१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपालमा नकारात्मक दृष्टिबोध

के नेपालमा अब नकारात्मक विषय मात्रै बााकी छन् ? हाम्रो नियति अब नकारात्मक दृष्टिबोधले मात्रै बनाउने भयो त ?
अभि सुवेदी

यो लेखमा नेपालमा अहिले विरोधाभासका चक्रवात उठ्दै र बस्दै गर्ने गति तीव्र बन्दै गएको विषय उठाइएको छ । त्यसमा नकारात्मक दृष्टिको चक्रवात दिनदिनै सबैभन्दा बलियो बन्दै गएको छ भन्ने छलफल भएको छ । केही मूल प्रश्न उठाएर तिनका उत्तर के छन् भनी हामी हेर्न सक्छौं । प्रश्न छन्, के नेपालमा अब नकारात्मक विषय मात्रै बाँकी छन् ? हाम्रो नियति अब नकारात्मक दृष्टिबोधले मात्रै बनाउने भयो त ? हामीसँग सकारात्मक विषय अब छैनन् त ? छन् भने ती के–के हुन् र ती केमा खोज्ने ? यी प्रश्नले उठाउने दृष्टिबोधबारे केही चिन्तन गर्ने बेला आएको छ ।

नेपालमा नकारात्मक दृष्टिबोध

एक साहित्यकार भएकाले म कहिल्यै पनि नकारात्मक दृष्टिले मानिसको मन र कामलाई हेर्दिनँ । अनेकौं उदाहरण मेरो मनमा आइबस्छन् । लेखकले नकारात्मक पक्षमा लेखेर कसरी त्यसबाट ज्योतिर्मय मानव ऊर्जाकै सम्भावना देखाए भन्ने उदाहरण छन् । नेपालमा अहिले राजनीति गर्नेका बोलीचाली, जनता, सरकार र आर्थिक विषयमा हैकम गर्नेहरूले जन्माएका नकारात्मक संस्कृति र चिन्तन मात्रै छैनन् । तीभन्दा अलग सकारात्मक पक्ष छन् । तिनले हाम्रो सिर्जनात्मक सामर्थ्य देखाउँछन्, हामी तिनै सकारात्मक ऊर्जाले चलिरहेका छौं र चल्नेछौं भन्ने विश्वास जनाउने केही उदाहरण र विषय हामीसँग छन् ।

आजकाल आमसञ्चारबाट नेपालमा जन्मिरहेको नकारात्मक दृष्टि सबभन्दा धेरै चर्चामा हुन्छ । दृष्टिगोचर मिडिया वा टीभी समाचारका केही राम्रा पोर्टल हेरे हुन्छ । त्यसमा अलिक राम्रा अखबारमा प्रकाशित समाचार हेरे हुन्छ । ती सबै माध्यममा समाचारले अत्यन्त नकारात्मक घटनावलीका रिपोर्ट गर्छन् । तर, सबभन्दा महत्त्वपूर्ण कुरा तिनले आम नागरिकलाई अनौपचारिक रूपमा सोधेका प्रश्नका उत्तरहरूमा भेटिन्छ । मेरो रेकर्डमा झन्डै शतप्रतिशतले सरकार, राजनीतिक दल, सरकारी संयन्त्र, शिक्षा क्षेत्र, विश्वविद्यालय, मेडिकल, व्यापार, इन्धन व्यवस्थापन विषयमा दिएका प्रतिक्रिया अत्यन्त नकारात्मक हुन्छन् । त्यसपछि पछिल्लो समय नेपालका मित्रराष्ट्रहरू खासगरी तिनले दिने र दिएका अनुदानका विषयमा भेटिन्छन् । कुनै धनवान् देशले सहायता दियो भने त्यस विषयमा नकारात्मक दृष्टिका चक्रवात उठ्छन् । हुन त त्यो स्वाभाविक प्रतिक्रिया हो किनभने धनवान् देशले निर्धन मुलुकलाई सहायता दिएका कुरा पेचिला हुन्छन् । यो कुराको छलफल अहिले मात्र भएको होइन । आफ्ना स्वार्थ राखेर सहयोग लिने मुलुकको हुर्मत काढ्ने काम धनिकारहरूले गरिआएका उदाहरण छन् विश्वमा ।

खासगरी सन् असीको दशकमा यस विषयमा आलोचनात्मक दृष्टिहरू बलियो गरी आए । ती दृष्टि र दर्शनलाई समातेर केही महत्त्वपूर्ण किताब लेखिए । तीमध्ये मलाई मन परेको किताब ग्राहम ह्यानकक्को ‘लर्डस् अफ् पोभर्टी’ (१८८९) हो । यस किताबमा लेखिएको छ, निर्धन मुलुकलाई बर्सेनि ६० अर्ब डलर सहायता दिने देशको यो रकम धनी र बलिया कर्मचारीतन्त्रद्वारा विनियोजन हुन्छ । यो धन जसलाई भनिएको हो तिनकोमा खास पुग्दैन । ह्यानककको अध्ययनमा बरु यो धन नपाउनुमा गरिब मुलुकको कल्याण छ किनकि यो सहायता खराब हो । सहायता दिने देशले कसरी गरिबीमाथि आफ्नो प्रभुत्व कायम गर्छन्, कसरी सहायता लिनेका प्राकृतिक स्रोतहरूको शोषण र दुरुपयोग गरिएका छन् भन्ने कुराका उदाहरण दिइएका छन् । यो किताब लेखिएको राजनीतिक समयमा ठूलो परिवर्तन आयो । त्यसले प्रभावित गरेको आर्थिक आयाम राजनीतिक विषयसँग जोडियो । उदारवादको उदय र प्रयोगदेखि इतिहासको एउटा चरित्र नै फेरियो भन्नेसम्मका बहस भए । यो लेखमा छलफल गर्ने ठाउँ भएन । तर, आर्थिक सहायता राजनीतिको क्षेत्रीय प्रभावसँग जोडियो । आर्थिक सहायता लिएपछि तिमी सोझै दिनेको क्याम्पमा गयौ भन्ने अहिलेको विकासक्रम समस्यापूर्ण छ । यसले कुनै देशभित्र नकारात्मक धारणा र अविश्वासका चक्रवात चलाउँछ । नेपालको

बढ्दो नकारात्मक संस्कृतिको यो पनि एउटा पक्ष भएको छ । हामी यी बहससँग परिचित छौं । यस्ता आर्थिक सहायताका चक्रमा देश मात्र होइन राजनीतिकर्मी, दल र तिनका सरकार पनि मुछिन थालेका उदाहरण बलियो गरी आउँदै छन् । यस्ता सहायताले नकारात्मक दृष्टिबोध गराइरहेको यो अवस्था भने नौलो छ ।

स्थायित्व र स्वतन्त्रताको अत्यन्त सूक्ष्म सन्तुलन मिलाएर लैजानुपर्ने अहिलेको अवस्था हो । यो अहिले चलेको छलफलको विषय भएको छ । त्यो सन्तुलन मिलेन भने त्यसबाट नकारात्मक दृष्टिबोध हुन्छ । डारोन एसमोग्लु र जेम्स ए. रविन्सनले लेखेका केही किताब हिजोआज नेपालमा निकै पढिन्छन् । ‘किन राज्य असफल हुन्छन् ?’ भन्ने यिनीहरूको किताबपछि ‘द न्यारो करिडोर’ (२०१९, २०२०) भन्ने किताब पढिने गरेको देखेको छु । स्वतन्त्रता र स्थायित्वलाई संयोजन गरेर लैजान सक्दा मात्रै आज काम हुन्छ भन्ने यिनीहरूको धारणा चर्चामा छ । यो सन्तुलन सहज छैन भन्ने बुझाउन उनीहरूले किताबको शीर्षक नै ‘साँघुरो गल्ली’ राखेका छन् । त्यो सन्तुलन खोज्न सबै लागेका हुन्छन् । बाटा र विधि फरक हुन्छन् । त्यो असफल भयो भने बर्बाद हुन्छ । यो सन्तुलनको विषयमा नेपालमा राजनीतिक बहस भइरहन्छन्, मलाई राम्रो लाग्छ । जस्तो कि धेरै कम्युनिस्ट र तिनका दल भएको यो देशमा उनीहरूले अनुशासन र स्वतन्त्रताको सन्तुलन गर्न गरेका बहसलाई म महत्त्वपूर्ण मान्छु । हामी कमिनिस्ट हौं हामीले एक भएर त्यसलाई अघि बढाएर लैजानुपर्छ भन्ने बहससँगै हामी संविधानले दिएको नागरिकको वा व्यक्तिको स्वतन्त्रताको पक्षमा काम गर्छौं भनिरहनु त्यही ‘न्यारो करिडोर’ को अथवा साँघुरो गल्लीबाट हिँड्ने सन्तुलन हो । नेपाली कांग्रेसले स्वतन्त्रताको पक्ष लिनेबित्तिकै सबै सन्तुलन कायम भइहाल्छ भन्ने धारणा मात्रै समस्याको समाधान होइन । उनीहरू स्थायित्व कायम गर्ने आधार स्वतन्त्रता नै हो भनेर मान्छन् । तर, त्यसका चुनौतीको सामना गर्ने विधि र उपाय नभए त्यो सन्तुलन बिग्रिन केही बेर लाग्दैन । पञ्चायती मूलको राजनीतिको विरासत बोक्नेहरू कि कोही व्यक्ति वा पुरानो स्थापित संस्थालाई सन्तुलनको आधार मान्छन् ।

तर, नेपालमा नकारात्मक दृष्टिबोध जुन देखिन्छ, त्यो त्यस्तो समस्यामूलक होइन भन्ने मेरो विचार छ । नकारात्मक दृष्टिबोधलाई दर्शन मान्नुपर्ने हाम्रो अवस्था छैन । धेरै आधार छन् । छोटो लेख सकिनै लागेकाले केही आधारहरूका उल्लेखसम्म गरिहालौं । पहिलो र महत्त्वपूर्ण सकारात्मक आधार अहिलेको संविधान हो र यसमा क्रमशः सुधार गर्दै लाने प्रतिबद्धता र यसको पालना हो । राजनीतिक दलहरू बनिनु, अनुशासन र विधिभित्र बस्नु, चुनाव गर्नु अनि त्यसको नतिजा मान्नु सकारात्मक पक्ष हो । निकै देशमा या अनुशासन भङ्ग हुँदै गरेका उदाहरण छन् । अमेरिकामै झन्डै खुस्किएका उदाहरण हामीसँग छन् । अर्को सकारात्मक पक्ष आलोचनात्मक दृष्टि हो, जुन स्वतन्त्र मिडियाबाट आइरहन्छ । अर्को सकारात्मक पक्ष भनेको यहाँका मानिस, खासगरी युवा पुस्तामा देखिने स्वतन्त्रताबोध, भिजन र शक्तिको खोजी हो । त्यो अहिले बढ्दै गएको छ । आगामी चुनावले अझ त्यो देखाउला । अर्कोतिर नेपालको सकारात्मक दृष्टिबोध यहाँका सिर्जनशील चिन्तन, लेखन किताब प्रकाशनमा देखिन्छ । यहाँ सिर्जनशील लेखक, कलाकार, सङ्गीतकार र नाट्यकर्म गर्नेहरूको संख्या राम्रो छ । त्यस्तै बिनाकुनै सहायता कैयौं रङ्गमञ्च सक्रिय हुनु चानचुने शक्ति होइन ।

राजनीतिमा पनि नकारात्मक दृष्टिबोध गर्नुपर्ने अहिलेको अवस्था होइन । अग्रगामी चिन्तन र विधिका छलफल नित्य चलेका छन् । तर, राजनीति गर्ने नेता, तिनका सम्बन्ध अनि तिनले प्रयोग गर्ने भाषिका, राजनीतिक दलीय संस्कृतिको दुरुपयोग अनि शिक्षाजस्तो एक मात्र अग्रगति र चेतनाको आधारलाई दुरुपयोग गर्ने कुराले नकारात्मक दृष्टिबोध जन्माउँछ ।

मिडियाबाट वा स्वतन्त्र रूपले आफ्ना विचार राख्ने जनताका गुनासाहरूको कारण संघीय र प्रादेशिक सरकारका क्रियाकलापबाट जन्मेका छन् । अहिले हामी साँच्चीकै अर्को करिडोरमा छौं । त्यो चुनौतीको विन्दुमा पुगेको छ । हामी अब हामीसँग भएका सकारात्मक पक्षको विजय हेर्न चाहन्छौं कि नकारात्मक पक्ष र चेतनालाई बढाएर लैजान चाहन्छौं, हाम्रो भविष्य त्यसैमा छ । हामी एक चुनौतीपूर्ण मोडमा पुगेका छौं ।

प्रकाशित : भाद्र १८, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?