कोसेली

मुन्धुममा बैरागी काइँला स्कुल

कवि बैरागी काइँलाले मुन्धुमको लयसँग खेल्दै त्यसैमाथि लेखन–चिन्तन गर्न थालेको ठ्याक्कै साढे चार दशक भयो । आयामेली साहित्यिक अभियानमा कवितामार्फत प्रसिद्धिको चुली चढेका काइँलाको विगत मुन्धुम केलाउँदै बितेको छ ।
राजकुमार दिक्पाल

लिम्बूहरूको विवाह संस्कार अन्य जातिको भन्दा फरक छ । अधिकांश जातिको विवाहमा दुलाहाले दुलहीको औंलामा औंठी लगाइदिने र दुलहीले दुलाहालाई माला लगाइदिएपछि स्वयंवर हुने चलन छ । तर, लिम्बूको विवाह संस्कारमा फेदाङ्माको आदेशअनुसार, दुलहीको पोथाङ (पछ्यौरा) मा दुलाहाले एउटा चाँदीको मोहर बाँधिदिन्छ । यसलाई ‘युप्पारुङ याङ’ भनिन्छ । यसलाई कतै कतै ‘युप्पालुङ याङ’ पनि भनिन्छ । यस्तो चलनबारे लिम्बूको मुन्धुममा रोचक वर्णन गरिएको छ । मुन्धुमअनुसार, दुलाहा अर्थात् पुरुष र दुलही अर्थात् महिलाबीच समानता कायम गराउन यस्तो चलन चलेको हो ।

मुन्धुममा बैरागी काइँला स्कुल

मुन्धुमविद् चैतन्य सुब्बा (द कल्चर एन्ड रिलिजन अफ लिम्बुज्–सन् १९९८ः१२३) ले उल्लेख गरेअनुसार, युप्पारुङ याङको चलन यसरी चलेको हो :

फूलको सृष्टिको मुन्धुमअनुसार धेरैअघि उमेरदार छोरा मान्छेहरू र छोरी मान्छेहरू इम्विरी यङधङ (तमोर नदी) को दुई किनारामा बसेर प्रेमका गीत गाउँथे । जब हिउँदको समयमा हिमपात हुन थाल्थ्यो, तब नदीको दुई किनारामा रहेका बाँस नुहेर नदीमाथि पुलजस्तो बन्थ्यो । यसरी छोरा मान्छे र छोरी मान्छेबीच हिमपातबाट नुहेर बनेको बाँसको पुलबाट एकापसमा भेट हुने अवसर पनि जुर्थ्यो । भेट भएर उनीहरू ठूलो र फराकिलो चाँदीजस्तै टल्कने सेतो ढुङ्गामा बसेर गाउँथे, नाच्थे । पिरती साटासाट गर्थे । त्यसै ढुङ्गालाई युप्पालुङ वा युप्पारुङ भन्न थालियो । जब एकापसमा भेट भएर सेतो, चेप्टो र फराकिलो ढुङ्गामा बसेर ती वयस्क युवा–युवती नाच्दै जाँदा, गाउँदै जाँदा माया बस्न पुग्यो, उनीहरूले विवाह गर्ने निर्णय गरे । तर, यसका लागि सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङले उनीहरूको एकापसको तौल बराबर हुनुपर्ने बताए । त्यसबेला छोरा र छोरीभन्दा वजनदार थिए । त्यसैले छोरीलाई गाहनापातले पूरापूर सजाउँदा उनीहरूको तौल छोरामान्छेभन्दा बढी हुन पुग्यो । आफूभन्दा छोरी मान्छेहरूको वजन बढि भइदिँदा छोरा मान्छेले कुखुरी, ढाल, तरबारले आफूलाई सुसज्जित बनाउनुपर्‍यो । फेरि छोराको तौल बढी भइदिँदा एकापसमा सन्तुलित बन्न छोराले छोरी मान्छेको पछ्यौरामा चाँदीको मोहर बाँधिदिनुपर्‍यो । यही चाँदीको मोहरलाई कतै युप्पारुङ याङ त कतै युप्पालुङ याङ भन्न थालियो ।

लिम्बूहरूको जीवन दर्शनका यस्ता अनेकौं पक्षबारे लिम्बू पुरोहितहरू फेदाङ्मा, साम्बा, येवा तथा येमाहरूले मौखिक रूपमा फलाकेर आजसम्म ल्याएका छन् । कतिसम्म भने लिम्बूहरू आफूले घरमा पालेर राखेको सुँगुर वा कुखुरा खानुपर्दा पनि फेदाङ्मा बोलाएर मुन्धुम फलाक्दै पूजा गरेपछि मात्रै बलि दिएर खाने परम्परा छ ।

मौखिक शास्त्र वा श्रुति परम्परामा रहेको लिम्बूहरूको मुन्धुमलाई लोप हुन नदिन यसलाई सङ्कलन र लिप्यान्तर गरी संरक्षण गर्ने कार्यमा केही व्यक्तित्वले बुद्धि र पसिना खर्च गरेका छन् । इमानसिंह चेम्जोङ, रणध्वज श्रेङ चोङबाङ र चैतन्य सुब्बा लिम्बू मुन्धुम सङ्कलन र संरक्षण गर्ने स्वदेशी विद्वान् हुन् । बी.एच. हज्सन, फिलिप सेगान्ता, ब्वाइड मिखाइलोब्स्की, रेक्स एल. जोन्स तथा ए.डब्लू. म्याक्डोनाल्डजस्ता विदेशी विद्वान्हरूको योगदान पनि उल्लेखनीय छ ।

यता कवि बैरागी काइँलाले मुन्धुमको लयसँग खेल्दै त्यसमाथि लेखन तथा चिन्तन गर्न थालेको पनि ठ्याक्कै साढे चार दशक भएछ । आयामेली साहित्यिक अभियानमा कविता लेखनमार्फत प्रसिद्धिको चुली चढेका काइँलाको विगत मुन्धुम केलाउँदै बितेको छ । मुन्धुममा अनेकौं आख्यान हुन्छन्, जो गाइन्छ । यसमा विषयवस्तु र प्रसङ्गअनुसार उठानदेखि बैठानसम्म विभिन्न शैली र छन्दको प्रयोग हुन्छ । यस्तो पद्यात्मक गेय भएको मुन्धुमको लयसँगै लहरिएका काब्यिक हृदयका शिखर व्यक्तित्वले सङ्कलन र लिप्यान्तर गरेको शिल्पी प्रस्तुतिले मुन्धुम पढ्नेहरूको मन पनि साह्रै मज्जाले छोइदिने गरेको छ ।

इमानसिंह चेम्जोङ : प्रेरणाको स्रोत

बैरागी काइँलालाई १६/१७ वर्षकै उमेरमा मुन्धुमबारे विशिष्ट ज्ञान हासिल गर्ने अवसर जुरेको पनि हो । तर, उनलाई मुन्धुमले त्यसबेला आकर्षित गर्न सकेन । क्रमशः नेपाली साहित्य र त्यसमा पनि कवितातर्फ लहसिँदै थिए । २५ वर्षको लक्का जवान हुँदा त उनी इन्द्रबहादुर राई र ईश्वरबल्लभसँग मिलेर उनी आयामेली कविका रूपमा उदाए ।

‘नेपालम्याग डट कम’ (२०७५ असोज ४ बिहीबार) मा रमण घिमिरेसँगको कुराकानीमा काइँलाले सम्झना गरेका छन् :

तेस्रो पटक टीबी बल्झेर उनी दार्जिलिङको अस्पतालमा उपचार गराइरहेका थिए । उनलाई भेट्न पुगिरहनेहरूमा इन्द्रबहादुर राई र ईश्वरबल्लभ पनि थिए । उनीहरूबीच घनिष्ठता बढ्दै गइरहेको थियो । वि.सं. २०१९ हिउँददेखि २०२० को असार–साउनसम्ममा नयाँ ढङ्गले लेखन अगाडि बढाउनुपर्छ भनेर काइँला आफू प्रकाशक र ईश्वरबल्लभ सम्पादक भएर ‘फूल पात पत्कर’ को दुई अङ्क निकालिसकेका थिए । इन्द्रबहादुर, बल्लभ र काइँलाबीच नेपाली साहित्यमा नयाँ ढङ्गले लेख्ने अभियानलाई कसरी मूर्त रूप दिन सकिन्छ भन्नेमा छलफल भइरहँदा पाठकले ‘झ्वाम्म’ अथवा ‘डल्लै’ अनुभूत गर्न सक्ने सिर्जना गरिनुपर्ने कुरा हुन्थे । ‘च्याप्टो’ साहित्यले मानिसको अनुभूति सग्लै व्यक्त गर्न सक्दैन भन्ने निष्कर्षमा पुग्दै नयाँ पाराले केही काम गर्नुपर्छ भन्ने सल्लाह हुँदै थियो ।

च्याप्टो साहित्यविरुद्ध डल्लो साहित्य लेखनका लागि पत्रिका निकाल्ने कुरा भयो । बैरागीले नाम जुराए, ‘थर्ड डाइमेन्सन’ । अनि त्यसलाई नेपाली नामकरण गरेर ‘तेस्रो आयाम’ पत्रिका जन्मियो । विसं २०२० असारमा निस्केको उक्त पत्रिकामा छापिएको थियो, बैरागीको चर्चित कविता ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ । जम्मा २० पृष्ठको पत्रिकामा इन्द्रबहादुरले लेखेको २० हरफको पहिले अङ्कको सम्पादकीय नै ‘तेस्रो आयाम’ को दर्शन बन्यो । लेखिएको थियो, ‘...अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन, ऊ जम्मै इन्द्रिय, हृदय र मस्तिष्कको पुञ्ज हो । र, अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णलाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ ।’ त्यसपछि उनी आयामेली कविका रूपमा प्रशिद्ध भए ।

आयामेली कविका रूपमा बैरागीको उदय हुनुभन्दा आठ वर्षअघि २०१२ सालमा लन्डन युिनभर्सिर्टीको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टिडजका प्राध्यापक आर.के. स्प्रिगसँग उनको भेट भएको थियो । उनी तत्कालीन इन्डिया अफिस लाइब्रेरीमा बी.एच. हज्सनले सन् १८६४ तिर सङ्गृहीत गराएका लिम्बू लिपि, भाषा, मुन्धुम, संस्कृित, इतिहाससम्बन्धी लिम्बू लिपिमा लिपिबद्ध हस्तलिखत पाण्डुलिपिको छायाप्रति लिएर नेपाल आउँदा पाँचथर, सारतापस्थित उनकै घरमा महिना दिनजति श्रीमतीसहित बसेका थिए । उनीहरूलाई भेटे पनि लिम्बू लिपि र भाषाबाहेक मुन्धुमको मूलविषयमा उनको ध्यान खिचिन सकेन ।

काइँलाले लिम्बू जातिको मुन्धुममा योगदान पुर्‍याएबापत २०७५ सालको जगदम्बाश्री पुरस्कार थाप्दै ०७६ असोज ३ गते व्यक्त गरेको मन्तब्यमा उल्लेख गरेअनुसार, इमानसिंह चेम्जोङले सङ्कलन, सम्पादन र अनुवाद गरेको किरात मुन्धुम (किरातको वेद, वि.सं. २०१८) पुस्तक प्रकाशित भएर पढ्न पाएपछि मात्रै उनमा लिम्बू भाषा, लिपि, साहित्य, संस्कृित र इतिहासप्रति विशेष उत्प्रेरणा जागेर आयो । पछि काइँला आफैं हज्सन पेपर अध्ययनका लागि लन्डन पुगे । त्यहाँ सुरक्षित कागजमध्ये लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएका सामग्री अध्ययनका लागि आफ्नो परियोजनामा संस्कृतिविद् डा. रमेश ढुङ्गेलले उनलाई लन्डन पुर्‍याएका थिए । उनी सन् २००४ जुलाई र अगस्टबीच ५ साता लन्डनमा हज्सन पेपर अध्ययन गरी फर्केका थिए ।

मुन्धुमको लयले निद्रा खुल्दा

इमानसिंह चेम्जोङको किताब ‘किरातको वेद’ (२०१८) मा आँखा परिसकेपछि मुन्धुमप्रति काइँलामा जागरुकता आयो । र, उनी मुन्धुम सङ्कलनको अवसर खोज्दै थिए । उनको मुन्धुमी पुस्तक ‘खाप्पुनामा मेल्लङ्हाङ्मा मुन्धुम र लुप्लिनामा वदन्नामा मुन्धुम’ (२०७०ः५२–५३) अनुसार, उनले येबा दलवीर नायेम फागुबाट पहिलोपल्ट मुन्धुम सङ्कलन गरेका हुन् ।

मुन्धुम अध्ययन सिलसिलामा आफ्नो घर झापाको खुदुनाबारीमा वि.सं. २०३४ मंसिर ८ देखि ११ गतेसम्म तीन राते तङ्सिङ् अनुष्ठानको आयोजना गरे । वि.सं. १९६० भदौ २९ गते जन्मेका येबा दलवीरको जन्मस्थल मैवाखोला इलाका थादिङ् गाउँ चैनपुर हो । पछि उनी इलाम जिल्लाको नाम्सेलिङ गाउँमा बसाइँ सरेका थिए । उनको यगाप्ची रामप्रसाद याक्खा थिए । येबा दलवीरले गाएको मुन्धुम सो अवसरमा टेप गरेर पछि आलेखन गरी सम्पादन गर्ने सिलसिलामा उनीसँग काइँलाले पटकपटक भेट र छलफल पनि गरे ।

येबा दलवीरबाहेक अन्य जानकार येबाहरूको खोजी गर्दा याङ्रोक निवासी हाल झापाको खुदुनाबारीमा बस्ने वीरबहादुर खेवाङ लिम्बूसँग भेट भयो उनको । यिनै वीरबहादुर नै पछि बैरागीका माइला दाजु डिल्लीविक्रम नेम्बाङको घर झापाको खुदुनाबारीमा वि.सं. २०४९ माघ १६ देखि १९ गतेसम्म तीन राते तङ्सिङ्को आयोजना गर्दा मुख्य येबा थिए । येबा वीरबहादुरसँग येबा दलवीरले गाएको मुन्धुमको पाण्डुलिपि र उनी आफैंले गाएको मुन्धुमको पाण्डुलिपिमाथि व्यापक छलफल भई तुलनात्मक अध्ययनका साथ संशोधन तथा सम्पादन गर्ने काम बैरागी काइँलाले गरे ।

काइँलाको दलवीर नायम फागुसँगको भेट भने रोचक छ । वि.सं. २०३३ सालतिर बैरागी झापाको खुदुनाबारीबाट पाँचथरको सारताप आफ्नो घरगाउँ हिँडेका थिए । उनी बेलुकी इलाम बजार, सुन्तलाबारीस्थित आफ्नी साइँली छेमाको घरमा बास बस्न पुगेका थिए । थाकेर सुतेको, तर अचानक रातको एक बजेतिर कसैले गाउँदै गरेको मीठो आवाजले उनी ब्युँझिए । त्यसपछि केही तलको मामाघर झरे, जहाँ पूजा लगाइएको रहेछ, एक राते तङ्सिङ् । साह्रै मीठो स्वरले मुन्धुम गाउँदै थिए, ती येबा । उनले बिहानसम्म बसेर येबाले गाएको मुन्धुमलाई टेप रेकर्ड गरेका थिए ।

काइँलाले आफूले टेपमा रेकर्ड गरेको मुन्धुमको लिप्यान्तरको पहिलो पाण्डुलिपि यो लेखकले आफ्नो सङ्कलनमा सुरक्षित राखेको छ । पाण्डुलिपिमा उल्लेख भएअनुसार, उनले २०३३ साल कात्तिक २३ गते येबाबाट मुन्धुम सुनेर टेपमा रेकर्ड गरेको देखिन्छ । त्यसलाई सोही साल पुस ११ गते सम्ममा लिप्यान्तर गरी सिरिजङ्गा लिपिमा उतारे ।

मुन्धुमको अर्थ

अहिलेसम्म काइँलाबाहेक कसैले पनि मुन्धुम शब्दको अर्थ खुलाउन सकेका छैनन् । उनले मुन्धुम शब्दलाई फुटाएर यसको अर्थ पर्गेल्ने प्रयास गरेका छन् । यस लेखकसँगको संवादमा काइँलाले उल्लेख गरेअनुसार ‘मुन् थुम्’ शब्दको अप्रभंस नै मुन्धम् हो । लिम्बू भाषामा मुन् (मुम्–मा) को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने अर्थ लाग्छ । यस्तै थुम् (थुम्–मा) को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने हो । यसरी हेर्दा लिम्बूहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठिन किसिमबाट अगाडि बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ ।

उनी ‘तङ्सिङ् तक्मा मुन्धुम’ (२०५२ः१) मा मुन्धुमको महत्त्व दर्साउँदै लेख्छन्, ‘लिम्बू जातिमा मुन्धुमको सामाजिक र सांस्कृतिक महत्त्व अति नै छ । सामाजिक, नैतिक र धार्मिक धारणाहरूको विकासको चरम अभिव्यक्ति मुन्धुममा पाइन्छ । अनेक आख्यानहरूद्वारा धार्मिक, नैतिक र सामाजिक अवधारणाहरूका लागि अठार पुराणको महत्त्वजस्तै लिम्बू जातिका लागि मुन्धुमको महत्त्व छ र हुन्छ ।’

लिम्बू भाषा र व्याकरण हुँदै सम्पूर्ण ऊर्जा र उमेर उनले मुन्धुममै समर्पण गरेको देखिन्छ । ‘साप्पोःक् चोमेनः लिम्बूजातिमा कोखपूजा’ (२०४९) को प्रकाशनबाट लिम्बू मुन्धुमसम्बन्धी पुस्तक प्रकाशन सुरु गरेका उनले हालसम्म मुन्धुममाथि मात्रै ११ वटा किताब लेखेका छन् ।

मुन्धमको क्षेत्रमा यति धेरै काम गरिसकेका काइँलाले जगदम्बाश्री सम्मान थाप्दा आफ्नै कामको मूल्याङ्कन गर्दै भनेका थिए, ‘युगानुयुगदेखि श्रुतिपरम्परामा जीवित अमूर्तसम्पदा मुन्धुम सबैका दृष्टिमा पुगोस्, संरक्षण र संवद्धर्नमा आंशिक टेवा पुगोस् भनेर यस दिशामा सानो प्रयाससम्म गरेको हुँ । यसो गर्दा लिम्बू जातिको मुन्धुमलाई लिम्बू भाषा लेखिने सिरिजङ्गा लिपि र देवनागरी लिपिमा लिम्बू भाषा लिपिबद्ध गर्ने काम र नेपाली भाषामा अनुवाद गरेर लिम्बू भाषाभाषीका साथै नेपाली लेख्ने, पढ्ने र बुझ्ने जुनसुकै भाषाभाषी पाठकमा पुगोस् भनेर अग्रजहरूले प्रारम्भ गरेका कामलाई मैले पनि निरन्तरता दिएको मात्र हुँ ।’

मुन्धुमसम्बन्धी यति धेरै कृतिको कीर्तिमानले उनी लिम्बू मुन्धुमको एउटा स्कुलको रूपमा स्थापित छन् । लिम्बूहरू लिपि आविष्कार वा प्रचलनका लागि त्येअङ्सी सिरिजङ्गालाई, समाजसुधारका क्षेत्रमा महागुरु फाल्गुनन्दलाई तथा इतिहास लेखनमा इमानसिंह चेम्जोङलाई विभूति मान्छन् । यी तीन विभूतिपछि लिम्बूहरू मुन्धुम सङ्कलन र प्रकाशनका कारण काइँलालाई असाध्यै माथिल्लो स्थानमा राखेर निकै सम्मान गर्छन् ।

यहाँनेर काइँलाबारे बौद्धिक व्यक्तित्व प्रा.डा. नोबलकिशोर राईको भनाइलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । स्व. इमानसिंह चेम्जोङको शतवार्षिकी समारोह (सन् २००४) मा बोल्दै राईले भनेका थिए, ‘लिम्बूहरूका लागि इमानसिंह चेम्जोङले नेपाली भाषामा भानुभक्तले गरेजस्तै काम गर्नुभयो । मोतीरामको भूमिका काइँला दाइले निर्वाह गर्नुभयो । लिम्बूहरूमा देवकोटा, सिद्धिचरणको भूमिका क–कसलाई निर्वाह गर्न मन छ, ठाउँ खाली छ है ।’

प्रकाशित : भाद्र ११, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?