कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अनि सुकदेवीले मास्टर्स गरिन्

छोरीहरूले मास्टर्स गर्ने बेला उनी आफैं मास्टर्स क्लियर भइन् । महिलामाथि लगाइएका अनेकौं पर्खाल नाघ्दै अघि बढिन् । अघि बढ्न र पर्खालहरू नाघ्न सुकदेवीलाई न उमेरले छेक्यो न गाउँलेका कुराले ।
मनिषा गौचन

आमाले भर्खरै शिक्षाशास्त्रमा स्नातकोत्तर तह पूरा गरेकोमा प्रमाणपत्रसमेत सार्वजनिक गर्दै भव्य बधाई दिइन् रोजिनाले (कृषि विज्ञानमा स्नातकोत्तर गरिरहेकी छन् रोजिना पनि) । रोजिनाकी आमाकी साथी हुँ म । म पनि गर्वले बोलेँ, ‘लौ गज्जब, सुकदेवीले मास्टर्स गरिन्... ।’
सुकदेवी शेरचन मेरो स्कुले जीवनको साथी । म वास्तवमै खुसी थिएँ । मास्टर्सको प्रमाणपत्र लिन सुकदेवी काठमाडौं आएकी थिइन् । यही बेला हामी भेट्यौं र खुसी बाँड्यौं । उनी जति खुसी थिइन्, त्यस खुसीका पछाडि उभिएका उनका संघर्षका खम्बा उत्तिकै अग्ला थिए । सुकदेवी आफ्नो संकल्पका निम्ति कति कठोर रहिछन्, त्यो बोध मलाई बल्ल हुँदै थियो ।

अनि सुकदेवीले मास्टर्स गरिन्

हामी हिमालपारिको जिल्ला मुस्ताङको फरक–फरक गाउँका मान्छे । उनको गाउँ ताग्लुङ, मेरो घाँस । उनी नीलगिरि हिमालको छहारीमा हुर्केकी, म हिमाल छेक्ने भीरैभीरको माझमा । हामी दुवैले आ–आफ्नै गाउँमा आठ कक्षाको पढाइ सकेपछि नजिकैको गाउँ कालोपानीको माध्यमिक तहको विद्यालय पढ्न ९ कक्षामा नाम लेखाएका थियौं । उनको ऐच्छिक विषय भूगोल थियो, मेरो गणित । झन्डै बाइस/तेइस जना विद्यार्थीमध्ये ऐच्छिक गणित पढ्ने हामी चार जना मात्रै । हामी गणित पढ्नेहरू अलि मिहिनेत गर्थ्यौं या गणितले नै हामीलाई पास हुन सहज बनायो, थाहा भएन । तर, एसएलसी पास गर्ने हामी चार जना मात्रै भयौं ।

सुकदेवीसँगै भूगोल पढेका साथीहरू छुटे । केहीले फेरि एसएलसी दिएर पढाइमा निरन्तरता दिए, केहीले बिहे गरे, तर पढाइ छाडे । सुकदेवी पनि बिहे भएर पढाइ छाड्नेमा परिन् । मुस्ताङमै शिक्षण पेसा गरिरहेका नाउरीकोटका कमल गौचनसँग उनको बिहे भयो । सुकदेवीको अधिकांश समय खेतीपातीमै बित्यो । तीन छोरीहरू जन्मिए । परिवारको साइज बढेसँगै खर्च पनि ह्वात्तै बढ्यो ।

जब घरमा आर्थिक अभाव सुरु हुन्छ, कलहको बीउ थाहै नपाई कतैबाट उम्रिइसकेको हुन्छ । त्यस्तै भयो, सुकदेवीको घरमा पनि । कमलका भाइले सुकदेवीकी बहिनी बिहे गरे । बहिनी एसएलसी पास थिइन् र जागिरे पनि । तुलनात्मक हिसाबले भाइको पारिवारिक जीवन नै सुखद देखिन्थ्यो ।

श्रीमती अन्डर–एसएलसी हुन् भन्ने कुराले कमललाई नमीठोसँग पिरोल्यो । उनले एक दिन सुकदेवीलाई भने, ‘अन्डर एसएलसीको काम छैन... न जागिर न क्यै... ।’ त्यस दिन सुकदेवी खुब रोइन् । उनले ईख लिइन्– अन्डर एसएलसी नै भए पनि कतै न कतै काम खोजेर पैसा कमाएरै देखाउँछु । संयोगवश घरनजिकैको गाउँ कोबाङमा सञ्चालित शिशु स्याहार केन्द्रमा उनले काम पाइन् । स्याहार केन्द्रनजिकै थियो– कवि भूपी शेरचनको स्मृतिमा खोलिएको पुस्तकालय । समय पाएका बेला उनी पुस्तकालय जान थालिन् ।

अब पुस्तकालयका पुस्तकसँग उनको गाढा प्रेम बस्यो । त्यो प्रेम उनले यसरी व्यक्त गरिन्, ‘पुस्तकालयमा किताब पल्टाउन मात्रै पाउँदा पनि कस्तो आनन्द आउने । कति त पढेर सक्थें । पढेर नसक्नेचाहिँ सुमसुम्याएर राख्ने गर्थें ।’ पुस्तकबाट सिकेका ज्ञान उनले कोबाङकै विद्यार्थीसँग बाँड्न थालिन् । यसले उनको मनोबल बढ्न थाल्यो ।

पुस्तक–लगाव देखेर पुस्तकालयका संस्थापक वसन्त शेरचनले उनलाई त्यहीँ काम गर्ने अवसर दिए । काठमाडौंमा हुँदै गरेको पुस्तकालय व्यवस्थापन तालिममा उनको नाम लेखाइदिए । साना नानी, घरको काम सबै छोडेर सुकदेवी पहिलोपटक काठमाडौं आइन् । पहिलो दिन सबै सहभागीले आ–आफ्नो परिचय दिए । उनले पनि दिइन् परिचय । सहभागीमाझ आफू मात्रै अन्डर–एसएलसी भएको जब थाहा पाइन्, दोस्रो पटक उनलाई नमीठोसँग मन दुख्यो । उदास सुकदेवीलाई तालिमका सहजकर्ता कालिकाप्रसाद श्रेष्ठले प्राइभेट एसएलसी दिन सकिने बताए । एसएलसी फारम भर्ने समय पनि त्यही रहेछ । तर, फारम भर्न मुस्ताङै पुग्नुपर्थ्यो । तालिमको चापाचाप माझ मुस्ताङ जान सम्भव थिएन । श्रीमान् कमलसँग उनले फारम भरिदिन भनिन् । सायद प्राइभेट जाँचबारे थाहा पाएकी भए सुकदेवीले पहिल्यै एसएलसी पास गरिसक्थिन् होली । गाउँको दुःख के भने कतिपय सूचना गाउँ नपुगी हराइसक्छन् ।

कमलले सुकदेवीको फारम भरिदिए । तर, एसएलसी दिन टेस्ट पास गर्नुपर्थ्यो अर्थात् दस कक्षामा पढिसकेको विषयमा पुनः परीक्षा दिनुपर्थ्यो । पढाइ छाडेको लगभग एघार वर्ष नाघिसकेको थियो । बिर्सिसकेका विषय उनले फेरि सम्झनुपर्थ्यो । नयाँ पढाइलाई उनले रोमाञ्चक यात्राका रूपमा लिइन् ।

अरू विषय घरमै पढिन्, तर गणित सजिलो थिएन । त्यसपछि छोरीहरू पढ्ने स्कुलमै गएर दसमा पढिन् । त्यतिबेला सानी छोरीले उनलाई सोधिन्, ‘ममी तपाईं अरू क्लास नै नपढी एकैचोटि कसरी दसमा ?’ एसएलसीलाई लक्षित गरी छिमेकी गाउँ टुकुचेमा गणित र अंग्रेजीको ट्युसन सञ्चालन भयो । टुकुचे पुग्न दुई घण्टा, फर्कन दुई घण्टा ! सधैंको आउजाउ सम्भव भएन । र, उनी टुकुचेमै बसेर पढ्न थालिन् । दिउँसो त पढाइले मन भुल्थ्यो, रातिचाहिँ छोरीहरूको चिन्ताले मन पोल्थ्यो ।

हरेक शुक्रबार घर आउँदा नानीहरूको बिजोग देखेर उनलाई ‘ठूलै पाप गरेँ कि’ भन्ने लाग्थ्यो । फेरि गाउँमा मान्छेहरूले कुरा काटेर हैरान ! मान्छेहरू भन्थे, ‘अब त नानीहरूलाई पो राम्ररी पढाउनुपर्ने, आफैं पढ्न गएर भोलि नानीहरू बिग्रे भने पढेको के अर्थ ?’ कुनै बेला ‘गाउँलेका कुरा ठीकै हो कि’ भन्ने निष्कर्षमा पुग्थिन् उनी । तर, श्रीमान्ले सम्झाए, ‘केही समय त हो, नानीहरूको चिन्ता नगर । म हेरिहाल्छु । तिमी खुरुक्क पढ ।’

फतक्क गलेकी सुकदेवी फेरि बलियो भइन् । केही समय छोरीहरूको कपाल बाटिदिन बिर्सिदिइन्, सिंगान पुछिदिन बिर्सिदिइन्, उनीहरूको भोकलाई पनि बिर्सिदिइन् । ठूलै साहस बटुलिन्– एसएलसीको लडाइँ जित्न । र, उनले एसएलसी पास गरिन् द्वितीय श्रेणीमा । अनि मुक्त भइन्– अन्डर एसएलसीको ट्यागबाट ।

टुकुचेको योगेन्द्र उच्च माध्यमिक विद्यालयमा भर्खरै प्लस–टु पढाइ सुरु भएको थियो । त्यहीँ उनले एघार र बाह्रको पढाइ सकिन् । नतिजा झन् राम्रो आयो । उनी विद्यालयकै उत्कृष्ट विद्यार्थी बनिन् ।

उनको पढाइ रोकिएन । शिक्षाशास्त्र लिएर स्नातक तह पूरा गरिन् । छोरीहरूले मास्टर्स गर्ने बेला उनी आफैं मास्टर्स क्लियर भइन् । महिलामाथि लगाइएका अनेकौं पर्खाल नाघ्दै उनी अघि बढिन् । अघि बढ्न र पर्खालहरू नाघ्न सुकदेवीलाई न उमेरले छेक्यो न गाउँलेका कुराले ।

उबेला आमा पढ्न जाँदा चिच्याई चिच्याई रोएका छोरीहरू अहिले भन्छन्, ‘मम्मी त पढ्न पो जानु’भा रैछ ! मम्मीले यो उमेरमा पनि मास्टर्स गर्नुभो भन्दा एकदमै खुसी लाग्छ, तर मम्मीले धेरै दुःख गर्नुभएको छ ।’ सुकदेवीले खेतबारी धाउँदै पढिन् । छोरीहरू हुर्काउँदै पढिन् । घर सम्हाल्दै पढिन् । कहिले पुस्तकालय व्यवस्थापक भइन्, कहिले स्वास्थ्य स्वयंसेविका, कहिले सामाजिक परिचालक । अहिले शिक्षण पेसामा आबद्ध छिन् । पढ्ने भोक अझै मेटिएको छैन । उनी भूपी स्मृति पुस्तकालयभित्रका पुस्तकलाई नै आफ्नो जिन्दगीको टर्निङ पोइन्ट मान्छिन् । भन्छिन्, ‘पुस्तकालय नगएको भए पढाइप्रति लगाव हुने थिएन ।’

श्रीमती पढाउन घर, व्यवहार, बच्चा सम्हालेका कमल अहिले सुकदेवीसँग रोमान्टिक पोजमा फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन्– ‘बधाई छ श्रीमतीज्यू’ भन्दै । म पनि भन्छु– बधाई छ साथी ।

आफ्ना सपना बिर्सेर अरूकै सपनामा सजिन बाध्य महिलाका लागि एउटा प्रेरणाको कथा लेख्यौ । तिमीलाई धन्यवाद ।

प्रकाशित : भाद्र १८, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?