । एकान्तमा बसेर आफ्नो सक्कली अनुहार एकपटक पनि नसुम्सुम्याईकनै धेरैले देहत्याग गर्छन् ।

विश्वकै धनाढ्यमध्येका एक बिल गेट्स एकान्तको खोजीमा हरेक वर्ष जङ्गलतिर लाग्छन् र त्यहाँ उनी चुपचाप एक हप्ता बिताउँछन् । चर्चित इतिहासविद् तथा लेखक युभल नोहा हरारी वर्षको पूरै दुई महिना सारा संसारसँग सम्बन्धविच्छेद गरेर विपश्यनामा लीन हुन्छन् र एकाग्रताको अभ्यास गर्छन् । ठूला–ठूला आध्यात्मिक गुरुहरूले महिनौं महिना मौन व्रत लिने गरेको बेलाबेला सुनिरहेकै छौं । विश्वमा सफल मानिएका हरेक व्यक्तित्वहरूको सफलतापछाडिको रहस्य केलाएर हेर्ने हो भने उनीहरूले कुनै न कुनै रूपमा एकान्तको अभ्यास गरेको पाइन्छ । आफूले आफैंलाई समय दिएर थप निखारता दिएको पाइन्छ ।

अहिलेको समयमा मान्छेहरू एक्लो हुनबाट डराउँछन् र हरपल हरक्षण कसै न कसैको साथको खोजी गरिरहन्छन् । यस्तोमा उनीहरू बिर्सन्छन् कि मान्छेको सबैभन्दा नजिकको साथी मान्छे स्वयं आफैं हो । स्वयंको साथी हुनुपर्नेमा मान्छे स्वयंको दुश्मन भएको छ । त्यसैले एकान्तसित तर्सेर भीडतर्फ भागेको छ ।

जब अस्तित्व र परिचयको कुरा उठ्छ, हामी अक्सर आफैंलाई कथाहरूमा खोज्छौं । स्वयंलाई कसै न कसैले भन्ने गरेका कथाहरूमा भेट्छौं । राम्रो भनिदिँदा मख्ख पर्छौं, नराम्रो भनिदिँदा दुःखी हुन्छौं । अरूका कथाहरूमा आफू हुनु भनेको अंशमा मात्र हुनु हो । समग्रतामा आफ्नो कथामा आफूलाई खोज्न पनि मान्छे एकान्तमा जानैपर्छ । एकान्तमा जाँदा तपाईं स्वयंलाई स्वयंबारे त्यो फरक कथासमेत भन्न सक्नुहुन्छ, जुन अरू कसैले अन्दाजसमेत गर्न सक्दैन ।

सत्यदेखि भागेर एकान्त खोज्नेहरू भगुवा हुन् । स्वयंसित अझ नजिक हुन एकान्त खोज्नेहरू जीवनवादी हुन् । एकान्तमा आफैंसित रमाउन सक्नेहरू मात्रै आफ्नो जिन्दगीको ड्राइभिङ सिटमा आफैं बसेका हुन्छन् । आफ्नो जिन्दगीको स्टेरिङ कता घुमाउने ? ती आफैं निर्णय गर्न सक्षम हुन्छन् । वास्तवमा एकान्तको खोजी स्वयंको खोजी हो, जीवनको खोजी हो, अनन्त सुख र शान्तिको खोजी हो ।

प्रकाशित : भाद्र २५, २०७९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?