कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुँगुरको उत्क्रान्ति

सिकारमा निर्भर फिरन्ते पुर्खाले १० हजार वर्षअघि खेतीपाती गरेर एकै ठाउँ बस्न थालेपछि जङ्गली बँदेललाई घरपालुवा सुँगुर बनाए । सबै जातजातिका पुर्खा बँदेल र सुँगुरको मासु खान्थे । पुरातात्विक अध्ययनले प्रमाणित गरेको यो तथ्य नेपाली समाजका मौखिक कथा र सांस्कृतिक अभ्यासमा सुरक्षित छ ।
भोगीराज चाम्लिङ

कथाले बनेको प्राणी हो मान्छे । त्यसैले, कथाले हाम्रो जीवनको सबै पाटोलाई नजिकबाट छुने गर्छ । एउटा पुरातत्त्वविद्ले ढुङ्गाका टुक्रा र हाडहरूमा सुराक खोज्छ र बितेका दिनको गाथा बनाउँछ । र, इतिहासकार जो छन्, ती स्वयं पनि कथावाचक नै त हुन् ।’
– जोनाथन गोस्चल (द स्टोरी टेलिङ एनिमल, २०१२)

सुँगुरको उत्क्रान्ति

कुनै गाउँमा पुग्नु, तर कुनै कथा सुन्न नपाउनु ! कुनै समुदायमा जानु, तर कथा नभेटिनु ! समाज निर्जन बन्दै जानुको प्रमाण हो यो । त्यसैले जति धेरै कथा उति धेरै जीवित देखिन्छ समाज । उति नै धेरै सुन्दर लाग्छ समुदाय ।

मान्छेले नै किन निर्माण गर्छ कथा ? किनभने ऊ सपना देख्ने सामर्थ्य राख्छ (जोनाथन गोस्चल) । सपना देख्ने सामर्थ्य थिएन भने हामीसँग कथाहरू हुने थिएनन् ।

मान्छेले नै किन निर्माण गर्छ कथा ? किनभने ऊसँग भाषा छ । भाषा थिएन भने हामीसँग कथाहरू हुने थिएनन् ।

मान्छेले नै किन निर्माण गर्छ कथा ? किनभने ऊ श्रम गर्छ । आदिम समयका पुर्खाहरूले आफ्नो सामूहिक श्रमलाई कथामा परिणत गर्न सिके । त्यो श्रमलाई अनुकरण गर्दै अझ भव्यतासहित प्रस्तुत गर्ने एउटा माध्यम थियो कला (जी.भी. प्लेखानोभ, आर्ट एन्ड सोसल लाइफ, १९५७) । श्रम थिएन भने हामीसँग अवश्य कथाहरू हुने थिएनन् ।

कथा जसले समाजलाई सांस्कृतिक रूपमा निर्देश गर्छ, कथा जसमार्फत् समाजको विश्वदृष्टिकोण अभिव्यक्त हुन्छ र कथाले समाजको अनन्त विगतलाई दस्तावेजीकरण गरेको हुन्छ । त्यसैले खासखास कथाहरू हजारौं वर्षदेखि समाजमा जीवित रहिरहने सामर्थ्य राख्छन् । यस लेखमा तिनै कथाहरूमार्फत सुँगुरको समाज–यात्रा केलाउने प्रयास गरिएको छ । जंगली ‘बँदेल’ कसरी घरपालुवा ‘सुँगुर’ बन्यो ? आउनुस् विमर्श गरौं ।

...

उहिले–उहिले यो धर्तीमा प्रथम मानव होरेम पैदा भइन् । हावासँग संसर्ग हुँदा छोरी निनामरिदुम जन्माइन् । निनामरिदुमले पारुहाङको गर्भ बोकेर पहिलो सन्तानका रूपमा काँडे लहराहरू जन्माइन् । दोस्रो सन्तान कीराफट्याङ्ग्राहरू जन्माइन् । तेस्रो सन्तान बाघ, भालु, बाँदर, मृग, हरिणहरू जन्माइन् । चौथो सन्तानका रूपमा जंगली बँदेल (खार्लुक्छा–भोख्लुक्छा) जन्माइन् । त्यसपछि मात्रै अन्तिममा मानव सन्तानका रूपमा छोरा तुम्नो जन्माइन् (मार्टिनो निकोलेट्टी, द एन्सेस्ट्रल फोरेस्ट, २००६) । यो भयो कुलुङ राईहरूमा प्रचलित मुन्दुमी सृष्टिकथा ।

मेवाहाङ राईहरूमा प्रचलित मुन्दुमी सृष्टिकथामा चाहिँ भनिन्छ– पारुहाङ र हुतिलिपले टललल टल्किने ढुङ्गालाई जपतप गर्दा कुखुरा पैदा भयो । भूमिलाई जपतप गर्दा सुँगुर उत्पत्ति भयो । पृथ्वी र पानीलाई जपतप गर्दा भैंसी उत्पत्ति भयो । घनघोर जङ्गललाई जपतप गर्दा गाई उत्पत्ति भयो (शिवसुन्दर मेवाहाङ राई, किराँत मेवाहाङ मुद्दुम, वि.सं. २०७५) । अनि चाम्लिङ राईहरूमा माङै (आदिम बजु) को पूजा गर्दा मुन्दुम (लालधन राई, इटहरी) मा भनिन्छ– ‘छ्युवा पुइखा खिदिमलायु आसे नुङ मारिमा मा मुनापा ।’ (उहिले सुँगुर र गग्लेटो घाँसको सृष्टि सँगै भयो ।)

आदिम मानव पुर्खाहरूले आफ्ना कुरा कथामार्फत भन्ने रहेछन् । पुर्खाहरूले प्रकृति र जंगली पशुपक्षीसँग संघर्ष गरेर जीवन बचाउनुपर्ने बेला यी कथाहरू निर्माण गरेका थिए । तर, उनीहरूले सिधै भनेनन्, बरु त्यसलाई सृष्टिकथा बनाए । उनीहरूले प्रकृति, कीराफट्याङ्ग्रा र पशुहरूलाई मानव जीवनका लागि सहअस्तित्वको अनिवार्य सर्तका रूपमा बुझे, तर सिधै भनेनन् । बरु यी सबैलाई मानव आमा होरेमका सन्तान हुन् भनेर गाथा बनाए । कथामार्फत भनिएको उनीहरूको विश्वदृष्टिकोण हो– प्रकृति, मानव र अन्य प्राणीबीच त्रिकोणीय सहअस्तित्व अनिवार्य छ । र, किरातीहरूका लागि बँदेल र सुँगुर यो सहअस्तित्वको प्रमुख सदस्यमध्ये एक हुन् । आदिवासी जनजातिहरूको सेरोफेरोमा किन प्रकृति संरक्षित अवस्था रहिरहेको हुन्छ भन्ने विषयको जरा यही विश्वदृष्टिकोणमै छ । त्यसैले, प्रकृतिलाई निर्मम दोहन गरेर भए पनि सम्पत्ति र शक्ति आर्जन गर्नुपर्छ भन्ने पुँजीवादलाई चुनौती दिने ‘अर्गानिक’ विचारधारा पनि हो यो ।

अहिले हामीलाई लाग्छ– ‘सुँगुर फोहोरी पशु हो ।’ तर, मान्छेले घरपालुवा बनाउनुभन्दा पहिले सुँगुर धेरै चोखो पशु थियो । यसले वनस्पतिका जरा, ओखर–बदामजस्ता फल र अन्न खान्थ्यो । यो उहिले–उहिले पनि हिलोमा लडीबुडी गर्थ्यो, अहिले पनि गर्छ । यसो गर्नुको एक मात्र कारण वैज्ञानिक अध्ययनले स्पष्ट भइसकेको छ । त्यो के भने आफ्नो छालाबाट गर्मी भगाउन पानीभन्दा हिलो प्रभावकारी हुने भएकाले सुँगुर हिलोमा खेल्न मन पराउँछ (मार्बिन ह्यारिस, द स्याक्रेड काउ एन्ड द एबोमिनेबल पिग, १९८५), जुन बानीलाई हामी फोहोरी भन्छौं । खासमा त्यो प्रकृतिसँगको अनुकूलन हुने सुँगुरको एक कला हो ।

जंगली बँदेल र घरपालुवा बनाइसकेका सुँगुरहरू पनि हिलोमा लडीबुडी गरेको अनि चिसो माटो खोज्ने क्रममा थुतुनोले भुइँ उधिनी हिँडेको देखेका उहिले–उहिलेका पुर्खाहरूले यो कुरा सिधै भनेनन् बरु भूमि (माटो) को पुकार गर्दा सुँगुर उत्पत्ति भयो भनेर कथा बनाए । सुँगुरले गग्लेटो घाँस धेरै मन पराएको देखे, तर सिधै भनेनन् बरु सुँगुर र गग्लेटो घाँस सँगै पैदा भए भनेर सृष्टिकथा बनाए । त्यसैले समाजले शताब्दिऔंदेखि भन्दै आएका कथालाई वर्तमान समाजको ‘फ्रेम’ भित्र राखेर होइन, उहिलेको मानवहरूको जीवनशैलीसँग एकाकार गरेर हेर्दा खास गुदीसम्म पुग्न सक्छौं ।

मानवशास्त्रीहरू भन्छन्– आदिम मानव–समाज मातृप्रधान थियो, पछि पितृप्रधान बन्न पुग्यो । किराती समाजले पनि यही भनिरहेको छ तर सिधै होइन, कथामार्फत । त्यो कथामा पनि बँदेल एउटा मुख्य सदस्य भएर आउँछ । मुन्दुमी कथामा भनिन्छ– उहिले–उहिले किरातीका पुर्खाहरू सालापा (साल्पा/रिकपा) र रिभ्यँमा (रिब्रिमा) थिए । उनीहरू माइती–चेली थिए । रहँदाबस्दा उनीहरू एकआपसमा छुट्टिएर बस्ने सल्लाह गरे । माइती सालापा लेकतिर लागेर साल्पा पोखरी (भोजपुर, खोटाङ र सोलुखुम्बुको सिमाना) क्षेत्रमा बस्न थाल्यो । बहिनी बेंसीमै बसिन् । रहँदाबस्दा रिभ्यँमा र सालापाबीच नै विवाह भएर उनीहरूबाट छोरी जन्मिइन्– नाइमा । नाइमाको अर्थ हुन्छ ‘नाना (दिदी) इम्मा (सुत्नु)’ अर्थात् दिदीसँग सुतेर (विवाह गरेर) जन्मिएको सन्तान ।

एक दिन सालापा गीत गाउँदै छोरी भुल्याउँदै थियो, ‘इ हवादाका आछछाना इ हवादाका आछिछामा’ (तिमी एक साइनोले मेरी छोरी, एक साइनोले मेरी भान्जी) । रिभ्यँमाले झट्टै सुनिपाएर सोधिन्, ‘हँओउ, दे तारिङी ?’ (मेरो बूढा, तिमीले के भन्यौ रे ?) रिभ्यँमाले करकाप गरे पनि सालापाले केही बताएन, बरु सुटुक्कै जङ्गल पसेर उही साल्पा पोखरीतिरै लाग्यो र बँदेल बनेर विचरण गर्न थाल्यो । रिभ्यँमा बेंसीतिरै कागुनी खेती गरेर बसिन् । बँदेल भेषको सालापा लेकबाट झरेर रिभ्यँमाको त्यो कागुनी खेती बेस्सरी खाइदियो । रिभ्यँमाले रिसले थापेको सोमालो (पासो) मा परेर बँदेलरूपी सालापाको निधन भयो । रिभ्यँमाले बँदेल काटकुट गरिन्, खाइन्, बाँकी पछिलाई राखिन् । आन्द्रा पनि राम्ररी सरसफाइ गरेर चुलामाथि सरङमा सुकाइन् ।

रिभ्यँमाले मुन्दुमका रिसिया (श्लोक) गाउँदा सरङमा सुकाएको बँदेलको आन्द्राबाट सालापा पुनः मानव चोलामा परिणत भएर अगाडि देखा पर्‍यो । रिभ्यँमा छक्क पर्दै भनिन्, ‘हना मेरो बूढा, यत्रो दिन तिमी कता गाको थियौ ? मैले बँदेल मारेर राखेको छु ।’ सालापाले भन्यो, ‘अँ मेरो मासु खायौ, अब हामी कुटुम्ब भयौं’ (गडुलमान राई, किरात संस्कार, विसं २०६६) । यही कारण किरात राईहरूमा सुँगुरको आन्द्रा खानु हुँदैन भन्ने मान्यता छ ।

यो कथाले बताउँछ– किरातीहरूमा आदिमकालमा माइती–चेलीबीच विवाह गर्ने प्रचलन थियो । यस्तो समाजलाई मानवशास्त्रीहरूले मातृप्रधान समाज भन्ने गरेका छन् (लेविस एच. मोर्गन, एन्सियन्ट सोसाइटी, १८७७) । यो मुन्दुमी कथा (मिथक) लाई किरातीहरू मातृप्रधान समाजबाट विकास भएर अहिलेको अवस्थामा आएका हुन् भन्ने तथ्यका रूपमा लिन सकिन्छ । के पनि भन्न सकिन्छ भने चेलीसँग विवाह गर्नु हुँदैनथ्यो भन्ने खेद पैदा भएर तीन जुनी फेरेको सालापाको कथाले मातृप्रधान समाज कमजोर हुँदै गरेको, पितृप्रधान समाजको उदय हुँदै गरेको संकेत गर्छ । पितृप्रधान समाजमा प्रवेश गरिसकेपछि प्राचीन किरातीहरूमा तीन पुस्तामा विवाह गर्ने प्रचलन थियो भनिन्छ । जस्तो कि सालापा एक पुस्ता भयो, बँदेलमा परिणत हुँदा दुई पुस्ता भयो अनि फेरि सालापा नै बन्दा तीन पुस्ता भयो । यो कुरा पनि पुर्खाहरूले सिधै भनेनन्, बरु कथामार्फत सालापाको तीन जुनी देखाए । त्यो बेला तीन पुस्ताको विवाह हुन्थ्यो किनभने पर्याप्त जनसंख्या हुँदैनथ्यो, अहिले सात पुस्तामा मात्र विवाह हुन्छ किनभने विवाहका लागि पर्याप्त जनसंख्या छ ।

यो त भयो आदिम युगको कथा । पूर्वी पहाडहरूमा रासोबासो गर्न थालिसकेपछि पनि किरातीहरूको पौष्टिक आहाराको प्रमुख स्रोतमा बँदेल पर्थ्यो भन्ने विषय रैथाने कथाहरूबाटै थाहा पाउन सकिन्छ । जस्तो कि भोजपुर (आमचोक) को छोङ्खा साकेन्वा (साकेला) को उत्पत्ति–कथा बँदेलसँग सम्बन्धित छ । नाम्नु पाछा (वंश) का ससुरा सिपालु धामीले हाङ्खिम पाछा (वंश) का धनुकाँड चलाउन सिपालु ज्वाइँलाई बँदेलले अन्नबाली खाएर दुःख दिएकाले सिकार गरिदिन अनुरोध गरे । ज्वाइँले एउटा बँदेललाई वाण हानेर मारे, तर त्यो बँदेल ढुंगामा परिणत भयो । त्यो ढुंगा ज्वाइँले बोकेर उनीहरू फर्किए । तर, झन् बोक्यो झन्झन् गह्रौं भएर बिसाउन खोज्दा ढुंगा चिप्लिएर एक्कासि माटामा गाडियो । जति निकाल्न कोसिस गर्दा पनि नसकेपछि त्यो ढुंगा त्यहीँ रह्यो । त्यो ढुंगालाई अहिले छोङ्खा साकेन्वा (साकेला) का रूपमा पूजा गरिन्छ । जस्तो कि खोटाङ (रतन्छा) मा बचाखा भन्ने ठाउँ छ । बँदेलहरू चर्न आउने भएकाले ‘ब’ (बँदेल) ‘चाखा’ (चर्ने ठाउँ) भनेर ठाउँको नामकरण गरिएको छ । त्यस्तै छोरम्बुमा ठोपाबेली भन्ने पुर्खाले बँदेल मारेर राखेको ढुङ्गा र त्यो क्षेत्रलाई नै रोभोलुङ (रोभो भनेको बँदेल, लुङ भनेको ढुङ्गा) भनिन्छ ।

काठमाडौं उपत्यकाका ज्यापू नेवार समुदायमा किरातीहरू पूर्वबाट सिकार खेल्दै प्रवेश गरेका हुन् भन्ने कथा प्रचलित छ । हुन सक्छ, किरातीका पुर्खाहरू बँदेल इत्यादि जंगली पशुहरू सिकार गर्ने क्रममा काठमाडौं उपत्यकामा प्रवेश गरे । पूर्वी पहाडबाट किरातीहरू काठमाडौं उपत्यका प्रवेश गर्न र उपत्यकामै रहिरहन भूमिका खेल्ने एउटा महत्त्वपूर्ण ‘फ्याक्टर’ गाईगोरु र बँदेल नै थियो भन्ने आधार छन् । किनभने काठमाडौं उपत्यकाको दक्षिणी भेगमा गरिएको भौगर्भिक अध्ययनका क्रममा जमिनमुनि गाईगोरु र सुँगुरका हाड फेला परेको थियो, जसलाई ५० लाख वर्षअघि सुरु भएर १२ हजार वर्षअघि समाप्त भएको ‘प्लिओ–प्लेस्टोसिन’ युगको मानिएको छ (गोपाल एमएस डङ्गोल, जिओलजी अफ द काठमाडौं, १९८५) । यी दुवै पशु किरातीहरूका खाद्य हुन् । त्यसमा थप माछा र पानीको उपलब्धताले सिकार गरिहिँड्ने फिरन्ते जीवनशैलीबाट मुक्त भएर उनीहरू काठमाडौं उपत्यकामा ‘घरेलु’ (डोमेस्टिकेटेड) हुन पुगे ।

त्यस्तै किरातीहरूको आदिम थलोबारे थाहा पाउन पनि बँदेलकै कथा र सांस्कृतिक अभ्याससम्म पुग्नुपर्छ । चाम्लिङ राईहरूमा पितृपुर्खालाई नयाँ अन्न चढाउने चाड ‘छौवा’ मा वाचन गरिने मुन्दुममा आदिम थलो नियामा र खुवालुङको नाम उल्लेख हुँदा घरमुली धनुवाणले बँदेललाई सिकार गरेको अभिनय गर्छ ।

इन्डोनेसियाको एक गुफामा फेला परेको ४५ हजार ५ सय वर्ष पुरानो रैथाने बँदे लको चित्रले भन्छ– मान्छेका लागि बँदेल उतिबेलै महत्त्वपूर्ण पौष्टिक आहारा थियो।


मेरो मत के छ भने मुन्दुममा वर्णित नियामा भनेको चीनको ह्वाङ हो या याङ्जी नदीको कागुनी उब्जाउ हुने मैदान हो । किनभने मुन्दुममा नियामालाई आदिम बजु चिनिमाले कागुनी खेती गर्न सुरु गरेको थलो भनिन्छ । त्यस्तै अजिङ्गरको पूजा गर्ने थलो भनिन्छ (सम्पादक भोगीराज चाम्लिङ, मुन्दुम : सृष्टिकथा, विसं २०७१) । यी दुवै कुरा ह्वाङ हो या याङ्जी नदीका उपत्यकामा विकास भएका सभ्यतामा पाइएको छ । पुरातत्त्वविद् तथा मानवशास्त्रीहरूले यी दुई नदीको उपत्यकामा लगभग १० हजार वर्षअघि कागुनी खेती थालनी भएको मान्छन् (ग्रेगर लार्सन र अरूहरू, प्याटर्न्स अफ इस्ट एसियन पिग डोमेस्टिकेसन, २०१०) । र, चिनियाँ भाषामा कागुनीलाई ‘फ्रें’ भनिँदो रहेछ (जर्ज भान ड्रिम, टु ह्विच ल्याङ्गुयज फ्यामिली डज चाइनिज बिलङ, २००८), चाम्लिङ भाषामा ‘फेंरो’ । अहिले पनि किरात राईहरूमा पितृपुर्खालाई चढाउने पवित्र अन्न मानिन्छ– कागुनी । त्यस्तै यिनै नदीका उपत्यकामा जंगली बँदेललाई ११ हजार वर्षअघि घरपालुवा सुँगुर बनाउन थालिएको थियो (फिलिप जे. पाइपर, द ओरिजिन्स एन्ड अराइबल अफ् द अर्लियस्ट डोमेस्टिक एनिमल्स, २०१७) । ‘छौवा’ मा नियामाको पुकार गर्दा बँदेललाई ताकेको अभिनय गर्ने कुराले ११ हजार वर्षभन्दा अघिका पुर्खाहरूको जीवनशैलीलाई पुस्तान्तरण गर्दै स्मरण गरिएको हो कि ?

अर्थात्, कथाको त्यान्द्रो समातेर हजारौं वर्षअघिसम्म यात्रा गर्न र पुर्खाहरू बाँचेको युग उत्खननका लागि अँध्यारोमा पिलपिल वत्तीझैं संकेत भए पनि प्राप्त गर्न सकिने रहेछ !

...

हालैको अध्ययनले देखाएको छ– विश्वकै सर्वप्राचीन चित्र बँदेलको हो । इन्डोनेसियाको सुलावेसी टापुको लिङ तेदोङ्ङे गुफामा आदिम मानवले बनाएका चित्र फेला परेका छन्, जसमा रैथान बँदेलको चित्र छ । त्यो चित्रलाई ४५ हजार ५ सय वर्षअघिको मानिएको छ (ब्रायन ह्यान्डवेर्क, ४५,००० इयर ओल्ड पिग पेन्टिङ इन इन्डोनेसिया, २०२१) । त्यस चित्रबाट बुझिन्छ– ४५ हजार वर्षअघिकै मान्छेका लागि बँदेल महत्त्वपूर्ण पौष्टिक आहारा थियो ।

अहिले सुँगुरको मासु अपवित्र मान्ने खस–आर्य तथा मुसलमानका पुर्खाहरूसमेत बँदेलको मासु खान्थे, सुँगुरपालन गर्थे । यसका लिखित तथा पुरातात्त्विक तथ्यहरू हाम्रासामु छन् ।

ऋग्वेदभन्दा प्राचीन र ऋग्वेदसँग थुप्रै विषयमा समान पनि रहेको पार्सी ग्रन्थ ‘जेन्द अवेस्ता’ (इरान) मा बारबार बँदेलको उल्लेख हुँदो रछ । इन्डो–इरानी लोकविश्वासमा विजेता देवता मानिने वेरेथ्रग्नले बँदेलको स्वरूपमा शत्रुमाथि विजय गर्ने गरेको वर्णन जेन्द अवेस्तामा छ । जसमा भनिँदो रहेछ– ‘वेरेथ्रग्नले बँदेलको स्वरूपमा शत्रुहरूलाई लखेट्छ । धारिलो दाँत भएको, धारिलो

बङ्गारा भएको, फलामको खुट्टा, फलामको पन्जा, फलामको हतियार, फलामको पुच्छर र फलामको बङ्गारा भएको विर बँदेलले अनुहारबाट तपतप पसिना चुहिरहेको क्रुद्ध मुद्रामा (शत्रुलाई) एकै झमटमा चिथोरेर मारिदिन्छ’ (सम्पादक म्याक्स मुलर, द जेन्द अवेस्ता, पार्ट २, १८८३) । ‘जेन्द अवेस्ता’ मा बँदेललाई अपवित्र होइन, पराक्रम र सिकारको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

मानवशास्त्री मार्बिन ह्यारिस (द स्याक्रेड काउ एन्ड द एबोमिनेबल पिग, १९८५) भन्छन्– मुसलमान समुदायमा सुरुमा ऊँटको मासु खान प्रतिबन्ध थियो । मध्यपूर्व एसियाको मरुभूमि क्षेत्रमा पशुपालन गरेर बसोबास गर्ने मोहम्मदका सन्तान मानिने बेडुइन जातिमा ऊँटको मासु खाने चलन थिएन । उनीहरू मरुभूमिको यात्रा गर्दा बीच बाटामा खानेकुराको अभाव भएर आपत्मा

पर्दाबाहेक ऊँटको मासु खाँदैनथे । ६ वर्ष पुगेपछि मात्रै बच्चा जन्माउने र जनसंख्या ढिलो वृद्धि हुने हुनाले उनीहरू ऊँट काटेर खाँदैनथे । तर, ऊँटको मासु प्रतिबन्ध लगाएसम्म मुसलमानहरूको इस्लाम धर्म फैलिन सकेको थिएन । जब मुस्लिमहरूको पवित्र धर्मग्रन्थ ‘कुरान’ बाट ऊँटको मासुमाथिको प्रतिबन्ध हट्यो, त्यसपछि दुईवटा कुरा भयो– एउटा, इस्लाम धर्मको विस्तार विश्वधर्मको रूपमा हुन पुग्यो । त्यसपछि नै हो, इस्लाम धर्म अरब राष्ट्रहरूदेखि सहारा मरुभूमि पार गर्दै पश्चिम अफ्रिकासम्म फैलिन पुगेको । दोस्रो, जब ऊँटको मासु खुल्ला भयो, सुँगुरको मासुमाथि प्रतिबन्ध लाग्यो ।

मुसलमान बाहुल्य मध्यपूर्व एसियाका विभिन्न भागमा भेडा, बाख्रा र गाईपालन गर्नुभन्दा पहिले नै सुँगुरपालन सुरु भएको थियो (मार्बिन ह्यारिस) । ती क्षेत्रका नवपाषाण कालका गाउँहरूमा गरिएको उत्खननले १० हजार वर्षअघि सुँगुरपालन सुरु भएको देखाएको छ । त्यस्तै जोर्डनको जेरिचो, इराकको जार्मो र ग्रीसको अर्गिस्सा–मगुल्लामा गरिएको पुरातात्त्विक उत्खननबाट प्राप्त सुँगुरका हाडहरूबाट जङ्गली बँदेललाई घरपालुवा बनाउन थालिएको स्पष्ट भएको छ । मुस्लिम बाहुल्य मध्यपूर्व एसियाका ६ हजारदेखि ४ हजार वर्ष (इसापूर्व ४००० देखि २०००) प्राचीन केही गाउँहरूमा ठूलो सङ्ख्यामा भेटिएका सुँगुरका हाडहरू अध्ययन गरेर पुरातत्त्वविद्हरूले दिएको निचोड हो– सांस्कृतिक कार्यमा सुँगुर बली दिइन्थ्यो, चाडपर्वमा सुँगुरको मासु खाइन्थ्यो ।

त्यस्तै टर्की, सिरिया, जोर्डन, साउदी अरेबिया, कुबेत र इराकजस्ता मध्यपूर्व एसियाका मुस्लिम बाहुल्य मुलुकहरू हुँदै बग्ने टिग्रिस र युफ्रेटस नदी क्षेत्रमा गरिएको पुरातात्त्विक उत्खननबाट पनि थाहा भयो– यी क्षेत्रमा बँदेललाई घरपालुवा सुँगुर बनाइएको थियो । तेल्ल अस्मरमा गरिएको उत्खननका क्रममा भेटिएका जनावरका हाडहरूमध्ये ३० प्रतिशत सुँगुरको पाइएको छ, जुन ४८०० वर्ष (इसापूर्व २८००) प्राचीन हो (मार्बिन ह्यारिस) । भन्नुको अर्थ हो, मध्यएसियाका हालका मुस्लिम बाहुल्य देशहरूमा सुँगुरको मासु खाइन्थ्यो । र, सुँगुरलाई सांस्कृतिक कार्यहरूमा प्रयोग गरिन्थ्यो ।

मुस्लिमका पुर्खाहरू मात्रै होइन, हिन्दु धर्मावलम्बी आर्यका पुर्खाहरू पनि जंगली बँदेल सिकार गरेर मासु खान्थे, सुँगुर पालन गर्थे भन्ने कुरा संस्कृत ग्रन्थ र पुरातात्त्विक अध्ययनहरूबाट थाहा पाउन सकिन्छ ।

संस्कृत ग्रन्थ ‘ऋग्वेद’ मा रुद्रलाई ‘स्वर्गको रातो बँदेल’ का रूपमा चित्रण गरिएको छ । त्यति मात्रै होइन, ऋग्वेदमा सिकारबारे पनि उल्लेख गरिएको छ, जसका लागि जाल, खाल्डो र धनुकाँड प्रयोग हुन्थ्यो । चराहरूलाई जालमा पारिन्थ्यो, सिंहलाई पिँजडामा पारिन्थ्यो । त्यस्तै बँदेल र भैंसी पनि सिकार गरिन्थ्यो । भन्नुको अर्थ हो, वैदिक आर्यहरू बँदेल सिकार गरेर मासु खान्थे । संस्कृत ग्रन्थ ‘शतपथ ब्राह्मण’ (इसापूर्व ८००–६००) अनुसार, बँदेलको छालाबाट चाहिँ चप्पल र जुत्ता बनाएर लगाइन्थ्यो (सम्पादक आरसी मजुमदार, द वैदिक एज, २०१७) ।

वैदिक आर्यहरूमा अश्वमेध यज्ञको सर्वोच्च महत्त्व थियो । त्यस यज्ञको दोस्रो दिन घोडालाई बलि दिइन्थ्यो । त्यस क्रममा घोडालाई तलाउछेउ लगेर खम्बा गाडेर बाँधिन्थ्यो । घोडाको वरिपरि ६०२ प्रकारको पशुप्राणी बाँधेर केहीलाई मारिन्थ्यो, केहीलाई छाडिन्थ्यो (लुइस रेनो, वैदिक इन्डिया, १९५७) । यसरी मारिने जनावरहरूमा बँदेललगायत पशु र चराहरू हुन्थे । त्यस्तै संस्कृत ग्रन्थ यज्ञवल्क्य (सन् १००–३००) मा खान मिल्ने र नमिल्ने पशुहरूको विवरण दिँदा हरिण, भेडा, सुँगुर र गैंडाको मासुले पितृहरू साह्रै खुसी हुने उल्लेख छ (डीएन झा, हिन्दु अस्मिता : एक पुनर्चिन्तन, २०१२) । डीएन झाको विचारमा घरपालुवा सुँगुर बलि चढाउने वैदिक संस्कृति इसाको प्रथम सहस्राब्दीको अन्तिमसम्म प्रचलनमा थियो ।

भारतीय इतिहासका विख्यात विद्वान् रामशरण शर्मा (आर्य एवं हडप्पा संस्कृति की भिन्नता, २००७) ले यसरी पशुबलि दिने वैदिक संस्कृतिको जरा दक्षिणी रुस र युक्रेनमा पाइएको बताएका छन् । त्यहाँ उत्खननका क्रममा आजभन्दा ६५००–५५०० वर्ष पहिले (इसापूर्व ४५००–३५००) को मानिएको घोडाको टाउको तथा बायाँ खुट्टाको हाड, कुकुरको अवशेष र जङ्गली बँदेलको जस्तो आकृति फेला परेको थियो । यसलाई पुरातत्त्वविद्हरूले धार्मिक कार्यमा दिइएको बलि भनेर अर्थ्याएका छन् । अर्थात्, आजका आर्यहरूका सुदूर पुर्खाहरू बँदेललाई धार्मिक कार्यमा प्रयोग गर्थे ।

तर, कुरा के भने वैदिक आर्यहरू बँदेल सिकार गर्थे, उत्तरवैदिक आर्यहरूचाहिँ भारतका द्रविडहरूको प्रभावमा सुँगुर पाल्थे (रामशरण शर्मा) । हुन पनि हो, ऋग्वेदमा बँदेलका लागि मौलिक संस्कृत शब्द ‘वराहा’ प्रयोग भएको छ, तर ‘सुँगुर’ का लागि सापटी शब्द ‘सुकरा’ प्रयोग भएको छ । त्यस्तै अर्को संस्कृत ग्रन्थ ‘यज्ञवल्क्य’ मा पनि सुँगुरका लागि सापटी शब्द ‘सुङ्कारा’ प्रयोग भएको छ । यी दुवै शब्द सुँगुरलाई बुझाउने मुण्डा भाषाका ‘सुकुरी’ र ‘सुङ्कारा’ बाट संस्कृतमा सापटी लिइएको हो (आर.एल. टर्नर, अ कम्प्यारेटिभ डिक्सनरी अफ् द इन्डो–आर्यन ल्याङ्गुयजेज, १९७३) । जे होस्, अहिले ‘पवित्र र अपवित्र जनावर’ को सांस्कृतिक चपेटामा परे पनि आर्य र मुसलमानका पुर्खाहरूका लागि बँदेलदेखि सुँगुरसम्म पौष्टिक आहाराको स्रोतमध्ये एक थियो ।

प्रकाशित : भाद्र १८, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?