समाजको मानचित्रमा छोरीमान्छे

ऊ पसलबाट निस्कनु र म पस्नु उही समय भएको थियो । उसले मेरो अनुहार हेरी र हाँसी । मैले पनि उसको अनुहार हेरेर हाँस्न मात्रै भ्याएको हो । ऊ हतारमा थिई, म पनि । ऊ सहकारीको पैसा उठाएर पसलबाट निस्केकी थिई । म छोरीका लागि कपडा र जुत्ता किन्न पसलभित्र पसेको थिएँ । हाम्रो भेट वर्षौंपछि भएको थियो, तर गफिने, चिया खाने समय दुवैसँग थिएन । ‘के छ खबर ?’ उसले यति मात्रै सोधी । ‘ठीक छ’ मैले यत्ति भनें । उसले मेरो अनुहार हेरी र निन्याउरो भई । म उसको अनुहार हेरेर उज्यालो भएँ ।

त्यसपछि हाम्रो भेट त्यहीँ सकियो । त्यसपछि हाम्रो बोलचाल त्यहीँ सकियो । त्यसपछि हाम्रो हेराहेर त्यहीँ सकियो ।
सुत्ने बेला म्यासेज बज्यो, ‘ओइ मसँग बोल्नु पनि हुन्न कि क्या हो !’ सानैदेखि हामी एउटै माटोमा खेलेर हुर्केका ! तर, एकै सहरमा भए पनि हामी आज अपरिचितजस्तै बन्यौं । आज भेट भएपछि सायद उसले पनि पुराना दिन सम्झी । म्यासेज रिप्लाई गरेँ, ‘हुन्छ किन नहुनु र ?’
अर्को म्यासेज लेखी, ‘सरसँग तेरो राम्रो छैन, हो ? न हातमा चुरा, न निधारमा टीका, न गलामा पोते, न रातो लुगा ! केही नलगाई त्यसरी हिँडेकी छेस् । फेसबुकमा पनि कहिल्यै सरको फोटो पोस्ट गर्दिनस् । म त बूढा र मेरो मात्रै फोटो सेयर गर्छु । तैंले त धर्म परिवर्तन गरिस कि क्या हो ?’
मैले ‘होइन’ मात्रै फर्काएँ । उसले बिलकुलै पत्याइन । म सधैं यसैगरी हिँडिरहेकी हुन्छु । गलामा, हातमा, नाकमा, कानमा सुनैसुनले पुरिएर, सिन्दूर, चुरा, पोतेलाई सौभाग्य मानेर हिँड्ने धेरैले मलाई बेलाबेला यस्तै प्रश्न गर्छन् । सायद ऊ पनि सबै शृङ्गारमा पोतिएकी थिई, मैले याद गरिनछु ।
भर्खरै बिहे भएकी साथीलाई अर्को साथीले भिडियो कलमा भनेको सम्झिन्छु । नयाँ दुलही उसले थोरै सिन्दूर र सानो डोरो पोते मात्रै लगाएकी थिई । ‘बिहे भएको एक हप्ता पनि भएको छैन, किन हो लोग्ने मरेजस्तो केही नलगाई बसेको ? नयाँ दुलही त चिरिच्याट्ट परेर पो बस्नुपर्छ !’ कसरी हुर्किंदै छौं हामी ? कसरी हुर्काउँदै छौं नानीहरूलाई ?
...
हामीलाई सानैदेखि घोकाइएको एउटा शब्द हो– समाज । समाज खासमा मान्छेको झुन्ड हो या राज्यको, जहाँ विभिन्न धर्म, जात, भाषा र संस्कृतिका मान्छे बस्छन् । पहाड, तराई र हिमालको समाज बेग्लै–बेग्लै छ । बेग्लै–बेग्लै समाजमा पनि छोरीमान्छेका लागि बनाइएको ताल्चा भने एउटै छ । समाजले छोरीलाई एउटै कुरा सिकाउँछ– ‘चुप लागेर बस्’, ‘राती बाहिरफेर हिँडडुल
नगर् !’ अनेक–अनेक । लौ कोही अभिभावकले छोरीलाई सरल र सहज जीवनयापनका मार्ग खोलिदिएछन् नै भने पनि त्यसमा ‘समाज’ ले काँडेतार लगाइहाल्छ । ‘समाज’ ले छोरीलाई कसैसँग बोल्न रोक्छ, कसैसँग आँखामा आँखा जुधाएर प्रतिस्पर्धा गर्न रोक्छ । बरु भनिरहन्छ– ‘ठूलालाई मान गर्नू, सानालाई माया अनि बिहेको भोलिपल्टैदेखि भान्सा सम्हाल्नू ! तरकारी काट्न नजान्ने लोग्नेका लागि सिङ्गो सेफ बनेर विभिन्न परिकार डाइनिङ टेबुलमा सजाउनू ! उसको इज्जतका लागि लुगा धोएर आइरन गरिदिनू ! वंश धान्न बच्चा जन्माइदिनू !’ समाजको यो भाष्यले सधैं महिलालाई पछाडि धकेलिरह्यो ।
समाजको संकुचनबाट छोरीहरू वर्षौंदेखि निराश छन् । निराशाले छोरीहरूलाई यस्तो आभास दिलाउँछ– यो आकाश हाम्रो होइन, न टेकेको धर्ती नै हाम्रो हो । आफ्नो प्रिय कपडा, आफ्नो प्रिय हेयर–स्टाइलको सपना देख्न पनि अझै मुस्किल छ छोरीलाई । समाजले बनाएको चित्रमा छोरीहरू जकडिएका छन् । बीचमै कतै घुमिरहेको छ आज पनि छोरीको उडान–सपना ।
छोरालाई बलियो र छोरीलाई कमजोर देख्ने सामाजिक मान्यताले सधैं लैङ्गिक विभेदलाई पृष्ठपोषण गरेको छ । आजसम्मको पुरुषप्रधान समाज वा पितृसत्ताले चिनाएको नारी जम्माजम्मी यत्ति हो, ‘नारीको सबैभन्दा ठूलो प्राप्ति रूप हो ! नारीको सबैभन्दा ठूलो गुण लज्जा हो ! नारीको सबैभन्दा ठूलो विशेषता कोमलता हो ! नारीको सबैभन्दा ठूलो उद्देश्य असल पति–प्राप्ति हो ! नारीको सबैभन्दा ठूलो कमाइ चरित्र वा अस्मिता हो ! नारीको सबैभन्दा ठूलो परिचय छोरी, श्रीमती, आमा र समग्रमा गृहिणी हुनु हो...!’ त्यसैले सोच्छु, छोरीमान्छे फगत अरू कसैका लागि बाँचिरहेकी छ । अब समाजले बनाएको छोरीको तस्बिर फेर्नुपर्छ ।
हामीले धेरै सुन्यौं– भृकुटी र सीताजस्ती छोरी हुनू ! धरती र समुद्रजस्तो सहनशील बन्नू ! भद्र र शालीन हुनू ! वस्त्र र आभूषणले सुसज्जित हुनू ! सति सावित्री बन्नू ! संस्कारी हुनू ! ठूला (पुरुष) को इज्जत र सम्मान गर्नू !
अबदेखि समाजले छोरीलाई यस्तो भनोस् न– स्वाभिमानी हुनू ! स्वावलम्बी बन्नू ! सपनाहरू साकार पार्नू ! कसैसँग नडराउनू ! प्रगति गर्दै जानू ! आफ्नै विवेकले निर्णय गर्नू ! स्वतन्त्रतापूर्वक बाँच्नू ! आफ्नो नाम र पहिचान बनाउनू ! आफैं आफ्नो जिन्दगीको मार्गचित्र तयार पार्नू !
अझै पनि यहाँ ‘चुरा नलगाएको हातबाट पानी खानुहुन्न’ भन्ने मान्छे जीवितै छन् । नारीको शोभा, गहना नै शृङ्गार हो भन्ने मान्छे जीवित नै छन् । त्यसपछि यस्तो लाग्छ, ‘छोरीलाई शिक्षा’ फगत एक नारा हो । र, त्यो शिक्षा उसको बिहेका लागि तयार पारिएको केवल एक सर्टिफिकेट ।
...
वर्षौंपछि पसलमा भेटिएकी मेरी प्रिय साथी ! मैले शृङ्गार नगरेकोमा, तिमीजस्तै गहना नलगाएकोमा चिन्ता नगर । म सोच्छु, ‘मेरो शरीरमा मेरै मात्र अधिकार हुन्छ ।’ गहना र सिन्दूर समाजले तिमीमाथि थोपरिदिएको अनावश्यक झन्झट हो, जो स्वतन्त्रताको बाधक पनि हो जहिल्यै । साथी, तिमीले ममाथि जे धारणा बनायौ नि, त्यो तिम्रो होइन– समाजले बनाएको धारणा हो । हेर त, हामी छोरीमान्छेलाई समाजले अनेक घेरामा कैद गरेको छ । के तिमीलाई ‘म कैदी हुँ’ भन्ने कहिल्यै लाग्दैन ? आऊ सँगै मिलेर त्यो घेराबन्दीका पर्खाल भत्काऔं !
